10.01.21    Avyakt Bapdada     Nepali Murli    09.10.87     Om Shanti     Madhuban


अलौकिक राज्य दरबारको समाचार


आज बापदादाले आफ्ना स्व-राज्य अधिकारी बच्चाहरूको राज्य दरबारलाई देखिरहनु भएको छ। यो संगमयुगको अनौठो, श्रेष्ठ शान भएको अलौकिक दरबार सारा कल्पमा न्यारा र अति प्यारा छ। यो राज्य-सभाको रूहानी रौनक, रूहानी कमल-आसन, रूहानी ताज र तिलक, चेहराको चमक, स्थितिको श्रेष्ठ स्मृतिको वायुमण्डलमा अलौकिक सुगन्ध अति रमणिक, अति आकर्षित गर्ने खालको छ। बापदादा, यस्तो सभालाई र हरेक राज्य-अधिकारी आत्माहरूलाई देखेर हर्षित भइरहनु भएको छ। कति ठूलो दरबार छ! हरेक ब्राह्मण बच्चा स्वराज्य अधिकारी छन्। कति ब्राह्मण बच्चाहरू छन्! सबै ब्राह्मणहरूको दरबार एकैपटक लगायो भने कति ठूलो राज्य-दरबार हुनेछ! यति ठूलो राज्य दरबार कुनै पनि युगमा हुँदैन। यही संगमयुगको विशेषता हो, जहाँ सर्वोच्च बाबाका सर्व बच्चाहरू स्व-राज्य अधिकारी बन्छन्। त्यसो त लौकिक परिवारमा पनि हरेक पिताले बच्चाहरूलाई भन्छन् यो मेरो बच्चा राजाʼ हो अथवा इच्छा राख्छन् मेरो बच्चा राजा बनोस्। तर सबै बच्चाहरू राजा बन्नै सक्दैनन्। तर यो भनाई परमात्मा बाबाको नक्कल गरेका हुन्। यस समयमा बापदादाका सबै बच्चाहरू राजयोगी अर्थात् स्वका राजा छन्, नम्बरवार अवश्य छन् तर छन् सबै राजयोगी, प्रजायोगी कोही छैनन्। त्यसैले बापदादाले यो बेहदको राज्य सभालाई देखिरहनु भएको थियो। सबैले आफूलाई स्वराज्य अधिकारी सम्झन्छौ नि? नयाँ-नयाँ आएका बच्चाहरू पनि राज्य-अधिकारी हौ वा अब बन्ने हो? नयाँ-नयाँ छौ त्यसैले आपसमा भेटघाट गर्न सिकिरहेका छौ। अव्यक्त बाबाको अव्यक्त कुरा बुझ्ने बानी पनि पर्दै जानेछ। फेरि पनि यो भाग्यलाई अहिले भन्दा पनि समय आएपछि अझै धेरै बुझ्नेछौ हामी सबै आत्माहरू कत्ति भाग्यवान रहेछौं भनेर।

