22.11.20    Avyakt Bapdada     Nepali Murli    21.01.87     Om Shanti     Madhuban


स्व-राज्य अधिकारी नै विश्व-राज्य अधिकारी


आज भाग्यविधाता बाबाले आफ्ना सर्वश्रेष्ठ भाग्यवान बच्चाहरूलाई देखिरहनु भएको छ। बापदादाको अगाडि अहिले केवल यो संगठन छैन, चारैतिरका भाग्यवान बच्चाहरू पनि सामुन्ने छन्। चाहे देश-विदेशका कुनै पनि कुनामा छन् तर बेहदका बाबाले बेहदका बच्चाहरूलाई देखिरहनु भएको छ। यो साकार वतनमा स्थानको हद आउँछ तर बेहद बाबाको दृष्टिको सृष्टि बेहद छ। बाबाको दृष्टिमा सर्व ब्राह्मण आत्माहरूको सृष्टि समाहित छ। त्यसैले दृष्टिको सृष्टिमा सबै सम्मुख छन्। सर्व भाग्यवान बच्चाहरूलाई भाग्यविधाता भगवानले हेरी-हेरी हर्षित भइरहनु भएको छ। जसरी बच्चाहरू बाबालाई देखेर हर्षित हुन्छन्, बाबा पनि सबै बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ। बेहदका बाबालाई बच्चाहरू देखेर रूहानी नशा वा खुसी छ एक-एक बच्चाहरू यो विश्वको अगाडि विशेष आत्माहरूको लिस्टमा छन्। चाहे १६००० को मालाको अन्तिम दाना होस्, फेरि पनि बाबाको अगाडि आउनाले, बाबाको बन्नाले विश्वको अगाडि विशेष आत्मा हुन्छ। चाहे अरू कुनै पनि ज्ञानको विस्तारलाई जान्न नसकोस् तर एक शब्द बाबा दिलबाट मान्यो र दिलबाट अरूलाई सुनायो भने विशेष आत्मा बन्यो, दुनियाँको अगाडि महान आत्मा बन्यो, दुनियाँको अगाडि महान आत्माको स्वरूपमा गायन-योग्य बन्यो। यति श्रेष्ठ र सहज भाग्य छ, जानेका छौ? किनकि बाबा शब्द हो चाबी। के को? सर्व खजानाको श्रेष्ठ भाग्यको। चाबी मिल्यो त्यसैले भाग्यको खजाना अवश्य मिल्छ नै। त्यसैले सबै माताहरू तथा पाण्डवहरू चाबी प्राप्त गर्ने अधिकारी बन्यौ? चाबी लगाउन पनि आउँछ वा कहिलेकाहीँ लाग्दैन? चाबी लगाउने विधि हो दिलबाट जान्नु र मान्नु। केवल मुखले मात्र भन्यौ भने चाबी भएर पनि लाग्दैन। तर दिलबाट भन्यौ भने खजाना सदा हाजिर हुन्छन्। अखुट खजाना छन् नि। अखुट खजाना भएको कारणले जति पनि बच्चाहरू छन् सबै अधिकारी हुन्छन्। खुल्ला खजाना छ। भरपुर खजाना छ। यस्तो होइन जो पछि आउँछन् तिनलाई खजाना सकिन्छ। जति पनि अहिलेसम्म आएका छन् अर्थात् बाबाको बनेका छन् र भविष्यमा पनि जति बन्छन् तिनीहरू सबैलाई खजाना अनेक गुणा छ त्यसैले बापदादाले हरेक बच्चालाई सुवर्ण अवसर दिनुहुन्छ जति जसलाई खजाना लिनु छ, खुल्ला दिलले लेऊ। दातासँग कमी छैन, लिने कुरा हिम्मत वा पुरुषार्थमा आधारित छ। यस्तो कुनै पिता सारा कल्पमा हुँदैन, जसका यति धेरै बच्चाहरू होऊन् र हरेक भाग्यवान होऊन्! त्यसैले सुनाएँ रूहानी बापदादालाई रूहानी नशा छ।

