01.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी ब्रह्माका सन्तान आपसमा भाइ बहिनी हौ , तिम्रो वृत्ति धेरै शुद्ध पवित्र हुनुपर्छ।”

प्रश्न:–
कुन बच्चाहरूले सम्झाउँदा धेरै राम्रो प्रभाव पर्न सक्छ?

उत्तर:–
जो गृहस्थ व्यवहारमा रहेर पनि कमल फूल समान पवित्र रहन्छन्, यस्ता अनुभवी बच्चाहरूले कसैलाई पनि बुझाउँदा राम्रो प्रभाव पर्नसक्छ किनकि विवाह गरेर पनि अपवित्र वृत्ति नरहनु– यो धेरै उच्च लक्ष्य हो। यसमा बच्चाहरू एकदम खबरदार पनि रहनु पर्छ।

गीत:–
हमारे तीर्थ न्यारे हैं...

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ किनकि बच्चाहरूले बाबालाई चिनेका छन्। हुन त सबै बच्चाहरू नै हुन्, सबै बच्चा ब्रह्माकुमार-कुमारीहरू नै हुन्। उनीहरूलाई थाहा छ– ब्रह्माकुमार-कुमारी आपसमा भाइ बहिनी भए। सबै एउटै बाबाका बच्चाहरू हुन्। त्यसैले वास्तविकता बुझाउनु छ– हामी आत्मा भाइ-बहिनी हौं, सबै भाइ-भाइ हुन्। यहाँ त तिमीलाई थाहा छ– हामी एउटै ग्रेन्ड फादर र फादरका सन्तान हौं। शिवबाबाका नाति, ब्रह्माका बच्चाहरू हौं। मानौँ, यिनको लौकिक स्त्री छन्, उनले पनि भनिन् म ब्रह्माकुमारी हुँ, अब उनको पनि नाता त्यही हुन्छ। जसरी लौकिक बहिनी भाइमा कुनै खराब दृष्टि जाँदैन, आजकाल त सबै फोहोरी बनिसकेका छन् किनकि दुनियाँ नै गन्दा छ। तिमी बच्चाहरूले अहिले जान्दछौ– हामी ब्रह्माकुमार-कुमारीहरू हौं। ब्रह्माद्वारा एडप्टेड (गोदमा लिइएका) बच्चा हौं, त्यसैले भाइ बहिनी हौं। उनीहरूलाई सम्झाउनु पर्छ– संन्यास पनि दुई प्रकारका हुन्छन्। संन्यास अर्थात् पवित्र रहनु, ५ विकारहरूलाई छोड्नु। ती हुन् हठयोग संन्यासी, उनको विभाग नै अलग छ। प्रवृत्तिमार्गमा रहनेहरूसँग सम्बन्ध नै तोडेर जान्छन्, तिनीहरूको नाम नै छ हठयोग कर्म संन्यासी। तिमी बच्चाहरूलाई सम्झाइएको छ– गृहस्थ व्यवहारमा रहँदा देहसहित देहका सबै सम्बन्ध त्यागी बाबालाई याद गर्नु छ। उनीहरूले त घरबार छोडिदिन्छन्। मामा, चाचा, काका कोहीसँग पनि सम्बन्ध राख्दैनन्। उनीहरूले सम्झन्छन्– एक मात्र सहारा बाँकी छ, उसलाई नै याद गर्नु छ वा ज्योति ज्योतीमा लीन हुनु छ। निर्वाणधाम जानु छ। उनीहरूको विभाग नै अलग छ, वेशभूषा अलग छ। तिनीहरूले भनिदिन्छन्– स्त्री नर्कका द्वार हुन्, आगो र कपास सँगसँगै रहन सम्भव छैन। अलग रहेमा नै हामी बच्न सक्छौं। ड्रामा अनुसार उनको धर्म नै अलग छ। त्यो स्थापना शङ्कराचार्यको हो, उनले सिकाउँछन् हठयोग, कर्म संन्यास, न कि राजयोग। तिमीलाई थाहा छ– ड्रामा यस्तै बनेको छ, त्यो पनि नम्बरवार। शतप्रतिशत समझदार त सबैलाई भनिदैन। कोही शतप्रतिशत समझदार हुन्छन्, कोही शतप्रतिशत बेसमझ हुन्छन्। यो त हुन्छ नै। तिमीलाई थाहा छ– हामीले मम्मा-बाबा भन्छौं भने आपसमा भाइ-बहिनी भयौँ त्यसैले खराब वृत्ति हुनुहुँदैन, नियमले यस्तो भन्छ। भाइ बहिनीको कहिल्यै आपसमा विवाह हुन सक्दैन। घरमा भाइ-बहिनीको बीचमा यदि यस्तो कुनै नराम्रो व्यवहार हुन्छ, यिनको चालचलन खराब छ भन्ने उनका पिताले थाहा पाए भने पितालाई बडो फिक्र हुन्छ। यी कहाँबाट पैदा भए, यिनले कति नोक्सान पारे, उनका पिताले उनलाई धेरै हप्काउँछन्। पहिले यी कुरामा सबैको परहेज हुन्थ्यो। अहिले त सबै शतप्रतिशत तमोप्रधान छ। मायाको प्रभाव धेरै छ। परमपिता परमात्माका बच्चाहरूसँग त मायाको एकदम लडाइँ हुन्छ। बाबा भन्नुहुन्छ– यी मेरा बच्चा हुन्, मैले यिनलाई स्वर्गमा लिएर जान्छु। मायाले भन्छ– होइन, यी मेरा बच्चा हुन्, मैले यिनलाई नर्कमा लिएर जान्छु। यहाँ त धर्मराज बाबाको हातमा छ। त्यसैले जो गृहस्थ व्यवहारमा रहेर पनि पवित्र रहन्छन्, उनले अरूलाई एकदम राम्रोसँग सम्झाउनु छ– हामी कसरी सँगै रहेर पनि पवित्र रहन्छौं। जो काम हठयोगी संन्यासीहरूले गर्न सकेनन्, त्यो बाबाले गराइरहनु भएको छ। संन्यासीहरूले कहिल्यै राजयोग सिकाउन सक्दैनन्। विवेकानन्दको किताबमा बाहिरबाट नाम लेखिएको छ राजयोग। तर संन्यासी जो निवृत्ति मार्गवाला छन् उनले राजयोग सिकाउन सक्दैनन्। तिमीहरू जो गृहस्थ व्यवहारमा रहन्छौ र पवित्र रहन्छौ, त्यसैले तिमीहरूले सम्झाएमा राम्रो तीर लाग्छ। बाबाले अखबारमा देख्नु भएको थियो, दिल्लीमा रुख-बिरुवाहरूको बारेमा सम्मेलन हुँदै छ। त्यसको बारेमा पनि कसरी सम्झाऊँ– तपाईंहरूले यी जङ्गली वृक्ष आदिको त ख्याल गर्नुहुन्छ, तर मानव वंशवृक्षको कहिल्यै ख्याल गर्नु भएको छ? यस मनुष्य सृष्टिको कसरी उत्पत्ति, पालना हुन्छ?

