08.12.19    Avyakt Bapdada     Nepali Murli    18.03.85     Om Shanti     Madhuban


सन्तुष्टता


आज दिलवाला बाबाले आफ्ना स्नेही दिलतख्तनशीन बच्चाहरूसँग दिलको रूह-रिहान गर्न आउनु भएको छ। दिलवाला आफ्ना सच्चा दिलवालाहरूसँग दिलको लेन-देन गर्न, दिलको हाल-चाल सुन्नको लागि आउनु भएको छ। रूहानी बाबाले रूहहरूसँग रूह-रिहान गर्नुहुन्छ। यो रूहको रूह-रिहान केवल यस समयमा मात्र अनुभव गर्न सक्छौ। तिमी रूहहरूमा यति स्नेहको शक्ति छ, जुन रूहका रचयिता बाबालाई रूह-रिहानको लागि निर्वाणबाट वाणीमा ल्याउँछौ। यस्ता श्रेष्ठ रूह हौ, जसले बन्धनमुक्त बाबालाई पनि स्नेहको बन्धनमा बाँधिदिन्छौ। दुनियाँले बन्धनबाट छुटाउनेवाला भनेर पुकारिरहेका छन्, यस्ता बन्धनमुक्त बाबा बच्चाहरूको स्नेहको बन्धनमा बाँधिनु भएको छ। बाँध्नमा होसियार छौ। जहिले याद गर्दा पनि बाबा हजिर हुनुहुन्छ नि, हजुर हाजिर हुनुहुन्छ। त्यसैले आज विशेष डबल विदेशी बच्चाहरूसँग रूह-रिहान गर्न आउनु भएको छ। अहिले सिजनमा विशेष पालो डबल विदेशीहरूको छ। धेरैजसो डबल विदेशीहरू नै आएका छन्। मधुबन निवासी त हौ नै मधुबनको श्रेष्ठ स्थानका निवासी। एकै स्थानमा बसेर विश्वका विभिन्न किसिमका आत्माहरूको मिलन मेला देख्नेवाला हौ। जो आउँछन् तिनीहरू त जान्छन् तर मधुबन निवासी त सदा रहन्छन्।

आज विशेष डबल विदेशी बच्चाहरूसँग सोधिरहनु भएको छ सबै सन्तुष्टमणि बनेर बापदादाको शिरमा चम्किरहेका छौ? सबै सन्तुष्टमणि हौ? सदा सन्तुष्ट छौ? कहिले स्वयंबाट असन्तुष्ट वा कहिले ब्राह्मण आत्माहरूसँग असन्तुष्ट वा कहिले आफ्नो संस्कारबाट असन्तुष्ट वा कहिले वायुमण्डलको प्रभावबाट असन्तुष्ट त हुँदैनौ नि! सदा सबै कुराबाट सन्तुष्ट छौ? कहिले सन्तुष्ट कहिले असन्तुष्टलाई सन्तुष्टमणि भनिन्छ? तिमीहरू सबैले भन्यौ नि हामी सन्तुष्टमणि हौं। फेरि यस्तो त भन्दैनौ हामी त सन्तुष्ट छौ तर अरूले असन्तुष्ट गर्छन्! जेसुकै होस् तर जो सन्तुष्ट आत्माहरू हुन्छन्, तिनीहरूले कहिल्यै पनि आफ्नो सन्तुष्टताको विशेषतालाई छोड्न सक्दैनन्। सन्तुष्टता ब्राह्मण जीवनको विशेष गुण भन वा खजाना भन, यो विशेष जीवनको श्रृङ्गार हो। जस्तै, कुनै प्रिय वस्तु छ भने प्रिय वस्तुलाई कहिल्यै छोड्दैनन् नि। सन्तुष्टता विशेषता हो। सन्तुष्टता ब्राह्मण जीवनको विशेष परिवर्तन दर्पण हो। साधारण जीवन र ब्राह्मण जीवन। साधारण जीवन अर्थात् कहिले सन्तुष्ट कहिले असन्तुष्ट। ब्राह्मण जीवनमा सन्तुष्टताको विशेषतालाई देखेर अज्ञानीहरू पनि प्रभावित हुन्छन्। यो परिवर्तन अनेक आत्माहरूलाई परिवर्तन गर्नको लागि निमित्त बन्छ। सबैको मुखबाट यही निक्लन्छ यिनीहरू सदा सन्तुष्ट अर्थात् खुशी