01.01.2019          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यहाँ तिमी व न बा समा छौ , राम्रो-राम्रो पहिरिनु , खानु... यो सोख तिमी बच्चाहरूमा हुनु हुँदैन , पढाइ र आचरण मा पूरा-पूरा ध्यान देऊ।

प्रश्न:
ज्ञान रत्नबाट सदा भरपुर रहने साधन के हो?

उत्तर:
दान। जति-जति अरूलाई दान गर्छौ, त्यति स्वयं भरपुर रहने छौ। समझदार ऊ हो जसले सुनेर धारण गर्छ अनि फेरि अरूलाई दान गर्छ। बुद्धिरूपी झोलीमा यदि छिद्र (प्वाल) छ भने त्यो चुहिन्छ, धारण हुँदैन, त्यसैले कायदा अनुसार पढाइ पढ्नु पर्छ। ५ विकारबाट टाढै रहनु छ। रूप-बसन्त बन्नु छ।

ओम् शान्ति।
रूहानी बाबाले रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। रूहानी बाबा पनि कर्मेन्द्रियहरूबाट बोल्नु हुन्छ, रूहानी बच्चाहरूले पनि कर्मेन्द्रियहरूबाट सुन्छन्। यो हो नयाँ कुरा। दुनियाँमा कुनै मनुष्यले यसो भन्न सक्दैन। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार सम्झाउँछौ। जस्तै शिक्षकले पढाउँछन्, त्यसलाई विद्यार्थीको रजिस्टरले देखाउँछ। रजिस्टरबाट उनीहरूको पढाइ र चालचलन थाहा हुन्छ। मुख्य हो पढाइ अनि आचरण। यो हो ईश्वरीय पढाइ जुन कुनै मनुष्यले पढाउन सक्दैन। रचयिता र रचनाको आदि-मध्य-अन्त्यको, सृष्टि चक्रको ज्ञान सारा दुनियाँका कसैले पनि जान्दैनन्। ऋषि-मुनिहरू जो यति धेरै पढेलेखेका अधिकारी हुन्, ती प्राचीन ऋषिमुनिहरूले पनि स्वयं भन्दथे हामीले रचयिता र रचनालाई जान्दैनौं। बाबाले नै आएर पहिचान दिनु भएको छ। गायन पनि गरिन्छ यो हो काँडाको जंगल। जंगलमा अवश्य पनि आगो लाग्छ, फूलको बगैंचामा कहिल्यै आगो लाग्दैन किनकि जंगल त सारा सुकेको हुन्छ। बगैंचामा हरियाली हुन्छ। हरियो बगैचामा आगो लाग्दैन। सुकेकोमा तुरुन्तै आगो लाग्छ। यो हो बेहदको जंगल, यसमा पनि आगो लागेको थियो। बगैंचाको पनि स्थापना भएको थियो। अहिले तिम्रो बगैंचाको गुप्त रूपमा स्थापना भइरहेको छ। तिमीलाई थाहा छ हामी बगैंचाका फूल सुगन्धित देवता बनिरहेका छौं, त्यसको नाम हो नै स्वर्ग। अहिले स्वर्ग स्थापना भइरहेको छ। अचम्म छ, तिमीले जति नै मानिसहरूलाई सम्झाउँछौ तापनि कसैको बुद्धिमा बस्दैन। जो यस धर्मका होइनन् तिनीहरूको बुद्धिमा बस्दैन। एक कानबाट सुनेर अर्को कानबाट निकालिदिन्छन्। सत्ययुग, त्रेतामा कति थोरै थिए। फेरि द्वापर, कलियुगमा कति वृद्धि हुन्छ। त्यहाँ एक-दुई बच्चा हुन्छन्, यहाँ ४-५ बच्चा हुन्छन् भने अवश्य वृद्धि भयो। भारतवासीहरू नै अहिले हिन्दू कहलाउँछन्। वास्तवमा यिनीहरू देवता धर्मका थिए। अरू कुनै धर्मावलम्बीहरूले आफ्नो धर्मलाई भुल्दैनन्। यिनीहरूले नै भुलेका छन्। हेर अहिले कति धेरै मानिसहरू छन्। यति सबैले त आएर ज्ञान लिँदैनन्। हरेकले आफ्नो जन्मको बारेमा पनि बुझ्न सक्छ। जसले पूरा ८४ जन्म लिएका छन्, ती अवश्य पुराना भक्त हुनु पर्छ। तिमीले बुझ्न सक्छौ मैले कति भक्ति गरेको छु। थोरै गरेको भए ज्ञान पनि थोरै नै बुझ्नेछौ र थोरैलाई मात्र बुझाउनेछौ। धेरै भक्ति गरेको भए ज्ञान पनि धेरै बुझ्नेछौ र धेरैलाई बुझाउनेछौ। ज्ञान बुझेनौ भने बुझाउन पनि कम सक्नेछौ, त्यसैले उनलाई फल पनि