बच्चाहरूको त्यति विशालबुद्धि बनेको छैन। त्यति धेरै ध्यान छैन। कुनै न कुनै बिमारी लागिरहेको हुन्छ। लौकिक घरमा पनि भाइ-बहिनीको कहिल्यै विकारी ख्याल हुँदैन। यहाँ त तिमी सबै एउटै बाबाका सन्तान भाइ-बहिनी, ब्रह्माकुमार-कुमारी हौ। यदि विकारी ख्याल आउँछ भने उनलाई के भनौं? उनीहरू, जो नर्कमा रहन्छन्, तिनीहरूभन्दा पनि त्यस्ताको हजार गुणा खराबमा गणना हुन्छ। तिमी बच्चाहरूमाथि धेरै ठुलो जिम्मेवारी छ। जो गृहस्थ व्यवहारमा रहेर पनि पवित्र रहन्छन्, धेरै मेहनत उनलाई छ। दुनियाँले यी कुरालाई जान्दैनन्। बाबा आउनुहुन्छ पावन बनाउन, त्यसैले अवश्य बच्चाहरूले प्रतिज्ञा गर्छन्, राखी बाँधिसकिएको छ। यसमा धेरै मेहनत छ। विवाह भएर पनि पवित्र रहनु ठुलो लक्ष्य हो। अलिकति पनि बुद्धि जानु हुँदैन। विवाह भएपछि त विकारी हुन्छन्। बाबा आएर नङ्गन हुनबाट बचाउनु हुन्छ। द्रौपदीको कुरा पनि शास्त्रहरूमा छ। यी कुरामा केही रहस्य त छ नि, हैन! यो शास्त्र आदि सबै ड्रामामा निश्चित छ। जो बितेर गएको छ, त्यो ड्रामामा निश्चित छ, त्यो अवश्य दोहोरिनु छ। ज्ञानमार्ग र भक्तिमार्ग पनि निश्चित छ। तिम्रो बुद्धि अब धेरै विशाल भइसकेको छ। जस्तो बेहद बाबाको बुद्धि, त्यस्तै श्रीमतमा चल्ने मुरब्बी (अति प्यारा) बच्चाहरूको बुद्धि। बच्चाहरू त धेरै छन्। थाहा छैन, अझै कति बच्चा हुन्छन्। जबसम्म ब्राह्मण-ब्राह्मणी बन्दैनन् तबसम्म वर्सा प्राप्त गर्न सक्दैनन्। अब तिमी ब्रह्मामुखवंशी नै फेरि गएर सूर्यवंशी अथवा विष्णुवंशी बन्छौ। अहिले हौ शिववंशी। शिव हुनुहुन्छ हजुरबुबा, ब्रह्मा हुन् बुबा। सारा प्रजाका प्रजापिता त एउटै हुने भए नि। जानेका पनि छौ, यो जुन मनुष्य सृष्टिको वृक्ष छ, त्यसको पनि बीज हुनुपर्छ। त्यसमा पहिलो मनुष्य पनि हुनुपर्छ, जसलाई नयाँ मानव (न्यू म्यान) भनिन्छ। नयाँ मानव को होला? ब्रह्मा नै हुनुपर्छ। ब्रह्मा र सरस्वती– उनीहरूलाई नयाँ मानवको रूपमा गणना हुन्छ। यसमा बडो विशाल बुद्धि चाहिन्छ। आत्माले नै भन्छ– हे भगवान! हे परमपिता! आत्माले भन्छ हैन? त्यसैले उहाँ सबैका रचयिता हुनुहुन्छ। उहाँ सबैभन्दा उच्च हुनुभयो। फेरि आऊ, मनुष्य सृष्टिमा। यसमा उच्च कसलाई राखौँ? प्रजापिता। यो त जसले पनि बुझ्नसक्छ– जुन मनुष्य सृष्टिको वृक्ष छ, त्यसमा ब्रह्मा भए मुख्य। शिव त हुनुहुन्छ आत्माहरूको पिता, ब्रह्मालाई मनुष्यहरूका रचयिता भन्न सक्छौ । तर कसको मतमा रचना गर्छन्? बाबा भन्नुहुन्छ– मैले नै ब्रह्मालाई एडप्ट गर्छु। नयाँ ब्रह्मा फेरि कहाँबाट आउँछन्? धेरै जन्महरूको अन्तिम जन्ममा म यिनमा