03.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे पढाइ नै कमाई हो , पढाइ आम्दानीको स्रोत हो। यस पढाइबाट नै तिमीले २१ जन्मको लागि खजाना जम्मा गर्नु छ।

प्रश्न:
जुन बच्चाहरूमाथि बृहस्पतिको दशा हुन्छ, उनीहरूको निशानी के देखिन्छ?

उत्तर:
उनीहरूको पूरा-पूरा ध्यान श्रीमतमा हुन्छ। पढाइ राम्ररी पढ्छन्। कहिल्यै पनि फेल हुँदैनन्। श्रीमतको उल्लंघन गर्नेहरू नै पढाइमा फेल हुन्छन्, उनीहरूमाथि फेरि राहुको दशा बस्छ। अहिले तिमी बच्चाहरूमाथि वृक्षपति बाबाद्वारा बृहस्पतिको दशा बसेको छ।

गीत:
इस पाप की दुनियाँ से.......

ओम् शान्ति ।
यो हो पाप आत्माहरूको पुकार। तिमीले पुकार्नु छैन किनकि तिमी पावन बनिरहेका छौ। यो धारण गर्ने कुरा हो। धेरै ठूलो खजाना छ। जसरी स्कुलको पढाइ पनि खजाना हो नि। पढाइद्वारा शरीर निर्वाह चल्छ। बच्चाहरूलाई थाहा छ भगवानले पढाउनु हुन्छ। यो धेरै उच्च कमाई हो किनकि लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। सच्चा-सच्चा सत्सङ्ग यो एक मात्र हो। बाँकी सबै हुन् झुटा सङ्ग। तिमीलाई थाहा छ सतसङ्ग एकै पटक हुन्छ, सारा कल्पमा जबकि पुकार्छन् पतित-पावन आउनुहोस् भनेर। अहिले पनि उनीहरू पुकारिरहन्छन्, बाबा तिम्रो सम्मुख बस्नुभएको छ। तिमी बच्चाहरूलाई थाहा छ हामी पुरुषार्थ गरिरहेका छौं, नयाँ दुनियाँको लागि, जहाँ दु:खको नाम-निशान हुँदैन। तिमीलाई चैन मिल्छ स्वर्गमा। नर्कमा कहाँ चैन हुन्छ र! यो त विषय सागर हो, कलियुग हो नि। सबै दु:खी नै दु:खी छन्। भ्रष्टाचारबाट जन्मेका छन्, त्यसैले आत्माले पुकार्छ बाबा हामी पतित बन्यौं। पावन हुनको लागि गंगामा स्नान गर्न जान्छन्। ठीक छ, स्नान गरेपछि त पावन हुनु पर्ने हो नि। फेरि घरी-घरी धक्का किन खान्छन्? धक्का खाँदै सिँढी तल झर्दै-झर्दै पाप आत्मा बन्छन्। ८४ को रहस्य पनि तिमी बच्चाहरूलाई बाबा नै बसेर सम्झाउनु हुन्छ, अरू धर्मकाले त ८४ जन्म लिँदैनन्। तिम्रो पासमा यो ८४ जन्महरूको चित्र (सिँढी) धेरै राम्रो बनेको छ। कल्प वृक्षको पनि चित्र छ, गीतामा। तर भगवानले गीता कहिले सुनाउनु भयो, आएर के गर्नुभयो, यो केही जानेका छैनन्। अरू धर्मकाले आ-आफ्नो शास्त्रलाई जानेका छन्, हिन्दुहरूले बिल्कुल जानेका छैनन्। बाबा भन्नुहुन्छ म संगमयुगमा नै स्वर्ग स्थापना गर्न आउँछु। ड्रामामा चेन्ज हुन सक्दैन। जे पनि ड्रामामा निश्चित छ, त्यो हुबहु हुनु नै छ। यस्तो होइन, भइसकेको कुरा फेरि बदलिन्छ। तिमी बच्चाहरूको बुद्धिमा ड्रामाको चक्र पूरा बसेको छ। यस ८४ को चक्रबाट तिमी कहिल्यै छुट्न सक्दैनौ अर्थात् यो दुनियाँ कहिल्यै समाप्त हुन सक्दैन। विश्वको इतिहास-भूगोल दोहोरिइरहन्छ। यो ८४ जन्मको चक्र (सिँढी) धेरै आवश्यक छ। त्रिमूर्ति र गोला त मुख्य चित्र हुन्। गोलामा स्पष्ट देखाइएको छ हरेक युग १२५० वर्ष हुन्छ। यो हो मानौं अन्धाको अगाडि ऐना। ८४ जन्त्र-पत्रीको ऐना। बाबाले तिमी बच्चाहरूको दशा वर्णन गर्नुहुन्छ। बाबाले तिमीलाई बेहदको दशा बताउनु हुन्छ। अहिले तिमी बच्चाहरूमाथि बृहस्पतिको अविनाशी दशा बसेको छ। फेरि पढाइमा निर्भर रहन्छ। कसैमा बृहस्पतिको, कसैमा शुक्रको, कसैमा राहुको दशा बस्छ। फेल भएमा भनिन्छ राहुको दशा। यहाँ पनि यस्तै छ। श्रीमतमा चल्दैनन् भने राहुको अविनाशी दशा बस्न पुग्छ। त्यो बृहस्पतिको अविनाशी दशा, फेरि राहुको दशा हुन्छ। बच्चाहरूले पढाइमा पूरा ध्यान दिनुपर्छ, यसमा बहाना गर्नु हुँदैन। सेन्टर टाढा छ, यो छ.... पैदल गर्दा ६ घण्टा लागे पनि पुग्नुपर्छ। मानिसहरू यात्राहरूमा जाँदा कति धक्का खान्छन्। पहिला धेरै पैदल जान्थे, बैलगाडीमा पनि जान्थे। यो त एउटा शहरको कुरा हो। यो बाबाको कति ठूलो युनिभर्सिटी हो, जसमा तिमी यो लक्ष्मी-नारायण बन्छौ। यस्तो उच्च पढाइको लागि कसैले भनोस्, टाढा पर्छ या फुर्सद छैन! बाबाले के भन्नुहुन्छ? यो बच्चा त लायक छैन। बाबा माथि उठाउन आउनु हुन्छ, यो भने आफ्नो सत्यानाश गर्छ।