रहन्छन्। जहाँ सन्तुष्टता हुन्छ त्यहाँ खुशी अवश्य हुन्छ। असन्तुष्टताले खुशीलाई गायब गरिदिन्छ। यही ब्राह्मण जीवनको महिमा हो। सदा सन्तुष्टता भएन भने साधारण जीवन हुन्छ। सन्तुष्टता सफलताको सहज आधार हो। सन्तुष्टता सर्व ब्राह्मण परिवारसँग स्नेही बनाउने श्रेष्ठ साधन पनि हो। जो सन्तुष्ट रहन्छ उस प्रति स्वत: नै सबैको स्नेह रहन्छ। सन्तुष्ट आत्मालाई सदा सबैले स्वयं नै समीप ल्याउन वा हरेक श्रेष्ठ कार्यमा सहयोगी बनाउन प्रयत्न गर्छन्। तिनीहरूलाई मेहनत गर्न पर्दैन हामीलाई समीप ल्याऊ, मलाई सहयोगी बनाऊ वा मलाई विशेष आत्माहरूको लिस्टमा ल्याऊ भनेर। सोच्न पनि पर्दैन। भन्न पनि पर्दैन। सन्तुष्टताको विशेषताले आफै हरेक कार्यमा गोल्डन चान्सलर बनाइदिन्छ। स्वत: नै कार्य अर्थ निमित्त बनेका आत्माहरूलाई सन्तुष्ट आत्माप्रति संकल्प आउँछ नै र मौका पनि मिलिरहन्छ। सन्तुष्टताले सदा नै सबैको स्वभाव संस्कारलाई मिलाउँछ। सन्तुष्ट आत्मा कहिल्यै कसैको पनि स्वभाव संस्कारबाट आत्तिदैन। यस्तो सन्तुष्ट आत्मा बनेका छौ नि? जसरी भगवान तिम्रो पासमा आउनु भयो, तिमी गएका होइनौ। भाग्य स्वयं तिम्रो पासमा आयो। घर बसेरै भगवान मिल्नु भयो, भाग्य मिल्यो। घर बसेरै सर्व खजानाको चाबी मिल्यो। जब चाहन्छौ, जे चाहन्छौ खजाना तिम्रो हो किनकि अधिकारी बनेका छौ नि। त्यसैले यसरी सबैको समीप आउने, सेवामा समीप आउने मौका पनि स्वत: नै मिल्छ। विशेषताले स्वयं नै अगाडि बढाउँछ। जो सदा सन्तुष्ट रहन्छ उससँग सबैको स्वत: नै दिलको प्यार हुन्छ, बाहिरको प्यार होइन। एउटा हुन्छ कसैलाई राजी गर्नको लागि बाहिरी प्यार गर्नु। एउटा हुन्छ दिलको प्यार। दु:ख नमानोस् त्यसको लागि पनि प्यार गर्नु पर्ने हुन्छ। तर तिनीहरू प्यारलाई सदा लिने पात्र बन्दैनन्। सन्तुष्ट आत्मालाई सदा सबैको दिलको प्यार मिल्छ। चाहे कोही नयाँ होस् वा पुरानो होस्, कसैले परिचयको रूपले जानेको होस् वा नजानेको होस् तर सन्तुष्टताले त्यो आत्माको पहिचान दिलाउँछ। हरेकको दिल हुन्छ यससँग कुरा गरौं, यो सँग बसौं भन्ने। त्यसैले यस्तो सन्तुष्ट छौ? पक्का छौ नि! यस्तो त भन्दैनौ बनिरहेका छौं। होइन। बनिसकेको छौं।

सन्तुष्ट आत्माहरू सदा मायाजित हुन्छन् नै। यो मायाजीतहरूको सभा हो नि। मायासँग डराउनेवाला त होइनौ नि। माया कसको पासमा आउँछ? सबैको पासमा त आउँछ नि! यस्तो कोही छ जसले भनोस् माया आउँदै आउँदैन। आउँछ सबैको पासमा तर कोही डराउँछन्, कसैले चिन्छन् त्यसैले जोगिन्छन्। मर्यादाको रेखाभित्र रहने बाबाका आज्ञाकारी बच्चाहरूले मायालाई टाढैबाट चिन्छन्। चिन्नमा ढिलो गर्छन् वा गल्ती गर्छन् तब मायासँग डराउँछन्। जसरी यादगारमा कहानी सुनाउँछन् सीताले