प्रवेश गर्छु। यिनको नाम प्रजापिता ब्रह्मा राख्छु। अहिले तिमीलाई थाहा छ– हामी वास्तवमा ब्रह्माका बच्चा हौं। शिवबाबासँग ज्ञान लिइरहेका छौं। हामी बाबाबाट पवित्रता, सुख, शान्ति, स्वास्थ्य, सम्पत्ति लिन आएका छौं। विश्वमा पहिले हामी नै सदा सुखी थियौँ। अहिले छैनौँ। फेरि बाबाले त्यो वर्सा दिइरहनु भएको छ। प्यारा बच्चाहरूले जानेका छौ मुख्य हो पवित्रता। राखी कसलाई बाँधिन्छ? जो अपवित्र बन्छन्, उनले प्रतिज्ञा गर्छन् हामी पवित्र रहनेछौँ। बाबा सम्झाउनु हुन्छ– यो धेरै ठुलो लक्ष्य हो। पहिल्यैबाट जो युगल छन् उनले सम्झाउनु पर्छ– हामी कसरी भाइ बहिनी भएर रहन्छौँ? हो, अवस्था जमाउनमा समय लाग्छ। बच्चाहरूले पनि लेख्छन्– मायाको तुफान धेरै आउँछ। त्यसैले गृहस्थ व्यवहारमा रहेर पनि पवित्र रहनेहरूले भाषण गरेमा राम्रो हुन्छ किनकि यो हो नयाँ कुरा। यो हो नै स्व-राजयोग। यसमा पनि संन्यास छ। गृहस्थ व्यवहारमा रहेर हामीले जीवनमुक्ति अर्थात् सदगति पाएका छौँ। यो त जीवनबन्ध हो। तिम्रो हो स्वराज्य पद। स्वलाई राज्य चाहिन्छ। अब त्यसको राज्य त छैन। आत्माले भन्छ– म राजा थिएँ, रानी थिएँ, अब म विकारी कङ्गाल बनेको छु, ममा कुनै गुण छैन। यो आत्माले नै भन्छ हैन? त्यसैले आफूलाई आत्मा, परमपिता परमात्माको सन्तान सम्झनु छ। हामी आत्मा भाइ-भाइ हौं, आपसमा धेरै स्नेह हुनुपर्छ। हामीले सारा दुनियाँलाई स्नेही बनाउँछौँ। राम राज्यमा त सिंह र बाख्राले पनि सँगसँगै पानी पिउँथे, कहिल्यै लडाइँ गर्दैनथे भने तिमी बच्चाहरूमा कति स्नेह हुनुपर्छ! यो अवस्था बिस्तारै-बिस्तारै आउँछ। लडाइँ त धेरै हुन्छ हैन! पार्लियामेन्ट (संसद)मा पनि लड्छन् अनि कुर्सी उठाएर एक अर्कालाई हान्न थाल्छन्। त्यो त हो आसुरी सभा। तिम्रो यो हो ईश्वरीय सभा, त्यसैले कति नसा हुनुपर्छ। यो विद्यालय हो। पढाइमा कोही त जान्ने हुन्छन्, कोही सुस्त हुन्छन्। यो विद्यालय पनि अचम्मको छ। त्यहाँ त विद्यालय, शिक्षक अलग-अलग हुन्छन्, यहाँ विद्यालय पनि एउटै र शिक्षक पनि एउटै हुनुहुन्छ। आत्माले शरीर धारण गरेर सिक्नेगर्छ। आत्मालाई सिकाइन्छ। म आत्माले शरीरद्वारा पढ्छु। यति आत्म-अभिमानी बन्नु छ। हामी आत्माहरू हौं, उहाँ परमात्मा हुनुहुन्छ। यो बुद्धिमा सारा दिन दौडाउनु छ। देह-अभिमानबाट नै गल्तीहरू हुन पुग्छन्। बाबा घरी घरी भन्नुहुन्छ– देही-अभिमानी भव। देह-अभिमानमा आएपछि मायाको युद्ध हुन्छ। चढाइ धेरै उच्च छ। कति विचारसागर मन्थन गर्नुपर्ने हुन्छ। रातमा नै विचारसागर मन्थन हुनसक्छ। यस्तो विचार गर्दागर्दै बाबा समान बन्दै जान्छौ।

