01.12.19    Avyakt Bapdada     Nepali Murli    15.03.85     Om Shanti     Madhuban


मेहनतबाट छुट्ने सहज साधन निराकारी स्वरूपको स्थिति


बापदादा बच्चाहरूको स्नेहमा वाणी भन्दा पर निर्वाण अवस्थाबाट वाणीमा आउनुहुन्छ। किन? बच्चाहरूलाई आफू समान निर्वाण स्थितिको अनुभव गराउनको लागि र निर्वाण प्यारो घरमा लैजानको लागि। निर्वाण स्थिति निर्विकल्प स्थिति हो। निर्वाण स्थिति निर्विकारी स्थिति हो। निर्वाण स्थितिबाट निराकारी सो साकार स्वरूपधारी बनेर वाणीमा आउँछौ। साकारमा आएर पनि निराकारी स्वरूपको स्मृति, स्मृतिमा रहन्छ म निराकार साकार आधारले बोलिरहेको छु। साकारमा पनि निराकारी स्थितिको स्मृति रह्यो भने त्यसलाई भनिन्छ निराकार सो साकारद्वारा वाणीमा, कर्ममा आउनु। असली स्वरूप निराकार हो, साकार आधार हो। यो डबल स्मृति, निराकार सो साकारको स्थिति शक्तिशाली स्थिति हो। साकारको आधार लिँदा निराकार स्वरूपलाई भने नभुल। भुल्छौ त्यसैले याद गर्ने मेहेनत गर्न पर्छ। जसरी लौकिक जीवनमा आफ्नो शारीरिक स्वरूप स्वत: नै सदा याद रहन्छ म फलानोले वा फलानीले अहिले यो कार्य गरिरहेको छु वा गरिरहेकी छु। कार्य बदलिन्छ तर म फलानो हुँ यो नत बदलिन्छ, नत भुलिन्छ। त्यसैगरी म निराकार आत्मा हुँ, यो वास्तविक स्वरूप कुनै पनि कार्य गर्दा स्वत: र सदा याद रहनु पर्छ किनकि एक पटक स्मृतिमा आइसक्यो, परिचय पनि मिल्यो म निराकार आत्मा हुँ भनेर। परिचय अर्थात् ज्ञान, त्यसैले ज्ञानको शक्तिद्वारा स्वरूपलाई जानिसकेका छौ। जानिसकेपछि फेरि भुल्न कसरी सक्छौ? जसरी ज्ञानको शक्तिले शरीरको भान भुल्न चाहेर पनि भुल्न सक्दैनौ भने यो आत्मिक स्वरूपलाई भुल्न कसरी सक्छौ? त्यसैले यो आफूले आफैंसँग सोध र अभ्यास गर। हिँड्दा डुल्दा, काम गर्दा जाँच गर निराकार सो साकार आधारले यो कार्य गरिरहेको छु? तब स्वत: नै निर्विकल्प स्थिति, निराकारी स्थिति, निर्विघ्न स्थिति सहजै रहन्छ। मेहनतबाट छुट्छौ। जब पटक पटक भुल्छौ तब यो मेहनत लाग्छ। फेरि याद गर्ने मेहनत गर्न थाल्छौ। भुल्छौ नै किन, भुल्नु छ र? बापदादाले सोध्नुहुन्छ तिमी को हौ? साकार हौ वा निराकार? निराकार हौ नि? निराकार हुँदाहुँदै पनि किन भुल्छौ? असली स्वरूप भुल्छौ, आधार याद रहन्छ? स्वयं प्रति हाँसो लाग्दैन यो के गर्दैछु भनेर? अब हाँसो लाग्छ नि? असली भुल्न पुग्छौ अनि नक्कली चीज याद आउँछ। बापदादालाई कहिलेकाहीं बच्चाहरू माथि आश्चर्य पनि लाग्छ। आफूले आफैंलाई भुल्छन् र भुलेर फेरि के गर्छन्? आफूले आफैंलाई भुलेर हैरान हुन्छन्। जसरी बाबालाई स्नेहले निराकारबाट साकारमा आह्वान गरेर ल्याउन सक्छौ भने जोसँग स्नेह छ ऊ जस्तै निराकार स्थितिमा स्थित हुन सक्दैनौ? बापदादाले बच्चाहरूको मेहनत देख्न सक्नुहुन्न। मास्टर सर्वशक्तिमान्, फेरि मेहनत? मास्टर सर्वशक्तिमान् अर्थात् सर्व शक्तिहरूको मालिक हौ! जुन शक्तिलाई जुन समयमा शुभ संकल्पले आह्वान गर त्यो शक्ति तिमी मालिकको अगाडि हाजिर हुन्छ। यस्तो मालिक जसका सर्व शक्तिहरू सेवाधारी छन्, उसले मेहनत गर्छ वा शुभ संकल्पले आदेश गर्छ। के गर्छौ, राजा हौ वा प्रजा हौ? त्यसै पनि जुन योग्य बच्चा हुन्छ उसलाई के भनिन्छ? राजा बच्चा भनिन्छ नि। त्यसो हो भने तिमी को हौ? राजा बच्चा हौ कि अधीन बच्चा हौ? अधिकारी आत्मा हौ नि। त्यसैले यी शक्तिहरू, यी गुणहरू सबै तिम्रा सेवाधारी हुन्, आह्वान गर हाजिर हुन्छन्। जो कमजोर हुन्छन् तिनीहरू शक्तिशाली शस्त्र हुँदाहुँदै पनि कमजोरीको कारणले हार्न पुग्छन्। तिमीहरू कमजोर छौ र? बहादुर बच्चा हौ नि। सर्वशक्तिमानका बच्चा कमजोर भयौ भने अरूले के भन्लान्? राम्रो लाग्छ? त्यसैले आह्वान गर्न, आदेश दिन सिक। तर सेवाधारीले आदेश कसको मान्छन्? जो मालिक हुन्छ। मालिक स्वयं सेवाधारी बन्यौ, मेहनत गर्नेवाला भयौ भने त सेवाधारी भयौ नि। मनको मेहनतबाट अब छुट्यौ। शरीरको मेहनतको यज्ञ सेवा बेग्लै कुरा हो। त्यहाँ पनि यज्ञ सेवाको महत्त्व जान्नाले मेहनत लाग्दैन। जब मधुबनमा सम्पर्कका आत्माहरू आउँछन् र देख्छन् यति धेरै आत्माहरूको भोजन बनेको छ, अरू सबै कार्य भएको छ, यो सबै देखेर सम्झन्छन् यिनीहरूले यति भारी काम कसरी गर्छन्? तिनीहरूलाई धेरै आश्चर्य लाग्छ। यति ठूलो कार्य कसरी भइरहेको छ? तर गर्नेहरूले यति ठूलो कार्यलाई पनि के सम्झन्छन्? सेवाको महत्त्वको कारणले यसलाई खेल सम्झन्छन्। मेहनत लाग्दैन। यसको महत्त्वको कारणले बाबासँगको प्यारको कारणले मेहनतको रूप बदलिन्छ। यसरी नै मनको मेहनतबाट अब छुट्ने समय आएको छ। द्वापरदेखि खोज्ने, तड्पिने, पुकार्ने मनको मेहनत गर्दै आएका छौ। मनको मेहनतको कारणले धन कमाउने पनि मेहनत बढ्दै गयो। आज कसैसँग सोध्यो भने पनि के भन्छन्? धन कमाउन सानी आमाको घर जस्तो हुँदैन। मनको मेहनतले धन कमाईको मेहनतलाई पनि बढाइ दियो र तन त बन्यो नै रोगी, त्यसैले तनको कार्यमा पनि मेहनत, मनको पनि मेहनत, धनको लागि पनि मेहनत भयो। केवल यति मात्र होइन, आजकल परिवारमा प्यार निर्वाह गर्न पनि मेहनत हुन्छ। कहिले एउटा रिसाउँछ कहिले अर्को.... फेरि उसलाई मनाउने मेहनतमा लागिरहन्छन्। आज तेरो हो भन्छन्, भोलि तेरो हुँदैन फेरो आउँछ। त्यसैले सबै प्रकारको मेहनत गरेर थाकेका थियौ नि। तनबाट, मनबाट, धनबाट, सम्बन्धबाट सबैबाट थाकेका थियौ।

