15.01.23 Avyakt Bapdada Nepali Murli 18.11.93 Om Shanti Madhuban
संगमयुगको राजदुलारे
सो भविष्यको राज्य अधिकारी
आज सर्व बच्चाहरूका
दिलाराम बाबाले आफ्नो चारैतिरका सर्व राजदुलारे बच्चाहरूलाई देखिरहनु भएको छ। हरेक
बच्चा दिलारामको दुलारका पात्र हुन्। यो दिव्य दुलार, परमात्म दुलार करोडौंमा कोही
भाग्यवान आत्माहरूलाई नै प्राप्त हुन्छ। अनेक जन्म आत्माहरू वा महान् आत्माहरूद्वारा
दुलार अनुभव गर्यौ। अहिले यस एक अलौकिक जन्ममा परमात्म प्यार वा दुलार अनुभव
गरिरहेका छौ। यस दिव्य दुलारद्वारा राज दुलारे बनेका छौ, त्यसैले दिलाराम बाबालाई
पनि अलौकिक नशा छ– मेरा हरेक बच्चा राजा बच्चा हुन्। राजा हौ नि? प्रजा त होइनौ?
सबैले आफ्नो टाइटल के बताउँछौ? राजयोगी। सबै राजयोगी हौ वा कुनै प्रजायोगी पनि छौ?
सबै राजयोगी हौ भने प्रजा कहाँबाट आउँछन्? राज्य कसमाथि गर्नेछौ? प्रजा त चाहिन्छ
हैन? त्यसोभए ती प्रजायोगी कहिले आउँछन्? राजदुलारे अर्थात् अहिलेको पनि राजा र
भविष्यको पनि राजा। डबल राज्य छ। केवल भविष्यको राज्य होइन। भविष्यभन्दा पहिला अहिले
स्वराज्य अधिकारी बनेका छौ। आफ्नो स्वराज्यको राज्य कारोबारलाई चेक गर्छौ? जसरी
भविष्य राज्यको महिमा गर्छौ– एक राज्य, एक धर्म, सुख, शान्ति, सम्पत्ति सम्पन्न
राज्य हुन्छ, त्यसैगरी हे स्वराज्य अधिकारी राजाहरू! स्वराज्यको राजकारोबारमा यी सबै
कुरा सदा रहन्छन्?
एक राज्य छ अर्थात्
सदा म आत्माको राज्य यी सर्व राज्य कारोबारी कर्मेन्द्रियहरूमाथि छ वा बीच-बीचमा
स्वराज्यको सट्टा पर राज्यमाथि आफ्नो अधिकार त गर्दैनौ? पर राज्य हो– मायाको राज्य।
पर राज्यको निशानी हो– पराधीन बन्नेछौ। स्वराज्यको निशानी हो सदा श्रेष्ठ अधिकारी
अनुभव गर्छौ। पर राज्यले पराधीन वा परवश बनाउँछ। जब कुनै अन्य राजाले कुनै राज्यमाथि
अधिकार प्राप्त गर्यो भने पहिला राजालाई नै कैदी बनाउँछ अर्थात् पराधीन बनाउँछ।
त्यसैले चेक गर– एक राज्य छ? कि बीच-बीचमा मायाको राज्य अधिकारीले तिमी स्वराज्य
अधिकारी राजाहरूलाई वा तिम्रो कुनै पनि कर्मेन्द्रियहरू रूपी राजकारोबारीलाई परवश त
बनाउँदैन? त्यसोभए एक राज्य छ वा दुई राज्य छ? तिमी स्वराज्य अधिकारीको ल र अर्डर
चल्छ वा बीच-बीचमा मायाको पनि अर्डर चल्छ?