बापदादाले सुनाइरहनु भएको थियो अलौकिक राज्य-दरबारको समाचार। सबै बच्चाहरूको विशेष ताज र चेहराको चमकमा नचाहेर पनि ध्यान गइरहेको थियो। ताज ब्राह्मण जीवनको विशेषता अर्थात् पवित्रताको सूचक हो। चेहराको चमक रूहानी स्थितिमा स्थित रहने रूहानियतको चमक हो। साधारण रीतिले पनि कुनै पनि व्यक्तिलाई हेर्दा सबैभन्दा पहिला दृष्टि चेहरातर्फ नै जान्छ। यो चेहरा नै वृत्ति र स्थितिको दर्पण हो। त्यसैले बापदादाले देखिरहनु भएको थियो चमक त सबैमा थियो तर एकथरी थिए सदा रूहानियतको स्थितिमा स्थित रहने, स्वत: र सहज स्थिति भएकाहरू र अर्काथरी थिए सदा रूहानी स्थितिको अभ्यासद्वारा स्थित रहनेहरू। एकथरी थिए सहज स्थिति भएका, अर्काथरी थिए प्रयत्न गरेर स्थित हुने अर्थात् एकथरी थिए सहजयोगी, अर्काथरी थिए पुरुषार्थले योगी। दुवैको चमकमा अन्तर थियो। तिनीहरूको स्वाभाविक सुन्दरता थियो र अरूको पुरुषार्थद्वारा सुन्दरता थियो। जसरी आजकल पनि मेकअप गरेर सुन्दर बन्छन् नि। स्वाभाविक सुन्दरताको चमक सदा एकरस रहन्छ र अर्को सुन्दरता कहिले धेरै राम्रो र कहिले प्रतिशतमा हुन्छ, एकै किसिमको एकरस रहँदैन। त्यसैले सदा सहजयोगी, स्वत: योगीको स्थितिले नम्बरवन स्वराज्य-अधिकारी बनाउँछ। सबै बच्चाहरूको प्रतिज्ञा छ ब्राह्मण जीवन अर्थात् एक बाबा नै संसार हुनुहुन्छ अथवा एक बाबा दोस्रो न कोही। जब संसार नै बाबा, दोस्रो कोही छैन भने स्वत: र सहजयोगी स्थिति सदा रहन्छ नि वा मेहनत गर्नु पर्छ? यदि दोस्रो कोही छ भने मेहनत गर्नु पर्छ, यहाँ बुद्धि नजाओस् त्यहाँ जाओस् भनेर। तर एक बाबा नै सबैथोक हुनुहुन्छ भने फेरि बुद्धि कहाँ जान सक्छ? जब जानै सक्दैन भने अभ्यास किन गर्ने? अभ्यासमा पनि अन्तर हुन्छ। एक हुन्छ स्वत: अभ्यास, अर्थात् हो नै र अर्को हुन्छ मेहनतवाला अभ्यास। त्यसैले स्व-राज्य अधिकारी बच्चाहरूले सहज अभ्यासी बन्नु छ यही निशानी हो सहज योगी, स्वत: योगीको। तिनीहरूको चेहराको चमक अलौकिक हुन्छ, जुन चेहरालाई हेर्नासाथ अन्य आत्माहरूले अनुभव गर्छन् यिनी श्रेष्ठ प्राप्ति स्वरूप सहजयोगी हुन्। जसरी स्थूल धन वा स्थूल पद प्राप्त गरेको चमक चेहराबाट थाहा हुन्छ यिनी धनवान कुलका वा उच्च पदका अधिकारी हुन् भन्ने, त्यसैगरी यो श्रेष्ठ प्राप्ति, श्रेष्ठ राज्य अधिकार अर्थात् श्रेष्ठ पदको प्राप्तिको नशा वा चमक पनि चेहराबाट देखिन्छ। टाढैबाट अनुभव गर्छन् यिनले केही पाएका छन्। प्राप्ति स्वरूप आत्मा हुन् भन्ने। त्यस्तै सबै राज्य अधिकारी बच्चाहरूको चम्किरहेको चेहरा देखियोस्। मेहनतको चिन्ह नदेखियोस्, प्राप्तिको चिन्ह देखियोस्। अहिले पनि हेर कुनै-कनै बच्चाहरूको चेहरालाई देखेर यही भन्छन् यिनले केही पाएका छन् र कुनै-कुनै बच्चाको चेहरालाई देखेर यो पनि भन्छन उच्च गन्तव्य छ त्यसैले त्याग पनि धेरै ठूलो गरेका छन्। त्याग देखिन्छ तर भाग्य देखिँदैन चेहराबाट। अथवा यो भन्छन् मेहनत धेरै राम्रो गरिरहेका छन्।

बापदादाले यही हेर्न चाहनुहुन्छ हरेक बच्चाको चेहराबाट सहजयोगीको चमक देखियोस्, श्रेष्ठ प्राप्तिको नशाको चमक देखियोस् किनकि प्राप्तिहरूको भण्डार तिमी बाबाका बच्चाहरू हौ। संगमयुगको प्राप्तिहरूको वरदानी समयको अधिकारी हौ। निरन्तर योग कसरी लगाउने वा निरन्तर अनुभव गरेर भण्डारको अनुभूति कसरी गर्ने? अहिलेसम्म पनि यही मेहनतमा समय नगुमाऊ तर प्राप्ति स्वरूपको भाग्यलाई सहज अनुभव गर। समाप्तिको समय समीप आइरहेको छ। अझैसम्म पनि कुनै न कुनै कुराको मेहनतमा लागिरहन्छौ भने प्राप्तिको समय त समाप्त हुन्छ। फेरि प्राप्ति स्वरूपको अनुभव कहिले गर्छौ? संगमयुगमा, ब्राह्मण आत्माहरूलाई वरदान छ सर्व प्राप्ति भव। सदा पुरुषार्थी भवको वरदान होइन। प्राप्ति भवको वरदान छ। प्राप्ति भवको वरदानी आत्माहरू कहिल्यै पनि अलबेलापनमा आउन सक्दैनन् त्यसैले उनीहरूलाई मेहनत गर्नु पर्दैन। त्यसैले बुझ्यौ, के बन्नु छ?

