09.11.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– देह
अभिमानमा आउनाले नै मायाको थप्पड लाग्छ , देही अभिमानी रह्यौ भने बाबाको हर श्रीमतको
पालना गर्न सक्नेछौ।”
प्रश्न:–
बाबाको साथमा
दुई प्रकारका बच्चाहरू छन्, ती कुनचाहिँ हुन्?
उत्तर:–
एकथरी बच्चाहरू छन्, जसले बाबाबाट वर्सा लिने पूरा-पूरा पुरुषार्थ गर्छन्, हर कदममा
बाबाको राय लिइरहन्छन्। अर्काथरी फेरि यस्ता पनि छन्, जसले बाबासँग सम्बन्ध विच्छेद
गर्ने पुरुषार्थ गर्छन्। कोही छन् जो दु:खबाट छुट्नको लागि बाबालाई धेरै याद गर्छन्,
कोही फेरि दु:खमा फस्न चाहन्छन्। यो पनि आश्चर्य छ नि।
गीत:–
महफिल में जल
उठी शमा...
ओम् शान्ति ।
बच्चाहरूले
गीत त धेरै पटक सुनेका छौ। नयाँ बच्चाहरूले त पहिलो पटक सुनेका छौ। जब बाबा
आउनुहुन्छ, तब आफ्नो परिचय दिनुहुन्छ। बच्चाहरूलाई परिचय मिलेको छ। जान्दछौ– अहिले
हामी बेहदका माता-पिताका सन्तान बनेका छौं। अवश्य मनुष्य सृष्टिको रचयिता माता-पिता
हुनुपर्छ। तर मायाले मनुष्यको बुद्धिलाई बिलकुल मारिदिएको छ। यति साधारण कुरा पनि
बुद्धिमा रहँदैन। भन्न त सबैले भन्छन्– हामीलाई भगवानले पैदा गर्नुभएको हो। त्यसैले
उहाँ बाबा अवश्य मात-पिता हुनुपर्ने हो! भक्तिमार्गमा पनि याद गर्छन्। हर
धर्मावलम्बीहरूले गड फादरलाई अवश्य याद गर्छन्। भक्त आफै त भगवान् हुन सक्दैनन्।
भक्तहरूले भगवानको साधना गर्छन्। परमात्मा त अवश्य सबैको एउटै हुनुपर्ने हो अर्थात्
सबै आत्माहरूका पिता त एक हुनुहुन्छ। सबै शरीरहरूको एउटै पिता हुनसक्दैन। ती त अनेक
पिताहरू हुन्छन्। आफ्नो शारीरिक पिता हुँदा-हुँदै पनि “हे ईश्वर” भनेर याद गर्छन्।
बाबा बसेर सम्झाउनु हुन्छ– ती मनुष्यहरू बेसमझ हुन्, जसले बाबाको परिचय नै भुलेका
छन्। तिमीलाई थाहा छ– स्वर्गका रचयिता अवश्य एउटै बाबा हुनुहुन्छ। अहिले कलियुग हो।
कलियुग अवश्य विनाश हुन्छ। ‘प्राय: लोप’ शब्द हर कुरामा आउँछ। बच्चाहरूलाई थाहा छ–
सत्ययुग अहिले प्राय: लोप भएको छ। ठीक छ, फेरि प्रश्न उठ्छ– सत्ययुगमा देवताहरूलाई
यो सत्ययुग प्राय: लोप भएर फेरि त्रेता हुन्छ भन्ने थाहा होला? हुँदैन, त्यहाँ त यो
ज्ञानको आवश्यकता नै हुँदैन। सृष्टिको चक्र कसरी घुम्छ, हाम्रो पारलौकिक बाबा को
हुनुहुन्छ, यो कुरा कसैको बुद्धिमा पनि हुँदैन। यो कुरा तिमी बच्चाहरूले नै जान्दछौ।
मनुष्यले गाउँछन्– तिमी माता-पिता हामी बालक तिम्रो... तर उहाँलाई चिनेका हुँदैनन्।
भन्नु पनि नभने बराबर हुन्छ। बाबालाई भुलेका छन् त्यसैले अनाथ बनेका छन्। बाबाले