तिमी बच्चाहरूले सारा ज्ञान बुद्धिमा राख्नु छ। गृहस्थ व्यवहारमा रहेर राजयोग सिक्नु छ। सारा बुद्धिको काम हो। बुद्धिमा धारणा हुन्छ। गृहस्थीहरूलाई धेरै मेहनत छ। आजकाल त तमोप्रधान हुनाले धेरै विकारी हुन्छन्। मायाले सबैलाई खतम गरिदिएको छ। चपाएर एकदमै खाइहाल्छ। बाबा आउनुहुन्छ माया अजिङ्गरको पेटबाट निकाल्न। निकाल्न धेरै मुस्किल हुन्छ। जो गृहस्थ व्यवहारमा रहन्छन्, उनले चमत्कार(जलवा) देखाउनु छ। सम्झाउनु छ हाम्रो हो राजयोग । हामीले ब्रह्माकुमार-कुमारी किन भन्छौं? यस पहेलीलाई बुझ्नु र बुझाउनु छ। वास्तवमा बी.के. त तपाईं पनि हुनुहुन्छ। प्रजापिता ब्रह्माले त नयाँ सृष्टि रच्छन्। नयाँ मानवद्वारा नयाँ सृष्टि बनाउनु हुन्छ। वास्तवमा त सत्ययुगको पहिलो बच्चा जो हुन्छ उसलाई नै नयाँ भनिन्छ। कति खुशीका कुरा छन्। त्यहाँ त खुशीका बाजागाजा बज्नेछन्। आत्मा र शरीर दुवै पवित्र रहन्छन्। यहाँ त यिनमा अहिले बाबाले प्रवेश गर्नु भएको छ। भन्नुहुन्छ, यी नयाँ मानव कुनै पवित्र छैनन्, पुरानोमा बसेर यिनलाई नयाँ बनाउँछु। पुरानो चीजलाई नयाँ बनाउँछु। अब नयाँ मानव कसलाई भन्ने? के ब्रह्मालाई भनौँ? यसमा बुद्धिले काम गर्छ। उनीहरूले कहाँ जान्दछन् र– एडम ईव को हुन्? नयाँ मानव हुन् श्रीकृष्ण, उनै फेरि पुराना मानव ब्रह्मा हुन्। फेरि पुराना ब्रह्मालाई नयाँ मानव बनाउँछु। नयाँ विश्वको लागि नयाँ मानव चाहिन्छ। उनी कहाँबाट आउलान्? नयाँ मानव त सत्ययुगका राजकुमार हुन्। उनलाई नै सुन्दर भनिन्छ। यी हुन् श्याम, यिनी नयाँ मानव होइनन्। उनै श्रीकृष्ण ८४ जन्म लिँदालिँदा अब अन्तिम जन्ममा छन्, जसलाई फेरि बाबाले गोद लिनुहुन्छ। पुरानोलाई नयाँ बनाउनु हुन्छ, बुझ्नको लागि कति गोपनीय कुरा छन्। नयाँ नै पुरानो, पुरानो नै नयाँ। श्याम नै सुन्दर, सुन्दर नै श्याम। जो पुरानोभन्दा पुरानो छन् उनै नयाँभन्दा नयाँ बनिरहेका छन्। तिमीलाई थाहा छ– हामीलाई बाबाले पूरै नयाँ बनाउनु हुन्छ। यो बडो सम्झनु पर्ने कुरा हो। आफ्नो अवस्था पनि त्यस्तै बनाउनु छ। कुमार-कुमारी त छन् नै पवित्र। बाँकी हामी गृहस्थमा रहेर पनि कमल फूलसमान बन्छौं, स्वदर्शन चक्रधारी बन्छौं। विष्णुवंशीलाई त्रिकालदर्शीपनाको ज्ञान हुँदैन। यी पुरानो मानव त्रिकालदर्शी छन्। कति जटिल कुरा छन्। पुरानो मानव नै ज्ञान लिएर नयाँ मानव बन्छन्। बाबा बसेर सम्झाउनु हुन्छ– त्यो हठयोग हो, यो राजयोग हो। राजयोगको अर्थ नै हो स्वर्गको बादशाही। संन्यासीहरूले त सुखलाई काग विष्टासमान भन्छन्। तिरस्कार गर्छन्। बाबा भन्नुहुन्छ– नारी नै स्वर्गका द्वार हुन्। माताहरूमाथि कलश राख्छु। त्यसैले पहिला सुरुमा सम्झाऊ– शिवाय नम:, भगवानुवाच। आवाज बुलन्द निस्कनु पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) हामी आत्मा भाइ-भाइ हौं, यस निश्चयबाट पवित्रताको व्रतलाई पालन गर्दै आपसमा एकदम स्नेहसँग रहनु छ। सबैलाई स्नेही बनाउनु छ।

