14.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी अहिले सच्चा-सच्चा पाठशालामा बसेका छौ । यो सतसङ्ग पनि हो , यहाँ तिमीलाई सत्य बाबाको सङ्ग मिलेको छ , जसले पार लगा उनु हुन्छ।

प्रश्न:
हिसाब-किताबको खेलमा मनुष्यको समझ र तिम्रो समझमा कुनचाहिँ अन्तर छ?

उत्तर:
मनुष्यले सम्झन्छन् यो जुन दु:ख-सुखको खेल चल्छ, यो दु:ख-सुख सबै परमात्माले नै दिनुहुन्छ, तर तिमी बच्चाहरूले सम्झन्छौ यो हरेकको कर्मको हिसाबको खेल हो। बाबाले कसैलाई पनि दु:ख दिनुहुन्न। उहाँ त आउनु हुन्छ नै सबैलाई सुखको मार्ग बताउन। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! मैले कसैलाई पनि दु:खी बनाएको होइन। यो त तिम्रै कर्मको फल हो।

गीत:
इस पाप की दुनियाँ से.....

ओम् शान्ति ।
मीठा-प्यारा रूहानी बच्चाहरूले गीत सुन्यौ। कसलाई पुकार गर्छन्? बाबालाई। बाबा आएर यस पापको कलियुगी दुनियाँबाट सत्ययुगी पुण्यको दुनियाँमा लिएर जानुहोस्। अहिले जीव आत्माहरू सबै कलियुगी छन्। उनीहरूको बुद्धि माथितिर जान्छ। बाबा भन्नुहुन्छ म जो छु, जस्तो छु, यस्तो कसैले पनि जानेका छैनन्। ऋषि-मुनि आदिले पनि भन्छन् हामीले रचयिता मालिक अर्थात् बेहदका बाबा र उहाँको बेहदको रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनौ। आत्माहरू जहाँ रहन्छन्, त्यो हो ब्रह्मतत्त्व, जहाँ सूर्य चन्द्रमा हुँदैनन्। न मूलवतन, न सूक्ष्म वतनमा। बाँकी यस रंगमञ्चमा त बिजुली आदि सबै चाहिन्छ नै। त्यसैले यस रंगमञ्चलाई बिजुली आदि मिल्छ राती चन्द्रमा र ताराहरूको, दिनमा सूर्य। यी हुन् बत्तीहरू। यी बत्तीहरू भएर पनि अन्धकार भनिन्छ। रातमा त फेरि पनि बत्ती बाल्नु पर्छ। सत्ययुग-त्रेतालाई भनिन्छ दिन र भक्ति मार्गलाई भनिन्छ रात। यो पनि समझको कुरा हो। नयाँ दुनियाँ नै फेरि पुरानो अवश्य बन्छ। फेरि नयाँ भएपछि पुरानोको अवश्य विनाश हुन्छ। यो हो बेहदको दुनियाँ। भवन पनि कुनै ठूला-ठूला हुन्छन्, राजा आदिका। यो हो बेहदको घर, मञ्च अर्थात् स्टेज, यसलाई कर्मक्षेत्र पनि भनिन्छ। कर्म त अवश्य गर्नु पर्ने हुन्छ। सबै मनुष्यको लागि यो कर्मक्षेत्र हो। सबैले कर्म गर्नै पर्छ, पार्ट खेल्नै पर्छ। पार्ट हरेक आत्मालाई पहिलादेखि नै मिलेको छ। तिमीहरूमा पनि कोही छन्, जसले यी कुरालाई राम्ररी बुझेका छन्। वास्तवमा यो गीता पाठशाला हो। पाठशालामा के कुनै वृद्ध आदिले पढ्छन् र? यहाँ त वृद्ध, जवान आदि सबैले पढ्छन्। वेद पाठशाला भनिदैन। त्यहाँ त कुनै लक्ष्य-उद्देश्य हुँदैन। हामीले यति वेद-शास्त्र पढ्छौं, यसबाट के बन्छौं उनीहरूले जानेका छैनन्। जति पनि सतसङ्ग छन्, त्यहाँ कुनै लक्ष्य-उद्देश्य केही छैन। अब त सतसङ्ग भन्न पनि लाज लाग्छ। सत्य त एक बाबा नै हुनुहुन्छ, जसको लागि भनिन्छ संगले तार्छ, कुसंगले डुबाउँछ...। कुसङ्ग कलियुगी मनुष्यहरूको। सत्यको सङ्ग त एउटै मात्र छ। अहिले तिमीलाई आश्चर्य लाग्छ। सारा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान बाबाले कसरी दिनुहुन्छ, तिमीलाई त खुसी हुनुपर्छ। तिमीहरू सच्चा-सच्चा गीता पाठशालामा बसेका छौ। बाँकी सबै हुन् झुटा पाठशाला। ती अन्य सतसङ्ग आदिबाट त कोही पनि विशेष बनेर निस्किदैनन्। स्कुल-कलेज आदिबाट त फेरि पनि केही बनेर निस्किन्छन् किनकि पढ्छन्। बाँकी कहीं पनि पढाइ हुँदैन। सतसङ्गलाई पढाइ भनिदैन। शास्त्र आदि पढेर फेरि पसल खोलेर बस्छन्, पैसा कमाउँछन्। ग्रन्थ आदि अलिकति सिकेर गुरुद्वारा खोलेर बस्छन्। गुरुद्वारा पनि कति धेरै खोल्छन्। गुरुको द्वार अर्थात् घर भनिन्छ नि। द्वार खुल्छ, त्यहाँ गएर शास्त्र आदि पढ्छन्। तिम्रो गुरुद्वारा हो मुक्ति र जीवनमुक्ति धाम, सद्गुरु द्वार। सद्गुरुको नाम के हो? अकालमूर्त। सद्गुरुलाई अकालमूर्त भन्छन्। उहाँ आएर मुक्ति, जीवनमुक्तिको द्वार खोल्नुहुन्छ। अकालमूर्त हुनुहुन्छ, जसलाई कालले पनि खान सक्दैन। आत्मा हो नै बिन्दु। उसलाई कालले कसरी खान सक्छ? आत्मा त शरीर छोडेर भाग्छ। मनुष्यले यो कहाँ बुझ्छन् र! एक पुरानो शरीर छोडेर फेरि गएर अर्को लिन्छ, यसमा रुनु पर्ने के आवश्यकता छ? यो तिमीलाई थाहा छ ड्रामा अनादि बनेको छ। हरेकले पार्ट खेल्नु नै पर्छ। बाबाले सम्झाउनु भएको छ सत्ययुगमा हुन्छन् नष्टोमोहा। मोहजितको पनि कहानी छ नि। पण्डितहरूले सुनाउँछन्, माताहरूले पनि सुन्दा-सुन्दा ग्रन्थ राखेर बस्छन् सुनाउनको लागि। धेरै मानिसहरू गएर सुन्छन्। त्यसलाई भनिन्छ कनरस। ड्रामा योजना अनुसार मनुष्यले त भन्छन् हाम्रो दोष नै के छ? बाबा भन्नुहुन्छ तिमीहरूले मलाई बोलाउँछौ, दु:खको दुनियाँबाट लिएर जानुहोस् भनेर। अब म आएको छु त्यसैले मेरो कुरा सुन्नु पर्छ नि। बाबाले बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ, राम्रो मत मिल्छ भने त्यो लिनु पर्छ नि। तिम्रो पनि केही दोष छैन। यो पनि ड्रामा थियो। राम राज्य, रावण राज्यको खेल बनेको छ। खेलमा कसैले हार्छ भने उसको दोष कहाँ हुन्छ र! जित र हार हुन्छ, यसमा लडाईंको कुरा छैन। तिम्रो बादशाही थियो। यो पनि तिमीलाई पहिला थाहा थिएन। अहिले तिमीहरूमा जो सेवाधारी छन् जसको नाम प्रसिद्ध छ, उनीहरूले जानेका छन्। दिल्लीमा सबैभन्दा राम्ररी सम्झाउनेवाला को छ? तब तुरुन्तै नाम लिन्छन् जगदीशको। तिम्रो लागि पत्रिका पनि निकाल्छन्। त्यसमा सबै कुरा आउँछ। अनेक प्रकारका प्वाइन्ट लेख्छन्, बृजमोहनले पनि लेख्छन्। लेख्नु कुनै सामान्य कुरा कहाँ हो र! अवश्य विचार सागर मन्थन गर्छन्, राम्रो सेवा गर्छन्। कति मानिसहरू पढेर खुसी हुन्छन्। बच्चाहरूलाई पनि रिफ्रेसमेन्ट मिल्छ। कोही-कोहीले प्रदर्शनीमा धेरै मेहनत गर्छन्, कोही फेरि कर्मबन्धनमा फँसेका हुन्छन्, त्यसैले त्यति पुरुषार्थ गर्न सक्दैनन्। यसलाई पनि भनिन्छ ड्रामा। अबलाहरूमाथि पनि अत्याचार हुने ड्रामामा पार्ट छ। यस्तो पार्ट किन रचियो, यो प्रश्न नै उठ्दैन। यो त अनादि बनिबनाऊ ड्रामा हो। यसलाई कहाँ केही गर्न सकिन्छ र! कसैले भन्छन् मैले