सबैको मधुबनमा आउने, मिलन गर्ने आशा पूरा भयो। भक्तिमार्गको यात्रा भन्दा फेरि पनि मधुबनमा आरामले बस्ने, रहने ठाउँ त मिलेको छ नि। मन्दिरमा त केवल उभिई उभिई दर्शन गर्छन्। यहाँ त आरामले बसेका छौ नि। त्यहाँ त भाग-भाग र जाऊ-जाऊ भन्छन् तर यहाँ त आरामले बस, आरामले यादको खुसीमा मोज मनाऊ। संगमयुगमा खुसी मनाउनको लागि आएका हौ। त्यसैले हर समय हिँड्दा-डुल्दा, खादा पिउँदा खुसीको खजाना जम्मा गर्यौ? कति जम्मा गर्यौ? यति जम्मा गर्यौ जुन २१ जन्म आरामले खान सकियोस्? मधुबन विशेष सर्व खजाना जम्मा गर्ने स्थान हो किनकि यहाँ एक बाबा दोस्रो न कोही यो साकार रूपमा पनि अनुभव गर्छौ। त्यहाँ बुद्धिद्वारा अनुभव गर्छौ तर यहाँ प्रत्यक्ष साकार जीवनमा बाबा र ब्राह्मण परिवार सिवाय अरू कोही देखिन्छन् र? एउटै लगन, एउटै कुरा, एउटै परिवार र एकरस स्थिति। अरू कुनै रस नै छैन। पढ्ने र पढाइद्वारा शक्तिशाली बन्ने, मधुबनमा यही काम हो नि। कति क्लास गर्छौ? यहाँ विशेष जम्मा गर्ने साधन मिल्छ त्यसैले दौडि-दौडि पुगेका छौ। बापदादाले सबै बच्चाहरूलाई विशेष यही स्मृति दिलाउनु हुन्छ सदा स्वराज्य अधिकारी स्थितिमा अगाडि बढिरहनु। स्वराज्य अधिकारी यही निशानी हो विश्व राज्य अधिकारी बन्ने।

कत्ति बच्चाहरूले रूहरिहान गर्दा बाबासँग सोध्छन् म भविष्यमा के बन्छु, राजा बन्छु कि प्रजा बन्छु? बापदादाले बच्चाहरूलाई जवाफ दिनुहुन्छ आफूले आफैंलाई एक दिन मात्रै पनि जाँच गर्यौ भने थाहा हुन्छ म राजा बन्छु वा धनवान बन्छु वा प्रजा बन्छु। पहिला अमृतबेलादेखि आफ्ना मुख्य तीन कारोबारका अधिकारी, आफ्ना सहयोगी, साथीहरूलाई जाँच गर। ती को हुन्? १ मन अर्थात् संकल्प शक्ति। २ बुद्धि अर्थात् निर्णय शक्ति। ३ पहिलाका वा वर्तमानका श्रेष्ठ संस्कार। यी तीन विशेष कारोबारी हुन्। जसरी आजकलको जमानामा राजाको साथमा महामन्त्री वा विशेष मन्त्री हुन्छन्, तिनीहरूकै सहयोगले राज्य कारोबार चल्छ। सत्ययुगमा मन्त्री हुँदैनन् तर समीपका सम्बन्धी, साथीहरू हुन्छन्। कुनै पनि रूपमा साथी सम्झ वा मन्त्री सम्झ। तर यो जाँच गर यी तीनै स्वको अधिकारमा चल्छन्? यी तीनै माथि स्वको राज्य छ वा यिनीहरूको अधिकारले