05.01.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे भक्तहरूमाथि जब आपद-विपद आउँछ , तब बाबा आउनुहुन्छ ज्ञानद्वारा गति सदगति गर्न।

प्रश्न:
विकर्माजित को बन्छ? विकर्माजित बन्नेहरूको निशानी के हुन्छ?

उत्तर:
विकर्माजित उही बन्छ जसले कर्म-अकर्म-विकर्मको गतिलाई जानेर श्रेष्ठ कर्म गर्छ। विकर्माजित बन्नेहरूले कहिल्यै पनि दु:ख पाउनु पर्दैन । तिनीहरूको कर्म विकर्म बन्दैन।

प्रश्न:
अहिले बाबाले कुनचाहिँ डबल सेवा गर्नुहुन्छ?

उत्तर:
आत्मा र शरीर दुवैलाई पावन पनि बनाउनुहुन्छ फेरि आफूसँगै घर लिएर पनि जानुहुन्छ। चरित्र एक बाबाको हो। मनुष्यको हुन सक्दैन।

गीत:
ओम् नम: शिवाय...

ओम् शान्ति ।
यो गीत तिमी बच्चाहरूले सुन्यौ। जति पनि भक्तिमार्गवाला छन्, उनीहरूले यस्तो गीत गाउँछन्। घोर अन्धकारबाट उज्यालोमा जान चाहन्छन् र दु:खबाट छुट्ने पुकार गरिरहन्छन्। तिमी त हौ शिववंशी ब्रह्माकुमार-कुमारीहरू। यो त बुझ्ने कुरा हो। यति धेरै बच्चाहरू कोखवंशावली त हुन सक्दैनन्। अवश्य मुखवंशावली हुनुपर्छ। कृष्णका त्यति धेरै रानी अथवा बच्चा थिएनन्। गीताको भगवानले त राजयोग सिकाउनुहुन्छ, त्यसैले अवश्य मुखवंशावली हुनु पर्छ। प्रजापिता शब्द त नामीग्रामी छ। यिनका मुखबाट बाबा आएर ब्राह्मण धर्म रच्नुहुन्छ। प्रजापिता नाम बाबालाई सुहाउँछ। अहिले तिमी यथार्थमा उहाँ बाबाको बनेका छौ। उनीहरूले त भनिदिन्छन् कृष्ण भगवान थिए, शिव पनि भगवान थिए। रुद्र भगवानको सट्टा कृष्णको नाम राखिदिएका छन्। भन्छन् पनि शङ्कर-पार्वती, शूद्र पार्वती भन्दैनन्। शिव-शङ्कर महादेव भन्छन्। अब कृष्ण कहाँबाट आए। उनलाई रुद्र वा शङ्कर भनिदैन। भक्तहरूले गायन गर्छन् तर भगवानलाई चिन्दैनन्। यहाँ वास्तवमा सच्चा-सच्चा भक्त उनीहरू हुन्, जो पूज्य थिए उनीहरू नै अहिले पुजारी बनेका छन्। त्यसमा पनि नम्बरवार छन्। तिमीहरू ब्राह्मण हौ, उनीहरू शूद्र हुन्। देवता धर्मावलम्बीहरू नै धेरै दु:खी हुन्छन् किनकि उनीहरूले धेरै सुख पनि देखेका हुन्छन्। अब आधाकल्पको लागि तिम्रो द्वार-द्वार भट्किन बन्द भएको छ। यो रहस्य पनि तिमी ब्राह्मणले नै जान्दछौ, त्यो पनि नम्बरवार। जसले कल्प पहिले जति पुरुषार्थ गरेका थिए त्यति नै अहिले गर्छन्। यस्तो होइन जे ड्रामामा हुन्छ, फेरि पनि पुरुषार्थ शब्द आउँछ। ड्रामाले बच्चाहरूद्वारा पुरुषार्थ गराउनु नै छ। जस्तो पुरुषार्थ त्यस्तै पद मिल्छ। हामीले जान्दछौं कल्पपहिले पनि यस्तो पुरुषार्थ गरेका थियौं। यस्तो अप्ठ्यारो परेको थियो, यज्ञमा विघ्न पर्थे।