अपराध के गरें, जसकारण यस्तो पार्ट छ। अब अपराधको कुरा छैन। यो त पार्ट हो। अबलाहरू कोही त निमित्त बन्छन्, जसमाथि अत्याचार हुन्छ। फेरि त सबैले भन्छन् हामीलाई यो पार्ट किन? होइन, यो बनिबनाऊ ड्रामा हो। पुरुषहरूमाथि पनि अत्याचार हुन्छ। यी कुरामा कति सहनशील हुनुपर्छ। धेरै सहनशीलता चाहिन्छ। मायाका विघ्न त धेरै आउँछन्। विश्वको बादशाही लिन्छौ त्यसैले केही मेहनत त गर्नुपर्छ। ड्रामामा आपद-विपद, खिटपिट आदि कति हुन्छ। अबलामाथि अत्याचार लेखिएको छ। रगतका नदीहरू पनि बग्छन्। कतै पनि सुरक्षा हुँदैन। अहिले त बिहान क्लास आदिमा जान्छौ, सेन्टरमा। यस्तो पनि दिन आउने छ, तिमी बाहिर पनि निस्किन सक्ने छैनौ। दिन-प्रतिदिन जमाना बिग्रिदै जान्छ र बिग्रिनु नै छ। दु:खका दिन धेरै जोडले आउँछन्। बिमारी आदिमा दु:ख हुन्छ तब फेरि भगवानलाई याद गर्छन्, पुकार्छन्। अहिले तिमीलाई थाहा छ बाँकी थोरै दिन मात्र छन्। फेरि हामी आफ्नो शान्तिधाम, सुखधाममा अवश्य जान्छौं। दुनियाँलाई त यो पनि थाहा छैन। अहिले तिमी बच्चाहरूले महसुस गर्छौ नि। अब बाबालाई पूरा चिनिसकेका छौ। उनीहरू सबैले त सम्झन्छन् परमात्मा त लिङ्ग हुनुहुन्छ। शिवलिङ्गको पूजा पनि गर्छन्। तिमी शिवको मन्दिरमा जान्थ्यौ, तर कहिल्यै यो ख्याल गर्यौ शिवलिङ्ग के चीज हो? अवश्य यो जड हो भने चैतन्य पनि हुनुहुन्छ होला! यो सबै के हो? भगवान त रचयिता हुनुहुन्छ, माथि हुनुहुन्छ। उहाँको निशानी हो, केवल पूजाको लागि। पूज्य भएको बेला फेरि यी चीज हुँदैनन्। शिव काशीको मन्दिरमा जान्छन्, भगवान निराकार हुनुहुन्छ, यो कसैलाई पनि कहाँ थाहा छ र। हामी पनि उहाँका बच्चाहरू हौं। बाबाको बच्चा भएर फेरि हामी दु:खी किन छौं? विचार गर्ने कुरा हो। आत्माले भन्छ हामी परमात्माका सन्तान हौं फेरि हामी दु:खी किन छौं? बाबा त हुनुहुन्छ नै सुखदाता। बोलाउँछन् पनि हे भगवान! हाम्रो दु:ख मेटाउनुहोस्। उहाँले कसरी मेटाउनु हुन्छ? दु:ख-सुख, यो त आफ्नो कर्मको हिसाब-किताब हो। मनुष्यले त सम्झन्छन् सुखको फल सुख, दु:खको फल दु:ख परमात्माले नै दिनुहुन्छ। उहाँमाथि नै राखिदिन्छन्। बाबा भन्नुहुन्छ मैले कहिल्यै दु:ख दिन्नँ। मैले त आधा कल्पको लागि सुख दिएर जान्छु। यो फेरि सुख-दु:खको खेल हो। केवल सुखको खेल हुँदो हो त यो भक्ति आदि केही पनि हुँदैनथ्यो, भगवानसँग मिल्नको लागि नै यो भक्ति आदि सबै गर्छन् नि। अहिले बाबा बसेर सारा समाचार सुनाउनु हुन्छ। बाबा भन्नुहुन्छ तिमी बच्चाहरू कति भाग्यशाली छौ। ती ऋषि-मुनि आदिको कति नाम छ। तिमी हौ राजऋषि, उनीहरू हुन् हठयोग ऋषि। ऋषि अर्थात् पवित्र। तिमी स्वर्गका राजा बन्छौ त्यसैले पवित्र त अवश्य बन्नुपर्छ। सत्ययुग-त्रेतामा जसको राज्य थियो फेरि उनैको हुन्छ। बाँकी सबै पछि आउँछन्। तिमीले अहिले भन्छौ हामीले श्रीमत अनुसार आफ्नो राज्य स्थापना गरिरहेका छौं। पुरानो दुनियाँको विनाश हुनमा समय त लाग्छ नि। सत्ययुग आउनु छ, कलियुग जानु छ।