तिमी चल्छौ? मनले तिमीलाई चलाउँछ वा तिमीले मनलाई चलाउँछौ? जे चाहन्छौ जब चाहन्छौ त्यस्तै संकल्प गर्न सक्छौ? जहाँ बुद्धि लगाउन चाह्यो त्यहाँ लगाउन सक्छौ वा बुद्धिले तिमी राजाहरूलाई भट्काउँछ? संस्कार तिम्रो वशमा छ वा तिमीहरू संस्कारको वशमा छौ? राज्य अर्थात् अधिकारी। राज्य-अधिकारीले जुन शक्तिलाई जुन समयमा जे आदेश गर्यो त्यसले त्यही अनुसार विधिपूर्वक कार्य गर्छ वा तिमीले एउटा कुरा गर्छौ उसले गर्छ अर्को कुरा? किनकि निरन्तर योगी अर्थात् स्वराज्य अधिकारी बन्ने विशेष साधन नै मन र बुद्धि हो। मन्त्र नै मनमनाभव छ। योगलाई बुद्धियोग भनिन्छ। त्यसैले यदि यो विशेष आधार स्तम्भ आफ्नो अधिकारमा छैन वा कहिले छ कहिले छैन, अहिले भर्खरै छ अहिले भर्खरै छैन अथवा यी तीनैमा एउटा पनि कम अधिकारमा छ भने यसैबाट चेक गर्न सक्छौ म राजा बन्छु वा प्रजा बन्छु? बहुतकालको राज्य अधिकारी बन्ने संस्कारले बहुतकालको भविष्य राज्य-अधिकारी बनाउँछ। यदि कहिले अधिकारी कहिले वशीभूत हुन्छौ भने आधा कल्प अर्थात् पूरा राज्यको अधिकार प्राप्त गर्न सक्दैनौ। आधा समय पछि त्रेतायुगी राजा बन्न सक्छौ, सारा समय राज्य अधिकारी अर्थात् राज्य गर्ने राज-परिवारको समीप सम्बन्धमा रहन सक्दैनौ। यदि बारम्बार वशीभूत हुन्छौ भने संस्कार अधिकारी बन्ने हुँदैन, राज्य अधिकारीको राज्यमा रहनेवाला हुन्छौ। ऊ को भयो? ऊ भयो प्रजा। त्यसैले बुझ्यौ, राजा को बन्छ, प्रजा को बन्छ? आफ्नै दर्पणमा आफ्नो तकदिरको अनुहारलाई हेर। यो ज्ञान अर्थात् ज्ञान दर्पण हो। सबैसँग दर्पण छ नि? आफ्नो अनुहारलाई हेर्न सक्छौ नि। अब बहुत समयको अधिकारी बन्ने अभ्यास गर। यस्तो होइन अन्त्यमा त बनिहाल्छु। यदि अन्त्यमा बन्छौ भने अन्त्यको एक जन्म थोरै राज्य गर्नेछौ। तर यो पनि याद राख यदि बहुत समयको अहिलेबाटै अभ्यास छैन वा सुरुदेखि अभ्यासी बनेका छैनौ भने सुरुदेखि अहिलेसम्म यी विशेष कार्यकर्ताले तिमीलाई आफ्नो अधिकारमा चलाएका छन् वा स्थिति डगमग गराइरहन्छन् अर्थात् धोका दिइरहन्छन्, दु:खको लहरको अनुभव गराइरहन्छन् त्यसैले अन्त्यमा पनि धोका मिल्छ। धोका अर्थात् दु:खको लहर अवश्य आउँछ। त्यसैले अन्त्यमा पनि पश्चातापको दु:खको लहर आउँछ त्यसैले बापदादाले सबै बच्चाहरूलाई फेरि स्मृति दिलाउनु हुन्छ राजा बन र आफ्ना विशेष सहयोगी कर्मचारी वा राज्य कारोबारी साथीहरूलाई आफ्नो अधिकारले चलाऊ। बुझ्यौ?

