08.11.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– देहसहित
सबैथोक खतम हुँदैछ , त्यसैले तिमीले पुरानो दुनियाँको समाचार सुन्नु आवश्यक छैन।
तिमीले बाबा र वर्सालाई याद गर।”
प्रश्न:–
श्रीमतको लागि
कुनचाहिँ गायन छ? श्रीमतमा चल्नेहरूको निशानी सुनाऊ।
उत्तर:–
श्रीमतको लागि गायन छ– जे खुवाउनु हुन्छ, जे पहिराउनु हुन्छ, जहाँ राख्नु हुन्छ...
त्यही गर्नेछु। श्रीमतमा चल्ने बच्चाहरूले बाबाको हर आज्ञालाई पालन गर्छन्।
उनीहरूबाट सदा श्रेष्ठ कर्म हुन्छ। उनीहरूले कहिल्यै श्रीमतमा आफ्नो मनमत
मिसाउँदैनन्। उनीहरूमा ठीक र बेठीकको समझ हुन्छ।
गीत:–
बनवारी रे...
ओम् शान्ति ।
यो गीत कसको
हो? तिमी बच्चाहरूको। कुनै गीत यस्ता पनि छन् जसमा बाबाले बच्चाहरूलाई सम्झाउनु भएको
छ तर यस गीतमा बच्चाहरूले भन्छन्– बाबा अब त हामीले बुझ्यौं, दुनियाँलाई त थाहा नै
छैन– यो दुनियाँ झुटो कसरी हो, यहाँ झुटा बन्धन छन्। यहाँ सबै दु:खी छन्, त्यसैले त
ईश्वरलाई याद गर्छन्। सत्ययुगमा त ईश्वरसँग मिल्ने कुरै हुँदैन। यहाँ दु:ख छ
त्यसकारण आत्माहरूलाई याद आउँछ, तर ड्रामा अनुसार बाबा मिल्नुहुन्छ नै तब, जब स्वयं
आउनुहुन्छ। बाँकी अरू जसले पनि पुरुषार्थ गर्छन्, सबै व्यर्थ छ किनकि ईश्वरलाई
सर्वव्यापी मान्छन्, ईश्वरको मार्ग गलत बताउँछन्। ईश्वर र उहाँको रचनाको आदि, मध्य,
अन्त्यलाई हामीले जान्दैनौं भनेको भए ठीक हुने थियो। पहिले ऋषिमुनि आदि सत्य बोल्थे,
त्यस समयमा रजोगुणी थिए। त्यस समयमा झुटो दुनियाँ भनिदैनथ्यो। झुटो दुनियाँ नर्क,
कलियुग अन्त्यलाई भनिन्छ। सङ्गममा भनिन्छ– यो नर्क हो, त्यो स्वर्ग हो। यस्तो होइन,
द्वापरलाई नर्क भनिन्छ। त्यस समयमा तिम्रो अझै पनि रजोप्रधान बुद्धि हुन्छ। अहिले छ
तमोप्रधान। त्यसैले नर्क र स्वर्ग सङ्गममा लेखिन्छ। आज नर्क छ, भोलि स्वर्ग हुन्छ।
यो पनि बाबा आउनु भएर सम्झाउनु हुन्छ, दुनियाँले जान्दैन– यो समय कलियुगको अन्त्य
हो। सबै आ-आफ्नो हिसाबकिताब चुक्ता गरेर अन्त्यमा सतोप्रधान बन्छन्, फेरि सतो, रजो,
तमोमा आउनु नै छ। जसको एक-दुई जन्मको पार्ट छ, तिनीहरू पनि सतो, रजो, तमोमा आउँछन्।
उनीहरूको पार्ट नै थोरै हुन्छ। यसमा बडो समझ चाहिन्छ। दुनियाँमा त अनेक मत भएका
मनुष्य छन्। सबैको एक मत त हुनसक्दैन। हरेकको आ-आफ्नो धर्म छ। मत आफ्नो-आफ्नै छ।
बाबाको कर्तव्य अलग छ। हरेक आत्माको अलग छ। धर्म पनि अलग छ। त्यसैले उनको लागि
ज्ञान पनि अलग चाहिन्छ। नाम, रूप, देश, काल सबैको अलग छ। देखिनमा आउँछ यो फलानोको
धर्म हो। हिन्दु धर्मको हुँ त सबैले भन्छन् तर त्यसमा पनि सबै भिन्न-भिन्न छन्। कुनै