थोरै मिल्छ। यो त हिसाब-किताब छ नि। बाबालाई एक बच्चाले हिसाब निकालेर पठाए इस्लामीहरूको यति जन्म, बौद्धीहरूको यति जन्म हुनु पर्छ। बुद्ध पनि धर्म स्थापक हुन्। उनी भन्दा पहिला कुनै बुद्ध धर्मका थिएनन्। बुद्धको आत्माले प्रवेश गर्यो। उसले बौद्ध धर्म स्थापना गर्यो। फेरि एकद्वारा वृद्धि हुन्छ। उनी पनि एक प्रजापिता हुन्। एकबाट कति धेरै वृद्धि हुन्छ। तिमीलाई त राजा बन्नु छ नयाँ दुनियाँमा। यहाँ त वनबासमा छौ। कुनै चीजको सोख हुनु हुनु हुँदैन। मैले राम्रो कपडा आदि लगाऊँ, यो पनि देह-अभिमान हो। जे मिल्यो त्यही ठीक छ। यो दुनियाँ त अब थोरै समय रहने छ। यहाँ राम्रोकपडा पहिरिने हो भने त्यहाँ फेरि कम हुन्छ। यो सोख पनि छोड्नु पर्छ। पछि गएर तिमी बच्चाहरूलाई आफैं साक्षात्कार भइरहने छ। तिमीले स्वयं भन्नेछौ यिनले त धेरै सेवा गर्छन्, कमाल छ। यिनले अवश्य उच्च अंक पाउँछन्। फेरि आफू समान बनाइरहने छौ। दिन-प्रतिदिन बगैंचा त वृद्धि हुनु नै छ। जति देवी-देवताहरू सत्ययुगका वा त्रेताका छन् तिनीहरू सबै गुप्तमा यहाँ नै बसेका छन्, फेरि प्रत्यक्ष हुन्छन्। अहिले तिमीले गुप्त पद पाइरहेका छौ। तिमीलाई थाहा छ हामी पढिरहेका छौं मृत्युलोकमा, पद चाहिँ अमरलोकमा पाउनेछौं। यस्तो पढाइ कहिल्यै देख्यौ? यो अचम्मको कुरा छ। पढ्ने पुरानो दुनियाँमा, पद पाउने नयाँ दुनियाँमा। पढाउनेवाला पनि उहाँ नै हुनु हुन्छ जो अमरलोकको स्थापना र मृत्युलोकको विनाश गराउनेवाला हुनु हुन्छ। तिम्रो यो पुरुषोत्तम संगमयुग धेरै छोटो छ, यिनमा नै बाबा आउनु हुन्छ पढाउनको लागि। आउने बित्तिकै पढाइ सुरु हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ लेख, शिवजयन्ती नै गीताजयन्ती हो। यसलाई मनुष्यले जान्दैनन्। उनीहरूले कृष्णको नाम राखिदिएका छन्। यो भूल कसैले बुझे त हो। कति ठूलाबडा मानिसहरू म्यूजियममा आउँछन्, यस्तो होइन उनीहरूले बाबालाई जानेका छन्, केही पनि जान्दैनन् त्यसैले बाबा भन्नुहुन्छ फाराम भराऊ अनि केही सिकेका रहेछन् भने थाहा लाग्ने छ। बाँकी यहाँ आएर के गर्ने? जसरी साधु-सन्त महात्माको पासमा जान्छन्, यहाँ त्यो कुरा छैन। यिनको त त्यही साधारण रूप छ। पोशाकमा पनि केही फरक छैन त्यसैले कसैले बुझ्न सक्दैनन्। यी त जुहारी थिए भन्ने सम्झन्छन्। पहिला थिए विनाशी रत्नहरूको जुहारी। अहिले बनेका छन् अविनाशी ज्ञान रत्नको जुहारी। तिमीले सौदा पनि बेहदको बाबासँग गर्छौ, जो धेरै ठूला सौदागर, जादूगर, रत्नागर हुनु हुन्छ। हरेकले आफूलाई रूप वसन्त सम्झनु पर्छ। हामी भित्र लाखौं रुपैयाँका ज्ञान रत्नहरू छन्। यी नै ज्ञान रत्नबाट तिमी पारसबुद्धि बन्छौ। यो पनि बुझ्नु पर्नेकुरा हो। कुनै राम्रोसमझदार बच्चा छन् जसले यी कुरालाई धारण गर्छन्। यदि धारण गर्दैनन् भने त्यो केही कामको भएन। मानौं उसको झोलीमा छिद्र (प्वाल) छ, त्यहीँबाट चुहिन्छ। बाबा भन्नुहुन्छ मैले तिमीलाई अविनाशी ज्ञान रत्नको दान दिन्छु। यदि तिमीले दान गरिरह्यौ भने भरपुर रहन्छौ। गर्दैनौ भने केही पनि छैन, खाली छौ। पढ्दैनन्, काइदा अनुसार चल्दैनन्। यसमा पढाइको विषय धेरै राम्राछन्। ५ विकारबाट तिमी बिल्कुल टाढा रहनु छ।

