08.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा हुनुहुन्छ अविनाशी वैद्य , जसले एकै महामन्त्रद्वारा तिम्रा सबै दु:ख दूर गरिदिनुहुन्छ।

प्रश्न:
मायाले तिम्रो बीचमा किन विघ्न ल्याउँछ? कुनै कारण बताऊ?

उत्तर:
१- किनकि तिमी मायाको सबैभन्दा ठूलो ग्राहक हौ। उसको ग्राहक खत्तम हुन्छ, त्यसैले विघ्न ल्याउँछ। २- जब अविनाशी वैद्यले तिमीलाई दबाई दिनुहुन्छ तब मायाको बिमारी चल्मलाउँछ, त्यसैले विघ्नदेखि डराउनु हुँदैन। मनमनाभवको मन्त्रद्वारा माया भाग्छ।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ, मानिसहरू मनको शान्ति, मनको शान्ति भनेर हैरान हुन्छन्। नित्य भन्छन् पनि ओम् शान्ति। तर यसको अर्थ नबुझेको कारण शान्ति मागि नै रहन्छन्। भन्छन् पनि म आत्मा हुँ अर्थात् आइ एम साइलेन्स। मेरो स्वधर्म हो शान्ति। फेरि यदि स्वधर्म शान्ति हो भने माग्ने किन? अर्थ नबुझेका हुनाले फेरि पनि मागिरहन्छन्। तिमीले सम्झन्छौ यो रावण राज्य हो। तर यो पनि बुझ्दैनन् रावण सारा दुनियाँको, खासगरी भारतको दुस्मन हो। त्यसैले रावणलाई जलाइरहन्छन्। यस्तो कुनै मनुष्य छ जसलाई वर्ष-वर्ष जलाइरहन्छन्? यसलाई त जन्म-जन्मान्तर, कल्प-कल्पान्तर जलाउँदै आएका छन् किनकि यो तिम्रो धेरै ठूलो दुस्मन हो। ५ विकारमा सबै फँस्छन्। जन्म नै भ्रष्टाचारद्वारा हुन्छ भने रावणको राज्य भयो। अहिले अथाह दु:ख छ। यसको निमित्त को? रावण। दु:ख के कारणले हुन्छ? यो कसैलाई थाहा छैन। यो त राज्य नै रावणको हो। सबैभन्दा ठूलो दुस्मन यो हो। हरेक वर्ष उसको पुतला बनाएर जलाइरहन्छन्। दिन-प्रतिदिन अझै ठूलो बनाउँदै जान्छन्। दु:ख पनि बढ्छ। यति ठूला-ठूला साधु, सन्त, महात्मा, राजा आदि छन् तर एक जनालाई पनि थाहा छैन रावण हाम्रो दुस्मन हो, जसलाई हामी वर्ष-वर्ष जलाउँछौं। अझै खुशी मनाउँछन्, सम्झन्छन् रावण मर्यो र हामी लंकाको मालिक बन्यौं। तर मालिक बन्दैनन्। कति पैसा खर्च गर्छन्। बाबा भन्नुहुन्छ तिमीलाई यति अनगिन्ती पैसा दिएँ, सबै कहाँ गुमायौ? दशहरामा लाखौं रूपयाँ खर्च गर्छन्। रावणलाई मारेर फेरि लंकालाई लुट्छन्। केही पनि बुझ्दैनन्, रावणलाई किन जलाउँछन्। अहिले यी विकारको जेलमा परेका छन्। आधाकल्प रावणलाई जलाउँछन् किनकि दु:खी छन्। सम्झन्छन् पनि, रावणको राज्यमा हामी धेरै दु:खी छौं। सत्ययुगमा यी ५ विकार हुँदैनन्, यो जानेका छैनन्। यो रावणलाई जलाउनु आदि हुँदैन। सोध यो कहिलेदेखि मनाउँदै आउनु भएको हो! भन्छन् यो त अनादि चल्दै आएको हो। रक्षाबन्धन कहिलेदेखि सुरु भयो? भन्छन् अनादि चल्दै आएको हो। त्यसैले यी सबै बुझ्नुपर्ने कुरा छन् नि। मनुष्यको बुद्धि के बनेको छ। न जनावर हुन्, न मनुष्य हुन्। कुनै कामका छैनन्। स्वर्गलाई बिलकुल जानेका छैनन्। सम्झन्छन् यो दुनियाँ भगवानले नै बनाउनु भएको हो। दु:खमा याद त फेरि पनि भगवानको गर्छन् हे भगवान! यस दु:खबाट छुटाउनुहोस्। तर कलियुगमा त सुखी हुन सक्दैनन्। दु:ख त अवश्य भोग्नु नै छ। सिँढी उत्रिनु नै छ। नयाँ दुनियाँदेखि पुरानो दुनियाँको अन्त्यसम्मको सबै रहस्य बाबाले सम्झाउनु हुन्छ। बच्चाहरूको पासमा आउँदा भन्नुहुन्छ सबै दु:खको दबाई एउटा छ। अविनाशी वैद्य हुनुहुन्छ नि। २१ जन्मको लागि सबैलाई दु:खबाट मुक्त गरिदिनुहुन्छ। ती वैद्यहरू त आफैं पनि बिरामी हुन्छन्। उहाँ त अविनाशी वैद्य हुनुहुन्छ। यो पनि जानेका छौ दु:ख पनि अथाह छ, सुख पनि अथाह छ। बाबाले अथाह सुख दिनुहुन्छ। त्यहाँ दु:खको नाम निशाना हुँदैन। सुखी बन्ने दबाई हो केवल मलाई याद गर्यौ भने पावन सतोप्रधान बन्छौ, सबै दु:ख दूर हुन्छ। फेरि सुख नै सुख हुन्छ। गायन पनि गरिन्छ बाबा दु:ख-हर्ता, सुख-कर्ता हुनुहुन्छ। आधाकल्पको लागि तिम्रो सबै दु:ख दूर हुन्छ। तिमीले केवल आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर।

