12.02.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीलाई कमाईको धेरै सोख हुनुपर्छ , यो पढाइमा नै कमाई छ।

प्रश्न:
ज्ञान विना कुनचाहिँ खुसीको कुरा पनि विघ्न रूप बन्न जान्छ?

उत्तर:
साक्षात्कार हुनु, यो हो त खुसीको कुरा तर यदि यथार्थ रूपमा ज्ञान छैन भने अझै अलमलिन्छन्। मानौं, कसैलाई बाबाको साक्षात्कार भयो, बिन्दु देखे भने के सम्झन्छन्? अझ धेरै अलमलिन्छन्, त्यसैले विना ज्ञानको साक्षात्कारले कुनै पनि फाइदा छैन। यसमा अझै मायाको विघ्न पर्न थाल्छ। कैयौंलाई साक्षात्कारको उल्टो नशा पनि चढ्न लाग्छ।

गीत:
तकदिर जगाकर आई हुँ......

ओम् शान्ति ।
मीठा प्यारा रूहानी बच्चाहरूले गीत सुन्यौ। नयाँहरूले पनि सुन्यौ, पुरानाहरूले पनि सुन्यौ। कुमारहरूले पनि सुन्यौ, यो पाठशाला हो। पाठशालामा कुनै न कुनै तकदिर बनाइन्छ। त्यहाँ त अनेक प्रकारका तकदिर छन्। कुनै सर्जन बन्ने, कुनै वकिल बन्ने तकदिर हुन्छ। तकदिरलाई लक्ष्य-उद्देश्य भनिन्छ। तकदिर नबनाउने हो भने पाठशालामा के पढ्ने? अब यहाँ बच्चाहरूले जानेका छन् हामी पनि तकदिर बनाएर आएका हौं। नयाँ दुनियाँको लागि आफ्नो राज्य भाग्य लिन आएका हौं। यो राजयोग हो नै नयाँ दुनियाँको लागि। त्यो हो पुरानो दुनियाँको लागि। त्यो पुरानो दुनियाँको लागि बेरिस्टर, ईन्जिनियर, सर्जन आदि बन्छन्। त्यो बन्दै बन्दै अहिले पुरानो दुनियाँको त समय थोरै बाँकी छ। त्यो त समाप्त हुन्छ नै। त्यो तकदिर हो यो मृत्युलोकको लागि अर्थात् यो जन्मको लागि। तिम्रो यो पढाइ हो नयाँ दुनियाँको लागि। तिमी नयाँ दुनियाँको लागि भाग्य बनाएर आएका हौ। नयाँ दुनियाँमा तिमीलाई राज्य भाग्य मिल्छ। कसले पढाउनु हुन्छ? बेहदको बाबा, जोसँग नै वर्सा पाउनु छ। जसरी डाक्टरबाट डाक्टरी शिक्षा पाउँछौं, त्यो हुन जान्छ यो जन्मको वर्सा। एक त वर्सा मिल्छ पिताबाट, दोश्रो वर्सा मिल्छ आफ्नो पढाइको। अनि फेरि वृद्ध हुन्छन्, तब गुरुको पासमा जान्छन्। के चाहन्छन्? भन्छन् हामीलाई शान्तिधाममा जानको लागि शिक्षा दिनुहोस्। हामीलाई सद्गति दिनुहोस्। यहाँबाट निकालेर शान्तिधाममा लैजानुहोस्। अब बाबाबाट वर्सा मिल्छ, टिचरबाट पनि वर्सा मिल्छ, यो जन्मको लागि, बाँकी गुरुबाट केही पनि मिल्दैन। टिचरसँग पढेर केही न केही वर्सा पाउँछन्। टिचर बन्छन्, सिलाई टिचर बन्छन् किनकि जीविकाको लागि त चाहिन्छ नि। पिताबाट वर्सा प्राप्त हुँदा हुँदै पनि पढ्छन्, हामी पनि आफ्नो कमाई गरौं भनेर। गुरुबाट त केही पनि कमाई हुँदैन। हो, कसै कसैले गीता आदि राम्रोसँग पढेर फेरि गीता बारे भाषण आदि पनि गर्छन्। यी सबै हुन् अल्पकालको सुखको लागि। अब त यो मृत्युलोकमा थोरै समय छ। पुरानो दुनियाँ समाप्त हुनु नै छ। तिमीले जान्दछौ हामी नयाँ दुनियाँको लागि भाग्य बनाउन आएका हौं। यो पुरानो दुनियाँ समाप्त हुने नै छ। पिताको वा आफ्नो सम्पत्ति पनि भस्म हुन्छ। हात फेरि खाली हुन्छ। अहिले त कमाउनु छ नयाँ दुनियाँको लागि। पुरानो दुनियाँको मनुष्यले त त्यो काम गराउन सक्दैन। नयाँ दुनियाँको लागि कमाई गराउने हुनुहुन्छ शिवबाबा। यहाँ तिमी नयाँ दुनियाँको लागि भाग्य बनाउन आएका हौ। उहाँ बाबा नै तिम्रो पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। अनि उहाँ आउनु हुन्छ नै सङ्गममा। भविष्यको लागि कमाई गर्न सिकाउनु हुन्छ। अब यो पुरानो दुनियाँमा केही दिन बाँकी छन्। यो कुरा दुनियाँका मनुष्यहरूले जानेका छैनन्। भन्छन् नयाँ दुनियाँ फेरि कहिले आउँछ, यिनीहरूले गफ मात्रै गर्छन्। यस्तो सम्झनेहरू पनि धेरै छन्। बाबा