16-11-2020 ओम् शान्ति प्रातः मुरली "बापदादा” मधुबन


"मीठे बच्चे– तिमी यस रूहानी विश्व-विद्यालयका विद्यार्थी हौ, तिम्रो काम हो सारा विश्वलाई बाबाको सन्देश दिनु।”

प्रश्न:–

अहिले तिमी बच्चाहरूले कुनचाहिँ झ्याली पिट्छौ र कुनचाहिँ कुरा सम्झाउँछौ?

उत्तर:–

तिमीले झ्याली पिट्छौ– नयाँ दैवी राजधानी फेरि स्थापना भइरहेको छ। अनेक धर्महरूको अब विनाश हुनु छ। तिमीले सबैलाई सम्झाउँछौ– निश्चिन्त रहनुहोस्, यो अन्तर्राष्ट्रिय समस्या हो। लडार्इं अवश्य हुन्छ, त्यसपछि दैवी राजधानी आउँछ।

ओम् शान्ति। यो हो रूहानी युनिभर्सिटी (विश्व विद्यालय) सारा युनिभर्समा जति पनि आत्माहरू छन्, ती आत्माहरूले युनिभर्सिटीमा नै पढ्छन्। युनिभर्स अर्थात् विश्व। अहिले नियम अनुसार युनिभर्सिटी शब्द तिमी बच्चाहरूको हो। यो हो रूहानी युनिभर्सिटी। जिस्मानी युनिभर्सिटी हुँदैन। यो एउटै गड फादरली युनिभर्सिटी हो। सबै आत्माहरूलाई यो पाठ मिल्छ। तिम्रो यो सन्देश कुनै न कुनै प्रकारले अवश्य पनि सबैलाई पुग्नै पर्छ, सन्देश दिनु छ नि! यो सन्देश बिल्कुल साधारण छ। बच्चाहरूले जानेका छन्– उहाँ हाम्रा बेहदका पिता हुनुहुन्छ, जसलाई सबैले याद गर्छन्। यस्तो पनि भन्न सकिन्छ– उहाँ हाम्रो बेहदका प्रियतम हुनुहुन्छ, जति पनि विश्वमा जीव आत्माहरू छन्, उनीहरूले उहाँ प्रियतमलाई अवश्य याद गर्छन्। यी प्वाइन्टहरू राम्ररी धारण गर्नु छ। जो फ्रेश बुद्धिका हुन्छन् उनीहरूले राम्ररी धारणा गर्न सक्छन्। विश्वमा जति पनि आत्मा छन्, ती सबैका पिता एउटै हुनुहुन्छ। युनिभर्सिटीमा त मनुष्यले नै पढ्छन् नि। अहिले तिमी बच्चाहरूले यो पनि जानेका छौ– हामीले नै ८४ जन्म लिन्छौं। ८४ लाखको त कुरै होइन। विश्वमा जति पनि आत्माहरू छन्, यतिबेला सबै पतित छन्। यो हो नै फोहोरी दुनियाँ, दु:खधाम। यसलाई सुखधाममा लैजाने एउटै बाबा हुनुहुन्छ, उहाँलाई मुक्तिदाता पनि भनिन्छ। तिमी सारा युनिभर्स वा विश्वको मालिक बन्छौ। बाबाले सबैलाई भन्नुहुन्छ– यो सन्देश पुर्याएर आऊ। बाबालाई सबैले याद गर्छन्, उहाँलाई गाइड, लिवरेटर‚ मर्सिफुल (दयालु) पनि भन्छन्। अनेक भाषाहरू छन् नि। सबै आत्माहरूले एउटैलाई पुकार्छन् त्यसैले उहाँ एउटै सारा विश्वको टिचर पनि हुनु भयो नि। बाबा त हुनुहुन्छ नै तर यो कसैलाई पनि थाहा छैन– उहाँ हामी सबैका टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। सबैलाई गाइड पनि गर्नुहुन्छ। उहाँ बेहदका गाइडलाई केवल तिमी बच्चाहरूले चिन्छौ। तिमी ब्राह्मणहरू बाहेक अरू कसैले जानेका छैनन्। आत्मालाई पनि तिमीले चिनेका छौ– आत्मा के चीज हो? दुनियाँमा त एउटा पनि मनुष्य छैन, सारा दुनियाँ कसैलाई पनि थाहा छैन– आत्मा के चीज हो? भन्न त भन्छन्– भृकुटीको बीचमा चम्कन्छ विशेष सितारा। तर ज्ञान केही पनि छैन। अहिले तिमीले जानेका छौ– आत्मा त अविनाशी छ। आत्मा कहिल्यै सानो वा ठूलो हुँदैन। जस्तो तिम्रो आत्मा छ, बाबा पनि त्यस्तै बिन्दु हुनुहुन्छ। ठूलो-सानो हुँदैन। उहाँ पनि हुनुहुन्छ आत्मा, तर परम आत्मा हुनुहुन्छ, सुप्रीम हुनुहुन्छ। वास्तवमा सबै आत्माहरू परमधाममा रहन्छन्। यहाँ आउँछन् पार्ट खेल्न। फेरि आफ्नो परमधाम जाने कोसिस गर्छन्। परमपिता परमात्मालाई सबैले याद गर्छन् किनकि आत्माहरूका परमपिताले नै मुक्तिमा पठाउनु भएको थियो त्यसैले उहाँलाई याद गर्छन्। आत्मा नै तमोप्रधान बनेको छ। याद किन गर्छन्? यति पनि थाहा छैन। जसरी बच्चाले भन्छ– "बाबा”! पुग्यो। उसलाई केही पनि थाहा हुँदैन। तिमीले पनि बाबा मम्मा भन्छौ, तर केही पनि जान्दैनौ। भारतमा एक नेशनालिटी (जाति) थियो, त्यसलाई दैवी नेशनालिटी भनिन्थ्यो। फेरि पछि त्यसमा अरू पनि प्रवेश भए। अहिले कति धेरै भएका छन्, त्यसैले यति झगडा आदि हुन्छ। जहाँ-जहाँ धेरै प्रवेश गरेका छन् उनीहरूलाई निकाल्ने कोसिस गरिरहन्छन्। धेरै झगडा भएका छन्। अन्धकार पनि धेरै भएको छ। केही सीमा पनि त हुनु पर्छ नि। कलाकारको पनि सीमा हुन्छ। यो पनि बनिबनाउ खेल हो। यसमा जति पनि कलाकार छन्, त्यसमा घटी-बढी हुन सक्दैन। जब सबै कलाकारहरू मञ्चमा आउँछन्, फेरि उनीहरू फर्केर पनि जानुपर्छ। जति पनि कलाकारहरू रहन्छन्, ती आइरहन्छन्। जतिसुकै नियन्त्रण आदि गर्न मेहनत गर्छन्, तर गर्न सक्दैनन्। भन, हामी बी.के.ले यस्तो परिवार नियोजन गरिदिन्छौं अनि ९ लाख मात्र बाँकी रहन्छन्। फेरि सारा जनसंख्या नै कम हुन्छ। हामीले तपाईंलाई सत्य बताउँछौं, अब स्थापना गरिरहेका छौं। नयाँ दुनियाँ, नयाँ वृक्ष अवश्य सानै हुन्छ। यहाँ त यो नियोजन गर्न सकिन्न किनकि अझै तमोप्रधान हुँदै जान्छ। वृद्धि हुँदै जान्छ। जति पनि कलाकारहरू आउँछन्, यहाँ नै आएर शरीर धारण गर्छन्। यी कुरालाई कसैले पनि बुझ्दैनन्। तीक्ष्ण बुद्धि भएकाले बुझ्छन्– राजधानीमा त हरेक प्रकारका पार्टधारी हुन्छन्। सत्ययुगमा जुन राजधानी थियो त्यो फेरि स्थापना भइरहेको छ। ट्रान्सफर हुन्छन्। तिमी अहिले तमोप्रधानबाट सतोप्रधान क्लासमा ट्रान्सफर हुन्छौ। पुरानो दुनियाँबाट नयाँ दुनियाँमा जान्छौ। तिम्रो पढाइ यो दुनियाँको लागि होइन। यस्तो युनिभर्सिटी अरू कुनै हुन सक्दैन। परमपिता परमात्माले नै भन्नुहुन्छ– मैले तिमीलाई अमरलोकको लागि पढाउँछु। यो मृत्युलोक समाप्त हुन्छ। सत्ययुगमा यी लक्ष्मी-नारायणको राजधानी थियो। यो स्थापना कसरी भयो? कसैलाई थाहा छैन।

