07.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे पुरुषार्थ गरेर राम्ररी दैवी गुण धारण गर्नु पर्छ , कसैलाई पनि दु:ख दिनु हुँदैन , तिम्रो कुनै पनि आसुरी क्रियाकलाप हुनु हुँदैन।

प्रश्न:
कुनचाहिँ आसुरी गुणले तिम्रो शृङ्गारलाई बिगारिदिन्छ?

उत्तर:
आपसमा लड्नु-झगडा गर्नु, रिसाउनु, सेवाकेन्द्रमा धुमचक्र मच्चाउनु, दु:ख दिनु यी सबै आसुरी गुण हुन्, जसले तिम्रो शृङ्गारलाई बिगारिदिन्छन्। जुन बच्चाहरूले बाबाको बनेर पनि यी आसुरी गुणहरूलाई त्याग गर्दैनन्, उल्टो कर्म गर्छन्, उनीहरूलाई धेरै घाटा पर्छ। हिसाब माथि हिसाब बन्छ। बाबाको साथमा धर्मराज पनि छन्।

गीत:
भोलेनाथ से निराला....

ओम् शान्ति ।
रूहानी बच्चाहरूले यो त जानिसकेका छौ सबै भन्दा उच्च भगवान हुनुहुन्छ। मनुष्यहरूले गायन गर्छन् र तिमीले देख्छौ दिव्य दृष्टिद्वारा। तिमीले बुद्धिद्वारा पनि जानेका छौ हामीलाई उहाँले पढाइरहनु भएको छ। आत्माले नै पढ्छ शरीरद्वारा। सबै कुरा आत्माले नै गर्छ शरीरद्वारा। शरीर विनाशी छ, जसलाई आत्माले धारण गरेर पार्ट खेल्छ। आत्मामा नै सारा पार्ट निश्चित गरिएको छ। ८४ जन्म पनि आत्मामा नै भरिएको छ। सबै भन्दा पहिला आफूलाई आत्मा सम्झनु पर्छ। बाबा हुनुहुन्छ सर्वशक्तिमान। उहाँबाट तिमी बच्चाहरूलाई शक्ति मिल्छ। योगद्वारा धेरै शक्ति मिल्छ, जसबाट तिमी पावन बन्छौ। बाबाले तिमीलाई शक्ति दिनुहुन्छ विश्वमाथि राज्य गर्नको लागि। यति महान् शक्ति दिनुहुन्छ, ती विज्ञानको घमण्ड गर्नेहरूले यति सबै कुरा बनाउँछन् विनाशको लागि। उनीहरूको बुद्धि हो विनाशको लागि, तिम्रो बुद्धि हो अविनाशी पद पाउनको लागि। तिमीलाई धेरै शक्ति मिल्छ जसद्वारा तिमीले विश्वको राज्य प्राप्त गर्छौ। त्यहाँ प्रजाको प्रजामाथि राज्य हुँदैन। त्यहाँ हुन्छ नै राजा-रानीको राज्य। सबै भन्दा उच्च हुनुहुन्छ भगवान। याद पनि उहाँलाई गर्छन्। लक्ष्मी-नारायणलाई केवल मन्दिर बनाएर पूजा गर्छन्। फेरि पनि सबै भन्दा उच्च भगवान भनेर गायन गरिन्छ। अहिले तिमीलाई थाहा छ यी लक्ष्मी-नारायण विश्वका मालिक थिए। विश्वको उच्च भन्दा उच्च बादशाही मिल्छ बेहदका बाबाद्वारा। तिमीलाई कति उच्च पद मिल्छ। त्यसैले बच्चाहरूलाई कति खुसी हुनु पर्छ। जसद्वारा केही मिल्छ उसलाई त याद गरिन्छ नि। कन्याको पतिसँग कति प्यार हुन्छ, पतिको लागि कतिले प्राण दिन्छन्। पतिको मृत्यु भयो भने रुवाबासी गर्छन्। यहाँ शिवबाबा त पतिहरूका पति हुनुहुन्छ, तिमीलाई कति शृङ्गार