बापदादाले यही हेर्नुहुन्छ को-को कति स्वराज्य अधिकारी बनेका छन्? अच्छा। सबै के बन्न चाहन्छौ? राजा बन्न चाहन्छौ? अहिले स्वराज्य अधिकारी बनेका छौ वा यही भन्छौ बनिरहेका छौं र बनौंला। बनौंला बनौंला नभन। बनौंला भन्छौ भने त्यसो भए बाबाले पनि भन्नुहुन्छ ठीकै छ राज्य-भाग्य दिन पनि हेरौंला। सुनाएँ नि बहुत समयको संस्कार अहिलेबाटै चाहिन्छ। त्यसो त बहुत-काल छैन थोरै समय छ। तर पनि यति समयको पनि अभ्यास भएन भने फेरि अन्त्य समयमा यो गुनासो नगर्नु मैले त सम्झेको थिएँ अन्त्यमा भइहाल्छु भनेर। त्यसैले भनिएको छ अहिले भएन भने कहिल्यै हुँदैन। कुनैबेला बनौंला होइन, अहिले नै हुनु छ। बन्नु नै छ। आफू माथि राज्य गर, आफ्ना साथीहरू माथि राज्य गर्न सुरु नगर्नु। जसको स्वमाथि राज्य छ उसको अगाडि अहिले पनि स्नेहको कारणले सर्व साथीहरू चाहे लौकिक, चाहे अलौकिक सबैले हस् हजुर हुन्छ हजुर भन्दै साथी बनेर रहन्छन्, स्नेही र साथी बनेर हुन्छ हजुरको पाठ व्यवहारमा देखाउँछन्। जसरी प्रजा राजाका सहयोगी हुन्छन्, स्नेही हुन्छन् त्यसैगरी तिम्रा यी कर्मेन्द्रियहरू, विशेष शक्तिहरू सदा तिम्रा स्नेही सहयोगी रहन्छन् र यसको प्रभाव साकारमा तिम्रा सेवाका साथीहरूमा वा लौकिक सम्बन्धीहरूमा, साथीहरूमा पनि पर्छ। दैवी परिवारमा अधिकारी बनेर आदेश दिने यो चल्न सक्दैन। स्वयं आफ्ना कर्मेन्द्रियहरूलाई वशमा राख्यौ भने स्वत: तिमीले आदेश दिनु भन्दा पहिला नै सबै साथीहरू तिम्रो कार्यमा सहयोगी बन्नेछन्। स्वयं सहयोगी बन्छन्, आदेश दिने आवश्यकता पर्दैन। स्वयं आफ्नो सहयोग लिन अनुरोध गर्नेछन् किनकि तिमीहरू स्वराज्य अधिकारी हौ। जसरी राजा अर्थात् दाता, दाताले भन्नु पर्दैन अर्थात् माग्नु पर्दैन। त्यसैले यस्तो स्वराज्य अधिकारी बन। अच्छा। यो मेला पनि ड्रामामा निश्चित थियो। वाह ड्रामा भनिरहन्छौ नि। अरूले कहिले हाय ड्रामा भन्छन् कहिले वाह ड्रामा भन्छन् र तिमीहरूले सदा के भन्छौ? वाह ड्रामा! वाह! जब प्राप्ति हुन्छ नि प्राप्तिको अगाडि केही पनि मुश्किल लाग्दैन। त्यसैले जब यति श्रेष्ठ परिवारसँग मिल्ने प्राप्ति भइरहेको छ भने कुनै मुश्किल, मुश्किल लाग्दैन। मुश्किल लाग्छ? भोजनको लागि पर्खिनु पर्छ! खाँदा पनि प्रभुको गुण गाऊ र क्यूमा पर्खिँदा पनि प्रभुको गुण गाऊ। यही काम गर्नु छ नि। यो पनि रिहर्सल भइरहेको छ। अहिले त केही पनि भएको छैन। अझ अरू