20-11-2020 ओम् शान्ति प्रातः मुरली "बापदादा” मधुबन


"मीठे बच्चे– तिमी अहिले बिल्कुलै किनारमा उभिएका छौ। तिमी अब वारीबाट पारी जानु छ, घर जाने तयारी गर्नु छ।”

प्रश्न:–

कुनचाहिँ एउटा कुरा याद गर्यौ भने अवस्था अचल-अडोल हुन्छ?

उत्तर:–

जे बित्यो, त्यो बित्यो। बितिसकेको कुराको चिन्तन गर्नु हुँदैन, अगाडि बढ्दै जानु पर्छ। सदा एकलाई नै हेरिरह्यौ भने अवस्था अचल अडोल हुन्छ। तिमीले अब कलियुगको हद छोडिसक्यौ, फेरि पछाडि फर्केर किन हेर्छौ? त्यसमा बुद्धि अलिकति पनि नजाओस्– यही हो सूक्ष्म पढाइ।

ओम् शान्ति। दिन बद्लिंदै जान्छ, समय बित्दै जान्छ। विचार गर– सत्ययुगदेखि लिएर समय बित्दै बित्दै अहिले आएर कलियुगको पनि किनारमा पुगेका छौ। यो सत्ययुग, त्रेता, द्वापर, कलियुगको चक्र पनि मोडेल जस्तै हो। सृष्टि त धेरै लम्बा-चौडा छ। त्यसको मोडेल रूपलाई बच्चाहरूले जानिसकेका छन्। पहिला यो थाहा थिएन– अब कलियुग पूरा हुन्छ। अहिले थाहा भएको छ, त्यसैले बच्चाहरूले पनि बुद्धिद्वारा सत्ययुगदेखि चक्कर लगाउँदै कलियुगको अन्त्य किनारमा आएर उभिनुपर्छ। बुझ्नुपर्छ– टिक टिक भइरहन्छ, ड्रामा घुमिरहन्छ। बाँकी कति समय छ? थोरै छ। पहिला थाहा थिएन। अहिले बाबाले सम्झाउनु भएको छ, एउटा छेउ बाँकी रहेको छ। यस दुनियाँबाट त्यस दुनियाँमा जान अब थोरै समय बाँकी छ। यो ज्ञान पनि अहिले मिलेको छ। हामी सत्ययुगदेखि चक्कर लगाउँदै लगाउँदै अब कलियुगको अन्त्यमा आइपुगेका छौं। अब फेरि फर्कनु छ। जाने र निस्कने द्वार हुन्छ नि। यो पनि यस्तै हो। बच्चाहरूले बुझाउनु पर्छ– थोरै किनार बाँकी छ। यो पुरुषोत्तम संगमयुग हो नि। अहिले हामी किनारमा छौं। समय अति थोरै छ। अब यस पुरानो दुनियाँबाट ममत्व निकाल्नु छ। अब त नयाँ दुनियाँमा जानु छ। ज्ञान त धेरै सहज मिल्छ। यो बुद्धिमा राख्नु छ। चक्र बुद्धिमा घुम्नुपर्छ। अहिले तिमी कलियुगमा छैनौ। तिमीले यो हदलाई छोडिसकेका छौ फेरि त्यसतर्फ याद किन गर्छौ? जबकि छोडिसकेका छौ पुरानो दुनियाँलाई। हामी पुरुषोत्तम संगमयुगमा छौं फेरि पछाडि हेर्ने पनि किन? बुद्धियोग विकारी दुनियाँसँग किन लगाउने? यी अति सूक्ष्म कुरा हुन्। बाबालाई थाहा छ– कसै कसैले त रूपैयामा एक आना पनि बुझ्दैनन्। सुन्छन् अनि बिर्सिन्छन्। तिमीले पछाडितिर हेर्नु छैन। बुद्धिले काम लिनु छ नि। हामी पारी जानु छ, फेरि पछाडि फर्केर हेर्ने नै किन? जे भयो, भइहाल्यो। बाबा भन्नुहुन्छ– कति महीन कुरा सम्झाउँछु। फेरि पनि बच्चाहरूको शिर पछाडितिरै किन मोडिन्छ? कलियुगतिरै लट्केको छ। बाबा भन्नुहुन्छ– शिर यतातिर फर्काऊ। त्यो पुरानो दुनियाँ तिम्रो कामको चीज होइन। बाबाले पुरानो दुनियाँबाट वैराग्य दिलाउनु हुन्छ। नयाँ दुनियाँ सामुन्ने खडा छ, पुरानो दुनियाँबाट वैराग्य। विचार गर–हाम्रो यस्तो अवस्था छ? बाबा भन्नुहुन्छ– जे बित्यो त्यो बित्यो। बितिसकेको कुरालाई चिन्तन नगर। पुरानो दुनियाँमा कुनै आशा नराख। अब त एउटै उच्च आशा राख्नु छ–हामी जानु छ सुखधाम। बुद्धिमा सुखधाम नै याद रहनु पर्छ। पछाडि किन फर्कनु छ? तर धेरैजसो पछाडितिरै फर्किहाल्छन्। तिमी अहिले पुरुषोत्तम संगमयुगमा छौ। पुरानो दुनियाँबाट छेउ लागिसकेका छौ। यो समझको कुरा हो नि। कहीं पनि रोकिनु हुँदैन। कहीं हेर्नु छैन। बितिसकेको कुरालाई याद गर्नु छैन। बाबा भन्नुहुन्छ– अगाडि बढ्दै जाऊ, पछाडि नहेर। एकातिर मात्रै हेरिराख तब नै अचल, स्थिर, अडोल अवस्था रहन सक्छ। त्यतातिर हेरिराख्यौ भने पुरानो दुनियाँका मित्र सम्बन्धीहरू आदि याद आइरहन्छन्। नम्बरवार त छन् नि। आज हेर्यो धेरै राम्रोसँग चलिरहेका छन्, भोलि गिर्यो भने दिल एकदम हट्छ। यस्तो दशाग्रह बस्छ, जसले गर्दा मुरली सुन्ने पनि दिल हुँदैन। विचार गर– यस्तो हुन्छ नि?

