01.09.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे प्राण बचाउने प्राणेश्वर बाबा आउनु भएको छ तिमी बच्चाहरूलाई ज्ञानको मीठो मुरली सुनाएर प्राण बचाउन।

प्रश्न:
तकदिरवान बच्चाहरूलाई नै कुनचाहिँ निश्चय हुन्छ?

उत्तर:
हाम्रो श्रेष्ठ तकदिर बनाउन स्वयं बाबा आउनु भएको छ। बाबाद्वारा हामीलाई भक्तिको फल मिलिरहेको छ। मायाले जुन पंख काटिदिएको छ, फेरि ती पंख दिन। आफूसँगै साथमा फर्काएर लैजानको लागि बाबा आउनु भएको छ। यो निश्चय तकदिरवान बच्चाहरूलाई नै हुन्छ।

गीत:
यह कौन आज आया सवेरे...

ओम् शान्ति ।
सबेरै-सबेरै यो को आएर मुरली सुनाउनु हुन्छ? दुनियाँ त बिल्कुलै घोर अन्धकारमा छन्। तिमीले अहिले ज्ञानसागर, पतित-पावन प्राणेश्वर बाबाद्वारा मुरली सुनिरहेका छौ। उहाँ हुनुहुन्छ प्राण बचाउने ईश्वर। भन्छन् नि हे ईश्वर यस दु:खबाट बचाउनुहोस्। उनीहरूले हदको मदत माग्छन्। अहिले तिमी बच्चाहरूलाई मिल्छ बेहदको मदत किनकि बेहदको बाबा हुनुहुन्छ नि। तिमीले जानेका छौ आत्मा गुप्त छ, बाबा पनि गुप्त हुनुहुन्छ। बच्चाको शरीर प्रत्यक्ष छ भने उसका पिता पनि प्रत्यक्ष छन्। आत्मा गुप्त छ त्यसैले बाबा पनि गुप्त हुनुहुन्छ। तिमीले जानेका छौ बाबा आउनु भएको छ हामीलाई बेहदको वर्सा दिन। उहाँको हो श्रीमत। सर्व शास्त्रमयी शिरोमणि गीता प्रख्यात छ, केवल त्यसमा नाम परिवर्तन गरिदिएका छन्। अहिले तिमीले जानेका छौ श्रीमत भगवानुवाच हो। यो पनि जानेका छौ भ्रष्टाचारीलाई श्रेष्ठाचारी बनाउने एक बाबा नै हुनुहुन्छ। उहाँले नै नरबाट नारायण बनाउनु हुन्छ। कथा पनि सत्य-नारायणको छ। गायन गरिन्छ अमर कथा, अमरपुरीको मालिक बन्न अथवा नरबाट नारायण बन्नको लागि हो। कुरा एउटै हो। यो हो मृत्युलोक। भारतवर्ष नै अमरपुरी थियो, यो कसैलाई पनि थाहा छैन। यहाँ अमर बाबाले हामीलाई सुनाउनु भएको छ। एक मात्र पार्वती वा द्रौपदी होइनन्। यो ज्ञान त धेरै बच्चाहरूले सुनिरहेका छौ। शिवबाबाले सुनाउनु हुन्छ, ब्रह्माद्वारा। बाबा भन्नुहुन्छ मैले ब्रह्माद्वारा प्यारा आत्माहरूलाई सम्झाउँछु। बाबाले सम्झाउनु भएको छ प्यारा बच्चाहरू आत्म-अभिमानी अवश्य बन्नु छ। बाबाले नै बनाउन सक्नुहुन्छ। दुनियाँमा कोही मनुष्य छैन, जसलाई आत्माको ज्ञान होस्। आत्माको नै ज्ञान छैन भने परमपिता परमात्माको ज्ञान कसरी हुन सक्छ? भनिदिन्छन् आत्मा नै परमात्मा। सारा दुनियाँ कति ठूलो भूलमा फँसेको छ। यतिबेला मनुष्यको बुद्धि कुनै कामको छैन। आफ्नै विनाशको लागि तयारी गरिरहेका छन्। तिमी बच्चाहरूको लागि यो कुनै नयाँ कुरा होइन। जानेका छौ ड्रामा अनुसार उनीहरूको पनि पार्ट छ। ड्रामाको बन्धनमा बाँधिएका छन्। आजकल दुनियाँमा हंगामा धेरै हुन्छ। अहिले तिमी बच्चाहरू हौ विनाशकाले प्रीत बुद्धि, जो बाबासँग विपरीत बुद्धि छन्, उनीहरूको लागि विनशन्ती भनिएको छ। अब यो दुनियाँ परिवर्तन हुनु छ। यो पनि जानेका छौ अवश्य महाभारत लडाईं भएको थियो, बाबाले राजयोग सिकाउनु भएको थियो। शास्त्रमा त सम्पूर्ण विनाश लेखिदिएका छन्। तर सम्पूर्ण विनाश त हुँदैन, नत्र