22.01.23 Avyakt Bapdada Nepali Murli 25.11.93 Om Shanti Madhuban
सहज सिद्धि प्राप्त
गर्नको लागि ज्ञान स्वरूप प्रयोगी आत्मा ब न
आज बापदादाले
ज्ञानदाता वरदाता आफ्ना ज्ञानी आत्मा, योगी आत्मा बच्चाहरूलाई देखिरहनु भएको छ।
हरेक बच्चा ज्ञान स्वरूप र योगयुक्त कहाँसम्म बनेका छन्? ज्ञान सुन्ने र सुनाउने
निमित्त बनेका छन् वा ज्ञान स्वरूप बनेका छन्? समय अनुसार योग लगाउनेवाला बनेका छन्
वा सदा योगी जीवन अर्थात् हर कर्ममा योगयुक्त, युक्तियुक्त, स्वत: वा सदाको योगी
बनेका छन्? यदि कुनै पनि ब्राह्मण आत्मासँग कसैले सोधे– ज्ञानी र योगी हौ? के
भन्नेछौ? सबै ज्ञानी र योगी हौ नि? ज्ञानस्वरूप बन्नु अर्थात् हर सङ्कल्प, बोली र
कर्म समर्थ हुन्छ। व्यर्थ समाप्त हुन्छ किनकि जहाँ समर्थ छ, त्यहाँ व्यर्थ हुन
सक्दैन। जस्तै प्रकाश र अन्धकार साथसाथै हुँदैन। त्यस्तै ‘ज्ञान’ प्रकाश हो,
‘व्यर्थ’ अन्धकार हो। वर्तमान समयमा व्यर्थलाई समाप्त गर्ने अटेन्शन राख्नु छ।
सबैभन्दा मुख्य कुरा सङ्कल्प रूपी बीजलाई समर्थ बनाउनु हो। यदि सङ्कल्प रूपी बीज
समर्थ छ भने वाणी, कर्म, सम्बन्ध सहजै समर्थ भइ नै हाल्छ। ज्ञानस्वरूप अर्थात् हर
समय, हर सङ्कल्प, हर सेकेन्ड समर्थ।
तिमीहरू सबै योगी
आत्मा बनेका छौ तर हर सङ्कल्प स्वत: योगयुक्त, युक्तियुक्त रहनमा नम्बरवार छौ। किन
नम्बर बन्यो? जब विधाता पनि एक हुनुहुन्छ, विधि पनि एक छ भने नम्बर किन? बापदादाले
देख्नुभयो– योगी त बनेका छौ तर प्रयोगी कम बन्छौ। योग गर्न र गराउन दुवैमा सबै
होसियार छौ। यस्ता कोही छौ जसले भन्छौ– योग गराउन आउँदैन? जसरी योग गर्न-गराउन
योग्य छौ, त्यसैगरी प्रयोग गर्नमा योग्य बन्नु र बनाउनु छ, यसलाई भनिन्छ– योगी जीवन
अर्थात् योगयुक्त जीवन। अब प्रयोगी जीवनको आवश्यकता छ। योगको परिभाषा जानेका छौ,
वर्णन पनि गर्छौ, ती सबै विशेषताहरू प्रयोगमा आउँछन्? सबैभन्दा पहिला आफैंले यो चेक
गर– आफ्नो संस्कार परिवर्तनमा कहाँसम्म प्रयोगी बनेको छु? किनकि तिमीहरू सबैको
श्रेष्ठ संस्कार नै श्रेष्ठ संसारको रचनाको आधार हो। यदि जग मजबुत छ भने अन्य सबै
कुरा स्वत: मजबुत भइ नै हाल्छ। त्यसैले यो हेर– संस्कारले समयमा कहीँ धोका त दिदैन?