हरेक कुरा सम्झाउनु हुन्छ। कदम-कदम श्रीमतमा चल। नत्र मायाले कुनै समयमा ठुलो धोका
दिन्छ। माया हो नै धोकेबाज। मायाबाट मुक्त गर्नु यो बाबाको नै काम हो। रावण त हो नै
दु:ख दिनेवाला। बाबा हुनुहन्छ सुख दिनेवाला। बाबा सम्झाउनु हुन्छ– मनुष्यले दु:खी
बन्नको लागि विवाहमा कति खर्च गर्छन्! जो पवित्र बिरुवा छन् उनीहरूलाई अपवित्र
बनाउने पुरुषार्थ गर्छन्। यो पनि तिमी बुझ्नसक्छौ, दुनियाँले बुझ्दैन। यो विषयसागरमा
डुब्नको लागि कति समारोह गर्छन्। उनीहरूलाई यो थाहा छैन– सत्ययुगमा यो विष (विकार)
हुँदैन। त्यो हो नै क्षीरसागर। यसलाई विषयसागर भनिन्छ। त्यो हो सम्पूर्ण निर्विकारी
दुनियाँ। हुन त त्रेतामा दुई कला कम भएका हुन्छन्, तैपनि त्यसलाई निर्विकारी दुनियाँ
भनिन्छ। त्यहाँ विकार हुनसक्दैन किनकि रावणको राज्य द्वापरदेखि नै सुरुहुन्छ।
आधा-आधा हुन्छ नि। ज्ञानसागर र अज्ञानसागर। अज्ञानको पनि सागर छ नि।
मनुष्य कति अज्ञानी
छन्। बाबालाई पनि चिनेका छैनन्। केवल भनिरहन्छन्– यो गर्नाले भगवान् मिल्नुहुन्छ।
मिल्न त केही पनि मिल्दैन। टाउको दुखाउँदा-दुखाउँदै दु:खी, अनाथ बन्छन् अनि मात्रै
फेरि म नाथ आउँछु। नाथ नहुँदा माया अजिङ्गरले सबैलाई खाइदिएको छ। बाबाले सम्झाउनु
हुन्छ माया धेरै धोकेबाज छ। धेरैलाई धोका मिल्छ। कसैलाई कामको थप्पड, कसैलाई मोहको
थप्पड लाग्छ। देह-अभिमानमा आउनाले नै थप्पड लाग्छ। मेहनत छ नै देही-अभिमानी बन्नमा
त्यसैले बाबा घरी घरी भन्नुहुन्छ– सावधान, मनमनाभव। बाबालाई याद गरेनौ भने मायाले
थप्पड लगाइदिन्छ, त्यसैले निरन्तर याद गर्ने अभ्यास गर। नत्र मायाले उल्टो कर्तव्य
गराइदिन्छ। ठीक बेठीकको बुद्धि त मिलेकै छ। कहीँ अलमलियौ भने बाबासँग सोध।
टेलिग्राममा, चिठीमा अथवा फोनमा पनि सोध्नसक्छौ। फोन बिहानै छिटै मिल्नसक्छ किनकि
त्यस समयमा तिमी बाहेक बाँकी सबै सुतिरहेका हुन्छन्। त्यसैले तिमीले फोनमा
सोध्नसक्छौ। दिनप्रतिदिन फोन आदिको आवाज पनि सुध्रिइरहेको छ। तर सरकार गरिब छ
त्यसैले खर्च पनि त्यस्तै गर्छ। अहिले त सबै जीर्ण, तमोप्रधान छन् फेरि पनि खासगरी
भारतवर्षकालाई किन रजो तमोगुणी भनिन्छ? किनकि यही स्थान नै सबैभन्दा धेरै सतोप्रधान
थियो। अरू धर्मावलम्वीहरूले न यति धेरै सुख देखेका छन्, न दु:ख देख्नु छ। उनीहरू
अहिले सुखी छन् त्यसैले यति धेरै अनाज आदि पठाइरहन्छन्। उनीहरूको बुद्धि रजोप्रधान
छ। विनाशको लागि कति आविष्कार गर्छन्। तर उनीहरूलाई यो थाहा छैन त्यसैले उनीहरूलाई
