10.06.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सदा यही
नशामा रहने गर– ज्ञान सागर बाबाको ज्ञान वर्षा भइरहेको छ , जसबाट हामी पावन बनेर
आफ्नो ठूलो घरमा जान्छौं।
प्रश्न:–
तिमी
बच्चाहरूको निश्चय केको आधारमा अझै पक्का हुँदै जानेछ?
उत्तर:–
दुनियाँमा जति हंगामा बढ्छ, तिम्रो दैवी वृक्षको वृद्धि हुन्छ, त्यति पुरानो
दुनियाँबाट दिल हट्दै जान्छ अनि तिम्रो निश्चय पक्का हुँदै जान्छ। विहंग मार्गको
सेवा हुँदै जान्छ, धारणामा अटेन्शन दिँदै जानेछौ, बुद्धिको हौसला बढ्दै जानेछ। अपार
खुशीमा रहनेछौ।
ओम् शान्ति ।
बच्चाहरूलाई
सधैं यो भन्ने आवश्यकता हुँदैन– शिवबाबालाई याद गर। बच्चाहरूलाई थाहा छ– हामी
शिवबाबाका सन्तान हौं। भनिरहनु पर्ने आवश्यकता हुँदैन। शिवबाबाले हामीलाई यिनीद्वारा
पढाउनुहुन्छ, यो हो ज्ञान सागरको ज्ञानको वर्षा। बच्चाहरूको बुद्धिमा छ– ज्ञान
सागरको अहिले हामी माथि ज्ञान वर्षा भइरहेको छ। जो आएर ब्राह्मण बन्छन्, उनीहरूमाथि
नै मैले ज्ञानको वर्षा गर्छु, बच्चाहरूको सम्मुख हुन्छु। अहिले बच्चाहरू सम्मुख
बसेका छौ। बाबाले घरी-घरी सम्मुख भएको नशा चढाउनु हुन्छ। मायाले फेरि नशा
उतारिदिन्छ। कसैको पूरा उतारिदिन्छ, कसैको कम। बच्चाहरूलाई थाहा छ– हामी आएका हौं
सागरको पासमा रिफ्रेश हुन अर्थात् मुरलीको प्वाइन्ट धारण गरेर डाइरेक्शन लिन। हामी
उहाँको सामुन्ने बसेका छौं। यस ज्ञान सागरको वर्षा एकै पटक हुन्छ। बाबा आउनुहुन्छ
नै पतितहरूलाई पावन बनाउन। महिमा पनि यस्तो गाउँछन्– हे पतित-पावन... सत्ययुगमा त
यसरी पुकार्दैनन्। त्यहाँ त ज्ञान सागरको ज्ञान वर्षाद्वारा पावन बनेका हुन्छन्।
ज्ञानको साथ-साथै फेरि वैराग्य पनि छ। कुन चीजको? पुरानो पतित दुनियाँको बुद्धिबाट
वैराग्य आउँछ। बच्चाहरूले बुद्धिद्वारा जान्दछन्– अब हामी नयाँ दुनियाँमा जाँदैछौं।
पुरानो दुनियाँलाई छोड्नु छ– यसलाई वैराग्य शब्द भनिदिएका छन्। जस्तै पिताले नयाँ
भवन बनाउँदा पुरानोबाट बुद्धियोग हटेर नयाँसँग लाग्छ। सम्झन्छन्– पुरानो समाप्त
गरेर हामी नयाँमा जाऔं। बच्चाहरूले पनि मनमनै भन्छन् छिटो छिटो स्वर्गको स्थापना
होस्, अनि हामी आफ्नो घरमा जाऔं, सुखी बनौं। पहिला त हामी प्रियतमको साथमा घर जान्छौं।
यो सानो घर हो, त्यो बाबाको ठूलो घर हो। तिमीलाई थाहा छ– त्यो त सबै आत्माहरूको घर
हो। यो तिमी बच्चाहरूको बुद्धिमा छ, अरू कसैको बुद्धिमा छैन। पहिले त अँध्यारो थियो,
अहिले उज्यालो छ। यो पनि बुझेका छौ– ज्ञान त सबैले लिँदैनन्। घर त सबै जान्छन्