आत्मा र जीव दुईको खेल हो। निराकार आत्मा अविनाशी छ र साकार शरीर विनाशी छ, यिनैको खेल हो। अब बाबा भन्नुहुन्छ देहसहित देहका सबै सम्बन्धहरूलाई भुल। गृहस्थ व्यवहारमा रहँदा-रहँदै आफूलाई यस्तो सम्झ हामीले अब फर्केर जानु छ। पतित त जान सक्दैनन्। त्यसैले म एकलाई याद गर्यौ भने सतोप्रधान बन्छौ। बाबासँग दबाई छ नि। यो पनि बताउँछु, मायाले विघ्न अवश्य ल्याउने छ। तिमी रावणका ग्राहक हौ नि। उसको ग्राहक जाने भएपछि त अवश्य हैरान गर्छ। त्यसैले बाबा सम्झाउनु हुन्छ यो त पढाइ हो। कुनै दबाई होइन। दबाई हो यादको यात्रा। एउटै दबाईले तिम्रो सबै दु:ख दूर हुन्छ, यदि मलाई निरन्तर याद गर्ने पुरुषार्थ गर्यौ भने। भक्तिमार्गमा यस्ता धेरै छन् जसको मुख चलि नै रहन्छ। कुनै न कुनै मन्त्र रामनाम जपि नै रहन्छन्, उनीहरूलाई गुरुको मन्त्र मिलेको हुन्छ। यति पटक तिमीले नित्य जप्नुपर्छ। उनीहरूलाई भन्छन् रामको नामको माला जप्नु। यसैलाई रामनामको दान भन्छन्। यस्ता धेरै संस्थाहरू बनेका छन्। राम-राम जपिरहे भने झगडा आदि कसैले गर्दैनन्, व्यस्त रहन्छन्। कसैले केही भन्यो भने पनि प्रतिक्रिया दिदैनन्। धेरै कमले यस्तो गर्छन्। यहाँ फेरि बाबा सम्झाउनु हुन्छ मुखबाट कुनै राम-राम भन्ने होइन। यो त अजपाजाप हो। केवल बाबालाई याद गरिराख। बाबा भन्नुहुन्छ म कुनै राम होइन। राम त त्रेताका थिए, जसको राजाई थियो, उनलाई त जप्नु छैन। अब बाबा सम्झाउनु हुन्छ भक्तिमार्गमा यो सबै स्मरण गर्दै, पूजा गर्दै तिमी सिँढी उत्रिदै आएका हौ किनकि ती सबै हुन् झूटा । सत्य त एकै बाबा हुनुहुन्छ। उहाँले तिमी बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ। यो कस्तो भूल-भुलैयाको खेल हो। जो बाबाबाट यति बेहदको वर्सा मिल्छ उहाँलाई याद गर्यौ भने चेहरा नै चम्किइरहन्छ। खुशीमा चेहरा फक्रिन्छ। मुखमा मुस्कुराहट आउँछ। तिमीलाई थाहा छ बाबालाई याद गर्यौं भने हामी यस्तो बन्छौं। आधाकल्पको लागि हाम्रो सबै दु:ख दूर हुन्छ। यस्तो होइन, बाबाले कुनै कृपा गर्नुहुन्छ। होइन, यो सम्झिनु छ हामी बाबालाई जति याद गर्नेछौं त्यति सतोप्रधान बन्छौं। यी लक्ष्मी-नारायण विश्वका मालिक कति हर्षितमुख छन्। यस्तो बन्नु छ। बेहदका बाबालाई याद गरेर भित्र खुशी हुन्छ फेरि म विश्वको मालिक बन्छु। यो आत्माको खुशीको संस्कार नै फेरि साथमा जान्छ। फेरि थोरै-थोरै कम हुँदै जान्छ। अहिले मायाले तिमीलाई धेरै हैरान गर्छ। मायाले कोसिस गर्छ तिम्रो यादलाई भुलाउने। सदैव यस्तो हर्षित मुख रहन सक्दैनौ। अवश्य कुनै समय अत्तालिन्छौ। मनुष्य बिमारी भए भने उनीहरूलाई भन्ने पनि गर्छन् शिवबाबालाई याद गर्नुहोस्, तर शिवबाबा को हुनुहुन्छ, यो कसैलाई थाहा छैन भने के सम्झिएर याद गर्ने? किन याद गर्ने? तिमी बच्चाहरूले त जानेका छौ बाबालाई याद गर्नाले हामी तमोप्रधानबाट सतोप्रधान बन्छौं। देवी-देवता सतोप्रधान हुन्छन् नि, त्यसलाई भनिन्छ नै दैवी दुनियाँ। मनुष्यको दुनियाँ भनिदैन। मनुष्य नाम हुँदैन। फलाना देवता। त्यो हो नै दैवी दुनियाँ, यो हो मनुष्य दुनियाँ। यी सबै बुझ्ने कुरा हुन्। बाबाले नै सम्झाउनु हुन्छ। बाबालाई भनिन्छ ज्ञानका सागर। बाबाले अनेक प्रकारको समझ दिनुहुन्छ। फेरि पनि अन्त्यमा महामन्त्र दिनुहुन्छ बाबालाई याद गर्यौ भने तिमी सतोप्रधान बन्छौ र तिम्रो सबै दु:ख दूर हुन्छ। कल्प पहिला पनि तिमी देवी-देवता बनेका थियौ। तिम्रो चेहरा देवताको जस्तो थियो। त्यहाँ कसैले पनि उल्टो-सुल्टो बोल्दैनथे। यस्तो कुनै काम नै हुँदैन। त्यो हो नै दैवी दुनियाँ। यो हो मनुष्य दुनियाँ। फरक छ नि। यो बाबा बसेर सम्झाउनु हुन्छ। मनुष्यले त सम्झन्छन् दैवी दुनियाँ भएको लाखौं वर्ष भयो। यहाँ त कसैलाई देवता भन्न सकिँदैन। देवताहरू त स्वच्छ थिए। महान् आत्मा देवी-देवतालाई भनिन्छ। मनुष्यलाई कहिल्यै भन्न सकिंदैन। यो हो रावणको दुनियाँ। रावण ठूलो दुस्मन हो। यो जस्तो दुस्मन कोही हुँदैन। हरेक वर्ष तिमीले रावणलाई जलाउँछौ। यो को हो? कसैलाई थाहा छैन। कुनै मनुष्य त होइन, यो हो ५ विकार। त्यसैले यसलाई रावण राज्य भनिन्छ। ५ विकारको राज्य छ नि। सबैमा ५ विकार छन्। दुर्गति र सद्गतिको यो खेल बनेको छ। अहिले तिमीलाई सद्गतिको समय आदिको बारेमा पनि बाबाले सम्झाउनु भएको छ। दुर्गतिको बारेमा पनि सम्झाउनु भएको छ। तिमी नै उच्च चढ्छौ फेरि पनि तिमी नै तल गिर्छौ। शिवजयन्ती पनि भारतवर्षमा नै हुन्छ। रावण जयन्ती पनि भारतवर्षमा नै मनाउँछन्। आधाकल्प हुन्छ दैवी दुनियाँ, लक्ष्मी-नारायण, राम-सीताको राज्य हुन्छ। अहिले तिमी बच्चाहरूले सबैको जीवनीलाई जानेका छौ। महिमा सारा तिम्रो हो। नवरात्रिमा सबै तिम्रो पूजा आदि हुन्छ। तिमीले नै स्थापना गर्छौ। श्रीमतमा चलेर तिमीले विश्वलाई परिवर्तन गर्छौ, त्यसैले श्रीमतमा पूरा चल्नु पर्यो नि। नम्बरवार पुरुषार्थ गरिरहन्छन्। स्थापना भइरहन्छ। यसमा लडाईं आदिको कुनै कुरा छैन। अहिले तिमीले बुझेका छौ यो पुरुषोत्तम संगमयुग हो नै बिलकुल अलग। पुरानो दुनियाँको अन्त्य, नयाँ दुनियाँको आदि। बाबा आउनु हुन्छ नै पुरानो दुनियाँलाई परिवर्तन गर्न। तिमीलाई सम्झाउन त धेरै सम्झाउनु हुन्छ तर धेरै छन् जसले भुलिहाल्छन्। भाषणपछि स्मृति आउँछ यो-यो प्वाइन्ट सम्झाउनुपर्थ्यो। कल्प-कल्प जसरी स्थापना भएको छ, हुबहु त्यसैगरी भइरहन्छ, जसले जुन पद पाएको छ त्यही पाउने छ। सबैले उस्तै पद पाउन सक्दैन। उच्च भन्दा उच्च पद पाउने पनि छन् भने कम भन्दा कम पद पाउने पनि छन्। जो अनन्य बच्चाहरू छन् उनीहरूले पछि गएर धेरै महसुस गर्नेछन् यी धनवानको दासी बन्नेछिन्, यी राजाई घरानाको दासी बन्नेछिन्। यिनीहरू ठूला धनवान बन्छन्, जसलाई कहिले-कहिले निमन्त्रणा गर्दै रहन्छौ। सबैलाई कहाँ निमन्त्रणा गर्छन् र, सबैले मुख कहाँ देख्छन् र?