साथसाथै एक धर्म,
धर्म अर्थात् धारणा। स्वराज्यको धर्म वा धारणा एउटा कुनचाहिँ हो? ‘पवित्रता’। मन,
वचन, कर्म, सम्बन्ध, सम्पर्कमा सबै प्रकारको पवित्रता यसलाई भनिन्छ– एक धर्म अर्थात्
एक धारणा। सपना मात्र, सङ्कल्प मात्र पनि अपवित्रता अर्थात् अर्को धर्म नहोस् किनकि
जहाँ पवित्रता छ, त्यहाँ अपवित्रता अर्थात् व्यर्थ वा विकल्पको नाम-निशान हुँदैन।
यस्तो समर्थ सम्राट बनेका छौ? वा ढीलासुस्त राजा हौ? वा कहिले सुस्त, कहिले सम्राट?
कुनचाहिँ राजा हौ? यदि अहिले सानो एक जन्मको राज्य चलाउन सक्दैनौ भने २१ जन्मको
राज्य अधिकार कसरी प्राप्त गर्छौ? संस्कार अहिले भरिरहेका छौ। अहिलेको श्रेष्ठ
संस्कारबाट भविष्य संसार बन्छ। अहिलेदेखि एक राज्य, एक धर्मको संस्कार भविष्य
संसारको फाउण्डेशन हो। त्यसैले चेक गर– सुख, शान्ति, सम्पत्ति अर्थात् सदा हदको
प्राप्तिहरूको आधारमा सुख छ वा आत्मिक अतीन्द्रिय सुख परमात्म सुखमय राज्य छ? साधन
वा सेलभेशन वा प्रशंसाको आधारमा सुखको अनुभूति छ वा परमात्म आधारमा अतीन्द्रिय
सुखमय राज्य छ? त्यसैगरी अखण्ड शान्ति– कुनै पनि प्रकारको अशान्तिको परिस्थितिले
अखण्ड शान्तिलाई खण्डित त गर्दैन? अशान्तिको तुफान चाहे सानो होस्, चाहे ठूलो होस्
तर स्वराज्य अधिकारीको लागि तुफान अनुभवी बनाउने उड्तीकलाको तोहफा बनोस्, लिफ्टको
गिफ्ट बनोस्। यसलाई भनिन्छ– अखण्ड शान्ति। अब चेक गर अखण्ड शान्तिमय स्वराज्य छ?
त्यसैगरी सम्पत्ति
अर्थात् स्वराज्यका सम्पत्ति ज्ञान, गुण र शक्ति हुन्। यी सर्व सम्पत्तिहरूले
सम्पन्न स्वराज्य अधिकारी हौ? सम्पन्नताको निशानी हो– सम्पन्नता अर्थात् सदा
सन्तुष्टता, अप्राप्तिको नाम-निशान हुँदैन। हदको इच्छाहरूको अविद्या यसलाई भनिन्छ–
सम्पत्तिवान। र, राजाको अर्थ नै हो दाता। यदि हदको इच्छा वा प्राप्तिको उत्पत्ति
हुन्छ भने ऊ राजाको सट्टा मगन्ते बन्छ, त्यसैले आफ्नो स्वराज्य अधिकारलाई राम्रोसँग
चेक गर– मेरो स्वराज्य एक राज्य, एक धर्म, सुख शान्ति सम्पन्न बनेको छ? कि अझै
बनिरहेका छौ? यदि राजा बनिरहेका छौ तर जब राज्य अधिकारी स्थिति छैन भने त्यतिबेला
के हौ? प्रजा बन्छौ वा न राजा, न प्रजा। बीचमा छौ? अब बीचमा नबस। यो पनि नसोच–
अन्त्यमा बन्छु। यदि बहुतकालको राज्य-भाग्य प्राप्त गर्नु नै छ भने बहुतकालको
स्वराज्यको फल हो बहुतकालको राज्य। फुल समयको राज्य अधिकारको आधार वर्तमान सदाकालको
स्वराज्य हो। बुझ्यौ? कहिले सुस्त नरहनु। हुनेछ, हुनेछ नभनिराख। बापदादालाई धेरै
मीठो कुराले बहलाउँछन्। राजाको सट्टा धेरै बढिया वकिल बन्छन्। यस्ता यस्ता कानुनका
प्वइन्ट सुनाउँछन् जुन सुनेर बाबा पनि मुस्कुराइरहनु हुन्छ। वकिल ठीक या राजा ठीक?