राज्यसभामा राज्य अधिकारी बन्ने विशेषता के हो, यो स्पष्ट भयो नि? राज्य अधिकारी हौ नि, अथवा अहिले सोचिरहेका छौ हुँ कि होइन भनेर? जब विधाताका बच्चा, वरदाताका बच्चा बनिसक्यौ भने राजा अर्थात् विधाता, दिनेवाला भयौ। अप्राप्ति केही छैन भने लिन्छौ के? त्यसैले बुझ्यौ नयाँ-नयाँ बच्चाहरू यस्तो अनुभवमा रहनु छ। युद्धमा नै समय गुमाउनु छैन। यदि युद्धमा नै समय गुमायौ भने अन्त-मति पनि युद्धमा नै रहन्छौ। अनि फेरि के बन्नु पर्छ? चन्द्रवंशीमा जान्छौ वा सूर्यवंशीमा? युद्ध गर्नेहरू त चन्द्रवंशीमा जान्छन्। चलिरहेको छु, गरिरहेको छु, भइहाल्छु, पुगिहाल्छु अझैसम्म यस्तो लक्ष्य नराख। अहिले भएन भने कहिल्यै हुँदैन। बन्नु छ भने अहिले नै, पाउनु छ भने पनि अहिले नै यस्तो उमंग-उत्साह भएकाहरू नै समय आउँदा आफ्नो सम्पूर्ण लक्ष्यमा पुग्न सक्छन्। त्रेताका राम सीता बन्न त कोही पनि तयार छैनौ। सत्ययुगी सूर्यवंशीमा आउनु छ, सूर्यवंश अर्थात् सदा मास्टर विधाता र वरदाता, लिने इच्छावाला होइन। मदत मिलोस्, यो भयो भने धेरै राम्रो हुन्थ्यो, पुरुषार्थमा राम्रो नम्बर ल्याउने थिएँ होइन। मदत मिलिरहेको छ, सबै भइरहेको छ। यस्तालाई भनिन्छ स्वराज्य अधिकारी बच्चा। अगाडि बढ्नु छ वा पछि आएकोले पछाडि नै रहने हो? अगाडि जाने सहज मार्ग हो सहजयोगी र स्वत: योगी बन। धेरै सहज छ। जब हुनुहुन्छ नै एक बाबा दोस्रो न कोही भने जान्छौ कहाँ? प्राप्ति नै प्राप्ति छ भने मेहनत फेरि किन लाग्छ? त्यसैले प्राप्तिको समयको लाभ उठाऊ। सर्व प्राप्ति स्वरूप बन। बुझ्यौ? बापदादाले त यही चाहनुहुन्छ एक-एक बच्चा चाहे लास्टमा आएका हुन् चाहे स्थापनाको आदिमा आएका हुन्, तर हरेक बच्चा नम्बरवन बनुन्। राजा बन्नु नकि प्रजा। अच्छा।

महाराष्ट्र र मध्य प्रदेशको ग्रुप आएको छ। हेर, महा शब्द कति श्रेष्ठ छ। महाराष्ट्र स्थान पनि महा शब्दको छ र बन्नु पनि महान् छ। महान त बन्यौ नि किनकि बाबाको बन्यौ अर्थात् महान बन्यौ। महान् आत्माहरू हौ। ब्राह्मण अर्थात् महान्। हरेक कर्म महान्, हरेक बोली महान्, हर संकल्प महान्। अलौकिक भयौ नि। त्यसैले महाराष्ट्रका सदा नै महान् हौं, यो स्मृति स्वरूप बन। ब्राह्मण अर्थात् महान् चोटी हौ नि।

मध्य प्रदेश सदा मध्याजी भव को नशामा रहनेहरू। मनमनाभवको साथमा मध्याजी भवको पनि वरदान छ। आफ्नो स्वर्गको स्वरूपलाई भनिन्छ मध्याजी भव। त्यसैले आफ्नो श्रेष्ठ प्राप्तिको नशामा रहने अर्थात् मध्याजी भवको मन्त्रको स्वरूपमा स्थित रहनेहरू। तिमीहरू पनि महान भयौ। मध्याजी भव छौ भने मनमनाभव पनि अवश्य हुन्छौ। त्यसैले मध्य प्रदेश अर्थात् महामन्त्रको स्वरूप बन्नेहरू। त्यसैले दुवै आ-आफ्नो विशेषताले महान् छौ। बुझ्यौ, को हौ?

