01.03.20    Avyakt Bapdada     Nepali Murli    02.12.85     Om Shanti     Madhuban


बन्धनहरूबाट मुक्त हुने युक्ति रूहानी शक्ति


आज बापदादाले आफ्ना रूहानी बच्चाहरूको रूहानियतको शक्तिलाई हेरिरहनु भएको थियो। हरेक रूहानी बच्चाहरूले रूहानी बाबाबाट रूहानी शक्तिको सम्पूर्ण अधिकार बच्चा भएको नाताले प्राप्त त गरेका नै छौ। तर प्राप्ति स्वरूप कहाँसम्म बनेका छौ, यो हेरिरहनु भएको थियो। सबै बच्चाहरूले हरेक दिन स्वयंलाई रूहानी बच्चा भनेर, रूहानी बाबालाई याद-प्यारको जवाफ मुखले अथवा मनले याद-प्यार अथवा नमस्तेको रूपमा दिन्छौ। जवाफ दिन्छौ नि! यसको अर्थ भयो सधैं रूहानी बाबाले रूहानी बच्चा भनेर रूहानी शक्तिको वास्तविक स्वरूप याद दिलाउनु हुन्छ किनकि यो ब्राह्मण जीवनको विशेषता नै हो रूहानियत। यो रूहानियतको शक्तिले स्वयंलाई र सबैलाई परिवर्तन गर्छ। मुख्य आधार नै यो रूहानी शक्ति हो। यो शक्तिद्वारा नै अनेक प्रकारका शारीरिक बन्धनहरूबाट मुक्ति मिल्छ। बापदादाले हेरिरहनु भएको थियो अहिलेसम्म पनि कत्ति सूक्ष्म बन्धनहरू छन्, जुन स्वयंले पनि अनुभव गर्छन् यस्ता बन्धनहरूबाट मुक्ति हुनु पर्छ भनेर। तर मुक्ति पाउने युक्ति कार्य व्यवहारमा ल्याउन सकिरहेका छैनन्। कारण? रूहानी शक्ति हरेक कार्यमा प्रयोग गर्न आउँदैन। यसको लागि एउटै समयमा संकल्प, बोली र कर्म तीनैलाई सँगसँगै शक्तिशाली बनाउन पर्ने हुन्छ। तर कमजोर केमा हुन पुग्छन्? एकातर्फ संकल्पलाई शक्तिशाली बनाउँछन् भने वाणीमा केही कमजोर हुन पुग्छन्। कहिले वाणीलाई शक्तिशाली बनाउँछन् भने कर्ममा कमजोर हुन पुग्छन्। तर यी तीनै रूहानी शक्तिलाई एकै समयमा शक्तिशाली बनायौ भने मात्र यही युक्ति बन्छ मुक्तिको। जसरी सृष्टिको रचनामा तीन कार्य जसरी स्थापना, पालना र विनाश यी तीनैको आवश्यकता हुन्छ। त्यसैगरी सर्व बन्धनबाट मुक्ति हुने युक्ति हो मनसा, वाचा, कर्मणा तीनैमा रूहानी शक्तिको सँगसँगै होस्। कहिले मनसालाई सम्हाल्छौ भने वाचा कमजोर हुन्छ अनि फेरि भन्छौ सोचेको त यस्तो थिइन थाहै भएन किन यस्तो भयो? त्यसैले तीनैतर्फ पूरा ध्यान दिनु पर्छ। किन? किनभने यी तीनै साधन नै सम्पन्न स्थितिलाई र बाबालाई प्रत्यक्ष गर्नेवाला हुन्। मुक्ति पाउनको लागि तीनैमा रूहानियतको अनुभव हुनु पर्छ। जो तीनैमा युक्तियुक्त हुन्छन् उनीहरू नै जीवनमुक्त हुन्छन्। त्यसैले बापदादाले सूक्ष्म बन्धनहरूलाई हेरिरहनु भएको