09.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– मरजीवा
बनेका छौ त्यसैले सबै कुरा बिर्सिदेऊ। एक बाबाले जे सुनाउनुहुन्छ , त्यही सुन र
बाबालाई याद गर , हजुरसँगै बसुँ...।”
प्रश्न:–
सदगतिदाता
बाबाले बच्चाहरूको सदगतिको लागि कुनचाहिँ शिक्षा दिनुहुन्छ?
उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! सदगतिमा जानको लागि अशरीरी बनेर बाबा र चक्रलाई
याद गर। योगबाट तिमी सदा स्वस्थ, निरोगी बन्छौ। फेरि तिमीले कुनै पनि दु:ख भोग्नु
पर्दैन।
प्रश्न:–
जसको तकदिरमा
स्वर्गको सुख छैन‚ त्यसको निशानी के हुन्छ?
उत्तर:–
उसले ज्ञान सुन्नको लागि मलाई फुर्सदै छैन भन्छ। ऊ कहिल्यै ब्राह्मण कुलको सदस्य
बन्दैन। उसलाई थाहै हुदैन भगवान पनि कुनै रूपमा आउनुहुन्छ।
गीत:–
तुम्हारे
बुलाने को जी चाहता है.....
ओम् शान्ति ।
भगवान बसेर
भक्तहरूलाई सम्झाउनुहुन्छ। भक्त हुन् भगवानका बच्चाहरू। सबै हुन् भक्त, बाबा
हुनुहुन्छ एक। त्यसैले बच्चाहरूले चाहन्छन् एक जन्म त बाबाको साथमा पनि बसेर हेरौं।
देवताहरूसँग पनि धेरै जन्म बिते। आसुरी सम्प्रदायको साथमा पनि धेरै जन्म बिते। अब
भक्तहरूको दिल हुन्छ– एक जन्म त भगवानको बनेर भगवानको साथमा रहेर हेरौं। अहिले तिमी
भगवानको बनेका छौ, मरजीवा बनेका छौ त्यसैले भगवानको साथमा रहन्छौ। यो जुन अमूल्य
अन्तिम जन्म छ, यसमा तिमी परमपिता परमात्माको साथमा रहन्छौ। गायन पनि छ– हजुरसँगै
खाउँ, हजुरसँगै बसुँ, हजुरसँगै सुनुँ...। जो मरजीवा बन्छन्, उनीहरू यो जन्म साथमा
रहन्छन्। यो एउटै उच्चभन्दा उच्च जन्म हो । बाबा पनि एकै पटक आउनुहुन्छ, फेरि
कहिल्यै आउन सक्नुहुन्न। एकै पटक आएर बच्चाहरूको सर्व कामनाहरू पूर्ण गर्नुहुन्छ।
भक्तिमार्गमा धेरै माग्छन्। साधु-सन्त, महात्मा, देवी-देवता आदिसँग आधाकल्प देखि
मागिरहन्छन् अनि जप, तप, दान, पुण्य आदि पनि जन्म-जन्म गर्दै आएका छन्। कति शास्त्र
पढ्छन्। अनेकानेक शास्त्र, पत्रिका आदि बनाएर पनि थाक्दैनन्। सम्झन्छन् यिनीहरूबाट
नै भगवान मिल्नुहुन्छ, तर अहिले बाबा स्वयं भन्नुहुन्छ– तिमीले जन्म-जन्मान्तर जे
कुरा पढेका छौ र अहिले यो जुन शास्त्र आदि पढ्छौ, यिनीहरूबाट मलाई प्राप्त हुँदैन।
धेरै किताब आदि छन्। क्रिश्चियनहरूले पनि कति सिक्छन्। अनेक भाषामा धेरै कुरा
लेखिरहन्छन्। मनुष्यहरूले पढि नै रहन्छन्। अब बाबा भन्नुहुन्छ– जे कुरा पढेका छौ,
त्यो सबै बिर्स अथवा बुद्धिबाट हटाइदेऊ। धेरै किताब पढ्छन्। किताबमा हुन्छ फलानो
