19-11-2020 ओम् शान्ति प्रातः मुरली "बापदादा” मधुबन


"मीठे बच्चे– यो सारा दुनियाँ रोगीहरूको ठूलो हस्पिटल हो, बाबा आउनु भएको छ सारा दुनियाँलाई निरोगी बनाउन।”

प्रश्न:–

कुनचाहिँ स्मृति रह्यो भने कहिल्यै पनि दु:खको लहर आउन सक्दैन?

उत्तर:–

अब हामी यस पुरानो दुनियाँ, पुरानो शरीरलाई छोडेर घरमा जान्छौं फेरि नयाँ दुनियाँमा पुनर्जन्म लिन्छौं। हामीले अहिले राजयोग सिकिरहेका छौं– राजाईमा जानको लागि। बाबाले हामी बच्चाहरूको लागि रूहानी राजस्थान स्थापना गरिरहनु भएको छ, यो स्मृति रह्यो भने दु:खको लहर आउन सक्दैन।

गीत:–

तुम्हीं हो माता........

ओम् शान्ति। गीत कुनै तिमी बच्चाहरूको लागि होइन, नयाँ-नयाँलाई सम्झाउनको लागि हो। यस्तो पनि होइन, यहाँ सबै समझदार नै छन्। बेसमझलाई समझदार बनाइन्छ। बच्चाहरूले सम्झन्छन्– हामी कति बेसमझदार बनेका थियौं, अहिले बाबाले हामीलाई समझदार बनाउनु हुन्छ। जसरी विद्यालयमा पढेर बच्चाहरू कति समझदार बन्छन्। हरेक आ-आफ्नो समझबाट वकिल, इन्जिनियर आदि बन्छन्। यहाँ त आत्मालाई समझदार बनाउनु छ। आत्माले पढ्छ, शरीरद्वारा। तर बाहिर जुन पनि शिक्षा मिल्छ, त्यो हो अल्पकालको लागि, शरीर निर्वाहको लागि। हुन त कसैले परिवर्तन पनि गर्छन्, हिन्दुलाई क्रिश्चियन बनाउँछन्– के को लागि? अलिकति सुख पाउनको लागि। पैसा, नोकरी आदि सजिलै पाउनको लागि, आजीविकाको लागि। अब तिमी बच्चाहरूलाई थाहा छ– हामी सबैभन्दा पहिला त आत्म-अभिमानी बन्नुपर्छ। यो हो मुख्य कुरा किनकि यो हो रोगी दुनियाँ। यस्तो कोही मनुष्य छैन जो रोगी नै नहोस्। केही न केही त अवश्य हुन्छ। यो सारा दुनियाँ ठूलो भन्दा ठूलो अस्पताल हो, जसमा सबै मनुष्य पतित, रोगी छन्। आयु पनि धेरै कम हुन्छ। अचानक मृत्यु हुन्छ। कालको पन्जामा आउँछन्। यो पनि तिमी बच्चाहरूले नै जानेका छौ। तिमी बच्चाहरूले केवल भारतवर्षको होइन, गुप्त रूपले सारा विश्वको सेवा गर्छौ। मूल कुरा हो, बाबालाई कसैले चिनेका छैनन्। मनुष्य भएर पारलौकिक बाबालाई चिनेका छैनन्, उहाँसँग प्यार गर्दैनन्। अब बाबा भन्नुहुन्छ– मसँग प्यार गर। मसँग प्यार गर्दै-गर्दै तिमी मेरो साथमा नै फर्केर जानु छ। जबसम्म फर्केर जाँदैनौ तबसम्म यस फोहोरी दुनियाँमा रहनु पर्छ। सबैभन्दा पहिला त देह-अभिमानीबाट देही-अभिमानी बन तब तिमीले धारणा गर्न सक्छौ र बाबालाई याद गर्न सक्छौ। यदि देही-अभिमानी बन्दैनौ भने केही कामका छैनौ। देह-अभिमानी त सबै छन्। तिमीले सम्झन्छौ पनि, हामी आत्म-अभिमानी बन्दैनौं, बाबालाई याद गर्दैनौं भने हामी त्यही हुन्छौं जो पहिला थियौं। मूल कुरा हो देही-अभिमानी बन्ने, नकि रचनालाई जान्नु। गायन पनि छ– रचयिता र रचनाको ज्ञान। यस्तो होइन, पहिला रचना फेरि रचयिताको ज्ञान भनिन्छ। होइन, पहिला रचयिता, उहाँ बाबा नै हुनुहुन्छ। भनिन्छ पनि– हे परमपिता परमात्मा। उहाँ आएर तिमी बच्चाहरूलाई आफू समान बनाउनु हुन्छ। बाबा त सधैं आत्म-अभिमानी हुनुहुन्छ नै त्यसैले उहाँ सुप्रिम हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म त आत्म-अभिमानी हुँ। जसमा प्रवेश गरेको छु उनलाई पनि आत्म-अभिमानी बनाउँछु। यिनमा प्रवेश गर्छु यिनलाई परिवर्तन गर्न किनकि यी पनि देह-अभिमानी थिए, यिनलाई पनि भन्छु– आफूलाई आत्मा सम्झेर मलाई यथार्थ रूपले याद गर। यस्ता धेरै मनुष्य छन् जसले सम्झन्छन् आत्मा बेग्लै हो, जीव बेग्लै हो। आत्मा देहबाट निस्किन्छ त्यसैले दुई चीज भयो नि। बाबाले सम्झाउनु हुन्छ– तिमी आत्मा हौ। आत्माले नै पुनर्जन्म लिन्छ। आत्मा नै शरीर लिएर पार्ट खेल्छ। बाबाले बारम्बार सम्झाउनु हुन्छ– आफूलाई आत्मा सम्झ, यसमा धेरै मेहनत गर्नुपर्छ। जसरी विद्यार्थीहरू पढ्नको लागि एकान्तमा, बगैंचा आदिमा गएर पढ्छन्। पादरीहरू पनि घुम्न जाँदा एकदम शान्त रहन्छन्। उनीहरू कुनै आत्म-अभिमानी रहँदैनन्। क्राइष्टको यादमा रहन्छन्। घरमा रहेर पनि याद त गर्न सक्छन् तर विशेष एकान्तमा जान्छन् क्राइष्टलाई याद गर्न अरू कतैतिर पनि हेर्दैनन्। जो राम्रा-राम्रा हुन्छन्, सम्झन्छन्– हामी क्राइष्टलाई याद गर्दा-गर्दा उनको पासमा जान्छौं। क्राइष्ट स्वर्गमा बसेका छन्, हामी पनि स्वर्गमा जान्छौं। यो पनि सम्झन्छन्– क्राइष्ट हेभनली गड फादरको पासमा गए, हामी पनि याद गर्दा-गर्दा उहाँको पासमा पुग्छौं। सबै क्रिश्चियनहरू उहाँका बच्चाहरू भए। उनीहरूमा केही ज्ञान ठीक छ। तर तिमीले भन्छौ– यो उनको समझ पनि गलत छ किनकि क्राइष्टको आत्मा माथि गएको नै छैन। क्राइष्ट नाम त शरीरको हो, जसलाई फाँसीमा चढाए। आत्मा त फाँसीमा चढ्दैन। अब क्राइष्टको आत्मा परमपिता परमात्माको पासमा गयो, यो भनाइ पनि गलत हुन जान्छ। फर्केर कोही कसरी जान सक्छ? हरेकले स्थापना फेरि पालना अवश्य गर्नुपर्छ। घरको लिपपोत त गर्नुपर्छ, यो पनि पालना हो नि।