श्रेष्ठ संस्कारलाई परिवर्तन गर्ने जस्तोसुकै व्यक्ति होस्, वस्तु होस्, परिस्थिति
होस् तर योगको प्रयोग गर्ने आत्मालाई श्रेष्ठताबाट साधारणतामा हल्लाउन सक्दैन। यस्तो
होइन– कुरा नै यस्तो थियो, व्यक्ति नै यस्तो थियो, वायुमण्डल यस्तो थियो त्यसैले
श्रेष्ठ संस्कारलाई परिवर्तन गरेर साधारण वा व्यर्थ बनाइदियो, के यसलाई प्रयोगी
आत्मा भनिन्छ? यदि समयमा योगको शक्तिको प्रयोग भएन भने यसलाई के भन्ने? त्यसैले
पहिला यस फाउण्डेशनलाई हेर– कहाँसम्म समयमा प्रयोगी बनेको छु? यदि स्वको संस्कार
परिवर्तक बनेका छैनौ भने नयाँ संसार परिवर्तक कसरी बन्छौ?
प्रयोगी आत्माको पहिलो
निशानी हो– संस्कारमाथिको प्रयोगमा सदा विजयी। दोस्रो निशानी– प्रकृतिद्वारा आउने
परिस्थितिहरूमा योगको प्रयोगद्वारा विजयी। समय प्रति समय प्रकृतिको हलचलले पनि योगी
आत्मालाई आफूतिर आकर्षित गर्छ। यस्तो समयमा योगको विधि प्रयोगमा आउँछ? कहिलेकाहीँ
योगी पुरुषलाई वा पुरुषोत्तम आत्मालाई प्रकृतिले प्रभावित त गर्दैन? किनकि ब्राह्मण
आत्माहरू पुरुषोत्तम आत्मा हौ। प्रकृति पुरुषोत्तम आत्माको दासी हो। मालिक, दासीको
प्रभावमा आउँछ भने यसलाई के भन्ने? आजकाल पुरुषोत्तम आत्माहरूलाई प्रकृतिले साधन र
सेलभेशनको रूपमा प्रभावित गर्छ। साधन वा सेलभेशनको आधारमा योगी जीवन हुन्छ। साधन वा
सेलभेशन कम भयो भने योगयुक्त पनि कम हुन्छ– यसलाई भनिन्छ प्रभावित हुनु। योगी वा
प्रयोगी आत्माको साधनाको अगाडि साधन स्वत: नै स्वयं आउँछन्। साधन साधनाको आधार नहोस्
तर साधनाले साधनहरूलाई स्वत: आधार बनाउनेछ, यसलाई भनिन्छ– प्रयोगी आत्मा। अब चेक गर–
संस्कार परिवर्तन विजयी र प्रकृतिको प्रभावको विजयी कहाँसम्म बनेका छौ? तेस्रो
निशानी हो– विकारमाथि विजयी। योगी वा प्रयोगी आत्माको अगाडि यी पाँच विकार, जुन
अरूको लागि विषालु साँप हुन् तर तिमी योगी-प्रयोगी आत्माहरूको लागि यी साँप गलाको
माला बन्छन्। तिमी ब्राह्मणहरूको र ब्रह्माबाबाको अशरीरी तपस्वी शङ्कर स्वरूपको
यादगार अहिले पनि भक्तहरूले पुज्छन् र गायन गरिरहन्छन्। अर्को यादगार– यी साँप
तिम्रो अधीन यस्तो बन्छन्, जुन तिम्रो खुशीमा नाच्ने स्टेज बन्छ। जब विजयी बन्छन्,
तब के अनुभव गर्छन्? के स्थिति हुन्छ? खुशीमा नाचिरहन्छन् नि। यो स्थिति स्टेजको
रूपमा देखाइएको हो। स्थितिलाई पनि स्टेज भनिन्छ। यसरी विकारमाथि विजय होस्– यसलाई
भनिन्छ प्रयोगी। अब यो चेक गर– कहाँसम्म प्रयोगी बनेको छु? यदि योगको प्रयोग समयमा
हुँदैन, योगको विधिले समयमा सिद्धि हुँदैन भने यथार्थ विधि भनिन्छ? समयले आफ्नो
तीव्र गति समय प्रति समय देखाइरहेको छ। अनेकता, अधर्म, तमोप्रधानता हर क्षेत्रमा
तीव्र गतिले बढ्दै गइरहेको छ। यस्तो समयमा तिम्रो योगको विधिको वृद्धि वा विधिको
सिद्धिमा वृद्धि तीव्र गतिले हुन आवश्यक छ। नम्बर अगाडि लिने आधार हो प्रयोगी बन्ने