वृद्धि हुन्छ नि। यसरी आफूलाई मोल्ड गर्ने बानी पार, जस्तो समय त्यस्तैगरी आफूले आफैँलाई चलाउन सकियोस्। जमिनमा सुत्ने पनि बानी पर्यो नि। यस्तो त छैन खाट नमिले निद्रा आउँदैन? टेन्टमा पनि रहने बानी पर्यो नि। राम्रो लाग्यो? चिसो त लाग्दैन? अब सारा आबूमा टेन्ट लगाऔँ? टेण्टमा सुत्न राम्रो लाग्यो वा कोठा चाहिन्छ? याद छ पहिला पहिला पाकिस्तानमा हुँदा महारथीहरूलाई पनि भुईंमा सुताइन्थ्यो। जो नाम चलेका महारथीहरू थिए तिनीहरूलाई हलमा वा जमिनमा तीन फुट दिएर सुताइन्थ्यो। जब ब्राह्मण परिवारको वृद्धि भयो त्यसमा पनि कहाँबाट सुरुआत गरियो? टेन्टबाट नै सुरु गरियो नि। पहिला पहिला जो निस्किए, तिनीहरू पनि टेन्टमा नै रहे, टेन्टमा नै रहनेहरू सेन्ट (महात्मा) भए। साकारमा पार्ट हुँदा पनि टेन्टमा नै रहे। त्यसैले तिमीहरूले पनि अनुभव गर्छौ नि। सबै हरेक रीतिले खुसी छौ? अच्छा, फेरि अरू १०००० टेण्ट मगाएर दिउँला, प्रबन्ध गरौंला। सबैले नुहाउने प्रबन्धको बारेमा सोचिरहन्छौ, त्यो पनि हुन्छ। याद छ जब यो हल बनेको थियो त्यसबेला सबैले के भनेका थियौ? यति नुहाउने स्थान के गर्ने? यही लक्ष्यले यो बनाइएको हो, अहिले कम भयो नि। जति बनाए पनि कम त हुनु नै छ किनकि अन्त्यमा त बेहदमा नै जानु छ। अच्छा।

सबैतिरका बच्चाहरू पुगेका छन्। त्यसैले यो पनि बेहद हलको श्रृङ्गार भयो। तल पनि बसेका छन्। भिन्न-भिन्न स्थानमा मुरली सुनिरहेका छन्। यो वृद्धि हुनु पनि त खुसी तथा भाग्यको निशानी हो। वृद्धि त भयो तर विधिपूर्वक चल्नु। यस्तो होइन यहाँ मधुबनमा त आयौ, बाबालाई देख्यौ, मधुबन पनि देख्यौ। अब जस्तो मन लाग्छ त्यसैगरी चल्ने। यस्तो नगर्नु किनकि कत्ति बच्चाहरूले यस्तो गर्छन्। जबसम्म मधुबनमा आउन पाउँदैनन् तबसम्म पक्का रहन्छन् तर जब मधुबन देख्छन् अनि थोरै लापर्बाह हुन्छन्। त्यसैले लापर्बाह नबन्नु। ब्राह्मण अर्थात् ब्राह्मण जीवन हो त्यसैले जीवन त सदा जबसम्म छ, तबसम्म छ। जीवन बनाएका छौ नि। जीवन बनाएका छौ वा थोरै समयको लागि ब्राह्मण बनेका हौ? सदा आफ्नो ब्राह्मण जीवनको विशेषता साथमा राख्नु किनकि यही विशेषताले वर्तमान पनि श्रेष्ठ छ र भविष्य पनि श्रेष्ठ हुन्छ। अच्छा। बाँकी के रहेको छ? टोली। (वरदान)। वरदान त वरदाताका बच्चा नै बन्यौ। जो हुन् नै वरदाताका बच्चा, तिनीहरूलाई हर कदममा वरदाताबाट वरदान स्वत: नै मिलिरहन्छ। वरदान नै तिम्रो