अवश्य। तिमी बच्चाहरूको बुद्धिमा छ– अब हामी आफ्नो घरमा गइरहेका छौं। श्रीमतद्वारा
लायक बनिरहेका छौं। स्वर्गको लायक बन्नु छ। एक त मलाई याद गर्यौ भने विकर्म विनाश
हुन्छ, दोस्रो– चक्रलाई घुमाऊ। सृष्टिको चक्र कसरी घुम्छ, यसको अवधि कति छ। को कहिले
आउँछन्, यो सारा कुरा बाबा बसेर सम्झाउनु हुन्छ। यो जे भन्छन् मनुष्यले ८४ लाख जन्म
लिन्छन्, त्यसोभए के सबैले लिन्छन् त? अहिले तिमीलाई थाहा छ– ८४ जन्म हुन्छन्,
त्यसको पनि हिसाब छ। सबैले त ८४ जन्म पनि लिँदैनन्। सुरुदेखि लिएर पुनर्जन्ममा
आइरहन्छन्। अन्तिममा कसैका एक-दुई जन्म पनि हुन्छन्। पहिला सुरुमा जो आउँछन्, उनैले
८४ जन्म लिन्छन्। जस्तै उदाहरण यी लक्ष्मी-नारायण छन्, मनुष्यहरू यिनीहरूको मन्दिरमा
त जान्छन् तर केही पनि थाहा छैन। केवल भन्छन्– भगवान-भगवतीको दर्शन गर्न जान्छौं।
तर यिनीहरूको यो राजधानी कसरी स्थापना भयो, यो केही पनि जानेका छैनन्। जसको पूजा
गर्छन्, उनको कर्तव्यलाई नै जान्दैनन् भने त्यो पूजा के कामको! त्यसैले यसलाई
भनिन्छ– अन्धश्रद्धा। जप, तप, तीर्थ आदि गर्छन्, सम्झन्छन्– यसबाट भगवानलाई पाउने
बाटो मिल्छ। तर यसबाट कसैलाई भगवान मिल्न सक्दैन। मानौं, यहाँ पनि कोही कोही आउँछन्,
सम्झन्छन्– जगत् अम्बाको मन्दिरमा जाऔं, दर्शन गर्न। बाबा सम्झनुहुन्छ– यिनको
बुद्धिमा केही बसेको छैन। तिम्रो त सबै मनोकामना पूरा भइरहेको छ नि। जगत् अम्बाको
पार्ट एक्यूरेट चलिरहेको छ। वास्तवमा जगत् अम्बाको पार्ट उच्च छ। पहिले लक्ष्मी
त्यसपछि नारायण। तिम्रो यो अन्तिम जन्म हो। हिसाब-किताब यहाँ नै चुक्ता हुन्छ।
कर्मको भोग भोगेर छुट्नु छ, बाबाको यादमा रहनु छ। वास्तवमा बच्चाहरूले याद गर्नु छ
एक बाबालाई नै। देहधारीलाई याद गर्यौ भने त्यो समय व्यर्थ जान्छ। यस्तो त हुन
सक्दैन– कसैले निरन्तर याद गरून्। यस्तो कुनै चीज होइन, जसलाई निरन्तर याद गरियोस्।
स्त्रीले पनि पतिलाई निरन्तर याद गर्न सक्दैनन्। अवश्य खाना बनाउँछन्, बच्चाहरूको
सम्हाल गर्छन्, त्यतिबेला पति कहाँ याद आउँछ? यहाँ त तिमीलाई निरन्तर याद गर्ने
अभ्यास गर्नु छ। ताकि अन्तिममा यस्तो अवस्था होस्– एकको नै याद रहोस्, धेरै ठूलो
परीक्षा छ। ८ रत्नहरूको पनि धेरै महिमा छ। कसैलाई ग्रहचारी बस्यो भने ८ रत्नहरूको
औंठी लगाउँछन्। अन्तिम समयमा एक बाबाको नै याद रहोस्, त्यो पनि बुद्धिको लाइन एकदम
क्लिएर होस्, अरू कसैको पनि याद नआओस्, तब मालाको दाना बन्न सकिन्छ। ९ रत्नहरूको
महिमा धेरै छ। त्यसैले अब निरन्तर याद गर्ने अभ्यास गर्नु छ। अहिले त दुई तीन घण्टा