जबदेखि पहिलो पाठ सुरु गर्यौ, त्यो पनि यही गर्यौ म को हुँ? बाबाले पनि त्यही कुरा याद दिलाउनुहुन्छ। यसैमा मनन गर्नु। शब्द एउटै छ म को हुँ तर त्यसका उत्तर कति छन्? लिस्ट निकाल्नु म को हुँ? अच्छा।

चारैतिरका सर्व प्राप्ति स्वरूप, श्रेष्ठ आत्माहरूलाई, सर्व अलौकिक राज्यसभा अधिकारी महान् आत्माहरूलाई, सदा रूहानियतको चमक धारण गर्ने विशेष आत्माहरूलाई, सदा स्वत: योगी, सहजयोगी, उच्च भन्दा उच्च आत्माहरूलाई सर्वोच्च बापदादाको स्नेह सम्पन्न याद-प्यार स्वीकार होस्। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

अव्यक्त बापदादासँग डबल विदेशी भाइ-बहिनीहरूको भेटघाट
डबल विदेशी अर्थात् सदा आफ्नो स्व-स्वरूप, स्वदेश, स्वराज्यको स्मृतिमा रहनेहरू। डबल विदेशीहरूले विशेष कुनचाहिँ सेवा गर्नु छ? अब विशेष साइलेन्सको शक्तिको अनुभव विशेष रूपले आत्माहरूलाई गराउनु, यो पनि विशेष सेवा हो। जसरी साइन्सको शक्ति प्रसिद्ध छ नि। बच्चा-बच्चाहरूलाई पनि थाहा छ साइन्स के हो? त्यसो त साइलेन्सको शक्ति साइन्सको भन्दा पनि उच्च छ। त्यो दिन पनि आउनु छ। साइलेन्सको शक्तिको प्रत्यक्षता अर्थात् बाबाको प्रत्यक्षता हुनु। जसरी साइन्सले प्रत्यक्ष प्रमाण देखाउँछ त्यसैगरी साइलेन्सको शक्तिको यथार्थ प्रमाण हो तिमीहरू सबैको जीवन। जब यति सबै यथार्थ प्रमाण देखिन्छौ तब नचाहेर पनि सबैको नजरमा सहजै आउने छौ। जसरी यो गएको वर्ष पीसको कार्य गर्यौ नि, त्यसलाई मञ्चमा यथार्थमा देखायौ। त्यसैगरी हिँड्दा-डुल्दा पीसको मोडल देखियौ भने साइन्सवालाको पनि नजर साइलेन्सवाला माथि अवश्य जानेछ। बुझ्यौ? साइन्सको अनुसन्धान विदेशमा धेरै हुन्छ। त्यसैले साइलेन्सको शक्तिको आवाज पनि त्यहाँबाट सजिलै फैलिन्छ। सेवाको लक्ष्य त छँदै छ, सबैलाई उमंग-उत्साह पनि छ। सेवा विना रहन सक्दैनौ। जसरी भोजन विना रहन सक्दैनौ, त्यसैगरी सेवा विना पनि रहन सक्दैनौ त्यसैले बापदादा खुसी हुनुहुन्छ। अच्छा!

पार्टीहरूसँग अव्यक्त बापदादाको भेटघाट
स्वदर्शन चक्रधारी श्रेष्ठ आत्मा बनिसक्यौं यस्तो अनुभव गर्छौ? स्वको दर्शन भयो नि? आफूले आफैंलाई चिन्नु अर्थात् स्वको दर्शन हुनु हो र चक्रको ज्ञान बुझ्नु अर्थात् स्वदर्शन चक्रधारी बन्नु हो। जब स्वदर्शन चक्रधारी बन्छौ तब अरू सबै चक्र समाप्त हुन्छन्। देहभानको चक्र, सम्बन्धको चक्र, समस्याहरूको चक्र, मायाको चक्र, कति चक्र छन्! तर स्वदर्शन चक्रधारी बन्नाले यी सबै चक्र समाप्त हुन्छन्, सबै चक्रबाट निस्कन्छौ। नत्र जालमा फँसिरहन्छौ। पहिला फँसेका थियौ, अहिले निस्कियौ। ६३ जन्म त अनेक चक्रमा फँस्यौ तर यस समयमा ति चक्रबाट निस्कियौ। अब फेरि फँस्नु छैन। अनुभव गरेर हेर्यौ नि? अनेक चक्रमा फँसेर सबैथोक गुमायौ र स्वदर्शन चक्रधारी बन्नाले बाबा मिल्नुभयो अर्थात् सबैथोक मिल्यो। त्यसैले सदा स्वदर्शन चक्रधारी बनेर, मायाजित बनेर अगाडि बढ्दै जाऊ, यसबाट सदा हल्का रहन्छौ, कुनै पनि प्रकारको बोझ अनुभव हुँदैन। बोझले नै तल ल्याउने हो। हल्का हुनाले माथि उडिरहन्छौ। त्यसैले उड्नेवाला हौ नि? कमजोर त छैनौ? यदि एउटा पंख कमजोर भयो भने पनि तल ल्याउँछ, उड्न दिँदैन त्यसैले दुवै पंख मजबुत भएमा स्वत: उडिरहने छौ। स्वदर्शन चक्रधारी बन्नु अर्थात् उड्तीकलामा जानु हो। अच्छा।

