04.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे जब तिमी फूल बन्छौ , तब यो विश्व काँडाको जंगलबाट सम्पूर्ण फूलको बगैंचा बन्छ , बाबा आउनु भएको छ तिमीलाई फूल बनाउन।

प्रश्न:
मन्दिर लायक बन्नको लागि कुन कुरामा विशेष ध्यान दिनुपर्छ?

उत्तर:
मन्दिर लायक बन्नको लागि चालचलनमा विशेष ध्यान देऊ। चालचलन धेरै मीठो र रोयल हुनु पर्छ। यति मिठास होस् जसको अरूलाई महसुसता आओस्। अनेकौंलाई बाबाको परिचय देऊ। आफ्नो कल्याण गर्नको लागि राम्रोसँग पुरुषार्थ गरेर सेवामा लागिराख।

गीत:
बदल जाए दुनियाँ न बदलेंगे हम......

ओम् शान्ति ।
रूहानी बच्चाहरूले जानेका छन् बाबाले ब्रह्माद्वारा सम्झाइरहनु भएको छ। ब्रह्माको रथद्वारा नै सम्झाइरहनु हुन्छ। हामी यो प्रतिज्ञा गर्छौं श्रीमत अनुसार यस सृष्टिलाई पतितबाट पावन बनाउँछौं। सारा दुनियाँलाई हामीले पतितबाट पावन बन्ने मार्ग बताउँछौं। हरेकले आफ्नो बुद्धिमा यति ख्याल राख्नुपर्छ। बाबा भन्नुहुन्छ ड्रामा अनुसार जब तिमी फूल बन्छौ र जब समय आउँछ तब सम्पूर्ण बगैंचा बन्छ। बागवान पनि निराकारलाई भनिन्छ, माली पनि निराकारलाई भनिन्छ, साकारलाई होइन। माली पनि आत्मा हो, नकि शरीर। बागवान पनि आत्मा हो। बाबाले सम्झाउनु हुन्छ अवश्य शरीरद्वारा नै। शरीरको साथमा नै उहाँलाई माली, बागवान भनिन्छ, जसले यस विश्वलाई फूलको बगैंचा बनाउनु हुन्छ। बगैंचा थियो जहाँ यी देवताहरू रहन्थे। त्यहाँ कुनै दु:ख थिएन। यहाँ यस काँडाको जंगलमा त दु:ख छ, रावणको राज्य हो, काँडाको जंगल हो। छिट्टै कोही फूल बन्दैन। देवताहरूको अगाडि गएर गायन गर्छन् हामी जन्म-जन्मान्तरका पापी हौं, अजामिल हौं। यस्तो प्रार्थना गर्छन्, अब आएर हामीलाई पुण्य आत्मा बनाउनुहोस्। सम्झन्छन् अहिले हामी पाप आत्मा हौं। कुनै समयमा पुण्य आत्मा थिए। अहिले यस दुनियाँमा पुण्य आत्माहरूका केवल चित्र मात्र छन्। राजधानीका प्रमुखका चित्र छन् र उनीहरूलाई यस्ता बनाउने निराकार हुनुहुन्छ शिवबाबा। उहाँको चित्र छ, अरू कुनै चित्र छैन। यसमा पनि शिवको ठूलो लिङ्ग बनाउँछन्। भन्छन् पनि, आत्मा तारा जस्तै छ त्यसैले अवश्य बाबा पनि त्यस्तै हुनुहुन्छ। तर उहाँको पूरा पहिचान छैन। विश्वमा यी लक्ष्मी-नारायणको राज्य थियो। यिनको लागि कहीं पनि कुनै ग्लानिको कुरा लेख्दैनन्। बाँकी कृष्णलाई त कहिले द्वापरमा, कहिले कतै लिएर जान्छन्। लक्ष्मी-नारायणको लागि सबैले भन्छन् स्वर्गका मालिक थिए। यो हो तिम्रो लक्ष्य-उद्देश्य। राधा-कृष्ण को हुन् मनुष्य विचराहरू अलमलमा परेका छन्, केही पनि बुझ्दैनन्। जसले बाबाद्वारा बुझ्छन्, तिनीहरू सम्झाउन लायक पनि बन्छन्। नत्र त लायक बन्न सक्दैनन्। दैवी गुण धारण गर्न सक्दैनन्। चाहे जतिसुकै सम्झाइयोस्। तर ड्रामा अनुसार यस्तो हुनु नै छ। तिमीले अहिले स्वयं सम्झन्छौ हामी सबै बच्चाहरूले बाबाको श्रीमत अनुसार रूहानी सेवा गर्छौं, आफ्नै तन-मन-धनबाट। प्रदर्शनी अथवा संग्रहालय आदिमा सोध्छन् तपाईंहरूले देशको के सेवा गर्नुहुन्छ? तिमीले जानेका छौ हामीले धेरै राम्रो सेवा गर्छौं, जंगलबाट बगैंचा बनाइरहेका छौं। सत्ययुग हो बगैंचा। यो हो काँडाको जंगल। एक-अर्कालाई दु:ख दिइरहन्छन्। यो तिमीले राम्रोसँग सम्झाउन सक्छौ। लक्ष्मी-नारायणको चित्र पनि धेरै राम्रो बनाउनु पर्छ। मन्दिरमा धेरै राम्रा चित्र बनाउँछन्। कहीं गोरो, कहीं कालो चित्र बनाउँछन्, त्यसको के रहस्य छ? यो पनि बुझ्दैनन्। तिमी बच्चाहरूलाई अहिले यो सारा ज्ञान छ। बाबा भन्नुहुन्छ म आएर सबैलाई मन्दिर लायक बनाउँछु, तर सबै मन्दिर लायक बन्दैनन्। प्रजालाई त मन्दिर लायक भनिदैन। प्रजा उनीहरूका हुन्छन्, जसले पुरुषार्थ गरेर धेरै सेवा गर्छन्।