२) विशालबुद्धि बनेर ज्ञानको गहन रहस्यलाई सम्झाउनु छ। विचारसागर मन्थन गर्नु छ। मायाको आक्रमणबाट बच्नको लागि देही-अभिमानी भएर रहने अभ्यास गर्नु छ।

वरदान:–
ज्ञान अमृतको वर्साद्वारा मुर्दाबाट महान् बन्ने मरजीवा भव

पहिले चिन्ताको चितामा जलिरहेका थियौ। अहिले बाबाले ज्ञान अमृतको वर्षा गरेर जलिरहेको चिताबाट मरजीवा बनाइदिनुभयो। जिउँदो बनाइदिनुभयो। बाबाले अमृत पिलाउनुभयो र अमर बनाइ दिनुभयो। पहिले मरेको मुर्दासमान थियौ र अब मुर्दाबाट महान् बन्यौ। पहिले भन्थ्यौ– भगवानले मुर्दालाई पनि ब्युँताइदिनु हुन्छ तर कसरी ब्युँताउनु हुन्छ, त्यो जान्दैनथ्यौ। अहिले खुशी छ– बाबाले हामीलाई जलिरहेको चिताबाट उठाएर अमर बनाइदिनुभयो।

स्लोगन:–
धर्ममा स्थित भएर कर्म गर्नेहरू नै धर्मात्मा हुन्।