01.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यी आँखाले जे जति देख्छौ, यो सबै समाप्त हुनु छ।त्यसैले यसबाट बेहदको वैराग्य होस्। बाबा तिम्रो लागि नयाँ दुनियाँ बनाइरहनु भएको छ।

प्रश्न:
तिमी बच्चाहरूको शान्तिमा कुनचाहिँ रहस्य समाहित छ?

उत्तर:
जब तिमी शान्तिमा बस्छौ, शान्तिधामलाई याद गर्छौ। तिमीलाई थाहा छ शान्ति अर्थात् जीवन छँदै मर्नु। यहाँ बाबाले तिमीलाई सतगुरुको रूपमा शान्त रहन सिकाउनु हुन्छ। तिमीले शान्तिमा रहेर आफ्नो विकर्महरूलाई दग्ध गर्छौ। तिमीलाई ज्ञान छ अब घर जानु छ। अरू सतसङ्गमा शान्तिमा बस्छन् तर उनलाई शान्तिधामको ज्ञान छैन।

ओम् शान्ति ।
मीठा-प्यारा सिकीलधे रूहानी बच्चाहरूप्रति शिवबाबा बोलिरहनु भएको छ। गीतामा छ श्रीकृष्णले भन्नुभयो, तर हो शिवबाबाले बोल्नु भएको, कृष्णलाई बाबा भन्न सकिदैन। तिमीलाई थाहा छ पिता दुइटा हुनुहुन्छ, लौकिक र पारलौकिक। पारलौकिकलाई परमपिता भनिन्छ। लौकिकलाई परमपिता भन्न सकिदैन। तिमीलाई कुनै लौकिक पिताले सम्झाउनु हुन्न। पारलौकिक बाबाले पारलौकिक बच्चाहरूलाई सम्झाउनुहुन्छ। सबैभन्दा पहिले तिमी जान्छौ शान्तिधाममा, जसलाई तिमी मुक्तिधाम, निर्वाणधाम वा वानप्रस्थ पनि भन्ने गर्छौ। अब बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! अब जानु छ शान्तिधाम। केवल त्यसलाई नै भनिन्छ शान्तिको टावर। यहाँ बस्दा सबैभन्दा पहिले शान्तिमा बस्नु पर्छ। कुनै पनि सतसङ्गमा पहिले पहिले शान्तिमा बस्छन्। तर उनीहरूलाई शान्तिधामको ज्ञान छैन। बच्चाहरूले जानेका छन् हामी आत्माहरूलाई यस पुरानो शरीरलाई छोडेर घर जानु छ। जतिबेला पनि समय शरीर छुट्न सक्छ, त्यसैले अब बाबाले जे पढाउनु हुन्छ, त्यो राम्रोसँग पढ्नु पर्छ। उहाँ परम शिक्षक पनि हुनुहुन्छ। सद्गति दाता, गुरु पनि हुनुहुन्छ, उहाँसँग योग लगाउनु छ। उहाँ एकले नै तीन सेवा गर्नु हुन्छ। यस्तो अरू कसैले एकले नै तीन सेवा गर्न सक्दैन। यो एकै बाबाले शान्ति पनि सिकाउनु हुन्छ। जीवन छँदै मर्नुलाई शान्ति भनिन्छ। तिमीलाई थाहा छ हामीलाई अब शान्तिधाम घरमा जानु छ। जबसम्म पवित्र आत्मा बन्दैनौ, तबसम्म फर्केर घर कोही जान सक्दैन। जानु त सबैलाई छ, त्यसैले पाप कर्महरूको पछि गएर सजाय मिल्छ, फेरि पद पनि भ्रष्ट हुन्छ। सजाय पनि खानु पर्ने हुन्छ किनकि मायाबाट हार्छन्। बाबा आउनु हुन्छ नै मायामाथि विजयी बनाउन। तर लापरवाहीको कारण बाबालाई याद गर्दैनन्। यहाँ त एक बाबालाई नै याद गर्नु पर्छ। भक्ति मार्गमा पनि धेरै भड्किन्छन्, जसलाई शिर झुकाउँछन्, उनलाई नै जान्दैनन् बाबा आएर भड्किनबाट छुटाइदिनु हुन्छ। सम्झाइन्छ ज्ञान हो दिन, भक्ति हो रात। रातमा नै धक्का खाइन्छ। ज्ञानबाट दिन अर्थात् सत्ययुग-त्रेता। भक्ति अर्थात् रात, द्वापर-कलियुग। यो हो सारा ड्रामाको अवधि। आधा समय दिन, आधा समय रात। प्रजापिता ब्रह्माकुमार-कुमारीहरूको दिन र रात। यो बेहदको कुरा हो। बेहदका बाबा बेहदको संगममा आउनुहुन्छ, त्यसैले भनिन्छ शिवरात्रि। मानिसहरूले यो बुझ्दैनन् शिवरात्रि केलाई भनिन्छ? तिमीहरू सिवाय कसैलाई पनि शिवरात्रिको महत्त्व थाहा छैन किनकि यो हो बीचको समय। जब रात पूरा भएर दिन सुरु हुन्छ, यसैलाई भनिन्छ पुरुषोत्तम संगमयुग। पुरानो दुनियाँ र नयाँ दुनियाँको बीच। बाबा आउनुहुन्छ नै पुरुषोत्तम संगमयुगे-युगे। यस्तो होइन, युगे-युगे। सत्ययुग-त्रेताको संगम, त्यसलाई पनि संगमयुग भनिदिन्छन्। बाबा भन्नुहुन्छ यो गल्ती हो।