तिमी बच्चाहरूले रूहानी समाज सेवा पनि गर्नु छ। यस सेवामा आफ्नो जीवन सफल गर्नु छ। चालचलन पनि धेरै मीठो र सुन्दर हुनुपर्छ, जसले गर्दा अरूलाई पनि मीठोसँग सम्झाउन सकियोस्। स्वयं नै काँडा छ भने अरूलाई फूल कसरी बनाउँछ, उसको तीर राम्रोसँग लाग्दैन। बाबालाई याद गर्दैनन् भने तीर कसरी लाग्छ? आफ्नो कल्याणको लागि राम्रोसँग पुरुषार्थ गरेर सेवामा लागिराख। बाबा पनि सेवामा हुनुहुन्छ नि। तिमी बच्चाहरू पनि दिन-रात सेवामा लाग।

दोस्रो कुरा, सम्झाउनु हुन्छ शिवजयन्तीमा धेरै बच्चाहरूले टेलिग्राम पठाउँछन्, त्यसमा पनि यस्तो कुरा लेख्नुपर्छ, त्यो टेलिग्राम जसलाई देखाए पनि बुझून्। अब के गर्नु छ, त्यसको पुरुषार्थ गरिन्छ। सेमीनार पनि त्यसैले गरिन्छ ताकि के-के सेवा गर्दा सबैलाई बाबाको परिचय मिल्न सक्छ। टेलिग्राम पत्रहरू धेरै राखिएका छन्, यसबाट धेरै काम लिन सक्छौ। ठेगानामा लेख्छन् शिवबाबा केयर अफ ब्रह्मा। प्रजापिता ब्रह्मा पनि छन्, उहाँ रूहानी पिता, यी शारीरिक। यिनीबाट शारीरिक रचना रचिन्छ। बाबा हुनुहुन्छ मनुष्य सृष्टिका रचयिता। कसरी रचना रच्नु हुन्छ, यो दुनियाँ भरमा कसैले जानेका छैनन्। बाबाले ब्रह्माद्वारा अहिले नयाँ रचना गरिरहनु भएको छ। ब्राह्मण हुन् चोटी। सबैभन्दा पहिला ब्राह्मण अवश्य चाहिन्छ। विराट् रूपको हो यो चोटी। ब्राह्मण, देवता, क्षत्रिय, वैश्य, शूद्र। पहिला शूद्र त हुन सक्दैनन्। बाबाले ब्रह्माद्वारा ब्राह्मण रच्नुहुन्छ। शूद्र कसरी र कसद्वारा रच्नु हुन्छ?