सहज विधि। बापदादाले के देख्नुभयो? समयमा प्रयोग गर्नमा तीव्र गतिको के सट्टा
साधारण गति छ। अब यसलाई बढाऊ। त्यसपछि के होला? प्रयोगको विधिको अनुभवले सिद्धि
स्वरूप अनुभव गर्दै जानेछौ। तिम्रा जड चित्रहरूद्वारा सिद्धि प्राप्त गर्ने अनुभव
गरिरहन्छन्। चैतन्यमा सिद्धि स्वरूप बनेका छौ त्यसैले यो यादगार चल्दै आइरहेको छ।
रिद्धि-सिद्धिवाला होइन, विधिबाट सिद्धि। बुझ्यौ के गर्नु छ? छ सबैथोक तर समयमा
प्रयोग गर्नु र प्रयोग सफल हुनु, यसलाई भनिन्छ– ज्ञान स्वरूप आत्मा। यस्ता ज्ञान
स्वरूप आत्माहरू अति समीप र अति प्रिय छन्। अच्छा!
सदा योगको विधिद्वारा
श्रेष्ठ सिद्धिको अनुभव गर्ने, सदा साधारण संस्कारलाई श्रेष्ठ संस्कारमा परिवर्तन
गर्ने संस्कार परिवर्तक आत्माहरूलाई, सदा प्रकृतिजित, विकारमाथि विजय प्राप्त गर्ने
विजयी आत्माहरूलाई, सदा प्रयोगको गतिलाई तीव्र अनुभव गर्ने ज्ञान स्वरूप, योगयुक्त
योगी आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
(२४ नोभेम्बरमा दुई
कुमारीहरूको समर्पण समारोहपछि राति १० बजे अलराउन्डर दादीजीले आफ्नो पुरानो चोला
छोडेर बापदादाको गोदीमा जानुभयो, २५ तारीख दिउँसो उहाँको अन्तिम संस्कार गरियो,
साँझ मुरली पश्चात् दादीजीहरूसँग कुराकानी गर्दा बापदादाले जुन महावाक्य उच्चारण
गर्नुभयो, त्यो यसप्रकार छ)
खेलमा भिन्न-भिन्न
खेल देखिरहन्छौ। साक्षी भएर खेल हेर्दा मज्जा आउँछ नि। चाहे कुनै उत्सव होस्, चाहे
कसैले शरीर छोडोस्, दुवैमा के लाग्छ? खेलमा खेल लाग्छ। यस्तै लाग्छ हैन? जसरी खेल
सुरु हुन्छ र समयमा समाप्त पनि हुन्छ। त्यसैगरी जे भयो सहज समाप्त भयो त्यसैले खेल
नै लाग्छ। हर आत्माको आ-आफ्नो पार्ट हुन्छ। सर्व आत्माहरूको शुभ भावना, अनेक
आत्माहरूको शुभ भावना प्राप्त हुनु– यो पनि हर आत्माको भाग्यको सिद्धि हो। त्यसैले
जे पनि भयो, के देख्यौ? खेल देख्यौ वा मृत्यु देख्यौ? एकातिर त्यहीँ अलौकिक स्वयंवर
देख्यौ र अर्कातिर चोला फेर्ने खेल देख्यौ। तर दुवै के लाग्यो? खेलमा खेल। फरक पर्छ
र? स्थितिमा फरक पर्छ? अलौकिक स्वयंवर हेर्दा र चोला फेरेको हेर्दा फरक पर्यो? थोरै
लहर परिवर्तन भयो कि भएन? साक्षी भएर खेल हेरेमा त्यो आफ्नो विधिको र यो आफ्नो
विधिको। सहज नष्टोमोहा हुनु, यो बहुतकालको योगको विधिको सिद्धि हो। त्यसैले
नष्टोमोहा, सहज मृत्युको खेल देख्यौ। यस खेलको के रहस्य देख्यौ? देहको स्मृतिदेखि
पनि उपराम। चाहे व्याधिद्वारा, चाहे विधिद्वारा र कुनै पनि आकर्षणले अन्त्य समयमा
आकर्षित नगरोस्। यसलाई भनिन्छ– सहज चोला फेर्नु। त्यसोभए के गर्नु छ? नष्टोमोहा,
सेन्टर पनि याद नआओस्। (टिचरहरूलाई हेर्दै) यस्तो होइन कुनै जिज्ञासु याद आओस्, कुनै
सेन्टरको वस्तु याद आओस्, केही किनारा गरेको कुरा याद आओस्...। सबैबाट न्यारा र
बाबाको प्यारा। पहिलादेखि नै किनारा छुटेको होस्। कुनै किनारालाई सहारा बनाउनु छैन।
लक्ष्य सिवाय अरू कुनै लगाव नहोस्। अच्छा!
