01.05.22    Avyakt Bapdada     Nepali Murli    13.12.90     Om Shanti     Madhuban


तपस्याको फाउण्डेशन बेहदको वैराग्य


आज बापदादाले सर्व स्नेही बच्चाहरूलाई स्नेहको पुष्प अर्पित गर्दै गरेको देखिरहनु भएको छ। बापदादाले देश विदेशका सर्व बच्चाहरूको दिलैदेखिको स्नेहका पुष्पहरूको वर्षा देखिरहनु भएको छ। सबै बच्चाहरूको मनको एउटै साज अथवा गीत सुनिरहनु भएको छ। एउटै गीत छ मेरा बाबा। चारैतिर मिलन मनाउने शुभ-आशाहरूका दीपक जगमगाइरहेका छन्। यो दिव्य दृष्य सारा कल्पमा बापदादा र बच्चाहरू सिवाय कसैले देख्न सक्दैन। यो अनोखा स्नेहको पुष्प यहाँ यस पुरानो दुनियाँको कोहिनुर हीरा भन्दा पनि अमूल्य छ। यो दिलको गीत बच्चाहरू सिवाय अरू कसैले गाउन सक्दैन। यस्तो दीपमाला कसैले मनाउन सक्दैन। बापदादाको सामुन्ने सर्व बच्चाहरू इमर्ज छन्। यस स्थूल स्थानमा सबै बस्न सक्दैनन्। तर बापदादाको दिलतख्त अति विशाल छ त्यसैले सबैलाई इमर्ज रूपमा देखिरहनु भएको छ। सबैको यादप्यार र स्नेहभरि अधिकारको गुनासो पनि सुनिरहनु भएको छ र साथ-साथै हरेक बच्चालाई रिटर्नमा पदमगुणा बढी यादप्यार दिइरहनु भएको छ। बच्चाहरूले अधिकारले भन्छन् हामी सबैले साकार स्वरूपमा मिलन मनाऔं। बाबाले पनि चाहनुहुन्छ, बच्चाहरूले पनि चाहन्छन्। फेरि पनि समय अनुसार ब्रह्मा बाबाले अव्यक्त फरिश्ता रूपमा साकार स्वरूपद्वारा अनेक गुणा तीव्रगतिले सेवा गर्दै बच्चाहरूलाई आफू समान बनाइरहनु भएको छ। केवल एक दुई वर्ष मात्र होइन अनेक वर्ष अव्यक्त मिलन, अव्यक्त रूपमा सेवाको अनुभव गराउनु भयो र गराइ पनि रहनु भएको छ। त्यसैले ब्रह्मा बाबाले अव्यक्त भएर पनि व्यक्तमा किन पार्ट खेल्नु भयो? समान बनाउनको लागि। ब्रह्मा बाबा अव्यक्तबाट व्यक्तमा आउनुभयो, त्यसैले बच्चाहरूले रिटर्नमा के गर्नु छ? व्यक्तबाट अव्यक्त बन्नु छ। समय अनुसार अव्यक्त मिलन, अव्यक्त रूपद्वारा सेवा अहिले अति आवश्यक छ। त्यसैले समय प्रति समय बापदादाले अव्यक्त मिलनको अनुभूतिको इसारा दिइरहनु हुन्छ। यसको लागि तपस्या वर्ष पनि मनाइरहेका छौ नि। बापदादालाई हर्ष छ धेरैजसो बच्चाहरूको उमंग-उत्साह राम्रो छ। थोरै बच्चाहरूले यस्तो सोच्छन् प्रोग्राम अनुसार गर्नु नै छ। एउटा हुन्छ प्रोग्रामले गर्नु र अर्को हुन्छ दिलको उमंग-उत्साहले गर्नु। हरेकले आफैँसँग सोध म कुनमा पर्छु?