आर्यसमाजी, कुनै संन्यासी, कुनै ब्रह्मसमाजी। संन्यासी आदि जति पनि छन् ती सबैलाई
हिन्दु धर्मकै मान्छन्। हामीले ब्राह्मण धर्मका हौं वा देवता धर्मका हौं भनेर लेखे
पनि उनले हिन्दुमा राखिदिन्छन् किनकि अरू कुनै सेक्सन त उनीहरूसँग छँदैछैन। त्यसैले
हरेकको फाराम अलग-अलग भएमा थाहा हुन्छ। अन्य कुनै धर्मका भएमा उनीहरूले यी कुरालाई
मान्ने छैनन्। फेरि उनलाई सँगसँगै सम्झाउन मुस्किल हुन्छ। उनले त बुझ्नेछन्
यिनीहरूले त आफ्नै धर्मको महिमा गर्छन्। यिनमा द्वैत छ। सम्झाउने बच्चाहरू पनि
नम्बरवार छन्। सबै एकनास त छैनन्, त्यसैले महारथीहरूलाई बोलाउँछन्।
बाबाले सम्झाउनु भएको
छ– मलाई याद गर, मेरो श्रीमतमा चल। यसमा प्रेरणा आदिको कुनै कुरा छैन। यदि प्रेरणाले
काम हुने हो भने त फेरि बाबालाई आउनु पर्ने आवश्यकता नै हुँदैन। शिवबाबा त यहाँ
हुनुहुन्छ। त्यसैले उहाँलाई प्रेरणा दिने के आवश्यकता छ र? यहाँ त बाबाको मतमा
चल्नुपर्ने हुन्छ। प्रेरणाको कुरा होइन। कुनै कुनै सन्देशीहरूले सन्देश लिएर आउँछन्,
त्यसमा पनि मिसावट हुन्छ। सन्देशी त सबै समान हुँदैनन्। मायाको धेरै हस्तक्षेप
हुन्छ। अर्को सन्देशीबाट रूजु गराउनु पर्ने हुन्छ। कतिले भन्छन्– मेरो शरीरमा बाबा
आउनुहुन्छ, मम्मा आउनुहुन्छ, फेरि आफ्नो छुट्टै सेन्टर खोलेर बस्छन्। माया प्रवेश
गर्छ। यो बडो बुझ्ने कुरा छ। बच्चाहरू धेरै होसियार हुनुपर्छ। जो सेवाधारी बच्चाहरू
छन्, उनले नै यी कुरालाई बुझ्नसक्छन्। जो श्रीमतमा चल्दैनन्, उनले यी कुरालाई
बुझ्दैनन्। श्रीमतको लागि गायन छ– हजुरले जे खुवाउनु हुन्छ, जे पहिराउनु हुन्छ, जहाँ
राख्नुहुन्छ, त्यही गर्नेछु। यसरी कोही त बाबाको मतमा चल्छन्, कोही फेरि अरूको मतको
प्रभावमा आइहाल्छन्। कुनै वस्तु मिलेन, कुनै कुरा मन परेन भने तुरून्तै रिसाउँछन्।
सबै कहाँ सपुत बच्चा हुन सक्छन् र! दुनियाँमा त विभिन्न विचार भएका छन्। अजामिल
जस्ता पाप आत्माहरू, गणिकाहरू (वेश्याहरू) धेरै छन्।
यो पनि सम्झाउनु पर्छ–
ईश्वर सर्वव्यापी हुनुहुन्छ भन्नु गलत हो। सर्वव्यापी त ५ विकार छन्, त्यसैले बाबा
भन्नुहुन्छ– यो आसुरी दुनियाँ हो। सत्ययुगमा ५ विकार हुँदैनन्। भन्छन्, शास्त्रहरूमा
यो कुरा यसरी छ। तर शास्त्रहरू सबै त मनुष्यहरूले बनाएका हुन्। त्यसैले मनुष्य उच्च
भए कि शास्त्र? अवश्य सुनाउनेहरू उच्च भए नि। लेख्नेहरू त हुन् मनुष्य। व्यासले लेखे,
ती पनि मनुष्य थिए नि। यो त निराकार बाबा बसेर सम्झाउनु हुन्छ। धर्म स्थापकहरूले
जुन कुरा आएर सुनाए फेरि पछि गएर शास्त्र बन्छन्। जसरी गुरुनानकले सुनाए, पछि गएर