तिमी बच्चाहरूलाई थाहा छ कसरी नयाँ रचना रच्नुहुन्छ, यो एडप्सन हो बाबाको। कल्प-कल्प बाबा आएर शूद्रबाट ब्राह्मण बनाउनु हुन्छ फेरि ब्राह्मणबाट देवता बनाउनु हुन्छ। ब्राह्मणहरूको सेवा धेरै उच्च छ। ती ब्राह्मणहरू स्वयं नै पवित्र छैनन् भने अरूलाई कसरी पवित्र बनाउँछन्? कुनै पनि ब्राह्मणले संन्यासीलाई कहिल्यै राखी बाँध्दैनन्। उनीहरूले भन्छन् हामी त छौ नै पवित्र, तिमीले आफ्नो मुख हेर। तिमी बच्चाहरूले पनि कसैसँग राखी बाँध्न सक्दैनौ। दुनियाँमा त सबैले एक अर्कालाई राखी बाँध्छन्। बहिनीले भाइलाई बाँध्छन्, यो रिवाज अहिले निस्केको हो। अहिले तिमीले शूद्रबाट ब्राह्मण बन्नको लागि पुरुषार्थ गर्छौ। सम्झाउनु पर्ने हुन्छ। स्त्री-पुरुष दुवैले पवित्रताको प्रतिज्ञा गर्छन्। दुवैले बताउन सक्छन् हामी कसरी बाबाको श्रीमतबाट पवित्र रहन्छौं। अन्त्य समयसम्म यस काम विकारमाथि विजय प्राप्त गर्यौ भने पवित्र जगतको मालिक बन्छौ। पवित्र दुनियाँ सत्ययुगलाई भनिन्छ, त्यो अहिले स्थापना भइरहेको छ। तिमीहरू सबै पवित्र हौ। विकारमा गिर्नेलाई राखी बाँध्न सक्छौ। प्रतिज्ञा गरेर फेरि पतित बने भने भनिन्छ तपाईं राखी बाँध्न आउनु भएको थियो फेरि के भयो? भन्छन् मायाबाट हार खाएँ। यो हो युद्धको मैदान। विकार ठूलो दुस्मन हो। यसमाथि विजय प्राप्त गरेर नै जगतजित अर्थात् राजा-रानी बन्नु छ, प्रजालाई जगतजित भनिदैन। मेहनत राजा-रानीले गर्छन् नि। भन्छन् पनि, हामी लक्ष्मी-नारायण बन्छौं। अरू फेरि राम-सीता पनि बन्छन्। लक्ष्मी-नारायणपछि उनको गद्दीमा उनका बच्चाहरू बस्छन्। ती लक्ष्मी-नारायण फेरि दोस्रो जन्ममा तल झर्छन्। बेग्लै नाम-रूपबाट बच्चालाई गद्दी मिल्छ त्यसैले उनलाई उच्च नम्बरको मानिन्छ। पुनर्जन्म त लिन्छन् नि। बच्चा गद्दीमा बस्छ भने त्यो सेकेण्ड ग्रेड हुन्छ। माथिको तल, तलको माथि आउँछ। त्यसैले यस्तो उच्च बन्नु छ भने बच्चाहरू सेवामा लाग्नु पर्छ। पवित्र हुनु पनि धेरै आवश्यक छ। बाबा भन्नुहुन्छ मैले पवित्र दुनियाँ बनाउँछु। राम्रो पुरुषार्थ कहाँ गर्छन् र, पवित्र त सारा दुनियाँ बन्छन। तिम्रो लागि स्वर्गको स्थापना गर्नुहुन्छ। यो ड्रामा अनुसार हुनु नै छ, यो खेल बनेको छ। जब तिमी पवित्र बन्छौ अनि विनाश सुरु हुन्छ। सत्ययुगको स्थापना हुन्छ। ड्रामाका कुरा त तिमीलाई थाहा छ। सत्ययुगमा थियो देवताको राज्य। अहिले छैन फेरि हुनु छ।