समय परिस्थिति अनुसार, स्व उन्नति अनुसार, तीव्र गतिको सेवा अनुसार, बापदादाको स्नेहको रिटर्न दिने हिसाबले तपस्या अति आवश्यक छ। प्यार गर्न अति सहज छ र सबैले गर्छौ, यो पनि बाबाले जान्नुहुन्छ तर रिटर्न स्वरूपमा बापदादा समान बन्नु छ। यस समयमा बापदादाले यो देख्नु चाहनु हुन्छ। यसमा कोही कोही निस्किन्छन्। चाहना सबैको छ तर चाहने र गर्ने यसमा संख्याको अन्तर छ किनकि तपस्याको सदा र सहज फाउन्डेशन हो बेहदको वैराग्य। बेहदको वैराग्य अर्थात् चारैतिरको किनारा छोडिदिनु किनकि किनारालाई सहारा बनाइदिएका छन्। समय अनुसार प्यारो बन्नु र समय अनुसार श्रीमत अनुसार निमित्त बनेका आत्माहरूको इसारा अनुसार सेकेन्डमा बुद्धि प्याराबाट फेरि न्यारा बन्नु, त्यो हुँदैन। जति चाँडो प्यारा बन्छौ, त्यति न्यारा बन्दैनौ। प्यारा बन्नमा होसियार छौ, न्यारा बन्नमा सोच्छौ, यसमा हिम्मत चाहिन्छ। न्यारा बन्नु नै किनारा छोड्नु हो र किनारा छोड्नु नै बेहदको वैराग्य वृत्ति हो। किनारालाई सहारा बनाएर पक्डिन आउँछ तर छोड्न के गर्छौ? लामो प्रश्न चिन्ह लगाइदिन्छौ। सेवाको इन्चार्ज बन्न धेरै राम्रोसँग आउँछ तर इन्चार्जको साथ-साथै स्वयंको र अरूको ब्याट्री चार्ज गर्न मुश्किल लाग्छ। त्यसैले वर्तमान समयमा तपस्याद्वारा वैराग्य वृत्तिको अति आवश्यकता छ।

एक शब्दको पाठ पक्का गर्नु तपस्याको सफलताको विशेष आधार वा सहज साधन हो। दुई-तीन लेख्न मुश्किल हुन्छ। एक लेख्न धेरै सहज छ। तपस्या अर्थात् एकको बन्नु, जसलाई बापदादाले एकनामी भन्नुहुन्छ। तपस्या अर्थात् मन-बुद्धिलाई एकाग्र गर्नु, तपस्या अर्थात् एकान्तप्रिय रहनु, तपस्या अर्थात् स्थितिलाई एकरस राख्नु, तपस्या अर्थात् सर्व प्राप्त खजानाहरूलाई व्यर्थबाट बचाउनु अर्थात् इकोनामीसँग चल्नु। एकको पाठ पक्का भयो नि? एकको पाठ मुश्किल छ वा सहज छ? छ त सहज, तर... यस्तो भाषा त बोल्दैनौ नि।

धेरै धेरै भाग्यवान छौ। अनेक प्रकारको मेहनतबाट छुट्यौ। दुनियाँलाई समयले गराउने छ र समयमा मजबुरीले गर्नेछन्। बच्चाहरूलाई बाबाले समय भन्दा पहिला तयार गर्नुहुन्छ र बाबाको मोहब्बतले गर्छौ। यदि मोहब्बतले नगरे वा थोरै गरेमा के हुन्छ? मजबुरीले गर्नु नै पर्छ, बेहदको वैराग्य धारण गर्नु नै पर्छ तर मजबुरीले गर्नेलाई फल मिल्दैन। मोहब्बतको प्रत्यक्षफल भविष्यफल बन्छ र मजबुरीवालालाई कहाँबाट क्रस गर्नुपर्छ! क्रस गर्नु पनि क्रसमा चढ्नु जस्तै हो। अब के मन पर्छ? मोहब्बतले गर्छौ नि। बापदादाले कुनै समयमा किनारा गर्नेको लिस्ट सुनाउनु हुनेछ। त्यसो त जान्नमा होसियार छौ। रिभाइज गराउनु हुनेछ किनकि बापदादाले त बच्चाहरूको दिनहुँको दिनचर्या जब चाह्यो हेर्न सक्नुहुन्छ। एक एकलाई हेर्ने सारा दिन धन्दा गर्नुहुन्न। साकार ब्रह्मा बाबालाई देख्यौ, उहाँको नजर स्वत: नै कहाँ पर्थ्यो? चाहे तिम्रो पत्र होस्, चाहे पोतामेल होस्, चाहे कुनै चाल-चलन होस्, चाहे कुनै आठ पेजको पत्र होस् तर बाबाको नजर कहाँ पर्थ्यो? जहाँ डाइरेक्शन दिनु छ, जहाँ आवश्यकता छ। बापदादाले देख्नु पनि सबै हुन्छ, तर देखेर पनि देख्नुहुन्न। जान्नु पनि हुन्छ, जानेर पनि जान्नुहुन्न। जो आवश्यक छैन, त्यो न देख्नुहुन्छ, न जान्नुहुन्छ। खेल त धेरै राम्रो देख्नुहुन्छ, त्यो फेरि कुनै समयमा सुनाउँला। अच्छा!