कति ठूलो दुनियाँ छ। एक-एक सहर मनुष्यले कति भरिएको छ। धनवान व्यक्तिले दुनियाँको चक्कर लगाउँछन्। तर यहाँ सारा दुनियाँलाई त कसैले देख्न सक्दैन। हो सत्ययुगमा देख्न सक्छन् किनकि सत्ययुगमा हुन्छ नै एक राज्य, थोरै राजाहरू हुन्छन्, यहाँ त हेर कति ठूलो दुनियाँ छ। यति ठूलो दुनियाँको चक्कर कसले लगाउन सक्छ। त्यहाँ त तिमी समुद्रमा जानु पर्दैन। त्यहाँ श्रीलंका (सीलोन), बर्मा आदि हुन्छन्? हुँदैनन्, केही पनि हुँदैनन्। यो कराँची पनि हुँदैन। तिमीहरू सबै मीठो नदीको किनारामा रहन्छौ। खेतीबारी सबै हुन्छ। सृष्टि त ठूलो छ। मनुष्य थोरै हुन्छन् फेरि पछि वृद्धि हुन्छ। फेरि त्यहाँ गएर आफ्नो राज्य स्थापना गर्छन्। विस्तारै-विस्तारै हडप्दै गए। आफ्नो राज्य स्थापना गरे। अब त सबैले छोड्नु पर्छ। एक भारतवर्ष नै हो, जसले कसैको पनि राज्य छिनेको छैन किनकि भारतवर्ष वास्तवमा अहिंसक हो नि। सारा दुनियाँको मालिक थियो, अरू सबै पछि आएका हुन् जसले टुक्रा-टुक्रा लिँदै गए। तिमीले कसैको पनि ओगटेनौ, अंग्रेजले ओगटे। तिमीहरूलाई त बाबाले विश्वको मालिक बनाउनु हुन्छ। तिमीहरू अन्त कहीं गएनौ। तिमी बच्चाहरूको बुद्धिमा यी सारा कुरा छन्, बूढी माताहरूले यी सबै कुरा बुझ्न सक्दैनन्। बाबा भन्नुहुन्छ ठीक छ, तिमीले केही पनि पढेका छैनौ। पढेको सबै बुद्धिबाट निकाल्नुपर्छ, एक कुरा मात्र धारण गर्नु छ प्यारा बच्चाहरू! बाबालाई याद गर। तिमीले भन्थ्यौ नि बाबा हजुर आउनु भयो भने हामी बलिहार जान्छौं, कुर्बान जान्छौं। फेरि हजुर हामी माथि कुर्बान जानु हुन्छ। लेन-देन हुन्छ नि। विवाहको समयमा स्त्री-पुरुषले एक अर्काको हातमा नुन दिन्छन्। बाबालाई पनि भन्छन्, हामीले पनि पुरानो सबै हजुरलाई दिन्छौं। मर्नु त छ नि, यो सबै खतम हुनु छ। हजुरले फेरि हामीलाई सत्ययुगमा दिनुहोला। बाबा आउनु नै हुन्छ सबैलाई लिएर जान। काल हुनुहुन्छ नि। सिन्धमा भन्दथे यो कुन काल हो जसले सबैलाई भगाएर लिएर जान्छ। तिमी बच्चाहरू त खुसी हुन्छौ। बाबा आउनु हुन्छ नै लिएर जान। हामी त खुसीले आफ्नो घरमा जान्छौं। सहन पनि गर्नुपर्छ। राम्रा-राम्रा ठूला-ठूला घरका माताहरूले मार खान्छन्। तिमीले सच्चा कमाई गर्छौ। मनुष्यहरूले कहाँ जानेका छन् र, ती त हुन् कलियुगी शूद्र सम्प्रदाय। तिमी हौ संगमयुगी, पुरुषोत्तम बनिरहेका छौ। तिमीलाई थाहा छ पहिलो नम्बरका पुरुषोत्तम यी लक्ष्मी-नारायण हुन् नि। फेरि डिग्री कम हुँदै जान्छ। माथिबाट तल आइरहन्छन्। फेरि विस्तारै-विस्तारै गिरिरहन्छन्। यस समयमा सबै गिरिसकेका छन्। वृक्ष पुरानो भइसकेको छ, फेद सडिसकेको छ। अब फेरि स्थापना हुन्छ। फाउण्डेशन लाग्छ। कलमी कति सानो हुन्छ फेरि त्यसबाट कति ठूलो वृक्ष बढ्छ। यो पनि वृक्ष हो, सत्ययुगमा धेरै सानो वृक्ष हुन्छ। अहिले कति ठूलो वृक्ष छ। भेराइटी फूल कति छन्, मनुष्य सृष्टिका। एउटै वृक्षमा कति भेराइटी छन्। अनेक भेराइटी धर्मको वृक्ष हो, मनुष्यहरूको। एक चेहरा अर्कोसँग मिल्दैन। बनिबनाऊ ड्रामा हो नि। कसैको उस्तै पार्ट हुन सक्दैन। यसलाई भनिन्छ कुदरत, बनिबनाऊ ड्रामा। यसमा पनि बनावटी धेरै छ। जुन चीज वास्तविक हुन्छ त्यो खतम पनि हुन्छ। फेरि ५ हजार वर्षपछि वास्तविकतामा आउँछ। चित्र आदि पनि कुनै वास्तविक कहाँ बनेका छन् र। ब्रह्माको पनि सक्कल तिमीले फेरि ५ हजार वर्षपछि देख्छौ। यस ड्रामाको रहस्यलाई बुझ्न बुद्धि धेरै विशाल चाहिन्छ। अरू केही नसम्झे पनि एउटा कुरा बुद्धिमा राख एक शिवबाबा, दोस्रो न कोही। यो आत्माले भन्यो बाबा हामी हजुरलाई नै याद गर्छौं। यो त सहज छ नि। हातद्वारा कर्म गर्दै बुद्धिबाट बाबालाई याद गरिराख। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सहनशीलताको गुण धारण गरेर मायाको विघ्नमा पास हुनु छ। अनेक आपद्हरू आउँछन्, अत्याचार हुन्छ यस्तो समयमा सहन गरेर बाबाको यादमा रहनु छ, सच्चा कमाई गर्नु छ।