ग्रन्थ बन्छ। जसले सुनायो, उसको नाम भयो। गुरुनानकले पनि उहाँको महिमा गरेका छन्–
सबैको पिता उहाँ एक हुनुहुन्छ। बाबा भन्नुहुन्छ– गएर धर्म स्थापना गर। यहाँ बेहदको
बाबा भन्नुहुन्छ– मलाई पठाउनेवाला त कोही पनि छैन। शिवबाबा स्वयं बसेर सम्झाउनु
हुन्छ– उनीहरू हुन् सन्देश लिएर आउने, मलाई पठाउनेवाला कोही छैन। मलाई सन्देशवाहक (मेसेन्जर)
वा पैगम्बर भनिदैन। म त आउँछु बच्चाहरूलाई सुख-शान्ति दिन। मलाई कसैले भनेका होइनन्,
म त स्वयं मालिक हुँ। मालिकलाई पनि मान्नेहरू हुन्छन्, तर उनलाई सोध्नुपर्छ– तपाईंले
मालिकको अर्थ बुझ्नु भएको छ? उहाँ मालिक हुनुहुन्छ, हामी उहाँका सन्तान हौं। त्यसैले
अवश्य वर्सा मिल्नुपर्छ। बच्चाहरूले भन्छन्– मेरो बाबा। त्यसैले बाबाको सम्पत्तिको
तिमी मालिक हौ। “मेरो बाबा” बच्चाहरूले नै भन्छन्। बाबा मेरो भएमा फेरि बाबाको
सम्पत्ति पनि मेरो। अहिले हामीले के भन्छौं? मेरो शिवबाबा। बाबा पनि भन्नुहुन्छ यो
मेरो बच्चा हो। बाबाबाट बच्चाहरूलाई वर्सा मिल्छ। बाबासँग धनसम्पत्ति हुन्छ। बेहदका
बाबा हुनुहुन्छ नै स्वर्गको रचयिता। तिमीहरूलाई सम्पत्ति कसबाट मिल्छ? शिवबाबाबाट।
शिवजयन्ती पनि मनाउँछन्। शिवजयन्ती पछि फेरि हुन्छ कृष्णजयन्ती, फेरि रामजयन्ती।
मम्मा-बाबाको जयन्ती वा जगदम्बाको जयन्ती त कसैले गायन गर्दैनन्। शिवजयन्ती फेरि
राधा-कृष्णको जयन्ती फेरि राम-सीताको जयन्ती।
जब शिवबाबा आउनुहुन्छ
तब शूद्र राज्य विनाश हुन्छ। यो रहस्य पनि कसैले बुझ्दैनन्। बाबा बसेर सम्झाउनु
हुन्छ। उहाँ अवश्य आउनुहुन्छ। बाबालाई किन बोलाइन्छ? श्रीकृष्णपुरी स्थापना गर्न।
तिमीलाई थाहा छ– शिवजयन्ती अवश्य हुन्छ। शिवबाबाले ज्ञान दिइरहनु भएको छ। आदि सनातन
देवी-देवता धर्मको स्थापना भइरहेको छ। शिवजयन्ती हो सबैभन्दा ठुलो जयन्ती। फेरि हुन्
ब्रह्मा, विष्णु, शङ्कर। प्रजापिता ब्रह्मा त मनुष्य सृष्टिमा छन्। फेरि रचनामा
मुख्य हुन् लक्ष्मी-नारायण। त्यसैले शिव हुनुहुन्छ माता-पिता, फेरि माता-पितामा
ब्रह्मा अनि जगत् अम्बा पनि आउँछिन्। यो बुझ्ने र धारणा गर्ने कुरा हो। पहिला सुरुमा
सम्झाउनु छ– बाबा परमपिता परमात्मा आउनुहुन्छ पतितहरूलाई पावन गराउन। उहाँ यदि
नाम-रूपबाट भिन्न भएमा उहाँको जयन्ती कसरी हुनसक्छ? भगवानलाई पिता भनिन्छ। पितालाई
त सबैले मान्छन्। आत्मा र परमात्मा दुवै निराकार छन्। आत्माहरूलाई साकार शरीर मिल्छ,
यो धेरै बुझ्नुपर्ने कुरा हो। जसले शास्त्र आदि पढेका छैनन् उनको लागि अझै सहज छ।
आत्माहरूको पिता उहाँ परमपिता परमात्मा स्वर्गका स्थापक हुनुहुन्छ। स्वर्गमा हुन्छ