शिवबाबा भन्नुहुन्छ मलाई याद गरेमा पाप नाश हुन्छ, यसलाई योग अग्नि भनिन्छ। तिमीहरू सबै ब्राह्मण हौ। योग सिकाउँछौ पवित्र हुनको लागि। ती ब्राह्मणहरू काम चितामा चढाउँछन्। ती ब्राह्मण र तिमी ब्राह्मणहरूमा रात-दिनको फरक छ। ती हुन् कोख वंशावली, तिमी हौ मुख वंशावली। हर एक कुरा राम्रोसँग बुझ्नु पर्ने छन्। हुन त जो आए पनि उनलाई सम्झाइन्छ, बेहदका बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ, अनि बेहदका बाबाको वर्सा मिल्छ। फेरि जति जति दैवीगुण धारण गरिन्छ र गराइन्छ त्यति उँच पद प्राप्त हुन्छ। बाबा आउनुहुन्छ नै पतितहरूलाई पावन बनाउन। त्यसैले तिमीले पनि यो सेवा गर्नु छ। पतित त सबै छन्। गुरुहरूले कसैलाई पावन बनाउन सक्दैनन्। पतित-पावन नाम शिवबाबाको हो। उहाँ यहाँ नै आउनुहुन्छ। जब सबै पूरै पतित बन्छन्, ड्रामा प्लान अनुसार, तब बाबा आउनुहुन्छ। सबैभन्दा पहिले त बच्चाहरूलाई एक बाबाको बारेमा सम्झाइन्छ, मलाई याद गर। तिमीले भन्छौ हैन उहाँ पतित-पावन हुनुहुन्छ। रूहानी बाबालाई भनिन्छ पतित-पावन। भन्ने गर्छन् हे भगवान् अथवा हे बाबा! तर परिचय कसैलाई छैन। अहिले तिमी संगमवासीहरूलाई परिचय मिलेको छ। तिनीहरू हुन् नर्कवासी। तिमी नर्कवासी होइनौ। हो, यदि कोही हार खान्छ भने त एकदम गिर्न पुग्छ। गरेको कमाइ समाप्त हुन्छ। मूल कुरा हो पतितबाट पावन हुनु पर्ने । यो हो नै विकारी दुनियाँ। त्यो हो निर्विकारी दुनियाँ, नयाँ दुनियाँ, जहाँ देवताहरूले राज्य गर्छन्। अब तिमी बच्चाहरूलाई थाहा भएको छ। पहिले आउने देवताहरूले नै सबैभन्दा धेरै जन्म लिन्छन्। त्यसमा पनि जो सबैभन्दा पहिले सूर्यवंशी हुन्छन् ती पहिले आउँछन्, २१ पीढी वर्सा पाउँछन्। कति बेहदको वर्सा छ पवित्रता-सुख-शान्तिको। सत्ययुगलाई पूरा सुखधाम भनिन्छ। त्रेता हो आधा (सेमी) किनभने दुई कला कम हुन्छ। कला कम भएपछि प्रकाश पनि कम हुन पुग्छ। चन्द्रमाको पनि कला कम भएपछि प्रकाश कम हुन पुग्छ। आखिरमा गएर रेखा मात्रै रहन्छ। शून्य (निल) हुँदैन। तिम्रो पनि यस्तै हो शून्य हुँदैन। यसैलाई भनिन्छ आँटामा नून।

