13.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ तिमीलाई घर जाने मार्ग बताउन , तिमी आत्म-अभिमानी भएर रह्यौ भने यो मार्ग सजिलैसँग देख्छौ।

प्रश्न:
संगममा कुनचाहिँ यस्तो ज्ञान मिलेको छ, जसबाट सत्ययुगी देवताहरूलाई मोहजित भनिन्छ?

उत्तर:
संगमयुगमा तिमीलाई बाबाले अमरकथा सुनाएर अमर आत्माको ज्ञान दिनु भयो। ज्ञान मिल्यो, यो अविनाशी बनिबनाउ ड्रामा हो। हरेक आत्माले आ-आफ्नो पार्ट खेल्छ। उसले एउटा शरीरलाई छोडेर अर्को लिन्छ, यसमा रुनु पर्ने कुरा छैन। यही ज्ञान भएकोले सत्ययुगी देवताहरूलाई मोहजित भनिन्छ। त्यहाँ मृत्युको नाम हुँदैन। खुशीले पुरानो शरीर छोडेर नयाँ लिन्छन्।

गीत:
नयनहीन को राह दिखाओ.....

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूलाई रूहानी बाबा भन्नुहुन्छ मार्ग त देखाउँछु, तर पहिला आफूलाई आत्मा निश्चय गरेर बस। देही-अभिमानी भएर बस्यौ भने फेरि तिमीले मार्ग धेरै सजिलैसँग देख्छौ। भक्तिमार्गमा आधा-कल्प ठक्कर खाएका छौ। भक्तिमार्गका अथाह सामग्री छन्। अहिले बाबाले सम्झाउनु भएको छ बेहदको बाबा एउटै हुनुहुन्छ। बाबा भन्नुहुन्छ तिमीलाई मार्ग बताइरहेको छु। दुनियाँलाई यो पनि थाहा छैन कुनचाहिँ मार्ग बताउनु हुन्छ? मुक्ति-जीवनमुक्ति, गति-सद्गति को। मुक्ति भनिन्छ शान्तिधामलाई। आत्माले शरीर बिना केही पनि बोल्न सक्दैन। कर्मेन्द्रियहरूद्वारा नै आवाज निस्कन्छ, मुखबाट आवाज निस्कन्छ। मुख भएन भने आवाज कहाँबाट आउँछ? आत्मालाई यी कर्मेन्द्रियहरू मिलेका छन्, कर्म गर्नको लागि। रावण राज्यमा तिमीले विकर्म गर्छौ। यो विकर्म फोहोरी कर्म हो। सत्ययुगमा रावण नै हुँदैन भने कर्म अकर्म बन्छ। त्यहाँ ५ विकार हुँदैनन्। त्यसलाई भनिन्छ स्वर्ग। मनुष्य नै स्वर्गवासी थिए, अहिले भनिन्छ नर्कवासी। विषय वैतरणी नदीमा गोता खाइरहन्छन्। सबैले एक-अर्कालाई दु:ख दिइरहन्छन्। अब भन्छन् बाबा! यस्तो ठाउँमा लैजानुहोस्, जहाँ दु:खको नाम नहोस्। त्यसो त, यहाँ जब स्वर्ग थियो तब दु:खको नाम थिएन। स्वर्गबाट नर्कमा आएका छन्, अब फेरि स्वर्गमा जानु छ। यो खेल हो। बाबा नै बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। सच्चा-सच्चा सत्सङ्ग यही हो। तिमीले यहाँ सत बाबालाई याद गर्छौ, उहाँ नै उच्च भन्दा उच्च भगवान हुनुहुन्छ। उहाँ हुनुहुन्छ रचयिता, उहाँबाट नै वर्सा मिल्छ। बाबाले नै बच्चाहरूलाई बर्सा दिनुहुन्छ। हदको पिता हुँदा हुँदै पनि फेरि याद गर्छन् हे भगवान! हे परमपिता परमात्मा! दया गर्नु होस्। भक्तिमार्गमा धक्का खाँदा-खाँदा हैरान भइसकेका छन्। भन्छन् हे बाबा! हामीलाई सुख शान्तिको वर्सा दिनुहोस्। यो त बाबाले मात्रै दिन सक्नुहुन्छ, त्यो पनि २१ जन्म सम्मको लागि। हिसाब गर्नुपर्छ। सत्ययुगमा जब यिनको राज्य थियो तब अवश्य थोरै मानिस थिए। एउटै धर्म थियो, एउटै राज्य थियो। त्यसलाई भनिन्छ स्वर्ग, सुखधाम। नयाँ दुनियाँलाई भनिन्छ सतोप्रधान, पुरानोलाई तमोप्रधान भनिन्छ। हरेक चीज पहिला सतोप्रधान अनि सतो-रजो-तमोमा आउँछ। साना बच्चाहरूलाई सतोप्रधान भनिन्छ। साना बच्चाहरूलाई महात्मा भन्दा पनि उच्च मानिन्छ। महात्माहरू त जन्म लिएर फेरि पछि विकारको अनुभव गरेर घरबार छोडेर भाग्छन्। साना बच्चाहरूलाई त विकारको बारेमा थाहै हुँदैन। बिल्कुलै अन्जान हुन्छन्, त्यसैले महात्मा भन्दा पनि उच्च मानिन्छन्। देवताहरूको महिमा गाइन्छ सर्वगुण सम्पन्न.... साधुहरूको यस्तो महिमा कहिल्यै गरिदैन। बाबाले हिंसा र अहिंसाको अर्थ सम्झाउनु भएको छ। कसैलाई मार्नुलाई नै हिंसा भनिन्छ। सबैभन्दा ठूलो हिंसा हो काम कटारी चलाउनु। देवताहरू हिंसक हुँदैनन्। काम कटारी चलाउँदैनन्। बाबा भन्नुहुन्छ अब म आएको छु तिमी मनुष्यलाई देवता बनाउन। देवता हुन्छन् सत्ययुगमा। यहाँ कसैले पनि आफूलाई देवता भन्न सक्दैनन्। सम्झन्छन्, हामी नीच, पापी, विकारी हौं। फेरि आफूलाई कसरी देवता भन्न सक्छन्? त्यसैले हिन्दु धर्म भनिदिएका हुन्। वास्तवमा आदि सनातन देवी-देवता धर्म थियो। हिन्दु शब्द त हिन्दुस्तानबाट निस्किएको हो। उनीहरूले फेरि हिन्दु धर्म भनिदिएका हुन्। तिमीले भन्छौ हामी देवता धर्मका भए पनि हिन्दुमा नै चिन्ह लगाइदिन्छन्। भन्छन्, हामीले लेख्ने कोठा नै हिन्दु धर्मको छ। पतित भएको कारणले नै आफूलाई देवता भन्न सक्दैनन्।

