06.04.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अब फर्केर घरमा जानु छ , त्यसैले देह-भानलाई भुलेर आफूलाई अशरीरी आत्मा सम्झ , सबैबाट ममत्व मेटाइदेऊ।

प्रश्न:
संगमयुगमा तिमी बच्चाहरूले बाबाबाट कुनचाहिँ अक्कल सिक्छौ?

उत्तर:
तमोप्रधानबाट सतोप्रधान कसरी बन्ने, आफ्नो तकदिरलाई उच्च कसरी बनाउने यो अक्कल अहिले नै तिमी बच्चाहरूले सिक्छौ। जो जति योगयुक्त र ज्ञानयुक्त बनेको छ उसको त्यति उन्नति हुँदै जान्छ। उन्नति गर्ने बच्चाहरू कहिल्यै पनि छिप्न सक्दैनन्। बाबाले हरेक बच्चाहरूको कर्मबाट जान्नुहुन्छ, कुन बच्चाले आफ्नो तकदिर उच्च बनाइरहेको छ?

गीत:
मरना तेरी गली में......

ओम् शान्ति ।
सबै बच्चाहरूले यो गीत सुन्यौ। बच्चाहरू भन्नाले सबै सेन्टरहरूका बच्चाहरूले जानेका छन् बाबाले हामी ब्राह्मणहरूको लागि भन्नुहुन्छ, बच्चाहरूले यो गीत सुन्यौ? जीवन छँदै गलाको हार बन्नको लागि अर्थात् मूलवतनमा गएर बाबाको घरमा रहनको लागि। त्यो शिवबाबाको घर हो नि, जसमा सबै शालिग्रामहरू रहन्छन्। प्यारा बच्चाहरू! ब्राह्मण कुलभूषण, स्वदर्शन चक्रधारीहरूले जानेका छन्, अवश्य उहाँ बाबा नै आउनु भएको हो। भन्नुहुन्छ अब तिमी अशरीरी बन्नु छ अर्थात् देहको भानलाई भुल्नु छ। यो पुरानो दुनियाँ त मेटिन्छ। यस शरीरलाई पनि छोड्नु छ अर्थात् सबैलाई छोड्नु छ किनकि यो दुनियाँ नै खतम हुनु छ। त्यसैले अब जानु छ फर्केर घर। सबै बच्चाहरूलाई अब खुसी हुन्छ किनकि आधाकल्प घर जानको लागि धेरै धक्का खाएका छौ। तर मार्ग मिलेन। अझै भक्तिमार्गको आडम्बर देखेर मनुष्य फँस्छन्। यो हो भक्तिमार्गको दलदल, जसमा मनुष्य मात्र गलासम्म फँसिसकेका छन्। बच्चाहरूले भन्छन् बाबा हामीले पुरानो दुनियाँ, पुरानो शरीरलाई भुल्छौं। अब हजुरको साथमा अशरीरी बनेर घरमा जान्छौं। सबैको बुद्धिमा छ परमपिता परमात्मा परमधामबाट आउनु भएको छ, हामीलाई लिएर जानको लागि। केवल भन्नुहुन्छ तिमी पवित्र बनेर मलाई याद गर। जीवन छँदै पनि मर्नु छ। तिमीले जानेका छौ त्यहाँ घरमा आत्माहरू रहन्छन्। ती आत्मा पनि त बिन्दु हुन्। निराकारी दुनियाँमा सबै आत्माहरू जान्छन्, जति मनुष्य छन् त्यति आत्माहरू त्यहाँ हुन्छन्। आत्माहरूले त्यस महत्तत्त्वको कति थोरै ठाउँ लिन्छन्। शरीर त यति ठूलो छ, कति धेरै ठाउँ लिन्छ। बाँकी आत्मालाई कति ठाउँ चाहिन्छ? हामी आत्माहरूले कति थोरै स्थान लिन्छौं? धेरै सानो। बच्चाहरूलाई यी सबै कुरा बाबाद्वारा सुन्ने सौभाग्य अहिले नै मिल्छ। बाबाले नै बताउनु हुन्छ तिमी विना शरीर आएका थियौ फेरि शरीर धारण गरेर पार्ट खेल्यौ, अब फेरि जीवन छँदै पनि मर्नु छ, सबैलाई बिर्सिनु छ। बाबाले आएर मर्न सिकाउनु हुन्छ। भन्नुहुन्छ आफ्नो बाबालाई, आफ्नो घरलाई याद गर। खुब पुरुषार्थ गर। योगमा रहनाले पाप नाश हुन्छ। फेरि आत्मा तमोप्रधानबाट सतोप्रधान बन्छ त्यसैले बाबाले राय दिनुहुन्छ कल्प पहिला पनि भनेको थिएँ, देहका सबै सम्बन्ध छोडेर म एकलाई याद गर। सबैका एक बाबा त उहाँ हुनुहुन्छ नि। तिमी प्रजापिता ब्रह्माका मुख वंशावली बच्चाहरू हौ, जसले ज्ञान पाइरहन्छौ। शिवका बच्चाहरू त हौ नै। यो त सबैलाई निश्चय छ हामी भगवानका बच्चाहरू हौं। तर उहाँको नाम, रूप, देश काललाई बिर्सिएका हुनाले, भगवानसँग कसैको पनि त्यति प्यार हुँदैन। कसैलाई दोष दिनुहुन्न। यो पनि ड्रामामा निश्चित छ।