रजाइँ, त्यसैले उहाँलाई अवश्य सङ्गममा आउनुपर्छ। उहाँ सत्ययुगमा आउन सक्नुहुन्न।
त्यो प्रारब्ध, २१ जन्मको लागि वर्सा सङ्गममा नै मिल्छ। यो सङ्गमयुग हो
ब्राह्मणहरूको। ब्राह्मण हुन् चोटी, फेरि हुन्छ देवताहरूको युग। हरेक युग १२५०
वर्षको हुन्छ। अहिले ३ धर्मको स्थापना हुन्छ– ब्राह्मण, देवता, क्षत्रिय किनकि फेरि
आधाकल्प कुनै धर्म हुँदैन। सूर्यवंशी, चन्द्रवंशी पूज्य थिए फेरि पुजारी बन्न
पुग्छन्। ती ब्राह्मणहरू त भिन्न भिन्न प्रकारका हुन्छन्।
अहिले तिमीले राम्रो
कर्म गरिरहेका छौ जसको फेरि सत्ययुगमा प्रारब्ध प्राप्त गर्नेछौ। बाबाले राम्रो
कर्म सिकाउनु हुन्छ। तिमीलाई थाहा छ– हामीले श्रीमत अनुसार जस्तो कर्म गर्नेछौं,
अरूलाई आफूसमान बनाउनेछौं, त्यसको प्रारब्ध हामीलाई मिल्छ। अहिले सारा राजधानी
स्थापना हुन्छ। आदि सनातन देवी-देवता धर्मको राजधानी हुन्छ। यो हो प्रजाको प्रजामाथि
राज्य। यतिबेला पञ्चायती राज्य छ, अनेक पञ्च छन्। नत्र पाँच पञ्च हुन्छन्। यहाँ त
सबै पञ्चै पञ्च छन्। सो पनि आज छन्, भोलि छैनन्। आज मन्त्री हुन्छ, भोलि उसलाई
हटाइदिन्छन्। सम्झौता गरेर फेरि क्यान्सिल गरिदिन्छन्। यो हो अल्पकालको क्षणभङ्गुर
राज्य। कसैलाई पनि उतार्नमा ढिलो गर्दैनन्। कति विशाल दुनियाँ छ। अखबारहरूबाट केही
न केही थाहा हुन्छ। यति सबै अखबार त कसैले पढ्नसक्दैन। हामीलाई यस दुनियाँको
समाचारको आवश्यकता नै छैन। यो त जानेका छौं– देह सहित सबैथोक यस दुनियाँको समाप्त
हुँदैछ। बाबा भन्नुहुन्छ– केवल मलाई याद गर, तब मेरो पासमा आउँछौ। मृत्युको बेलामा
सारा साक्षात्कार हुन्छ। शरीर छोडेपछि फेरि आत्मा भट्किन्छ पनि। त्यस समयमा पनि
हिसाबकिताब भोग्नसक्छ। सबै साक्षात्कार हुन्छ। भित्र नै साक्षात्कार गर्छन्, भोगाइ
भोग्छन्, धेरै पछुताउँछन्– बेकार मैले यस्तो गरेछु। पश्चाताप हुन्छ नि। कोही जेल
बर्ड हुन्छन्, उनले भन्छन्, जेलमा खाना त मिल्छ। मतलब खाना खानुसँग काम छ, इज्जतको
परवाह गर्दैनन्। तिमीलाई त कुनै दु:ख छैन। बाबा हुनुहुन्छ, त्यसैले बाबाको श्रीमतमा
चल्नु छ। यस्तो पनि होइन, बाबाले कसैलाई दु:ख दिनुहुन्छ। उहाँ त हुनुहुन्छ नै
सुखदाता। आज्ञाकारी बच्चाहरूले त भन्नेछन्– बाबा जो हजुरले निर्देशन दिनुहुन्छ।
हजुरसँगै बसुँ... यो शिवबाबाको लागि गायन गरिएको हो। भागीरथ अथवा नन्दीगण पनि
प्रख्यात छ। लेखिएको छ नि, माताहरूको शिरमाथि कलश राख्नुभयो। उनले त फेरि गाई
देखाउँछन्। के के कुरा बनाइदिएका छन्। यस दुनियाँमा कोही सदा स्वस्थ हुनसक्दैन।