बाबाले सम्झाउनु भएको छ यो जुन राखी बन्धन मनाउँछन्, त्यो पनि यसै समयको यादगार हो। तर राखी किन बाँधिन्छ, मानिसहरूले यसको अर्थ जान्दैनन्। तिनीहरू त अपवित्र पनि बनिरहन्छन्, राखी पनि बाँधिरहन्छन्। पहिला ब्राह्मणहरूले बाँध्थे। अहिले दिदी-बहिनीले दाजुभाइलाई बाँध्छन् कमाइको लागि। त्यहाँ पवित्रताको कुरा हुँदैन। धेरै फेसनेबल राखीहरू बनाउँछन्। यी दीपावली दशैं सबै संगमका हुन्। जो बाबाले कर्म गर्नुहुन्छ त्यो फेरि भक्तिमार्गमा चल्छ। बाबाले तिमीलाई सच्चा गीता सुनाएर यी लक्ष्मी-नारायण बनाउनु हुन्छ। अहिले तिमी फस्ट ग्रेडमा जान्छौ। सत्य नारायणको कथा सुनेर तिमी नरबाट नारायण बन्छौ। अब तिमी बच्चाहरूले सारा दुनियाँलाई जगाउनु छ। कति धेरै योगको तागत चाहिन्छ। योगको तागतद्वारा नै तिमीले कल्प-कल्प स्वर्गको स्थापना गर्छौ। योगबलबाट हुन्छ स्थापना, बाहुबलबाट हुन्छ विनाश। शब्द नै दुइटा छन् अल्फ र बे (बाबा र वर्सा)। योगबलबाट तिमी विश्वको मालिक बन्छौ। तिम्रो ज्ञान बिल्कुलै गुप्त छ। तिमी जो सतोप्रधान थियौ, अहिले तमोप्रधान बनेका छौ। फेरि सतोप्रधान बन्नु छ। हरेक चीज नयाँबाट अवश्य पनि पुरानो हुन्छ। नयाँ दुनियाँमा के नहोला! पुरानो दुनियाँमा त केही पनि छैन। कागजको खोस्टा जस्तै। कहाँ दुनियाँ स्वर्ग थियो, कहाँ अहिले नर्क छ। रात दिनको फरक छ। रावणको पुतला बनाएर जलाउँछन् तर अर्थ जान्दैनन्। तिमीले अहिले जान्दछौ यो के के गरिरहेका छौं। तिमीलाई पनि हिजो ज्ञान थिएन, आज ज्ञान छ। हिजो नर्कमा थियौ, आज स्वर्गमा गइरहेका छौ यथार्थमा। यस्तो होइन जसरी दुनियाँका मानिसहरूले भन्छन् स्वर्गवासी भयो। तिमी अब स्वर्गमा जान्छौ, त्यसबेला नर्क हुनै नै हुँदैन। कति बुझ्नु पर्नेकुरा छन्। हो पनि सेकेन्डको कुरा। बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ। यो कुरा सबैलाई बताइराख। भन हामी यी (लक्ष्मी-नारायण) जस्तै थियौं फेरि ८४ जन्म लिएर यस्तो बनेका हौं। सतोप्रधानबाट तमोप्रधान बनेका हौं फेरि सतोप्रधान बन्नु छ। आत्मा त विनाश हुँदैन। आत्मालाई तमोप्रधानबाट फेरि सतोप्रधान बन्नै पर्छ। बाबाले विभिन्न तरिकाबाट सम्झाइरहनु हुन्छ। मेरो ब्याट्री कहिल्यै पुरानो हुँदैन। बाबाले केवल भन्नुहुन्छ आफूलाई बिन्दु आत्मा सम्झ। भन्छन् यसको आत्मा निस्केर गयो। आत्माले संस्कार अनुसार एक शरीर छाडेर अर्को लिन्छ। अब आत्माहरू घर जानु पर्छ। यो पनि ड्रामा हो। सृष्टि-चक्र दोहोरिइरहन्छ। पछि गएर हिसाब निकालेर भन्नेछन् दुनियाँमा यति मनुष्यहरू छन्। यति आत्माहरू छन्, यस्तो किन भन्दैनन्। बाबा भन्नुहुन्छ मलाई कति बिर्सिएका छन्। फेरि मैले नै सबैको कल्याण गर्नु पर्छ। त्यसैले त बाबालाई पुकार्छन्। तिमीले बाबालाई बिर्सन्छौ, बाबाले बच्चाहरूलाई बिर्सिनु हुन्न। बाबा आउनु नै हुन्छ पतितलाई पावन बनाउन। यी हुन् गौमुख। बाँकी साँढे आदिको कुरा होइन। यिनी भाग्यशाली रथ हुन्। बाबा तिमी बच्चाहरूलाई भन्नुहुन्छ शिवबाबाले हामीलाई शृङ्गार गर्नु हुन्छ। यो पक्का याद रहनु पर्छ। शिवबाबाको याद गर्नाले धेरै फाइदा हुन्छ। बाबाले हामीलाई यिनीद्वारा पढाउनु हुन्छ तर यिनलाई याद गर्नु छैन। सतगुरु एक शिवबाबा हुनु हुन्छ, उहाँमाथि तिमी बलिहार जानु छ। यिनी पनि उहाँमाथि बलिहार गए नि। बाबा भन्नुहुन्छ म एकलाई याद गर। तिमी बच्चाहरू सत्ययुगी फूलको दुनियाँमा गइरहेका छौ, फेरि काँडामा मोह किन राख्छौ? ६३ जन्म त भक्तिमार्गका शास्त्र पढ्दै पूजा गर्दै आएका हौ। तिमीले पूजा पनि पहिला शिवबाबाको गरेका हौ, त्यसैले त सोमनाथको मन्दिर बनाइएको हो। मन्दिर त सबै राजाहरूको घरमा थिए, कति हीरा-जुहारतहरू थिए। पछि आएर आक्रमण गरे। एक मन्दिरबाट कति सुन आदि लिएर गए। तिमी यस्तो धनवान् विश्वको मालिक बन्छौ। यी लक्ष्मी-नारायण धनवान् थिए, विश्वको मालिक थिए तर यिनको राज्य स्थापना भएको कति समय भयो, कसैलाई थाहा छैन। बाबा भन्नुहुन्छ ५ हजार वर्ष भयो। २५०० वर्ष राज्य गरे, बाँकी २५०० वर्षमा यति धेरै मठ पन्थ आदि बढ्दै गए।