अब बेहदका बाबालाई तिमीले याद गर। यो ज्ञान बेहदका बाबा सिवाय अरू कसैले पनि दिन सक्दैन। आफ्नै कल्याण गर्नु छ। रोगीबाट निरोगी बन्नु छ। यो रोगीहरूको ठूलो अस्पताल हो। सारा विश्व रोगीहरूको अस्पताल हो। रोगीहरू अवश्य चाँडै मर्छन्, बाबा आएर यस सारा विश्वलाई निरोगी बनाउनु हुन्छ। यस्तो होइन, यहाँ नै निरोगी बन्छन्। बाबा भन्नुहुन्छ– निरोगी हुन्छन् नै नयाँ दुनियाँमा। पुरानो दुनियाँमा निरोगी हुन सक्दैनन्। यी लक्ष्मी-नारायण निरोगी, सदा स्वस्थ हुन्छन्। त्यहाँ आयु पनि लामो हुन्छ। विकारी रोगी हुन्छन्‚ निर्विकारी रोगी हुँदैनन्। उनीहरू हुन्छन् नै सम्पूर्ण निर्विकारी। बाबा स्वयं भन्नुहुन्छ– यस समयमा सारा विश्व, विशेषगरी भारत रोगी छ। तिमी बच्चाहरू सबैभन्दा पहिला निरोगी दुनियाँमा आउँछौ, निरोगी बन्छौ यादको यात्राबाट। यादबाट तिमी जान्छौ आफ्नो स्वीट होम। यो पनि एक यात्रा हो। आत्माको यात्रा हो, बाबा परमात्माको पासमा जाने। यो हो रूहानी यात्रा। यी शब्द कसैले बुझ्न सक्दैन। तिमीले पनि नम्बरवार जानेका छौ, तर भुल्छौ। मूल कुरा हो यो, बुझाउन पनि धेरै सहज छ। तर यो कुरा उसले सम्झाओस् जो स्वयं पनि रूहानी यात्रामा छ। स्वयं छैन, अरूलाई बताउँछ भने तीर लाग्दैन। सच्चाइको तागत चाहिन्छ। हामी बाबालाई यति याद गरौं! स्त्रीले पतिलाई कति याद गर्छन्। बाबा हुनुहुन्छ पतिहरूका पति, पिताहरूका पिता, गुरुहरूका गुरु। गुरुहरूले पनि उहाँ बाबालाई नै याद गर्छन्। क्राइष्टले पनि बाबालाई नै याद गर्थे। तर उहाँलाई कसैले पनि चिनेका छैनन्। बाबा जब आउनु हुन्छ तब नै आएर आफ्नो परिचय दिनुहुन्छ। हिन्दुहरूलाई नै बाबाको बारेमा थाहा छैन भने अरूलाई कहाँबाट थाहा हुन सक्छ। बेलायतबाट पनि यहाँ आउँछन्, योग सिक्नको लागि। सम्झन्छन्– प्राचीन योग भगवानले सिकाउनु भयो। यो हो भावना। बाबाले सम्झाउनु हुन्छ– सच्चा-सच्चा योग त मैले नै कल्प-कल्प आएर सिकाउँछु, एकै पटक। मुख्य कुरा हो आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, यसलाई नै रूहानी योग भनिन्छ। बाँकी सबै हुन् जिस्मानी योग, ब्रह्मसँग योग राख्छन्। त्यो पनि बाबा त होइन। त्यो त महतत्त्व हो, रहने स्थान। सत्य त एउटै बाबा हुनुहुन्छ। एक बाबालाई नै सत्य भनिन्छ। यो पनि हिन्दुहरूलाई थाहा छैन– बाबा नै सत्य कसरी हुनुहुन्छ? उहाँले नै सत्यखण्डको स्थापना गर्नुहुन्छ। सत्यखण्ड र झुटो खण्ड। तिमी जतिबेला सत्यखण्डमा रहन्छौ, त्यहाँ रावण राज्य नै हुँदैन। आधा कल्पपछि रावण राज्य झुटो खण्ड सुरु हुन्छ। सत्यखण्ड पूरा सत्ययुगलाई भनिन्छ। फेरि झुटो खण्ड पूरा कलियुगको अन्त्यसम्मलाई। अहिले तिमी संगममा बसेका छौ। न यहाँ छौ, न त्यहाँ छौ। तिमीले यात्रा गरिरहेका छौ। आत्माले यात्रा गरिरहेको छ, शरीरले होइन। बाबा आएर यात्रा गर्न सिकाउनु हुन्छ। यहाँबाट त्यहाँ जानु छ। तिमीलाई यो सिकाउनु हुन्छ। उनीहरू फेरि चन्द्रमा, तारा आदिमा जाने यात्रा गर्छन्। अहिले तिमीलाई थाहा छ– त्यसमा कुनै फाइदा