भगवान हो, फलानो अवतार हो। अब बाबा भन्नुहुन्छ– म स्वयं आउँछु, त्यसैले जो मेरो
बन्छन् उनलाई मैले भन्छु यी सबैलाई बिर्स। सारा दुनियाँको र तिम्रो बुद्धिमा जुन
कुरा थिएन, त्यो अब म तिमीलाई सुनाउँछु। अब तिमी बच्चाहरूले बुझेका छौ– वास्तवमा
बाबाले जे सम्झाउनुहुन्छ, त्यो कुनै शास्त्र आदिमा छैन। बाबाले धेरै गहन र रमणिक
कुरा सम्झाउनुहुन्छ। ड्रामाको आदि-मध्य-अन्त्य, रचयिता र रचनाको सारा समाचार
तिमीलाई सुनाउनुहुन्छ। फेरि पनि भन्नुहुन्छ– ठीकै छ धेरै भएन भने दुई शब्द नै याद
गर– मनमनाभव, मध्याजीभव। यी शब्द त भक्तिमार्गका गीताका हुन्, तर बाबाले यसको अर्थ
राम्रोसँग सम्झाउनुहुन्छ। भगवानले त सहज राजयोग सिकाउनु भएको हो, भन्नुहुन्छ– केवल
म बाबालाई याद गर। भक्तिमा पनि तिमीले धेरै याद गर्थ्यौ। गायन पनि गर्छन्– दु:खमा
स्मरण गर्छन् सबैले... तैपनि केही बुझ्दैनन्। वास्तवमा सत्ययुग-त्रेतामा सुखको
दुनियाँ हुन्छ, त्यसैले बाबालाई किन याद गर्छन् र? अहिले मायाको राज्यमा दु:ख छ,
त्यसैले बाबालाई याद गर्नु पर्छ र फेरि सत्ययुगको अथाह सुख पनि याद आउँछ। त्यस सुखको
दुनियाँमा उनै थिए, जसले बाबाद्वारा सङ्गमयुगमा राजयोग र ज्ञान सिकेका थिए।
बच्चाहरूमा हेर– कस्ता अनपढ पनि छन्। उनीहरूको लागि त झनै राम्रो छ, किनकि कहीँ पनि
बुद्धि जादैन। यहाँ त केवल मौन रहनु छ। मुखबाट केही पनि बोल्नु छैन। केवल बाबालाई
याद गरिरह्यौ भने विकर्म विनाश हुन्छ। फेरि साथमा लिएर जान्छु। यी कुरा केही न केही
गीतामा पनि छन्। प्राचीन भारतको धर्मशास्त्र हो नै एक। यही दुनियाँ नयाँ थियो, अहिले
पुरानो भएको छ। शास्त्र त एउटै हुनपर्छ नि। जसरी बाइबल एक छ‚ जहिले देखि क्रिश्चियन
धर्म स्थापन भयो त्यसपछि अन्त्यसम्म उनको शास्त्र एउटै हुन्छ। क्राइस्टको पनि धेरै
महिमा गर्छन्। भन्छन् उनले शान्ति स्थापना गरे। तर उनले त आएर क्रिश्चियन धर्मको
स्थापना गरे, त्यसमा शान्तिको त कुरै छैन। जो आउँछन् उनको महिमा गरिरहन्छन् किनकि
आफ्नो महिमालाई बिर्सेका छन्। बौद्ध, क्रिश्चियन आदिले आफ्नो धर्मलाई छोडेर अरूको
महिमा गर्दैनन्। हिन्दुहरूको त आफ्नो धर्म छँदैछैन। यो पनि ड्रामामा निश्चित छ। जब
बिलकुलै नास्तिक बन्छन् अनि फेरि बाबा आउनुहुन्छ।
बाबा सम्झाउनुहुन्छ–
प्यारा बच्चाहरू! विद्यालय आदिमा जुन किताबहरू पढाइन्छ, तिनमा फेरि पनि
लक्ष्य-उद्देश्य छ। फाइदा हुन्छ‚ कमाइ हुन्छ। पद मिल्छ। तर जुन शास्त्र आदि पढ्छन्‚