त प्रलय हुन्छ। मनुष्य कोही पनि रहँदैन, केवल ५ तत्त्व रहन्छ। यस्तो त हुनै सक्दैन। प्रलय भयो भने मनुष्य कहाँबाट आउने? देखाउँछन् कृष्णले औंला चुस्दै सागरमाथि पीपलको पातमा आए। बालक यसरी कसरी आउन सक्छ? शास्त्रमा यस्ता यस्ता कुरा लेखिदिएका छन्, कुरै नगर। अहिले तिमी कुमारीहरूद्वारा यी विद्वान्, भीष्म पितामह आदिलाई पनि ज्ञान बाण लाग्नु छ। तिनीहरू पनि पछि गएर आउँछन्। जति-जति तिमीले सेवामा जोड दिन्छौ, बाबाको परिचय सबैलाई दिन्छौ, त्यति तिम्रो प्रभाव पर्छ। हो, विघ्न पनि पर्छन्। यो पनि गायन गरिएको छ आसुरी सम्प्रदायद्वारा यस ज्ञान यज्ञमा धेरै विघ्न पर्छन्। तिमीले सिकाउन सक्दैनौ। ज्ञान र योग बाबाले नै सिकाइरहनु भएको छ। सद्गतिदाता एउटै बाबा हुनुहुन्छ। उहाँले नै पतितलाई पावन बनाउनु हुन्छ, त्यसैले अवश्य पतितहरूलाई नै ज्ञान दिनुहुन्छ नि। बाबालाई कहाँ सर्वव्यापी मान्न सकिन्छ र! तिमी बच्चाहरूले बुझेका छौ हामी पारसबुद्धि बनेर पारसनाथ बन्छौं। मनुष्यहरूले कति धेरै मन्दिर बनाएका छन्। तर उनीहरू को थिए, के गरेर गए, अर्थ जानेका छैनन्। पारसनाथको पनि मन्दिर छ। भारतखण्ड पारसपुरी थियो। सुन, हीरा, जुहारतका महल थिए। हिजोको कुरा हो। उनीहरूले त लाखौं वर्ष भनिदिन्छन्, केवल एक सत्ययुगलाई। त्यसैले बाबा भन्नुहुन्छ सारा ड्रामा नै ५ हजार वर्षको छ त्यसैले भनिन्छ आजको दुनियाँ कस्तो छ, हिजो कस्तो थियो! लाखौं वर्षको त कसैलाई स्मृति रहन सक्दैन। तिमी बच्चाहरूलाई अहिले स्मृति मिलेको छ। जानेका छौ ५ हजार वर्षको कुरा हो। बाबा भन्नुहुन्छ योगमा बस। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो ज्ञान भयो नि। उनीहरू त हुन् हठयोगी। गोडामाथि गोडा चढाएर बस्छन्। के-के गर्छन्! तिमी माताहरूले त यस्तो गर्न सक्दैनौ। बस्न पनि सक्दैनौ। कति धेरै चित्रहरू छन्, भक्ति मार्गका। बाबा भन्नुहुन्छ मीठे बच्चे! तिमीलाई यो केही गर्ने आवश्यकता छैन। विद्यालयमा विद्यार्थीहरू मर्यादा अनुसार बस्छन्। बाबाले त्यसो पनि भन्नुहुन्न। जसरी चाहन्छौ त्यसैगरी बस। बस्दा-बस्दा थाक्यौ भने ठीकै छ पल्टिए पनि हुन्छ। बाबाले कुनै कुरामा मनाही गर्नुहुन्न। यो त सहजै बुझ्ने कुरा हो, यसमा कुनै मेहनतको कुरा छैन। जतिसुकै बिमारी भए पनि, हुन सक्छ सुन्दा-सुन्दा शिवबाबाको यादमा रहँदा-रहँदा प्राण तनबाट निस्कियोस्। गायन गरिन्छ गंगाजल मुखमा होस्.... तब प्राण तनबाट निस्कियोस्। ती त सबै हुन् भक्ति मार्गका कुरा। वास्तवमा यो ज्ञान अमृतको कुरा हो। तिमीले जानेका छौ वास्तवमा त्यसैगरी प्राण तनबाट निस्कनुपर्छ। तिमी बच्चाहरू आउँछौ, तर मलाई माथि नै छोडेर आउँछौ। बाबा भन्नुहुन्छ मैले त तिमी बच्चाहरूलाई साथमा लिएर जान्छु। म आएकै हुँ तिमी बच्चाहरूलाई घर लिएर जानको लागि। तिमीलाई न आफ्नो घरको बारेमा थाहा छ, न आत्माको बारेमा थाहा छ। मायाले बिल्कुलै पंख काटिदिएको छ, त्यसैले आत्मा उड्न सक्दैन किनकि तमोप्रधान छ। सतोप्रधान नबनेसम्म शान्तिधाममा कसरी जान सक्छ? यो पनि जानेका छौ ड्रामा योजना अनुसार