बाबा भन्नुहुन्छ– तिमी अहिले संगममा छौ त्यसैले तिम्रो सोच अगाडितिर हुनु पर्छ। अगाडि छ नयाँ दुनियाँ, तब नै खुसी हुन्छ। अब मार्ग अलिकति बाँकी छ। भन्छन् नि– अब त आफ्नो देशको रुख देखियो। बोलायो भने पनि सुन्छन्। किनार बिल्कुल सामुन्ने छ। तिमीले याद गर्छौ अनि देवताहरू आउँछन्। पहिला कहाँ आउँथे र? सूक्ष्मवतनमा देवताहरू कहाँ आउँथे र। अब त यहाँका र त्यहाँका दुवै गएर मिल्छन्। फेरि पनि बच्चाहरूले चल्दा चल्दै बिर्सिन्छन्। बुद्धियोग पछाडि जान्छ। बाबा भन्नुहुन्छ– तिमीहरू सबैको यो अन्तिम जन्म हो। तिमी अब पछाडि हट्नु छैन। अब पार हुनु छ। यताबाट उता जानु छ। मृत्यु पनि समीप आउँदै जान्छ। केवल कदम बढाउनु छ, नाउ किनारमा आइपुगेपछि त्यसतर्फ कदम चलाउनु पर्छ नि। तिमी बच्चाहरू किनारमा उभिनु छ। तिम्रो बुद्धिमा छ, आत्माहरू आफ्नो स्वीट होममा जान्छन्। यो यादमा रहनाले पनि खुसीले तिमीलाई अचल अडोल बनाइदिन्छ। यही विचार सागर मन्थन गर्दै रहनु छ। यो हो बुद्धिको कुरा। हामी आत्माहरू गइरहेका छौं। अब बाँकी किनार नजिकै छ। बाँकी थोरै समय छ। यसलाई नै यादको यात्रा भनिन्छ, यही बिर्सिन्छन्। चार्ट लेख्न पनि बिर्सिन्छन्। आफ्नो दिलमा हात राखेर हेर– बाबा जे भन्नु हुन्छ, आफूलाई यस्तै सम्झ– हामी नजिकै किनारमा उभिएका छौं, यस्तो अवस्था मेरो छ? बुद्धिमा एक बाबा नै याद रहोस्। बाबाले भिन्न भिन्न प्रकारले यादको यात्रा सिकाइरहनु हुन्छ। यसै यादको यात्रामा नै मस्त रहनु छ। अब हामीलाई जानु छ। यहाँ छ सबै झुटो सम्बन्ध। सच्चा त सत्ययुगको सम्बन्ध हो। आफैंलाई हेर– म कहाँ उभिएको छु? सत्ययुगदेखि लिएर बुद्धिमा यो चक्र याद गर। तिमी स्वदर्शन चक्रधारी हौ नि। सत्ययुगदेखि चक्कर लगाउँदै आएर किनारमा उभिएका छौ। किनार हो नि। कतिले त आफ्नो समय व्यर्थमा गुमाइरहेका छन्। ५-१० मिनेट पनि मुश्किलले यादमा रहन्छन्। स्वदर्शन चक्रधारी त सारा दिन बन्नु पर्छ। यस्तो त छैनन्। बाबा भिन्न भिन्न तरिकाले सम्झाउनु हुन्छ। आत्माको नै कुरा हो। तिम्रो बुद्धिमा चक्र घुमिरहन्छ। बुद्धिमा यो याद किन रहँदैन? अहिले हामी किनारमा उभिएका छौं। यो किनारा बुद्धिमा किन याद रहँदैन, जबकि जानेका छौ– हामी पुरुषोत्तम बनिरहेका छौं त्यसैले किनारमा उभिइराख। जुम्रा जस्तै चल्दै गर। किन यस्तो अभ्यास गर्दैनौ? किन चक्र बुद्धिमा आउँदैन? यो स्वदर्शन चक्र हो नि। बाबाले सुरुदेखि लिएर सारा चक्रको विषयमा सम्झाइरहनु हुन्छ। तिम्रो बुद्धि सारा चक्कर लगाएर, किनारमा आएर उभिनु पर्छ, अरू कुनै पनि बाहिरको वातावरणको झन्झट नरहोस्। दिन प्रतिदिन तिमी बच्चाहरू साइलेन्समा नै जानु छ। समयलाई व्यर्थमा गुमाउनु छैन। पुरानो दुनियाँलाई छोडेर नयाँ सम्बन्धसँग आफ्नो बुद्धिको