छैन। यी चीजबाट नै सारा विनाश हुनु छ। बाँकी जति पनि यति मेहनत गर्छन्, त्यो सबै व्यर्थ। तिमीले जानेका छौ– यी सबै चीज, जुन विज्ञानबाट बन्छन्, ती सबै भविष्यमा तिम्रै काममा आउँछन्। ड्रामा यस्तो बनेको छ। बेहदका बाबा आएर पढाउनु हुन्छ त्यसैले कति सम्मान राख्नुपर्छ। टिचरको त यसै पनि धेरै सम्मान राख्छन्। टिचरले आज्ञा गर्छन्– राम्ररी पढेर पास होऊ। यदि आज्ञा पालन गर्दैनन् भने फेल हुन्छन्। बाबाले पनि भन्नुहुन्छ– तिमीलाई पढाउँछु, विश्वको मालिक बनाउन। यी लक्ष्मी-नारायण मालिक हुन्। हुन त प्रजा पनि मालिक हुन्, तर पद त धेरै हुन्छन् नि। यहाँ पनि सबैले भन्छन्– हामी मालिक हौं। गरिबले पनि आफूलाई मालिक सम्झन्छ। तर राजा र उनीहरूमा कति फरक छ। ज्ञान अनुसार पदको फरक हुन्छ। ज्ञानमा पनि होशियारी चाहिन्छ। पवित्रता पनि आवश्यक छ भने स्वास्थ्य-सम्पत्ति पनि हुनुपर्छ। स्वर्गमा सबै हुन्छ नि। बाबाले लक्ष्य-उद्देश्य सम्झाउनु हुन्छ। दुनियाँमा अरू कसैको बुद्धिमा यो लक्ष्य-उद्देश्य हुँदैन। तिमीले तुरुन्तै भन्छौ– हामी यो बन्छौं। सारा विश्वमा हाम्रो राजधानी हुन्छ। यहाँ त अहिले पञ्चायती राज्य छ। पहिला थिए डबल ताजधारी फेरि एक ताजधारी अहिले बिना ताजका। बाबाले मुरलीमा भन्नुभएको थियो– यो पनि चित्र होस्, डबल शिरताजधारीको अगाडि सिँगल ताजधारीले शिर झुकाउँछन्। अहिले बाबा भन्नुहुन्छ– म तिमीलाई राजाहरूका राजा डबल शिरताज बनाउँछु। ती हुन् अल्पकालको लागि, यो हो २१ जन्मको कुरा। पहिलो मुख्य कुरा हो पावन बन्ने। बोलाउँछन् पनि आएर पतितबाट पावन बनाउनुहोस्। यस्तो भन्दैनन् राजा बनाउनुहोस्। अहिले तिमी बच्चाहरूको हो बेहदको संन्यास। यस दुनियाँबाट नै जान्छौ आफ्नो घर। फेरि स्वर्गमा आउँछौ। भित्र खुसी हुनु पर्छ जबकि सम्झन्छौ– हामी घरमा जान्छौं फेरि राजाइमा आउँछौं त्यसैले आलस्य, दु:ख आदि यी सबै हुनु हुँदैन। हामी आत्मा घरमा जान्छौं फेरि नयाँ दुनियाँमा पुनर्जन्म लिन्छौं। बच्चाहरूलाई स्थायी खुसी किन हुँदैन? मायाको सामना धेरै गर्नु पर्ने हुन्छ त्यसैले खुसी कम हुन जान्छ। पतित-पावनले स्वयं भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो जन्म-जन्मान्तरको पाप भष्म हुन्छ। तिमी स्वदर्शन चक्रधारी बन्छौ। जानेका छौ– फेरि हामी आफ्नो राजस्थानमा जान्छौं। यहाँ भिन्न-भिन्न प्रकारका राजाहरू थिए, अब फेरि रूहानी राजस्थान बन्नु छ। स्वर्गको मालिक बन्छौ। क्रिश्चियनहरूले स्वर्गको अर्थ बुझ्दैनन्। उनीहरूले मुक्तिधामलाई स्वर्ग भन्छन्। यस्तो होइन, हेभनली गड फादर कुनै स्वर्गमा रहनुहुन्छ। उहाँ त रहनुहुन्छ नै शान्तिधाममा। अहिले तिमीले पुरुषार्थ गर्छौ, स्वर्गमा जानको लागि। यो फरक बताउनु छ। परमपिता परमात्मा हुनुहुन्छ मुक्तिधाममा रहनेवाला। हेभन नयाँ दुनियाँलाई भनिन्छ। त्यहाँ त क्रिश्चियन हुँदैनन्। फादरले नै आएर प्याराडाइज स्थापना गर्नुहुन्छ। तिमी जसलाई शान्तिधाम भन्छौ त्यसलाई उनीहरू हेभन सम्झन्छन्। यी सबै बुझ्ने कुरा हुन्।

