12.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले अब टिचर बनेर सबैलाई मन वशीकरण मन्त्र सुनाउनु छ , यो तिमी सबै बच्चाहरूको कर्तव्य हो।

प्रश्न:
बाबाले कुन बच्चाहरूको केही पनि स्वीकार गर्नुहुन्न?

उत्तर:
जसलाई अहंकार छ मैले यति दिन्छु, मैले यति मदत गर्न सक्छु, बाबाले तिनीहरूको केही पनि स्वीकार गर्नुहुन्न। बाबा भन्नुहुन्छ मेरो हातमा चाबी छ। चाहे त मैले कसैलाई गरिब बनाऊँ, चाहे कसैलाई धनवान बनाऊँ। यो पनि ड्रामाको रहस्य हो। जसलाई अहिले आफ्नो धनको घमण्ड छ, भोलि ऊ गरिब बन्छ र गरिब बच्चाहरू बाबाको कार्यमा आफ्नो एक-एक पैसा सफल गरेर धनवान बन्छन्।

ओम् शान्ति ।
यो त रूहानी बच्चाहरूले जानेका छन् बाबा आउनु भएको छ हामीलाई नयाँ दुनियाँको वर्सा दिन। यो पनि बच्चाहरूलाई पक्का निश्चय छ नि जति हामीले बाबालाई याद गर्छौं त्यति पवित्र बन्छौं। जति हामी असल टिचर बन्छौं त्यति उच्च पद पाउँछौं। बाबाले तिमीलाई टिचरको रूपमा पढाउन सिकाउनु हुन्छ। तिमीले फेरि अरूलाई सिकाउनु छ। तिमी पढाउने टिचर अवश्य बन्छौ तर तिमी कसैको गुरु बन्न सक्दैनौ, केवल टिचर बन्न सक्छौ। गुरु त एक सद्गुरु मात्रै हुनुहुन्छ, उहाँले सिकाउनु हुन्छ। सबैका सद्गुरु एक मात्रै हुनुहुन्छ। उहाँले टिचर बनाउनु हुन्छ। तिमीले सबैलाई पढाएर मार्ग बताइरहन्छौ मनमनाभवको। बाबाले तिमीलाई यो काम दिनुभएको छ मलाई याद गर अनि टिचर पनि बन। तिमीले कसैलाई पनि बाबाको परिचय दिन्छौ भने उनीहरूको पनि कर्तव्य हो बाबाको याद गर्नु। टिचरको रूपमा सृष्टिचक्रको ज्ञान दिनुपर्छ। बाबालाई अवश्य पनि याद गर्नुपर्छ। बाबाको यादबाटै पाप मेटिन्छ। बच्चाहरूले जानेका छन् हामी पाप आत्मा हौं। त्यसैले बाबाले सबैलाई भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर मलाई याद गर अनि तिम्रो पाप मेटिन्छ। बाबा नै पतित-पावन हुनुहुन्छ। युक्ति बताउनु हुन्छ मीठे बच्चे, तिम्रो आत्मा पतित बनेको छ, जसको कारण शरीर पनि पतित बनेको छ। पहिला तिमी पवित्र थियौ, अहिले तिमी अपवित्र बनेका छौ। अहिले पतितबाट पावन बन्ने युक्ति त धेरै सहज सम्झाउनु हुन्छ। बाबालाई याद गर्यौ भने तिमी पवित्र बन्छौ। उठ्दा, बस्दा, हिँड्दा बाबालाई याद गर। उनीहरूले गंगा स्नान गर्दा गंगालाई याद गर्छन्। सम्झन्छन् ती गंगा पतित-पावनी हुन्। गंगालाई याद गर्नाले पावन बनिन्छ। तर बाबा भन्नुहुन्छ कोही पनि पावन बन्न सक्दैन। पानीबाट कसरी पावन बनिन्छ? बाबा भन्नुहुन्छ म पतित-पावन हुँ। हे प्यारा बच्चाहरू! देह सहित देहका सबै धर्मलाई छोडेर मलाई याद गर्नाले तिमी पावन बनेर फेरि आफ्नो घर मुक्तिधाम पुग्छौ। सारा कल्प घरलाई बिर्सिएका छौ। सारा कल्प कसैले पनि बाबालाई जान्दै जानेका छैनन्। एकै पटक बाबा स्वयं आएर आफ्नो परिचय दिनुहुन्छ यस मुखद्वारा। यस मुखको कति महिमा छ। गऊमुख भन्छन् नि। त्यो गऊ त जनावर हो, यो हो मनुष्यको कुरा।

