03.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे जो सबैको सद्गति गर्नेवाला जीवनमुक्ति दाता हुनुहुन्छ , उहाँ तिम्रो पिता बन्नुभएको छ , तिमी उहाँका सन्तान हौ , त्यसैले कति नशा रहनु पर्छ।

प्रश्न:
कुन बच्चाहरूको बुद्धिमा बाबाको याद निरन्तर टिक्न सक्दैन?

उत्तर:
जसलाई पूरा-पूरा निश्चय छैन, उनीहरूको बुद्धिमा याद टिक्न सक्दैन। हामीलाई कसले सिकाइरहनु भएको छ, यो जान्दैनन् भने याद कसलाई गर्ने? जसले यथार्थ रूपमा चिनेर याद गर्छन्, उनैको विकर्म विनाश हुन्छ। बाबा स्वयं आएर आफ्नो र आफ्नो घरको यथार्थ पहिचान दिनुहुन्छ।

ओम् शान्ति ।
अब ओम् शान्तिको अर्थ त सदैव बच्चाहरूलाई याद छ। हामी आत्मा हौं, हाम्रो घर हो निर्वाणधाम वा मूलवतन। बाँकी भक्तिमार्गमा मनुष्यले जति पनि पुरुषार्थ गर्छन् उनलाई थाहा छैन कहाँ जानु छ? सुख केमा छ, दु:ख केमा छ, केही पनि थाहा हुँदैन। यज्ञ, तप, दान, पुण्य, तीर्थ आदि गर्दै सिँढी तल उत्रिदै आउँछन्। अहिले तिमीलाई ज्ञान मिलेको छ त्यसैले भक्ति बन्द हुन्छ। घण्टा आदि बजाउने, त्यो वातावरण सबै बन्द। नयाँ दुनियाँ र पुरानो दुनियाँमा फरक त छ नि। नयाँ दुनियाँ हो पावन दुनियाँ। तिमी बच्चाहरूको बुद्धिमा छ सुखधाम। सुखधामलाई स्वर्ग, दु:खधामलाई नर्क भनिन्छ। मनुष्य शान्ति चाहन्छन्, तर त्यहाँ कोही पनि जान सक्दैन। बाबा भन्नुहुन्छ म जबसम्म यहाँ भारतमा आउँदिन तबसम्म म विना तिमी बच्चाहरू जान सक्दैनौ। यहाँ नै शिवजयन्ती मनाइन्छ। निराकार अवश्य साकारमा आउनु हुन्छ नि। शरीर विना आत्माले केही गर्न सक्छ र? शरीर विना त आत्मा भट्किइरहन्छ। अरू तनमा पनि प्रवेश गर्छ। कोही राम्रा हुन्छन्, कोही चञ्चल हुन्छन्, एकदम हैरान बनाउँछन्। आत्मालाई शरीर अवश्य चाहिन्छ। त्यसैगरी परमपिता परमात्माले पनि शरीर विना यहाँ आएर के गर्नुहुन्छ! भारत नै अविनाशी खण्ड हो। सत्ययुगमा एउटै भारत खण्ड हुन्छ। अरू सबै खण्ड विनाश हुन्छन्। गायन गर्छन्, आदि सनातन देवी-देवता धर्म थियो। उनीहरूले फेरि आदि सनातन हिन्दु धर्म भनिदिन्छन्। वास्तवमा सुरुमा कुनै हिन्दु हुँदैन, देवी-देवता थिए। यूरोपमा रहनेले आफूलाई क्रिश्चियन भन्छन्। यूरोपियन धर्म कहाँ भन्छन् र! यहाँ हिन्दुस्तानमा रहनेहरूले हिन्दु धर्म भनिदिन्छन्। जो दैवी धर्म श्रेष्ठ थिए, उनै ८४ जन्ममा आएर धर्म भ्रष्ट बनेका छन्। जो देवता धर्मका हुन् उनै यहाँ आउँछन्। यदि निश्चय छैन भने सम्झ यस धर्मको होइन। यहाँ बसे तापनि उसको समझमा आउँदैन। त्यहाँ कुनै प्रजामा कम पद पाउनेवाला होला! चाहन्छन् सबैले सुख-शान्ति, त्यो त हुन्छ सत्ययुगमा। सबै त सुखधाममा जान सक्दैनन्। सबै धर्म आ-आफ्नो समयमा आउँछन्। अनेक धर्म छन्, वृक्ष वृद्धि भइरहन्छ। मूल फेद हो देवी-देवता धर्म। फेरि छन् ३ हाँगाहरू। स्वर्गमा त यो हुन सक्दैन। द्वापरदेखि लिएर नयाँ धर्म निस्किदै जान्छ, यसलाई भेराइटी मानव वृक्ष भनिन्छ। विराट् रूप अलग हो, यो भेराइटी धर्मको वृक्ष हो। किसिम-किसिमका मनुष्य छन्। तिमीले जानेका छौ कति धर्म छन्। सत्ययुग आदिमा एउटै धर्म थियो, नयाँ दुनियाँ थियो। विदेशीले पनि जानेका छन्, भारत नै प्राचीन बहिश्त थियो। धेरै धनवान थियो त्यसैले भारतलाई धेरै मान मिल्छ। कोही धनवान गरिब बन्छ भने उसप्रति दया लाग्छ। बिचरा भारत के बनेको छ! यो पनि ड्रामामा पार्ट छ। भन्छन् पनि, सबै भन्दा धेरै रहमदिल ईश्वर नै हुनुहुन्छ र आउनु हुन्छ पनि भारतमा। गरिबहरूलाई अवश्य धनवानले नै दया गर्छन् नि। बाबा हुनुहुन्छ बेहदका धनवान, उच्च भन्दा उच्च बनाउनेवाला। तिमी कसका बच्चा बनेका छौ, यो पनि नशा हुनुपर्छ। परमपिता परमात्मा शिवका हामी सन्तान हौं, जसलाई नै जीवनमुक्ति दाता, सद्गति दाता भनिछ। जीवनमुक्ति पहिला-पहिला सत्ययुगमा हुन्छ। यहाँ त छ जीवनबन्ध। भक्तिमार्गमा पुकार्छन् बाबा बन्धनबाट छुटाउनुहोस्। अहिले तिमीले पुकार्न सक्दैनौ।