धेरै होसियारीपूर्वक वकालत गर्छन् त्यसैले अब वकालत गर्न छोडिदेऊ, राजदुलारे बन।
बाबाको बच्चाहरूसँग स्नेह छ त्यसैले सुनेर-देखेर पनि मुस्कुराइरहनु हुन्छ। अहिले
धर्मराजसँग काम लिनु हुन्न।
स्नेहले सबैलाई
चलाइरहेको छ। स्नेहको कारण नै पुगेका हौ नि। त्यसैले स्नेहको जवाफमा बापदादा पनि
पद्मगुणा स्नेहको रिटर्न दिइरहनु भएको छ। देश-विदेशका सबै बच्चाहरू स्नेहको
विमानद्वारा मधुबनमा पुगेका छन्। बापदादाले साकार रूपमा तिमीहरू सबैलाई र स्नेह
स्वरूपमा सर्व बच्चाहरूलाई देखिरहनु भएको छ। अच्छा!
सर्व स्नेहमा समाहित
समीप बच्चाहरूलाई, सर्व स्वराज्य अधिकारी सो विश्व राज्य अधिकारी श्रेष्ठ
आत्माहरूलाई, सर्व प्राप्तिहरू सम्पन्न श्रेष्ठ सम्पत्तिवान विशेष आत्माहरूलाई, सदा
एक धर्म, एक राज्य सम्पन्न स्वराज्य अधिकारी बाबा समान भाग्यवान आत्माहरूलाई
भाग्यविधाता बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
दादीजीहरूसँग भेटघाट:–
सबै कार्य राम्रो
चलिरहेको छ हैन? राम्रो उमङ्ग-उत्साहले कार्य भइरहेको छ। करावनहारले गराइरहनु भएको
छ र निमित्त बनेर गर्नेहरूले गरिरहेका छौ। यस्तो अनुभव हुन्छ हैन? सर्वको सहयोगको
अङ्गुलीले हर कार्य सहज र सफल हुन्छ। कसरी भइरहेको छ, यो जादू लाग्छ नि। दुनियाँकाले
त हेरेर सोचिरहन्छन्, तिमी निमित्त आत्माहरू सदा अगाडि बढ्दै जान्छौ किनकि तिमीहरू
बेफिक्र बादशाह हौ। दुनियाँका मानिसलाई त हर कदममा चिन्ता छ र तिमीहरू सबैको हर
सङ्कल्पमा परमात्म चिन्तन छ त्यसैले बेफिक्र छौ। बेफिक्र छौ नि? राम्रो छ, अविनाशी
सम्बन्ध छ। अच्छा, सबै ठीक चलिरहेको छ र चल्नु नै छ। निश्चय छ र निश्चिन्त छौ। के
होला, कसरी होला, यो चिन्ता छैन।
टिचरहरूलाई कुनै
चिन्ता छ? सेन्टर कसरी बढ्छन्, यो चिन्ता छ? सेवा कसरी बढ्ला, यो चिन्ता छ? छैन?
बेफिक्र छौ? चिन्तन गर्नु अलग चीज हो, चिन्ता गर्नु अलग चीज हो। सेवा बढाउने चिन्तन
अर्थात् प्लान ठीकै छ बनाऊ। तर चिन्ताले कहिल्यै सफलता हुँदैन। चलाउनेले चलाइरहनु
भएको छ, गराउनेले गराइरहनु भएको छ त्यसैले सबै सहज हुनु नै छ, केवल निमित्त बनेर
सङ्कल्प, तन, मन, धन सफल गर्दै जाऊ। जुन समय जे कार्य हुन्छ त्यो कार्य हाम्रो
कार्य हो। जब हाम्रो कार्य हो, मेरो कार्य हो भने जहाँ मेरोपन हुन्छ, त्यहाँ तिम्रो
सबैथोक स्वत: नै लागिहाल्छ। अहिले ब्राह्मण परिवारको विशेष कार्य कुनचाहिँ हो?
