14.02.21    Avyakt Bapdada     Nepali Murli    02.11.87     Om Shanti     Madhuban


स्व-परिवर्तनको आधार सच्चा दिलको महसुसता ʼ


आज विश्व-परिवर्तक, विश्व-कल्याणकारी बापदादाले आफ्ना स्नेही, सहयोगी, विश्व परिवर्तक बच्चाहरूलाई देखिरहनु भएको छ। हरेक स्व-परिवर्तनद्वारा विश्व-परिवर्तन गर्ने सेवामा लागिरहेका छन्। सबैको मनमा एउटै उमंग-उत्साह छ यो विश्वलाई परिवर्तन गर्नु नै छ र निश्चय पनि छ परिवर्तन हुनु नै छ भन्ने अथवा यो भनौं कि परिवर्तन भइ नै सकेको छ। केवल निमित्त मात्र बापदादाका सहयोगी, सहजयोगी बनेर वर्तमान र भविष्य श्रेष्ठ बनाइरहेका छौ।

आज बापदादाले चारैतिरका निमित्त विश्व-परिवर्तक बच्चाहरूलाई हेर्दा एउटा विशेष कुरा देख्नु भएको थियो छन् सबै एउटै कार्यको निमित्त, लक्ष्य पनि सबैको स्व-परिवर्तन र विश्व-परिवर्तन नै छ तर स्व-परिवर्तन अथवा विश्व-परिवर्तनमा सबै निमित्त भएर पनि नम्बरवार किन? कुनै बच्चाले स्व-परिवर्तन धेरै सजिलै र तुरुन्तै गर्छन्, कसैले अहिले भर्खरै परिवर्तनको संकल्प गर्छन् तर स्वयंको संस्कार वा माया र प्रकृतिद्वारा आउने परिस्थितिहरू अथवा ब्राह्मण परिवारद्वारा चुक्ता हुने हिसाब-किताबले श्रेष्ठ परिवर्तनको उमंगलाई कमजोर बनाइदिन्छ र कति बच्चाहरू परिवर्तन गर्ने हिम्मतमा पनि कमजोर हुन्छन्। जहाँ हिम्मत हुँदैन, त्यहाँ उमंग-उत्साह पनि हुँदैन। स्व-परिवर्तन विना विश्व-परिवर्तनको कार्यमा मनले चिताएको सफलता पनि हुँदैन किनकि यो अलौकिक ईश्वरीय सेवा एउटै समयमा तीन प्रकारका सेवाको सिद्धि हो। ती तीन प्रकारका सेवा कुन कुन हुन्? एक वृत्ति, दोस्रो भाइब्रेशन, तेस्रो वाणी। तीनै शक्तिशाली, निमित्त, निर्माण र नि:स्वार्थ यसै आधारले हुन्छन्। तब मनले चिताएको सफलता मिल्छ। नत्र सेवा हुन्छ, आफूलाई वा अरूलाई थोरै समयको लागि सेवाको सफलताले खुसी त पार्छन्, तर मनले चिताएको सफलता जुन बापदादाले भन्नुहुन्छ, त्यो हुँदैन। बापदादा पनि बच्चाहरूको खुसीमा खुसी हुनुहुन्छ तर दिलारामको दिलमा यथाशक्ति रिजल्ट भने अवश्य नोट हुन्छ। स्याबास स्याबास अवश्य भन्नुहुन्छ किनकि बाबाको हरेक बच्चामाथि सदा वरदानको दृष्टि र वृत्ति रहन्छ यी बच्चाहरू आज नभए पनि भोलि सिद्धि स्वरूप बन्नु नै छ। तर वरदाताको साथ-साथमा शिक्षक पनि हुनुहुन्छ, त्यसैले पछिको लागि ध्यान पनि दिलाउनु हुन्छ।