अहिले तिमीलाई थाहा छ हामी पूज्य देवता थियौं, अब पुजारी बनेका छौं। पूजा पनि पहिला सिर्फ शिवको गर्दथ्यौं, फेरि व्यभिचारी पुजारी बन्यौं। बाबा एक हुनुहुन्छ, उहाँबाट नै वर्सा मिल्छ। बाँकी त अनेक प्रकारका देवी आदि छन्। उनीहरूबाट कुनै वर्सा मिल्दैन। यी ब्रह्माबाट पनि तिमीलाई वर्सा मिल्दैन। एउटा हुनुहुन्छ निराकारी बाबा, अर्का छन् साकारी बाबा। साकारी बाबा हुँदा हुँदै पनि हे भगवान, हे परमपिता! भनिरहन्छन्। लौकिक पितालाई यस्तो भनिँदैन। वर्सा पिताबाट मिल्छ। पति र पत्नी हाफ पार्टनर हुन् त्यसैले उनलाई पनि आधा हिस्सा मिल्नुपर्छ। पहिलो आधा उनको छुट्याएर बाँकी आधा बच्चाहरूलाई दिनुपर्छ। तर आजकल त बच्चाहरूलाई नै सबै धन दिने गर्छन्। कसै कसैको धेरै मोह हुन्छ, सम्झन्छन् हामी मरेपछि बच्चाहरू नै त हकदार हुन्छन्। आजकलका बच्चाहरूले त पिताको मृत्यु भएपछि आमालाई सोध्दा पनि सोध्दैनन्। कोही कोही आमालाई माया गर्ने मातृस्नेही पनि हुन्छन्। कोही फेरि मातृद्रोही पनि हुन्छन्। आजकल धेरैजसो मातृद्रोही हुन्छन्। सबै पैसा खर्च गरिदिन्छन्। धर्मका बच्चाहरू पनि कोही कोही यस्ता निस्कन्छन् जसले अति नै दु:ख दिन्छन्। अब बच्चाहरूले गीत सुन्यौ, भन्छन् बाबा, हामीलाई सुखको मार्ग देखाउनु होस्, जहाँ चैन मिलोस्। रावण राज्यमा त सुख हुन सक्दैन। भक्तिमार्गमा त यति पनि बुझ्दैनन् शिव अलग हुनुहुन्छ शंकर अलग हुन्। केवल ढोगिराख, शास्त्र पढिराख। यसबाट के पाइन्छ, केही पनि थाहा छैन। सबैका शान्तिको, सुखको दाता त एउटै बाबा हुनुहुन्छ। सत्ययुगमा सुख पनि हुन्छ भने शान्ति पनि हुन्छ। यहाँ सुख शान्ति थियो, अब छैन, त्यसैले भक्ति गर्दै द्वार-द्वार धक्का खाइरहन्छन्। अहिले तिमीलाई थाहा छ शान्तिधाम, सुखधाममा लिएर जाने एउटै बाबा हुनुहुन्छ। बाबा, हामी केवल हजुरलाई नै याद गर्छौं, हजुरबाटै वर्सा लिन्छौं। बाबा भन्नुहुन्छ देहसहित देहका सर्व सम्बन्धलाई बिर्सनु छ। एक बाबालाई याद गर्नु छ। आत्मालाई यहाँ नै पवित्र बन्नु छ। याद गरेनौं भने फेरि सजायँ खानु पर्नेछ। पद पनि भ्रष्ट हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ याद गर्ने मेहनत गर। आत्माहरूलाई सम्झाउँछौं। अरू कुनै पनि सत्सङ्ग आदिमा यस्तो हुँदैन जहाँ यस्तो भनियोस् हे रूहानी बच्चाहरू! यो हो रूहानी ज्ञान, जुन रूहानी बाबाबाट नै बच्चाहरूलाई मिल्छ। रुह अर्थात् निराकार। शिव पनि निराकार हुनुहुन्छ नि। तिम्रो आत्मा पनि बिन्दु हो, अत्यन्त सानो। दिव्य दृष्टि विना आत्मालाई कसैले देख्न सक्दैन। दिव्य दृष्टि बाबाले नै दिनुहुन्छ। भक्त बसेर हनुमान्, गणेश आदिको पूजा गर्छन्, अब उनलाई साक्षात्कार कसरी हुन्छ? बाबा भन्नुहुन्छ दिव्य दृष्टिदाता त म नै हुँ। कसैले धेरै भक्ति