सबै तमोप्रधान बन्नु नै छ। यतिबेला सारा वृक्ष सडिसकेको छ। यहाँ कसैको पनि सतोप्रधान अवस्था हुन सक्दैन। यहाँ आत्मा पवित्र भए पछि फेरि बस्दैन, एकदमै भाग्छ। सबैले भक्ति गर्छन् नै मुक्तिको लागि। तर कोही पनि फर्केर जान सक्दैन। नियमले दिँदैन। बाबाले बसेर यी सबै रहस्य सम्झाउनु हुन्छ, धारण गर्नको लागि। फेरि पनि मुख्य कुरा हो बाबाको याद गर्नु, स्वदर्शन चक्रधारी बन्नु। बीजलाई याद गर्नाले सारा वृक्ष बुद्धिमा आउँछ। तिमीले एक सेकेण्डमा सबै जानेका छौ। दुनियाँमा कसैलाई पनि थाहा छैन मनुष्य सृष्टिको बीजरूप सबैका एक बाबा नै हुनुहुन्छ। कृष्ण भगवान होइनन्। कृष्णलाई श्याम सुन्दर भन्छन्। यस्तो होइन कुनै तक्षक सर्पले डस्यो अनि काला भए। यो त काम चितामा चढ्नाले मनुष्य काला हुन्छन्। रामलाई पनि काला देखाउँछन्, उनलाई केले डस्यो! केही पनि बुझ्दैनन्। फेरि पनि जसको तकदिरमा छ, निश्चय छ भने अवश्य बाबाद्वारा वर्सा लिन्छन्। निश्चय भएन भने कहिल्यै पनि बुझ्दैनन्। तकदिरमा छैन भने पुरुषार्थ पनि के गर्छन्। तकदिरमा छैन भने फेरि यसरी बस्छन्, मानौं केही पनि बुझेका छैनन्। यति पनि निश्चय हुँदैन बाबा आउनु भएको छ बेहदको वर्सा दिन। जसरी कुनै नयाँ मानिस मेडिकल कलेजमा गएर बस्छ भने के बुझ्न सक्छ, केही पनि बुझ्दैन। यहाँ पनि त्यसैगरी आएर बस्छन्। यस अविनाशी ज्ञानको विनाश त हुँदैन। फेरि उनीहरू आएर के पाउँछन्? राजधानी स्थापना हुन्छ त्यसैले नोकर चाकर प्रजा, प्रजाका पनि नोकर चाकर सबै चाहिन्छ नि। पछि गएर केही पढ्ने कोसिस गर्नेछन् तर हुन्छ मुश्किल किनकि त्यतिबेला धेरै हंगामा हुन्छ। दिन प्रतिदिन तुफान बढ्दै जान्छ। यति धेरै सेवा केन्द्रहरू छन्, कतिले आएर राम्ररी बुझ्छन्। यो पनि लेखिएको छ ब्रह्माद्वारा स्थापना। विनाश पनि सामुन्ने खडा छ। विनाश त हुनु नै छ। भन्छन् जन्म कम होस्। तर वृक्षको वृद्धि त हुनु नै छ। जबसम्म बाबा हुनुहुन्छ, त्यतिञ्जेल सबै धर्मका आत्माहरू यहाँ आउनै पर्छ। जाने समय भएपछि आत्माहरू आउन बन्द हुन्छ। अहिले त सबै आउनु नै छ, तर यी कुरा कसैले जानेको छैन। भन्छन् पनि भक्तहरूका रक्षक भगवान। अवश्य भक्तहरूमाथि आपद आउँछ। रावण राज्यमा बिल्कुलै सबै पाप आत्मा बन्छन्। रावण राज्य हो कलियुगको अन्त्यमा, रामराज्य हो सत्ययुगको आरम्भमा। यतिबेला सबै आसुरी रावण सम्प्रदायका छन् नि। भन्छन् फलाना स्वर्गवासी भयो, यसको मतलब यो नर्क हो नि। स्वर्गवासी भयो त राम्रो हो। त्यसैले यहाँ के थियो त? अवश्य नर्कवासी थियो। यो पनि बुझ्दैनन् म नर्कवासी हुँ। अहिले तिमीले जानेका छौ बाबाले नै आएर स्वर्गवासी बनाउनु हुन्छ। गायन पनि गरिन्छ हेविनली गड फादर। उहाँ नै आएर स्वर्ग स्थापना गर्नुहुन्छ। सबैले गाइरहन्छन् पतित-पावन सीताराम। हामी पतित छौं, पावन बनाउनेवाला हजुर हुनुहुन्छ। ती सबै हुन् भक्ति मार्गका सीताहरू। बाबा हुनुहुन्छ राम। कसैलाई सीधा भन्यौ भने मान्दैनन्। रामलाई बोलाउँछन्। अहिले तिमी बच्चाहरूलाई बाबाले तेस्रो नेत्र दिनुभएको छ। तिमी मानौं अलग दुनियाँका भएका छौ।