बाबा पनि ब्रह्मा मुखद्वारा सम्झाउनु हुन्छ, सम्मुख सबैले कहाँ देख्न सक्छन् र! तिमी अहिले सम्मुख आएका छौ, पवित्र बनेका छौ। यस्तो पनि हुन्छ, जो अपवित्र आएर यहाँ बस्छन्, केही सुने भने फेरि देवता बन्छन्। फेरि पनि केही सुने भने असर पर्छ। सुनेन भने फेरि आउने नै छैन। त्यसैले मुख्य कुरा बाबा भन्नुहुन्छ मनमनाभव। यस एकै मन्त्रद्वारा तिम्रो सबै दु:ख दूर भएर जान्छ। बाबा बनेर मनमनाभव भन्नुहुन्छ र टिचर बनेर मध्याजीभव भन्नुहुन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। तीनैको याद रह्यो भने हर्षितमुख अवस्था रहन्छ। बाबाले पढाउनु हुन्छ, फेरि बाबाले नै साथमा लिएर जानुहुन्छ। यस्ता बाबालाई कति याद गर्नुपर्छ। भक्ति मार्गमा त बाबालाई कसैले जान्दै-जान्दैन्। केवल यति जानेका छन् भगवान हुनुहुन्छ, हामी सबै भाइ-भाइ हौं। बाबाबाट के मिल्नु छ, यो केही पनि थाहा छैन। तिमी अहिले सम्झन्छौ एक बाबा हुनुहुन्छ, हामी उहाँका बच्चा सबै भाइ हौं। यो बेहदको कुरा हो नि। सबै बच्चालाई टिचर बनेर पढाउनु हुन्छ। फेरि सबैको हिसाब-किताब चुक्ता गराएर लैजानुहुन्छ। यस फोहोरी दुनियाँबाट फर्केर जानु छ, नयाँ दुनियाँमा आउनको लागि तिमीलाई लायक बनाउनु हुन्छ। जो जो लायक बन्छन्, उनीहरू सत्ययुगमा आउँछन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्नो अवस्थालाई सदा एकरस र हर्षितमुख राख्नको लागि बाबा, टिचर र सद्गुरु तीनैलाई याद गर्नु छ। यहाँबाट नै खुशीको संस्कार भर्नु छ। वर्साको स्मृतिद्वारा चेहरा सदा चम्किरहोस्।

