29.03.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– विचारसागर मन्थन गर्ने आदत बसाल। एकान्तमा बिहान सबेरै विचारसागर मन्थन गर्यौ भने धेरै नयाँ नयाँ प्वइन्टहरू बुद्धिमा आउँछन्।”

प्रश्न:–
बच्चाहरूले आफ्नो अवस्था फस्टक्लास बनाउनको लागि कुन कुन कुरामा सदा ध्यान राख्नुपर्छ?

उत्तर:–
१) एक बाबाले जे सुनाउनु हुन्छ त्यही सुन, यस दुनियाँको केही पनि नसुन। २) सङ्गको सम्हाल गर। जसले राम्ररी पढ्छन्, धारणा गर्छन् उनको नै सङ्ग गर, तब अवस्था फस्टक्लास हुन्छ। कति बच्चाहरूको अवस्था देखेर बाबालाई ख्याल आउँछ, ड्रामामा केही परिवर्तन होस् तर फेरि भन्नुहुन्छ– यो पनि राजधानी स्थापना भइरहेको छ।

ओम् शान्ति । एउटै बेहदका बाबाले बेहदका बच्चाहरूलाई बसेर सम्झाउनु वा पढाउनु हुन्छ। बाँकी मनुष्य जसले केही पढ्छन्, सुन्छन् त्यो तिमीले सुन्नु र पढ्नु केही पनि छैन किनकि यो त बुझिसकेका छौ– एउटै यो ईश्वरीय पढाइ हो जुन अहिले तिमीले पढ्नु छ। तिमीले केवल एक ईश्वरबाट नै पढ्नुपर्छ। बाबाले जे पढाउनु हुन्छ, सिकाउनु हुन्छ– मौखिक पढ्नुपर्छ। उनीहरूले त अनेक प्रकारका किताब लेख्छन् जुन सारा दुनियाँले पढ्छन्। कति धेरै किताब पढ्छन्। केवल तिमी बच्चाहरूले नै भन्छौ एकबाटै सुन, त्यही अरूलाई सुनाऊ किनकि उहाँबाट जे सुन्छौ त्यसमा नै कल्याण छ। बाँकी धेरै किताब छन्। नयाँ नयाँ निस्किरहन्छन्। तिमीलाई थाहा छ– यथार्थ त एक बाबाले नै सुनाउनु हुन्छ। केवल उहाँद्वारा नै सुन्नु छ। बाबाले त बच्चाहरूलाई धेरथोर सम्झाउनु हुन्छ, त्यसलाई विस्तारमा सम्झाएर फेरि पनि एउटै कुरामा आउनु हुन्छ। भन्न त बाबाले मनमनाभव शब्द ठीक भन्नुहुन्छ तर बाबाले यस्तो भन्नु भएको होइन। बाबा त भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर अनि जुन सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउँछु त्यो धारणा गर। यो पनि तिमीलाई थाहा छ– हामी जो देवता बन्नेवाला हौं त्यही वृद्धि हुँदै जान्छ। बच्चाहरूलाई मूलवतन पनि याद छ फेरि नयाँ दुनियाँ पनि याद छ।