तिमीलाई थाहा छ यी बडी माता हुन्। जुन माताद्वारा शिवबाबाले तिमीहरू सबैलाई गोदमा लिनुहुन्छ। तिमीले अहिले बाबा-बाबा भन्न लागेका छौ। बाबाले पनि भन्नुहुन्छ यो यादको यात्राबाटै तिम्रो पाप काटिन्छ। बच्चाहरूलाई पिताको याद आउँछ नि। उनको अनुहार आदि दिलमा बस्छ। तिमी बच्चाहरूलाई थाहा छ जस्ता हामी आत्मा छौं त्यस्तै उहाँ परम आत्मा हुनुहुन्छ। स्वरूपमा केही फरक छैन। शरीरको सम्बन्धमा त स्वरूप आदि फरक हुन्छ, तर आत्मा त उस्तै छ। जस्तो हाम्रो आत्मा छ, परम आत्मा बाबा पनि त्यस्तै हुनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ बाबा परमधाममा रहनुहुन्छ, हामी पनि परमधाममा रहन्छौं। बाबाको आत्मा र हाम्रो आत्मामा अरू केही पनि फरक छैन। उहाँ पनि बिन्दु हुनुहुन्छ, हामी पनि बिन्दु हौं। यो ज्ञान अरू कसैसँग छैन। तिमीलाई नै बाबाले बताउनु भएको छ। बाबाको लागि पनि के-के भनिदिन्छन्। सर्वव्यापी हुनुहुन्छ, पत्थरमा हुनुहुन्छ, जसलाई जे आउँछ त्यही भनिदिन्छन्। ड्रामा योजना अनुसार भक्तिमार्गमा बाबाको नाम, रूप, देश, काललाई बिर्सिन्छन्। तिमीले पनि बिर्सिन्छौ। आत्माले आफ्नो पितालाई बिर्सिन्छ। बच्चाले नै पितालाई बिर्सिन्छन् भने अरूले के जानून् अर्थात् अनाथ बनेका छन्। आफ्नो स्वामीलाई याद नै गर्दैनन्। स्वामीको पार्टलाई नै जानेका छैनन्। आफूलाई पनि बिर्सिन्छन्। तिमीले राम्रोसँग जानेका छौ अवश्य पनि हामीले बिर्सिएका थियौं। पहिला हामी यस्ता देवी-देवता थियौं, अहिले जनावर भन्दा पनि निकृष्ट बनेका छौं। मुख्य त हामीले आफ्नो आत्मालाई नै बिर्सिएका छौं। अब महसुस कसले गराओस्! कुनै पनि जीव आत्मालाई यो थाहा नहोला कि हामी आत्मा के हौं, कसरी सारा अभिनय गर्छौ? हामी सबै भाइ-भाइ हौं यो ज्ञान अरू कसैसँग छैन। यस समय सारा सृष्टि नै तमोप्रधान बनिसकेको छ। ज्ञान छैन। तिमीसँग अहिले ज्ञान छ, बुद्धिमा आएको छ हामी आत्माले यति समयसम्म आफ्ना पिताको ग्लानि गर्दै आएका हौं। ग्लानि गर्नाले बाबाबाट टाढा हुँदै जान्छन्। सीँढी तल उत्रँदै गएका छन्, ड्रामा योजना अनुसार। मूल कुरा हो, बाबाको याद गर्नु। बाबाले अरू कुनै दु:ख दिनुहुन्न। बच्चाहरूलाई केवल बाबाको याद गर्नमा मेहनत लाग्छ। पिताले कहिल्यै बच्चालाई कुनै कष्ट दिन सक्छन् र? नियमले यसो भन्दैन। बाबा भन्नुहुन्छ मैले कुनै पनि दु:ख दिन्न। जे पनि प्रश्न आदि सोधेमा भन्छु यी कुरामा किन समय खेर फाल्छौ? बाबालाई याद गर। म आएको हुँ नै तिमीलाई लैजान, त्यसैले तिमी बच्चाहरू यादको यात्राबाट पावन बन्नु छ। एक म नै पतित-पावन बाबा हुँ। बाबाले युक्ति बताउनु हुन्छ जहाँ गए पनि बाबालाई याद गर्नु छ। ८४ को चक्रको रहस्य पनि बाबाले सम्झाउनु भएको छ। अब आफ्नो जाँच गर्नु छ कतिसम्म मैले बाबाको याद गर्छु? अरू कतै तिरको विचार गर्नु छैन। यो त धेरै सहज छ। बाबालाई याद गर्नु छ। बच्चा अलिकति ठूलो हुने बित्तिकै स्वाभाविक रूपमा माता-पितालाई याद गर्न थाल्छ। तिमीले पनि सम्झ हामी आत्माहरू बाबाका बच्चा हौं, याद किन गर्नु पर्ने हुन्छ! किनकि हामीमा जुन पाप चढेको छ, त्यो यसै यादबाटै समाप्त हुन्छ। त्यसैले गायन पनि छ एक सेकेण्डमा जीवनमुक्ति। जीवनमुक्तिको आधार पढाइमा छ र मुक्तिको आधार यादमा छ। जति तिमीले बाबालाई याद गर्छौ र पढाइमा पूरा ध्यान दिन्छौ त्यति उच्च स्तरको पद पाउने छौ। ठीक छ, कामधन्दा आदि गरिराख, बाबाले कुनै मनाही गर्नुहुन्न। कामधन्दा आदि जुन तिमीले गर्छौ त्यो पनि दिनरात याद रहन्छ नि। अहिले बाबाले यो रूहानी धन्दा दिनुहुन्छ आफूलाई आत्मा सम्झेर म पितालाई याद गर अनि ८४ को चक्रलाई याद गर। मलाई याद गर्नाले नै तिमी सतोप्रधान बन्छौ। यो पनि जानेका छौ अहिले यो पुरानो चोला हो फेरि सतोप्रधान नयाँ चोला मिल्छ। आफुसँग बुद्धिमा सारराख्नुपर्छ, जसबाट धेरै फाइदा हुन्छ। जसरी स्कुलमा पढ्ने विषय त धेरै हुन्छन् फेरि पनि अंग्रेजीमा बढी अंक प्राप्त गर्नुपर्ने हुन्छ किनकि अंग्रेजी हो मुख्य भाषा। पहिला उनीहरूको राज्य थियो त्यसैले त्यो भाषा धेरै चल्छ। अहिले पनि भारतवासीहरू ऋणी छन्। जो जति धनवान भए पनि बुद्धिमा छ नि, हाम्रो राज्यका प्रमुखहरू जो छन्, ती ऋणमा छन् अर्थात् हामी पनि ऋणमा छौं। प्रजाले अवश्य पनि भन्छन् नि, हामी ऋणी हौं। यो पनि बुझ्नुपर्छ नि। तिमीले राजाई स्थापना गरिरहेका छौ। तिमीलाई थाहा छ हामी सबै यो ऋणबाट छुटेर सम्पन्न बन्छौं फेरि आधाकल्प हामीले कसैसँग पनि ऋण लिने छैनौं। ऋणी पतित दुनियाँका मालिक हुन्। अहिले हामी ऋणी पनि हौं, पतित दुनियाँका मालिक पनि हौं। हाम्रो देश यस्तो छ भनेर गायन गर्छन् नि।