थियो। सूक्ष्म बन्धनमा पनि विशेष यी तीनको सम्बन्ध छ। बन्धनको निशानी बन्धनमा भएकाहरू सदा परवश हुन्छन्। बन्धनमा भएकाहरूले आफूलाई आन्तरिक खुशी अथवा सुखमा सदा अनुभव गर्दैनन्। जसरी लौकिक दुनियाँमा अल्पकालका साधनले अल्पकालको खुशी वा सुखको अनुभूति त गराउँछन् तर आन्तरिक तथा अविनाशी अनुभूति भएको हुँदैन। त्यसैगरी सूक्ष्म बन्धनमा बाँधिएका आत्माहरू यो ब्राह्मण जीवनमा पनि थोरै समयको लागि सेवाका साधन, संगठनको शक्तिका साधन, कुनै न कुनै प्राप्तिको साधन, श्रेष्ठ संगतको साधनहरूका आधारले चलेका हुन्छन्, तिनीहरू पनि जबसम्म साधन हुन्छन् तबसम्म खुशी र सुखको अनुभूति गर्छन् तर जब साधन समाप्त हुन्छ अनि खुशी पनि समाप्त हुन्छ। सदा एकरस रहँदैन। कहिले खुशीमा यस्तोसँग नाँच्छन् मानौं, त्यस समयमा ऊ जस्तो कोही छँदै छैन। फेरि यसरी रोकिन्छन्, सानो पत्थर पनि पहाड समान भएको अनुभव गर्छन् किनकि वास्तविक शक्ति नभएको कारणले साधनको आधारले मात्र खुशीमा नाँचेका हुन्छन्। साधन निक्लन्छ अनि कहाँ नाँच्छन् र? त्यसैले आन्तरिक रूहानी शक्ति तीनै रूपमा सदा साथ-साथै आवश्यक हुन्छ। मुख्य बन्धन हो मनसा संकल्पलाई नियन्त्रण गर्ने शक्ति नहुनु। आफ्नै संकल्पको वश भएको कारणले परवश भएको अनुभव गर्छन्। जो स्वयंको संकल्पको बन्धनमा हुन्छन्, तिनीहरू धेरै समय यसैमा व्यस्त रहन्छन्। जसरी तिमीहरूले पनि भन्छौ नि हावादारी गफको पर्खाल बनाउँछन्। पर्खाल बनाउँछन् र बिगार्छन्। धेरै लामो पर्खाल खडा गर्छन्। त्यसैले हावादारी पर्खाल भनिन्छ। जसरी भक्तिमा पूजा गरेर, सज-धज गरेर फेरि डुबाइदिन्छन् नि। त्यसैगरी संकल्पमा बाँधिएका आत्माहरूले धेरैथोक बनाउँछन् र धेरैथोक बिगार्छन् पनि। स्वयं नै यस्तो व्यर्थ कार्यले थाक्छन्, निराश पनि हुन्छन् र कहिलेकाहीँ अभिमानमा आएर आफ्नो गल्ती अरू माथि पनि लगाउँछन्। फेरि समय बितिसकेपछि मनमा सम्झन्छन्, सोच्दछन् यो ठीक गरिन भनेर। तर अभिमानको परवश भएको कारणले, आफ्नो बचाऊ गर्नु पर्ने कारणले अरूको नै दोष सोचिरहन्छन्। सबैभन्दा ठूलो बन्धन यो मनसाको बन्धन हो, जसले बुद्धिमा ताला लगाइदिन्छ, त्यसैले जतिसुकै सम्झाउने कोसिस गर तर उनको बुद्धिमा आउँदैन। मनसा बन्धनको विशेष निशानी हो यसले महसुसता शक्तिलाई पनि समाप्त गरिदिन्छ। त्यसैले यो सूक्ष्म बन्धनलाई समाप्त नगरेसम्म कहिल्यै पनि आन्तरिक खुशी र सदाको लागि अतीन्द्रिय सुखको अनुभव गर्न सकिँदैन।