बाबा आत्माहरूलाई बसेर सम्झाउनुहुन्छ। यो हो आत्मा र परमात्माको मेला। यो बुद्धिबाट काम लिइन्छ। परमात्मा कहिले आउनुहुन्छ? जब धेरै आत्माहरू अथवा धेरै मानिस हुन्छन् तब परमात्मा मेलामा आउनुहुन्छ। आत्मा र परमात्माको मेला केको लागि लाग्छ? ती मेला त मैला हुनको लागि हुन्। यस समय तिमी बागवानद्वारा काँडाबाट फूल बनिरहेका छौ। कसरी बन्दैछौ? यादको बलद्वारा। बाबालाई भनिन्छ सर्वशक्तिमान। जसरी बाबा सर्वशक्तिमान हुनुहुन्छ, त्यस्तै रावण पनि कम शक्तिमान छैन। बाबा स्वयं भन्नुहुन्छ माया धेरै बलवान् छ, दुश्मन हो। भन्दछन् बाबा हामी हजुरलाई याद गर्छौ, मायाले हाम्रो यादलाई नै भुलाइदिन्छ। एक-अर्काको दुश्मन भए नि। बाबा आएर मायामाथि विजय प्राप्त गराउनुहुन्छ, मायाले फेरि हराइदिन्छ। देवता र असुरहरूको युद्ध देखाएका छन्। तर यस्तो कुनै होइन। युद्ध त यो हो। तिमी बाबालाई याद गरेर देवता बन्छौ। मायाले यादमा विघ्न पार्छ, पढाइमा विघ्न पार्दैन। यादमा नै विघ्न पर्छ। घरी-घरी मायाले भुलाइदिन्छ। देह-अभिमानी बनेपछि मायाको थप्पड लाग्छ। जो कामी (विकारी) छन्, उनको लागि एकदम कडा अक्षर भन्ने गर्छन्। यो हो नै रावण राज्य। यहाँ पनि सम्झाइन्छ पावन बन, फेरि पनि बन्दैनन्। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! विकारमा नजाऊ, कालो मुख नगर। फेरि पनि लेख्छन् बाबा मायाले हार खिलाइदियो, अर्थात् कालो मुख गरेर बस्छन्। गोरो र कालो हुन्छन् नि। विकारी काला र निर्विकारी गोरा हुन्छन्। श्याम-सुन्दरको पनि अर्थ तिमी सिवाय दुनियाँमा अरू कसैले जान्दैनन्। कृष्णलाई पनि श्याम-सुन्दर भन्ने गर्छन्। बाबाले उनीहरूकै नामको अर्थ सम्झाउनुहुन्छ। स्वर्गको एक नम्बर राजकुमार थिए। सुन्दरतामा नम्बरवन यी पास हुन्छन्। फेरि पुनर्जन्म लिँदा लिँदा तल उत्रिँदै कालो बन्न पुग्छन्। त्यसैले नाम राखिएको छ श्याम-सुन्दर। यो अर्थ पनि बाबाले सम्झाउनुहुन्छ। शिवबाबा त हुनुहुन्छ नै सदा सुन्दर। उहाँ आएर तिमी बच्चाहरूलाई सुन्दर बनाउनुहुन्छ। पतित काला, पावन सुन्दर हुन्छन्। प्राकृतिक सुन्दरता रहन्छ। तिमी बच्चाहरू आएका छौ स्वर्गको मालिक बन्नको लागि। गायन पनि छ शिव भगवानुवाच, माताहरूले स्वर्गको द्वार खोल्छन्। त्यसैले वन्दे मातरम् गायन गरिन्छ। वन्दे मातरम् भएपछि पिता पनि अवश्य हुने भए। बाबाले माताहरूको महिमालाई बढाउनुहुन्छ। पहिले लक्ष्मी, पछि नारायण। यहाँ फेरि पहिले श्रीमान, पछि श्रीमती। ड्रामाको रहस्य यसरी बनेको छ। बाबा रचयिताले पहिले आफ्नो परिचय दिनुहुन्छ। एक हदको लौकिक बुवा, दोस्रो बेहदका पारलौकिक बुवा हुनुहुन्छ। बेहदको बाबालाई याद गर्छन् किनकि उहाँबाट बेहदको वर्सा मिल्छ। हदको वर्सा मिलेर पनि बेहदको बाबालाई याद गर्छन्। बाबा हजुर आउनुभयो भने हामी अरू सङ्गत छोडेर एक हजुरसँग नै जोड्नेछौं। यो कसले भन्यो? आत्माले। आत्माले नै यी अङ्गहरूद्वारा पार्ट बजाउँछ। हर एक आत्माले जस्तो जस्तो कर्म गर्छ, त्यस्तै त्यस्तै जन्म लिन्छ। धनवान नै गरिब बन्छ। कर्म हो नि। यी लक्ष्मी-नारायण विश्वको मालिक हुन्। यिनीहरूले के गरे, यो त तिमीहरूले जान्दछौ, अरूलाई सम्झाउन सक्छौ।