त्यसलाई अन्धश्रद्धा भनिन्छ। पढाइलाई कहिल्यै पनि अन्धश्रद्वा भनिदैन। यस्तो होइन
अन्धश्रद्धापूर्वक पढ्छन्। पढाइबाट वकिल‚ इन्जिनियर आदि बन्छन्‚ त्यसलाई अन्धश्रद्धा
कसरी भनिन्छ। यो पनि पाठशाला हो। यो कुनै सतसङ्ग होइन। लेखिएको छ– ईश्वरीय विश्व
विद्यालय। त्यसैले बुझ्नु पर्छ वास्तवमा ईश्वरको धेरै ठूलो विद्यालय हुनुपर्छ। त्यो
पनि विश्व कै लागि हो। सबैलाई सन्देश पनि दिनु छ– देह सहित सबै धर्मलाई छोडेर आफ्नो
स्वधर्ममा टिकेर आफ्ना बाबालाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। कति समय म
योगमा रहन्छु? आफ्नो यो चार्ट लेख्नु पर्छ। यस्तो होइन हरेकले नियमित रूपमा चार्ट
लेख्छन्। तिनीहरू थाक्छन्। वास्तवमा के गर्नु पर्छ? दिनहुँ आफ्नो मुख ऐनामा हेर्नु
पर्छ‚ अनि थाहा हुन्छ– म लक्ष्मीलाई वा सीतालाई वरण गर्न लायक छु वा प्रजामा जान्छु?
पुरुषार्थ तीव्र बनाउनको लागि तिमीलाई चार्ट लेख्न भनिन्छ, मैले कति समय शिवबाबालाई
याद गरेँ, यो हेर्न पनि सकिन्छ। सारा दिनचर्या सामुन्ने आउँछ। जसरी बाल्यावस्था देखि
लिएर जीवनको सारा उमेर याद आउँछ नि! के एक दिनको याद आउँदैन। हेर्नु पर्छ– मैले
बाबालाई र चक्रलाई कति समय याद गर्छु? यस्तो अभ्यास गर्नाले रुद्र मालामा उनिनको
लागि छिटो रेस गर्न सक्छौ। यो हो योगको यात्रा‚ जसलाई अरू कसैले जान्दैनन् भने
सिकाउन कसरी सक्छन्? तिमीलाई थाहा छ– अब बाबाको पासमा फर्किनु छ। बाबाको वर्सा हो
नै रजाइँ त्यसैले यसको नाम राखिएको छ राजयोग।
तिमीहरू सबै राजऋषि
हौ। उनीहरू हुन् हठयोग ऋषि। उनीहरू पनि पवित्र रहन्छन्। रजाइँमा त राजा, रानी प्रजा
सबै चाहिन्छ। संन्यासीहरूमा त राजा-रानी हुँदैनन्। उनीहरूको हो हदको वैराग्य‚ तिम्रो
हो बेहदको वैराग्य। उनीहरू घरबार छोडेर फेरि पनि यस विकारी दुनियाँमा नै रहन्छन्।
तिम्रो लागि त यस दुनियाँ पछि फेरि हुन्छ स्वर्ग‚ दैवी बगैंचा। त्यसैले त्यही याद
आउँछ। यी कुरा तिमी बच्चाहरूले नै बुद्धिमा राख्न सक्छौ। धेरै छन् जसले चार्ट लेख्न
पनि सक्दैनन्। चल्दा चल्दै थाक्छन्। बाबा भन्नुहुन्छ− प्यारा बच्चाहरू! आफूसँग नोट
राख– कति समय परमप्रिय बाबालाई याद गरेँ? जुन बाबाको यादद्वारा नै वर्सा लिनु छ।
रजाइँको वर्सा लिनको लागि प्रजा पनि बनाउनु पर्छ। बाबा स्वर्गका रचयिता हुनुहुन्छ
त्यसैले उहाँद्वारा किन स्वर्गको वर्सा मिल्दैन। धेरै छन् जसलाई स्वर्गको वर्सा