पालना हो। वरदानको पालनाद्वारा नै पलिइरहेका छौ। नत्र सोच यति श्रेष्ठ प्राप्ति छ तर मेहनत के नै गर्यौ र! विना मेहनत जुन प्राप्ति हुन्छ, त्यसैलाई वरदान भनिन्छ। त्यसैले मेहनत के गर्यौ र प्राप्ति कति श्रेष्ठ छ! जन्म जन्मान्तरको प्राप्तिको अधिकारी बन्यौ। त्यसैले वरदान हर कदममा वरदाताको मिलिरहेको छ र सदा मिलिरहने छ। दृष्टिबाट, बोलीबाट, सम्बन्धबाट वरदान नै वरदान छ। अच्छा।

अहिले त गोल्डन जुबली मनाउने तयारी गरिरहेका छौ। गोल्डन जुबली अर्थात् सदा गोल्डन स्थितिमा स्थित रहने जुबली मनाइरहेका छौ। सदा सच्चा गोल्ड, अलिकति पनि मिसावट नभएको। यसलाई भनिन्छ गोल्डन जुबली। दुनियाँको अगाडि गोल्डको स्थितिमा स्थित हुने सच्चा गोल्ड प्रत्यक्ष होस्, यसैको लागि यी सबै सेवाका साधनहरू बनाइरहेका छौ किनकि तिम्रो गोल्डन स्थितिले गोल्डन युगलाई ल्याउँछ, स्वर्णिम संसार ल्याउँछ, जसको चाहना सबैलाई छ अब दुनियाँमा केही परिवर्तन हुन्छ भन्ने। त्यसैले स्व-परिवर्तनबाट विश्व परिवर्तन गर्ने विशेष आत्माहरू हौ। तिमीहरू सबैलाई देखेर आत्माहरूलाई यो निश्चय होस्, शुभ आशा होस् साच्चिकै स्वर्णिम दुनियाँ आयो कि आयो। नमुनालाई देखेर निश्चय हुन्छ नि राम्रो चीज हो भन्ने। त्यसैले तिमीहरू स्वर्णिम संसारको नमुना हौ। स्वर्ण स्थितिवाला हौ। तिमी नमुनाहरूलाई देखेर तिनीहरूलाई निश्चय होस् जब नमुना तयार भएको छ भने अवश्य यस्तो संसार आयो कि आयो। यस्तो सेवा गोल्डन जुबलीमा गर्छौ नि। निराश भएकालाई आशा जगाउनेवाला बन। अच्छा।

सर्व स्वराज्य अधिकारी, बहुतकालको अधिकार प्राप्त गरेका अभ्यासी आत्माहरूलाई, विश्वका विशेष आत्माहरूलाई, वरदाताको वरदानद्वारा पालिने श्रेष्ठ आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:
भट्किरहेका आत्माहरूलाई यथार्थ उद्देश्य देखाउने चैतन्य लाइट-हाउस भव

कुनै पनि भट्किरहेको आत्मालाई यथार्थ उद्देश्य देखाउनको लागि चैतन्य लाइट-हाउस बन। यसको लागि दुई कुरा ध्यानमा रहोस्: १) हरेक आत्माको चाहनालाई जान्नु छ, जसरी योग्य डाक्टर उसलाई भनिन्छ जसले नाडी हेर्न जानेको हुन्छ। त्यसैले पहिचान गर्ने शक्तिलाई सदा प्रयोग गर। २) सदा आफूसँग सर्व खजानाको अनुभव कायम राख्नु छ। सदा यो लक्ष्य राख्नु छ सुनाउनु छैन तर सर्व सम्बन्धको सर्व शक्तिको अनुभव गराउनु छ।

स्लोगन:
अरूलाई करेक्शन गर्नुको सट्टा एक बाबासँग कनेक्शन ठीक राख।