12.11.23    Avyakt Bapdada     Nepali Murli    22.03.96     Om Shanti     Madhuban


“ब्राह्मण जीवनको पर्सन्यालिटी– सबै प्रश्नहरूदेखि पार सदा प्रसन्नचित्त रहनु”


आज सर्वप्राप्तिदाता, बापदादाले आफ्ना सर्वप्राप्तिस्वरूप बच्चाहरूलाई देखिरहनु भएको छ। बापदादाद्वारा प्राप्तिहरू त धेरै भएका छन्, जसको यदि वर्णन गर्यौ भने धेरै छन् तर लामो लिस्ट बताउनुको सट्टा यही वर्णन गर्छौ ‘अप्राप्त छैन कुनै वस्तु यस ब्राह्मण जीवनमा।’ बापदादाले देखिरहनु भएको छ– प्राप्तिहरू त धेरै छन्, लामो लिस्ट छ नि! जसलाई सर्वप्राप्ति छ, प्रत्यक्ष जीवनमा उसको निशानी के देखिन्छ– त्यो थाहा छ हैन? सर्व प्राप्तिहरूको निशानी हो– सदा उसको चेहरा र चालचलनमा प्रसन्नताको पर्सन्यालिटी देखिन्छ। पर्सन्यालिटीले नै जसलाई पनि आकर्षित गर्छ। सर्व प्राप्तिहरूको निशानी– प्रसन्नताको पर्सन्यालिटी हो, जसलाई सन्तुष्टता पनि भनिन्छ। तर आजकाल अनुहारमा जुन सदा प्रसन्नताको झलक देखिनुपर्ने हो त्यो देखिँदैन। कहिले प्रसन्नचित्त र कहिले प्रश्नचित्त। दुई प्रकारका छन्, एकथरी छन्– अलिकति पनि परिस्थिति आयो भने प्रश्नचित्त– किन, के, कसरी, कहिले... यो प्रश्नचित्त र प्राप्तिस्वरूप सदा प्रसन्नचित्त हुन्छन्। तिनलाई कहिल्यै पनि कुनै पनि कुरामा प्रश्न उठ्दैन किनकि तिनीहरू सर्वप्राप्तिहरूले सम्पन्न हुन्छन्। त्यसैले यो किन, के, जे हुन्छ त्यो हलचल हो, जो सम्पन्न हुन्छन्, उनमा हलचल हुँदैन। जो खाली हुन्छ, उसमा हलचल हुन्छ। अब आफूले आफैसँग सोध– म सदा प्रसन्नचित्त रहन्छु? कहिलेकाहीँ होइन सदा? १० वर्षवाला त सदा हुन्छौ कि हुँदैनौ? हुन्छौं भन्दैनौ, सोचिरहेका छौ? यदि प्रसन्नता कम भयो भने त्यसको कारण प्राप्ति कम र कम प्राप्तिको कारण, कुनै न कुनै इच्छा हो। इच्छाको फाउण्डेसन ईर्ष्या र अप्राप्ति हो। धेरै सूक्ष्म इच्छाहरूले अप्राप्तितिर लैजान्छ, फेरि रोयल रूपमा यही भन्छन्– मेरो इच्छा छैन, तर भएमा ठीकै छ। तर जहाँ अल्पकालको इच्छा छ, त्यहाँ राम्रो लाग्न सक्दैन। अब चेक गर चाहे ज्ञानको जीवनमा, ज्ञानको रोयल रूपका इच्छाहरू, चाहे मोटो रूपका इच्छाहरू, अहिले देखिन्छ– मोटो रूपका इच्छाहरू समाप्त भएका छन् तर रोयल इच्छाहरू ज्ञानमा चलेपछि सूक्ष्मरूपमा रहेका छन्, त्यो चेक गर किनकि बापदादा अब सबै बच्चाहरूलाई बाबासमान सम्पन्न, सम्पूर्ण बनाउन चाहनुहुन्छ। जोसँग प्यार हुन्छ, ऊ समान बन्न कुनै मुस्किल कुरा हुँदैन।