तिमी बच्चाहरूलाई थाहा छ बाबा फेरि आउनु भएको छ। कल्प पहिला पनि जब अंग्रेजहरूको राज्य थियो त्यतिबेला बाबा आउनु भएको थियो। जसबाट काँग्रेसले लियो फेरि पाकिस्तान भयो। यो कल्प पहिले पनि भएको थियो। गीतामा पनि यी कुरा छैनन्। अन्त्यमा बुझिहाल्छन् वास्तवमा अहिले त्यही समय हो। कसै कसैले सम्झन्छन् ईश्वर आउनु भएको छ। जब महाभारी लडाइँ लागेको थियो तब भगवान आउनु भएको थियो। भन्छन् ठीकै छ, केवल नाम परिवर्तन गरिदिएका छन्। रुद्र नामसम्म लिएको भए पनि ठीकै छ भनेर सम्झिनुहुन्थ्यो। रुद्रले ज्ञान यज्ञ रच्नु भएको थियो, जसद्वारा दुनियाँको विपद टरेको थियो। यो कुरा पनि बिस्तारै बिस्तारै तिमीहरूद्वारा सबैलाई थाहा हुनेछ। यसको लागि अझै समय बाँकी छ। नत्र यहाँ यस्तो भिड लाग्नेथियो जसकारण तिमीहरूले पढ्न पनि सक्नेथिएनौ। यहाँ भिडको नियम छैन। गुप्त भेषमा काम चलिरहन्छ। यहाँ कुनै ठूलो मान्छे आयो भने मानिसहरूले भन्नेछन् यसको दिमाग बिग्रेको छ। यहाँ त बाबाले तिमी बच्चाहरूलाई पढाइरहनु भएको छ। देवता धर्म त भगवान आएर रच्नुहुन्छ नि। उहाँ अहिले आउनु भएको छ नयाँ दुनियाँ रच्न, भक्तको विपत्ति हटाउन। विनाशपछि त कुनै दु:ख हुँदैन। त्यहाँ सत्ययुगमा भक्त हुँदैनन्। न कुनै यस्तो कर्म गर्छन् जसकारण दु:खी हुनुपरोस्।