निर्मलशान्ता दादी
जीसँग कुराकानी :–
सङ्गठन राम्रो लाग्छ? तिमी सङ्गठनको विशेष शोभा हौ। सबैको नजर कति प्यारसँग तिमीहरू
सबैतिर जान्छ! जबसम्म जति सेवा छ, त्यति सेवा शरीरद्वारा हुनु नै छ। जसरी पनि शरीर
चलि नै रहन्छ। शरीरलाई चलाउने ढङ्ग आयो नि। राम्रो चलिरहेको छ किनकि बाबाको र सबैको
आशीर्वाद छ। खुशी रहनु छ र खुशी बाँड्नु छ, बाँकी अरू के काम छ। सबैले तिमीहरूलाई
हेरी-हेरी कति खुशी हुन्छन्, त्यसैले खुशी बाँडिरहेका छौ नि। खाइ पनि रहेका छौ,
बाँडि पनि रहेका छौ। तिमीहरू सबै एक-एक दर्शनीयमूर्त हो। सबैको नजर निमित्त
आत्माहरूतिर जान्छ त्यसैले दर्शनीयमूर्त भयौ नि। अच्छा!
अव्यक्त बापदादाको
व्यक्तिगत भेटघाट:–
१) ब्राह्मण जीवनको
आधार– याद र सेवा:–
ड्रामा अनुसार
ब्राह्मण जीवनमा सबैलाई सेवाको चान्स मिलेको छ नि किनकि ब्राह्मण जीवनको आधार नै हो
याद र सेवा। यदि याद र सेवा कमजोर छ भने जसरी शरीरको आधार कमजोर भएमा शरीर दवाइको
धक्काले चल्छ नि। त्यसैगरी ब्राह्मण जीवनमा यदि याद र सेवाको आधार मजबुत छैन, कमजोर
छ भने त्यो ब्राह्मण जीवन पनि कहिले छिटो चल्छ, कहिले ढीलो चल्छ, धक्काले चल्छ। कुनै
सहयोग मिलेमा, कोही साथी मिलेमा, कुनै परिस्थिति मिलेमा चल्छ, नत्र ढीलो हुन्छ
त्यसैले याद र सेवाको विशेष आधार सदा शक्तिशाली हुनुपर्छ। दुवै नै शक्तिशाली होस्।
सेवा धेरै छ, याद कमजोर छ वा याद धेरै राम्रो छ, सेवा कमजोर छ भने पनि तीव्रगति हुन
सक्दैन। याद र सेवा दुवैमा तीव्रगति हुनुपर्छ। शक्तिशाली हुनुपर्छ। त्यसोभए दुवै नै
शक्तिशाली छ वा फरक पर्छ? कहिले सेवा ज्यादा हुन्छ, कहिले याद ज्यादा हुन्छ? दुवै
साथ-साथै होस्। याद र नि:स्वार्थ सेवा। स्वार्थको सेवा होइन, नि:स्वार्थ सेवा छ भने
मायाजित बन्न धेरै सहज छ। हर कर्ममा, कर्मको समाप्तिभन्दा पहिला सदा विजय देखिन्छ,
यति अटल निश्चयको अनुभव हुन्छ– विजय त पहिल्यै निश्चित छ। यदि ब्राह्मण आत्माहरूको
विजय नभए कसको हुन्छ? क्षत्रीहरूको हुन्छ? ब्राह्मणहरूको विजय हुन्छ नि। प्रश्न
चिन्ह हुँदैन। गरि त रहेका छौं, चलि त रहेका छौं, हेरौंला, होला, हुन त पर्ने हो...