गर्छ भने म नै उनलाई साक्षात्कार गराउँछु। तर यसबाट केही पनि फाइदा छैन। केवल खुसी हुन्छ। पाप त फेरि पनि गर्छन्, केही पनि मिल्दैन। पढाइ विना केही पनि बन्न सकिंदैन। देवताहरू सर्वगुण सम्पन्न हुन्छन्। तिमी पनि त्यस्तै बन। बाँकी त्यो त हो सबै भक्तिमार्गको साक्षात्कार। वास्तवमा कृष्णसँग झुल, स्वर्गमा उनैसँग बस। त्यो त पढाइमा आधारित छ। जति श्रीमत अनुसार चल्छौ त्यति उच्च पद पाउँछौ। श्रीमत भगवानद्वारा गाइएको हो। कृष्णको श्रीमत भनिदैन। परमपिता परमात्माको श्रीमतले कृष्णको आत्माले यो पद पाएको हो। तिम्रो आत्मा पनि देवता धर्ममा थियो अर्थात् कृष्णको घरानामा थियो। हिन्दुहरूलाई यो थाहा नै छैन, राधा-कृष्णको आपसमा के सम्बन्ध थियो? दुवै अलग-अलग राज्यका थिए, फेरि स्वयंवरपछि लक्ष्मी-नारायण बन्छन्। यी सबै कुरा बाबा नै आएर सम्झाउनु हुन्छ। अहिले तिमीले पढ्दैछौ स्वर्गको राजकुमार राजकुमारी बन्नको लागि। राजकुमार राजकुमारीको जब स्वयंवर हुन्छ तब फेरि नाम बदलिन्छ। बाबा बच्चाहरूलाई यस्तो देवता बनाउनु हुन्छ, यदि बाबाको श्रीमत अनुसार चल्यौ भने। तिमी हौ मुख वंशावली, उनीहरू हुन् कोख वंशावली। ती ब्राह्मणहरूले विवाह गराउँछन्, काम चितामा चढाउन। अहिले तिमी सच्चा-सच्चा ब्राह्मणीहरूले काम चिताबाट उतारेर ज्ञान चितामा चढाउँछौ। त्यसैले त्यसलाई छोड्नु पर्छ। यहाँका बच्चाहरूले त लडाइ-झगडा गर्दै पैसा पनि सबै बर्बाद गर्छन्। आजकल दुनियाँमा धेरै फोहोरी छन्। सबैभन्दा फोहोरी बिमारी हो चलचित्र। राम्रा बच्चाहरू पनि चलचित्र हेरेर बिग्रन्छन्। त्यसैले बी.के. हरूलाई चलचित्र हेर्न मनाही छ। हो, जो मजबुत छन् उनीहरूलाई बाबा भन्नुहुन्छ त्यहाँ पनि तिमीले सेवा गर र उनीहरूलाई सम्झाऊ यो त हो हदको चलचित्र। एउटा बेहदको चलचित्र पनि छ। बेहदको चलचित्रद्वारा नै यो हदको झूटो चलचित्र निस्केको हो।अहिले तिमी बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ मूलवतन जहाँ सबै आत्माहरू रहन्छन् अनि बिचमा छ सूक्ष्मवतन। यो हो साकार वतन। सारा खेल यहीं चल्छ। यो चक्र घुमि नै रहन्छ। तिमी ब्राह्मण बच्चाहरू नै स्वदर्शन चक्रधारी बन्नु छ, देवताहरू होइन। तर ब्राह्मणहरूलाई यो अलङ्कार दिइदैन किनकि पुरुषार्थी हुन्। आज राम्रोसँग चलिरहेका छन्, भोलि गिर्छन्। त्यसैले देवताहरूलाई दिइन्छ। कृष्णलाई देखाउँछन् स्वदर्शन चक्रले अकासुर बकासुर आदिलाई मारे। अब उनलाई त अहिंसा परमो धर्म भनिन्छ, फेरि हिंसा कसरी गर्छन्? यी सबै हुन् भक्ति मार्गका सामग्री। जहाँ जाऊ शिवका लिंग नै हुन्छन्। केवल नाम कति फरक-फरक राखिदिएका छन्। माटोका देवीहरू कति बनाउँछन्, शृंगार गर्छन्, हजारौं रूपैया खर्च गर्छन्। उत्पत्ति गर्छन् फेरि पूजा गर्छन्, पालना गरेर फेरि