धेरै चित्र आदि पठाउनु पर्छ, त्यसपछि उनीहरूलाई पनि थाहा हुन्छ, आखिरमा बुझ्नेछन्–
यो चीज त धेरै राम्रो छ। यसमा लेखिएको छ– ईश्वरीय उपहार। जब आपत्तिको समय हुन्छ तब
आवाज निस्कन्छ फेरि सम्झन्छन् वास्तवमा यो ज्ञान हामीलाई मिलेको थियो। यी
चित्रहरूद्वारा धेरै काम बन्छ। विचराहरूले बाबालाई चिनेकै छैनन्, सुखदाता त उहाँ
एउटै बाबा हुनुहुन्छ। सबैले उहाँको याद गर्छन्। चित्रद्वारा राम्रोसँग बुझ्न सक्छन्।
अहिले हेर ३ पाइला पृथ्वी मिल्दैन फेरि तिमी सारा विश्वको मालिक बन्छौ! यो चित्रले
बेलायतमा पनि धेरै सेवा गर्नेछ। बच्चाहरूले यी चित्रहरूको यति कदर गर्दैनन्। खर्च त
हुनु नै छ। राजधानी स्थापना गर्नमा त्यो सरकारको करोडौं रूपयाँ खर्च भएको हुनुपर्छ।
लाखौं मरे। यहाँ त मर्नेको कुरै छैन। श्रीमतमा पूरा पुरुषार्थ गर्नु छ, तबमात्रै
श्रेष्ठ पद पाउनसक्नेछौ। नत्र पछि सजाय खाने समयमा धेरै पछुताउने छौ। उहाँ बाबा पनि
हुनुहुन्छ भने धर्मराज पनि हुनुहुन्छ। पतित दुनियाँमा आएर बच्चाहरूलाई २१ जन्मको
लागि स्वराज्य दिनुहुन्छ। यदि फेरि कसैले विनाशकारी कर्तव्य गर्यो भने पूरा सजाय
खानुपर्छ। यस्तो होइन, जे हुन्छ त्यसलाई देख्दै गइन्छ, अर्को जन्मका बारेमा कसले
बसेर विचार गरोस्। मानिसले दानपुण्य पनि अर्को जन्मको लागि गर्छन्। तिमीले अहिले जे
गर्छौ, त्यो २१ जन्मको लागि। उनीहरूले जे गर्छन्, त्यो अल्पकालको लागि। फल फेरि पनि
नर्कमा नै मिल्छ। तिमीलाई त स्वर्गमा फल मिल्नु छ। रातदिनको फरक छ। तिमीले स्वर्गमा
२१ जन्मको लागि प्रारब्ध पाउँछौ। हर कुरामा श्रीमतअनुसार चल्नाले बेडा पार हुन्छ।
बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूलाई आँखामा बसाएर बडो आरामसँग लिएर जानेछु। तिमीले
धेरै दु:ख पायौ। अहिले भन्छु– मलाई याद गर। तिमी नाङ्गै आएका थियौ, यो पार्ट खेल्यौ,
अब फेरि फर्केर जानु छ। यो तिम्रो अविनाशी पार्ट हो। यी कुरालाई कुनै पनि साइन्स
घमन्डीले बुझ्न सक्दैनन्। आत्मा यति सानो तारा हो, त्यसमा अविनाशी पार्ट सदाको लागि
भरिएको छ, यो कहिल्यै समाप्त हुँदैन। बाबा पनि भन्नुहुन्छ– म पनि त रचयिता तथा
एक्टर हुँ। म कल्प-कल्प पार्ट खेल्न आउँछु। भन्छन्– परमात्मा मन-बुद्धिसहित चैतन्य,
ज्ञानको सागर हुनुहुन्छ, तर के चीज हुनुहुन्छ, यो कसैलाई थाहा छैन। जसरी तिमी आत्मा
तारासमान छौ, म पनि तारा हुँ। भक्तिमार्गमा पनि मलाई याद गर्छन् किनकि दु:खी छन्, म
आएर तिमी बच्चाहरूलाई आफ्नो साथमा लिएर जान्छु। म पनि पण्डा हुँ। म परमात्माले तिमी