‘त’ यो शब्द आउँदैन। थाहा छैन के होला, हुन्छ वा हुँदैन... यो निश्चयको बोली हो?
निश्चयबुद्धि विजयी, यो गायन छ हैन? जब यथार्थमा भएको थियो, तब त गायन छ।
निश्चयबुद्धिको निशानी हो विजय निश्चित। जस्तै कुनै पनि प्रकारको कसैको शक्ति छ,
चाहे धनको होस्, बुद्धिको होस्, सम्बन्ध-सम्पर्कको होस्, उसलाई निश्चय हुन्छ यो कुन
ठूलो कुरा हो, यो त केही हुँदै होइन। तिमीसँग त सबै शक्ति छन्। धनको शक्ति छ वा धनको
शक्ति करोडपतिहरूसँग छ? सबैभन्दा ठूलो धन हो अविनाशी धन, जो सदा साथ छ। त्यसैले धनको
शक्ति पनि छ, बुद्धिको शक्ति पनि छ, पोजिसनको शक्ति पनि छ। जति पनि शक्तिहरू भनिन्छ
ती सबै शक्तिहरू तिमीमा छन्। छन् वा कहिले प्राय: लोप हुन्छन्? यिनलाई इमर्ज रूपमा
अनुभव गर। यस्तो होइन, हुन त सर्वशक्तिमानको बच्चा हुँ तर अनुभव हुँदैन। सबै भरपुर
छौ वा थोरै-थोरै खाली छौ? समयमा विधिद्वारा सिद्धि प्राप्त होस्। यस्तो होइन, समयमा
हुँदैन तर धेरै शक्ति छ भन्ने त्यसै नशा हुन्छ । कहिल्यै आफ्नो शक्तिलाई नभुल,
प्रयोग गर्दै जाऊ। यदि स्वप्रति कार्यमा लगाउन आउँछ भने अरूको कार्यमा पनि लगाउन
सक्छौ। पाण्डवहरूमा शक्ति आयो वा कहिलेकाहीँ क्रोध आउँछ? थोरै-थोरै क्रोध आउँछ?
कसैले रिस उठाएमा रिस उठ्छ, कसैले इन्सल्ट गरेमा रिस उठ्छ? यो त यस्तो भयो जस्तै
दुस्मन आउँदा हार हुन्छ। माताहरूलाई थोरै-थोरै मोह आउँछ? पाण्डवहरूलाई आफ्नो हर
कल्पको विजयपनको सदा खुशी इमर्ज हुनुपर्छ। जहिले पनि कुनै पाण्डवहरूलाई याद गर्दा
पाण्डव शब्दबाट विजय सामुन्ने आउँछ नि। पाण्डव अर्थात् विजयी। पाण्डवहरूको कथाको
रहस्य नै के हो? विजय हो नि। हर कल्पको विजयी। इमर्ज रूपमा नशा रहोस्। मर्ज होइन।
अच्छा!