बापदादासँग सबैको धेरै प्यार छ कि प्यार मात्र छ? (धेरै प्यार छ) पक्का? त्यसोभए प्यारको पछाडि त्याग गर्न वा परिवर्तन गर्नु के ठुलो कुरा हो? (होइन)। त्यसोभए के पूरा त्याग गरेका छौ त? जे बाबाले भन्नुहुन्छ, जे बाबाले चाहनुहुन्छ त्यो गरेका छौ? सदा गरेका छौ? कहिलेकाहीँले काम चल्दैन। सदाको राज्य भाग्य प्राप्त गर्नु छ वा कहिलेकाहीँको? सदाको हुनुपर्छ हैन? सदा प्रसन्नता अर्थात् अरू कुनै पनि भाव चेहरामा वा चालचलनमा नदेखियोस्। कहिलेकाहीँ भन्छौ नि आज बहिनजी वा भाइजीको मुड अर्कै छ। तिमीहरूले पनि भन्छौ आज मेरो मुड अर्कै छ। यसलाई के भन्ने? सदा प्रसन्नता भयो त? कति बच्चाहरूले प्रशंसाको आधारमा प्रसन्नता अनुभव गर्छन् तर त्यो प्रसन्नता अल्पकालको हो। आज छ केही समयपछि समाप्त हुन्छ। त्यसैले यो पनि चेक गर– मेरो प्रसन्नता प्रशंसाको आधारमा त होइन? जसरी आजकाल घर बनाउँछन् नि, त्यसमा सिमेन्टको साथै बालुवाको मात्रा बढी राखिदिन्छन्, दुवैलाई मिसाउँछन्। त्यसैगरी यो पनि त्यस्तै हो, जहाँ फाउण्डेसन मिसिएको छ। यथार्थ होइन। त्यसैले अलिकति पनि परिस्थितिको तुफान आयो वा कुनै पनि प्रकारको हलचल भयो भने प्रसन्नतालाई समाप्त गरिदिन्छ। तिम्रो फाउण्डेसन यस्तो त छैन?

बापदादाले पहिला पनि सुनाउनु भएको छ, अहिले फेरि अण्डरलाइन गरिरहनु भएको छ– रोयल रूपको इच्छाको स्वरूप नाम, मान र सान हो। आधार सर्भिसको लिन्छौ, सर्भिसमा नाम होस् भन्ने चाहन्छौ। तर जसले नामको लागि सेवा गर्छन्, उनीहरूको नाम अल्पकालको लागि त हुन्छ– यो धेरै राम्रो सेवाधारी हो, धेरै राम्रो आकर्षण गर्नेवाला हो तर नामको लागि सेवा गर्नेहरूको उच्च पदमा नाम पछाडि हुन्छ किनकि उसले कच्चा फल खायो, पाकेकै हुँदैन भने पाकेको फल कहाँ खान्छन्, काँचै खान्छन्। भर्खरै सेवा गर्यो, उत्तिखेरै नाम पायो, यो कच्चा फल हो, वा इच्छा राख्यौ– सेवा त मैले धेरै गरें, सबैभन्दा धेरै सेवाको निमित्त म नै हुँ, यो नामको आधारमा सेवा भयो– यस्तालाई भनिन्छ काँचो फल खानेहरू। काँचो फलमा तागत हुन्छ र? वा सेवा गर्यो, सेवाको रिजल्टमा मलाई मान मिल्नुपर्छ। यो मान होइन, अभिमान हो। जहाँ अभिमान हुन्छ, त्यहाँ प्रसन्नता रहन सक्दैन। सबैभन्दा ठुलो सान बापदादाको दिलमा सान प्राप्त गर्नु हो। आत्माहरूको दिलमा यदि सान मिलिहाले पनि आत्मा स्वयं नै लिनेवाला हो, मास्टरदाता हो, दाता होइन। यदि सान चाहिन्छ भने सदा बापदादाको दिलमा आफ्नो सान प्राप्त गर। यी सबै रोयल इच्छाहरूले प्राप्ति स्वरूप बन्न दिँदैनन्, त्यसैले प्रसन्नताको पर्सनालिटी सदा चेहरा र चालचलनमा देखिँदैन। कुनै पनि परिस्थितिमा प्रसन्नताको मुड परिवर्तन भयो भने सदाकालको प्रसन्नता भनिदैन। ब्राह्मण जीवनको मुड सदा चियरफुल (प्रसन्न) र केयरफुल (सावधान)। मुड परिवर्तन हुनुहुँदैन। फेरि रोयल रूपमा भन्छन् आज मलाई धेरै एकान्त चाहिन्छ। किन चाहियो? किनकि सेवा वा परिवारसँग किनारा गर्न चाहन्छन्, अनि भन्छन् शान्ति चाहियो, एकान्त चाहियो। आज मेरो मुड यस्तो छ। यसरी मुड परिवर्तन नगर। कारण जेसुकै होस्, तर तिमी कारणलाई निवारण गर्नेवाला हौ कि कारणमा आउनेवाला हौ? निवारण गर्नेवाला। ठेक्का के लिएका छौ? ठेकेदार हौ नि? त्यसोभए के ठेक्का लिएका छौ? प्रकृतिको मुड पनि चेन्ज गर्नेछु। प्रकृतिलाई पनि चेन्ज गर्नु छ हैन? प्रकृतिलाई परिवर्तन गर्नेहरूले आफ्नो मुडलाई परिवर्तन गर्न सक्दैनौ? मुड चेन्ज हुन्छ कि हुँदैन? कहिलेकाहीँ हुन्छ? फेरि भन्नेछौ सागरको किनारामा गएर बस्छु, ज्ञानसागर होइन, स्थूलसागर। विदेशीहरूले यस्तो गर्छौ हैन? कि भन्नेछौ आज थाहा छैन एक्लो, एक्लो लागिरहेको छ। त्यसोभए बाबाको कम्बाइण्ड रूप कहाँ गयो? बाबाबाट आफूलाई छुट्याइदियौ? कम्बाइण्डबाट एक्लै भयौ, के यसलाई प्यार भनिन्छ? कुनै पनि प्रकारको मुड, एक हुन्छ– मुड अफ, त्यो हो ठुलो कुरा, तर मुड परिवर्तन हुनु यो पनि ठीक होइन। मुड अफ हुनेहरूले त धेरै भिन्न-भिन्न प्रकारका खेल देखाउँछन्, बापदादाले हेर्नुहुन्छ, ठुलावडालाई धेरै खेल देखाउँछन् कि आफ्ना साथीहरूलाई धेरै खेल देखाउँछन्। यस्तो खेल नगर किनकि बापदादाको सबै बच्चाहरूसँग प्यार छ। बापदादाले यो चाहनुहुन्न– जो विशेष निमित्त छन्, उनीहरू बाबासमान बनुन्, बाँकी बनुन् वा नबनुन्, होइन। सबै समान बन्नु नै छ, यही बापदादाको प्यार हो। त्यसोभए प्यारको जवाफ दिन आउँछ कि नखरा पारेर रिटर्न गर्छौ? कहिले नखरा पारेर देखाउँछौ र कहिले समान बनेर देखाउँछौ। अब त्यो समय समाप्त भयो।