तिमी हौ रूहानी मिलेट्री। तिमी ५ विकारमाथि विजय प्राप्त गरेर जगतजित बन्छौ। जन्म-जन्मान्तरका पाप काट्नको लागि बाबा युक्ति बताउनु हुन्छ। बाबा एकै पटक आएर युक्ति बताउनु हुन्छ। जबसम्म राजधानी स्थापना हुँदैन, तबसम्म विनाश हुँदैन। तिमी धेरै गुप्त योद्धा हौ। सत्ययुग हुनु नै छ कलियुगपछि। फेरि सत्ययुगमा कहिल्यै लडाईं हुँदैन। तिमी बच्चाहरूलाई थाहा छ सबै आत्माहरू जुन पनि पार्ट खेल्छन् त्यो सबै पहिला नै निर्धारित छ। जसरी कठपुतली हुन्छन्, त्यसैगरी नाचिरहन्छन्। यो पनि ड्रामा हो, हरेकको यस ड्रामामा पार्ट छ। पार्ट खेल्दा-खेल्दा तिमी तमोप्रधान बनेका हौ। फेरि अब माथि जान्छौ, सतोप्रधान बन्छौ। ज्ञान त सेकेण्डको छ। सतोप्रधान बन्छौ फेरि गिर्दा-गिर्दा तमोप्रधान बन्छौ। फेरि बाबाले माथि लिएर जानुहुन्छ। जसरी खेलौनामा माछाहरू तारमा झुण्डिएका हुन्छन्, वास्तवमा त्यस तारमा त माछाको सट्टा मनुष्यहरू झुण्डिएको हुनुपर्छ। कला घटेको र बढेको यसरी देखाइएको हो। तिमी पनि यसरी चढ्छौ फेरि बिस्तारै तल आउँछौ। ५ हजार वर्ष लाग्छ माथि गएर फेरि उत्रिनको लागि। यो ८४ को चत्र तिम्रो बुद्धिमा छ। गिर्ने कला र चढ्ने कलाको रहस्य बाबाले सम्झाउनु भएको छ। तिमीहरूमा पनि नम्बरवार जानेका छन् र फेरि पुरुषार्थ गर्छन्। जसले बाबालाई याद गर्छन् उनै फेरि छिट्टै माथि जान्छन्। यो प्रवृत्ति मार्ग हो। जसरी जोडीलाई दौडाउँछन् भने जोडीको एक-एक खुट्टा बाँध्छन् फेरि दौडिन्छन्। यो पनि तिम्रो दौड हो। कसैको अभ्यास छैन भने लड्छन्, यसमा पनि यस्तै हुन्छ। एउटा अगाडि बढ्छ भने अर्कोले रोक्छ, कतै दुवै गिर्छन्। बाबा आश्चर्य मान्नु हुन्छ वृद्धहरूलाई पनि कामको आगो लाग्छ त्यसैले उनीहरू पनि गिर्छन्। यो उसले गिराएको कहाँ हो र! गिर्नु र नगिर्नु त आफ्नो हातमा छ। कसैले धक्का कहाँ दिन्छन् र! हामी किन गिरौं? जे भए पनि हामी गिर्ने छैनौं। गिर्यो भने आम्दानी बर्बाद हुन्छ, जोरले थप्पड लाग्छ। फेरि पछुताउँछन्, हड्डी-हड्डी टुट्छन्। धेरै चोट लाग्छ। बाबा भिन्न-भिन्न प्रकारले सम्झाइरहनु हुन्छ।