आज बापदादाले विश्व-परिवर्तनको कार्यमा लागेका विश्व-परिवर्तक बच्चाहरूको रिजल्टलाई हेरिरहनु भएको थियो। वृद्धि भइरहेको छ, आवाज चारैतर्फ फैलिरहेको छ, प्रत्यक्षताको पर्दा खुल्न पनि आरम्भ भएको छ। चारैतिरका आत्माहरूमा अहिले इच्छा उत्पन्न भइरहेको छ नजिक गएर हेरौं भन्ने। सुनेको-सुनाएको कुरा अब हेर्नमा परिवर्तन भइरहेको छ। यो सबै परिवर्तन भइरहेको छ। जे भए पनि ड्रामा अनुसार अहिलेसम्म बाबा र केही निमित्त बनेका श्रेष्ठ आत्माहरूको शक्तिशाली प्रभावको परिणाम यो देखिएको छ। यदि अधिकांशले यस विधिले सिद्धि प्राप्त गर्यौ भने धेरै चाडैं सर्व ब्राह्मणहरू सिद्धि-स्वरूपमा प्रत्यक्ष हुनेछौ। बापदादाले देखिरहनु भएको थियो मनले चिताएको, लोकले चिताएको, बाबाले चिताएको सफलताको आधार स्व-परिवर्तनको कमी हो र स्व-परिवर्तनको कमी किन हुन्छ? त्यसको मूल आधार एउटा विशेष शक्तिको कमी छ। त्यो विशेष शक्ति हो महसुसताको शक्ति।

कुनै पनि परिवर्तनको सहज आधार महसुसता-शक्ति हो। जबसम्म महसुसता-शक्ति आउँदैन, तबसम्म अनुभूति हुँदैन र जबसम्म अनुभूति हुँदैन, तबसम्म ब्राह्मण जीवनको विशेषताको जग बलियो हुँदैन। त्यसैले सुरु देखिको आफ्नो ब्राह्मण जीवनलाई सामुन्ने ल्याऊ।

पहिलो परिवर्तन म आत्मा हुँ, बाबा मेरो हुनुहुन्छ यो परिवर्तन कुन आधारमा भयो? जब महसुस गर्यौ हो म आत्मा हुँ, उहाँ नै मेरो बाबा हुनुहुन्छ। यसरी महसुसताले अनुभव गराउँछ, तब मात्रै परिवर्तन हुन्छ। जबसम्म महसुस गर्दैनौ, तबसम्म साधारण गतिले चल्छौ र जुन समयमा महसुसताको शक्तिले अनुभवी बनाउँछ अनि तीव्र पुरुषार्थी बन्छौ। यसरी जुन पनि परिवर्तनका विशेष कुरा छन् चाहे रचयिताको बारेमा, चाहे रचनाको बारेमा, जबसम्म हरेक कुरालाई महसुस गर्दैनौ हो, यो त्यही समय हो, त्यही योग हो, म पनि त्यही श्रेष्ठ आत्मा हुँ तबसम्म उमंग-उत्साहको चाल हुँदैन। कसैको वायुमण्डलको प्रभावले थोरै समयको लागि परिवर्तन होला तर सदाकालको हुँदैन। तर यो महसुसताको शक्तिले सदाकालको लागि सजिलै परिवर्तन गरिदिन्छ।

यसै प्रकारले स्व-परिवर्तनमा पनि जबसम्म महसुसताको शक्ति हुँदैन, तबसम्म सदाकालको श्रेष्ठ परिवर्तन हुन सक्दैन। यसमा विशेष दुई कुराको महसुसता चाहिन्छ। एक आफ्नो कमजोरीको महसुसता। दोस्रो जुन परिस्थिति अथवा व्यक्ति निमित्त बनेका छन्, उनको इच्छा वा उनको मनको भावना वा व्यक्तिको कमजोरी अथवा परवशको स्थितिको महसुसता। परिस्थिति रूपी परीक्षाको कारणलाई जानेर स्वयं पास हुने श्रेष्ठ स्वरूपको महसुसता होस् म श्रेष्ठ आत्मा हुँ, मेरो स्व-स्थिति श्रेष्ठ छ, परिस्थिति केवल परीक्षा हो। यस्तो महसुसताले सहज परिवर्तन गराइदिन्छ र पास हुन्छौ। अर्काको इच्छा वा अर्काको स्व-उन्नतिको पनि महसुसता आफ्नो स्व-उन्नतिको आधार हो। त्यसैले स्व-परिवर्तन महसुसताको शक्ति विना हुन सक्दैन। यसमा पनि एउटा हुन्छ सच्चा दिलको महसुसता, अर्को चतुराईको महसुसता किनकि ज्ञानी धेरै बनिसकेका छन्। त्यसैले समय हेरेर आफ्नो काम सिद्ध गर्नको लागि, आफ्नो नाम राम्रो देखाउनको लागि त्यस समयमा महसुस गर्छन् तर त्यो महसुसतामा शक्ति हुँदैन, जसले परिवर्तन गर्न सकोस्। त्यसैले दिलको महसुसताले दिलारामको आशीर्वाद प्राप्त गराउँछ र चतुराइवाला महसुसताले थोरै समयको लागि मात्र अरूलाई पनि खुसी पारेका हुन्छन् र आफू पनि खुसी हुन्छन्।