तिमी बच्चाहरूलाई धेरै खुशी हुनु पर्छ हामीलाई बेहदका बाबाले पढाउनु हुन्छ। अथाह सम्पत्ति प्राप्त हुन्छ। सागरबाट देवता निस्के, रत्नहरूले भरिएका थाली लिएर। अहिले तिमीलाई ज्ञान रत्नका भरिपूर्ण थालीहरू प्राप्त हुन्छ। बाबा त ज्ञानका सागर हुनु हुन्छ। कसैले राम्रोसँग थाली भर्छन्, कसैको त चुहिएर पनि जान्छ। जसले राम्रोसँग पढ्छ, पढाउँछ, ऊ अवश्य पनि राम्रो धनवान् बन्छ। राजधानी स्थापना भइरहेको छ। यो ड्रामामा निश्चित छ। जसले राम्रोसँग पढ्छन् उनैलाई छात्रवृत्ति प्राप्त हुन्छ। यो हो ईश्वरीय छात्रवृत्ति, अविनाशी। त्यो हो विनाशी। सिंढी बडो आश्चर्यजनक छ। ८४ जन्मको कहानी हो नि। बाबा भन्नुहुन्छ सिंढीको यति ठूलो ट्रान्सलाइट बनाऊ जुन टाढैबाट स्पष्टदेखियोस्। मनुष्यले देखेर आश्चर्य मान्छन्। त्यसपछि तिम्रो नाम पनि प्रसिद्ध हुन्छ। अहिले जसले चक्कर लगाएर जान्छन् उनीहरू अन्त्यमा आउँछन्। दुई-चार पटक चक्कर लगाएर फेरि भाग्यमा भए पक्का हुन्छन्। शमा (महाज्योति) त एउटै हुनु हुन्छ, कहाँ जाने? बच्चाहरू धेरै मीठो बन्नु छ। मीठो तब बन्नेछौं जब योगमा रहन्छौं। योगद्वारा नै आकर्षण हुन्छ। खिया ननिस्किएसम्म कसैलाई पनि योगमा आकर्षण हुँदैन। यो सिंढीको रहस्य सबै आत्माहरूलाई बताउनु छ। बिस्तारै-बिस्तारै नम्बरवार सबैले बुझ्दै जान्छन्। यो हो ड्रामा। विश्वको इतिहास-भूगोल दोहोरिइरहन्छ। जसले यो सम्झाउनु भयो, उहाँलाई याद गर्नु पर्छ। बाबालाई सर्वव्यापी भन्छन् तर त्यहाँ त सर्वव्यापी छ माया, बाबालाई पनि यहाँ हुनु हुन्छ भनिन्छ किनकि सेकेन्डमा आउन सक्नुहुन्छ। तिमीले सम्झाउनु पर्छ बाबा यिनमा बस्नु नै भएको छ। गर्ने-गराउनेवाला हुनु हुन्छ नि। गर्नु पनि हुन्छ, गराउनु पनि हुन्छ, बच्चाहरूलाई निर्देशन दिनु हुन्छ। स्वयं पनि गरिरहनु हुन्छ। के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न यस शरीरमा, त्यो सबै हिसाब गर। बाबाले खानु हुन्न, वासना लिनु हुन्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
 