किन धोका खाइन्? किनकि चिनिनन्। मायाको स्वरूपलाई नचिनेको कारणले धोका खाइन्। यदि यो ब्राह्मण होइन, भिखारी होइन रावण हो भनेर चिनेको भए शोक बाटिकाको यति अनुभव गर्न पर्ने थिएन। तर ढिलो चिनिन् त्यसैले धोका खाइन् र धोकाको कारणले दु:ख भोग्न पर्यो। योगीबाट वियोगी बनिन्। सदा साथ रहनबाट दूर भइन्। प्राप्ति स्वरूप आत्माबाट पुकार गर्ने आत्मा बनिन्। कारण? पहिचानको कमी। मायाको रूपलाई चिन्ने शक्ति कम भएको कारणले मायालाई भगाउनुको सट्टा स्वयं डराउँछन्। पहिचान कम किन हुन्छ? समयमा पहिचान हुँदैन, पछि आउँछ। यसको कारण? किनकि सदा बाबाको श्रेष्ठ मतमा चल्दैनन्। कुनै समयमा याद गर्छन् कुनै समय गर्दैनन्। कुनै समय उमंग-उत्साहमा रहन्छन् कुनै समयमा रहँदैनन्। जसले सदाको आज्ञालाई उल्लंघन गर्छन् अर्थात् आज्ञाको रेखा भित्र नरहने कारणले मायाले समयमा धोका दिन्छ। मायासँग चिन्ने शक्ति धेरै हुन्छ। मायाले हेर्छ यस समयमा यो कमजोर भएको छ र यस प्रकारको कमजोरीद्वारा यसलाई आफ्नो बनाउन सकिन्छ। माया आउने मार्ग नै हो कमजोरी। थोरै पनि मार्ग मिल्यो भने तुरुन्तै पुग्छ। जसरी आजकल डाँकुले के गर्छन् ढोका बन्द भए पनि भेन्टीलेटरबाट पनि आउँछन् नि। अलिकति संकल्प मात्र पनि कमजोर हुनु अर्थात् मायालाई मार्ग दिनु हो। त्यसैले मायाजित बन्ने सहज साधन हो, सदा बाबाको साथ रहने गर। साथ रहनु अर्थात् स्वत: नै मर्यादाको रेखा भित्र रहनु। एक-एक विकारको पछाडि विजयी बन्ने मेहनत गर्नबाट छुट्छौ। साथ रह्यौ भने स्वत: नै जस्तो बाबा त्यस्तै तिमी हुन्छौ। सङ्गको रङ्ग स्वत: नै लाग्छ। बीजलाई छोडेर केवल हाँगाहरूलाई काट्ने मेहनत नगर। आज कामजित बन्ने भोलि क्रोधजित बन्ने, होइन। हौ नै सदा विजयी। जब बीजरूपद्वारा बीजलाई खतम गर्छौ तब बारम्बार मेहनत गर्नबाट स्वत: नै छुट्छौ। केवल बीजरूपलाई साथ राख। तब मायाको बीज यसरी भस्म हुन्छ फेरि कहिल्यै पनि त्यो बीजबाट अंश पनि निक्लन सक्दैन। त्यसै पनि आगोमा जलेको बीजबाट कहिल्यै पनि फल निक्लन सक्दैन।

त्यसैले साथ रह्यौ, सन्तुष्ट रह्यौ भने मायाले के गर्न सक्छ! समर्पण हुन्छ। मायालाई समर्पण गराउन आउँदैन? यदि स्वयं समर्पण छौ भने माया त्यस्ताको अगाडि समर्पण हुन्छ। मायालाई समर्पण गराइसक्यौ वा अब तयारी गरिरहेका छौ? के हाल-चाल छ? जसरी आफ्नो समर्पण समारोह मनाउँछौ त्यसैगरी मायालाई समर्पण गराएको समारोह मनायौ वा अब मनाउने हो? होली भयौ अर्थात् समारोह भयो, जलिसक्यो। फेरि त्यहाँ गएर यस्तो पत्र त लेख्दैनौ के गर्ने, माया आयो। खुशीको खबर लेख्छौ नि। कति समर्पण समारोह मनायौ? आफ्नो त भयो तर अरू आत्माद्वारा पनि मायालाई समर्पण गराउनु। यस्तो समाचार लेख्छौ नि!