कसैले मुश्किलले याद गर्छन्। जति दुनियाँमा हंगामा बढ्दै जान्छ, त्यति तिमीलाई
निश्चय हुँदै जान्छ, पुरानो दुनियाँबाट दिल टुट्दै जान्छ। धेरै मर्छन्, बुद्धिले पनि
भन्छ– माया धेरै पुरानो दुस्मन हो। यस्तो कुनै ठाउँ छैन, जहाँ दुस्मन नहोस्।
तिमी बच्चाहरू अहिले
म्लेच्छबाट स्वच्छ बनिरहेका छौ। तिमीलाई ज्ञान छ– म्लेच्छको हातको हामीले खान
सक्दैनौं। गायन पनि छ– जस्तो अन्न त्यस्तै मन। जसले तामसिक चीज किन्छ, जसले पकाउँछ,
जसले खान्छ– त्यो सबैमाथि पाप हुन जान्छ। बाबाले त सबै कुरा राम्रोसँग सम्झाउनु
हुन्छ। तिमी बच्चाहरू यहाँबाट रिफ्रेश भएर जान्छौ। सारा दिन बुद्धिमा सृष्टि चक्र
घुमिरहोस् र आफ्नो घर याद रहोस्। यहाँबाट तिमी आफ्नो लौकिक घरमा गएपछि अवस्थामा फरक
पर्छ किनकि संगत नै त्यस्तै हुन्छ। यहाँ बस्दा पनि कसै-कसैको बुद्धियोग बाहिर
गइहाल्छ, त्यसैले पूरा धारणा गर्न सक्दैनन्। तिमी आत्माहरूलाई बेहदका बाबा बसेर
सम्झाउनु हुन्छ। तिमी आत्मा हौ, तिमीले यस शरीरद्वारा कार्य गरिरहेका छौ। तिमीलाई
थाहा छ– हामीले बाबाबाट श्रीमत लिएर आफ्नो राज्य भाग्य लिइरहेका छौं। कति खुशी
हुनुपर्छ। गायन पनि छ– अतीन्द्रिय सुख गोपी वल्लभका बच्चाहरूसँग सोध। जति अवस्था
बन्छ, त्यति अझै वृद्धि हुन्छ अनि खुशीको पारा पनि चढिरहन्छ र निश्चय पनि पक्का
हुँदै जान्छ। धारणामा अटेन्शन दिँदै गयौ भने तिम्रो बुद्धिको हौसला पनि बढ्दै जान्छ।
पछि गएर तिम्रो विहंग मार्गको सेवा हुँदै जानेछ। युक्ति निकाल्नु पर्ने हुन्छ,
जसबाट कसैलाई राम्रोसँग तीर लागोस्। मुख्य त हो नै बाबाको परिचय दिनु। बेहदका
बाबासँग बेहदको वर्सा मिल्छ। ज्ञान-सागर पनि उहाँ हुनुहुन्छ। ज्ञानद्वारा नै मनुष्य
पावन हुन्छन्। पतित-पावन उहाँ बाबा नै हुनुहुन्छ। तिमीले एउटै प्वाइन्ट उठाऊ–
सर्वव्यापीको कुराले भक्ति पनि चल्न सक्दैन। यो कुरा राम्रोसँग बुझाउनु छ। ती
मनुष्यहरूले भन्छन्– यिनीहरूको ज्ञानद्वारा विनाश हुन्छ। तिमीले पनि भन्छौ– यस
रुद्र ज्ञान यज्ञद्वारा विनाश ज्वाला निस्केको हो। उनले पनि सत्य नै भन्छन्। कसैले
कुरा मानेनन् भने विनाश नै हुन्छ, अरू के हुन्छ! यो त कल्प पहिले पनि विनाश भएको
थियो। भगवानुवाच– रुद्र ज्ञान यज्ञमा यो सबै स्वाहा हुन्छ। ती मानिसहरूले सम्झन्छन्–
यिनीहरूको ज्ञान यस्तो छ, त्यसैले सामना गर्छन्। सम्झन्छन्– धेरै भक्ति गर्नाले
भगवान मिल्नुहुन्छ। हामीले पनि भन्छौं– जसले धेरै भक्ति गरेको छ, उसलाई नै भगवान
मिल्नुहुन्छ। तर यी कुरालाई बुझ्न मनुष्यहरूलाई धेरै मेहनत लाग्छ। कल्प पहिले पनि