गरिरहनु भएको छ यो उच्च भन्दा उच्च पद प्राप्त गराउनको लागि। त्यसैले तिमी बच्चाहरूलाई कति नशा हुनु पर्छ। दैवी गुण पनि तिमीले यहाँ धारण गर्नु छ। धेरैजसोमा अहिलेसम्म आसुरी अवगुण छन्, लड्नु-झगडा गर्नु, रिसाउनु, सेवाकेन्द्रमा धुमचक्र मच्चाउनु.... बाबाले जान्नुहुन्छ धेरै रिपोर्टहरू आउँछन्। काम महाशत्रु हो भने क्रोध पनि कुनै कम शत्रु होइन। फलानालाई प्यार, मलाई किन छैन! फलानो कुरा ऊसँग सोधियो, मसँग किन सोधिएन! यस्तो बोल्नेवाला संशय बुद्धि धेरै छन्। राजधानी स्थापन हुनु छ नि। यस्ताले के पद पाउलान्। पदमा त धेरै फरक हुन्छ। हेर मेहतर पनि राम्रा-राम्रा महलमा रहन्छन्, कोही कहाँ रहन्छन्। हरेकले आफैले पुरुषार्थ गरेर राम्ररी दैवी गुण धारण गर्नु छ। देह-अभिमानमा आउनाले आसुरी चालचलन हुन्छ। देही-अभिमानी बनेर राम्ररी धारण गर्दै गयौ भने उच्च पद प्राप्त गर्छौ। पुरुषार्थ यस्तो गर्नु छ, दैवी गुण धारण गर्ने, कसैलाई दु:ख दिनु हुँदैन। तिमी बच्चाहरू दु:ख-हर्ता, सुख-कर्ता बाबाका बच्चा हौ। कसैलाई पनि दु:ख दिनु हुँदैन। जसले सेवाकेन्द्र सम्हाल्छन् उनीहरूमाथि धेरै जिम्मेवारी हुन्छ। जसरी बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! यदि कसैले भूल गर्यो भने सयगुणा दण्ड खानु पर्छ। देह-अभिमान हुनाको कारणले धेरै घाटा हुन्छ किनकि तिमी ब्राह्मण सुधार्नको लागि निमित्त बनेका छौ। यदि स्वयं सुध्रिदैनौ भने अरूलाई के सुधार्न सक्छौ। धेरै नोक्सान हुन पुग्छ। पाण्डव गभरमेण्ट हो नि। सबै भन्दा उच्च हुनुहुन्छ बाबा उहाँका साथमा धर्मराज पनि छन्। धर्मराजद्वारा धेरै ठूलो सजाय खान्छन्। यस्ता केही कर्म गर्यो भने धेरै घाटा पर्छ। हिसाब माथि हिसाब हुन्छ, बाबासँग पूरा हिसाब रहन्छ। भक्तिमार्गमा पनि हिसाब हुन्छ। भन्छन् पनि भगवानले तिम्रो हिसाब लिनुहुन्छ। यहाँ बाबाले स्वयं भन्नुहुन्छ धर्मराजले धेरै हिसाब लिन्छन्। अनि त्यतिबेला के गर्न सक्छौ! साक्षात्कार हुन्छ मैले यो-यो गरेँ। त्यहाँ त थोरै मार पर्छ, यहाँ त धेरै मार खानु पर्छ। तिमी बच्चाहरूलाई सत्ययुगमा गर्भजेलमा आउनु पर्दैन। त्यहाँ त गर्भ महल हुन्छ। कुनै पाप आदि गर्दैनन्। त्यसैले यस्तो राज्यभाग्य पाउनको लागि बच्चाहरू धेरै होसियार हुनु पर्छ। कति बच्चाहरू टिचर भन्दा पनि तीक्ष्ण हुन्छन्। तकदिर ब्राह्मणीको भन्दा पनि उच्च हुन्छ। यो कुरा पनि बाबाले सम्झाउनु भएको छ राम्रो सेवा गरेनौ भने जन्म-जन्मान्तर दास-दासी बन्न पुग्छौ।