तेस्रो प्रकारको महसुसता मनले भन्छ यो ठीक होइन, विवेकले पनि भन्छ यो यथार्थ होइन तर बाहिरबाट आफूलाई महारथी सिद्ध गर्नको लागि, आफ्नो नाम परिवारको बीचमा कमजोर वा कम नगराउनको लागि विवेकको हत्या गरिरहन्छन्। यसरी विवेकको हत्या गर्नु पनि पाप हो। जसरी आत्महत्या महापाप हो, त्यसैगरी यो पनि पापको खातामा जम्मा हुन्छ त्यसैले बापदादा मुस्कुराइ रहनुहुन्छ र उनीहरूको मनको डायलग पनि सुनिरहनुहुन्छ। धेरै राम्रा डायलगहरू हुन्छन्। मूल कुरा यस्तो महसुसता भएकाहरूले सम्झन्छन् कसलाई के थाहा हुन्छ र, यसरी नै चल्छ..... तर बाबालाई हरेक पातको बारेमा थाहा हुन्छ। केवल मुखले भनेको सुनेर मात्रै थाहा हुने होइन, तर थाहा भएर पनि बाबा अनजान बनेर भोलापनले भोलानाथको रूपले बच्चाहरूलाई चलाउनुहुन्छ। जब थाहा हुन्छ, फेरि भोला किन बन्नुहुन्छ? किनकि रहमदिल बाबा हुनुहुन्छ पाप माथि पाप नथपियोस्, यसको लागि यो रहम गर्नुहुन्छ। बुझ्यौ? यस्ता बच्चाहरू चतुरसुजान बाबासँग पनि अथवा निमित्त बनेका आत्माहरूसँग पनि धेरै चतुर बनेर सामुन्ने आउँछन्, त्यसैले बाबा रहमदिल भोलानाथ बन्नुहुन्छ।

बापदादासँग हरेक बच्चाको कर्मको, मनको संकल्पको हर समयको खाता स्पष्ट रहेको हुन्छ। दिललाई जान्ने आवश्यकता हुँदैन तर हरेक बच्चाको दिलको धडकनको चित्र स्पष्ट नै छ त्यसैले भन्नुहुन्छ मैले हरेकको दिललाई जान्दिन किनकि जान्ने आवश्यकता नै हुँदैन, सबै स्पष्ट छ नै। हरेक घडीको दिलको धडकन वा मनको संकल्पको चार्ट बापदादाको सामुन्ने हुन्छ। बताउन पनि सक्नुहुन्छ यस्तो होइन कि बताउन सक्नुहुन्न। तिथि, स्थान, समय र के-के गर्यौ सबै बताउन सक्नुहुन्छ। तर जानेर पनि अनजान रहनुहुन्छ। त्यसैले आज सारा चार्ट हेर्नु भयो।