अहिले डाइमण्ड जुबली मनाइरहेका छौ हैन? ६० वर्षपछि त्यसै पनि वानप्रस्थ सुरुहुन्छ। अब साना बच्चा छैनौ, अब वानप्रस्थ अर्थात् सबैथोक बुझिसकेका, अनुभवी आत्माहरू हौ, नलेजफुल (ज्ञान सम्पन्न) हौ, पावरफुल (शक्तिशाली) हौ, सक्सेसफुल (सफल) हौ। जसरी सदा नलेजफुल हौ, त्यसैगरी पावरफुल र सक्सेसफुल पनि हौ नि? कहिलेकाहीँ सक्सेसफुल किन हुँदैनौ, त्यसको कारण के हो? त्यसो त सफलता तिमीहरू सबैको जन्मसिद्ध अधिकार हो। भन्छौ हैन? केवल भन्छौ कि मान्छौ पनि? त्यसोभए किन सफलता मिल्दैन त, कारण के हो? जब तिम्रो जन्मसिद्ध अधिकार हो भने अधिकार प्राप्त गर्नमा, अनुभव प्राप्तिमा कमी किन? कारण के हो? बापदादाले देख्नु भएको छ छ– धेरैजसोले थाहा छैन हुन्छ कि हुँदैन भनेर आफ्नो कमजोर सङ्कल्प पहिला नै इमर्ज गर्छन्। यो आफ्नै कमजोर सङ्कल्पले प्रसन्नचित्त होइन बरू प्रश्नचित्त बनाउँछ। होला, नहोला? के होला? थाहा छैन... यी सङ्कल्पहरू पर्खाल बन्छन् र सफलता त्यस पर्खालभित्र लुक्न पुग्छ। निश्चयबुद्धि विजयी– यो तिम्रो स्लोगन हो नि! जब कि यो स्लोगन अहिलेको हो, भविष्यको होइन, वर्तमानको हो भने सदा प्रसन्नचित्त रहनुपर्छ कि प्रश्नचित्त? मायाले तिम्रै कमजोर सङ्कल्पको जाल बिछ्याइदिन्छ र आफ्नै जालमा फस्छौ। म हुँ नै विजयी आत्मा– यसबाट यस कमजोर जाललाई समाप्त गर। नफस, बरू समाप्त गर। समाप्त गर्ने शक्ति छ? बिस्तारै बिस्तारै नगर, तुरुन्तै सेकेन्डमा यस जाललाई बढ्न नदेऊ। यदि एक पटक पनि यस जालमा फस्यौ भने नि निस्कन धेरै मुस्किल हुन्छ। विजय मेरो बर्थराइट (जन्मसिद्ध अधिकार) हो, सफलता मेरो बर्थराइट हो। यो बर्थराइट, परमात्म बर्थराइट हो, यसलाई कसैले छिन्न सक्दैन– यस्तो निश्चयबुद्धि आत्मा नै सदा सहज र स्वत: प्रसन्नचित्त रहन्छ। मेहनत गर्ने पनि आवश्यकता हुँदैन।