मिल्छ। अरूलाई शान्ति मिल्छ। बाबाले सबैलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू! देह सहित
देहका सबै सम्बन्धलाई बिर्स। तिमी अशरीरी आएका थियौ‚ ८४ जन्म भोग्यौ अब फेरि अशरीरी
बन। क्रिश्चियन धर्मावलम्वीलाई पनि भन्नुहुन्छ– तिमी क्राइस्ट आएपछि आएका हौ। तिमी
पनि बिना शरीर आएका थियौ‚ यहाँ शरीर लिएर पार्ट खेल्यौ‚ अब तिम्रो पार्ट पूरा हुन्छ।
कलियुगको अन्त्य आएको छ। अब तिमीले बाबालाई याद गर‚ मुक्तिधामवाला सुनेर धेरै खुशी
हुन्छन्। उनीहरूले चाहन्छन् नै मुक्ति। सम्झन्छन्– जीवनमुक्ति (सुख) पाएर फेरि पनि
दु:खमा आउँछौं‚ यो भन्दा त मुक्ति राम्रो। यो जानेका छैनन्– त्यहाँ धेरै सुख हुन्छ,
हामी आत्माहरू परमधाममा बाबाको साथ रहन्छौं। तर परमधामलाई अहिले बिर्सिएका छौं।
भन्छन् बाबाले सबै सन्देशवाहकलाई पठाउनुहुन्छ। वास्तवमा कसैले पठाउँदैन। यो सबै
ड्रामा बनेको छ। हामीले त ड्रामाको सबै कुरा बुझेका छौं। तिमी बच्चाहरूको बुद्धिमा
बाबा र चक्रको याद छ‚ त्यसैले तिमी चक्रवर्ती राजा बन्छौ। मनुष्यले त सम्झन्छन्– यहाँ
दु:ख धेरै छ त्यसैले मुक्ति चाहन्छन्। यी दुई शब्द गति र सदगति चल्दै आउँछ। तर यसको
अर्थ कसैले पनि जानेको छैन। तिमी बच्चाहरूलाई थाहा छ–सबैका सदगतिदाता एक बाबा नै
हुनुहुन्छ‚ बाँकी सबै पतित हुन्। दुनियाँ नै सारा पतित छ। यो शब्द भन्दा पनि कोही
कोही रिसाउँछन्। बाबा भन्नुहुन्छ– यस शरीरलाई बिर्स। तिमीलाई अशरीरी पठाएको थिएँ।
अब फेरि अशरीरी बनेर मसँगै जानु छ। यसलाई नलेज अथवा शिक्षा भनिन्छ। यो शिक्षाद्वारा
नै सदगति हुन्छ। योगद्वारा तिमी सदा स्वस्थ बन्छौ। तिमी सत्ययुगमा धेरै सुखी थियौ।
कुनै चीजको कमी थिएन। दु:ख दिने कुनै विकार थिएन। मोहजित राजाको कथा सुनाउँछन्। बाबा
भन्नुहुन्छ– मैले तिमीलाई यस्तो कर्म सिकाउँछु‚ जसबाट तिमीले कहिल्यै दु:ख भोग्नु
पर्दैन। त्यहाँ यस्तो चिसो पनि हुँदैन। अहिले त ५ तत्त्व पनि सतोप्रधान छन्। कहिले
धेरै गर्मी‚ कहिले चिसो। त्यहाँ यस्ता विपदहरू हुँदैनन्। सदैव बसन्त ऋतु हुन्छ।
प्रकृति सतोप्रधान हुन्छ। अहिले प्रकृति तमोप्रधान छ। त्यसैले राम्रा मानिस कसरी
हुन सक्छन्। यति ठूला-ठूला मानिसहरू संन्यासीको पछि घुमिरहन्छन्। उनीहरूसँग बच्चीहरू
गए भने भन्छन् फुर्सत छैन। यसबाट बुझिन्छ यिनको तकदिरमा स्वर्गको सुख छैन। ब्राह्मण
कुलको बन्दै बन्दैनन्‚ उनीहरूलाई थाहै छैन भगवान कसरी र कहिले यहाँ आउनुहुन्छ!