तिमी बच्चाहरूले बाबाको मदतद्वारा नर्कलाई स्वर्ग बनाएका थियौ। अवश्य नर्कको विनाश
पनि भएको थियो। जब नर्कको विनाश हुन्छ अनि स्वर्गको स्थापना हुन्छ। यो पनि तिमीले
सम्झाउन सक्छौ– विश्व पहिले पावन थियो। यो त कुनै पनि धर्मका मानिसले भन्छन्–
वास्तवमा स्वर्ग थियो। प्राचीन मतलब सबैभन्दा पुरानो। त्यो त स्वर्ग नै हुन्छ नि,
जो पुरानो भएको छ, त्यो फेरि नयाँ हुनु छ। यो तिमी बच्चाहरूको बुद्धिमा छ। वास्तवमा
यी देवी-देवताहरूको राज्य थियो, अहिले छैन। फेरि आदि सनातन देवी-देवता धर्मको
स्थापना गरिरहेका छौं। कसको मदतद्वारा? जो सर्वका निराकार बापूजी हुनुहुन्छ। सर्व
आत्माहरूका पिता। यी कुरालाई तिमीले बुझेका छौ। तिमी कति साधारण छौ। बाबा
भन्नुहुन्छ– म पनि गरिब निवाज हुँ, तिमी गरिब छौ नि। तिम्रो पासमा के छ। तिमीले
सबैथोक सेवामा स्वाहा गरेका छौ, तिम्रो रावणसँग कति लडाइँ हुन्छ। शक्ति सेना हौ नि।
वन्दे मातरम् गायन गरिन्छ। अपवित्रले पवित्रको वन्दना गर्छन्। कुनचाहिँ माता? उनले
धरती माता सम्झन्छन्। तर यो त धरतीमा रहनेहरूको कुरा हो। जगत् अम्बा छिन् भने
बच्चाहरू पनि छन्। यो दिलवाला मन्दिर यादगार बनेको छ। कुमारी, अधर कुमारी पनि छन्।
यिनलाई माता पनि भनिदिन्छन्। तिमीले भन्दछौ– बाबा हामी त बी.के. हौं। हामीलाई माता
नभनेर छोरी भन्नुहोस्, हामी कुमारी हौं। कति गहन बुझ्नु पर्ने कुरा छ। तर बुझ्न
सक्दैनन्। पुरानो जन्म-जन्मान्तरको भान बसेको छ, त्यो छुट्दै छुट्दैन। तिम्रो
बुद्धिमा छ– बाबा हाम्रो सामुन्ने बस्नु भएको छ। आत्माहरूसँग कुरा गरिरहनु भएको छ।
बाबाको यस शरीरमा प्रवेशता छ। बाबा आएर अलौकिक दिव्य कर्तव्य गर्नुहुन्छ। पतितलाई
पावन बनाउनको लागि पढाउनुहुन्छ। पूरा यादमा रहनुपर्छ। हामीलाई पतित-पावन शिवबाबाले
पढाउनुहुन्छ। पतित-पावन सबैभन्दा उच्च हुनुभयो, फेरि बाबा टिचर पनि हुनुहुन्छ। पहिलो
शब्द नै आउनुपर्छ ‘पतित-पावन’। उहाँलाई याद गर्छन्– ओ गड फादर! आउनुहोस्। आएर फेरि
हामीलाई राजयोग सिकाउनुहोस्। बाबाले पनि भन्नुहुन्छ– तिमी बच्चाहरूलाई फेरि सहज
ज्ञान, योग सिकाइरहेको छु। यसमा पुस्तक आदिको कुनै कुरा छैन। यो त उनीहरूले नाम
राखिदिएका छन्। अहिले त बाबाले तिमीलाई लायक बन्ने शिक्षा दिइरहनु भएको छ। नित्य नयाँ
प्वाइन्ट मिल्छ। गीता, ग्रन्थ आदि जे बनाउँछन्, त्यसमा कुनै थपघट गरिँदैन, उही
सुनाउँछन्। यहाँ थप गरिन्छ, सुधार पनि गरिन्छ। सधैं नयाँ-नयाँ प्वाइन्टहरू मिल्छन्।
ज्ञान धेरै अद्भुत छ, जुन अरू कुनै शास्त्रहरूमा छैन। काम महाशत्रु हो, भगवानुवाच–
देह सहित सबैलाई बिर्स, एकलाई याद गर। मैले तिमी सबै आत्माहरूलाई फर्काएर लैजान्छु।