बाबा सम्मुख आउने बित्तिकै बच्चाहरूसँग सोध्नुहुन्छ प्यारा बच्चाहरू! देही-अभिमानी बनेर बसेका छौ? बच्चाहरूलाई बाबाको महावाक्य छ प्यारा बच्चाहरू! आत्म-अभिमानी बन्ने धेरै पुरुषार्थ गर्नु पर्छ। घुम्दा-फिर्दा पनि विचार सागर मंथन गरिरहनु पर्छ। धेरै बच्चाहरू छन् जसले सम्झन्छन् हामी छिटो-छिटो यस नर्कको फोहोरी दुनियाँबाट जाऔं सुखधाममा। बाबा भन्नुहुन्छ राम्रा-राम्रा धेरै महारथीहरू योगमा फेल हुन्छन्। उनीहरूलाई पनि पुरुषार्थ गराइन्छ। योग भएन भने एकदमै गिर्छन्। ज्ञान त धेरै सहज छ। इतिहास-भूगोल सारा बुद्धिमा आउँछ। धेरै राम्रा-राम्रा बच्चीहरू छन् जो प्रदर्शनीमा सम्झाउनमा धेरै तीक्ष्ण हुन्छन्। तर योग छैन, दैवी गुण पनि छैन। कहिलेकाहीँ ख्याल हुन्छ, अझै कस्तो-कस्तो अवस्था छ बच्चाहरूको। दुनियाँमा कति दु:ख छ। छिटो-छिटो यो समाप्त होस्। प्रतीक्षामा बसेका छन्, छिटै जाउँ सुखधाम। तड्पिइरहेका छन्। बाबासँग मिलन मनाउन तड्पन्छन् किनकि बाबाले हामीलाई स्वर्गको मार्ग बताउनु हुन्छ। यस्ता बाबालाई देख्नको लागि तड्पन्छन्। सम्झन्छन् यस्ता बाबाको सामुन्ने गएर दिनहुँ मुरली सुनौं। अब त सम्झन्छौ यहाँ कुनै झंझटको कुरा छैन। बाहिर रहँदा त सबैसँग कर्तव्य निर्वाह गर्नुपर्छ। नत्र खटपट हुन्छ त्यसैले सबैलाई धैर्य दिइन्छ। यसमा धेरै गुप्त मेहनत छ। यादको मेहनत कसैले गर्न सक्दैन। गुप्त यादमा रहे त बाबाको निर्देशनमा पनि चल्छन्। देह-अभिमानको कारणले बाबाको निर्देशनमा चल्दै चल्दैनन्। भनिन्छ चार्ट बनायौ भने धेरै उन्नति हुन्छ। यो कसले भन्नुहुन्छ? शिवबाबाले। शिक्षकले काम दिएभने गरेर आउँछन् नि। यहाँ राम्रा-राम्रा बच्चाहरूलाई पनि मायाले गर्न दिँदैन। राम्रा-राम्रा बच्चाहरूको चार्ट बाबाकहाँ आयो भने बाबाले बताउनु हुन्छ हेर कसरी यादमा रहन्छौ। सम्झन्छन् हामी आत्माहरू एक प्रियतमका प्रियतमा हौं। ती जिस्मानी प्रियतमा-प्रियतम त अनेक प्रकारका हुन्छन्। तिमी धेरै पुराना प्रियतमा हौ। अब तिमी देही-अभिमानी बन्नु छ। केही न केही सहन गर्नै पर्छ। मीया मिठ्ठू बन्नु हुँदैन। बाबाले यस्तो त भन्नु हुन्न हड्डी देऊ। बाबा त भन्नुहुन्छ स्वास्थ्य राम्रो राख्यौ भने सेवा पनि राम्ररी गर्न सक्छौ। बिमारी भयौ भने त बसिरहनु पर्छ। कसै-कसैले त अस्पतालमा पनि सम्झाउने सेवा गर्छन् अनि डाक्टरहरूले भन्छन् ऊ त फरिश्ता हो। चित्र साथैमा लैजान्छन्। जसले यस्तो सेवा गर्छन् उसलाई रहमदिल भनिन्छ। सेवा गरे भने कोही-कोही निस्कन्छन्। जति-जति याद बलमा रहन्छौ त्यति मनुष्यहरूलाई तिमीले आकर्षित गर्छौ, यसैमा तागत छ। पवित्रता फस्ट हो। भनिन्छ पनि पहिला पवित्रता, शान्ति अनि सम्पन्नता। यादको बलबाट नै तिमी पवित्र हुन्छौ। फेरि हुन्छ ज्ञान बल। यादमा कमजोर नबन। यादमा नै विघ्न पर्छ। यादमा रहनाले तिमी पवित्र पनि बन्छौ र दैवी गुण पनि आउँछन्। बाबाको महिमा त जानेका छौ नि। बाबाले कति सुख दिनुहुन्छ। २१ जन्मको लागि तिमीलाई सुखको लायक बनाउनु हुन्छ। कहिल्यै पनि कसैलाई दु:ख दिनु हुँदैन।