योग लगाऊ। योग लगाउँदैनौ भने पाप कसरी नष्ट हुन्छ? तिमीलाई थाहा छ– यो पुरानो दुनियाँ नै समाप्त हुनु छ, यसको मोडेल कति सानो छ? ५ हजार वर्षको दुनियाँ छ। अजमेरमा स्वर्गको मोडेल छ तर कसैलाई स्वर्गको याद आउँछ र? उनीहरूले के जानून् स्वर्गलाई? सम्झन्छन्– स्वर्ग त ४० हजार वर्षपछि आउँछ। बाबा तिमी बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ– यस दुनियाँमा कामकाज गर्दै बुद्धिमा यो याद राख, यो दुनियाँ त समाप्त हुनेवाला छ। अब जानु छ, हामी अन्त्यमा छौं। कदम बिस्तारै जुम्रा जस्तै चल्छ। लक्ष्य कति ठूलो छ। बाबाले त लक्ष्यलाई जान्नु हुन्छ नि। बाबासँगै दादा पनि सँगै हुनुहुन्छ। उनीहरूले सम्झाउन सक्छन् भने के यिनले सम्झाउन सक्दैनन्? यिनले पनि त सुन्छन् नि। के यिनले यस प्रकार विचार सागर मन्थन गर्दैनन् होला त? बाबाले तिमीलाई विचार सागर मन्थन गर्ने प्वाइन्टहरू सुनाइरहनु हुन्छ। यस्तो होइन, यी बाबा धेरै पछि छन्। अरे, यी त मेरो पुच्छर जस्तै मेरो साथमा छन् फेरि पछि कसरी हुन सक्छन्? यी सबै गहन कुरालाई धारण गर्नु छ। लापर्बाही छोडि दिनु छ। बाबासँग मिल्न २, २ वर्षपछि आउँछन्। उनलाई के यो याद रहन्छ होला, हामी नजिकै किनारमा उभिएका छौं। अब जानु छ। यस्तो अवस्था भयो भने बाँकी के चाहियो? बाबाले यो पनि सम्झाउनु भएको छ– डबल सिरताज.... यो केवल नाम हो, बाँकी लाइटको ताज त्यहाँ कुनै रहँदैन। यो त पवित्रताको निशानी हो। जति पनि धर्म स्थापक छन्, उनीहरूको चित्रमा लाइट अवश्य देखाइन्छ किनकि उनीहरू पवित्र, सतोप्रधान हुन्छन् फेरि रजो तमोमा आउँछन्। तिमी बच्चाहरूलाई ज्ञान मिल्छ, त्यसैमा मस्त रहनु पर्छ। हुन त तिमी यस दुनियाँमा छौ तर बुद्धिको योग त्यहाँ लागिरहोस्। यिनीहरूसँग पनि तोड त निभाउनु पर्छ, जो यस कुलका हुन्छन् उनीहरू निस्केर आउँछन्। कलमी लाग्नु छ। आदि सनातन देवी-देवता धर्मका जो हुन्छन् उनीहरू अवश्य ढिलो-चाँडो आउँछन्। पछि आउनेहरू पनि अघि आउनेहरू भन्दा अगाडि जान सक्छन्। यो पछिसम्म पनि भइरहन्छ। उनीहरूले पुरानाले भन्दा पनि अगाडि कदम बढाउँछन्। सारा परीक्षा हो यादको यात्राको। ढिलै आएको भए पनि यादको यात्रामा लागिरहुन् र सबै धन्दा आदि छोडेर यो यात्रामा लागून्। भोजन त खानु नै छ। राम्रोसँग यादमा रह्यौ भने यो खुसी जस्तो खुराक छैन। यही धुन लागिरहोस्– अब हामी जाँदैछौं। २१ जन्मको राज्य भाग्य मिल्छ। चिठ्ठा मिल्नेलाई खुसीको पारा चढ्छ नि। तिमीले धेरै मेहनत गर्नु छ। यसलाई नै अन्तिम अमूल्य जीवन भनिन्छ। यादको यात्रामा धेरै मज्जा छ। हनुमान पनि पुरुषार्थ गर्दा गर्दै अचेल बनेका हुन् नि। भंभोरमा आगो लाग्यो, रावणको राज्य जल्यो। यो एउटा कहानी बनाइ दिएका छन्। बाबाले यथार्थ कुरा