बाबाले सम्झाउनु हुन्छ तिमी आत्मा कति सानो बिन्दु हौ, त्यसमा ८४ जन्मको पार्ट भरिएको छ। कति आश्चर्य छ। आत्माले कसरी शरीर लिएर पार्ट खेल्छ। अहिले तिमीलाई बेहदको पार्टको जानकारी भएको छ। यो ज्ञान अरू कसैलाई पनि छैन। तिमी पनि देह-अभिमानी थियौ। अहिले कति पल्टा खाएको छ। त्यो पनि हरेकको तकदिरमा भर पर्छ। कल्प पहिलाको तकदिर अहिले साक्षात्कार भइरहेको छ। दुनियाँमा कति धेरै मनुष्यहरू छन्। हरेकको आफ्नो तकदिर छ। जस्तो-जस्तो जसले कर्म गरेको छ त्यस अनुसार दु:खी, सुखी, धनवान, गरिब बन्छन्। आत्मा नै बन्छ। आत्मा कसरी सुखमा आउँछ, फेरि दु:खमा आउँछ यो बाबाले बसेर सम्झाउनु हुन्छ। तमोप्रधानबाट सतोप्रधान बन्ने अक्कल बाबाले नै सिकाउनु हुन्छ कल्प पहिला जस्तै। जति जसले अक्कल पाएका थिए, त्यति अहिले पाइरहेका छन्। अन्त्य सम्ममा तिमीहरूले हरेकको तकदिरलाई बुझ्नेछौ। फेरि भन्छन् कल्प-कल्प हरेकको तकदिर यस्तै हुन्छ। जो राम्रो योगयुक्त, ज्ञानयुक्त छ, उसले सेवा पनि गरिरहन्छ। पढाइमा सधैं उन्नति भइरहन्छ। कोही बच्चाहरूले छिट्टै उन्नति गर्छन्, कसैले धेरै मेहनत गर्छन्। यहाँ पनि यस्तै हो। कल्प पहिला जस्तै जस-जसले उन्नति गर्छन्, उनीहरू छिप्न सक्दैनन्। बाबाले त जान्नुहुन्छ नि सबैको सम्बन्ध शिवबाबासँग छ। यी ब्रह्माले पनि बच्चाहरूको कर्म देखेर सम्झन्छन् भने उहाँले पनि देख्नुहुन्छ। यिनीसँग कसैले छिपाउलान् तर शिवबाबासँग त छिपाउन सक्दैनन्। भक्तिमार्गमा पनि परमात्मासँग छिपाउन सक्दैनन् भने ज्ञानमार्गमा कसरी छिपाउन सक्छन्? बाबाले सम्झाइरहनु हुन्छ, पढाइ त धेरै सहज छ। कर्म पनि गर्नु छ। रहने पनि मित्र सम्बन्धीहरूसँग पुरानो दुनियाँमा नै हो। त्यहाँ रहेर मेहनत गर्नु छ। यहाँ रहेर पुरुषार्थ गर्नेहरू भन्दा त्यहाँ घरमा रहेर पुरुषार्थ गर्नेहरू अगाडि जान सक्छन्। यदि यस्तो लगन छ भने। शास्त्रमा अर्जुन र भिल्लको उदाहरण छ। हुन त भिल्ल बाहिर रहन्थ्यो तर अभ्यासबाट ऊ अर्जुन भन्दा पनि तीर चलाउनमा होसियार भयो। त्यसैले गृहस्थ व्यवहारमा रहेर कमल फूल समान रहनु छ। तिमीले यो उदाहरण पनि देख्छौ। गृहस्थ व्यवहारमा रहेर धेरै राम्रो सेवा गर्न सक्छन्। उनीहरूले धेरै उन्नति गरिरहन्छन्। यहाँ रहनेहरूलाई पनि मायाले छोड्दैन। यस्तो होइन बाबाको पासमा आउनाले छुट्छ। होइन, हरेकको आ-आफ्नो पुरुषार्थ हुन्छ। गृहस्थ व्यवहारमा रहनेहरूले यहाँ रहनेहरूले भन्दा राम्रो पुरुषार्थ गर्न सक्छन्। धेरै राम्रो बहादुरी देखाउन सक्छन्। महावीर उनलाई नै भनिन्छ, जो गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बनेर देखाउँछन्। भन्छन् बाबा हजुरले सबै त्याग्नु भयो। मैले कहाँ त्यागेको हुँ र, मलाई तिनीहरूले नै छोडेर गएका हुन्। बाबाले त कसैलाई पनि छोड्नु भएको होइन। घरमा अरू बच्चाहरू पनि आए। बाँकी कन्याहरूलाई त बाबा भन्नुहुन्छ तिमीले यो ईश्वरीय सेवा गर। यिनी पनि बाबा हुन्, उहाँ पनि बाबा हुनुहुन्छ। कुमार पनि धेरै आए तर चल्न सकेनन्। कन्याहरू फेरि पनि राम्रा छन्। कन्याहरू १०० ब्राह्मण भन्दा उत्तम मानिन्छन्। ती कन्या उनै हुन्, जसले २१ कुलको उद्धार गर्छन्, ज्ञानको बाण मार्छन्। बाँकी जो गृहस्थमा रहन्छन्, उनीहरू पनि बी.के. भए। पछि गएर उनीहरूको बन्धन खतम हुन्छ। सेवा त गर्नु छ नि। कति सेवा गर्ने बच्चाहरू बापदादाको दिलमा चढेका छन्, जसले हजारौंको कल्याण गरिरहेका छन्। त्यसैले यस्ता सेवाधारी बच्चाहरू प्रति आशीर्वाद पनि आइरहन्छ। उनीहरू दिलमा चढिरहन्छन्। जो दिलमा छन् उनै गद्दीमा बस्छन्। बाबा भन्नुहुन्छ आपसमा मिलेर युक्ति रच्दै गर, सबैलाई मार्ग देखाउने। चित्र पनि बनिरहन्छन्। यो सबै प्राक्टिकल कुरा हो।

