02.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले अहिले भविष्य २१ जन्मको लागि यहाँ नै पढाइ पढ्नु छ । काँडाबाट सुगन्धित फूल बन्नु छ , दैवी गुण धारण गर्नु र गराउनु छ।

प्रश्न:
कुन बच्चाहरूको बुद्धिको ताला नम्बरवार खुल्दै जान्छ?

उत्तर:
जो श्रीमतमा चलिरहन्छन्। पतित-पावन बाबाको यादमा रहन्छन्। पढाइ पढाउने बाबाको साथमा जसको योग छ उनीहरूको बुद्धिको ताला खुल्दै जान्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! अभ्यास गर हामी आत्मा भाइ-भाइ हौं, हामीले बाबाद्वारा सुन्छौं। देही-अभिमानी भएर सुन्छौ र सुनाउँछौ भने ताला खुल्दै जान्छ।

ओम् शान्ति ।
बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ, जब यहाँ बस्छौ यस्तो पनि होइन केवल शिवबाबाको यादमा रहनु छ। त्यो त हुन्छ केवल शान्ति फेरि सुख पनि त चाहिन्छ। तिमीलाई शान्तिमा रहनु छ र स्वदर्शन चक्रधारी बनेर राजाईलाई पनि याद गर्नु छ। तिमी पुरुषार्थ गर्छौ नरबाट नारायण अथवा मनुष्यबाट देवता बन्नको लागि। यहाँ कसैमा चाहे जतिसुकै दैवी गुण भए पनि उनीहरूलाई देवता भन्न मिल्दैन। देवता हुन्छन् नै स्वर्गमा। दुनियाँमा मनुष्यहरूलाई स्वर्गको बारेमा थाहा छैन। तिमी बच्चाहरूलाई थाहा छ नयाँ दुनियाँलाई स्वर्ग, पुरानो दुनियाँलाई नर्क भनिन्छ। यो पनि तिमीहरूले नै जानेका छौ। जुन देवताहरूले सत्ययुगमा राज्य गर्थे उनीहरूका चित्र पनि यहाँ नै छन्। यी हुन् आदि सनातन देवी-देवता धर्मका। फेरि पूजाको लागि उनीहरूका चित्र विदेश लिएर जान्छन्। बाहिर जहाँ गए पनि त्यहाँ मन्दिर बनाउँछन्। हरेक धर्मकाले जहाँ गए पनि आफ्नै चित्रहरूलाई नै पूजा गर्छन्। जुन-जुन गाउँहरूमा विजय पाउँछन् त्यहाँ गएर चर्च आदि बनाउँछन्। हरेक धर्मका चित्रहरू पूजाको लागि आ-आफ्ना छन्। पहिला तिमीले पनि जान्दैनथ्यौ हामी नै देवी-देवता थियौं। आफूलाई भिन्नै सम्झेर उनीहरूको पूजा गर्थ्यौ। अरू धर्मकाले पूजा गर्छन् भने जानेका छन् हाम्रो धर्म स्थापक क्राइस्ट हुन्, हामी क्रिश्चियन हौं अथवा बौद्धी हौं। हिन्दुहरूले आफ्नो धर्मलाई नजानेको कारणले आफूलाई हिन्दु भनिदिन्छन् र देवताहरूलाई पुज्छन्। यो पनि बुझेका छैनन् हामी आदि सनातन देवी-देवता धर्मका हौं। हामीले आफू भन्दा ठूलालाई पुज्छौं। क्रिश्चियनले एक क्राइस्टलाई पुज्छन्। हिन्दुहरूलाई यो थाहा छैन हाम्रो धर्म कुनचाहिँ हो? यसलाई कसले र कहिले स्थापना गर्यो? बाबा भन्नुहुन्छ जब यो आदि सनातन धर्म प्राय: लोप हुन्छ, तब म आउँछु फेरि स्थापना गर्न। यो ज्ञान अहिले तिमी बच्चाहरूको बुद्धिमा छ। पहिला केही पनि जान्दैनथ्यौ। नजानीकनै भक्तिमार्गमा चित्रहरूको पूजा गरिरहन्थ्यौ। अहिले तिमीलाई थाहा छ हामी भक्तिमार्गमा छैनौं। अहिले तिमी ब्राह्मण कुल भूषण र शूद्र कुलमा रात-दिनको फरक छ। त्यो पनि यस समयमा तिमीले बुझ्दछौ। सत्ययुगमा बुझ्दैनौ। यस समयमा नै तिमीलाई समझ मिल्छ। बाबाले आत्माहरूलाई समझ दिनुहुन्छ। पुरानो दुनियाँ र नयाँ दुनियाँको बारेमा तिमी ब्राह्मणहरूलाई नै थाहा छ। पुरानो दुनियाँमा धेरै मनुष्य हुन्छन्। यहाँ त मनुष्यले कति लडार्इं-झगडा गर्छन्। यो हो नै काँडाको जंगल। तिमीलाई थाहा छ हामी पनि काँडा थियौं। अहिले बाबाले हामीलाई फूल बनाइरहनु भएको छ। काँडाहरूले यी सुगन्धित फूलहरूलाई नमन गर्छन्। यो रहस्य अहिले तिमीले जानेका छौ। हामी नै देवता थियौं जो फेरि आएर अहिले सुगन्धित फूल (ब्राह्मण) बनेका छौं। बाबाले सम्झाउनु भएको छ, यो ड्रामा हो। पहिला यी ड्रामा, सिनेमा आदि थिएनन्। ती पनि अहिले बनेका हुन्। किन बनेका हुन्? किनकि बाबालाई दृष्टान्त दिनको लागि सहज हुन्छ। बच्चाहरूले पनि बुझ्न सक्छन्। यो विज्ञान पनि तिमी बच्चाहरूले सिक्नु पर्छ नि। बुद्धिमा यो सबै विज्ञानको संस्कार लिएर जान्छौ जुन फेरि त्यहाँ काममा आउँछ। दुनियाँ एकदमै खतम त भइहाल्दैन। संस्कार लगेर फेरि जन्म लिन्छन्। विमान आदि पनि बनाउँछन्। त्यहाँको लायक जुन-जुन कामको चीज हुन्छ त्यो बन्छ। स्टीमर बनाउने पनि हुन्छन् तर स्टीमर त त्यहाँ काममा आउँदैन। कसैले ज्ञान लेओस् नलेओस् तर उनीहरूको संस्कार त्यहाँ काममा आउँदैन। त्यहाँ स्टीमर आदिको आवश्यकता हुँदैन। ड्रामामा छैन। हो, विमानहरूको, विजुली आदिको आवश्यकता पर्नेछ। उनीहरूले आविष्कार गरिरहन्छन्। त्यहाँबाट बच्चाहरूले सिकेर आउँछन्। यी सबै कुरा तिमी बच्चाहरूको बुद्धिमा नै छ।