(मुम्बईबाट रमेश भाइजीको फोन आयो) बापदादा गएर आउँदा बच्चाहरू उदास हुन्छन्। जसरी कसैको पति बेलायतमा गएको छ भने पत्नी रुन्छन्। त्यो हो जिस्मानी सम्बन्ध। यहाँ बाबासँग रूहानी सम्बन्ध छ। बाबासँग बिछोडिएपछि प्रेमका आँसु आउँछन्। जुन सेवाधारी बच्चाहरू छन्, बाबाले उनीहरूको कदर गर्नुहुन्छ। सपुत बच्चाहरूले फेरि बाबाको कदर गर्छन् । शिवबाबासँग त बच्चाहरूको धेरै उच्चभन्दा उच्च सम्बन्ध छ। उहाँसँग भन्दा उच्च सम्बन्ध त अरू कसैसँग हुँदैन। शिवबाबाले त बच्चाहरूलाई आफूभन्दा पनि उच्च बनाउनुहुन्छ। पावन त तिमी बन्छौ, तर बाबासमान सदा पावन बन्न सक्दैनौ। हो पावन देवता बन्छौ। बाबा त ज्ञानका सागर हुनुहुन्छ। हामीले जति सुने पनि ज्ञानसागर बन्न सक्दैनौं। उहाँ ज्ञानको सागर, आनन्दको सागर हुनुहुन्छ, बच्चाहरूलाई आनन्दमय बनाउनुहुन्छ। अरूले त केवल नाम राख्न लगाउँछन्। यतिबेला दुनियाँमा भक्त माला निकै लामो छ। तिम्रो हो १६१०८को माला। भक्त त करोडौं छन्। यहाँ भक्तिको कुरा छैन। ज्ञानबाट नै सदगति हुन्छ। अब तिमीलाई भक्तिको जन्जिरबाट छुटाइन्छ। बाबा भन्नुहुन्छ सबै भक्तमाथि जब विपत्ति आउँछ, तब सबैको गति सदगति गर्न म आउनु पर्छ। स्वर्गका देवताले अवश्य यस्तो कर्म गरेका होलान् त्यसैले यति उच्च पद पाएका हुन्। कर्म त मनुष्यको चल्दै आउँछ। तर त्यहाँ दु:ख पाउनु पर्दैन। यहाँ कर्म विकर्म बन्छ किनकि यहाँ माया छ। त्यहाँ माया हुँदैन। तिमी विकर्माजित बन्छौ। जुन बच्चाहरूलाई अहिले कर्म, अकर्म र विकर्मको गति सम्झाउँछु उनीहरू नै विकर्माजित बन्छन्। कल्पपहिले पनि तिमी बच्चाहरूलाई राजयोग सिकाएको थिएँ, त्यही अहिले पनि सिकाइरहेको छु। कांग्रेसले फिरङ्गीहरू (अंग्रेजहरू)लाई निकालेर राजाहरूबाट रजाइँ छिने अनि राजा नाम नै गुम गरिदिए। ५ हजार वर्ष पहिले यहाँ राजस्थान थियो, लक्ष्मी-नारायणको राज्य थियो, देवताहरूको राज्य थियो, तब परिस्तान थियो। अवश्य उनीहरूलाई भगवानले राजयोग सिकाएको हुनु पर्छ त्यसैले त उनीहरूको नाम भगवती, भगवान हुनगयो। तर अहिले हामीसँग ज्ञान छ त्यसैले हामीले आफूलाई भगवती भगवान भन्दैनौं। नत्र यथा राजा-रानी तथा प्रजा पनि भगवती भगवान हुनु पर्ने हो। तर यस्तो हुन सक्दैन। कुनै पनि प्रजाले आफ्नो नाम लक्ष्मी-नारायण राख्न सक्दैन, नियम छैन। बेलायतमा पनि राजाको नाम प्रजाले राख्न सक्दैनन्। उनीहरूको धेरै इज्जत गर्छन्। त्यसैले बच्चाहरूले सम्झन्छन् ५ हजार वर्ष पहिले बाबा आएनु भएको थियो। अहिले पनि आउनु भएको छ दैवी राजस्थान स्थापना गर्न। शिवबाबाको आगमन पनि अहिले भएको छ। उहाँ पाण्डवहरूको पति हुनुहुन्छ, नकि कृष्ण। बाबा पण्डा बनेर आउनु भएको छ फर्काएर लिएर जानको लागि र नयाँ सत्ययुगी दुनियाँ रच्नको लागि। त्यसैले अवश्य ब्रह्माद्वारा नै ब्राह्मण रच्नुहुन्छ। कृष्णले त हुन सक्दैन। मुख्य गीतालाई नै खण्डन गरिदिएका छन्। अब बाबाले सम्झाउनु हुन्छ म