टिचरहरूले भन। ब्राह्मण परिवारको अहिले विशेष कार्य कुनचाहिँ हो, केमा सफल गर्नेछौ?
(ज्ञान सरोवरमा) सरोवरमा सबै स्वाहा गर्नेछौ। परिवारमा विशेष कार्य हुँदा सबैको
अटेन्शन कहाँ हुन्छ? त्यही विशेष कार्यतिर अटेन्शन हुन्छ। ब्राह्मण परिवारमा
ठूलोभन्दा ठूलो कार्य वर्तमान समयमा यही हो नि। हर समयको आफ्नो आफ्नो हुन्छ,
वर्तमान समयमा देश-विदेशका सर्व ब्राह्मण परिवारको सहयोग यस विशेष कार्यमा छ नि कि
आ-आफ्नो सेन्टरमा छ? जति ठूलो कार्य त्यति ठूलो दिल। जति ठूलो दिल हुन्छ नि त्यति
स्वत: नै सम्पन्नता हुन्छ। यदि सानो दिल छ भने जो आउनु पर्नेछ, त्यो पनि रोकिन्छ,
जो हुनु पर्नेछ त्यो पनि रोकिन्छ र विशाल दिलले असम्भव पनि सम्भव हुन्छ। मधुबनको
ज्ञान सरोवर हो वा तिम्रो हो? कसको हो? मधुबनको हो नि? गुजरातको त होइन, मधुबनको
हो? महाराष्ट्रको हो? विदेशको हो? सबैको हो। बेहदको सेवाको बेहदको स्थानले अनेक
आत्माहरूलाई बेहदको वर्सा दिलाउने छ। ठीक हो नि। अच्छा!
अव्यक्त बापदादाको
पर्सनल भेटघाट
१) स्व-परिवर्तनको
भाइब्रेशनले नै विश्व परिवर्तन गराउँछ
सबैले आफूलाई खुशनसीब
आत्मा अनुभव गर्छौ? खुशीको भाग्य जुन स्वप्नमा पनि थिएन, त्यो प्राप्त गर्यौ। सबैको
दिलले सदा यो गीत गाउँछ– सबैभन्दा खुशनसीब त म हुँ। यो हो मनको गीत। मुखको गीत
गाउनको लागि मेहनत गर्नुपर्छ। तर मनको गीत सबैले गाउन सक्छन्। सबैभन्दा ठूलो खजाना
हो खुशीको खजाना किनकि खुशी तब हुन्छ जब प्राप्ति हुन्छ। यदि अप्राप्ति छ भने जति
नै कसैले खुशी रहनको लागि भनोस्, जति नै खुशी रहने बनावटी कोसिस गरोस् तर रहन
सक्दैन। तिमी त सदा खुशी रहन्छौ वा कहिलेकाहीँ रहन्छौ? जबकि च्यालेन्ज गर्छौ– हामी
भगवानका बच्चा हौं भने जहाँ भगवान हुनुहुन्छ, त्यहाँ कुनै अप्राप्ति हुन सक्छ?