तिमीलाई थाहा छ हामीले पढ्छौं नै नयाँ दुनियाँको लागि। बाबाले हामीलाई भविष्य २१ जन्मको लागि पढाउनु हुन्छ। हामी स्वर्गवासी बन्नको लागि पवित्र बनिरहेका छौं। पहिला नर्कवासी थियौं। मनुष्यहरूले भन्छन् पनि फलानो स्वर्गवासी भयो। तर हामी नर्कमा छौं, यो बुझ्दैनन्। बुद्धिको ताला खुल्दैन। तिमी बच्चाहरूको अब विस्तारै-विस्तारै नम्बरवार बुद्धिको ताला खुल्दै जान्छ। ताला उनीहरूको खुल्छ, जो श्रीमतमा चल्न थाल्छन् र पतित-पावन बाबालाई याद गर्छन्। बाबाले ज्ञान पनि दिनुहुन्छ र याद पनि सिकाउनु हुन्छ। टिचर हुनुहुन्छ नि। त्यसैले टिचरले अवश्य पढाउनु हुन्छ। जति टिचर र पढाइसँग योग हुन्छ त्यति उच्च पद पाउँछौ। त्यस पढाइमा त योग रहन्छ नै। जानेका छन् बेरिस्टरले पढाउनु हुन्छ। यहाँ बाबाले पढाउनु हुन्छ। यो पनि भुल्छन् किनकि नयाँ कुरा छ नि। देहलाई याद गर्न त धेरै सहज छ। घरी-घरी देहको याद आउँछ। हामी आत्मा हौं यो भुलिहाल्छौं। हामी आत्माहरूलाई बाबाले सम्झाउनु हुन्छ। हामी आत्माहरू भाइ-भाइ हौं। बाबाले त जान्नुहुन्छ म परमात्मा हुँ, आत्माहरूलाई सिकाउँछु आफूलाई आत्मा सम्झ र अरू आत्माहरूलाई बसेर सम्झाऊ। यो आत्माले कानद्वारा सुन्छ, सुनाउनेवाला हुनुहुन्छ परमपिता परमात्मा। उहाँलाई परम आत्मा भनिन्छ। जब तिमीले कसैलाई सम्झाउँछौ भने यो बुद्धिमा आउनु पर्छ मेरो आत्मामा ज्ञान छ, आत्मालाई यो सुनाउँछु। मैले बाबाबाट जे सुनेको छु त्यो आत्माहरूलाई सुनाउँछु। यो हो बिल्कुलै नयाँ कुरा। जब तिमीले अरूलाई पढाउँछौ देही-अभिमानी भएर पढाउँदैनौ, भुलिहाल्छौ। लक्ष्य हो नि। बुद्धिमा यो याद रहनु पर्छ म आत्मा अविनाशी हुँ। म आत्माले यी कर्मेन्द्रियद्वारा पार्ट खेलिरहेको छु। तिमी आत्मा शूद्र कुलमा थियौ, अहिले ब्राह्मण कुलमा छौ। फेरि देवता कुलमा जान्छौ। त्यहाँ शरीर पनि पवित्र मिल्छ। हामी आत्माहरू भाइ-भाइ हौं। बाबाले बच्चाहरूलाई पढाउनु हुन्छ। बच्चाहरूले फेरि भन्छन् हामी भाइ-भाइ हौं, भाइलाई पढाउँछौं। आत्मालाई नै सम्झाइन्छ। आत्माले शरीरद्वारा सुन्छ। यी धेरै सूक्ष्म कुरा हुन्। स्मृतिमा आउँदैन। आधाकल्प तिमी देह-अभिमानमा रह्यौ। यस समयमा तिमीलाई देही-अभिमानी भएर रहनु छ। आफूलाई आत्मा निश्चय गर्नु छ, आत्मा निश्चय गरेर बस। आत्मा निश्चय गरेर सुन। परमपिता परमात्माले नै सुनाउनु हुन्छ त्यसैले त भन्छन् नि आत्मा परमात्मा अलग रहे बहुकाल.... त्यहाँ त पढाउँदिनँ। यहाँ नै आएर पढाउँछु। अरू सबै आत्माहरूको आ-आफ्नो शरीर छ। उहाँ बाबा त हुनुहुन्छ परम आत्मा। उहाँको शरीर छैन। उहाँको आत्माको नाम नै हो शिव। बाबा भन्नुहुन्छ यो शरीर मेरो होइन। म सुप्रीम आत्मा हुँ। मेरो महिमा अलग छ। हरेकको महिमा अलग-अलग हुन्छ नि। गायन पनि छ नि परमपिता परमात्माले ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। उहाँ ज्ञानका सागर, मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। उहाँ सत हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, आनन्द, सुख-शान्तिका सागर हुनुहुन्छ। यो हो बाबाको महिमा। बच्चालाई पिताको सम्पत्तिको बारेमा थाहा हुन्छ मेरो पिताको पासमा यो कारखाना छ, यो मिल छ, नशा रहन्छ नि। बच्चा नै त्यस सम्पत्तिको मालिक बन्छ। यो सम्पत्ति त एकैपटक मिल्छ। बाबाको पासमा के सम्पत्ति छ, त्यो सुन्यौ?