तिमीले जानेका छौ बाबा जो ज्ञानका सागर हुनुहुन्छ, उहाँले नै विश्वको इतिहास-भूगोलको सार सम्झाइरहनु भएको छ। नलेजफुल हुनुहुन्छ। यिनले त स्वयं भन्छन् म भगवान होइन। तिमीलाई त देहबाट न्यारा देही-अभिमानी बन्नु छ। सारा दुनियाँलाई, आफ्नो शरीरलाई पनि भुल्नु छ। यिनी भगवान हुँदै होइनन्। यिनलाई भनिन्छ नै बापदादा। बाबा हुनुहुन्छ उच्च भन्दा उच्च। यो पतित पुरानो तन हो। महिमा केवल एकको छ। उहाँसँग योग लगाउनु छ तब नै पावन बन्छौ। नत्र कहिल्यै पावन बन्न सक्दैनौ अनि अन्तिममा हिसाब-किताब चुक्ता गरेर सजाय खाएर जान्छौ। भक्तिमार्गमा हम सो, सो हमको मन्त्र सुन्दै आएका छौ। हामी आत्मा सो परमपिता परमात्मा, सो हामी आत्मा यही गलत मन्त्रले परमात्माबाट बेमुख पार्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! परमात्मा सो हामी आत्मा भन्नु यो बिल्कुल गलत हो। अहिले तिमी बच्चाहरूलाई वर्णहरूको पनि रहस्य सम्झाइएको छ। हामी नै ब्राह्मण हौं फेरि हामीले नै देवता बन्नको लागि पुरुषार्थ गर्छौं। फेरि हामी नै देवता बनेर क्षत्रिय वर्णमा आउँछौं। अरू कुनैलाई कहाँ थाहा छ र हामीले कसरी ८४ जन्म लिन्छौं? कुन कुलमा लिन्छौं? तिमीले अहिले सम्झन्छौ हामी ब्राह्मण हौं, बाबा त ब्राह्मण हुनुहुन्न। तिमी नै यी वर्णहरूमा आउँछौ। अहिले ब्राह्मण धर्ममा एडप्ट गरिएको छ। शिवबाबाद्वारा प्रजापिता ब्रह्माका सन्तान बनेका छौ। यो पनि जानेका छौ निराकारी आत्माहरू वास्तवमा ईश्वरीय कुलका हुन्। निराकारी दुनियाँमा रहनेवाला हुन्। फेरि साकारी दुनियाँमा आउँछन्। पार्ट खेल्न आउनु पर्छ। त्यहाँबाट आएर फेरि हामीले देवता कुलमा ८ जन्म लियौं, फेरि हामी क्षत्रिय कुलमा, वैश्य कुलमा जान्छौं। बाबाले सम्झाउनु हुन्छ तिमीले यति जन्म दैवी कुलमा लियौ फेरि यति जन्म क्षत्रिय कुलमा लियौ। ८४ जन्मको चक्र हो। तिमीहरू सिवाय यो ज्ञान अरू कसैलाई मिल्न सक्दैन। जो यस धर्मका हुन् उनै यहाँ आउँछन्। राजधानी स्थापना भइरहेको छ। कुनै राजा-रानी कुनै प्रजा बन्छन्। सूर्यवंशी लक्ष्मी-नारायण द फस्ट, सेकेण्ड, थर्ड ८ गद्दी चल्छन् फेरि क्षत्रिय धर्ममा पनि फस्ट, सेकेण्ड, थर्ड यस्तो चल्छ। यो सबै कुरा बाबाले सम्झाउनु हुन्छ। जब ज्ञानका सागर आउनु हुन्छ अनि भक्ति समाप्त हुन्छ। रात समाप्त भएर दिन हुन्छ। त्यहाँ कुनै पनि प्रकारको धक्का हुँदैन। आराम नै आराम हुन्छ, कुनै हंगामा हुँदैन। यो पनि ड्रामा बनेको छ। भक्तिको समयमा नै बाबा आउनु हुन्छ। सबैलाई फर्केर अवश्य जानु छ फेरि नम्बरवार उत्रिन्छन्। क्राइस्ट आएपछि फेरि उनको धर्मका पनि आइरहन्छन्। अहिले हेर कति क्रिश्चियन छन्। क्राइस्ट भए क्रिश्चियन धर्मको बीज। यस देवी-देवता धर्मका बीज हुनुहुन्छ परमपिता परमात्मा शिव। तिम्रो धर्म स्थापना गर्नुहुन्छ परमपिता परमात्माले। तिमीलाई ब्राह्मण धर्ममा कसले ल्यायो? बाबाले एडप्ट गर्नुभयो अनि उहाँबाट सानो ब्राह्मण धर्म भयो। ब्राह्मणहरूको चोटी भनेर गाइन्छ। यो टुपी हो निशानी। त्यसपछि फेरि तल शरीर बढ्दै जान्छ। यो सबै कुरा बाबाले नै बसेर सम्झाउनु हुन्छ। बाबा जो कल्याणकारी हुनुहुन्छ उहाँ नै आएर विश्वको कल्याण गर्नुहुन्छ। सबैभन्दा अधिक कल्याण त तिमी बच्चाहरूको नै गर्नुहुन्छ। तिमी केबाट के बन्छौ! तिमी अमरलोकको मालिक बन्छौ। अहिले नै तिमीले काममाथि विजय पाउँछौ। त्यहाँ अकालमा मृत्यु हुँदैन। मर्ने कुरै हुँदैन। बाँकी चोला त परिवर्तन गर्छन् नि। जस्तै सर्पले एक काँचुली फेरेर अर्को लिन्छ। यहाँ पनि तिमी यो पुरानो शरीर छोडेर नयाँ दुनियाँमा नयाँ लिन्छौ। सत्ययुगलाई भनिन्छ गार्डेन अफ फ्लावर्स। कहिल्यै कुनै कुवचन त्यहाँ बोल्दैनन्। यहाँ त छ नै कुसङ्ग। मायाको सङ्गत छ नि त्यसैले यसको नाम नै हो रौरव नर्क। भवन धेरै पुरानो भएपछि नगरपालिकाले खाली गराइदिन्छ। बाबाले पनि भन्नुहुन्छ जब पुरानो दुनियाँ हुन्छ तब म आउँछु।