राजयोगी श्रेष्ठ, योगी आत्मा हौ नि? साधारण जीवनबाट सहजयोगी, राजयोगी बन्यौ। यस्ता श्रेष्ठ योगी आत्माहरू सदैव अतीन्द्रिय सुखको झुलामा झुलिरहन्छन्। हठयोगीले योगद्वारा शरीरलाई माथि उठाउँछन् र उड्ने अभ्यास गर्छन्। तर वास्तवमा तिमी राजयोगीले उच्च स्थितिको अनुभव गर्छौ। यसैको नक्कल गरेर तिनीहरूले शरीरलाई माथि उठाउँछन्। तर तिमीहरू जहाँ रहे पनि उच्च स्थितिमा रहन्छौ त्यसैले भनिन्छ योगी उच्च हुन्। मनको स्थितिको स्थान उच्च होस् किनकि डबल लाइट बनेका छौ। त्यसै पनि फरिश्ताको लागि भन्ने गर्छन् फरिश्ताको पाउ धर्तीमा हुँदैन। फरिश्ता अर्थात् जसको बुद्धि रूपी पाउ धर्तीमा नहोस्, देहभानमा नहोस्। देहभानबाट सदा उच्च यस्ता फरिश्ता अर्थात् राजयोगी बन्यौ। अब यो पुरानो दुनियाँसँग कुनै लगाव छैन। सेवा गर्नु अलग चीज हो तर लगाव नहोस्। योगी बन्नु अर्थात् बाबा र म, तेस्रो न कोही। त्यसैले सदा यो स्मृतिमा रहनु छ हामी राजयोगी सदा फरिश्ता हौं। यो स्मृतिले सदा अगाडि बढिरहन्छौ। राजयोगी सदा बेहदका मालिक हुन्छन्, हदका मालिक होइन। हदबाट निस्कियौ। बेहदको अधिकार मिल्यो यही खुसीमा रहनु। जसरी बेहदको बाबा हुनुहुन्छ त्यस्तै बेहदको खुसीमा रहनु, नशामा रहनु। अच्छा।

बिदाइको समय
सबै अमृतबेलाका वरदानी बच्चाहरूलाई वरदाता बाबाको गोल्डेन याद-प्यार स्वीकार होस्। साथ-साथै गोल्डेन दुनियाँ बनाउने सेवाको सदा योजना मनन गर्ने र सदा सेवामा दिलोज्यान एवं प्रेमले तन-मन-धनले सहयोगी आत्माहरू सबैलाई बापदादाले गुडमर्निङ्ग, डायमण्ड मर्निङ्ग। साथसाथै सदा डायमण्ड बनेर यो डायमण्ड युगको विशेषतालाई वरदान र वर्सामा लिएर स्वयं पनि गोल्डेन स्थितिमा रहन्छौ र अरूलाई पनि यस्तै अनुभव गराइरहन्छौ। त्यसैले चारैतिरका डबल हीरो बच्चाहरूलाई डायमण्ड मर्निङ्ग। अच्छा।

वरदान:
रहमदिलको भावनाद्वारा अपकारी माथि पनि उपकार गर्ने शुभचिन्तक भव

कुनै पनि आत्मा चाहे सतोगुणी, चाहे तमोगुणी होस् तर सम्पर्कमा आउँछ भने सबै प्रति शुभचिन्तक अर्थात् अपकारी माथि पनि उपकार गर्ने हुनुपर्छ। कहिल्यै पनि कुनै आत्मा प्रति घृणा दृष्टि नहोस् किनकि जानेका छौ यो अज्ञानको वशीभूत छ, बेसमझ छ। उसमाथि रहम वा स्नेह आओस्, घृणा होइन। शुभचिन्तक आत्माले यस्तो सोच्दैन यसले यस्तो किन गर्यो? उसले सोच्छ यो आत्माको कल्याण कसरी होला? यही हो शुभचिन्तकको स्टेज।

स्लोगन:
तपस्याको बलले असम्भवलाई सम्भव गराएर सफलतामूर्त बन।