08.03.20    Avyakt Bapdada     Nepali Murli    04.12.85     Om Shanti     Madhuban


संकल्पको भाषा सर्वश्रेष्ठ भाषा


आज बापदादाको सामुन्ने डबल रूपमा डबल सभा लागिरहेको छ। दुवै स्नेही बच्चाहरूको सभा छ। एउटा छ साकार रूपधारी बच्चाहरूको सभा। अर्को छ आकारी स्नेही स्वरूप बच्चाहरूको सभा। स्नेहका सागर बाबासँग मिलन मनाउनको लागि चारैतिरका आकारी रूपधारी बच्चाहरूले आफ्नो स्नेहलाई बापदादाको अगाडि प्रत्यक्ष गरिरहेका छन्। बापदादाले सबै बच्चाहरूको स्नेहका संकल्पहरू, दिलका भिन्न-भिन्न उमंग-उत्साहका संकल्पहरू, दिलको भिन्न-भिन्न भावनाका साथमा स्नेहको सम्बन्धको अधिकारले अधिकार रूपका मीठा-मीठा कुरा सुनिरहनु भएको छ। हरेक बच्चाले आफ्नो दिलको हालचाल, आफ्नो विभिन्न प्रवृत्तिको परिस्थितिहरूका हाल-चाल, सेवाका समाचारको हाल-चाल, नयनको भाषाले, श्रेष्ठ स्नेहको संकल्पको भाषाले बाबाको अगाडि स्पष्ट गरिरहेका छन्। बापदादाले सबै बच्चाहरूको रूहरिहान तीन रूपले सुनिरहनु भएको छ। १) नयनको भाषामा बोलिरहेका छौ। २) भावनाको भाषामा र ३) संकल्पको भाषामा बोलिरहेका छौ। मुखको भाषा त साधारण भाषा हो। तर यी तीन प्रकारका भाषाहरू रूहानी योगी जीवनका भाषा हुन्। जसलाई रूहानी बच्चाहरूले र रूहानी बाबाले जान्नुहुन्छ र अनुभव पनि गर्नु हुन्छ। जति-जति अन्तर्मुखी र स्वीट साइलेन्सको स्वरूपमा स्थित हुँदै जान्छौ, त्यति नै यी तीन भाषाहरूद्वारा सर्व आत्माहरूलाई अनुभव गराउने छौ। यी अलौकिक भाषा कत्ति शक्तिशाली छन्। मुखको भाषा सुनेर र सुनाएर सबै थाकिसकेका छन्। मुखको भाषाले कुनै पनि कुरालाई स्पष्ट गर्नमा समय पनि लाग्छ तर नयनको भाषा इसारा दिने भाषा हो। मनको भावनाको भाषा अनुहारद्वारा भाव रूपमा प्रकट हुन्छ। अनुहारको भावले मनको भावनालाई प्रत्यक्ष गर्छ। जसरी कोही कसैको सामुन्ने जाँदा स्नेहले गएको छ वा दुस्मनीले गएको छ वा कुनै स्वार्थले गएको छ, त्यसको मनको भाव अनुहारमा देखिएको हुन्छ। कुन भावनाले को आएको छ, उसको नयनले बोलेको हुन्छ। त्यसैले भावनाको भाषा अनुहारको भावले जान्न पनि सक्छौ बोल्न पनि सक्छौ। त्यसैगरी संकल्पको भाषा पनि धेरै श्रेष्ठ भाषा हो किनकि संकल्प शक्ति सबैभन्दा श्रेष्ठ शक्ति हो, मूल शक्ति हो र सबैभन्दा तीव्रगतिको भाषा यो संकल्पको भाषा हो। जतिसुकै कोही टाढा होस् कुनै साधन नहोस् तर संकल्पको भाषाद्वारा कसैलाई पनि सन्देश दिन सक्छौ। अन्त्यमा यही संकल्पको भाषा काममा आउँछ। विज्ञानको साधन जब असफल हुन्छन् तब यो साइलेन्सको साधन काममा आउने छ। तर कुनै पनि सम्बन्ध जोड्नको लागि लाइन सदा स्पष्ट हुनुपर्छ। जति-जति एक बाबा र उहाँबाट सुनाएको ज्ञानमा अथवा त्यही ज्ञानद्वारा सेवामा सदा व्यस्त रहने अभ्यासी हुन्छौ, त्यति श्रेष्ठ संकल्प भएको कारणले लाइन स्पष्ट हुन्छ। व्यर्थ संकल्प नै व्यवधान हो। जति व्यर्थ समाप्त भएर समर्थ संकल्प चल्छ, संकल्पको श्रेष्ठ भाषा पनि त्यति नै स्पष्ट अनुभव गर्ने छौ। जसरी मुखको भाषाले अनुभव गर्छौ, त्यसैगरी संकल्पको भाषाले सेकेण्डमा मुखको भाषा भन्दा धेरै कसैलाई पनि अनुभव गराउन सक्छ। तीन मिनेटको भाषणको सार सेकेण्डमा संकल्पको भाषाले अनुभव गराउन सक्छौ। सेकेण्डमा जीवन-मुक्तिको जुन गायन छ, त्यो अनुभव गराउन सक्छौ।