तिमी आत्माहरू त अमर छौ। कहिल्यै पनि मर्दैनौ। प्रेमको सागर पनि बन्छौ। यी लक्ष्मी-नारायण प्रेमका सागर हुन्। कहिल्यै लडार्इं-झगडा गर्दैनन्। यहाँ त कति लडार्इं-झगडा गर्छन्। प्रेमको कारण अझै समस्या हुन्छ। बाबा आएर विकार बन्द गराउनु हुन्छ अनि कति मार पर्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! पावन बन्यौ भने पावन दुनियाँको मालिक बन्छौ। काम महाशत्रु हो त्यसैले बाबाको पासमा आउँछौ भने भन्नुहुन्छ जो विकर्म गरेका छौ त्यो बतायौ भने हल्का हुन्छौ, यसमा पनि मुख्य विकारको कुरा छ। बाबाले बच्चाहरूको कल्याण अर्थ सोध्नुहुन्छ। बाबालाई नै भन्छन् हे पतित-पावन आउनुहोस् किनकि पतित विकारमा जानेलाई नै भनिन्छ। यो दुनियाँ पनि पतित छ, मनुष्य पनि पतित छन्, ५ तत्त्व पनि पतित छन्। त्यहाँ तिम्रो लागि तत्त्व पनि पवित्र चाहिन्छ। यस आसुरी पृथ्वीमा देवताहरूको छायाँ पनि पर्न सक्दैन। लक्ष्मीको आह्वान गर्छन् तर यहाँ कहाँ आउन सक्छिन् र! यी ५ तत्त्व पनि बदलिनुपर्छ। सत्ययुग हो नयाँ दुनियाँ। यसको समाप्त हुने समय हो। मनुष्यले सम्झन्छन् अझै ४० हजार वर्ष बाँकी छ। जबकि कल्प नै ५ हजार वर्षको छ भने केवल एक कलियुग कसरी ४० हजार वर्षको हुन सक्छ? कति अज्ञानताको अन्धकार छ। ज्ञान छँदै छैन। भक्ति हो ब्राह्मणहरूको रात। ज्ञान हो ब्रह्मा र ब्राह्मणहरूको दिन। जुन अब प्राक्टिकलमा भइरहेको छ। सिँढीमा धेरै स्पष्ट देखाइएको छ। नयाँ दुनियाँ र पुरानो दुनियाँलाई आधा-आधा भनिन्छ। यस्तो होइन नयाँ दुनियाँलाई बढी समय, पुरानो दुनियाँलाई कम समय दिइन्छ। होइन, पूरा आधा-आधा हुन्छ। त्यसैले चौथाई पनि गर्न सकिन्छ। आधा-आधा भएन भने पूरा चौथाई पनि गर्न मिल्दैन। स्वस्तिकामा पनि ४ भाग देखाउँछन्। सम्झन्छन् हामीले गणेश बनाउँछौं। अब बच्चाहरूले जानेका छन् यो पुरानो दुनियाँ विनाश हुनु छ। हामीले नयाँ दुनियाँको लागि पढिरहेका छौं। हामी नयाँ दुनियाँको लागि नरबाट नारायण बन्छौं। कृष्ण पनि नयाँ दुनियाँका हुन्। कृष्णको गायन छ, उनलाई महात्मा भनिन्छ किनकि साना बच्चा छन्। साना बच्चाहरू प्यारो लाग्छ। ठूलालाई त्यति प्यार गर्दैनन् जति सानालाई गर्छन् किनकि सतोप्रधान अवस्था हुन्छ। विकारको गन्ध हुँदैन। ठूलो भएपछि