बाबाले सदैव भन्नुहुन्छ– जहाँ तिमीले भाषण गर्छौ, यी लक्ष्मी-नारायणको चित्र अवश्य पनि राख। त्यसमा मिति पनि अवश्य लेखिएको होस्। तिमीले सम्झाउन सक्छौ– नयाँ विश्वको आरम्भबाट १२५० वर्षसम्म यो डिनायस्टीको राज्य थियो। जसरी भन्छन् नि– क्रिश्चियन डिनायस्टीको राज्य थियो। एक अर्काको पछाडि आउँछन्। जब यो देवता डिनायस्टी थियो अरू कुनै थिएन। अब फेरि यो डिनायस्टी स्थापना भइरहेको छ। बाँकी सबैको विनाश हुनु छ। लडार्इं पनि सामुन्ने खडा छ। भागवत आदिमा यसको बारेमा पनि कथा लेखिदिएका छन्। बचपनमा यी कथाहरू सुनिरहन्थ्यौ। अहिले तिमीले बुझेका छौ– यो राजाई कसरी स्थापना भइरहेको छ। अवश्य बाबाले नै राजयोग सिकाउनु भएको हो। जो पास हुन्छन् उनीहरू विजय मालाको दाना बन्छन्, अरू कसैले यो मालालाई जानेका छैनन्। तिमीले मात्रै जानेका छौ। तिम्रो प्रवृत्ति मार्ग हो। माथि बाबा हुनुहुन्छ, उहाँको आफ्नो शरीर छैन। फेरि ब्रह्मा-सरस्वती सो लक्ष्मी-नारायण। पहिला हुनुपर्छ बाबा, अनि जोडा। रूद्राक्षका दाना हुन्छन् नि। नेपालमा एउटा वृक्ष हुन्छ, जहाँबाट यी रूद्राक्षका दाना आउँछन्। त्यसमा सक्कली पनि हुन्छन्। जति सानो त्यति धेरै मूल्य। अहिले तिमीले अर्थलाई बुझेका छौ। यो विष्णुको विजय माला अथवा रूण्ड माला बन्छ। उनीहरूले त केवल माला जप्दै-जप्दै राम-राम भनिरहन्छन्, अर्थ केही पनि छैन। मालाको जप गर्छन्। यहाँ त बाबा भन्नुहुन्छ– मलाई याद गर। यो हो अजपाजप। मुखद्वारा केही बोल्नु पर्दैन। गीत पनि स्थूल हुन्छ। बच्चाहरूले त केवल बाबालाई याद गर्नु छ। नत्र फेरि गीत आदि याद आइरहन्छ। यहाँ मूल कुरा हो नै यादको। तिमी आवाज भन्दा पर जानु छ। बाबाको निर्देशन छ नै मनमनाभव। बाबाले कहाँ भन्नुहुन्छ– गीत गाऊ, आवाज निकाल। मेरो महिमाको गायन गर्न पनि आवश्यकता छैन। यो त तिमीले जानेका छौ– उहाँ ज्ञानको सागर, सुख-शान्तिको सागर हुनुहुन्छ। मनुष्यले जानेका छैनन्। त्यत्तिकै नाम राखिदिएका छन्। तिमी सिवाय अरू कसैले पनि जानेका छैनन्। बाबाले नै आएर आफ्नो नाम-रूप आदि बताउनु हुन्छ– म कस्तो छु, तिमी आत्माहरू कस्ता छौ! तिमीले धेरै मेहनत गर्छौ– पार्ट खेल्न। आधा कल्प भक्ति गरेका छौ, म त यस पार्टमा आउँदिन। म सुख-दु:ख देखि अलग छु। तिमीले दु:ख भोग्छौ अनि तिमीले नै सुख भोग्छौ– सत्ययुगमा। तिम्रो पार्ट मेरो भन्दा पनि उच्च छ। म त आधा कल्प त्यहाँ नै आरामसँग बस्छु, वानप्रस्थमा। तिमीले मलाई पुकार्दै आउँछौ। यस्तो होइन– म त्यहाँ बसेर तिम्रो पुकार सुन्छु। मेरो पार्ट नै यस समयको हो। ड्रामाको पाार्टलाई मैले जान्दछु। अब ड्रामा पूरा भएको छ, मैले गएर पतितलाई पावन बनाउने पार्ट खेल्नु छ, अरू कुनै कुरा छँदै छैन। मनुष्यले सम्झन्छन्– परमात्मा सर्वशक्तिमान् हुनुहुन्छ, अन्तर्यामी हुनुहुन्छ। सबैको मनमा के-के चल्छ, त्यो जान्नुहुन्छ। बाबा भन्नुहुन्छ– यस्तो हुँदै होइन। तिमी जब बिल्कुल तमोप्रधान बन्छौ तब एक्युरेट समयमा मलाई