असफलताको अर्को कारण के हो? तिमीहरूले अरूलाई पनि भन्छौ– समय, सङ्कल्प, सम्पत्ति सबै सफल गरौं। सफल गर्नु अर्थात् सफलता प्राप्त गर्नु। सफल गर्नु नै सफलताको आधार हो। यदि सफलता मिल्दैन भने अवश्य कुनै न कुनै खजानालाई सफल गरेका छैनौ, त्यसैले त सफलता मिलेन। खजानाहरूको लिस्टलाई त जानेका छौ नि, त्यसोभए चेक गर कुनचाहिँ खजाना सफल गरिन, व्यर्थ गुमाएँ? अनि स्वत: नै सफलता प्राप्त हुन्छ। यो वर्सा पनि हो भने वरदान पनि हो– सफल गरेर सफलता पाऊ। सफल गर्न आउँछ कि आउँदैन? त्यसोभए सफलता मिलेको छ? सफल गर्नु हो बीज र सफलता हो फल। यदि बीज राम्रो छ भने फल नमिलोस्, यो हुन सक्दैन। सफल गर्ने बीजमा केही कमी छ, त्यसैले सफलताको फल मिल्दैन। त्यसोभए के गर्नु छ? सदा प्रसन्नताको पर्सन्यालिटीमा रहने गर। प्रसन्नचित्त रहनाले धेरै राम्रो अनुभव गर्नेछौ। त्यसै पनि जसलाई पनि प्रसन्नचित्त देखेमा कति राम्रो लाग्छ! उसको सङ्गमा रहन, उसित कुरा गर्न, बस्न कति राम्रो लाग्छ! अर्को कुनै प्रश्नचित्तवाला आएमा तिमी दिक्क हुन्छौ। त्यसोभए यो लक्ष्य राख, के बन्नु छ? प्रश्नचित्त होइन, प्रसन्नचित्त।

आज सीजनको लास्ट दिन हो, लास्टमा के गरिन्छ? कुनै पनि यज्ञ गर्दा लास्टमा के गर्छन्? स्वाहा गर्छन्। त्यसोभए तिमीले के गर्नेछौ? प्रश्नचित्तलाई स्वाहा गर। यो किन हुन्छ? यो के हुन्छ?... होइन। नलेजफुल त हौ नि, त्यसैले किन, के होइन। आजदेखि यो व्यर्थ प्रश्न स्वाहा। तिम्रो पनि समय बच्छ र अरूको पनि समय बच्नेछ। दादीहरूको समय पनि यसमा जान्छ, यो किन, यो के, यो कसरी! यो समय बचाऊ, आफ्नो पनि र अरूको पनि। बचतको खाता जम्मा गर। फेरि २१ जन्म आरामले खाऊ, पिऊ, मौज गर, त्यहाँ जम्मा गर्नु पर्दैन। स्वाहा गर्यौ कि सोच्दैछौ? सोच्ने भए ठिकै छ सोच। आफैसँग सोध यो कसरी होला, यो गर्न सक्छु कि सक्दिन? यो एक मिनटमा सोच, पक्का काम गर। आफैसँग जति पनि प्रश्न सोध्नु छ, त्यो एक मिनटमा सोधिहाल। सोध्यौ? स्वाहा पनि गर्यौ कि केवल प्रश्न सोध्यौ? पछिको लागि प्रश्न समाप्त। (एक मिनटको साइलेन्सपछि) समाप्त गर्यौ? (गर्यौं हजुर) यत्तिकै हुन्छ हजुर नभन। जब बहुतकालको अनुभव छ– प्रश्नचित्त अर्थात् परेशान (चिन्तित) हुनु र परेशान पार्नु। राम्रोसँग अनुभव छ हैन? आफ्नो निश्चय र जन्मसिद्ध अधिकारको सानमा रह्यौ भने परेशान हुँदैनौ। जब यस सानदेखि टाढा हुन्छौ, अनि परेशान हुन्छौ। बुझ्यौ! राम्रोसँग बुझ्यौ कि फेरि भन्नेछौ– हो, बुझ्यौं, तर विदेशमा गएपछि भन्नेछौ मुस्किल छ? यस्तो त हुँदैन? अच्छा!