भन्नुहुन्छ नयाँ दुनियाँ स्थापना हुन्छ। उनीहरूले भन्छन् यी सबै गफ हुन्। तिमी बच्चाहरूले सम्झन्छौ नयाँ दुनियाँको लागि उहाँ हाम्रा पिता, टिचर, सद्गुरु हुनुहुन्छ। बाबा आउनु हुन्छ नै शान्तिधाम सुखधाममा लैजानको लागि। कसैले भाग्य बनाउँदैन भने मानौं केही पनि बुझेको छैन। एउटै घरमा स्त्रीले पढ्छिन्, पुरुषले पढ्दैन, बच्चाहरूले पढ्छन्, आमा बुबाले पढ्दैनन्। यस्तो भइरहन्छ। सुरुमा पूरा परिवारहरू आए तर मायाको तुफान लाग्नाले आश्चर्यवत् सुनन्ती, कथन्ती, बाबालाई छोडेर गए। गाइएको पनि छ आश्चर्यवत् सुनन्ती, बाबाको बनन्ती, पढाइ पढन्ती फेरि पनि... हाय ड्रामा। बाबा स्वयं भन्नुहुन्छ हाय ड्रामा, हाय मायाको ड्रामा। ड्रामाको नै कुरा भयो नि। स्त्री-पुरुषले एक अर्कालाई डिभोर्स गर्छन्। बच्चाहरूले पितालाई नै छोडिदिन्छन्, यहाँ त त्यो छैन। यहाँ त डिभोर्स दिन सक्दैनन्। बाबा त आउनु भएको हो नै बच्चाहरूलाई सच्चा कमाई गराउन। पिताले कहाँ कसैलाई खाल्डोमा खसाल्छन् र? बाबा त हुनुहुन्छ नै पतित पावन, दयालु। बाबा आएर दु:खबाट मुक्त गर्नु हुन्छ अनि गाइड बनेर सँगै लैजाने हुनुहुन्छ। यसरी कुनै लौकिक गुरुले भन्दैनन् म तिमीलाई साथै लिएर जान्छु। यस्ता गुरु कहिल्यै देख्यौ, कहिल्यै सुन्यौ? गुरुहरूसँग सोध तपाईका यतिका जुन अनुयायीहरू छन्, तपाईले शरीर छोड्दा के यी अनुयायीहरूलाई पनि साथै लैजानुहुन्छ? त्यसो त कहिल्यै कसैले भन्दैन, म अनुयायीहरूलाई साथै लैजान्छु। यस्तो त हुन सक्दैन। कहिल्यै कसैले भन्न सक्दैन म तिमीहरू सबैलाई निर्वाणधाम वा मुक्तिधाममा लैजान्छु। यस्तो प्रश्न कसैले सोध्न सक्दैन हामीलाई तपाईले साथै लैजानु हुन्छ? शास्त्रहरूमा छ भगवानुवाच, म तिमीलाई साथै लैजान्छु। लामखुट्टेहरू जस्तै सबै जान्छन्। सत्ययुगमा त मनुष्य थोरै हुन्छन्। कलियुगमा त धेरै मनुष्यहरू छन्। शरीर छोडेर बाँकी आत्माहरू हिसाब किताब चुक्ता गरेर जान्छन्। अवश्य जानुपर्छ, यतिका मनुष्यहरू त रहन सक्दैनन्। तिमी बच्चाहरूले राम्रोसँग जानेका छौ अब हामी घर जानु छ। यो शरीरलाई त छोड्नु छ। आफू मरेपछि दुनियाँ पनि मर्यो। आफूलाई केवल आत्मा सम्झेर बाबालाई याद गर्नु छ। यो पुरानो शरीरलाई त छोड्नु छ। यो दुनियाँ पनि पुरानो छ। जसरी पुरानो घरमा बसी बसी नयाँ घर तैयार भइरहेको छ भने सम्झिइन्छ हाम्रै लागि बनिरहेको छ। बुद्धि नयाँ घरतिर दौडिन्छ। यसमा यो बनाऊ, यसो गर। सारा ममत्व पुरानोबाट हटेर नयाँतिर जान्छ। त्यो भयो हदको कुरा। यो हो बेहदको दुनियाँको कुरा। पुरानो दुनियाँबाट ममत्व मेटाउनु छ, नयाँ दुनियाँमा लगाउनु छ। जानेका छौ यो पुरानो दुनियाँ त समाप्त हुनु छ। नयाँ दुनियाँ हो स्वर्ग। त्यसमा हामीले राजाको पद पाउँछौं। जति योगमा रहन्छौं, ज्ञानको धारणा गर्छौं, अरूलाई सम्झाउँछौं, त्यति खुसीको पारा चढ्दै जान्छ। धेरै ठूलो परीक्षा छ। हामीले २१ जन्मको लागि स्वर्गको वर्सा पाइरहेका छौं। धनवान बन्नु त राम्रो हो नि। धेरै आयु हुनु त राम्रो हो नि। सृष्टि चक्रको याद गर्छौ, जतिलाई आफू समान बनाउँछौ त्यति नै फाइदा छ। राजा बन्नु छ भने प्रजा पनि बनाउनु छ। प्रदर्शनीमा यति धेरै आउँछन्। तिनीहरू सबै प्रजा बन्दै जान्छन् किनकि यो अविनाशी ज्ञानको त विनाश हुँदैन। बुद्धिमा आउँछ पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्नु छ। पुरुषार्थ धेरै गर्यौ भने प्रजामा उच्च पद पाउँछौ। नत्र प्रजा बन्छौ। नम्बरवार त हुन्छन् नि। राम राज्यको स्थापना भइरहेको छ। रावण राज्यको विनाश हुन्छ। सत्ययुगमा त हुन्छन् नै देवताहरू।