आउनु पर्छ। साधारण तनमा नै आउँछु। आएर तिमी बच्चाहरूलाई दु:खबाट छुटाउँछु। एक धर्मको स्थापना ब्रह्माद्वारा, अनेक धर्मको विनाश शंकरद्वारा.... हाहाकारपछि जयजयकार हुन्छ। कति हाहाकार हुनु छ। आपतमा मरिरहन्छन्। यसमा प्राकृतिक प्रकोपको पनि धेरै सहयोग हुन्छ। नत्र मनुष्य धेरै रोगी, दु:खी हुन्छन्। बाबा भन्नुहुन्छ– बच्चाहरू दु:खी नबनिरहुन् त्यसैले प्राकृतिक प्रकोप पनि यति जोडले आउँछ जसले सबैलाई समाप्त गरिदिन्छ। बम त केही होइन, प्राकृतिक प्रकोपले धेरै सहयोग गर्छ। भूकम्पमा धेरै समाप्त हुन्छन्। पानीको एक दुई लहर आयो, समाप्त। समुद्रमा पनि अवश्य छाल आउँछ। धरतीलाई निलिदिन्छ, १०० फीट अग्लो पानीको छाल आयो भने के गरिदेला! यो हो हाहाकारको दृश्य। यस्तो दृश्य हेर्नको लागि हिम्मत चाहिन्छ। मेहनत पनि गर्नु छ, निर्भय पनि बन्नु छ। तिमी बच्चाहरूमा अहंकार बिल्कुलै हुनु हुँदैन। देही-अभिमानी बन। देही-अभिमानी रहने धेरै मीठा हुन्छन्। बाबा भन्नुहुन्छ– म त हुँ निराकार र विचित्र। यहाँ आउँछु– सेवा गर्नको लागि। हेर मेरो कति महिमा गर्छन्। ज्ञानको सागर..... हे बाबा! अनि फेरि भन्छन् पतित दुनियाँमा आउनुहोस्। तिमीले निमन्त्रणा त धेरै राम्रो दिन्छौ। यस्तो पनि भन्दैनौ स्वर्गमा आएर सुख त हेर्नुहोस्। भन्छन्– हे पतित-पावन! हामी पतित छौं, हामीलाई पावन बनाउन आउनुहोस्। निमन्त्रण हेर कस्तो छ। एकदम तमोप्रधान, पतित दुनियाँ र फेरि पतित शरीरमा बोलाउँछन्। धेरै राम्रो निमन्त्रणा दिन्छन् भक्तहरूले! ड्रामामा रहस्य नै यस्तो छ। यिनलाई पनि कहाँ थाहा थियो र– मेरो धेरै जन्मको अन्त्यको जन्म हो। बाबाले प्रवेश गर्नु भएको छ, अनि बताउनु हुन्छ। बाबाले हरेक कुराको रहस्य सम्झाउनु भएको छ। ब्रह्मालाई नै पत्नी बन्नु छ। बाबा स्वयं भन्नुहुन्छ– मेरी यी पत्नी हुन्। म यिनमा प्रवेश गरेर यिनीद्वारा तिमीलाई आफ्नो बनाउँछु। यी सच्चा-सच्चा बडी माता हुन् र उनी गोदमा लिइएकी माता हुन्। मातापिता त तिमीले यिनलाई भन्न सक्छौ। शिव बाबालाई केवल पिता मात्रै भनिन्छ। यी हुन् ब्रह्मा बाबा। मम्मा गुप्त छिन्। ब्रह्मा हुन् माता तर तन पुरुषको छ। यिनले सम्हाल्न सक्दैनन् त्यसैले गोदमा लिइयो बच्चीलाई। नाम राखिदिए मातेश्वरी। प्रमुख भइन्। ड्रामा अनुसार हुन्छिन् नै एक सरस्वती। बाँकी दुर्गा, काली आदि धेरै अनेक नाम छन्। माता-पिता त एउटै हुन्छन्। तिमीहरू सबै हौ बच्चाहरू। गायन पनि छ– ब्रह्माकी पुत्री सरस्वती। तिमी ब्रह्माकुमार-ब्रह्माकुमारी हौ नि। तिम्रा नाम धेरै छन्। यी सबै कुरा तिमीहरू मध्ये पनि नम्बरवारले बुझ्छन्। पढाइमा पनि नम्बरवार हुन्छन् नि। एक अर्कोसँग मिल्दैन। यो राजधानी स्थापना भइरहेको छ। यो बनिबनाऊ ड्रामा हो। यसलाई विस्तारपूर्वक बुझ्नुपर्छ। धेरै प्वाइन्टहरू छन्। कानुन पढ्दा पनि त्यसमा नम्बरवार हुन्छन्। कुनै वकिलले २-३ लाख कमाउँछन्। हेर कतिले त फाटेका कपडा पनि लगाउँछन्। यसमा पनि यस्तै हुन्छ।