कति बच्चाहरूले सेवामा विघ्न पारेर आफूले आफैलाई मानौं श्रापित गर्छन्, अरूलाई धेरै हैरान पार्छन्। कपूत बच्चा बने भने आफूले आफैलाई श्रापित गरिदिन्छन्। सेवामा विघ्न पार्नाले एकदम भुईंमा गिर्छन्। धेरै बच्चाहरू छन् जो विकारमा गिर्छन् या क्रोधमा आएर पढाइ छोडिदिन्छन्। अनेक प्रकारका बच्चाहरू यहाँ बसेका छन्। यहाँबाट रिफ्रेश भएर जान्छन् अनि भूलको पश्चाताप गर्छन्। फेरि पनि पश्चातापबाट कुनै माफी हुन सक्दैन। बाबा भन्नुहुन्छ क्षमा आफूले आफैमाथि गर। यादमा रहने गर। बाबाले कसैलाई क्षमा गर्नुहुन्न। यो त पढाइ हो। बाबाले पढाउनु हुन्छ, बच्चाहरूले आफैमाथि कृपा गरेर पढ्नु छ। आचरण राम्रो राख्नु पर्छ। बाबाले ब्राह्मणीहरूलाई भन्नुहुन्छ, रजिष्टर लिएर आऊ। एक एकको समाचार सुनेर सम्झाइन्छ। अनि सम्झन्छन् ब्राह्मणीले रिपोर्ट दिएको हुनुपर्छ, अझै सेवामा विघ्न पार्न थाल्छन्। धेरै मेहनत छ। माया ठूलो दुस्मन हो। बाँदरबाट मन्दिर लायक बन्न दिँदैन। उच्च पद पाउनुको सट्टा अझै बिल्कुलै तल गिर्छन्। फेरि कहिल्यै उठ्न सक्दैनन्, मर्छन्। बाबाले बच्चाहरूलाई बारम्बार सम्झाउनु हुन्छ यो धेरै महान् लक्ष्य हो, विश्वको मालिक बन्नु। ठूला मान्छेका बच्चाहरू धेरै शिष्टतापूर्वक चल्छन्, कतै बाबाको इज्जत नजाओस्। भन्छन् तिम्रा पिता कति असल हुनुहुन्छ, तिमी कति कपूत छौ। तिमीले आफ्ना पिताको इज्जत गुमाइरहेका छौ! यहाँ त हरेकले आफ्नो इज्जत गुमाउँछन्। धेरै सजाय खानु पर्छ। बाबाले वार्निङ् दिनुहुन्छ, धेरै होसियार भएर अघि बढ। जेल वर्ड नबन। जेल वर्ड पनि यहाँ हुन्छन्, सत्ययुगमा त कुनै जेल हुँदैन। फेरि पनि पढेर उच्च पद पाउनु छ। लापर्बाही नगर। कसैलाई पनि दु:ख नदेऊ। यादको यात्रामा रहने गर। याद नै काममा आउँछ। प्रदर्शनीमा पनि मुख्य कुरा यही बताऊ। बाबाको यादबाट नै पावन बनिन्छ। पावन बन्न त सबैले चाहन्छन्। यो हो नै पतित दुनियाँ। सबैको सद्गति गर्न त एक बाबा नै आउनु हुन्छ। क्राइष्ट, बुद्ध आदि कसैले पनि सद्गति गर्न सक्दैनन्। फेरि ब्रह्माको पनि नाम लिन्छन्। ब्रह्मालाई पनि सद्गतिदाता भनिदैन। जो देवी-देवता धर्मका निमित्त हुन्। हुन त देवी-देवता धर्मको स्थापना त शिव बाबाले गर्नुहुन्छ फेरि नाम त छ नि ब्रह्मा, विष्णु, शंकर...। त्रिमूर्ति ब्रह्मा भन्छन्। बाबा भन्नुहुन्छ यिनी पनि गुरु होइनन्। गुरु त एउटै हुनुहुन्छ, उहाँद्वारा नै तिमी रूहानी गुरु बन्छौ। अरू तिनीहरू हुन् धर्म स्थापक। धर्म स्थापकलाई सद्गतिदाता कसरी भन्न सकिन्छ, यो बुझ्नु पर्ने धेरै गहिरो कुरा छ। अन्य धर्म स्थापकले त केवल धर्म स्थापना गर्छन्, जसका पछाडि सबै आउँछन्, उनीहरूले कसैलाई फर्काएर लैजान सक्दैनन्। उनीहरू त पुनर्जन्ममा आउनै पर्छ, सबैको लागि यो ज्ञान हो। कुनै पनि गुरु सद्गतिको लागि छैनन्। बाबाले सम्झाउनु हुन्छ गुरु पतित-पावन एउटै हुनुहुन्छ, उहाँ नै सर्वका सद्गतिदाता, मुक्तिदाता हुनुहुन्छ, बताउनु पर्छ हाम्रा गुरु एउटै हुनुहुन्छ, जसले सद्गति दिनुहुन्छ, शान्तिधाम, सुखधाममा लैजानुहुन्छ। सत्ययुगको आरम्भमा धेरै कम हुन्छन्। त्यहाँ कसको राज्य थियो, चित्र त देखाउँछन् नि। हिन्दुहरूले नै मान्छन्, देवताहरूका पुजारीले तुरुन्तै मान्छन् अवश्य पनि यी त स्वर्गका मालिक हुन्। स्वर्गमा यिनको राज्य थियो। अरू सबै आत्माहरू कहाँ थिए? अवश्य भन्छन् निराकारी दुनियाँमा थिए। यो कुरा पनि तिमीले अहिले जानेका छौ। पहिला केही पनि थाहा थिएन। अहिले तिम्रो बुद्धिको चक्र घुमिरहन्छ। अवश्य पनि ५ हजार वर्ष पहिला यहाँ यिनीहरूको राज्य थियो, जब ज्ञानको प्रारब्ध पूरा हुन्छ त्यसपछि फेरि भक्तिमार्ग सुरु हुन्छ अनि हुनु पर्छ पुरानो दुनियाँदेखि वैराग्य। भयो अब हामी नयाँ दुनियाँमा जान्छौं। पुरानो दुनियाँबाट मन हट्छ। त्यहाँ पति, बच्चाहरू सबै यस्तै मिल्छन्। बेहदका बाबाले त हामीलाई विश्वको मालिक बनाउनु हुन्छ।