गएर डुबाइदिन्छन्। कति खर्च गर्छन् गुडियाहरूको पूजामा। प्राप्ति त केही पनि भएन। बाबा सम्झाउनु हुन्छ यो सबै पैसा बर्बाद गर्ने भक्ति हो, सिँढी उत्रिदै आएका छन्। बाबा आउनु भएपछि नै सबैको चढ्ती कला हुन्छ। सबैलाई शान्तिधाम-सुखधाममा लैजानुहुन्छ। पैसा बर्बाद गर्ने कुरा छैन। भक्ति मार्गमा तिमी पैसा बर्बाद गर्दागर्दै कङ्गाल बन्न पुग्यौ। धनवान र कङ्गाल बनेको कथा बाबा बसेर सम्झाउनु हुन्छ। तिमी यिनै लक्ष्मी-नारायणका वंशका थियौ नि। अब तिमीलाई नरबाट नारायण बन्ने शिक्षा बाबाले दिनुहुन्छ। उनीहरूले त तिजरीको कथा, अमर कथा सुनाउँछन्। हुन् सबै झूटा। तिजरीको कथा त यो हो जसबाट आत्माको ज्ञानको तेस्रो नेत्र खुल्छ। सारा चक्र बुद्धिमा आउँछ। तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलिरहेको छ, अमर कथा पनि सुनिरहेका छौ। अमर बाबाले तिमीलाई कथा सुनाइरहनु भएको छ अमरपुरीको मालिक बनाउनु हुन्छ। त्यहाँ तिमी कहिल्यै मर्दैनौ। यहाँ त मनुष्यहरूलाई कालको कति डर हुन्छ। त्यहाँ डराउने, रुने कुरै हुँदैन। खुशीले पुरानो शरीर छोडेर नयाँ लिन्छन्। यहाँ मनुष्यहरू कति रुन्छन्। यो हो नै रुनेहरूको दुनियाँ। बाबा भन्नुहुन्छ यो त बनिबनाऊ ड्रामा हो। हरेकले आ-आफ्नो पार्ट खेलिरहन्छन्। यी देवताहरू मोहजित हुन् नि। यहाँ दुनियाँमा त अनेक गुरुहरू छन्, जसका अनेकौं मत मिल्छन्। हरेकको मत आ-आफ्नै छ। एक सन्तोषी देवी पनि छिन् जसको पूजा हुन्छ। अब सन्तोषी देवीहरू त सत्ययुगमा हुन सक्छन्, यहाँ कसरी हुन सक्छन्? सत्ययुगमा देवताहरू सदैव सन्तुष्ट रहन्छन्। यहाँ त केही न केही आशा हुन्छ, त्यहाँ कुनै आशा हुँदैन। बाबाले सबैलाई सन्तुष्ट गरिदिनुहुन्छ। तिमी पदमपति बन्छौ। कुनै अप्राप्त वस्तु हुँदैन, जसको प्राप्तिको चिन्ता होस्। त्यहाँ चिन्ता हुँदैन। बाबा भन्नुहुन्छ सबैको सद्गति दाता त म नै हुँ। तिमी बच्चाहरूलाई २१ जन्मको लागि खुसी नै खुसी दिन्छु। यस्तो बाबालाई याद पनि गर्नुपर्छ। यादबाट नै तिम्रो पाप भष्म हुन्छ र तिमी सतोप्रधान बन्छौ। यो बुझ्ने कुरा हो। जति अरूलाई धेरै सम्झाउँछौ, त्यति प्रजा बन्दै जान्छन् र उच्च पद पाउँछौ। यो कुनै साधु आदिले भनेको कथा होइन। भगवान बसेर यिनको मुखद्वारा सम्झाउनु हुन्छ। अहिले तिमी सन्तुष्ट देवी देवता बनिरहेका छौ। अब तिमीले सधैं पवित्र रहने व्रत पनि गर्नु पर्छ किनकि पवित्र दुनियाँमा जानु छ त्यसैले पतित बन्नु हुँदैन। बाबाले यो व्रत सिकाउनु भएको छ। मनुष्यहरूले फेरि अनेकौं प्रकारका व्रत बनाएका छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एक बाबाको मतमा चलेर सदा सन्तुष्ट रहेर सन्तोषी देवी बन्नु छ। यहाँ कुनै पनि आशा राख्नु छैन। बाबाबाट सबै प्राप्ति गरेर पदमपति बन्नु छ।