अन्तर्मुखी आत्माहरूको भाषा यही अलौकिक भाषा हो। अब समय प्रमाण यी तीनै भाषाद्वारा सहजै सफलता प्राप्त गर्नु छ। यसमा मेहनत पनि कम र समय पनि कम लाग्छ। फेरि सफलता भने सहज हुन्छ। त्यसैले अब यस रूहानी भाषाको अभ्यासी बन। त्यसैले आज बापदादाले पनि बच्चाहरूका यी तीनै प्रकारका भाषाहरू सुनिरहनु भएको छ र सबै बच्चाहरूलाई जवाफ पनि दिइरहनु भएको छ। सबैको अति स्नेहको स्वरूपलाई देखेर बापदादाले पनि सबैलाई स्नेहको सागरमा समाहित गराइरहनु भएको छ। सबैको याद सदाको लागि यादगारको रूप बनोस् भनेर श्रेष्ठ वरदान दिइरहनु भएको छ। सबैको मनको भिन्न-भिन्न भावलाई जानेर सबै बच्चाहरूप्रति सर्व भावको जवाफ निर्विघ्न भव, समर्थ भव, सर्व शक्ति सम्पन्न भवलाई शुभ भावनाको रूपमा दिइरहनु भएको छ। बाबाको शुभ भावना छ बच्चाहरूका जति पनि शुभ कामनाहरू छन्, परिस्थिति प्रमाण सहयोगका भावना छन् ती सबै शुभ कामनाहरू बापदादाको श्रेष्ठ भावनाले सम्पन्न हुँदै जाऊन्। चल्दा-चल्दै कति बच्चाहरूका अगाडि पुराना हिसाब-किताबहरू परीक्षाको रूपमा आउँछन्। चाहे तनको व्याधिको रूपमा वा मनको व्यर्थ तुफानको रूपमा, चाहे सम्बन्ध-सम्पर्कको रूपमा आऊन्। जो धेरै समीप सहयोगी हुन्छन्, तिनीहरूबाट पनि सहयोगको सट्टा हल्का रूपमा टक्कर पनि हुन जान्छ। तर यी सबै पुराना खाता पुराना कर्जा चुक्ता भइरहेका हुन्, त्यसैले हलचलमा नगएर यस्तोमा बुद्धिलाई शक्तिशाली बनायौ भने बुद्धिबलद्वारा यी पुराना कर्जाहरू, कर्जाको सट्टा सदा पास हुने सिँढीको रूपमा अनुभव गर्ने छौ। तर हुन्छ के भने, बुद्धिबल नभएको कारणले कर्जालाई एउटा बोझको रूपमा अनुभव गर्छौ र बोझ भएको कारणले बुद्धिद्वारा जो यथार्थ निर्णय हुनु पर्ने हो त्यो हुन सक्दैन र यथार्थ निर्णय नभएको कारणले बोझले अझै तल ल्याउँछ। सफलताको उचाई तर्फ जान सक्दैनौ र चुक्ता गर्नुको सट्टा अझै बढ्दै जान्छ त्यसैले पुरानो कर्जा चुक्ता गर्ने साधन हो सदा आफ्नो बुद्धिलाई सफा राख। बुद्धिमा बोझ नराख। जति बुद्धिलाई हल्का राख्छौ त्यति बुद्धि बलले सफलतालाई सहजै प्राप्त गराउँछ त्यसैले नआत्तिऊ। व्यर्थ संकल्प किन भयो? किन यस्तो हुन्छ? यस्ता बोझ रूपी संकल्प समाप्त गरेर बुद्धिको लाइन स्पष्ट राख। हल्का राख, तब हिम्मत तिम्रो र मदत बाबाको हुनेछ र सफलता अनुभव हुँदै जानेछ। बुझ्यौ!