बाबा भन्नुहुन्छ यी आँखाद्वारा तिमीले जे जति देख्छौ, त्यसबाट वैराग्य हुनु पर्छ। यो त सबै विनाश भएर जानु छ। नयाँ घर बनाउँछन् भने फेरि पुरानोबाट वैराग्य आउँछ। बच्चाहरूले भन्छन् बाबाले नयाँ घर बनाउनु भएको छ, हामी त्यसमा जानेछौं। यो पुरानो घर त टूट-फूट हुन्छ। यो हो बेहदको कुरा। बच्चाहरूले जानेका छन् बाबा आउनु भएको छ स्वर्गको स्थापना गर्नको लागि। यो पुरानो छी-छी दुनियाँ हो।

तिमी बच्चाहरू अहिले त्रिमूर्ति शिवको अगाडि बसेका छौ। तिमीले विजय प्राप्त गर्छौ। वास्तवमा तिम्रो यो त्रिमूर्ति प्रतीक (कोर्ट अफ आर्मस) हो। तिमी ब्राह्मणहरूको यो कुल सबैभन्दा उँच हो। चोटी हो। यो राजाई स्थापना भइरहेको छ। यस कोट अफ आर्मसलाई तिमी ब्राह्मणहरूले जान्दछौ। शिवबाबाले हामीलाई ब्रह्माद्वारा पढाउनुहुन्छ, देवी-देवता बनाउनको लागि। विनाश त हुन नै छ। दुनियाँ तमोप्रधान बनेपछि प्राकृतिक प्रकोपले पनि मदत गर्नेछ। बुद्धिबाट कति साइन्स निकालिरहन्छन्। पेटबाट कुनै मूसल निकाल्दैनन्। यो साइन्स निस्केको छ, जसबाट सारा कुललाई विनाश गरिदिन्छन्। बच्चाहरूलाई सम्झाइएको छ सबैभन्दा उँच हुनुहुन्छ शिवबाबा। पूजा पनि गर्नु पर्छ एक शिवबाबाको अनि देवताहरूको। ब्राह्मणहरूको पूजा हुन सक्दैन किनकि तिम्रो आत्मा पवित्र भए पनि शरीर त पवित्र हुँदैन, त्यसैले पूजन लायक हुन सक्दैनौ। महिमा लायक हुन सक्छौ। जब फेरि तिमी देवता बन्छौ तब आत्मा पनि पवित्र, शरीर पनि नयाँ पवित्र मिल्छ। यस समय तिमी महिमा लायक हौ। वन्दे मातरम् गायन गरिन्छ। माताहरूको सेनाले के गरे? माताहरूले नै श्रीमत अनुसार ज्ञान दिएका हुन्। माताहरूले सबैलाई श्रीमत अनुसार ज्ञान दिन्छन्। माताहरूले सबैलाई ज्ञान अमृत पिलाउँछन्। यथार्थ रीति तिमीले