बाबा सम्झाउनु हुन्छ अहिले सबै तमोप्रधान पनि अवश्य बन्नु छ, अनि त बाबा आएर सतोप्रधान बनाउनु हुन्छ। बाबा बसेर कति राम्ररी सम्झाउनु हुन्छ। भन्नुहुन्छ तिमी बच्चाहरूले सेवा पनि गर्छौ, केवल एक कुरा याद राख बाबालाई याद गर। सतोप्रधान बन्ने मार्ग अरू कसैले बताउन सक्दैन। सबैका रूहानी सर्जन एउटै हुनुहुन्छ। उहाँ नै आएर आत्माहरूलाई इन्जेक्शन लगाउनु हुन्छ किनकि आत्मा नै तमोप्रधान बनेको छ। बाबालाई अविनाशी सर्जन भनिन्छ। आत्मा अविनाशी छ, परमात्मा पिता पनि अविनाशी हुनुहुन्छ। अहिले आत्मा सतोप्रधानबाट तमोप्रधान बनेको छ, यसलाई इन्जेक्शन चाहिन्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! आफूलाई आत्मा निश्चय गरेर आफ्नो बाबालाई याद गर। बुद्धियोग माथि लगायौ भने स्वीट होममा जान्छौ। तिम्रो बुद्धिमा छ अब हामी आफ्नो स्वीट साइलेन्स होममा जानु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) ज्ञान र योगद्वारा बुद्धिलाई पारस बनाउनु छ। जति बिरामी भए पनि, कष्ट भए पनि एक बाबाको याद रहोस्।