बाबा भन्नुहुन्छ– ज्ञान त धेरै सजिलो छ। यो हो पवित्र बन्ने ज्ञान, मुक्ति-जीवनमुक्तिमा जाने ज्ञान, जुन बाबाले नै दिनु हुन्छ। जब कसैलाई फाँसी दिइन्छ भने भित्र यही रहन्छ– म भगवानको पासमा जाँदैछु। फाँसी दिनेले पनि भन्छन्– ईश्वरलाई याद गर। तर ईश्वरलाई दुवैले चिनेका छैनन्। उनलाई त त्यसबेला मित्र-सम्बन्धी याद आउँछ। गायन पनि छ– अन्तकाल जो स्त्री सिमरे.... कोही न कोहीको याद अवश्य हुन्छ। सत्ययुगमा नै मोहजित हुन्छन्। त्यहाँ जानेका हुन्छन् एक शरीर छोडेर अर्को लिन्छु। त्यहाँ याद गर्नु पर्ने आवश्यकता नै हुँदैन त्यसैले भन्छन्– दु:खमा सिमरण सब करे... यहाँ दु:ख छ त्यसैले याद गर्छन् भगवानबाट केही प्राप्त होस्। त्यहाँ त सबै कुरा प्राप्त नै हुन्छ। तिमीले भन्न सक्छौ– हाम्रो उद्देश्य हो मनुष्यलाई आस्तिक बनाउनु, भगवानको बनाउनु। अहिले सबै अनाथ छन्। हामी सनाथ बन्छौं। सुख, शान्ति, सम्पत्तिको वर्सा दिने बाबा नै हुनुहुन्छ। यी लक्ष्मी-नारायणको कति लामो आयु थियो। यो पनि जानेका छौ– पहिला सुरुमा आयु धेरै लामो थियो। अहिले छोटो छ। किन छोटो भयो? यो कसैले पनि जानेका छैनन्। तिम्रो लागि त धेरै सहज भएको छ बुझ्न र बुझाउन। त्यो पनि नम्बरवार छ। सम्झाउने कुरा त हरेकको आफ्नो– आफ्नो हुन्छ, जसले जस्तो धारणा गर्छ त्यस्तै सम्झाउँछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) जसरी बाबा सदा आत्म-अभिमानी हुनुहुन्छ, त्यस्तै आत्म-अभिमानी रहने पूरा-पूरा पुरुषार्थ गर्नुपर्छ। एक बाबालाई दिलदेखि प्यार गर्दै बाबाको साथमा घर जानु छ।