जो विश्वको मालिक बन्ने बच्चा हुन्छन्, उनीहरूको सोचाई धेरै उच्च र चालचलन धेरै सभ्य हुन्छ। भोजन पनि धेरै कम, धेरै लालच गर्नु हुँदैन। यादमा रहनेहरूको भोजन पनि धेरै सूक्ष्म हुन्छ। धेरैको खानेकुरामा पनि बुद्धि चल्छ। तिमी बच्चाहरूलाई त खुसी छ विश्वको मालिक बन्ने। भनिन्छ खुसी जस्तो खुराक छैन। यस्तो खुसीमा सदैव रह्यौ भने खानपिन पनि धेरै कम हुन्छ। धेरै खानाले भारी हुन्छ अनि निद्रा लाग्छ। फेरि भन्छन् बाबा निद्रा आउँछ। भोजन सदैव एकरस हुनुपर्छ। यस्तो होइन मीठो भोजन भयो भने धेरै खाने। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) हामी दु:ख-हर्ता सुख-कर्ता बाबाका बच्चा हौं, हामीले कसैलाई पनि दु:ख दिनु हुँदैन। सेवामा विघ्न पारेर आफूले आफैलाई श्रापित गर्नु हुँदैन।

२) आफ्नो सोच धेरै उच्च र सभ्य राख्नु पर्छ। दयालु बनेर सेवामा तत्पर रहनु छ। खाने-पिउने लालच छोडिदिनु पर्छ।

वरदान:
ड्रामाको ज्ञानबाट अचल स्थिति बनाउने प्रकृति वा मायाजित भव

प्रकृति वा मायाद्वारा जस्तो सुकै पेपर आए पनि अलिकति पनि हलचल नहोस्। यो के? यो किन? यस्तो प्रश्न उठ्यो, अलिकति पनि कुनै समस्या युद्ध गर्ने अवस्थाको बन्यो भने पनि फेल हुन्छौ। त्यसैले जे सुकै भए पनि भित्रबाट यही आवाज आओस् वाह! मीठो ड्रामा वाह! हाय के भयो! यो संकल्प पनि नआओस्। यस्तो स्थिति होस् जसले गर्दा संकल्पमा पनि कुनै हलचल नहोस्। सदा अचल, अडोल स्थिति रहोस् तब प्रकृतिजित र मायाजितको वरदान प्राप्त हुन्छ।

स्लोगन:
खुशीको खबर सुनाएर खुशी पार्नु यही सबैभन्दा श्रेष्ठ कर्तव्य हो।