तपस्या गर्न, बेहदको वैराग्य वृत्तिमा रहन सहज छ नि। किनारालाई छोड्न मुश्किल छ? तर बन्नु पनि तिमीलाई नै छ। कल्प-कल्पको प्राप्तिको अधिकारी बनेका छौ र अवश्य बन्नेछौ। अच्छा! यस वर्ष कल्प पहिलाका अनेक कल्पका पुराना र यस कल्पका नयाँ बच्चाहरूलाई चान्स मिलेको छ। चान्स मिलेकोमा खुशी छ हैन? धेरैजसो नयाँ छन्, टिचरहरू पुराना छन्। टिचरहरूले के गर्छौ? वैराग्य वृत्ति धारण गर्छौ नि? किनारा छोड्छौ कि त्यतिबेला भन्नेछौ गर्न त चाहन्छु तर कसरी गर्ने? गरेर देखाउनेवाला हौ कि सुनाउनेवाला हौ? जति पनि चारैतिरका बच्चाहरू आएका छौ, सबै बच्चाहरूलाई बापदादा साकार रूपमा देखेर हर्षित भइरहनु भएको छ। हिम्मत राखेका छौ र मदत बाबाको सदा छँदै छ, त्यसैले सदैव हिम्मतले मदतको अधिकारलाई अनुभव गर्दै सहजै उड्दै जाऊ। बाबाले मदत दिनुहुन्छ तर लिनेले लिनुपर्छ। दाताले दिनुहुन्छ तर लिनेहरू यथाशक्ति बन्छन्। यथाशक्ति नबन्नु। सदा सर्वशक्तिमान् बन्नु। त्यसोभए पछि आउनेहरूले पनि अगाडि नम्बर लिन्छौ नि। बुझ्यौ? सर्वशक्तिको अधिकारलाई पूरा प्राप्त गर। अच्छा!

चारैतिरका सर्वस्नेही आत्माहरू, सदा बाबाको प्यारको रिटर्न दिने अनन्य आत्माहरू, सदा तपस्वीमूर्त स्थितिमा स्थित रहने, बाबाका समीप आत्माहरू, सदा बाबा समान बन्ने लक्ष्यलाई लक्षण रूपमा ल्याउने, यस्ता देश-विदेशका सर्व बच्चाहरूलाई दिलाराम बाबाको दिलैदेखि, स्नेहभरि यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

दादी जी हरूसँग अव्यक्त बापदादाको भेटघाट:

अष्ट शक्तिधारी, इष्ट र अष्ट हौ नि। अष्टको निशानी के हुन्छ, थाहा छ? हर कर्ममा समय अनुसार, परिस्थिति अनुसार, हर शक्ति कर्ममा लगाउने। अष्ट शक्तिहरूले इष्ट पनि बनाइदिन्छन् र अष्ट पनि बनाइदिन्छन्। अष्ट शक्तिधारी हौ त्यसैले आठ हात देखाउँछन्। विशेष आठ शक्ति छन्। त्यसो त छन् धेरै, तर आठमा धेरैजसो आउँछ। विशेष शक्तिलाई समयमा कार्यमा ल्याउनु छ। जस्तो समय, जस्तो परिस्थिति त्यस्तै स्थिति होस्, यसलाई भनिन्छ अष्ट वा इष्ट। यस्तो ग्रुप तयार छ हैन? विदेशमा कति तयार छन्? अष्टमा आउनेहरू छन् नि? अच्छा! (सवेरै ब्रह्ममुहूर्तको समयमा सन्तरी दादीले शरीर छोड्नुभयो १३-१२-९०)।

राम्रो भयो, जानु त सबैलाई नै छ। एवररेडी छौ या याद आउँछ मेरो सेन्टर, अब जिज्ञासुहरूलाई के होला? मेरो मेरो भन्ने त याद आउँदैन? जानु त सबैलाई छ तर हरेकको हिसाब आ-आफ्नो छ। हिसाब-किताब चुक्ता नगरिकन कोही जान सक्दैन, त्यसैले सबैले खुशीले छुट्टी दियौ। सबैलाई राम्रो लाग्यो नि। यसरी जानु राम्रो हो नि। तिमीहरू पनि एवररेडी भएर जानु। अच्छा!

पार्टीहरूसँग अव्यक्त बापदादाको भेटघाट:

१) दिल्ली र पंजाब दुवै नै सेवाका आदि स्थान हुन्। स्थापनाको स्थान सदा नै महत्त्वपूर्ण मानिन्छ, गायन गरिन्छ। जसरी सेवामा आदि स्थान हो, त्यसैगरी स्थितिमा आदि रत्न हौ? स्थानको साथ-साथै स्थितिको पनि महिमा हुन्छ नि। आदि रत्न अर्थात् हर श्रीमतलाई जीवनमा ल्याउने, आदि (सुरुआत) गर्नेहरू। केवल सुन्ने-सुनाउनेहरू होइनौ, गर्नेहरू हौ किनकि सुन्ने-सुनाउने त अनेक छन् तर गर्ने करोडौंमा कोही छन्। त्यसैले यो नशा रहन्छ हामी करोडौंमा कोही हौं? यो रूहानी नशाले मायाको नशा छुटाइदिन्छ। यो रूहानी नशा सेफ्टीको साधन हो। कुनै पनि मायाको नशाले पहिरिने, खाने, हेर्ने... आफूतिर आकर्षित गर्न सक्दैन। यस्तो नशामा रहन्छौ या मायाले थोरै-थोरै आकर्षित गर्छ? अब समझदार बनेका छौ नि। मायाको पनि समझ छ। समझदारले कहिल्यै धोका खाँदैन। यदि समझदारले नै कहिलेकाहीँ धोका खान्छ भने उसलाई सबैले के भन्छन्? समझदार भएर पनि धोका खायो! धोका खानु अर्थात् दु:खलाई आह्वान गर्नु। जब धोका खान्छौ अनि त्यसबाट दु:ख मिल्छ नि। अब दु:खलाई कसैले लिन चाहन्छ र! त्यसैले सदा आदि रत्न हौ अर्थात् हर श्रीमतको आदि (सुरुआत) आफ्नो जीवनमा गर्नेवाला। यस्तो हौ? या देखेका छौ पहिला अर्कोले गरोस् अनि मैले गर्नेछु। यसले नगरेपछि म कसरी गरूँ! गर्नेमा पहिला म। अर्को परिवर्तन होस् अनि म हुन्छु... यो पनि परिवर्तन होस् अनि म हुन्छु... होइन, जसले गर्छ, उसले पाउँछ, कति पाउँछ? एकको पदमगुणा। त्यसैले गर्नमा मज्जा छ नि। एक गरेर पदम पाऊ। यसमा त प्राप्ति नै प्राप्ति छ, त्यसैले प्राक्टिकलमा श्रीमतलाई अपनाउनेमा पहिला म। मायाको वश हुनमा पहिला म होइन, तर यस पुरुषार्थमा पहिला म, त्यसपछि नै सफलता हर कदममा अनुभव गर्नेछौ। सफलता निश्चित छ। केवल थोरै मार्ग फेरिदिन्छौ, अनि गन्तव्य टाढा हुन्छ, समय लाग्छ। यदि कोही गलत बाटोमा हिड्यो भने गन्तव्य टाढा हुन्छ नि। त्यसैले त्यस्तो नगर्नु। गन्तव्य सामुन्ने खडा छ, सफलता निश्चित छ। जब मेहनत गर्नुपर्छ भने मोहब्बतको पल्ला हल्का हुन्छ। यदि मोहब्बत छ भने मेहनत कहिल्यै गर्नु पर्दैन किनकि बाबाले अनेक भुजाहरू सहित तिम्रो मदत गर्नुहुन्छ। उहाँले आफ्ना भुजाहरूद्वारा सेकेन्डमा कार्य सफल गरिदिनु हुन्छ। पुरुषार्थमा सदा उडिरहनेछौ। पंजाबका उड्छौ या डराउँछौ? पक्का अनुभवी भइसकेका छौ? कोही डराउने छौ र? के होला, कसरी होला..! होइन। उनीहरूलाई पनि शान्तिको दान दिनेहरू हौ। जो आए पनि शान्ति लिएर जाओस्, खाली हात नजाओस्। चाहे ज्ञान दिदैनौ तापनि शान्तिको भाइब्रेशनले पनि शान्त गरिदिन्छ। अच्छा!