आत्माहरूलाई लिएर जान्छु। आत्मा मच्छर भन्दा पनि सानो छ। यो समझ पनि तिमी
बच्चाहरूलाई अहिले मिल्छ। कति राम्रोसँग सम्झाउनु हुन्छ। बाबा भन्नुहुन्छ– तिमीलाई
विश्वको मालिक बनाउँछु, बाँकी दिव्य दृष्टिको चाबी म आफैंसँग राख्छु। यो कसैलाई
दिन्न। यो भक्तिमार्गमा मेरै काममा आउँछ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई पावन,
पूज्य बनाउँछु, मायाले पतित, पुजारी बनाउँछ। सम्झाउन त धेरै सम्झाइन्छ तर कोही
बुद्धिमानले सम्झियोस्।
यो टेप मेसिन धेरै
राम्रो चीज हो। बच्चाहरूले मुरली त अवश्य सुन्नु छ। धेरै सिकीलधे बच्चाहरू छन्।
बाँधेली गोपिकाहरूलाई बाबाले धेरै दया गर्नुहुन्छ। बाबाको मुरली सुनेर धेरै खुशी
हुन्छन्। बाबाले बच्चाहरूको खुशीको लागि के गर्नुहुन्न। बाबालाई त रातदिन गाउँका
गोपिकाहरूको ख्याल हुन्छ। निद्रा पनि पर्दैन, सोचिरहनुहुन्छ, के युक्ति रचौं, कसरी
बच्चाहरू दु:खबाट छुट्छन्। कसैले त फेरि दु:खमा फस्नको लागि पनि तयारी गर्छन्, कसैले
त वर्सा लिने पुरुषार्थ गर्छन् भने कसैले फेरि सम्बन्ध विच्छेद गर्ने पुरुषार्थ पनि
गर्छन्। आजकाल दुनियाँ त धेरै खराब छ। कुनै बच्चाहरू त आफ्नो पितालाई हत्या गर्न पनि
पछि पर्दैनन्। बेहदका बाबाले कति राम्रोसँग सम्झाउनु हुन्छ। मैले बच्चाहरूलाई यति
धेरै धन दिन्छु जसद्वारा कहिल्यै दु:ख हुँदैन। त्यसैले बच्चाहरूलाई पनि त्यतिकै
दयावान बन्नु पर्छ– सबैलाई सुखको मार्ग बताऊँ। आजकाल त सबैले दु:ख दिन्छन्, बाँकी
शिक्षकले कहिल्यै दु:खको मार्ग बताउँदैनन्। उनीहरूले पढाउँछन्। पढाइ कमाइको स्रोत
हो। पढाइद्वारा शरीर निर्वाह गर्न लायक बन्छन्, मिल्न त माता-पिताबाट वर्सा मिल्छ
तर त्यो के कामको? जति धेरै धन, त्यति धेरै पाप गर्छन्। नत्र पहिला तीर्थयात्रा
गर्न बडो नम्रतासँग जान्थे तर कसैकसैले त तीर्थयात्रामा पनि मदिरा लिएर जान्छन् र
पछि लुकाएर पिउँछन्। बाबाले देख्नु भएको छ– मदिरा विना रहन सक्दैनन्। कुरै नसोध।
लडाइँमा जानेले पनि मदिरा पिउँछन्। लडाइँ गर्नेलाई आफ्नो ज्यानको ख्याल हुँदैन।
सम्झन्छन्– आत्माले एउटा शरीर छोडेर गएर अर्को लिन्छ। तिमी बच्चाहरूलाई पनि अहिले
ज्ञान मिलेको छ। यो छि:छि: शरीर छोड्नु छ। उनीहरूलाई कुनै ज्ञान छैन। तर बानी परेको
छ– मर्ने र मार्ने। यहाँ त हामी आफै बसीबसी बाबाको पासमा जान चाहन्छौं। यो पुरानो
खाल (शरीर) हो। जसरी सर्पले पनि पुरानो काँचुली छोड्छ। ठन्डीमा सुकेपछि निकालिदिन्छ।