स्व-परिवर्तन तीव्रगतिले नभएको कारणले सच्चा दिलको महसुसतामा कमी छ। महसुसताको शक्तिले धेरै मीठा अनुभवहरू गराउन सक्छ। यो त बुझेका छौ नि। कहिले आफूलाई बाबाको नूरे रत्न आत्मा अर्थात् नयनमा समाहित श्रेष्ठ बिन्दु महसुस गर। नयनमा त बिन्दु नै समाहित हुन सक्छ, शरीर त समाहित हुन सक्दैन। कहिले आफूलाई मस्तकमा चम्किरहने मस्तक-मणि, चम्किरहेको सितारा महसुस गर, कहिले आफूलाई ब्रह्मा बाबाको सहयोगी, दाहिने हात साकार ब्राह्मण रूपमा ब्रह्माको भुजा भएको अनुभव गर, महसुस गर। कहिले अव्यक्त फरिश्ता स्वरूप भएको महसुस गर। यस्तो महसुसताको शक्तिले धेरै अनौठो, अलौकिक अनुभव गर। केवल ज्ञानको रीतिले वर्णन नगर, महसुस गर। यो महसुसताको शक्तिलाई बढायौ भने अर्कोतर्फको कमजोरीको महसुसता स्वत: नै स्पष्ट हुन्छ। शक्तिशाली दर्पणको बीचमा सानो दाग पनि स्पष्ट देखिन्छ र परिवर्तन गर्छौ। त्यसैले बुझ्यौ, स्व परिवर्तनको आधार महसुसता शक्ति हो। शक्तिलाई कार्यमा लगाऊ, केवल गनेर मात्र खुसी नहोऊ हो, यो पनि शक्ति हो, यो पनि शक्ति हो भनेर। स्व प्रति, सर्व प्रति सेवा प्रति सदा हरेक कार्यमा लगाऊ। बुझ्यौ? कति बच्चाहरूले भन्छन् बाबाले यही काम गरिरहनु हुन्छ? तर बाबाले के गर्ने? साथमा त लैजानु नै छ। जब साथमा लैजानु छ भने साथी पनि त्यस्तै चाहियो नि त्यसैले हेरिरहनु हुन्छ र समाचार सुनाइरहनु हुन्छ जसबाट साथीहरू समान बनुन्। पछि-पछि आउनेहरूको त कुरै छैन। तिनीहरू त थुप्रै हुन्छन्। तर साथी त समान चहियो नि। तिमीहरू साथी हौ वा बरियाँत हौ? बरियाँत त धेरै ठूलो हुन्छ, त्यसैले शिवको बरियाँत भनेर पनि प्रख्यात छ। बरियाँतमा किसिम-किसिमका हुन्छन् तर साथी त त्यस्तै चाहियो नि।

यो ईस्टर्न जोन हो। ईस्टर्न जोनले के गरिरहेको छ? प्रत्यक्षताको सूर्य कहाँबाट उदय गर्छौ? बाबामा प्रत्यक्षता भयो, त्यो कुरा त अब पुरानो भयो। तर अब के गर्छौ? पुरानो गद्दी हो यो नशा त राम्रो छ, तर अब के गर्छौ? अब कुनै नवीनताको सूर्य उदय गर जसले गर्दा सबैको मुखबाट निस्कियोस् यो ईस्टर्न जोनबाट नवीनताको सूर्य उदय भयो! जुन कार्य अहिलेसम्म कसैले गरेनन्, त्यो अब गरेर देखाऊ। कार्यक्रम, सेमीनार गर्यौ, विशिष्ट व्यक्तिहरूको सेवा गर्यौ, पत्रिकामा छपायौ यो त सबैले गर्छन् तर अब नवीनताको केही झलक देखाऊ। बुझ्यौ?

बाबाको घर नै आफ्नो घर। आरामले सबै पुग्यौ। दिलको आरामले स्थूल आराम पनि दिलाउँछ। दिलको आराम भएन भने आरामका साधन भएर पनि बेआराम हुन्छ। दिलको आराम अर्थात् दिलमा सदा राम साथमा हुनुहुन्छ, त्यसैले कुनै पनि परिस्थितिमा आराम अनुभव गर्छौ। आराम छ नि, कि आउन जान बेआराम लाग्छ? जे भए पनि मीठो ड्रामाको भावी सम्झ। मेला त मनाइरहेका छौ नि? बाबासँग मिल्नु, परिवारसँग मिल्नु यस्तो मेला मनाउनु पनि सुन्दर भावी हो। अच्छा!