त्यसैले बच्चाहरूलाई सम्झाइएको छ– यो अन्तर्राष्ट्रिय समस्या हो। तिमीले सम्झाउँछौ– सबै जना निश्चिन्त रहनुहोस्। लडाईं त अवश्य हुनु नै छ। तिमीले झ्याली पिट्छौ– नयाँ दैवी राजधानी फेरि स्थापना भइरहेको छ। अनेक धर्महरूको विनाश हुन्छ। कति स्पष्ट छ। प्रजापिता ब्रह्माद्वारा प्रजा रचिन्छ। भन्नुहुन्छ– यो हो मेरो मुख वंशावली। तिमी मुख वंशावली ब्राह्मण हौ। उनीहरू कोख वंशावली ब्राह्मण हुन्। ती हुन् पुजारी, तिमी अहिले पूज्य बनिरहेका छौ। तिमीले जानेका छौ– हामी नै पूज्य देवता बनिरहेका छौं। तिम्रो शिरमा अहिले लाइटको ताज छैन। तिम्रो आत्मा जब पवित्र बन्छ अनि यो शरीर छोडिदिन्छौ। यस शरीरमा तिमीलाई लाइटको ताज दिन सकिँदैन, शोभा दिँदैन। यतिबेला तिमी गायन लायक हुन्छौ। अहिले कसैको आत्मा पनि पवित्र छैन, त्यसैले कसैको शिरमा पनि अहिले यो लाइट छैन। लाइट सत्ययुगमा हुन्छ। दुई कला कम भएकालाई पनि यो लाइट दिनु हुँदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) आफ्नो स्थिति यस्तो अचल र निर्भय बनाउनु छ जसले गर्दा अन्तिम विनाशको दृश्यलाई देख्न सकियोस्। देही-अभिमानी बन्ने मेहनत गर्नु छ।