धारणाको लागि मुख्य सारः

१) रूप-वसन्त बनेर आफ्नो बुद्धिरूपी झोली अविनाशी ज्ञान रत्नहरूले सदा भरपुर राख्नु छ। बुद्धि रूपी झोलीमा कुनै छिद्र (प्वाल) नहोस्। ज्ञान रत्न धारण गरेर अरूलाई पनि धारण गराउनु छ।

२) छात्रवृत्ति लिनको लागि पढाइ राम्रोसँग पढ्नु छ। पूरा वनबासमा रहनु छ। कुनै पनि प्रकारको सोख राख्नु हुँदैन। सुगन्धित फूल बनेर अरूलाई पनि बनाउनु छ।

वरदान:
शुभचिन्तक स्थितिद्वारा सबैको सहयोग प्राप्त गर्ने सबैको स्नेही भव

शुभ चिन्तक आत्माहरूप्रति हरेकको दिलबाट स्नेह उत्पन्न हुन्छ र त्यही स्नेहले सहयोगी बनाइदिन्छ। जहाँ स्नेह हुन्छ, त्यहाँ समय, सम्पत्ति, सहयोग सदा अर्पण गर्नको लागि तयार हुन्छन्। त्यसैले शुभ चिन्तकले स्नेही बनाउँछ र स्नेहले सबै प्रकारको सहयोगमा समर्पण गराउँछ। त्यसैले सदा शुभ चिन्तनद्वारा सम्पन्न रहने गर अनि शुभ चिन्तक बनेर सबैलाई स्नेही, सहयोगी बनाऊ।

स्लोगन:
अहिले दाता बन्यौ भने तिम्रो राज्यमा जन्म-जन्म हर आत्मा भरपुर रहन्छन्।

 

सूचना:

यो अव्यक्ति महिना हामी सबै ब्राह्मण वत्सहरूका लागि विशेष वरदानी महिना हो। यस समयमा हामी अन्तर्मुखी बनेर साकार ब्रह्मा बाबा समान बन्ने लक्ष्य राखेर तीव्र पुरुषार्थ गर्छौं। यसको लागि यस जनवरी महिनामा हरेक दिन मुरलीमा विशेष पुरुषार्थको एक प्वाइन्ट लेखिएको छ। कृपया सबैले यसै अनुसार ध्यान दिएर पूरा दिन यसमा मनन चिन्तन गर्दै अव्यक्त वतनको सयर गर्नु हुनेछ।

ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:

समय अनुसार तीन शब्द सदायाद राख अन्तर्मुख, अव्यक्त र अलौकिक। अहिलेसम्म केही लौकिकपन मिक्स छ, तर जब बिल्कुल अलौकिक अन्तर्मुखी बन्छौ अनि अव्यक्त फरिश्ता नजर आउने छ। रूहानी वा अलौकिक स्थितिमा रहनको लागि अन्तर्मुखी बन।