जसरी उमंग-उत्साहले आएका छौ, त्यसैगरी बापदादाले पनि सदा बच्चाहरूलाई यस्तै उमंग-उत्साहले सदा सन्तुष्ट रूपमा देख्न चाहनुहुन्छ। लगन त छँदै छ। लगनको निशानी हो यति दूरबाट पनि समीप पुगेका छौ। दिन रात लगनले दिन गनी गनी यहाँ पुग्यौ। लगन नभएको भए पुग्न पनि मुस्किल हुन्थ्यौ। लगन छ यसमा त पास छौ। पास भएको प्रमाण पत्र मिल्यो नि। हरेक विषयमा पास। फेरि पनि बापदादाले बच्चाहरूलाई स्याबासी दिनुहुन्छ किनकि पहिचान गर्ने नजर तेज छ। दूर भएर पनि बाबालाई चिन्यौ। साथमा अर्थात् देशमा रहनेहरूले चिन्न सकेनन्। तर तिमीहरूले दूर बसेर पनि पहिचान गर्यौ। चिनेर बाबालाई आफ्नो बनायौ अथवा बाबाको बन्यौ। यसको लागि बापदादाले विशेष स्याबासी दिनुहुन्छ। जसरी पहिचान गर्नमा अगाडि गयौ, त्यसैगरी मायाजित बन्नमा पनि नम्बरवन बनेर सदा बाबाको स्याबासी लिन योग्य अवश्य बन्ने छौ, जसले गर्दा बापदादाले कुनै पनि मायासँग आत्तिने आत्मालाई तिमीहरूसँग पठाएर भन्न सक्नु हुनेछ यी बच्चाहरूसँग गएर मायाजित बन्ने अनुभव सोध। यस्तो उदाहरण बनेर देखाऊ। जसरी मोहजित परिवार प्रसिद्ध छ, त्यसैगरी मायाजित सेन्टर प्रसिद्ध होस्। त्यो यस्तो सेन्टर होस् जहाँ मायाको कहिल्यै आक्रमण नहोस्। आउनु बेग्लै कुरा हो, आक्रमण गर्नु बेग्लै कुरा हो। त्यसैले यसमा पनि नम्बर लिनेवाला हौ नि। यसमा नम्बरवन को बन्छ? लण्डन, अस्ट्रेलिया वा अमेरिका बन्छ? पेरिस बन्छ, जर्मन बन्छ, ब्राजील बन्छ, को बन्छ? जो बने पनि, बापदादाले यस्तो चैतन्य म्युजियम भनेर घोषणा गर्नु हुनेछ। जसरी आबूको म्युजियमलाई नम्बरवन भन्छन्। सेवामा पनि, सजावटमा पनि। त्यस्तै मायाजित बच्चाहरूको चैतन्य म्युजियम होस्। हिम्मत छ नि? त्यसको लागि अब कति समय चाहिन्छ? गोल्डन जुबलीमा पनि तिनीहरूलाई पुरस्कार दिइनेछ जसले पहिला नै केही गरेर देखाउने छन्। लास्ट सो फास्ट भएर देखाऊ। भारतकाले पनि रेस गरून्। तर तिमीहरू, तिनीहरू भन्दा पनि अगाडि जानु। बापदादाले सबैलाई अगाडि जाने मौका दिइरहनु भएको छ। ८ नम्बरमा आउनु। आठलाई नै पुरस्कार मिल्ने छ। यस्तो होइन केवल एकलाई मात्र मिल्छ। यस्तो त सोच्दैनौ लण्डन र अस्ट्रेलिया त पुराना हुन्। हामी त अहिले