कृष्ण होइन। मलाई रुद्र वा सोमनाथ भन्न सक्छन्। तिमीलाई ज्ञान सोमरस पियाइरहेको छु। बाँकी लडाइँ आदिको कुनै कुरा होइन। तिमीलाई योगबलद्वारा रजाइँको मक्खन मिल्छ। कृष्णलाई मक्खन अवश्य मिल्छ। यो हो कृष्णको अन्तिम जन्मको आत्मा। यिनलाई (ब्रह्मा-सरस्वतीलाई) पनि बाबाले यस्तो कर्म सिकाइरहनु भएको छ जुन भविष्यमा लक्ष्मी-नारायण बन्छन्। यी लक्ष्मी-नारायण नै सानामा राधा-कृष्ण हुन्छन् त्यसैले लक्ष्मी-नारायणसँग राधा-कृष्णको पनि चित्र बनाइदिएका छन्। यिनको कुनै बढाइँ छैन। चरित्र एक गीताको भगवान को हो। शिवबाबाले बच्चाहरूलाई भिन्न-भिन्न साक्षात्कार गराउनुहुन्छ। बाँकी मनुष्यको कुनै चरित्र छैन। क्राइस्ट आदिले पनि आएर धर्म स्थापना गरे, त्यो त सबैलाई आफ्नो पार्ट खेल्नु नै छ, यसमा चरित्रको त कुनै कुरा नै छैन। उनीहरूले कसैलाई गति दिन सक्दैनन्। अहिले बेहदका बाबा भन्नुहुन्छ म तिमी बच्चाहरूको डबल सेवा गर्न आएको छु, जसबाट तिम्रो आत्मा र शरीर दुवै पवित्र हुन्छ। सबैलाई फर्काएर घर मुक्तिधाममा लिएर जान्छु। फेरि त्यहाँबाट आ-आफ्नो पार्ट खेल्न आउँछौ। कति राम्रोसँग बच्चाहरूलाई सम्झाउनुहुन्छ। यी लक्ष्मी-नारायणका चित्रमा सम्झाउन धेरै सहज छ। त्रिमूर्ति र शिवबाबाको चित्र पनि छ। कसैले भन्छन् त्रिमूर्ति नहोस्, जस्तै कसैले भन्छन् कृष्णको चित्रमा ८४ जन्मको कहानी नहोस्। कृष्ण पनि ८४ जन्म लिएर पतित बन्छन् भन्ने सुनेपछि मनुष्यहरूको संकल्प चल्छ। हामीले सिद्ध गरेर बताउँछौं, अवश्य पहिलो नम्बरवाला श्रीकृष्णलाई सबैभन्दा धेरै जन्म लिनु पर्छ। नयाँ-नयाँ प्वाइन्ट त नित्य आउँछन्, तर धारणा पनि हुनु पर्छ। सबैभन्दा सहज लक्ष्मी नारायणको चित्रमा सम्झाउनु हो। मनुष्यले कहाँ कुनै चित्रको अर्थ बुझ्छन् र? उल्टो-सुल्टो चित्र बनाइदिन्छन्। नारायणका दुईवटा हात र लक्ष्मीका चारवटा हात देखाउँछन्। सत्ययुगमा यति हात हुँदैनन्। सूक्ष्मवतनमा त हुन्छन् नै ब्रह्मा, विष्णु, शङ्कर। उनीहरूका पनि यति हात हुन सक्दैनन्। मूलवतनमा हुन्छन् नै निराकारी आत्माहरू। फेरि यी ८-१० हात भएका कहाँका निवासीहरू हुन्। मनुष्य सृष्टिमा रहनेहरू पहिला सुरुमा लक्ष्मी-नारायण, दुई हात भएका हुन्छन्। तर उनका चार हात देखाएका छन्। नारायणलाई कालो त लक्ष्मीलाई गोरी देखाउँछन्। त्यसैले उनीहरूका जति पनि बच्चाहरू छन्, ती कस्ता र कति हात भएका होलान्? के बच्चाका चार हात, बच्चीका दुई हात होलान्। यस्ता-यस्ता प्रश्न सोध्न सक्छौ। बच्चाहरूलाई सम्झाइएको छ सदैव यस्तो सम्झ हामीलाई शिवबाबाले मुरली सुनाउनुहुन्छ। कुनै बेला यी ब्रह्माले पनि सुनाउँछन्। शिवबाबा भन्नुहुन्छ म गाइड बनेर आएको छु। यी ब्रह्मा मेरो ठूला बच्चा हुन्। भन्छन् त्रिमूर्ति ब्रह्मा। त्रिमूर्ति शङ्कर वा विष्णु भनिदैन। महादेव शङ्करलाई भनिन्छ। फेरि त्रिमूर्ति ब्रह्मा किन भनिन्छ? यिनले प्रजा रचेका छन् त्यसैले यी उहाँका (शिवबाबाका) युगल