संगमयुगको विशेषता नै हो अतीन्द्रिय सुखमा झूल्नु, सदा खुशीमा नाँच्नु। त्यसैले संगमयुगी बनेर यदि यी विशेषतालाई अनुभव गरेनौ भने के गर्यौ त? त्यसैले स्वयंलाई जाँच गर कुनै पनि प्रकारको संकल्पको बन्धनमा त छैनौ? चाहे व्यर्थ संकल्पको बन्धन होस्, चाहे ईर्ष्या-द्वेषको संकल्प होस्, चाहे अलबेलापनको संकल्प होस्, चाहे आलस्यको संकल्प होस् कुनै पनि प्रकारको संकल्प मनसा बन्धनको निशानी हो। त्यसैले आज बापदादाले बन्धनहरूलाई हेरिरहनु भएको थियो मुक्त आत्माहरू कति छन् भनेर।

मोटा-मोटा डोरीहरू त खतम भएका छन्। बाँकी यी महीन धागा छन्। छन् पातला तर बन्धनमा बाँध्नमा होसियार छन्। थाहा नै हुँदैन हामी बन्धनमा बाँधिएका छौं किनकि यस्ता बन्धनले अल्पकालको नशा पनि चढाउँछन्। जसरी विनाशी नशा भएकाले कहिल्यै पनि आफूलाई गलत सम्झिँदैनन्। हुन्छन् नालीमा सम्झन्छन् महलमा। हुन्छ खाली हाथ, तर आफूलाई सम्झन्छन् राजा। त्यसैगरी यी नशा भएकाहरूले कहिल्यै आफूलाई गलत सम्झिँदैनन्। सदा आफूलाई ठीक सिद्ध गर्छन् वा अलबेलापन देखाउँछन्। भन्छन् यस्तो त भइ नै रहन्छ, यस्तो त चल्छ नै। त्यसैले आज केवल मनसा बन्धनको बारेमा बताएँ। फेरि वाचा र कर्मणाको पनि सुनाउँला। बुझ्यौ!

रूहानी शक्तिद्वारा मुक्ति प्राप्त गर्दै जाऊ। संगमयुगमा जीवनमुक्तिको अनुभव गर्नु नै भविष्यको लागि जीवनमुक्त प्रारब्ध पाउनु हो। गोल्डन जुबलीमा त जीवनमुक्त बन्नु छ नि? वा केवल गोल्डन जुबली मनाउने हो? बन्नु नै मनाउनु हो। दुनियाँकाले केवल मनाउँछन्, यहाँ बनाउँछन्। अब चाँडै-चाँडै तयार होऊ तब सबै तिम्रो मुक्तिले मुक्त बन्नेछन्। वैज्ञानिकहरू पनि आफूले बनाएको साधनको बन्धनमा बाँधिएका छन्। नेताहरू पनि हेर बँच्न चाहन्छन् तर कत्ति बाँधिएका छन्। सोचेर पनि गर्न पाउँदैनन् त्यसैले बन्धन भयो नि। सबै आत्माहरूलाई भिन्न-भिन्न बन्धनबाट मुक्त गराउनेहरू स्वयं मुक्त बनेर सबैलाई मुक्त बनाऊ। सबैले मुक्ति-मुक्ति भनेर पुकारिरहेका छन्। कसैले गरीबीबाट मुक्ति चाहन्छन्, कसैले गृहस्थीबाट मुक्ति चाहन्छन्। तर सबैको आवाज एउटै मुक्तिको लागि छ। त्यसैले अब मुक्तिदाता बनेर मुक्तिको मार्ग बताऊ वा मुक्तिको वर्सा देऊ। आवाज त पुग्छ नि या सम्झन्छौ यो त केवल बाबाको काम हो? हामीलाई के खाँचो। तर प्रारब्ध तिमीहरूले पाउने हो, बाबालाई पाउनु छैन। प्रजा वा भक्तहरू पनि तिमीहरूलाई चाहिन्छ। बाबालाई चाहिँदैन। जो तिम्रा भक्तहरू हुन्छन् तिनीहरू स्वत: नै बाबाका बन्छन् किनकि द्वापरदेखि तिमीहरू नै पहिलो भक्त बन्छौ। पहिला बाबाको पूजा सुरु गर्छौ। त्यसैले तिमीहरूलाई सबैले अहिले अनुसरण गर्छन्। अब के गर्नु छ? पुकार सुन। मुक्तिदाता बन। अच्छा!