नयाँ-नयाँ छौं। सबैभन्दा सानो र नयाँ कुनचाहिँ सेन्टर हो? सबैभन्दा सानो जुन हुन्छ, त्यो सबैलाई प्यारो हुन्छ। त्यसै पनि सानालाई भनिन्छ ठूला त ठूला, साना बाबा समान हुन्छन्। सबैले गर्न सक्छन्। कुनै ठूलो कुरा होइन। ग्रीस, टैम्पा, रोम यी साना छन्। यिनीहरू त धेरै उमंगमा रहनेहरू हुन्। टैम्पाले के गर्छ? टेम्पल बनाउँछ? ती रमणीक बच्ची आएकी थिइन नि, तिनलाई भनिएको थियो टैम्पालाई टेम्पल बनाउनको लागि। जति पनि टैम्पामा आउनेछन् हरेकले चैतन्य मूर्तिलाई देखेर हर्षित होऊन्। तिमी शक्तिशालीहरू तयार होऊ। केवल तिमी राजाहरू तयार हुनु फेरि प्रजा त तुरुन्तै बन्छन्। राजपरिवार बन्नमा समय लाग्छ। यो राजपरिवार, राजधानी बनिरहेको छ। फेरि प्रजाहरू त प्रशस्तै आउनेछन्। यति आउनेछन् जुन तिमीहरूले हेरी-हेरी दिक्क हुने छौ। भन्ने छौ बाबा पुग्यो अब बन्द गर्नुहोस् तर पहिला राज्य अधिकारी तख्तनशीन त बन्नु पर्यो नि। ताजधारी तिलकधारी बनुन् तब त प्रजाहरूले पनि जी हजुर गर्नेछन्। ताजधारी भएनौ भने प्रजाले कसरी मान्छन् यी राजा हुन् भनेर। राजपरिवार बन्न समय लाग्छ। तिमीहरू राम्रो समयमा पुगेका छौ जुन राजपरिवारमा आउने अधिकारी हौ। अब प्रजाको समय आउनेवाला छ। राजा बन्ने निशानी जान्दछौ नि। अहिलेबाटै स्वराज्य अधिकारी सो विश्व राज्यअधिकारी बन। अहिलेबाटै राज्य अधिकारी बन्नेहरूको समीप र सहयोगी बन्नेहरू त्यहाँ पनि समीप र राज्य चलाउनमा सहयोगी बन्नेछन्। अहिले सेवामा सहयोगी हुन्छन् फेरि राज्य चलाउनमा पनि सहयोगी बन्छन्। त्यसैले अहिलेबाटै जाँच गर। राजा हुँ वा कहिले राजा कहिले प्रजा बन्छु? कहिले अधिन कहिले अधिकारी। सदाको राजा हौ? त्यसैले तिमी कति भाग्यशाली छौ। यो नसोच्नु म त पछि आएको हुँ। त्यो त पछि आउनेले सोच्न पर्छ। तिमीहरू त राम्रो समयमा पुगेका छौ त्यसैले भाग्यशाली हौ। यो नसोच्नु म पछि आएको हुँ, राजा बन्न सक्छु वा सक्दिन? राजपरिवारमा आउन सक्छु वा सक्दिन! सदा यो सोच म नआए को आउँछ? आउनु नै छ। थाहा छैन, यो गर्न सक्छु वा सक्दिन। थाहा छैन, यो हुन्छ वा हुँदैन...। यस्तो होइन। जानेका छौ हामीले हरेक कल्प गरेका हौं, गरिरहेका छौं र सदा गरिरहन्छौं। बुझ्यौ!