२) आफ्नो उच्च तकदिर बनाउनको लागि पूरा-पूरा निश्चयबुद्धि बन्नु छ। बुद्धियोग आफ्नो स्वीट साइलेन्स होममा लगाउनु छ।

वरदान:
सदा कम्बाइण्ड स्वरूपको स्मृतिद्वारा मुश्किल कार्यलाई सहज बनाउने डबल लाइट भव

जुन बच्चाहरू निरन्तर यादमा रहन्छन्, उनीहरूले सदा साथको अनुभव गर्छन्। उनीहरूको सामुन्ने कुनै पनि समस्या आयो भने आफूलाई कम्बाइन्ड अनुभव गर्छन्, आतिदैनन्। यो कम्बाइन्ड स्वरूपको स्मृतिले जस्तोसुकै मुश्किल कार्यलाई पनि सहज बनाइदिन्छ। कहिलेकाहीँ कुनै ठूलो कुरा सामुन्ने आयो भने आफ्नो बोझ बाबालाई दिएर स्वयं डबल लाइट बन, अनि फरिश्ता समान दिन रात खुशीमा मनैदेखि डान्स गरिरहन्छौ।

स्लोगन:
कुनै पनि कारणको निवारण गरेर सन्तुष्ट रहने र अरूलाई पनि सन्तुष्ट पार्ने आत्मा नै सन्तुष्टमणि हो।


मातेश्वरीजीका अनमोल महावाक्यहरू:
ज्ञान र योगमा फरक

योग र ज्ञान दुई शब्द छन्, योग भनिन्छ परमात्माको यादलाई। अरू कसैको पनि यादको सम्बन्धमा योग शब्द भनिदैन। गुरुहरू जसले योग सिकाउँछन्, उनीहरूले पनि परमात्मातिर नै लैजान्छन् तर उनीहरूलाई परमात्माको पूरा परिचय छैन त्यसैले योगको पूरा सिद्धि मिल्दैन। योग र ज्ञान दुवै शक्ति हुन्, दुवैको पुरुषार्थबाट शक्ति मिल्छ र हामीले विकर्माजित बनेर श्रेष्ठ जीवन बनाउँछौं। योग शब्द त सबैले भन्छन् तर जोसँग योग लगाइन्छ, पहिला उहाँको परिचय हुनुपर्छ। तर यो परमात्माको परिचय पनि हामीलाई परमात्माद्वारा नै मिल्छ। त्यस परिचयबाट योग लगाउनाले पूर्ण सिद्धि मिल्छ। योगबाट हामीले विगतको विकर्मको बोझलाई भस्म गर्छौं र ज्ञानद्वारा पनि थाहा हुन्छ भविष्यको लागि हामीले कुनचाहिँ कर्म गर्नु पर्छ र किन? जीवनको जड कुरा हो संस्कार, आत्मा पनि अनादि संस्कारबाट बनेको छ तर कर्मबाट त्यो संस्कार परिवर्तन भइरहन्छ। योग र ज्ञानबाट आत्मामा श्रेष्ठता आउँछ र जीवनमा शक्ति आउँछ तर दुवै चीज पाइन्छ परमात्माबाट। कर्मबन्धनबाट छुटाउने म पनि हामीलाई परमात्माबाटै प्राप्त हुन्छ। हामीले विकर्मबाट जुन कर्मबन्धन बनाएका छौं त्यसबाट मुक्ति होस् र भविष्यका लागि हाम्रो कर्म विकर्म नबनोस्। यी दुबै कुराको लागि परमात्मा सिवाय कसैले शक्ति दिन सक्दैन। योग र ज्ञान दुइटै कुरा परमात्माले ल्याउनुहुन्छ, हामीले गरेको विकर्म योग अग्नीबाट भस्म गराउनु हुन्छ र ज्ञानद्वारा भविष्यको लागि श्रेष्ठ कर्म सिकाउनुहुन्छ। जसबाट कर्म, अकर्म हुन्छ त्यसैले त परमात्माले भन्नुभएको छ यो कर्म-अकर्म-विकर्मको गति धेरै गहन छ। अहिले त हामी आत्माहरूलाई डाइरेक्ट परमात्माको शक्ति मिल्छ, शास्त्रहरूद्वारा यो योग र ज्ञानको शक्ति मिल्न सक्दैन तर उहाँ सर्वशक्तिमान बलवानद्वारा नै मिल्छ। अहिले हाम्रो आफ्नो जीवनको संस्कार यस्तो बनाउनु छ, जसबाट जीवनमा सुख मिलोस्। त्यसैले त परमात्मा आएर जीवनको जरामा शुद्ध संस्कारको बीज राख्नुहुन्छ, जुन शुद्ध संस्कारको आधारमा हामी आधाकल्प जीवनमुक्त बन्दछौं। अच्छा ओम् शान्ति।