विकारको गन्ध आउँछ। बच्चाहरूको कहिल्यै क्रिमिनल आई हुन सक्दैन। यी आँखा नै धोका दिनेवाला हुन् त्यसैले दृष्टान्त दिन्छन् उसले आफ्नो आँखा निकालिदियो। यस्तो कुनै कुरा होइन। यसरी कसैले आँखा निकाल्दैन। यो यस समयमा बाबाले ज्ञानको कुरा सम्झाउनु हुन्छ। तिमीलाई त अहिले ज्ञानको तेस्रो नेत्र मिलेको छ। आत्मालाई आध्यात्मिक ज्ञान मिलेको छ। आत्मामा नै ज्ञान छ। बाबा भन्नुहुन्छ ममा ज्ञान छ। आत्मालाई निर्लेप भन्न सकिँदैन। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। आत्मा अविनाशी छ। छ कति सानो। त्यसमा ८४ जन्मको पार्ट छ। यस्तो कुरा कसैले भन्न सक्दैन। उनीहरूले त निर्लेप भनिदिन्छन्। त्यसैले बाबा भन्नुहुन्छ पहिला आत्मालाई रियलाइज गर। कसैले सोध्छन् जनावर कहाँ जान्छन्? अरे, जनावरको कुरै छोड। पहिला आत्मालाई त सम्झ। म आत्मा कस्तो छु, के छु....? बाबा भन्नुहुन्छ यदि आफूलाई आत्मा हुँ भनेर नै जान्दैनौ भने मलाई फेरि कसरी जान्दछौ? यी सबै सूक्ष्म कुरा तिमी बच्चाहरूको बुद्धिमा छन्। आत्मामा ८४ जन्मको पार्ट छ। त्यो चलिरहन्छ। कसैले फेरि भन्छन् ड्रामामा निश्चित छ भने हामीले पुरुषार्थ नै किन गर्ने! अरे, पुरुषार्थ विना त पानी पनि मिल्न सक्दैन। यस्तो होइन ड्रामा अनुसार सबै कुरा आफैं मिल्छ। कर्म त अवश्य गर्नु नै छ। राम्रो वा नराम्रो कर्म हुन्छ। यो बुद्धिले बुझ्न सक्छौ। बाबा भन्नुहुन्छ यो रावण राज्य हो, यसमा तिम्रा कर्म विकर्म बन्छन्। त्यहाँ रावण राज्य नै हुँदैन जसबाट विकर्म होस्। मैले नै तिमीलाई कर्म, अकर्म, विकर्मको गति सम्झाउँछु। त्यहाँ तिम्रा कर्म अकर्म हुन्छन्, रावण राज्यमा कर्म विकर्म हुन्छन्। गीता-पाठीले कहिल्यै यो अर्थ सम्झाउँदैनन्, उनीहरूले त केवल पढेर सुनाउँछन्। संस्कृतमा श्लोक सुनाएर फेरि अर्थ लगाउँछन्। बाबा भन्नुहुन्छ कुनै-कुनै अक्षर ठीक छ। भगवानुवाच छ तर भगवान कसलाई भनिन्छ, यो कसैलाई थाहा छैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरू प्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बेहद बाबाको सम्पत्तिको म आत्मा मालिक हुँ। जसरी बाबा शान्ति, पवित्रता, आनन्दका सागर हुनुहुन्छ, त्यसैगरी म आत्मा मास्टर सागर हुँ। यसै नशामा रहनु छ।