अनेक प्रकारका रोग छन्। त्यहाँ कुनै रोग हुँदैन। न कहिल्यै अकालमा मृत्यु हुन्छ।
समयमा साक्षात्कार हुन्छ। वृद्ध माताहरूलाई त खुशी हुन्छ। वृद्ध भएपछि खुशीसँग शरीर
छोड्छन्। साक्षात्कार हुन्छ– म गएर बच्चा बन्नेछु। अहिले तिमी जवानहरूलाई पनि यति
खुशी हुन्छ– मैले शरीर छोडेर राजकुमार बन्नेछु। बच्चा भए पनि जवान भए पनि मर्नु त
सबैलाई छ नि। त्यसैले सबैलाई यो नसा हुनुपर्छ– म गएर राजकुमार बन्दैछु। अवश्य जब
सेवा गर्नेछौ, तब बन्छौ। खुशी हुनुपर्छ– अब मैले पुरानो शरीर छोडेर बाबाको साथमा
जानेछु। बाबाले हामीलाई फेरि स्वर्गमा पठाइदिनु हुन्छ। सेवा गर्नुपर्छ। प्यारा
बच्चाहरूले गीत सुन्यौ। बाँसुरीवाला कृष्ण त होइनन्। मुरली त धेरैसँग हुन्छ। धेरै
राम्रो-राम्रो बजाउँछन्। यसमा मुरलीको कुरा छैन। तिमीले त भन्छौ– श्रीमत एक बाबाले
नै दिनुहुन्छ। श्रीकृष्णलाई त यो ज्ञान छँदै थिएन। यो सहज राजयोग र ज्ञान उनमा छँदै
थिएन। उनले राजयोग सिकाएका होइनन्। उनले त राजयोग सिकेका हुन् बाबाद्वारा। कति ठुलो
कुरा छ। जबसम्म कोही बच्चा बन्दैन तबसम्म बुझ्न पनि सक्दैन। अझै यसमा त फेरि
श्रीमतमा चल्ने कुरा छ। आफ्नो मतमा चलेर कहाँ उच्च पद पाउन सकिन्छ र! बाबालाई जसले
जानेको छ, उसले बाबाको परिचय अरूलाई पनि दिन्छ। बाबा र रचनाको परिचय दिनु छ। कसैलाई
बाबाको परिचय दिँदैन भने मानौँ स्वयंले पनि जानेको छैन। आफूलाई नसा चढेको छ भने
अरूलाई पनि चढाउनु छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा सदा श्रेष्ठ कर्म गर्नु छ। अरूको मतको प्रभावमा आउनु छैन। सपुत बनेर हर
आज्ञाको पालन गर्नु छ। जुन कुरा समझमा आउँदैन, त्यसलाई अवश्य रूजु (भेरिफाइ) गराउनु
छ।
२) सदा यसै नसा वा
खुशीमा रहनु छ– म यस पुरानो शरीर छोडेर राजकुमार बन्नेछु। नसामा रहेर ईश्वरीय सेवा
गर्नु छ।
वरदान:–
निन्दकलाई पनि
आफ्नो मित्र सम्झेर सम्मान दिने ब्रह्माबाबा समान माष्टर रचयिता भव
जसरी ब्रह्माबाबाले
स्वयंलाई विश्व सेवाधारी सम्झेर हरेकलाई सम्मान दिनुभयो, सदा मालेकम् सलाम गर्नुभयो।
यस्तो कहिल्यै पनि सोच्नुभएन– अरूले सम्मान दिए भने मैले दिनेछु। निन्दकलाई पनि
आफ्नो मित्र सम्झेर सम्मान दिनुभयो, त्यसैगरी बाबाको अनुसरण गर। सम्मान दिनेलाई
मात्र आफ्नो न सम्झ, तर गाली गर्नेलाई पनि आफ्नो सम्झेर सम्मान देऊ किनभने सारा
दुनियाँ नै तिम्रो परिवार हो। सर्व आत्माहरूको आधार तिमी ब्राह्मण हौ, त्यसैले
स्वयंलाई माष्टर रचयिता सम्झेर सबैलाई सम्मान देऊ तब देवता बन्छौ।
स्लोगन:–
मायालाई सदाको
लागि बिदाइ दिनेहरू नै बाबाको बधाईका पात्र बन्छन्।