सदा रूहानी शक्तिको युक्तिद्वारा मुक्ति प्राप्त गर्ने, सदा स्वयंलाई सूक्ष्म बन्धनबाट मुक्त गरेर मुक्तिदाता बन्ने, सदा स्वयंलाई आन्तरिक खुशी, अतीन्द्रिय सुखको अनुभूतिमा अगाडि बढाउने, सदा सबैलाई मुक्त आत्मा बनाउने शुभ भावना भएका यस्ता रूहानी शक्तिशाली बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

पार्टीहरूसँग: १)सुन्नुको साथ-साथै स्वरूप बन्नमा पनि शक्तिशाली आत्मा हौ नि? सदैव आफ्ना संकल्पहरूमा हरेक दिन कुनै न कुनै स्वको प्रति र अरू प्रति पनि उमंग-उत्साहका संकल्प राख। जसरी आजकल पत्रिकामा वा कत्ति स्थानमा आजको विचार भनेर विशेष लेख्छन् नि। त्यसैगरी सधैं मनको संकल्पमा कुनै न कुनै उमंग-उत्साहको संकल्प प्रत्यक्ष रूपमा ल्याऊ। त्यही संकल्पले स्वयंमा पनि स्वरूप बनाऊ र अरूको सेवामा पनि लगायौ भने के हुन्छ? सदा नै नयाँ उमंग-उत्साह रहन्छ। आज यो गर्छु, भोलि यो गर्छु आदि। जसरी कुनै विशेष कार्यक्रम हुँदा उमंग-उत्साह किन आउँछ? योजना बनाउँछन् नि यो गरौंला, त्यो गरौंला भनेर। यसबाट विशेष उमंग-उत्साह आउँछ। त्यसैले सधैं अमृतबेला विशेष उमंग-उत्साहको संकल्प गर र जाँच पनि गर तब आफ्नो सदाको लागि उत्साहले भरिएको जीवन हुनेछ र उत्साह दिलाउनेवाला पनि बन्ने छौ। बुझ्यौ जसरी मनोरञ्जनका कार्यक्रम हुन्छन् त्यस्तै यो पनि सधैंको मनको मनोरञ्जनको कार्यक्रम हुने छ।

२) सदा शक्तिशाली यादमा अगाडि बढ्ने आत्मा हौ नि? शक्तिशाली याद विना कुनै पनि अनुभव हुन सक्दैन। त्यसैले सदा शक्तिशाली बनेर अगाडि बढ्दै गर। सदा आफ्नो शक्ति अनुसार ईश्वरीय सेवामा लाग र सेवाको फल प्राप्त गर। जति शक्ति छ त्यति सेवामा लगाउँदै जाऊ। चाहे तनले, चाहे मनले, चाहे धनले। एकको पदमगुणा मिल्नु नै छ। आफ्नो लागि जम्मा गर्छौ, फेरि अनेक जन्मको लागि पनि जम्मा गर्नु छ। एक जन्ममा जम्मा गर्नाले २१ जन्मको लागि मेहनतबाट छुट्छौ। यो रहस्यलाई जानेका छौ नि? त्यसैले सदा आफ्नो भविष्यलाई श्रेष्ठ बनाउँदै जाऊ। खुशी-खुशीले आफूलाई सेवामा अगाडि बढाउँदै लैजाऊ। सदा यादद्वारा एकरस स्थितिले अगाडि बढ।

३) आफ्नो यादको खुशीले अनेक आत्माहरूलाई खुशी दिनेवाला सेवाधारी हौ नि। सच्चा सेवाधारी अर्थात् सदा स्वयं पनि लगनमा मगन रहने र अरूलाई पनि लगनमा मगन गराउनेवाला। हरेक स्थानको सेवा आ-आफ्नो छ। फेरि पनि यदि स्वयं लक्ष्य राखेर अगाडि बढ्छौ भने यसरी बढ्नुमा नै धेरै भन्दा धेरै खुशीको कुरा हुने छ। वास्तवमा यो लौकिक पढाइ आदि सबै विनाशी हुन्, अविनाशी प्राप्तिको साधन केवल यो ज्ञान हो। यस्तो अनुभव गर्छौ नि? हेर, तिमी सेवाधारीहरूलाई ड्रामामा कत्ति सुनौलो अवसर मिलेको छ। यो सुनौलो अवसरलाई जति अगाडि बढाउन चाहन्छौ त्यति तिम्रो हातमा छ। यस्तो सुनौलो अवसर कसैलाई मिल्दैन। करोडौंमा कसैलाई नै मिल्छ। तिमीहरूलाई त मिल्यो। त्यति खुशी रहन्छ? दुनियाँमा जुन कसैसँग छैन त्यो हामीसँग छ। यस्तो खुशीमा सदा स्वयं पनि रहने गर र अरूलाई पनि खुशीमा ल्याऊ। जति स्वयं अगाडि बढ्छौ त्यति अरूलाई पनि बढाउँछौ। सदा अगाडि बढ्नेवाला बन, यहाँ त्यहाँ हेरेर रोकिनेवाला होइन। सदा बाबा र सेवा सामुन्ने होस्। पुग्यो। तब सदा उन्नति प्राप्त हुनेछ। सदा आफूलाई बाबाको अति प्यारो हुँ, यस्तो सम्झेर अगाडि बढ।