श्रीमतले भन्छ पवित्र बन, दैवी गुण धारण गर। सँगै रहेर पनि विकारमा जानु छैन। बीचमा ज्ञान-योगको तरबार छ, हामीलाई त पवित्र दुनियाँको मालिक बन्नु छ। अहिले त पतित दुनियाँको मालिक हौं नि। ती देवताहरू थिए डबल शिरताज फेरि आधाकल्पपछि लाइटको ताज उड्छ। यस समय लाइटको ताज कसैमाथि पनि छैन। जो धर्म स्थापक छन्, उनीहरूको हुन सक्छ किनकि त्यो पवित्र आत्माले शरीरमा आएर प्रवेश गर्छ। यही भारत हो, जसमा डबल ताजधारी पनि थिए, सिँगल ताजधारी पनि थिए। अझैसम्म पनि डबल शिरताजको अगाडि सिँगल ताजवाला शिर झुकाउँछन् किनकि उनीहरू हुन् पवित्र महाराजा-महारानी। महाराजाहरू राजाहरू भन्दा ठूला हुन्, उनीहरूको पासमा धेरै सम्पत्ति हुन्छ। सभामा पनि महाराजाहरू अगाडि र राजाहरू पछि बस्छन्, नम्बरवार। काइदा अनुसार उनीहरूको दरबार लाग्छ। यो पनि ईश्वरीय दरबार हो, यसलाई इन्द्र सभा भनेर गायन गरिएको छ। तिमी ज्ञानबाट परी बन्छौ। सुन्दरीलाई परी भन्छन् नि। राधा-कृष्णको प्राकृतिक सौन्दर्यता हुन्छ नि, त्यसैले सुन्दर भनिन्छ। फेरि जब काम चितामा बस्छन्, अनि उनीहरू पनि भिन्न-भिन्न नाम-रूपमा श्याम बन्छन्। शास्त्रहरूमा कुनै यस्तो कुरा छैन। ज्ञान, भक्ति अनि वैराग्य, तीन चीज हुन्छन्। ज्ञान सबैभन्दा श्रेष्ठ हो। अहिले तिमी ज्ञान प्राप्त गरिरहेका छौ। तिमीलाई वैराग्य हुन्छ भक्तिबाट। यो सारा तमोप्रधान दुनियाँ अब खत्तम हुँदैछ, यसबाट वैराग्य हुन्छ। जब नयाँ घर बनाउँछन् अनि पुरानोसँग वैराग्य हुन्छ नि। त्यो हो हदको कुरा, यो हो बेहदको कुरा। अब बुद्धि नयाँ दुनियाँतर्फ छ। यो हो पुरानो दुनियाँ नर्क, सत्ययुग-त्रेतालाई भनिन्छ शिवालय। शिवबाबाद्वारा स्थापना भएको हो नि। अहिले यस वेश्यालयबाट तिमीलाई घृणा आउँछ। कतिलाई घृणा आउँदैन। शादी बर्बादी गरेर गटरमा गिर्न चाहन्छन्। मानिसहरू त सबै छन् विषय वैतरणी नदीमा, फोहोरमा परेका छन्। एक-अर्कालाई दु:ख दिन्छन्। गायन पनि गरिन्छ अमृत छोडेर विष किन खाने? जे भन्छन् त्यसको अर्थ बुझ्दैनन्। तिमी बच्चाहरूमा पनि नम्बरवार छन्। बुद्धिमान् शिक्षकले देख्ने बित्तिकै जान्दछन्, यसको बुद्धि कहाँ भड्किरहेको छ, क्लासको बीचमा उँगिरहन्छ या हाई गर्छ भने बुझिन्छ, यसको बुद्धि कहीं घरबार या धन्दातर्फ भड्किरहेको छ। उँग्नु थकावटको पनि निशानी हो। धन्दामा मानिसहरूको कमाई भइरहन्छ, त्यसैले राती १-२ बजेसम्म पनि बसिरहन्छन्, कहिल्यै