ज्ञानद्वारा सद्गति हुन्छ। राजयोग सिकाइन्छ। भक्तिमा त केही पनि छैन। हो, दान-पुण्य गर्छौ भने अल्पकालको लागि सुख मिल्छ। राजाहरूलाई पनि संन्यासीहरूले वैराग्य दिलाउँछन्, यो त काग विष्टा समान सुख हो। अहिले तिमी बच्चाहरूलाई बेहदको वैराग्य सिकाइन्छ। यो हो नै पुरानो दुनियाँ, अब सुखधामलाई याद गर। फेरि शान्तिधाम हुँदै यहाँ आउनु छ। देलवाडा मन्दिरमा हुबहु तिम्रो यस समयको यादगार छ। तल तपस्यामा बसेका छन्, माथि छ स्वर्ग। नत्र स्वर्ग कहाँ देखाऊन्? मनुष्य मर्यो भने भन्छन् स्वर्ग गयो। स्वर्गलाई माथि सम्झन्छन् तर माथि केही छँदै छैन। भारत नै स्वर्ग, भारत नै नर्क बन्छ। यो मन्दिर पूरा यादगार हो। यी मन्दिर आदि सबै पछि बन्छन्। स्वर्गमा भक्ति हुँदैन। त्यहाँ त सुख नै सुख हुन्छ। बाबा आएर सबै रहस्य सम्झाउनु हुन्छ। अरू सबै आत्माहरूको नाम बदलिन्छन्, शिवको नाम बदलिदैन। उहाँको आफ्नो शरीर त छैन। शरीर विना पढाउने कसरी! प्रेरणाको त कुरा नै छैन। प्रेरणाको अर्थ हो विचार। यस्तो होइन, माथिबाट प्रेरणा दिनुहुन्छ अनि यहाँ आइपुग्छ! यसमा प्रेरणाको कुनै कुरा छैन। जो बच्चाहरूलाई बाबाको पूरा परिचय छैन, पूरा निश्चय छैन, उनको बुद्धिमा याद पनि टिक्दैन। हामीलाई कसले सिकाइरहनु भएको छ, यो जानेका छैनन् त्यसैले याद कसलाई गर्ने? बाबाको यादबाट नै तिम्रो विकर्म विनाश हुन्छ। जसलाई जन्म-जन्मान्तर लिङ्गको रूपमा याद गर्छन्, सम्झन्छन् यो परमात्मा हुनुहुन्छ, उहाँको यो चिह्न हो, उहाँ हुनुहुन्छ निराकार, साकार होइन। बाबा भन्नुहुन्छ मलाई पनि प्रकृतिको आधार लिनुपर्छ। नत्र तिमीलाई सृष्टि चक्रको रहस्य कसरी सम्झाऊँ। यो हो रूहानी ज्ञान। आत्माहरूलाई नै यो ज्ञान मिल्छ। यो ज्ञान एक बाबाले नै दिन सक्नुहुन्छ। पुनर्जन्म त लिनु नै छ। सबै एक्टरहरूलाई पार्ट मिलेको छ। निर्वाणमा कोही पनि जान सक्दैन। मोक्ष मिल्न सक्दैन। जो नम्बरवन विश्वका मालिक बन्छन् उनैले ८४ जन्ममा आउँछन्। चक्कर