बाबाले सम्झाउनु भएको छ यादको यात्राद्वारा तिमी सतोप्रधान दुनियाँको मालिक बन्छौ। मालिक त राजा प्रजा सबै बन्छन्। प्रजाले पनि भन्छन् हाम्रो देश सबैभन्दा महान् छ। अवश्य भारतखण्ड धेरै महान् छ। अहिले कहाँ छ र, थियो अवश्य। अहिले त बिल्कुल नै गरिब बनेको छ। प्राचीन भारतखण्ड सबैभन्दा धेरै धनवान थियो। तिमीले जानेका छौ हामी सबैभन्दा उच्च देवी देवता कुलका थियौं। अरू कसैलाई देवता भनिदैन। अब तिमी बच्चीहरूले यो पढ्छौ फेरि अरूलाई सम्झाउनु छ। मनुष्यहरूलाई सम्झाउनु त छ नि। तिमीसँग चित्रहरू पनि छन्, तिमीले सिद्ध गरेर बताउन सक्छौ यिनीहरूले यो पद कसरी पाए? तिथि तारिख सहित तिमीले सिद्ध गर्न सक्छौ। अब फेरि यो पद पाइरहेछौ, शिवबाबाबाट। उहाँको चित्र पनि छ। शिव हुनुहुन्छ परमपिता परमात्मा। बाबा भन्नुहुन्छ ब्रह्माद्वारा तिमीलाई योगबलद्वारा २१ जन्मको वर्सा मिल्छ। तिमी सूर्यवंशी देवी देवता विष्णुपुरीका मालिक बन्न सक्छौ। शिवबाबाले दादा ब्रह्माद्वारा यो वर्सा दिइरहनु भएको छ। पहिला यिनको आत्माले सुन्छ, आत्माले नै धारण गर्छ। मुख्य कुरा यही नै हो। चित्र त शिवको देखाइन्छ। यो चित्र परमपिता परमात्मा शिवको हो। ब्रह्मा-विष्णु-शंकर हुन सूक्ष्मवतनका देवताहरू। प्रजापिता ब्रह्मा त अवश्य यहाँ हुनुपर्छ। प्रजापिता ब्रह्माका सन्तान ब्रह्माकुमार ब्रह्माकुमारीहरू धेरै छन्। जबसम्म ब्रह्माका बन्दैनन्, ब्राह्मण बन्दैनन्, शिवबाबाबाट वर्सा कसरी लिन्छन्? कोखको जन्म त हुन सक्दैन। गाइन्छ पनि मुख वंशावली भनेर। तिमीले भन्छौ हामी प्रजापिता ब्रह्माका मुख वंशावली हौं। उनीहरू गुरुको अनुयायी बन्छन्। यहाँ तिमीले एकलाई नै बाबा-टिचर-सद्गुरु भन्छौ। त्यो पनि यिनलाई भन्दैनौ। निराकार शिवबाबा पनि हुनुहुन्छ। ज्ञानको सागर हुनुहुन्छ। सृष्टिको आदि मध्य अन्त्यको ज्ञान दिनुहुन्छ। टिचर पनि उहाँ निराकार नै हुनुहुन्छ जसले साकारद्वारा ज्ञान सुनाउनु हुन्छ। आत्माले नै बोल्छ। आत्माले भन्छ मेरो शरीरलाई दु:ख नदेऊ। आत्मा दु:खी भयो भने सान्त्वना दिइन्छ, विनाश सामुन्ने खडा छ। पारलौकिक बाबा आउनु हुन्छ नै अन्त्यमा सबैलाई फर्काएर लैजान। बाँकी जे जति छन्, यी सबैको विनाश हुनु छ। यसलाई भनिन्छ मृत्युलोक। स्वर्ग त यहाँ पृथ्वीमा नै हुन्छ। दिलवाडा मन्दिर बनेको छ। तल तपस्या गरिरहेका छन्, माथि छ स्वर्ग। नभए