पहिला हुनुहुन्छ सर्वोच्च बाबा। फेरि यो नयाँ दुनियाँ जसमा यी लक्ष्मी-नारायण सर्वोच्च राज्य गर्नेहरू हुन्। चित्र त अवश्य चाहिन्छ। यो बाँकी निसानी रहेको छ। यही एक चित्र छ। रामको पनि छ तर रामराज्यलाई स्वर्ग भनिदैन। त्यो हो नै अर्ध स्वर्ग। अहिले सर्वोच्च बाबाले पढाउँदै हुनुहुन्छ। यसमा किताब आदिको कुनै आवश्यकता छैन। यी किताब आदि केही पनि चल्दैनन्, जुन अर्को जन्ममा पढ्न सकियोस्। यो पढाइ यस जन्मको लागि मात्र हो। यो अमरकथा पनि हो। नरबाट नारायण बन्ने शिक्षा पनि बाबाले नै दिनुहुन्छ नयाँ दुनियाँको लागि। बच्चाहरूले ८४ को चक्रलाई पनि जानिसकेका छन्। यो पढाइको समय हो। बुद्धिमा मन्थन चल्नुपर्छ। तिमीले अरूलाई पनि पढाउनु छ। बिहानै उठेर विचारसागर मन्थन गर्नुपर्छ। बिहान सबेरै विचारसागर मन्थन राम्रो हुन्छ। जो सम्झाउनेवाला हुन्छन् उनीहरूको नै मन्थन हुन्छ। शिर्षक, प्वइन्ट आदि निस्किन्छन्। भक्तिका कुरा त जन्मजन्मान्तर सुन्यौ। यो ज्ञान जन्मजन्मान्तर सुन्ने छैनौ। यहाँ बाबाले सङ्गमयुगमा मात्र सुनाउनु हुन्छ, फेरि यो ज्ञान तिमीले पनि भुलिहाल्छौ। भक्तिमार्गमा कति किताबहरू छन्। बेलायतबाट पनि आउँछन्। यी सबै खतम हुन्छन्। सत्ययुगमा त कुनै किताब आदिको आवश्यकता पर्दैन। यी सबै हुन् कलियुगी सामग्री। यहाँ तिमीले जे कुरा देख्छौ अस्पताल, जेल, न्यायालय, न्यायाधीश आदि त्यहाँ केही पनि हुँदैनन्। त्यो दुनियाँ नै बेग्लै छ। दुनियाँ त यही हो तर नयाँ र पुरानोमा फरक त अवश्य हुन्छ नि। त्यसलाई भनिन्छ स्वर्ग। त्यही दुनियाँ फेरि नर्क बन्छ। मुखबाट भन्छन् फलानो स्वर्गवासी भयो। संन्यासीको लागि भनिन्छ ब्रह्ममा लीन हुनुभयो, निर्वाण जानुभयो। तर निर्वाणमा कोही पनि जाँदैनन्। तिमीलाई थाहा छ– यो रुद्रमाला कस्तो बनेको छ? रूण्ड माला पनि छ। विष्णुको राजधानीको माला बन्छ। अहिले मालाको रहस्यलाई तिमी बच्चाहरू नै जान्दछौ। नम्बरवार पढाइ अनुसार नै मालामा गाँसिन्छन्। पहिला सुरुमा यो निश्चय हुनुपर्छ। यो ईश्वरीय पढाइ हो। उहाँ परमपिता र परम शिक्षक पनि हुनुहुन्छ। तिम्रो बुद्धिमा जुन ज्ञान छ त्यही अरूलाई दिनु छ। आफूसमान बनाउनु छ। विचारसागर मन्थन गर्नु छ। समाचारपत्र पनि बिहानै निस्किन्छ। त्यो साधारण कुरा हो। यो एक एक कुरा त लाखौं रूपैयाको छ। कसैले राम्ररी बुझ्छन्, कसैले थोरै बुझ्छन्। आफूले बुझेको र अरूलाई बुझाएको आधारमा नै फेरि नयाँ दुनियाँमा पद मिल्छ। विचारसागर मन्थन गर्नको लागि बडो एकान्त चाहिन्छ। रामतीर्थको लागि भनिन्छ– जब लेख्थे, तब चेलालाई भन्थे दुई माइल टाढा जाऊ, नत्र प्रकम्पन आउँछ।

तिमी अब सम्पूर्ण बनिरहेका छौ। सारा दुनियाँको छ अपूर्ण बुद्धि। तिमी यस पढाइबाट यस्ता लक्ष्मी-नारायण बन्छौ। कति उच्च पढाइ छ। तर नम्बरवार बसाउन सकिँदैन। पछाडि बस्नु परेमा निराश हुन्छन्, उँग्छन्, वायुमण्डल बिगार्छन्। त्यसो त नियमले भन्छ– नम्बरवार बसाउनुपर्छ। तर यी सबै कुरालाई शिवबाबाले जान्नुहुन्छ वा ब्रह्माबाबाले जान्दछन्। यो हो धेरै उच्च ज्ञान। तिम्रो क्लास बेग्लाबेग्लै त गर्न सकिँदैन। वास्तवमा तिमी क्लासमा यसरी बस्नुपर्छ जसले गर्दा अङ्ग, अङ्गसँग नछोइयोस्। माइकद्वारा त टाढा पनि आवाज सुन्न सक्छौ। बाबा भन्नुहुन्छ– यस दुनियाँको तिमीले अरू केही पनि न त सुन, न त पढ। उनीहरूको सङ्ग पनि नगर। जसले राम्ररी पढ्छन् उनको नै सङ्ग गर्नुपर्छ। जहाँ राम्रो सेवा छ, जस्तै संग्रहालय आदि छ, त्यहाँ धेरै होसियार र योगयुक्त बच्चीहरू हुनुपर्छ।