२) चारैतिरबाट आएका श्रेष्ठ आत्माहरू सबै ब्राह्मण हौ, न कि राजस्थानी, न महाराष्ट्रका, न मध्य प्रदेशका... सबै एक हौ। यस समयमा सबै मधुबन निवासी हौ। ब्राह्मणहरूको ओरिजिनल स्थान मधुबन हो। सेवाको लागि भिन्न-भिन्न एरियामा गएका हौ। यदि एकै स्थानमा बस्यौ भने चारैतिरको सेवा कसरी हुन्छ? त्यसैले सेवा अर्थ भिन्न-भिन्न स्थानहरूमा गएका हौ। चाहे लौकिकमा बिजनेसमेन हौ या सरकारी सेवाका हौ, या फ्याक्ट्रीमा काम गर्नेहरू हौ.... तर ओरिजिनल पेशा ईश्वरीय सेवाधारी हौ। माताहरू पनि घरमा रहेर ईश्वरीय सेवामा छौ। ज्ञान चाहे कसैले सुनुन् या नसुनुन्, शुभ-भावना, शुभ-कामनाको भाइब्रेशनले पनि परिवर्तन हुन्छन्। केवल वाणीको सेवा मात्रै सेवा होइन, शुभ-भावना राख्नु पनि सेवा हो। दुवै सेवा गर्न आउँछ हैन? कसैले तिमीलाई गाली नै गर्छ भने पनि तिमीले शुभभावना, शुभकामना दिन नछोड। ब्राह्मणहरूको काम हो केही न केही दिनु। यो शुभभावना, शुभकामना राख्नु पनि शिक्षा दिनु हो। सबै वाणीले परिवर्तन हुँदैनन्। जस्तोसुकै होस् तर केही न केही अञ्जली अवश्य देऊ। चाहे पक्का रावण नै किन नहोस्। कति माताहरूले भन्छन् नि हाम्रा सम्बन्धीहरू पक्का रावण छन्, परिवर्तन हुँदै हुँदैनन्, यस्ता आत्माहरूलाई पनि आफ्नो खजानाद्वारा शुभभावना, शुभकामनाको अञ्जली अवश्य देऊ। कसैले गाली गर्छ भने पनि उसको मुखबाट के निस्कन्छ? यी ब्रह्माकुमारी हुन्... ब्रह्मा बाबालाई त याद गर्छन्, चाहे गाली गरून् तर ब्रह्मा त भन्छन्। फेरि पनि बाबाको नाम त लिन्छन् नि। चाहे चिनुन् वा नचिनुन्, तिमीले फेरि पनि उनलाई अञ्जली देऊ। यस्तो अञ्जली दिन्छौ या जसले सुन्दैन उसलाई छोडिदिन्छौ? छोड्नु छैन, नत्र पछाडि तिम्रै कान पक्डिन्छन्, उलहना दिन्छन् हामी त बेसमझ थियौं, तिमीले किन दिएनौ? यसरी कान पक्डिन्छन् नि। तिमीले दिँदै जाऊ, कसैले लिउन् या नलिउन्। बापदादाले दिनहुँ यति खजाना बच्चाहरूलाई दिनुहुन्छ। कसैले पूरा लिन्छन्, कसैले यथाशक्ति लिन्छन्। फेरि