निद्रा लाग्दैन। यहाँ त बाबाले कति खजाना दिनुहुन्छ। हाई गर्नु घाटाको निशानी हो। टाट पल्टिनेहरू निराश भएर हाई गरिरहन्छन्। तिमीलाई त खजानापछि खजाना मिलिरहन्छ, त्यसैले कति ध्यान दिनुपर्छ। पढाइको समयमा कसैले हाई गर्छ भने बुद्धिमान् टिचरले सम्झन्छ, यसको बुद्धियोग अन्त कहीं भड्किन्छ। यहाँ बस्दा घरबार याद आउँछ, बच्चा याद आउँछ। यहाँ त तिमी भठ्ठीमा रहनु पर्छ, अरू कसैको याद नआओस्। मानौं, कोही ६ दिन भठ्ठीमा रह्यो, पछि कसैको याद आयो, चिठ्ठी लेख्यो भने फेल भनिन्छ, फेरि ७ दिन सुरु गर। ७ दिन भठ्ठीमा राखिन्छ ताकि सबै बिमारी निस्कियोस्। तिमी आधाकल्पका महान् रोगी हौ। बस्दा बस्दै अकाल मृत्यु हुन्छ। सत्ययुगमा यस्तो कहिल्यै हुँदैन। यहाँ त कुनै न कुनै बिमारी अवश्य हुन्छ। मर्ने समयमा बिरामी हुँदा चिल्लाइरहन्छन्। स्वर्गमा थोरै पनि दु:ख हुँदैन। त्यहाँ त समय आएपछि सम्झन्छन् अब समय पूरा भयो, म यो शरीर छोडेर बच्चा बन्छु। यहाँ पनि तिमीलाई साक्षात्कार हुन्छ, यो बन्छु। यस्तो धेरैलाई साक्षात्कार हुन्छ। ज्ञानबाट पनि जानेका छौ, हामी बेगर टु प्रिन्स बनिरहेका छौं। हाम्रो लक्ष्य-उद्देश्य नै यो राधा-कृष्ण बन्ने हो। लक्ष्मी-नारायण होइन, राधा-कृष्ण किनकि पूरा ५ हजार वर्ष त यिनकै भनिन्छ। लक्ष्मी-नारायण त फेरि पनि २०-२५ वर्ष कम हुन्छन्, त्यसैले कृष्णको महिमा धेरै छ। राधा-कृष्ण नै फेरि लक्ष्मी-नारायण बन्छन्, यो पनि कसैलाई थाहा छैन। अहिले तिमी बच्चाहरूले बुझ्दै गइरहेका छौ, यो पढाइ हो। हरेक गाउँ-गाउँमा सेन्टर खुल्दै जान्छन्। तिम्रो यो हो युनिभर्सिटी कम हस्पिटल। यसमा केवल ३ पाइला पृथ्वी चाहिन्छ। आश्चर्य छ नि। जसको तकदिरमा छ, उनले आफ्नो कोठामा पनि सतसङ्ग खोलिदिन्छन्। यहाँ जो धेरै पैसावाला छ, उनको पैसा त सबै माटोमा मिल्छ। तिमी बाबाबाट वर्सा लिइरहेका छौ, भविष्य २१ जन्मको लागि। बाबा स्वयं भन्नुहुन्छ यस पुरानो दुनियाँलाई देखेर पनि बुद्धिको योग त्यहाँ लगाऊ, कर्म गर्दा पनि यो अभ्यास गर। हरेक कुरा देख्नु पर्ने हुन्छ नि। तिम्रो अब प्राक्टिस भइरहेको छ। बाबा सम्झाउनु हुन्छ सदैव शुद्ध कर्म गर, अशुद्ध कुनै काम नगर। कुनै पनि बिमारी छ भने सर्जन बस्नुभएको छ, उहाँसँग सल्लाह लेऊ। हरेकको बिमारी आफ्नो छ, सर्जनबाट त राम्रो सल्लाह मिल्छ। सोध्न सक्छौ यस हालतमा के गरौं? ध्यान राख्नु छ कुनै विकर्म नहोस्।