२) सर्वद्वारा मान
प्राप्त गर्नको लागि निर्मान ब न :–
सबैले आफूलाई सदा
करोडौंमा कोही र कोहीमा पनि कोही श्रेष्ठ आत्मा अनुभव गर्छौ? कि करोडौंमा कोही जो
गायन गरिएको छ, त्यो अरू कोही हो? वा तिमी नै हो? त्यसैले कति एक-एक आत्माको
महत्त्व छ अर्थात् हर आत्मा महान् हौ। जो जति महान् हुन्छ, महानताको निशानी जति
महान् त्यति निर्मान किनकि सदा भरपुर आत्मा हौ। जस्तै वृक्षको लागि भन्छन् नि जति
फलेको छ, त्यति झुकेको हुन्छ र निर्मानताले नै सेवा गर्छ। जस्तै वृक्ष झुक्नाले सेवा
गर्छ, यदि झुकेन भने सेवा गर्दैन। एकातिर महानता छ र अर्कातिर निर्मानता छ। जो
निर्मान हुन्छ, उसले सर्वद्वारा मान पाउँछ। स्वयं निर्मान बन्यौ भने अरूले मान
दिन्छन्। जो अभिमानमा रहन्छ, उसलाई कसैले मान दिदैन। ऊदेखि टाढा भाग्छन्। त्यसैले
महान् र निर्मान छु वा छैन त्यसको निशानी हो– निर्मानले सबैलाई सुख दिन्छ। जहाँ पनि
जान्छ, जे पनि गर्छ, ऊ सुखदायी हुन्छ। यसबाट चेक गर– कति महान् छु? जो पनि
सम्बन्ध-सम्पर्कमा आउँदा सुखको अनुभूति गरुन्। यस्तो छ वा कहिले दु:ख पनि मिल्छ?
निर्मानता कम छ भने सुख पनि सदा दिन सक्दैनौ। त्यसोभए सदा सुख दिन्छौ, सुख लिन्छौ
वा कहिले दु:ख दिन्छौ, दु:ख लिन्छौ? ठीकै छ, दिदैनौ तर लिन त लिन्छौ? थोरै फिल
हुन्छ भने लियौ नि। यदि कसैको कुनै पनि कुरा फिल हुन्छ भने त्यसलाई भनिन्छ दु:ख लिनु।
तर कसैले दिन्छ तर तिमीले नलेऊ, यो त तिमी माथि छ नि। जोसँग छ नै दु:ख, उसले के
दिन्छ? दु:ख नै दिन्छ नि। तर आफ्नो काम हो सुख लिनु र सुख दिनु। यस्तो होइन कसैले
दु:ख दिइरहेको छ, भन्नेछौ मैले के गरुँ? मैले दिएको होइन तर उसले दियो। आफूलाई चेक
गर्नु छ– के लिनु छ, के लिनु छैन। लिनमा पनि होसियारी चाहिन्छ नि। त्यसैले ब्राह्मण
आत्माहरूको गायन छ– सुखको सागरका बच्चाहरू सुख स्वरूप सुखदेवा हुन्। सुख स्वरूप
सुखदेवा आत्माहरू हौ। दु:खको दुनियाँ छोडिदियौ, किनारा गर्यौ वा अहिलेसम्म एक पाउ
दु:खधाममा छ, एक पाउ संगममा छ? यस्तो त हुँदैन– थोरै-थोरै त्यहाँ बुद्धि अड्किएको
छ? पाउ छैन तर थोरै औंला अड्केको छ? जब दु:खधामलाई छोडिदियौ भने न दु:ख लिनु छ, न
दु:ख दिनु छ। अच्छा!
वरदान:–
उड्ती
कलाद्वारा बाबा समान अलराउण्ड पार्ट बजाउने चक्रवर्ती भव
जसरी बाबा अलराउण्ड
पार्टधारी हुनुहुन्छ,साथी पनि बन्न सक्नुहुन्छ भने पिता पनि बन्न सक्नु हुन्छ।
त्यसरी नै उड्तीकला हुनेहरू जुन समयमा जे सेवाको आवश्यकता छ त्यसमा सम्पन्न पार्ट
खेल्न सक्छन्। यसलाई नै भनिन्छ अलराउण्ड उड्ता पंछी। उनीहरू यस्तो निर्बन्धन हुन्छन्
जहाँ पनि सेवा हुन्छ त्यहाँ पुगिहाल्छन्। हरेक प्रकारको सेवामा सफलतामूर्त बन्छन्।
उनीहरूलाई नै भनिन्छ चक्रवर्ती,अलराउण्ड पार्टधारी।
स्लोगन:–
एक-अर्काको
विशेषतालाई स्मृतिमा राख्दै विश्वसनीय (फेथफुल) बन्यौ भने सङ्गठन एकमत हुन्छ।