बापदादाले पहिला मनको मेहनत समाप्त गरिदिनुहुन्छ किनकि बीज हो मन। मनको मेहनतले तनको, धनको मेहनत अनुभव गराउँछ। जब मन ठीक हुँदैन तब कुनै कार्य भए पनि भनिन्छ आज यो हुँदैन। बिमार भएको हुँदैन तर सम्झन्छन् मलाई १०३ ज्वरो छ। मनको मेहनतले तनको मेहनतको अनुभव गराउँछ। धनमा पनि यस्तै हो। मन थोरै पनि खराब भयो भने भन्छन् धेरै काम गर्न पर्छ। कमाउन धेरै मुस्किल छ। वायुमण्डल खराब छ। अनि फेरि जब मन खुशी हुन्छ तब भन्छन् कुनै ठूलो कुरा छैन। काम त्यही हुन्छ तर मनको मेहनतले धनको मेहनत पनि अनुभव गराउँछ। मनको कमजोरीले वायुमण्डलको कमजोरीमा ल्याउँछ। बापदादाले बच्चाहरूको मनको मेहनतलाई हेर्न सक्नुहुन्न। ६३ जन्म मेहनत गर्यौ। यो एक जन्म मोजको जन्म हो, प्यारको जन्म हो, प्राप्तिको जन्म हो, वरदानको जन्म हो। मदत लिने, मदत मिल्ने जन्म हो। फेरि यो जन्ममा पनि मेहनत किन? त्यसैले अब मेहनतलाई प्यारमा परिवर्तन गर। महत्त्व दिएर समाप्त गर।