यो पनि गायन छ जस्तो अन्न त्यस्तै मन। मासु किन्नेलाई, बेच्नेलाई, खुवाउनेलाई पनि पाप लाग्छ। पतित-पावन बाबासँग कुनै कुरा छिपाउनु हुँदैन। सर्जनसँग छिपायो भने बिमारी छुट्दैन। यहाँ हुनुहुन्छ बेहदका अविनाशी सर्जन। यी कुरालाई दुनियाँले त जानेका छैनन्। तिमीलाई पनि अहिले ज्ञान मिलिरहेको छ, फेरि पनि योगमा धेरै कमी छ। याद बिल्कुल गर्दैनन्। यो त बाबाले जान्नुहुन्छ, तुरुन्तै याद टिक्दैन। नम्बरवार त छन् नि। जब यादको यात्रा पूरा हुन्छ अनि भनिन्छ कर्मातीत अवस्था भइसक्यो, फेरि लडाईं पनि पूरा हुन्छ, तबसम्म अलिअलि हुन्छ फेरि बन्द भइरहन्छ। लडाईं त जतिबेला पनि हुन सक्छ। तर विवेकले भन्छ, जबसम्म राजाई स्थापना हुँदैन, तबसम्म भीषण लडाईं हुँदैन। अलिअलि हुन्छ अनि बन्द हुन्छ। राजाई स्थापना भइरहेको छ, यो त कसैले जान्दैन। सतोप्रधान, सतो, रजो, तमो बुद्धि त छ नि। तिमीहरूमा पनि सतोप्रधान बुद्धिवाला राम्रासँग याद गरिरहन्छन्। ब्राह्मणहरू त अहिले लाखौंको अन्दाजमा होलान्, तर उनीहरू मध्ये पनि सहोदर र सौतेला त हुन्छन् नि। सहोदरले राम्रो सेवा गर्छन्, माता-पिताको मतमा चल्छन्। सौतेलाहरू रावणको मतमा चल्छन्। कति रावणको मतमा, कति रामको मतमा लर्खाउँदै चल्छन्। बच्चाहरूले गीत सुन्यौ। भन्छन् बाबा, यस्तो ठाउँमा लैजानुहोस्, जहाँ चैन होस्। स्वर्गमा चैन नै चैन हुन्छ, दु:खको नाम हुँदैन। स्वर्ग भनिन्छ नै सत्ययुगलाई। अहिले त हो कलियुग। यहाँ फेरि स्वर्ग कहाँबाट आयो? तिम्रो बुद्धि अब स्वच्छ बन्दै गइरहेको छ। स्वच्छ बुद्धि हुनेलाई म्लेच्छ बुद्धिले नमन गर्छन्। पवित्र रहनेहरूको मान हुन्छ। संन्यासी पवित्र हुन्छन्, त्यसैले गृहस्थीहरूले उनलाई टाउको टेक्छन्। संन्यासी त विकारबाट जन्म लिएर फेरि संन्यासी बन्छन्। देवताहरूलाई त भनिन्छ नै सम्पूर्ण निर्विकारी। संन्यासीहरूलाई कहिल्यै सम्पूर्ण निर्विकारी भनिदैन। तिमी बच्चाहरूलाई भित्र धेरै खुशीको पारा चढ्नुपर्छ, त्यसैले भनिन्छ अतीन्द्रिय सुख सोध्नु छ भने गोप-गोपीहरूसँग सोध, जसले बाबासँग वर्सा लिइरहेका छन्, पढिरहेका छन्। यहाँ सम्मुख सुन्दा नशा चढ्छ, फेरि कसैमा कायम रहन्छ, कोहीको त तुरुन्त उड्छ। सँगदोषको कारण नशा स्थायी रहँदैन। तिम्रो सेन्टरहरूमा यस्ता धेरै आउँछन्। अलिकति नशा चढ्यो, फेरि पार्टी आदिमा कहीं गए, मदिरा, बिँडी आदि पिए, खत्तम। सँगदोष धेरै खराब छ। हंस र बकुल्ला सँगसँगै रहन सक्दैनन्। पति हंस बन्छ भने पत्नी बकुल्ला बन्छिन्। कहीं फेरि स्त्री हंस बन्छिन्, पति बकुल्ला हुन्छन्। पवित्र बनौं भनेमा मार खान्छिन्। कुनै कुनै घरमा सबै हंस हुन्छन्, फेरि चल्दा चल्दै हंस बदलिएर बकुल्ला बन्न पुग्छन्। बाबा त भन्नुहुन्छ आफूलाई सुखदायी बनाऊ। बच्चाहरूलाई सुखदायी बनाऊ। यो त दु:खधाम हो नि। अब त धेरै आपद् आउनु छ, फेरि हेर कसरी त्राहि-त्राहि गर्ने छन्। अरे, बाबा आउनु भयो, हामीले बाबाबाट वर्सा पाएनौं, फेरि त धेरै ढीलो (टू लेट) हुने छ। बाबा स्वर्गको बादशाही दिन आउनु हुन्छ, त्यो गुमाएर बस्छन्, त्यसैले बाबा सम्झाउनु हुन्छ, सदैव मजबुतलाई लिएर आऊ। जो स्वयंले बुझेर अरूलाई पनि बुझाउन सकून्। बाँकी बाबा कुनै केवल देख्ने चीज त होइन। शिवबाबा कहाँ देख्नमा आउँछ र। के आफ्नो आत्मालाई देखेका छौ र? केवल जानेका छौ। त्यस्तै परमात्मालाई पनि जान्नु छ। दिव्य दृष्टि विना उहाँलाई कसैले देख्न सक्दैन। दिव्य दृष्टिद्वारा अहिले तिमी सत्ययुग देख्छौ, फेरि त्यहाँ प्राक्टिकलमा चल्नु छ। कलियुग विनाश तब हुन्छ, जब तिमी बच्चाहरू कर्मातीत अवस्थासम्म पुग्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यस पुरानो दुनियाँलाई देखेर पनि बुद्धिको योग बाबा वा नयाँ दुनियाँतर्फ लागिरहोस्। ध्यान रहोस् कर्मेन्द्रियहरूद्वारा कुनै पनि विकर्म नहोस्। सदैव शुद्ध कर्म गर्नु छ, भित्र कुनै बिमारी छ भने सर्जनसँग सल्लाह लिनु छ।