बुझ्दछौ। शास्त्रहरूमा त धेरै कहानीहरू लेखिएका छन्, त्यो बसेर सुनाउँछन्। तिमी सत्य-सत्य गरिरहेका छौ। तिमी यो बसेर सुनायौ भने सत्य-सत्य भन्नेछन्। अब त तिमी सत्य-सत्य भन्दैनौ। मानिसहरू त यस्तो पत्थरबुद्धि छन्, जसकारण सत्य-सत्य भनिरहन्छन्। गायन पनि छ पत्थरबुद्धि र पारसबुद्धि। पारसबुद्धि अर्थात् पारसनाथ। नेपालमा पारसनाथको मन्दिर छ। पारसपुरीका नाथ यी लक्ष्मी-नारायण हुन्। उनीहरूको डिनायस्टी हुन्छ। अब मूल कुरा हो रचयिता र रचनाको रहस्यलाई जान्नु, जसको लागि ऋषि-मुनिहरूले पनि नेति-नेति भन्दै आए। अहिले तिमी बाबाद्वारा सबै कुरा जान्दछौ अर्थात् आस्तिक बन्छौ। माया रावणले नास्तिक बनाउँछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सदैव स्मृति रहोस् हामी ब्रह्मा मुख वंशावली ब्राह्मण हौं, हाम्रो कुल सबैभन्दा उच्च हो। हामी पवित्र बन्नु र बनाउनु छ। पतित-पावन बाबाको सहयोगी बन्नु छ।

२) यादमा कहिल्यै लापर्बाही गर्नु हुँदैन। देह-अभिमानको कारण नै मायाले यादमा विघ्न पार्छ। त्यसैले पहिला देह-अभिमानलाई छोड। योग अग्निद्वारा पाप नाश गर्नु छ।


वरदान:
मायाको विकराल रूपको खेललाई साक्षी भएर हेर्ने मायाजित भव

मायालाई स्वागत गर्नेहरू उसको विकराल रूपलाई देखेर आत्तिदैनन्। साक्षी भएर खेल हेर्दा आनन्द आउँछ किनकि माया बाहिरबाट सिंहको रूप हुन्छ तर त्यसमा तागत बिरालोको जति पनि हुँदैन। केवल तिमी डराएर त्यसलाई ठूलो बनाइदिन्छौ के गरुँ... कसरी होला...। यही पाठ याद गर जे भइरहेको छ त्यो राम्रो र जे हुनेवाला छ त्यो अझै राम्रो। साक्षी भएर खेल हेर्यौ भने मायाजित बन्छौ।

स्लोगन:
जो सहनशील छ, ऊ कसैको भाव-स्वभावमा जल्दैन। व्यर्थ कुरालाई एक कानले सुनेर अर्को कानबाट निकालिदिन्छ।