अवश्य लगाउनु छ। मनुष्यले सम्झन्छन् मोक्ष मिल्छ, कति मत-मतान्तर छ। वृद्धि भइ नै रहन्छ। फर्केर कोही पनि जाँदैन। बाबाले नै ८४ जन्मको कहानी बताउनु हुन्छ। तिमी बच्चाहरूले पढेर फेरि पढाउनु छ। यो रूहानी ज्ञान तिमी सिवाय अरू कसैले दिन सक्दैन। न शूद्र, न देवताहरूले दिन सक्छन्। सत्ययुगमा दुर्गति हुँदैन त्यसैले कसैले यो ज्ञान लिनु पर्दैन। यो ज्ञान हो नै सद्गतिको लागि। सद्गति दाता, लिबरेटर, गाइड एउटै हुनुहुन्छ। यादको यात्रा सिवाय कोही पनि पवित्र बन्न सक्दैन। सजाय अवश्य खानु पर्नेछ। पद पनि भ्रष्ट हुन्छ। सबैको हिसाब-किताब चुक्ता त हुनु छ नि। तिमीलाई तिम्रै कुरा सम्झाउनु हुन्छ, अरू धर्ममा जाने के आवश्यकता छ र। तिमीहरूलाई नै यो ज्ञान मिल्छ। बाबा पनि भारतमा नै आएर ३ धर्म स्थापना गर्नुहुन्छ। अहिले तिमीलाई शूद्र धर्मबाट निकालेर उच्च कुलमा लैजानुहुन्छ। त्यो हो नीच, पतित कुल, अब पावन बनाउनको लागि तिमी ब्राह्मण निमित्त बन्छौ। यसलाई रुद्र ज्ञान यज्ञ भनिन्छ। रुद्र शिवबाबाले यज्ञ रच्नुभएको छ, यस बेहदको यज्ञमा सारा पुरानो दुनियाँको आहुति पर्नु छ। फेरि नयाँ दुनियाँ स्थापना हुन्छ। पुरानो दुनियाँ समाप्त हुनु छ। तिमीले यो ज्ञान लिन्छौ नै नयाँ दुनियाँको लागि। देवताहरूको छायाँ पुरानो दुनियाँमा पर्न सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ कल्प पहिला जो आएका थिए उनै आएर यो ज्ञान लिन्छन्। नम्बरवार पुरुषार्थ अनुसार पढाइ पढ्छन्। मनुष्यले यहाँ नै शान्ति चाहन्छन्। अब आत्मा त हो नै शान्तिधामको निवासी। बाँकी यहाँ शान्ति कसरी हुन सक्छ? यस समय त घर-घरमा अशान्ति छ। रावण राज्य हो नि। सत्ययुगमा बिल्कुलै शान्तिको राज्य हुन्छ। एक धर्म, एक भाषा हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यस पुरानो दुनियाँबाट बेहदको वैरागी बनेर आफ्नो देहलाई पनि भुलेर शान्तिधाम र सुखधामलाई याद गर्नु छ। निश्चयबुद्धि बनेर यादको यात्रामा रहनु छ।