आज बापदादाले आपसमा धेरै कुराकानी गरिरहनु भएको थियो बच्चाहरूको मेहनतको बारेमा। के के गर्छन्, बापदादा मुस्कुराइरहनु भएको थियो। मनको मेहनतको कारण के बन्छ? के गर्छन्? लुला-लंगडा बच्चा पैदा गर्छन्। जसका कहिले मुख हुँदैन, कहिले खुट्टा हुँदैनन्, कहिले हात हुँदैनन्। यस्ता व्यर्थका वंशावली धेरे पैदा गर्छन् र फेरि जुन रचना गर्छन् त्यसलाई के गर्छन्? तिनलाई पालेको कारणले फेरि मेहनत गर्न पर्छ। यस्ता रचना रचेको कारणले धेरै मेहनत गर्न पर्छ र थाक्छन्। निराश पनि हुन्छन्। धेरै मुस्किल हुन्छ। लाग्छ राम्रो तर छ धेरै मुस्किल। छोड्न पनि चाहदैनन् र उड्न पनि चाहदैनन्। त्यसैले के गर्नु पर्ने हुन्छ? हिँड्न पर्छ। हिँड्न त अवश्य मेहनत लाग्छ नि त्यसैले अब कमजोर रचना बन्द गर। अनि मनको मेहनतबाट छुट्ने छौ। फेरि हाँसोको कुरा के भन्छन्? बाबा भन्नुहुन्छ यस्तो रचना किन गर्छौ? जसरी आजकलका मानिसहरूले भन्छन् नि के गर्ने ईश्वरले दिन्छन्। दोष सारा ईश्वरलाई लगाउँछन्, त्यसैगरी व्यर्थ रचनालाई के भन्छन्? हामीले चाहदैनौ तर माया आउँछ। हाम्रो चाहना होइन तर हुन्छ, त्यसैले सर्वशक्तिमान् बाबाका बच्चा अब मालिक बन। राजा बन। कमजोर अर्थात् अधीन प्रजा हुन्छन्। मालिक अर्थात् शक्तिशाली राजा। त्यसैले आह्वान गर मालिक बनेर। स्व-स्थितिको श्रेष्ठ सिंहासनमा बस। सिंहासनमा बसेर शक्ति रूपी सेवाधारीहरूलाई आह्वान गर। आदेश देऊ। तिम्रा सेवाधारी तिम्रो आदेशमा नचलुन् यस्तो हुन सक्दैन। फेरि यस्तो नभन्नु के गर्ने सहने शक्ति नभएकोले मेहनत गर्न पर्छ। समाहित गर्ने शक्ति कम थियो, त्यसैले यस्तो भयो। तिम्रा सेवाधारीहरू समयमा कार्यमा आउँदैनन् भने कसरी सेवाधारी भए? कार्य पूरा भएपछि सेवाधारी आउँछन् भने के हुन्छ? जसलाई स्वयं समयको महत्त्व हुन्छ तिनीहरूका सेवाधारी पनि समयमा महत्त्व जानेर हाजिर हुन्छन्। यदि कुनै पनि शक्ति वा गुण समयमा प्रकट हुँदैनन् भने यसबाट यो सिद्ध हुन्छ मालिकलाई समयको महत्त्व छैन। त्यसैले के गर्न पर्छ त? सिंहासनमा बस्न राम्रो वा मेहनत गर्न राम्रो? अहिले यसमा समय दिन आवश्यकता छैन। मेहनत गर्न ठीक लाग्छ या मालिक बन्न ठीक लाग्छ? के राम्रो लाग्छ? सुनाएँ नि यसको लागि केवल यो एउटा अभ्यास सदा गरिरहनु निराकार सो साकारको आधारले यो कार्य गरिरहेको छु। गराउनेवाला बनेर कर्मेन्द्रियहरूबाट गराऊ। आफ्नो निराकारी वास्तविक स्वरूपलाई स्मृतिमा राख्यौ भने वास्तविक स्वरूपका गुण तथा शक्तिहरू स्वत: प्रकट हुन्छन्। जस्तो स्वरूप हुन्छ त्यस्तै गुण र शक्तिहरू स्वत: कर्ममा आउँछन्। जस्तै कन्या जब आमा बन्छन्, तब आमाको स्वरूपमा सेवा भाव, त्याग, स्नेह तथा अथक सेवा आदिका गुणहरू र शक्तिहरू स्वत: प्रकट हुन्छन् नि। त्यसैगरी अनादि अविनाशी स्वरूप याद रहनाले स्वत: ती गुण र शक्तिहरू प्रकट हुन्छन्। स्वरूपको स्मृतिले स्थितिलाई स्वत: नै बनाउँछ। बुझ्यौ के गर्नु छ? मेहनत शब्दलाई जीवनदेखि समाप्त गरिदेऊ। मुस्किल मेहनतको कारणले लाग्छ। मेहनत समाप्त भएपछि मुस्किल शब्द पनि स्वत: नै समाप्त हुन्छ। अच्छा।