शिवजयन्ती मनाउँछन् तर शिवलाई सबैले भगवान मान्दैनन्। यदि उहाँलाई परमपिता परमात्मा
मानेको भए त शिवजयन्तीको दिन बिदा मनाउँथे। बाबा भन्नुहुन्छ– मेरो जन्म पनि यहाँ
हुन्छ। मन्दिर पनि यहाँ छन्। अवश्य कुनै शरीरमा प्रवेश गरेको थिएँ। देखाउँछन्– दक्ष
प्रजापिताले यज्ञ रचे। के म उनमा आएँ होला त! यसो पनि भन्दैनन्। कृष्ण त हुन्छन् नै
सत्ययुगमा। बाबा स्वयं भन्नुहुन्छ– मैले ब्रह्मा मुखद्वारा ब्राह्मण वंशावली रचना
गर्नु पर्छ। कसैलाई पनि तिमीले यो कुरा बुझाउन सक्छौ‚ बाबाले कति सहज सम्झाउनु
हुन्छ– केवल याद गर। तर माया यति प्रबल छ, जसले याद गर्न दिदैन। आधाकल्पको दुश्मन
हो। यस दुश्मन माथि विजय पाउनु छ। भक्तिमार्गमा मनुष्यले चिसोमा स्नान गर्न जान्छन्।
कति धक्का खान्छन्। दु:ख सहन गर्छन्। यो त पाठशाला हो‚ पढ्नु पर्छ‚ यसमा धक्का खाने
त कुनै कुरै छैन। पाठशालामा अन्धविश्वासको त कुरा हुँदैन। मनुष्य त धेरै
अन्धविश्वासमा फसेका छन्। कति गुरु आदि बनाउँछन्। तर मनुष्यले त कहिल्यै सदगति गर्न
सक्दैन। जसले पनि मनुष्यलाई गुरु बनाउँछन्‚ त्यो अन्धविश्वास भयो नि। आजभोलि साना
बच्चालाई पनि गुरु बनाउँछन्। नत्र नियम छ वानप्रस्थमा गुरु बनाउने। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग‚ नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) तीव्र पुरुषार्थको लागि यादको चार्ट अवश्य राख्नु पर्छ। दिनहुँ ऐनामा आफ्नो मुख
हेर्नु छ। चेक गर्नु छ− मैले परमप्रिय बाबालाई कति समय याद गर्छु?
२) जे जति पढेका छौ,
त्यसलाई भुलेर मौन रहनु छ। मुखद्वारा केही पनि भन्नु छैन। बाबाको यादद्वारा विकर्म
विनाश गर्नु छ।
वरदान:–
हर कुरामा मुख
वा मनबाट बाबा-बाबा भनेर ‘मै’ पनलाई समाप्त गर्ने सफलतामूर्त भव
अनेक आत्माहरूको
उमङ्ग-उत्साहलाई बढाउने तिमी निमित्त बच्चाहरू कहिल्यै पनि ‘मै’ पनमा नआउनु। मैले
गरेको होइन। बाबाले निमित्त बनाउनुभयो। ‘म’को सट्टा मेरो बाबा, मैले गरें, मैले भने,
यो होइन। बाबाले गराउनुभयो, बाबाले गर्नुभयो तब सफलतामूर्त बन्छौ। जति तिम्रो
मुखबाट बाबा-बाबा निस्कन्छ त्यति नै अनेकौंलाई बाबाको बनाउन सक्नेछौ। सबैको मुखबाट
यही निस्कियोस्– यिनको मुखमा र मनमा त बाबा नै बाबा छ।
स्लोगन:–
सङ्गमयुगमा
आफ्नो तन-मन-धनलाई सफल गर्नु र सर्व खजानालाई बढाउनु नै समझदारी हो।