डबल लाइट हुनुको सट्टा डबल बोझ लिन्छन्। एक त पहिलाको हिसाब, दोस्रो व्यर्थ संकल्पको बोझ डबल बोझले माथि लैजान्छ वा तल ल्याउँछ? त्यसैले बापदादाले सबै बच्चाहरूलाई विशेष ध्यान दिलाउनु हुन्छ, सदा बुद्धिको बोझलाई चुक्ता गर। कुनै पनि प्रकारको बोझ बुद्धियोगको सट्टा हिसाब-किताबको भोगमा बदलिन्छ। त्यसैले सदा आफ्नो बुद्धिलाई हल्का राख, तब योगबलद्वारा बुद्धिबलले भोगलाई समाप्त गरिदिन्छ।

सेवाका भिन्न-भिन्न उमंग पनि सबैको पुगेको छ। जसले जति सच्चा दिलले नि:स्वार्थ भावले सेवा गरिरहेका छन्, त्यस्ता सच्चा दिलमाथि सदा साहेब राजी हुनुहुन्छ र राजीपनको निशानी दिलको सन्तुष्टता र सेवाको सफलता हो। अहिलेसम्म जे पनि गर्यौ र गरिरहेका छौ त्यो सबै राम्रो छ। पछि गएर अझै राम्रो भन्दा राम्रो हुनु नै छ, त्यसैले चारैतिरका बच्चाहरूलाई बापदादाले सदा उन्नति प्राप्त गरिरहुन्, विधि प्रमाण वृद्धि प्राप्त गरिरहुन, यी वरदानको साथ-साथमा बापदादाले पदमगुणा याद-प्यार दिइरहनु भएको छ। श्रेष्ठ पुरुषार्थ, श्रेष्ठ जीवनमा सदा बाँचिरहनु। यस्ता स्नेहका श्रेष्ठ भावना सहित सबैलाई याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