त्यसैले खुशी पनि सदा छ किनकि सदा सर्व प्राप्ति स्वरूप हौ। ब्रह्माबाबाको के गीत
थियो? पाइसकेँ, जे पाउनु थियो। यो केवल ब्रह्माबाबाको गीत हो या तिमीहरू सबैको पनि
हो? कहिलेकाहीँ थोरै दु:खको लहर आउँछ? कहिलेसम्म आउँछ? अब थोरै समय पनि दु:खको लहर
नआओस्। जब विश्व परिवर्तन गर्ने निमित्त हौ भने आफ्नो यो परिवर्तन गर्न सक्दैनौ? अझै
पनि समय चाहियो, फुलस्टप लगाऊ।
यस्तो श्रेष्ठ समय,
श्रेष्ठ प्राप्ति, श्रेष्ठ सम्बन्ध सारा कल्पमा मिल्दैन। त्यसैले पहिला
स्व-परिवर्तन गर। यो स्व-परिवर्तनको भाइब्रेशनले नै विश्व परिवर्तन गराउँछ।
डबल विदेशी आत्माहरूको
विशेषता हुन्छ फास्ट लाइफ। त्यसोभए तिमीहरू परिवर्तनमा फास्ट छौ? विदेशमा कोही
ढीलोढालो चल्छ भने राम्रो लाग्दैन नि। यसै विशेषतालाई परिवर्तनमा ल्याऊ। राम्रो छ।
अगाडि बढिरहेका छौ र बढि नै रहनेछौ। पहिचान गर्ने दृष्टि राम्रो तेज छ, जसले गर्दा
बाबाको पहिचान गर्यौ। अब पुरुषार्थमा पनि तीव्र, सेवामा पनि तीव्र र लक्ष्यमा
सम्पूर्ण बनेर पुग्नमा पनि तीव्र। फस्ट नम्बरमा आउनु छ हैन? जसरी ब्रह्माबाबा फस्ट
हुनुभयो नि, ब्रह्माबाबाको साथी बनेर फस्टको साथ फस्टमा आउने छौ। ब्रह्माबाबासँग
प्यार छ नि। माताहरूले कमाल गर्छौ नि। जुन कुरा दुनियाँले असम्भव सम्झन्छ, त्यो
तिमीले सहज बनाएर देखाइदियौ। यस्तो कमाल गरिरहेका छौ नि। दुनियाँका मानिसले
सम्झन्छन्– माताहरू निर्बल छन्, केही गर्न सक्दैनन्, तिमीहरू असम्भवलाई सम्भव बनाएर
विश्व परिवर्तनमा सबैभन्दा अगाडि बढिरहेका छौ। पाण्डवले के गरिरहेका छौ? असम्भवलाई
सम्भव त बनाइरहेका छौ नि। पवित्रताको झण्डा लहराएका छौ नि। हातमा राम्रोसँग झण्डा
समातेका छौ वा कहिले तल हुन्छ? सदा पवित्रताको च्यालेन्जको झण्डा लहराइराख।
२) दिनहुँ अमृतबेला
कम्बाइण्ड स्वरूपको स्मृतिको तिलक लगा ऊ
सदा आफूलाई सहज योगी
अनुभव गर्छौ? जस्तोसुकै परिस्थितिले मुश्किल अनुभव गराओस् तर मुश्किललाई पनि सहज
बनाउने सहजयोगी हौ, यस्ता हौ वा मुश्किलको समयमा मुश्किलको अनुभव हुन्छ? सदा सहज
हुन्छ? मुश्किल हुने कारण हो बाबाको साथ छोडिदिन्छौ। जब एक्लो बन्छौ अनि कमजोर
हुन्छौ र कमजोरलाई त सहज कुरा पनि मुश्किल लाग्छ। त्यसैले बापदादाले पहिला पनि
सुनाउनु भएको छ– सदा कम्बाइण्ड रूपमा रहने गर। कम्बाइण्डलाई कसैले छुट्याउन सक्दैन।
जसरी यस समयमा आत्मा र शरीर कम्बाइण्ड छ, त्यसैगरी बाबा र तिमी कम्बाइण्ड रहने गर।