तिमी बच्चाहरूलाई थाहा छ हामी धेरै धनवान थियौं। राजकुमार, राजकुमारी थियौं। यो याद रहन्छ। हामी यस्तो विश्वका मालिक थियौं। अहिले बिल्कुल ऋणी पतित बनेका छौं। यो खेलको परिणाम बाबाले बताइरहनु भएको छ। परिणाम के भयो? तिमी बच्चाहरूको स्मृतिमा आएको छ। सत्ययुगमा हामी कति धनवान थियौं, कसले तिमीलाई धनवान बनायो? बच्चाहरूले भन्छन् बाबा, हजुरले हामीलाई कति धनवान बनाउनु भएको थियो। एक बाबाले नै धनवान बनाउनु हुन्छ। दुनियाँले यी कुरालाई जानेका छैनन्। लाखौं वर्ष भनिदिनाले सबै बिर्सिएका छन्, केही पनि जानेका छैनन्। तिमीले अहिले सबै कुरा जानेका छौ। हामी पद्मापद्म धनवान थियौं। धेरै पवित्र थियौं, धेरै सुखी थियौं। त्यहाँ झूटो, पाप आदि केही हुँदैन। सारा विश्वमा तिम्रो विजय थियो। गायन पनि छ शिवबाबा हजुरले जे दिनुहुन्छ त्यो अरू कसैले दिन सक्दैन। कसैको तागत छैन जसले आधाकल्पको लागि सुख दिन सकोस्। बाबा भन्नुहुन्छ भक्तिमार्गमा पनि तिमीसँग धेरै सुख, अथाह धन हुन्छ। कति हीरा-जुहारत थिए जुन फेरि पछि आउनेको हातमा आउँछ। अहिले त ती चीजहरू नै देखिदैन। तिमीले फरक देख्छौ नि। तिमी नै पूज्य देवी-देवता थियौ फेरि तिमी नै पुजारी बनेका छौ। आफै पूज्य, आफै पुजारी। बाबा कुनै पुजारी बन्नुहुन्न तर पुजारी दुनियाँमा त आउनु हुन्छ नि। बाबा त सदा पूज्य हुनुहुन्छ। उहाँ कहिल्यै पुजारी बन्नुहुन्न, उहाँको धन्दा हो तिमीलाई पुजारीबाट पूज्य बनाउनु। रावणको काम हो तिमीलाई पुजारी बनाउनु। यो दुनियाँमा कसैलाई पनि थाहा छैन। तिमीले पनि बिर्सिन्छौ। दिनहुँ बाबाले सम्झाइरहनु हुन्छ। बाबाको हातमा छ चाहे कसैलाई धनवान बनाउने, चाहे गरिब बनाउने। बाबा भन्नुहुन्छ जो धनवान छन् उनीहरू अवश्य पनि गरिब बन्नु छ, बन्ने नै छन्। उनीहरूको पार्ट त्यस्तै छ। उनीहरू कहिल्यै ठहर्न सक्दैनन्। धनवानहरूलाई अहंकार पनि धेरै हुन्छ नि म फलाना हुँ, यो यो मेरो हो। घमण्ड तोड्नको लागि बाबा भन्नुहुन्छ यिनीहरू जब आउने छन् केही दिनको लागि तब बाबा भन्नुहुन्छ आवश्यक छैन। त्यो आफैसँग राख। जब आवश्यकता होला तब फेरि लिन्छु किनकि देख्नुहुन्छ कामको छैन, आफ्नो घमण्ड छ। त्यसैले यो सबै बाबाको हातमा छ नि लिने वा नलिने। बाबाले पैसा के गर्ने, आवश्यक छैन। यी भवन त तिमी बच्चाहरूको लागि बनिरहेका छन्, आएर बाबालाई भेटेर नै जानु छ। सदैव त रहनु छैन। पैसाको के आवश्यकता रहन्छ? कुनै सेना वा तोप आदि त चाहिँदैन। तिमी विश्वको मालिक बन्छौ। अहिले युद्धको मैदानमा छौ, तिमीले बाबाको याद गर्नु बाहेक अरू केही पनि गर्दैनौ। बाबाले आदेश दिनुभएको छ मलाई याद गर्यौ भने यति शक्ति मिल्छ। यो तिम्रो धर्मले धेरै सुख दिन्छ। बाबा हुनुहुन्छ सर्वशक्तिमान। तिमी उहाँका बन्छौ, सारा कुरा यादको यात्रामा आधारित छ। यहाँ तिमीले सुन्छौ अनि त्यसमाथि मन्थन चल्छ। जसरी गाईले घाँस खाएर फेरि उग्राउँछ, मुख चलि नै रहन्छ। तिमी बच्चाहरूलाई पनि भनिन्छ ज्ञानका कुरामा खूब विचार गर। बाबासँग हामीले के सोध्ने? बाबाले त भन्नुहुन्छ मनमनाभव, जसबाट नै तिमी सतोप्रधान बन्छौ। यो लक्ष्य-उद्देश्य सामुन्ने छ।