यो पनि सम्झाइएको छ शिव जयन्तीमा टेलिग्राम यस्तो आउनु पर्छ जसलाई मनुष्यले पढ्ने बित्तिकै बुझ्न सकून्। विचार सागर मन्थन गर्नको लागि बाबाले समय दिनु हुन्छ। कसैले देखे भने आश्चर्य मान्छन्। कति धेरै चिट्ठी आउँछन्, सबैले लेख्छन् बापदादा। तिमीले सम्झाउन पनि सक्छौ शिवबाबालाई बाबा र ब्रह्मालाई दादा भनिन्छ। एउटैलाई कहिल्यै कसैले बापदादा भन्छन् र? यो त आश्चर्यजनक कुरा हो, यसमा सच्चा-सच्चा ज्ञान छ। तर जब यादमा रहन्छन् तब कसैलाई तीर पनि लाग्न सक्छ। घरी-घरी देह-अभिमानमा आउँछन्। बाबा भन्नुहुन्छ आत्म-अभिमानी बन। आत्माले नै शरीर धारण गरेर पार्ट खेल्छ। कोही मर्यो भने पनि कुनै ख्याल आउनु हुँदैन। आत्मामा जुन पार्ट निश्चित छ, त्यसलाई हामी साक्षी भएर हेर्छौं। उनले एक शरीर छोडेर अर्को पार्ट खेल्नु नै छ। यसमा हामीले गर्नै के सक्छौं? यो ज्ञान पनि तिम्रो बुद्धिमा छ। त्यो पनि नम्बरवार। कतिको बुद्धिमा त कत्ति पनि अडिदैन। त्यसैले कसैलाई सम्झाउन सक्दैनन्। आत्मा बिलकुल तातो तावा, तमोप्रधान पतित छ। त्यसमा ज्ञानामृत राख्यो भने अडिदैन। जसले धेरै भक्ति गरेको छ, उसलाई नै तीर लाग्छ, छिट्टै धारणा हुन्छ। हिसाब नै आश्चर्यजनक छ पहिलो नम्बरमा पावन, उनै फेरि पतित बन्छन्। यो पनि कति बुझ्नु पर्ने कुरा हुन्छ। कसैको तकदिरमा छैन भने पढाइलाई छोडिदिन्छन्। यदि सानैदेखि ज्ञानमा लाग्यो भने धारणा हुँदै जान्छ। सम्झन्छन् यसले धेरै भक्ति गरेको छ। धेरै होसियार हुँदै जान्छ किनकि देहका अंगहरू बढ्दै जानाले समझ पनि धेरै आउँदै जान्छ। जिस्मानी र रूहानी दुवैतर्फ ध्यान दिनाले फेरि त्यो असर हट्दै जान्छ। यो हो ईश्वरीय पढाइ। फरक छ नि। तर जब त्यो लगन लागोस् तब हुन सक्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) रूहानी मिलेट्री बनेर ५ विकारमाथि विजय प्राप्त गर्नु छ, पवित्र अवश्य बन्नु छ। श्रीमत अनुसार सृष्टिलाई पावन बनाउने सेवा गर्नु छ।

२) यस बेहद नाटकमा हर पार्ट आत्म-अभिमानी भएर खेल्नु छ, कहिल्यै पनि देह-अभिमानमा आउनु छैन। साक्षी भएर हरेक कलाकारको पार्ट देख्नु छ।

वरदान:
स्वमानद्वारा अभिमानलाई समाप्त गर्ने सदा निर्मान भव

जो बच्चाहरू स्वमानमा रहन्छन्, उनलाई कहिल्यै पनि अभिमान आउन सक्दैन, उनीहरू सदा निर्माण हुन्छन्। जति ठूलो स्वमान त्यति स्वीकार गर्नमा पनि निर्मान। सानो ठूलो, ज्ञानी-अज्ञानी, मायाजित या मायावश, गुणवान होस् या कुनै एउटा दुइटा अवगुण पनि होस् अर्थात् गुणवान बन्ने पुरुषार्थी होस्, तर स्वमानमा रहनेवाला सबैलाई मान दिने दाता हुन्छन् अर्थात् स्वयं सम्पन्न हुनाको कारणले सदा रहमदिल हुन्छन्।

स्लोगन:
स्नेह नै सहज यादको साधन हो, त्यसैले सदा स्नेही बन र स्नेही बनाऊ।