तिम्रो यो त धेरै फोहोरी पुरानो खाल हो, पार्ट खेल्दै अब यसलाई छोड्नु छ, बाबाको
पासमा जानु छ। बाबाले युक्ति त बताउनु भएको छ– मनमनाभव। मलाई याद गर यसरी बस्दाबस्दै
शरीर छोडिदिनेछौ। संन्यासीको पनि यस्तो हुन्छ– बस्दाबस्दै शरीर छोडिदिन्छन् किनकि
उनीहरूले सम्झन्छन्, आत्मालाई ब्रह्ममा लिन हुनु छ, त्यसैले योग लगाएर बस्छन् तर
जान सक्दैनन्। जसरी काशी कलवट खान्छन्, त्यो जीवघात भयो। बाबाले देख्नु भएको छ, यी
संन्यासीहरू पनि त्यसैगरी बस्दाबस्दै जान्छन्, त्यो भयो हठयोग संन्यास।
बाबा सम्झाउनु हुन्छ–
तिमीलाई ८४ जन्म कसरी मिल्छ? कति ज्ञान दिनुहुन्छ, कोही बिरलै श्रीमतमा चल्छन्। देह
अभिमान आउनाले फेरि बाबालाई पनि आफ्नो मत दिन थाल्छन्। बाबा सम्झाउनु हुन्छ– देही
अभिमानी बन। म आत्मा हुँ, बाबा हजुर ज्ञानका सागर हुनुहुन्छ। बाबा म हजुरको रायमा
नै चल्नेछु। कदम-कदममा बडो सावधानी चाहिन्छ। भुलहरू त भइरहन्छन् फेरि पनि पुरुषार्थ
गर्नुपर्छ। जहाँ गए पनि बाबालाई याद गरिराख। शिरमा विकर्महरूको बोझ धेरै छ। कर्मभोग
पनि त चुक्ता गर्नुपर्छ नि। पछाडिसम्म यो कर्मभोगले छोड्ने छैन। श्रीमतमा चलेर नै
पारसबुद्धि बन्नु छ। साथमा धर्मराज पनि हुनुहुन्छ। त्यसैले जिम्मेवार उहाँ हुनुभयो।
बाबा बस्नुभएको छ, तिमीले किन आफैमाथि बोझ राख्छौ? पतित-पावन बाबालाई पतितहरूको
सभामा (महफिलमा) आउनु छ। यो त नयाँ कुरा होइन, अनेक पटक पार्ट खेल्नु भएको छ, फेरि
खेल्नुहुन्छ। यसलाई नै आश्चर्य भनिन्छ। अच्छा!
पारलौकिक बापदादाका
सिकीलधे बच्चाहरूप्रति याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबा समान सबैलाई दु:खबाट मुक्त गर्ने दया गर्नु छ। सुखको मार्ग बताउनु छ।
२) कुनै पनि विनाशकारी (उल्टो) कर्तव्य गर्नुहुँदैन। श्रीमतमा २१ जन्मको लागि आफ्नो
प्रारब्ध बनाउनु छ। कदम-कदममा सावधानीसँग चल्नु छ।
वरदान:–
प्रतिज्ञाको
स्मृतिद्वारा फाइदा उठाउने सदा बाबाको आशीर्वादको पात्र भव
जति पनि प्रतिज्ञा
मनबाट, बोलीबाट अथवा लेखेर गर्छौ, ती सबैलाई स्मृतिमा राख्यौ भने प्रतिज्ञाको पूरा
फाइदा उठाउन सक्छौ। जाँच गर– कति पटक प्रतिज्ञा गरेको थिएँ, अनि कति पटक पालन गरें!
प्रतिज्ञा (वायदा) र फाइदा– यी दुवैको सन्तुलन (ब्यालेन्स) भयो भने वरदाता
बाबाद्वारा वरदान (ब्लेसिङ्ग) मिलिरहनेछ। जसरी सङ्कल्प श्रेष्ठ गर्छौ, त्यसरी नै
कर्म पनि श्रेष्ठ गर्यौ भने सफलतामूर्त बन्छौ।
स्लोगन:–
स्वयंलाई यस्तो
दिव्य दर्पण बनाऊ जसबाट बाबालाई नै देखियोस् अनि भनिन्छ सच्चा सेवा।