बसेर सम्झाउनु हुन्छ। रावण राज्य समाप्त हुन्छ। स्थिर बुद्धि यसैलाई भनिन्छ– अब किनारमा छौं, हामी जाँदैछौं। यही यादमा रहने पुरुषार्थ गर तब खुसीको पारा चढ्छ, आयु पनि योगबलले बढ्छ। तिमी अहिले दैवी गुण धारण गर्छौ फेरि त्यो आधा कल्प चल्छ। यस एक जन्ममा तिमीले यति पुरुषार्थ गर्छौ, जसले गर्दा तिमी गएर यी लक्ष्मी-नारायण बन्छौ। त्यसैले कति पुरुषार्थ गर्नु पर्छ। यसमा लापर्बाही वा समयलाई व्यर्थमा गुमाउनु हुँदैन। जसले गर्छ, उसले पाउँछ। बाबा शिक्षा दिइरहनु हुन्छ। तिमीले सम्झन्छौ– कल्प कल्प हामी विश्वको मालिक बन्छौं, यति थोरै समयमा कमाल गरिदिनुहुन्छ। सारा दुनियाँलाई परिवर्तन गरिदिनुहुन्छ। बाबाको लागि कुनै ठूलो कुरा होइन। कल्प कल्प गर्नुहुन्छ। बाबा सम्झाउनु हुन्छ– हिंड्दा डुल्दा, खाँदा पिउँदा आफ्नो बुद्धियोग बाबासँग लगाऊ। यो गुप्त कुरा बाबाले नै बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ। आफ्नो अवस्थालाई राम्रोसँग जमाऊ। नत्र उच्च पद पाउने छैनौ। तिमी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार मेहनत गर्छौ। सम्झन्छौ– अहिले त हामी किनारमा उभिएका छौं। त्यसैले पछाडि हामीले किन हेर्ने? अगाडि कदम बढाउनु छ। यसमा धेरै अन्तर्मुखता हुनुपर्छ, त्यसैले कछुवाको पनि उदाहरण छ। यी उदाहरण आदि सबै तिम्रै लागि हुन्। संन्यासी त हुन् नै हठयोगी, उनीहरूले त राजयोग सिकाउन सक्दैनन्। उनीहरूले सुने भने सम्झन्छन्– यिनीहरूले हामीलाई अपमान गर्दैछन्। त्यसैले यो पनि युक्तिपूर्वक लेख्नु छ। बाबा सिवाय कसैले राजयोग सिकाउन सक्दैन। अप्रत्यक्ष रूपले भनिन्छ ताकि ख्याल नहोस्। युक्तिपूर्वक चल्नु पर्छ नि। सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस्। कुटुम्ब परिवार आदि सबैसँग प्रीति राख तर बुद्धिको योग बाबासँग लगाउनु छ। तिमीलाई थाहा छ– हामी अहिले एकको मतमा छौं। यो हो देवता बन्ने मत, यसलाई नै अद्वैत मत भनिन्छ। तिमी बच्चाहरू देवता बन्नु छ। कतिपल्ट बनेका छौ? अनेकौ पल्ट। अहिले तिमी संगमयुगमा छौ। यो अन्तिम जन्म हो। अब त जानु छ। पछि फर्केर के हेर्नु छ? देखेर पनि तिमी आफ्नो अडोलतामा उभिइराख। लक्ष्यलाई बिर्सिनु हुँदैन। तिमी नै महावीर हौ, मायामाथि विजय प्राप्त गर्छौ। अहिले तिमीले जानेका छौ– हार र जितको यो चक्र घुमिरहन्छ। कति अनौठो ज्ञान छ बाबाको। के यो कुरा थाहा थियो र आफूलाई बिन्दु सम्झनु छ, यति सानो बिन्दुमा सारा पार्ट भरिएको छ, जुन चक्र घुमिरहन्छ। धेरै अद्भुत छ। अद्भुत भनेर छोड्नै पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) पछाडि फर्केर हेर्नु छैन। कुनै पनि कुरामा रोकिएर बस्नु हुँदैन। एक बाबातर्फ हेर्दै आफ्नो अवस्था एकरस राख्नु छ।