सदा मुस्किललाई सहज गर्ने, मेहनतलाई मुहब्बतमा बदल्ने, सदा स्व स्वरूपको स्मृतिद्वारा श्रेष्ठ शक्तिहरू र गुणहरूको अनुभव गर्ने, सदा बाबालाई स्नेहको रिटर्न दिने, बाबा समान बन्ने, सदा श्रेष्ठ स्मृतिको श्रेष्ठ आसनमा स्थित भएर मालिक बनेर सेवाधारीहरूद्वारा कार्य गराउने यस्ता राजा बच्चाहरूलाई, मालिक बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

व्यक्तिगत भेटघाट ( विदेशी भाइ बहिनीहरूसँग )
१) सेवाले बाबाको साथको अनुभव गराउँछ। सेवामा जानु अर्थात् सदा बाबाको साथ रहनु। चाहे साकार रूपमा होस्, चाहे आकार रूपमा। सेवाधारी बच्चाहरूको साथमा बाबा सदा साथ हुनुहुन्छ नै। गराउनेले गराइरहनु भएको छ, चलाउनेले चलाइरहनु भएको छ भने स्वयं के गर्छौ? निमित्त भएर खेल खेलिरहन्छौ। यस्तै अनुभव हुन्छ नि? यस्ता सेवाधारीहरू सफलताको अधिकारी बन्छन्। सफलता जन्मसिद्ध अधिकार हो, सफलताले सदा नै महान पुण्यात्मा बन्ने अनुभव गराउँछ। महान पुण्य आत्मा बन्नेहरूलाई अनेक आत्माहरूको आशीर्वादको लिफ्ट मिल्छ।

अब त्यो दिन पनि आउनु नै छ सबैको मुखबाट एक हुनुहुन्छ, एक नै हुनुहुन्छ यो गीत निक्लने छ। अब ड्रामाको यही पार्ट रहेको छ। यो हुने छ अनि समाप्ति हुन्छ। अब यो पार्टलाई समीप ल्याउनु छ। यसको लागि अनुभव गराउनु नै विशेष आकर्षणको साधन बन्छ। ज्ञान सुनाउँदै जाऊ र अनुभव पनि गराउँदै जाऊ। केवल ज्ञान सुन्नाले सन्तुष्ट हुँदैनन्, ज्ञान सुनाउँदै अनुभव पनि गराउँदै गयौ भने ज्ञानको पनि महत्त्व हुन्छ र प्राप्तिको कारणले पछि उत्साहमा पनि आउने छन्। तिनीहरू सबैको भाषण त केवल ज्ञानले भरिएको हुन्छ। तिम्रो भाषण केवल ज्ञानले भरिएको मात्र नहोस्, अनुभवको अधिकार सहितको होस्। अनुभवको अधिकारले बोल्दै र अनुभव पनि गराउँदै जाऊ। जस्तै कोही-कोही राम्रा वाचक हुन्छन्, तिनीहरू बोलेर रूवाउँछन् पनि हसाउँछन् पनि। शान्तिमा, साइलेन्समा पनि लैजान्छन्। जस्तो कुरा गर्छन् त्यस्तै वायुमण्डल हलको बनाइदिन्छन्। त्यो त भयो केही क्षणको लागि। जब तिनीहरूले गर्न सक्छन् भने तिमीहरू मास्टर सर्वशक्तिमानले के गर्न सक्दैनौ? कसैले शान्ति भन्दा शान्तिको वातावरण होस्, आनन्द भन्दा आनन्दको वातावरण होस्। यस्तो अनुभूति गराउने भाषणले प्रत्यक्षताको झण्डा लहराउने छ। कुनै त विशेषता देख्छन् नि। समयले स्वत: नै शक्ति भरिरहेको छ। भइ नै सकेको छ, केवल दोहोर्याउनु छ। अच्छा।