अहिले तिमीले सम्झाउँछौ परमपिता परमात्मा निराकार हुनुहुन्छ, उहाँ पनि बिन्दु हुनुहुन्छ। तर उहाँ ज्ञानका सागर, पतित-पावन हुनुहुन्छ। आत्मा पनि बिन्दु हो। बच्चा फेरि पनि सानो हुन्छ। बाबा र बच्चामा फरक त हुन्छ नै। आजकल त १५-१६ वर्ष उमेर भएका पनि पिता बन्छन्। फेरि पनि बच्चा पिता भन्दा सानो नै भयो नि। यहाँ आश्चर्य हेर बाबा पनि आत्मा, बच्चा पनि आत्मा। उहाँ हुनुहुन्छ परम आत्मा, ज्ञानको सागर। बाँकी सबैले आफ्नो पढाइ अनुसार उच्च वा निम्न पद पाउँछन्। सारा आधार पढाइमा छ। राम्रो कर्म गरेमा उच्च पद पाउँछन्। अहिले तिमी बच्चाहरूलाई सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान छ। स्वर्गमा केवल भारतवर्ष नै थियो, अरू कुनै खण्ड थिएन। त्यसैले आफ्नो स्वर्ग सानो न्यु भारतखण्डमा देखाऊ। जसरी द्वारिका नाम होइन, लक्ष्मी-नारायणको वंशजको राज्य लेख्नुपर्छ। बुद्धिले पनि भन्छ सत्ययुगमा पहिला दैवी वंशको राज्य हुन्छ। उनको गाउँ हुन्छ, साना-साना इलाका हुन्छन्। यो पनि विचार सागर मन्थन गर्नु छ। साथ-साथै शिवबाबासँग बुद्धिको योग पनि लगाउनु छ। हामीले यादबाट नै बादशाही लिन्छौं। यादद्वारा नै मैला निस्किन्छ, यसमा नै सारा मेहनत छ। कैंयौको बुद्धिले बाहिर धक्का खाइरहन्छ, यहाँ बसेर पनि सारा समय यादमा रहन सक्दैनन्, बुद्धि अरूतर्फ जान्छ। भक्तिमार्गमा पनि यस्तै हुन्छ। श्रीकृष्णको भक्ति गर्दा-गर्दा बुद्धि अरूतर्फ जान्छ। नवधा भक्ति गर्नेहरूले साक्षात्कारको लागि धेरै मेहनत गर्छन्। कति घण्टासम्म बस्छन्, कृष्ण बाहेक अरू कसैको याद नआओस्, ठूलो मेहनत हो। यसमा ८ को र फेरि १६१०८ को माला हुन्छ। उनीहरूले त लाखौंको माला पनि देखाउँछन्। तर ज्ञानमार्गको माला धेरै मूल्यवान छ। भक्तिमार्गको माला सस्तो छ किनकि यसमा त रूहानी मेहनत छ। कृष्णलाई देखेर खुसी भएर नृत्य गर्छन्। भक्ति र ज्ञानमा रात-दिनको फरक छ, त्यसमा यो कुरा सम्झाइँदैन कृष्णलाई याद गर्नाले मैला निस्किन्छ। यहाँ त सम्झाइन्छ जति बाबालाई याद गर्यो त्यति पाप नाश हुन्छ। तिमी बच्चाहरू अहिले योगबलबाट विश्वको मालिक बन्छौ। यो कसैको सपनामा पनि ख्याल हुँदैन। लक्ष्मी-नारायणले कुनै लडाईं आदि गरेनन्। तर उनीहरू विश्वको मालिक कसरी बने? यो त तिमी बच्चाहरूले नै जानेका छौ। बाबा भन्नुहुन्छ योगबलबाट