एक सेकेन्डमा अशरीरी बन्नु– यो पाठ पक्का छ? अहिले भर्खरै विस्तार, अहिले भर्खरै सारमा आऊ। (बापदादाले ड्रिल गराउनुभयो) अच्छा! यस अभ्यासलाई सदा साथ राख्नु।

चारैतिरका सर्व प्रश्नचित्तदेखि परिवर्तन हुने, सदा प्रसन्नचित्तको पर्सन्यालिटीवाला श्रेष्ठ आत्माहरू, सदा आफ्नो विजय र जन्मसिद्ध अधिकारको स्मृतिमा रहने, स्मृतिस्वरूप विशेष आत्माहरू, सदा सफल गरेर सहज सफलताको अनुभव गर्ने, बाबाको समीप आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। जो डबल विदेशका चारैतिरका १० वर्षवाला बच्चाहरू छन्, उनीहरूलाई विशेष बधाई एवं याद-प्यार। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

दादीहरूसँग:– बापदादाको तिमी परिवारका शिरताज निमित्त आत्माहरूको लागि सदा यो सङ्कल्प हुन्छ– “सदा अमर भव, उडिराख, उडाइराख”। आफ्नो योगको तपस्याको शक्तिले शरीरलाई चलाइ त रहेका छौ तर तिमीलाई भन्दा ज्यादा बापदादालाई ख्याल रहन्छ त्यसैले समय अनुसार फास्ट चक्कर नलगाऊ। आरामसँग जाऊ र आऊ किनकि दुनियाँको परिस्थिति पनि फास्ट परिवर्तन भइरहेको छ त्यसैले बापदादाले सेवाको लागि मनाही गर्नुहुन्न, तर ब्यालेन्स राख। सबैको प्राण तिम्रो शरीरमा छ, तन ठीक भए सेवा पनि राम्रो हुँदै जान्छ त्यसैले सेवा खुब गर तर ज्यादा धक्का नलगाऊ, थोरै धक्का लगाऊ। ज्यादा धक्का लगाउनाले के हुन्छ? ब्याट्री स्लो हुन्छ त्यसैले अहिलेदेखि नै ब्यालेन्स राख्न आवश्यक छ। यस्तो नसोच– यो वर्ष त गरिहालौं, अर्को वर्ष थाहा छैन के हुन्छ? होइन। जिउनु छ र उडाउनु छ। अहिले त तिम्रो पार्ट छ हैन? त्यसैले आफ्नो पार्टलाई बुझेर धक्का लगाऊ तर ब्यालेन्सले धक्का लगाऊ। ठीक छ। फास्ट नबनाऊ, दुई दिन यहाँ छौ भने तेस्रो दिन त्यहाँ, होइन। अहिले त्यो समय होइन, जब यस्तो समय आउनेछ, एक दिनमा चार-चार स्थानमा पनि जानु पर्नेछ तर अहिले होइन। अच्छा!

वरदान:–
दिव्य गुणहरूको आह्वानद्वारा सर्व अवगुणहरूको आहुति दिने सन्तुष्ट आत्मा भव

जसरी दीपावलीमा विशेष सफाई र कमाइको ध्यान राख्छन्। त्यसैगरी तिमीहरूले पनि सबै प्रकारको सफाई र कमाइको लक्ष्य राखेर सन्तुष्ट आत्मा बन। सन्तुष्टताद्वारा नै सर्व दिव्य गुणहरूको आह्वान गर्न सक्नेछौ फेरि अवगुणहरूको आहुति स्वत: हुन्छ। भित्र जुन कमजोरी, कमी, निर्बलता, कोमलता रहेको छ, ती समाप्त गरेर अब नयाँ खाता सुरु गरेर नयाँ संस्कारको नयाँ वस्त्र धारण गरेर सच्चा दीपावली मनाऊ।

स्लोगन:–
बाबाको आज्ञाकारी भएर रहने गर्यौ भने गुप्त आशीर्वादले समयमा मदत गरिरहने छ।