२) सबैभन्दा धेरै फोहोरी बनाउने चलचित्र हो। तिमीलाई चलचित्र हेर्न मनाही छ। तिमी बहादुर छौ भने हद र बेहदको चलचित्रको रहस्य बुझेर अरूलाई पनि बुझाऊ। सेवा गर।

वरदान:
फुलस्टपको स्थितिद्वारा प्रकृतिको हलचललाई रोक्ने प्रकृतिपति भव

वर्तमान समय हलचल बढ्ने समय हो। अन्तिम परीक्षामा एकातर्फ प्रकृतिको, अर्कोतर्फ पाँच विकारहरूको विकराल रूप हुन्छ। तमोगुणी आत्माहरूको आक्रमण अनि पुरानो संस्कार... सबैले अन्तिम समयमा आफ्नो चान्स लिन्छन्। त्यस्तो समयमा समेट्ने शक्तिद्वारा भर्खरै साकारी, भर्खरै आकारी र भर्खरै निराकारी स्थितिमा स्थित हुने अभ्यास हुनु पर्छ। देखेर पनि नदेख्ने, सुनेर पनि नसुन्ने। जब यस्तो फुलस्टपको स्थिति हुन्छ अनि मात्र प्रकृतिपति बनेर प्रकृतिको हलचललाई रोक्न सक्छौ।

स्लोगन:
निर्विघ्न राज्य अधिकारी बन्नको लागि निर्विघ्न सेवाधारी बन।