२) श्रीमतमा चलेर सारा विश्वलाई परिवर्तन गर्ने सेवा गर्नु छ। ५ विकारमा जो फँसेका छन्, उनीहरूलाई निकाल्नु छ। आफ्नो स्वधर्मको पहिचान दिनु छ।

वरदान:
स्वको राज्यद्वारा आफ्ना साथीहरूलाई स्नेही सहयोगी बनाउने मास्टर दाता भव

राजा अर्थात् दाता। दातालाई भन्नु वा माग्नु पर्दैन। राजाहरूलाई स्वयं हरेकले आफ्नो स्नेहको सौगात अफर गर्छन्। तिमी पनि स्वयंमाथि राज्य गर्ने राजा बन तब हरेकले तिम्रो अगाडि सहयोगको सौगात अफर गर्ने छन्। जसको स्व माथि राज्य छ, उसको अगाडि लौकिक अलौकिक साथी जी हाजिर, जी हजुर, हुन्छ हजुर भन्दै स्नेही सहयोगी बन्छन्। परिवारमा कहिल्यै अर्डर नचलाऊ, आफ्ना कर्मेन्द्रियहरूलाई अर्डरमा राख्यौ भने तिम्रा सबै साथीहरू स्नेही सहयोगी बन्छन्।

स्लोगन:
सर्व प्राप्तिको साधन हुँदा हुँदै पनि वृत्ति उपराम रहोस्, तब भनिन्छ वैराग्य वृत्ति।