२) नयाँ राजधानीमा उच्च पद पाउनको लागि पढाइमा पूरा-पूरा ध्यान दिनु छ। पास भएर विजय मालाको दाना बन्नु छ।

वरदान:–

निर्बल, निराश, असमर्थ आत्मालाई एक्स्ट्रा बल दिने रूहानी रहमदिल भव

जो रूहानी रहमदिल बच्चा हुन्छ, उसले महादानी बनेर बिल्कुलै होपलेस केसमा पनि होप (आशा) पैदा गरिदिन्छ। निर्बललाई बलवान बनाइदिन्छ। दान सदा गरिबलाई, बेसहारालाई दिइन्छ। त्यसैले जो निर्बल, निराश, असमर्थ प्रजा क्वालिटीका आत्माहरू छन् उनीहरूप्रति रूहानी रहमदिल बनेर महादानी बन। आपसमा एक-अर्का प्रति महादानी होइन। यसमा त सहयोगी साथी भएर, भाइ-भाइ भएर, आफू समान पुरुषार्थी भएर सहयोग देऊ, दान होइन।

स्लोगन:–

सदा एक बाबाको श्रेष्ठ सङ्गमा रह्यौ भने अरू कसैको सङ्गको रङ्गले प्रभाव पार्न सक्दैन।