२) बुद्धिमा याद राख्नु छ, अहिले हामी किनारमा उभिएका छौं। घर जानु छ, लापर्बाही छोडिदिनु छ। आफ्नो अवस्था जमाउने गुप्त मेहनत गर्नु छ।

वरदान:–

बिहंग मार्गको सेवाद्वारा विश्व परिवर्तनको कार्यलाई सम्पन्न गर्ने सच्चा सेवाधारी भव

बिहंग मार्गको सेवा गर्नको लागि संगठित रूपमा "रूप र वसन्त” यी दुवै कुराको सन्तुलन चाहिन्छ। जसरी वसन्त रूपद्वारा एक समयमा अनेक आत्माहरूलाई सन्देश दिने कार्य गर्छौ त्यसैगरी रूप अर्थात् याद बलद्वारा, श्रेष्ठ संकल्पको बलद्वारा बिहंग मार्गको सेवा गर। यसको पनि खोजी गर। साथ साथै संगठित रूपमा दृढ संकल्पद्वारा पुरानो संस्कार, स्वभाव र पुरानो चालचलनको तिल वा जौ यज्ञमा स्वाहा गर तब विश्व परिवर्तनको कार्य सम्पन्न हुन्छ अथवा यज्ञको समाप्ति हुन्छ।

स्लोगन:–

बालक र मालिकपनको सन्तुलनद्वारा प्लानलाई प्राक्टिकलमा ल्याऊ।