बालक सो मालिक
आज बापदादाले आफ्ना शक्ति सेनालाई देखिरहनु भएको छ यी रूहानी शक्ति सेनाहरू मनजित जगतजित छन्? मनजित अर्थात् मनका व्यर्थ संकल्प, विकल्पिजित। यसरी जित प्राप्त गरेका बच्चाहरू नै विश्वका राज्य अधिकारी बन्छन्, त्यसैले मनजित जगनजितको गायन गरिएको छ। जति यस समयमा संकल्प-शक्ति अर्थात् मनलाई स्वको अधिकारमा राख्छौ, त्यति नै विश्वको राज्य अधिकारी बन्छौ। अहिले यस समयमा ईश्वरीय बालक छौ र अहिलेका बालक नै विश्वको मालिक बन्छौ। बालक नबनेसम्म मालिक बन्न सकिँदैन। जति पनि हदको मालिकपनको हदको नशा छ, त्यसलाई समाप्त गरेर हदको मालिकपनबाट बालकपनमा आउनु छ, तब नै बालक सो मालिक बन्छौ। त्यसैले भक्तिमार्गमा पनि कोही जतिसुकै देशको ठूलो मालिक होस्, धनको मालिक होस्, परिवारको मालिक होस् तर बाबाको अगाडि सबैले बालक हजुरको भनेर नै प्रार्थना गर्छन्। म फलानो मालिक हुँ यस्तो कहिल्यै भन्दैनन्। तिमी ब्राह्मण बच्चाहरू पनि बालक हुन्छौ, त्यसैले अहिले पनि निश्चिन्त बादशाह बन्छौ र भविष्यमा विश्वको मालिक वा बादशाह बन्छौ। बालक सो मालिक यो स्मृतिले सदा निरहंकारी, निराकारी स्थितिको अनुभव गराउँछ। बालक बन्नु अर्थात् हदको जीवनलाई परिवर्तन हुनु हो। जब ब्राह्मण बन्यौ, तब ब्राह्मणपनको जीवनको पहिलो सबैभन्दा सजिलो पाठ कुनचाहीँ पढ्यौ? बच्चाहरूले भने बाबा र बाबाले भन्नुभयो बच्चा अर्थात् बालक। यो एक शब्दको पाठले ज्ञानी बनाइदिन्छ। बालक अथवा बच्चा यो एक शब्द पढ्यौ भने सारा विश्वको त के तीनै लोकको ज्ञान पढ्यौ। आजको दुनियाँमा जतिसुकै ठूलो ज्ञानी होस् तर तीनै लोकको ज्ञान जान्न सकेको हुँदैन। यो कुरामा तिमी एक शब्द पढेकाको अगाडि जतिसुकै ज्ञानी पनि अनपढ छन्। यस्तो मास्टर ज्ञानको सागर कति सजिलै बनेका छौ? बाबा र बच्चा, यो एक शब्दमा सबैथोक समाहित छ। जसरी बीजमा सारा वृक्ष समाहित हुन्छ। त्यसैले बालक अथवा बच्चा बन्नु अर्थात् सदाको लागि मायाबाट बच्नु हुन्छ। मायाबाट बचिरहनु अर्थात् हामी बच्चा हौं सदा यो स्मृतिमा रहनु। सदा यही स्मृति राख बच्चा बन्यौ अर्थात् बच्यौं। यो पाठ मुश्किल छ र? सजिलो छ नि। त्यसो हो भने फेरि भुल्छौ किन? कत्ति बच्चाहरूले यस्तो सोच्दछन् भुल्न चाहदैनौं तर भुल्छौं। किन भुल्छौ? भन्छन् धेरै समयको संस्कार छ अथवा पुरानो संस्कार छ। तर मरजीवा बन्यौ, मर्ने समयमा के गर्छन्? अग्नि संस्कार गर्छन् नि। त्यसैले पुरानो संस्कार मर्यो तब त नयाँ जन्म लियौ। जब संस्कार गरिसक्यौ भने पुरानो संस्कार कहाँबाट आउँछ? जसरी शरीरको संस्कार गर्छौ, तब नाम रूप समाप्त हुन्छ। यदि नाम पनि लिन्छन् भने भन्छन् फलानो थियो। छ भन्दैनन्। त्यसैले शरीरको संस्कार भएपछि शरीर समाप्त हुन्छ। ब्राह्मण जीवनमा केको संस्कार गर्छौ? शरीर त त्यही हो। तर पुरानो संस्कार, पुरानो स्मृतिको, स्वभावको संस्कार गर्छौ तब मरजीवा कहलाउँछौ। जब संस्कार गरिसक्यौ भने पुरानो संस्कार कहाँबाट आउँछ? यदि संस्कार गरिसकेको मानिस फेरि तिम्रो सामुन्ने आयो भने त्यसलाई के भनिन्छ? भूत भनिन्छ नि। यहाँ पनि पुरानो संस्कार, मरेको संस्कार यदि जागृत भयो भने के भनिन्छ? यसलाई पनि मायाको भूत भनिन्छ नि। भूतलाई भगाइन्छ नि। वर्णन गरिँदैन। पुरानो संस्कार भनेर आफूलाई धोका दिन्छन्। यदि तिमीहरूलाई पुरानो कुरा राम्रो लाग्छ भने वास्तवमा सबैभन्दा पुरानो आदिकालको संस्कारलाई याद गर। यी त मध्यकालका संस्कार थिए। यिनीहरू सबैभन्दा पुराना होइनन्। मध्यलाई बीच भनिन्छ त्यसैले मध्यकाल अर्थात् बीचलाई याद गर्नु अर्थात् बीच भुमरीमा पर्नु हो त्यसैले कहिल्यै पनि यस्ता कमजोरीको कुरा नसोच्नु। सदा यिनै दुई शब्द याद राख्नु बालक सो मालिक। बालकपनले नै मालिकपनलाई स्वत: नै स्मृतिमा ल्याउँछ। बालक बन्न आउँदैन?