कहाँ देखाउँथे? माथि देवताहरूका चित्रहरू देखाएका छन्। सम्झाउने धेरै युक्ति हुनुपर्छ। मन्दिरहरूमा गएर सम्झाउनु पर्छ यो शिवबाबाको यादगार हो, उहाँले हामीलाई पढाइरहनु भएको छ। शिव हुनुहुन्छ वास्तवमा बिन्दु स्वरूप। तर बिन्दुको पूजा कसरी गर्ने, फलफूल कसरी चढाउने, त्यसैले ठूलो रूप बनाइएको हो। यति ठूलो कोही पनि हुँदैनन्। गाइन्छ पनि भृकुटीको बिचमा चम्किन्छ अजब सितारा। छ पनि अति सूक्ष्म, बिन्दु स्वरूप छ। ठूलो चिज हुँदो हो त वैज्ञानिकहरूले तुरुन्तै उसलाई समात्न सक्थे। न त हजार सूर्य भन्दा तेज छ, केही पनि होइन। कुनै कुनै भक्तहरू पनि आउँछन् नि, भन्छन् हामीले यस्तो चेहरा देख्यौं। बाबा सम्झनु हुन्छ उनीहरूलाई परमपिता परमात्माको पूरा परिचय मिलेकै छैन। अहिलेसम्म भाग्य खुलेको छैन। जबसम्म बाबालाई जानेका छैनन्, यो सम्झँदैनन् हाम्रो आत्मा बिन्दु समान छ, शिवबाबा पनि बिन्दु हुनुहुन्छ, उहाँलाई याद गर्नु छ। यस्तो सम्झेर जब याद गर्छन् तब विकर्म विनाश हुन्छ। बाँकी यो देखिन्छ, यस्तो देखिन्छ, उस्तो देखिन्छ..., यसलाई फेरि मायाको विघ्न भनिन्छ। अहिले त खुसीमा छौ, हामीलाई बाबा मिल्नु भएको छ। बाबा भन्नुहुन्छ कृष्णको साक्षात्कार गरेर धेरै खुसीमा डान्स आदि गर्छन् तर त्यसबाट कुनै सद्गति हुँदैन। यस्तो साक्षात्कार त अनायास नै हुन जान्छ। यदि राम्रोसँग पढेनौ भने प्रजामा जान्छौ। साक्षात्कारको पनि फाइदा त मिल्नु छ नि। भक्तिमार्गमा धेरै मेहनत गरेपछि बल्ल साक्षात्कार हुन्छ। यहाँ अलिकति पनि मेहनत गर्छन् भने साक्षात्कार हुन्छ तर फाइदा केही हुँदैन। कृष्णपुरीमा गएर साधारण प्रजा आदि बन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ, शिवबाबाले हामीलाई यो ज्ञान सुनाइरहनु भएको छ। बाबाको आदेश छ, पवित्र अवश्य बन्नु छ। तर कोही कोही पवित्र रहन पनि सक्दैनन्। कहिलेकाहीँ पतित पनि यहाँ लुकेर आउँछन्। उसले आफ्नै नोक्सान गर्छ। आफैंलाई ठग्छ। बाबालाई त ठग्ने कुरै छैन। बाबासँग ठगेर कुनै पैसा लिनु छ र? शिवबाबाको श्रीमत अनुसार काइदा बमोजिम चलेन भने के हाल होला? बुझिन्छ भाग्यमा नै छैन। पढ्दैनन् भने, अरूलाई दु:ख दिइरहन्छन् भने एक त धेरै सजायँ भोग्नु पर्नेछ अनि फेरि पद पनि भ्रष्ट हुन जान्छ। कुनै पनि नियम विरुद्ध काम गर्नु छैन। बाबाले त सम्झाउनु हुन्छ नि, तिम्रो चालचलन ठीक