तिमीलाई राजाई मिल्छ। तर तकदिरमा छैन भने पुरुषार्थ नै गर्दैनन्। सेवाधारी बन्दैनन्। बाबाले त डाइरेक्शन दिइरहनु हुन्छ यसरी-यसरी प्रदर्शनी गर। कम्तीमा १५०-२०० प्रदर्शनीहरू एक दिनमा हुन्। गाउँ-गाउँमा चक्कर लगाऊ। जति सेन्टरहरू, त्यति प्रदर्शनीहरू। एक-एक सेन्टरमा प्रदर्शनी भयो भने सम्झाउनमा सहज हुन्छ। सेन्टरहरू पनि दिन-प्रतिदिन ठूला हुँदै जान्छन्, जहाँ चित्र आदि पनि राख्न सकियोस्। चित्रहरूमा पनि आविष्कार भइरहन्छ। वैकुण्ठको चित्र धेरै सुन्दर महल आदि भएको बनाउनु पर्छ। पछि गएर सम्झाउनको लागि राम्रा-राम्रा चित्र निस्किदै जान्छन्। वानप्रस्थ अवस्था भएकाहरूले घुम्दै-फिर्दै पनि सेवा गरिरहून्, जसको भाग्य उदय हुनु छ उनीहरू निस्किदै जान्छन्। कति बच्चाहरूले त कुकर्म गरेर आफ्नो इज्जत गुमाइरहन्छन्, अनि यज्ञको पनि इज्जत गुमाउँछन्। जस्तो चालचलन त्यस्तै पद। जसले धेरैलाई सुख दिन्छन्, उनको त नाम गायनयोग्य हुन्छ। अहिले सर्व गुणमा सम्पन्न त बनेका छैनौ नि। कोही-कोहीले धेरै राम्रो सेवा गरिरहेका छन्। यस्ता-यस्ताको नाम सुनेर बाबा धेरै खुसी हुनुहुन्छ। सेवाधारी बच्चाहरूलाई देखेर बाबा खुसी हुनुहुन्छ नि। राम्रो सेवामा मेहनत गरिरहन्छन्। सेन्टरहरू पनि खोलिरहन्छन्, जसबाट हजारौंको कल्याण हुनु छ। उनीहरूद्वारा फेरि धेरै निस्किदै जान्छन्। सम्पूर्ण त कोही पनि बनेका छैनन्। भूल पनि केही न केही भइरहन्छ। मायाले छोड्दैन। जति सेवा गरेर आफ्नो उन्नति गर्छन् त्यति नै दिलमा चढ्छन्। त्यति नै उच्च पद पाउँछन्। फेरि कल्प-कल्प त्यस्तै पद हुन्छ। शिवबाबासँग त कसैले छिपाउन सक्दैन। अन्त्यमा हरेकलाई आफ्नो कर्मको साक्षात्कार त हुन्छ। अनि के गर्न सक्छन्! जोड-जोडले रुनु पर्नेछ। त्यसैले बाबाले सम्झाइरहनु हुन्छ, यस्तो कुनै पनि कर्म नगर जो अन्त्यमा सजायँको भागी बन्नु परोस्, पश्चात्ताप गर्नु परोस्। तर जतिसुकै सम्झाए पनि तकदिरमा छैन भने पुरुषार्थ गर्दैनन्। आजकलका मनुष्यले त बाबालाई जानेका छैनन्। भगवानलाई याद गर्छन् तर जानेका छैनन्। उहाँले भनेको मान्दैनन्। अहिले उहाँ बेहदको बाबाबाट तिमीलाई सत्ययुगी स्वराज्यको वर्सा मिल्छ, सेकेण्डमा। शिवबाबाको नाम त सबैले मन पराउँछन् नि। बच्चाहरूले जानेका छन् उहाँ बेहदको बाबाबाट स्वर्गको वर्सा मिलिरहेको छ। अच्छा!