२) हम सो, सो हमको मन्त्रलाई यथार्थ रूपमा बुझेर अब ब्राह्मण सो देवता बन्ने पुरुषार्थ गर्नु छ। सबैलाई यसको यथार्थ अर्थ बुझाउनु छ।

वरदान:
तीनै सेवाहरूको सन्तुलनद्वारा सर्व गुणहरूको अनुभूति गर्ने गुणमूर्त भव

जो बच्चाहरू संकल्प, बोली र हर कर्मद्वारा सेवामा तत्पर रहन्छन्, उनीहरू नै सफलतामूर्त बन्छन्। तीनैमा समान अंक छ, सारा दिनमा तीनवटै सेवाहरूको सन्तुलन छ भने सम्मान सहित पास वा गुणमूर्त बन्छन्। उनीहरूद्वारा सर्व दिव्य गुणहरूको शृंगार स्पष्ट देखिनमा आउँछ। एक अर्कालाई बाबाको गुणको वा स्वयंले धारणा गरेका गुणहरूको सहयोग दिनु नै गुणमूर्त बन्नु हो, किनकि गुणदान सबैभन्दा ठूलो दान हो।

स्लोगन:
निश्चयरूपी जग मजबुत छ भने श्रेष्ठ जीवनको अनुभव स्वत: हुन्छ।