विदाईको समयमा दादी जानकीजीसँग बापदादाको भेटघाट :
हेरी-हेरी हर्षित भइरहेकी छौ। सबैभन्दा धेरै खुशी अनन्य बच्चाहरूलाई हुन्छ नि! जो सदा खुशीको सागरमा लहराइरहन्छन्। सुखको सागरमा, सर्व प्राप्तिको सागरमा लहराइरहन्छन्, तिनीहरूले अरूलाई पनि त्यही सागरमा लहराउँछन्। सारा दिन के काम गर्छौ? जस्तै कसैलाई सागरमा नुहाउन नआउँदा के गर्छन्? हात समातेर नुहाइदिन्छन् नि! यही काम गर्छौ। सुखमा लहराऊ, खुशीमा लहराऊ.... यस्तै गरिरहन्छौ नि! व्यस्त रहने काम राम्रो मिलेको छ। कति व्यस्त रहन्छौ? फुर्सत हुन्छ? यसैमा सदा व्यस्त छौ, अरूले पनि देखेर अनुसरण गर्नेछन्। केवल याद र सेवा बाहेक केही देख्दिनौ। अटोमेटिकली बुद्धि याद र सेवामा नै जान्छ, अन्त कतै जान सक्दैन। चलाउन पर्दैन, चलि नै रहन्छ। यसलाई भनिन्छ सिकेकाले सिकाइरहेका छन्। राम्रो काम दिइएको छ नि। बाबाले होसियार बनाएर जानु भएको छ नि। त्यसै छोडेर त जानुभएन। होसियार बनाएर, ठाउँ दिएर जानु भएको छ नि। साथ त छँदै छ तर निमित्त त बनाउनु भयो नि। होसियार बनाएर सीट दिनु भएको छ। यहीँबाट नै सीट दिने चलन सुरु भएको छ। बाबाले सेवाको तख्त अथवा सेवाको सीट दिएर जानु भयो, अहिले साक्षी भएर हेरिरहनु भएको छ कसरी बच्चाहरू अगाडि बढिरहेका छन्! साथको लागि साथमा हुनुहुन्छ, साक्षीको लागि साक्षी पनि हुनुहुन्छ। दुवै पार्ट खेलिरहनु भएको छ। साकार रूपमा साक्षी भनिन्छ , अव्यक्त रूपमा साथी भनिन्छ। दुवै पार्ट खेलिरहनु भएको छ। अच्छा।

वरदान:
श्वास श्वासमा याद र सेवाको सन्तुलनद्वारा आशीर्वाद प्राप्त गर्ने सदा प्रसन्नचित्त भव

जसरी ध्यान दिन्छौ यादको सम्बन्ध सदा जोडिइरहोस्, त्यसैगरी सेवामा पनि सदा सम्बन्ध जोडिइरहोस्। श्वास श्वासमा याद र श्वास श्वासमा सेवा होस् यसलाई भनिन्छ सन्तुलन, यो सन्तुलनले सदा आशीर्वादको अनुभव गरिरहने छौ र यही आवाज दिलदेखि निक्लने छ हामी आशीर्वादले पलिएका छौं। मेहनतदेखि, युद्धदेखि छुट्ने छौ। के, किन, कसरी यी प्रश्नहरूबाट मुक्त भएर सदा प्रसन्नचित्त रहने छौ। अनि सफलता जन्म सिद्ध अधिकारको रूपमा अनुभव हुनेछ।

स्लोगन:
बाबाबाट इनाम लिनु छ भने स्वयंबाट र अरू साथीहरूबाट निर्विघ्न रहने प्रमाण पत्र साथमा होस्।