२) बेहदका बाबाको पूरा-पूरा सम्मान गर्नुपर्छ अर्थात् बाबाको आज्ञामा चल्नु छ। बाबाको पहिलो आज्ञा हो– प्यारा बच्चाहरू! राम्रोसँग पढेर पास होऊ। यस आज्ञालाई पालन गर्नु छ।

वरदान:–

सेन्स र इसेन्सको सन्तुलनद्वारा मेरोपनलाई स्वाहा गर्ने विश्व परिवर्तक भव

सेन्स अर्थात् ज्ञानका प्वाइन्टहरू, समझ र इसेन्स अर्थात् सर्व शक्ति स्वरूप स्मृति र समर्थ स्वरूप। यी दुवैको बीचमा सन्तुलन भयो भने आफ्नोपन वा पुरानोपन स्वाहा हुन्छ। हर सेकेन्ड, हर संकल्प, हर बोली र हर कर्म विश्व परिवर्तनको सेवा प्रति स्वाहा गर्नाले स्वत: विश्व परिवर्तक बन्छौ। जो आफ्नो देहको स्मृति सहित स्वाहा हुन्छन् उनको श्रेष्ठ भाइब्रेशनद्वारा सजिलै वायुमण्डलको परिवर्तन हुन्छ।

स्लोगन:–

प्राप्तिहरूलाई याद गर्यौ भने दु:ख र चिन्ताका कुरा बिर्सिन्छौ।