२) सङ्गदोष धेरै खराब हो, यसबाट आफ्नो धेरै धेरै सम्हाल गर्नु छ। आफूलाई र परिवारलाई सुखदायी बनाउनु छ। पढाइमा कहिल्यै बहाना दिनु छैन।

वरदान:
आफ्नो सबै कुरा सेवामा अर्पित गर्ने गुप्त दानी पुण्य आत्मा भव

जति पनि सेवा गर्छौ त्यसलाई विश्व कल्याणको लागि अर्पित गर्दै जाऊ। जसरी भक्तिमा जो गुप्त दानी पुण्य आत्माहरू हुन्छन्, उनीहरूले यही संकल्प गर्छन् सबैको भलो होस्। त्यसैगरी तिम्रो हर संकल्प सेवामा अर्पित होस्। कहिल्यै आफ्नोपनको कामना नराख। सबैको लागि सेवा गर। जुन सेवा विघ्न रूप बन्छ, त्यसलाई सच्चा सेवा भनिदैन। त्यसैले मेरोपनलाई छोडेर गुप्त अनि सच्चा सेवाधारी बनेर सेवाद्वारा विश्व कल्याण गर्दै जाऊ।

स्लोगन:
हरेक कुरालाई प्रभुमा अर्पण गर्यौ भने समस्याहरू सहज अनुभव हुन्छ।