माताहरूले के सम्झन्छौ? कम्बाइण्ड वा कहिले अलग, कहिले कम्बाइण्ड? यस्तो साथ फेरि
कहिले मिल्नेछ? फेरि किन साथ छोडिदिन्छौ? काम नै के दिइएको छ? केवल यो याद राख–
‘मेरा बाबा’। यो भन्दा सहज काम के होला? मुश्किल हुन्छ? (६३ जन्मको संस्कार छ) अहिले
त नयाँ जन्म भयो नि। नयाँ जन्म, नयाँ संस्कार। अहिले पुरानो जन्ममा छौ वा नयाँ
जन्ममा? वा आधा-आधा छ? त्यसोभए नयाँ जन्ममा स्मृतिको संस्कार छ वा विस्मृतिको? फेरि
नयाँलाई छोडेर पुरानोमा किन जान्छौ? नयाँ चीज राम्रो लाग्छ वा पुरानो चीज राम्रो
लाग्छ? फेरि पुरानोमा किन जान्छौ? दिनहुँ अमृतबेला स्वयंलाई ब्राह्मण जीवनको
स्मृतिको तिलक लगाऊ। जसरी भक्तहरूले तिलक अवश्य लगाउँछन्, त्यसैगरी तिमीले स्मृतिको
तिलक लगाऊ। त्यसै पनि हेर माताहरू जसले तिलक लगाउँछन्, उनीहरूले बाबाको साथको तिलक
लगाउँछन्। सदा स्मृति राख– हामी कम्बाइण्ड हौं, यस साथको तिलक सदा लगाऊ। यदि युगल
भएमा तिलक लगाउँछन्, यदि युगल नभए तिलक लगाउँदैनन्। यो साथको तिलक हो। त्यसैले सधैं
स्मृतिको तिलक लगाउँछौ वा बिर्सन्छौ? कहिले लगाउन भुल्छौ, कहिले मेटिन्छ! जो सधवा
हुन्छन्, साथ हुन्छ उनले कहिल्यै बिर्सिदैनन्। त्यसैले साथीलाई सदा साथ राख।
यो ग्रुप सुन्दर
गुलदस्ता हो। भेराइटी फूलहरूको गुलदस्ता शोभनीय लाग्छ। त्यसोभए सबै जो पनि, जहाँबाट
पनि आएका छौ, सबै एक अर्को भन्दा प्रिय छौ। सबै सन्तुष्ट छौ हैन? सदा साथ छौ र सदा
सन्तुष्ट छौ। बस्, यही एक शब्द याद राख्नु– कम्बाइण्ड छु र सदा नै कम्बाइण्ड बनेर
साथै जानेछु। तर साथ रह्यौ भने साथ जान्छौ। साथ रहनु छ, साथ जानु छ। जोसँग प्यार
हुन्छ, उसँग छुट्टिन सकिदैन। हर सेकेन्ड, हर सङ्कल्पमा तिमी सादा साथ हुन्छौ। अच्छा!
वरदान:–
सन्तुलनको
विशेषतालाई धारण गरेर सबैलाई आशीर्वाद दिने शक्तिशाली सेवाधारी भव
यतिबेला तिमी
शक्तिशाली आत्माहरूको सेवा हो सबैलाई आशीर्वाद दिनु। चाहे नयनबाट देऊ,चाहे
मस्तकमणिद्वारा देऊ। जसरी साकारलाई अन्तिम कर्मातीत अवस्थामा देख्यौ,कस्तो सन्तुलनको
विशेषता थियो र आशीर्वादको कमाल थियो। त्यसैगरी फलो फादर गर। यो नै सहज र शक्तिशाली
सेवा हो। यसमा समय पनि कम,मेहनत पनि कम अनि रिजल्ट ज्यादा निस्कन्छ। त्यसैले सबैलाई
आत्मिक स्वरुपद्वारा आशीर्वाद दिंदै जाऊ।
स्लोगन:–
विस्तारलाई
सेकेन्डमा समाहित गरेर ज्ञानको सारको अनुभव गर्नु नै लाइट-माइट हाउस बन्नु हो।
सूचना:– आज
अन्तर्राष्ट्रिय योग दिवस हो।