बापदादाले कहिल्यै भन्नुहुन्छ मैले दिन्न? किन लिँदैनौ? ब्राह्मणहरूको कर्तव्य हो दिनु। दाताका बच्चाहरू हौ नि। उसले राम्रो भन्यो, फेरि तिमीले दियौ, यसरी त लेवता भयौ। लेवता कहिल्यै दाताको बच्चा हुन सक्दैन, देवता बन्न सक्दैन। तिमी देवता बन्नेवाला हौ नि? दैवी चोला तयार छ हैन? या अझै सिउँदै छौ, धोइरहेका छौ या केवल प्रेस गर्न बाँकी छ? दैवी चोला सामुन्ने देखिनुपर्छ। आज फरिश्ता, भोलि देवता। कति पटक देवता बनेका छौ! त्यसैले सदैव आफूलाई दाताको बच्चा र देवता बन्नेवाला हुँ यही याद राख। दाताको बच्चाले लिएर दिँदैन। मान मिलेमा, रिगार्ड दिएमा दिन्छु यस्तो होइन। सदा दाताका बच्चाहरू दिनेवाला। यस्तो नशा सदा रहन्छ नि। या कहिलेकाहीँ कम हुन्छ, कहिले बढी? अझै मायालाई बिदाई दिएका छैनौ र? बिस्तारै-बिस्तारै नदिनु, यति समय छैन। एक त आएका नै ढिलो छौ, फेरि बिस्तारै बिस्तारै पुरुषार्थ गर्छौ भने पुग्न सक्दैनौ। निश्चय भयो, नशा चढ्यो, उड्यो। अहिले उड्ती कलाको समय हो। उड्दा फास्ट हुन्छ नि। तिमी लक्की छौ उड्ने समयमा आएका छौ। सदैव आफूलाई यस्तो नै अनुभव गर हामी एकदमै भाग्यवान हौं। यस्तो भाग्य फेरि सारा कल्पमा मिल्न सक्दैन। दाताको बच्चा बन, लिने संकल्प पनि नहोस्। पैसा दिउन्, कपडा दिउन्, खाना दिउन्। दाताको बच्चालाई सबै स्वत: नै प्राप्त हुन्छ। माग्नेलाई मिल्दैन। दाता बनेमा आफैं मिलिरहन्छ। अच्छा!

वरदान:
यथार्थ यादद्वारा सर्वशक्तिसम्पन्न बन्ने सदा शस्त्रधारी , कर्मयोगी भव

यथार्थ यादको अर्थ हो सर्वशक्तिले सदा सम्पन्न रहनु। परिस्थिति रूपी दुस्मन आउँदा शस्त्र काममा आएन भने शस्त्रधारी भनिदैन। हर कर्ममा याद होस् तब सफलता मिल्छ। जसरी कर्म बिना एक सेकेन्ड पनि रहन सक्दैनौ, त्यसैगरी कुनै पनि कर्म योग बिना गर्न सक्दैनौ, त्यसैले कर्मयोगी, शस्त्रधारी बनेर समयमा सर्व शक्तिलाई अर्डर प्रमाण प्रयोग गर, तब भनिन्छ यथार्थ योगी।

स्लोगन:
जसको संकल्प र कर्म महान् छ ऊ नै मास्टर सर्वशक्तिमान् हो।