तिमीलाई थाहा छ सर्वगुण सम्पन्न, १६ कला सम्पन्न बन्नु छ। यो स्वाभाविक रूपमा मनमा आउनु पर्छ। कसैको ग्लानि वा पाप कर्म आदि केही पनि नहोस्। तिमीले कुनै पनि उल्टो कर्म गर्नुहुँदैन। यी देवी-देवताहरू नम्बरवन हुन्। पुरुषार्थबाट उच्च पद पाएका हुन् नि। उनीहरूको लागि गायन गरिन्छ अहिंसा परमो देवी-देवता धर्म। कसैलाई दु:ख दिनु यो हिंसा भयो नि। बाबाले सम्झाउनु हुन्छ, फेरि बच्चाहरू अन्तर्मुखी भएर आफूलाई हेर्नु छ म कस्तो बनेको छु? बाबालाई मैले याद गर्छु? मैले कति समय याद गर्छु? यति दिल लागोस् जो यो याद कहिल्यै नबिर्सियोस्। अहिले बेहदका बाबा भन्नुहुन्छ तिमी आत्माहरू मेरा सन्तान हौ। त्यो पनि तिमी अनादि सन्तान हौ। ती जो प्रियतमा-प्रियतम हुन्छन् तिनीहरूको हो दैहिक याद। जसरी साक्षात्कार हुन्छ फेरि हराउँछ त्यस्तै ती पनि सामुन्ने आउँछन्। त्यसै खुशीमा नै खाँदा-पिउँदा याद गरिरहन्छन्। तिम्रो यो यादमा त धेरै शक्ति छ। एक बाबालाई नै याद गरिरहन्छौ। तिमीलाई फेरि तिम्रो भविष्य याद आउँछ। विनाशको साक्षात्कार पनि हुन्छ। पछि गएर छिटो-छिटो विनाशको साक्षात्कार हुन्छ। फेरि तिमीले भन्न सक्छौ अब विनाश हुन्छ। बाबालाई याद गर। बाबाले यी सबै कुरा छोडिदिनु भयो नि। पछि गएर केही पनि याद नआओस्। अब त हामी आफ्नो राजधानीमा जान्छौं। नयाँ दुनियाँमा अवश्य पनि जानु छ। योगबलबाट सबै पापलाई भस्म गर्नु छ, यसैमा धेरै मेहनत गर्नु छ। घरी-घरी बाबालाई बिर्सिन्छ किनकि यो धेरै महीन कुरा हो। जुन उदाहरण दिन्छन् सर्पको, कुमालकोटीको, त्यो सबै यसै समयको हो। कुमालकोटीले कमाल गर्छ नि। उसको भन्दा तिम्रो कमाल धेरै छ। बाबाले लेख्नुहुन्छ नि ज्ञानको भुँ-भुँ गरिराख। आखिरमा जाग्छन्। जाने कहाँ? तिम्रो पासमा आउने छन्। थपिँदै जान्छन्। तिम्रो प्रसिद्धि हुँदै जान्छ। अहिले त तिमी थोरै छौ नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) ज्ञानको खुब विचार सागर मन्थन गर्नु छ। जो सुन्छौ, त्यसलाई उग्राउनु छ। अन्तर्मुखी भएर हेर्नु छ बाबासँग दिल यसरी लागेको होस्, जसले गर्दा उहाँलाई कहिल्यै भुल्दै नभुलियोस्।