मीठे-मीठे सिकीलधे रूहानी बच्चाहरूप्रति रूहानी बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्नो चालचलनबाट बाबाको वा यज्ञको नाम प्रख्यात गर्नु छ, यस्तो कुनै कर्म नहोस् जसबाट बाबाको इज्जत जाओस्। सेवाबाट आफ्नो भाग्य आफैं बनाउनु छ।

२) बाबा समान कल्याणकारी बनेर सबैको आशीर्वाद लिएर उच्च नम्बर लिनु छ। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान रहने बहादुरी देखाउनु छ।

वरदान:
सहयोगद्वारा स्वयंलाई सहजयोगी बनाउने निरन्तर योगी भव

संगमयुगमा बाबाको सहयोगी बन्नु यही सहजयोगी बन्ने विधि हो। जसको हर संकल्प, शब्द र कर्म बाबाको वा आफ्नो राज्य स्थापनाको कर्तव्यमा सहयोगी बन्नको लागि छ, उसलाई ज्ञानी, योगी आत्मा, निरन्तर सच्चा सेवाधारी भनिन्छ। मनबाट नभए तनबाट, तनबाट नभए धनबाट, धनबाट पनि नभए जुन कुरामा सहयोगी बन्न सक्छौ, त्यसमा सहयोगी बन्यौ भने यो पनि योग हो। जब हौ नै बाबाको भने बाबा र स्वयं, तेस्रो कोही पनि नहोस् यसबाट निरन्तर योगी बन्छौ।

स्लोगन:
संगममा सहन गर्नु अर्थात् मर्नु नै स्वर्गको राज्य लिनु हो।