२) ड्रामा भनेर पुरुषार्थ छोड्नु छैन, कर्म अवश्य गर्नु पर्छ। कर्म-अकर्म-विकर्मको गतिलाई बुझेर सदा श्रेष्ठ कर्म नै गर्नु छ।

वरदान:
स दा बाबाको अविनाशी र नि:स्वार्थ प्रेममा लवलीन रहने मायाप्रुफ भव

जो बच्चाहरू सदा बाबाको प्रेममा लवलीन रहन्छन्, उनलाई मायाले आकर्षित गर्न सक्दैन। जसरी वाटरप्रुफ कपडामा पानीको एक थोपा पनि टिक्दैन। यस्तै जो लगनमा लवलीन रहन्छन्, उनीहरू मायाप्रुफ बन्न पुग्छन्। मायाको कुनै पनि आक्रमण हुन सक्दैन किनकि बाबाको प्रेम अविनाशी र नि:स्वार्थ छ, यसका जो अनुभवी बनिसके, उनीहरू अल्पकालको प्यारमा फँस्न सक्दैनन्। एक बाबा दोस्रो न कोही, बीचमा तेस्रो कोही आउन सक्दैन।

स्लोगन:
न्यारा र प्यारा भएर कर्म गर्नेले नै सेकेन्डमा फुलस्टप लगाउन सक्छ।