२) कुनै पनि प्रश्न आदि सोधेर आफ्नो समय खेर नफाल। यादको यात्राबाट स्वयंलाई पावन बनाउनु छ। अन्त्य समयमा एक बाबा सिवाय अरू केही पनि विचार नआओस् यो अभ्यास अहिलेदेखि नै गर्नु छ।

वरदान:
ज्ञान सूर्य, ज्ञान चन्द्रमाको साथमा साथी बनेर रातलाई दिन बनाउने रूहानी ज्ञान सितारा भव

जसरी ती ताराहरू रातमा प्रकट हुन्छन्, त्यस्तै तिमी रूहानी ज्ञान सितारा, चम्किला सिताराहरू पनि ब्रह्माको रातमा प्रकट हुन्छौ। ती ताराहरूले रातलाई दिन बनाउँदैनन्, तर तिमी ज्ञान सूर्य, ज्ञान चन्द्रमाको साथमा साथी बनेर रातलाई दिन बनाउँछौ। ती आकाशका सितारा हुन्, तिमी धर्तीका सितारा हौ। त्यो प्रकृतिको सत्ता हो, तिमी परमात्म सितारा हौ। जसरी प्रकृतिको तारामन्डलमा अनेक प्रकारका सिताराहरू चम्किरहेको देखिन्छ, त्यस्तै तिमी परमात्म तारामन्डलमा चम्किने रूहानी सितारा हौ।

स्लोगन:
सेवाको अवसर मिल्नु अर्थात् आशीर्वादले झोली भर्नु हो।