बालक बन अर्थात् सबै बोझबाट हल्का बन। कहिले हजुरको कहिले मेरो, त्यसैले मुश्किल बनाइदिन्छ। जब कुनै मुश्किल अनुभव गर्छौ तब त भन्छौ तिम्रो काम तिमीले जान। अनि जब सहज हुन्छ तब मेरो भन्छौ। मेरोपन समाप्त हुनु अर्थात् बालक सो मालिक बन्नु। बाबाले त भन्नुहुन्छ भिखारी बन। यो शरीर रूपी घर पनि तिम्रो होइन। यो सापटी लिएको हो। केवल ईश्वरीय सेवाको लागि बाबाले सापटीमा दिएर निमित्त मात्र बनाउनु भएको छ। यो ईश्वरीय नासो हो। तिमीहरूले त सबैथोक हजुरको भनेर बाबालाई दिइसक्यौ। यो प्रतिज्ञा गरेको होइन? कि भुल्यौ? प्रतिज्ञा गरेका छौ वा आधा हजुरको आधा मेरो भन्छौ? यदि हजुरको भनेकोलाई आफ्नो सम्झेर कार्यमा लगायौ भने के हुन्छ? त्यसबाट सुख मिल्छ? सफलता मिल्छ? त्यसैले नासो सम्झेर हजुरको सम्झेर हिड्यौ भने बालक सो मालिकपनको खुशीमा, नशामा स्वत: नै रहन्छौ। बुझ्यौ? त्यसैले यो पाठ सदा पक्का गर्नु। पाठ पक्का गर्यौ नि? या आ-आफ्नो स्थानमा गएर फेरि भुल्छौ? अभुल बन। अच्छा।

सदा रूहानी नशामा रहने बालक सो मालिक बच्चाहरूलाई, सदा बालकपन अर्थात् निश्चिन्त बादशाहको स्मृतिमा रहने, सदा मिलेको नासोलाई निमित्त बनेर सेवामा लगाउने बच्चाहरूलाई, सदा नयाँ उमंग, नयाँ उत्साहमा रहने बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:
विशेष शब्दको स्मृतिद्वारा सम्पूर्णताको लक्ष्य प्राप्त गर्ने स्व परिवर्तक भव

सदा यही स्मृति रहोस् म विशेष आत्मा हुँ, विशेष कार्यको लागि निमित्त हुँ र विशेषता देखाउनेवाला हुँ। यो विशेष शब्दलाई विशेष याद राख बोल्नु पनि विशेष, हेर्नु पनि विशेष, गर्नु पनि विशेष, सोच्नु पनि विशेष.... हरेक कुरामा यो विशेष शब्द ल्याउनाले सजिलै स्व परिवर्तक सो विश्व परिवर्तक बन्छौ र जुन सम्पूर्णता प्राप्त गर्ने लक्ष्य छ, त्यो लक्ष्यलाई पनि सजिलै प्राप्त गर्छौ।

स्लोगन:
विघ्नसँग आत्तिनुको सट्टा परीक्षा सम्झेर त्यसलाई पार गर।