छैन भनेर। बाबाले त कमाई गर्ने उपाय बताउनु हुन्छ फेरि कसैले गरोस्, नगरोस् उसको भाग्य। सजायँ भोगेर फर्केर शान्तिधाममा त जानु नै छ। पद भ्रष्ट हुन जान्छ। केही पनि मिल्दैन। आउन त धेरै आउँछन् तर यहाँ कुरा त बाबाबाट वर्सा लिने कुरा छ। बच्चाहरूले भन्छन् बाबा! हामीले त स्वर्गको सूर्यवंशी राजाईं पद पाउँछौं। राजयोग हो नि। छात्रवृत्ति पनि लिनु छ नि। पास हुनेलाई छात्रवृत्ति मिल्छ। यो माला उनीहरूको बनेको हो, जसले छात्रवृत्ति लिएका थिए। जो जो जसरी पास हुन्छन्, त्यस्तै छात्रवृत्ति मिल्छ। याो माला बनेको छ। छात्रवृत्ति पाउनेहरू बढ्दै बढ्दै हजारौं बन्न पुग्छन्। राजाईं पद हो छात्रवृत्ति। जसले राम्रोसँग पढाइ पढ्छ ऊ गुप्त रहन सक्दैन। नयाँहरू पुरानाभन्दा अगाडि बढेर जान्छन्। जस्तै, हेर कैयौं बच्चीहरू आउँछन्, भन्छन् हामीलाई यो पढाइ त धेरै राम्रो लाग्छ। हामी प्रण गर्छौं यो लौकिक पढाइको कोर्स पूरा गरेर फेरि यो पढाइमा लाग्छौं। आफ्नो हीरा जीवन जस्तो बनाउँछौं। हामीले आफ्नो सच्चा कमाई गरेर २१ जन्मको लागि वर्सा पाउँछौं। कति खुसी हुन्छ। जानेका छौं यो वर्सा अहिले लिएनौं भने फेरि कहिल्यै पनि लिन सक्दैनौं। पढाइको सोख हुन्छ नि। कसैको त अलिकति पनि सोख हुँदैन, जान्नलाई। पुरानाहरूलाई पनि यति सोख हुँदैन, जति नयाँहरूलाई हुन्छ। भन्छन् ड्रामा अनुसार भाग्यमा छैन भने त भगवानले पनि के गर्ने? टिचरले त पढाउँछन् नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्ना कमीहरूलाई लुकाउनु पनि स्वयंलाई ठग्नु हो। त्यसैले कहिल्यै पनि आफूसँग ठगी नगर।

२) आफ्नो उच्च तकदिर बनाउनको लागि काइदा विरुद्ध कुनै पनि काम गर्नु हुँदैन। पढाइको सोख राख्नु छ। आफू समान बनाउने सेवा गर्नु छ।

वरदान:
हर कदम श्रीमत अनुसार चलेर मायालाई समर्पण गराउने सहजयोगी भव

जुन बच्चाहरू हर कदम श्रीमत अनुसार चल्छन्, उनीहरूको अगाडि सारा विश्व समर्पित हुन्छ, साथ-साथै माया पनि आफ्नो वंश सहित समर्पित हुन्छ। पहिला तिमी बाबामा समर्पित होऊ, तब माया तिमीमा समर्पित हुन्छ। आफ्नो श्रेष्ठ स्वमानमा रहँदै हर आज्ञामा चलिरह्यौ भने जन्म जन्मान्तरको मुश्किलबाट छुट्छौ। अहिले सहजयोगी र भविष्यमा सहज जीवन हुन्छ। त्यसैले यस्तो सहज जीवन बनाऊ।

स्लोगन:
स्वयंको परिवर्तनद्वारा अन्य आत्माहरूको परिवर्तन गर्नु नै जीवनदान हो।