म अकालमूर्त, कालको पनि काल हुँ। म सबै बच्चाहरूलाई लिन आएको छु, त्यसैले तिमीलाई
खुशी हुनुपर्छ नि।
तिमीलाई थाहा छ– अब
हामी घर जान्छौं। चाँडै होसियार बनेर बाबासँग वर्सा त लिइहालौं, तबसम्म लडाइँ
नलागोस्। बाबा भन्नुहुन्छ– मैले कहाँ केही गर्न सक्छु र। पहिले रिहर्सल हुन्छ।
अहिल्यै त राजा आदि पनि आउँदैनन्, राजस्थानमा पनि सम्झाउन सक्छौ। भन, तपाईंहरूलाई
थाहा छ– राजस्थान नाम किन रहेको हो? यहाँ लक्ष्मी-नारायणको राज्य थियो नि। फेरि त्यो
राजस्थान हुनुपर्छ, त्यो अहिले फेरि स्थापना भइरहेको छ। हामीलाई थाहा छ तर बुद्धिमा
जब बस्छ अनि खुशीको पारा चढ्छ। भक्तिमार्गमा यी देवताहरूको मन्दिर बनाउँछन्। विश्व
कति धनवान थियो। हामीले फेरि यसलाई दैवी राजस्थान बनाउँछौं। यी कुरालाई आएर
बुझ्नुहोस्। सम्झाउने पनि उमंग हुनुपर्छ। यो पनि सेमीनार हो नि। कसरी सेवा
गर्नुपर्छ। बाबाले सम्झाउनु भएको छ– कुमारी, माताहरू, गोप सबैले सँगै सुन्छन्। उच्च
भन्दा उच्च एक भगवान हुनुहुन्छ, कृष्ण होइनन्। राजस्थानमा तिमीले सम्झाउन सक्छौ।
वास्तवमा राजस्थान थियो, जसका मन्दिर बनेका छन् फेरि हामीले बनाइरहेका छौं। बाबाले
हामीलाई राजयोग सिकाइरहनु भएको छ। तपाईंहरूले पनि ट्राई गर्नुहोस्– आधाकल्पको लागि।
फेरि कहिल्यै रुनु पर्दैन। हामीले रामको श्रीमतद्वारा रावणमाथि विजय प्राप्त
गरिरहेका छौं। यो शब्द भित्र राम्रो लाग्छ। जसलाई तीर लाग्छ, ऊ बुझ्नको लागि आउँछ।
बाबाले दिनहुँ यो बेहदको सेमीनार गर्नुहुन्छ। यो हो आत्माहरूको परमात्मासँगको
सेमीनार। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कर्मभोगबाट छुट्नको लागि एक बाबाको यादमा रहनु छ। देहधारीको यादमा समय खेर फाल्नु
हुँदैन। बुद्धिको लाइन क्लिएर राख्नुपर्छ।
२) भोजन धेरै शुद्ध
खानुपर्छ। जस्तो अन्न, त्यस्तै मन। त्यसैले कुनै पनि म्लेच्छको हातको भोजन खानु
हुँदैन। बुद्धिलाई स्वच्छ बनाउनु छ।
वरदान:–
रूहानी
सहानुभूतिद्वारा सबैलाई सन्तुष्ट पा र्ने सदा सम्पत्तिवान भव
आजको विश्वमा सम्पत्ति
भएका त धेरै छन् तर सबैभन्दा बढी आवश्यक सम्पत्ति हो सहानुभूति। चाहे गरिब होस्,
चाहे धनवान होस् तर आज सहानुभूति छैन। तिम्रो पासमा सहानुभूतिको सम्पत्ति छ। त्यसैले
कसैलाई अरू केही नदिए पनि सहानुभूतिद्वारा सबैलाई सन्तुष्ट पार्न सक्छौ। तिम्रो
सहानुभूति ईश्वरीय परिवारको नाताले हुन्छ, यस रूहानी सहानुभूतिद्वारा तन-मन-धनको
पूर्ति गर्न सक्छौ।
स्लोगन:–
हर कार्यमा
साहसलाई साथी बनायौ भने सफलता अवश्य मिल्छ।