२) विशाल बुद्धि बनेर यस बनिबनाऊ ड्रामालाई राम्ररी बुझ्नु छ, यो कुदरती ड्रामा बनेको छ त्यसैले प्रश्न उठ्न सक्दैन। बाबाले जुन राम्रो मत दिनुहुन्छ, त्यसैमा चलिरहनु छ।

वरदान:
बाबा समान वरदानी बनेर हरेकको दिललाई आराम दिने मास्टर दिलाराम भव

जो बाबा समान वरदानी मूर्त बच्चा छन् तिनले कहिल्यै कसैको कमजोरीलाई हेर्दैनन्, ती सबैमाथि रहमदिल हुन्छन्। जसरी बाबाले कसैको कमजोरीहरूलाई दिलमा राख्नु हुन्न, त्यस्तै वरदानी बच्चाहरूले पनि कसैको कमजोरी दिलमा धारण गर्दैनन्। उनीहरू हरेकको दिललाई आराम दिने मास्टर दिलाराम हुन्छन्। त्यसैले साथी हुन् वा प्रजा, सबैले उनको गुणगान गर्छन्। सबैको दिलबाट यही आशीर्वाद निस्किन्छ यी त हाम्रो सदा स्नेही, सहयोगी हुन्।

स्लोगन:
संगमयुगमा श्रेष्ठ आत्मा ऊ नै हो, जो सदा बेफिक्र बादशाह छ।