हुन्। शङ्कर वा विष्णुलाई युगल भनिदैन। यो बुझ्नु पर्ने निकै आश्चर्यजनक कुरा हो। यहाँ केवल बाबा र वर्सालाई याद गर्नु छ। बस यसैमा मेहनत छ। अहिले तिमी कति समझदार बनेका छौ। बेहदका बाबाद्वारा तिमी बेहदको मालिक बनेका छौ। यो धरती, यो आकाश सबै तिम्रो हुन्छ। ब्रह्माण्ड पनि तिम्रो हुन्छ। सर्वशक्तिमान् अधिकार सम्पन्न राज्य हुन्छ। एउटा सरकार हुन्छ। सूर्यवंशी सरकार हुँदा चन्द्रवंशी थिएन। फेरि चन्द्रवंशी हुँदा सूर्यवंशी थिएन। त्यो बितिसक्यो। ड्रामा पल्टियो। यो धेरै अनौठो कुरा हो। बच्चाहरूलाई कति खुशीको पारा चढ्नु पर्छ। बेहदका बाबाबाट हामीले बेहदको वर्सा अवश्य लिन्छौं। ती पतिलाई कति याद गर्छन्। उहाँ बेहदको बादशाही दिनेवाला हुनुहुन्छ। यस्ता पतिहरूको पतिलाई कति याद गर्नु पर्छ। कति महान् प्राप्ति हुन्छ। त्यहाँ तिमीले कसैसँग कहिल्यै भिख माग्दैनौ। त्यहाँ गरिब हुँदैनन्। बेहदको बाबाले विश्वको झोली भरेर दिनुहुन्छ। लक्ष्मी नारायणको राज्यलाई गोल्डन एज भनिन्छ। अहिले आइरन एज हो, फरक हेर कति छ। बाबा भन्नुहुन्छ बच्चाहरूलाई राजयोग सिकाइरहेको छु। तिमी नै देवी देवता थियौ फेरि क्षत्रिय, वैश्य, शूद्र बनेका छौ। अहिले फेरि ब्राह्मण बनेका छौ, फेरि देवता बन्छौ। यो ८४ को चक्रलाई तिमीले याद गर। चित्रमा सम्झाउन धेरै सहज छ। जब देवी-देवताहरूको राज्य थियो तब कुनै अरू राज्य थिएन। एउटै राज्य थियो, धेरै कम आत्माहरू थिए। त्यसलाई स्वर्ग भनिन्छ, त्यहाँ पवित्रता पनि थियो, सुख-शान्ति पनि थियो। पुनर्जन्म लिँदा-लिँदा तल आएका छन्। ८४ जन्म पनि यिनीहरूले नै लिएका छन्, यिनै नै तमोप्रधान बन्छन्। फेरि यिनीहरूलाई नै सतोप्रधान हुनु छ। सतोप्रधान कसरी बन्छन्, अवश्य सिकाउनेवाला चाहिन्छ। बाबा सिवाय अरू कसैले सिकाउन सक्दैन। तिमीलाई थाहा छ शिवबाबा यिनका धेरै जन्मको अन्त्यमा यिनमा प्रवेश गर्नुहुन्छ। कति स्पष्ट गरेर सम्झाउनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एक बाबासँग मात्रै सबै रूहानी सम्बन्ध राख्नु छ। सेवाधारी बच्चाहरूको कदर गर्नु छ। आफूसमान बनाउने सेवा गर्नु छ।

२) बेहदका बाबाद्वारा हामीलाई बेहद विश्वको राज्य भाग्य मिलिरहेको छ। धरती आकाश सबैमाथि हाम्रो अधिकार हुन्छ यस नशा र खुशीमा रहनु छ। बाबा र वर्सालाई याद गर्नु छ।

वरदान:
बालक र मालिकपनको सन्तुलनबाट पुरुषार्थ र सेवामा सधैं सफलतामूर्त भव

सदा यही नशा राख बेहद बाबा र बेहद वर्साको बालक सो मालिक हुँ। तर कुनै राय दिनु छ, प्लान सोच्नु छ, कार्य गर्नु छ भने मालिक भएर गर अनि जब बहुमतद्वारा वा निमित्त आत्माद्वारा कुनै पनि कुरा फाइनल हुन्छ भने त्यतिबेला बालक बन। कुन समय राय बहादुर बन्नु पर्छ, कुन समय राय मान्ने बन्नु पर्छ यो तरीका सिक्यौ भने पुरुषार्थ र सेवा दुवैमा सफल रहने छौ।

स्लोगन:
निमित्त र निर्माणचित्त बन्नको लागि मन र बुद्धिलाई प्रभुमा अर्पण गरिदेऊ।