सर्वशक्तिशाली श्रेष्ठ आत्माहरूलाई, हरेक शक्तिलाई समयमा कार्यमा लगाउने सर्व तीव्र पुरुषार्थी बच्चाहरूलाई, सदा स्व परिवर्तनद्वारा सेवामा मनले चिताएको सफलता पाउने दिलखुश बच्चाहरूलाई, सदा दिलाराम बाबाको अगाडि सच्चा दिलले स्पष्ट रहने सफलता-स्वरूप श्रेष्ठ आत्माहरूलाई दिलाराम बापदादाको दिलदेखि याद-प्यार, गुडमर्निङ्ग एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

पार्टीहरूसँग अव्यक्त बापदादाको भेटघाट

सदा आफूलाई बाबाको छत्रछायाँमा रहने विशेष आत्मा अनुभव गर्छौ? जहाँ बाबाको छत्रछायाँ हुन्छ त्यहाँ सदा मायाबाट सुरक्षित रहन्छौ। छत्रछायाँ भित्र माया आउन सक्दैन। मेहनतबाट स्वत: टाढा हुन्छौ। सदा मोजमा रहन्छौ किनकि जब मेहनत हुन्छ, तब मेहनतले मोजको अनुभव गर्न दिँदैन। जसरी बच्चाहरूको जब पढाइ हुन्छ, पढाइमा मेहनत हुन्छ नि। जब परीक्षाका दिनहरू हुन्छन् अनि धेरै मेहनत गर्छन् मोजले खेल्दैनन्। जब मेहनत खतम हुन्छ, परीक्षा खतम हुन्छ तब मोज गर्छन् नि। त्यसैले जहाँ मेहनत हुन्छ त्यहाँ मोज हुँदैन। जहाँ मोज हुन्छ त्यहाँ मेहनत हुँदैन। छत्रछायाँमा रहनेहरू अर्थात् सदा मोजमा रहनेहरू किनकि यहाँ उच्च पढाइ पढ्छौ तर उच्च पढाइ भएर पनि निश्चय छ हामी विजयी हुन्छौं नै, पास त भइसकेका छौं त्यसैले मोजमा रहन्छौ। कल्प-कल्पको पढाइ हो, नयाँ कुरा होइन। त्यसैले सदा मोजमा रहनु र अरूलाई पनि मोजमा रहने सन्देश दिँदै रहनु। सेवा गरिराख किनकि सेवाको फल यस समयमा पनि र भविष्यमा पनि खाइरहने छौ। सेवा गर्यौ भने त फल मिल्छ।

विदाईको समयमा मुख्य भाइ-बहिनीहरूसँग

बापदादाले सबै बच्चाहरूलाई समान बनाउने शुभ भावनाले उडाउन चाहनु हुन्छ। निमित्त बनेका सेवाधारीहरू बाबा समान बन्नु नै छ र जसरी भए पनि बाबाले पनि बनाउनु नै छ किनकि जस्तोसुकैलाई त साथ लिएर जानुहुन्न। बाबाको पनि इज्जत छ नि। बाबा सम्पन्न तर साथी लुलो-लङ्गडो भयो भने त सुहाउँदैन नि। लुला-लङ्गडाहरू त बरियाँत हुन्छन्, साथी हुँदैनन् त्यसैले शिवको बरियाँत सदा लुला-लङ्गडाको देखाइएको छ किनकि केही कमजोर आत्माहरू धर्मराजपुरीबाट पार हुँदा मात्र लायक बन्छन्। अच्छा।

वरदान:
सेवाको स्टेजमा समाहित गर्ने शक्तिद्वारा सफलतामूर्त बन्ने मास्टर सागर भव

जब सेवाको स्टेजमा आउँछौ अनि अनेक प्रकारका कुरा सामुन्ने आउँछन्, ती कुराहरूलाई स्वयंमा समाहित गर्यौ भने सफलतामूर्त बन्छौ। समाहित गर्नु अर्थात् संकल्पको रूपमा पनि कसैको व्यक्त कुरा र भावको आंशिक रूप पनि समाहित नहोस्। अकल्याणकारी बोलीलाई कल्याणको भावनामा यसरी परिवर्तन गरिदेऊ, मानौं अकल्याणको बोली छँदै थिएन। अवगुणलाई गुणमा, निन्दालाई स्तुतिमा परिवर्तन गरिदेऊ तब भनिन्छ मास्टर सागर।

स्लोगन:
विस्तारलाई नहेरेर सारलाई हेर्ने वा स्वयंमा समाहित गर्नेहरू नै तीव्र पुरुषार्थी हुन्।