नोकरी गर्ने कुमारीहरूसँग :
१) सबैको लक्ष्य त श्रेष्ठ छ नि? यस्तो त सम्झिँदैनौ दुवैतर्फ चल्छु। कुनै बन्धन छन् भने दुवैतर्फ चल्नु अर्को कुरा हो। तर निर्बन्धन आत्माहरूको लागि दुवैतर्फ रहनु अर्थात् झुण्डिनु हो। कसै-कसैको परिस्थिति हुन्छ भने बापदादाले पनि छुट्टी दिनुहुन्छ तर यदि मनको बन्धन मात्र हो भने त्यो झुण्डिनु जस्तै हो। एउटा खुट्टा यता भयो, अर्को खुट्टा उता भयो भने के हुन्छ? यदि एउटा डुङ्गामा एउटा गोडा र अर्को डुङ्गामा अर्को गोडा राख्यौ भने कस्तो हालत हुन्छ? आत्तिनु पर्ने हुन्छ नि। त्यसैले दुवै खुट्टा एउटै डुङ्गामा होस्। सदा आफ्नो हिम्मत राख। हिम्मत राख्नाले सजिलै पार हुन्छौ, सदा याद राख मेरो साथमा बाबा हुनुहुन्छ। एक्लै छैन, तब जुन पनि कार्य गर्न चाहन्छौ गर्न सक्छौ।

२) कुमारीहरूको संगमयुगमा विशेष पार्ट छ, यस्तो विशेष पार्टधारी स्वयंलाई बनाएका छौ? वा अहिलेसम्म साधारण छौ? तिम्रो विशेषता के हो? विशेषता हो सेवाधारी बन्नु। जो सेवाधारी हो त्यो विशेष हो। सेवाधारी भएनौ भने साधारण भयौ। के लक्ष्य राखेका छौ? संगमयुगमा नै यो मौका मिल्छ। यदि अहिले यो मौका लिएनौ भने सारा कल्पमा मिल्दैन। संगमयुगलाई नै विशेष वरदान छ। लौकिक पढाइ पढ्दै गर्दा पनि लगन भने यस पढाइमा होस्। तब त्यो पढाइ पनि विघ्न रूप बन्ने छैन। त्यसैले सबैले आफ्नो भाग्य बनाउँदै अगाडि बढ। जति आफ्नो भाग्यको नशा हुन्छ त्यति नै सजिलै मायाजित पनि बन्नेछौ। यो रूहानी नशा हो। सदा आफ्नो भाग्यको गीत गाउँदै रहनु र गीत गाउँदा-गाउँदै आफ्नो राज्यमा पुग्ने छौ।

वरदान:
स्वयंका सर्व कमजोरीहरूलाई दान दिने विधिले समाप्त गर्ने दाता, विधाता भव

भक्तिमा यो नियम हुन्छ जब कुनै वस्तुको कमी भयो भने भन्छन् दान गर। दान गर्नाले दिनु पनि लिनु हुन जान्छ। त्यसैले कुनै पनि कमजोरीलाई समाप्त गर्नको लागि दाता र विधाता बन। यदि तिमी, अरूलाई बाबाको खजाना दिन निमित्त सहारा बन्छौ भने कमजोरीहरू स्वत: किनारा हुनेछ। आफ्नो दाता-विधाताको शक्तिशाली संस्कारलाई प्रत्यक्ष गर्यौ भने कमजोर संस्कारहरू स्वत: समाप्त हुनेछन्।

स्लोगन:
आफ्नो श्रेष्ठ भाग्यको गुणहरू गाइराख कमजोरीको होइन।