कहिल्यै यो पनि नसोच्नु हामी विदेशी हौं, यिनीहरू देशी हुन्। यिनीहरू इण्डियन हुन्, हामी विदेशी हौं। हाम्रो तरिका आफ्नो छ यिनीहरूको आफ्नो छ। यो त केवल परिचयको लागि डबल विदेशी भनिन्छ। जसरी यहाँ पनि भन्छन् यी कर्नाटकका हुन्, यिनीहरू यू.पी. का हुन्। हौ त ब्राह्मण नै। चाहे इन्डियन हौ, चाहे विदेशी हौ, सबै ब्राह्मण हौ। हामी विदेशी हुँ यो सोच्नु पनि गलत हो। नयाँ जन्म लिएका छैनौ र? पुरानो जन्म त विदेशमा थियो। नयाँ जन्म त ब्रह्माको काखमा भयो नि। यो त केवल परिचयको लागि भनिन्छ। तर संस्कारमा वा बुझ्नमा कहिल्यै अलग नसम्झिनु। ब्राह्मण वंशका हौ नि! अमेरिका, अफ्रीका वंशका त होइनौ नि। सबैको परिचय के दिन्छौ? शिववंशी ब्रह्मा कुमार कुमारीहरू। एउटै वंशका भयौ नि। कहिल्यै पनि बोल्नमा फरक नराख। इण्डियनले यस्तो गर्छन्, विदेशीले यस्तो गर्छन्, होइन। हामी एक हौं। बाबा एक हुनुहुन्छ। मार्ग एउटै छ। रीति-रिवाज एउटै छ। स्वभाव संस्कार एउटै छ। फेरि देशी र विदेशीको अन्तर कहाँबाट आयो? आफूलाई विदेशी भन्नाले टाढाको हुन्छौ। हामी ब्रह्मावंशी सबै ब्राह्मण हौं। हामी विदेशी हौ, हामी गुजराती हौ... त्यसैले यस्तो हुन्छ। होइन। सबै एउटै बाबाका हौ। यही त विशेषता हो, जुन भिन्न-भिन्न संस्कारका मिलेर एक भएका छौ। भिन्न-भिन्न धर्म, भिन्न-भिन्न जाति-पाति सबै समाप्त भयो। एउटाको भयौ अर्थात् एक भयौ। बुझ्यौ! अच्छा।

सदा सन्तुष्टताको विशेषता भएका विशेष आत्माहरूलाई, सदा सन्तुष्टताद्वारा सेवामा सफलता प्राप्त गर्ने बच्चाहरूलाई, सदा राज्य अधिकारी सो विश्व राज्य अधिकारी श्रेष्ठ आत्माहरूलाई, सदा निश्चयद्वारा हरेक कार्यमा नम्बरवन बन्ने बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:
साधनहरूलाई निर्लेप वा न्यारा बनेर कार्यमा लगाउने वेहदको वैरागी भव

बेहदको वैरागी अर्थात् कसैमा पनि लगाव नभएको, सदा बाबाको प्यारो। यो प्यारापनले नै न्यारा बनाउँछ। बाबाको प्रिय भएनौ भने न्यारा पनि बन्न सक्दैनौ। लगावमा आउँछौ। जो बाबाको प्रिय हुन्छ, ऊ सर्व आकर्षणबाट पर अर्थात् न्यारा हुन्छ। यसलाई नै भनिन्छ निर्लेप स्थिति। कुनै पनि हदको आकर्षणको लेपमा आउनेवाला होइन। रचना र साधनलाई निर्लेप भएर कार्यमा ल्याऊ यस्ता बेहदका वैरागी नै राजऋषि हुन्।

स्लोगन:
दिलको सच्चाई-सफाई भयो भने साहेब राजी हुनुहुन्छ।