यो पनि बाबाले सम्झाउनु हुन्छ– ड्रामा बनिबनाउ छ। कहिलेकाहीँ बाबा सोच्नुहुन्छ, ड्रामामा केही परिवर्तन होस्। तर परिवर्तन हुन सक्दैन। यो बनीबनाऊ खेल हो। बच्चाहरूको अवस्था देखेर ख्याल आउँछ, केही परिवर्तन भइहालोस्। के यस्ता यस्ता स्वर्गमा जान सक्छन्? फेरि ख्याल आउँछ स्वर्गमा त सारा राजधानी चाहिन्छ। कोही दासदासी, चण्डाल आदि पनि हुन्छन्। ड्रामामा केही परिवर्तन हुन सक्दैन। भगवानुवाच– यो ड्रामा बनिबनाउ छ, यसलाई मैले पनि परिवर्तन गर्न सक्दिन। भगवान भन्दा माथि त कोही पनि छैनन्। मनुष्यले त भन्छन्– भगवानले के गर्न सक्नुहुन्न र। तर भगवान स्वयं भन्नुहुन्छ मैले केही पनि गर्न मिल्दैन। यो बनिबनाउ खेल हो। विघ्न पर्छन् केही पनि गर्न सकिदैन। ड्रामामा निश्चित छ, मैले के गर्न सक्छु? धेरै बच्चीहरूले पुकार्छन्– हामीलाई नङ्गन हुनबाट बचाउनुहोस्। तर बाबाले के गर्न सक्नुहुन्छ? बाबा केवल भन्नुहुन्छ– ड्रामाको भावी। यो त बनिबनाउ ड्रामा हो। यस्तो नसम्झ भगवानको भावी। भगवानको हातमा भएको भए सम्झ कोही अनन्य बच्चाले शरीर छोड्छन्, उनलाई पनि बचाइदिनु हुन्थ्यो। यस्तो धेरैलाई संशय आउँछ। भगवानले पढाउनु हुन्छ, यदि भगवानका बच्चा हुन् भने उनले आफ्ना बच्चाहरूलाई पनि बचाउन सक्दैनन् त? धेरैले गुनासो गर्छन्। भन्छन्, यस्ता साधुहरू छन् जसले कसैको प्राण बचाउन सक्छन्, प्राण फेरि आउँछ। चिताबाट पनि उठ्छन्। फेरि भन्छन् ईश्वरले फर्काइदिनु भयो, कालले लिएर गयो तर त्यसमाथि प्रभुले दया गर्नुभयो। बाबा सम्झाउनु हुन्छ– जे कुरा ड्रामामा निश्चित छ त्यही हुन्छ। बाबाले पनि केही गर्न सक्नुहुन्न। यसलाई भनिन्छ ड्रामाको भावी। ड्रामा शब्द तिमीलाई थाहा छ। उनीहरूले भन्छन् जे हुनु थियो भयो, चिन्ता के को? तिमीलाई निश्चिन्त बनाउनु हुन्छ। सेकेन्ड-सेकेन्ड जे हुन्छ त्यो ड्रामा नै सम्झ। आत्माले शरीर छोडेपछि गएर अर्को पार्ट खेल्यो। अनादि पार्टलाई तिमीले कसरी फेर्न सक्छौ? हुन त अहिले अलि कच्चा अवस्था छ, अलिकति विचार चलिहाल्छ। तर भावीले केही गर्न सक्दैन। मानिसहरूले जे जे भने पनि हाम्रो बुद्धिमा ड्रामाको रहस्य छ। पार्ट खेल्नु छ। चिन्ताको कुरा छैन। अवस्था कच्चा भएसम्म अलिकति लहर आउँछ।

यस समयमा तिमीहरू सबैले पढिरहेका छौ। तिमीहरू सबै देहधारी हौ, म एक विदेही हुँ। सबै देहधारीलाई सिकाउँछु। बाबा सम्झाउनु हुन्छ– कुनै बेलामा तिमी बच्चाहरूलाई यी ब्रह्माले पनि बसेर सम्झाउँछन्। यो बाबाको पार्ट र प्रजापिता ब्रह्माको पार्ट अदभूत छ। यी बाबाले विचारसागर मन्थन गरेर तिमीलाई सुनाइरहन्छन्। कति अनौठो ज्ञान छ। कति बुद्धि चलाउनु पर्छ। बाबाको विचारसागर मन्थन बिहान चल्छ। तिमी पनि यस्तो बन्नु र्छ, जस्तो टिचर। फेरि पनि फरक त अवश्य पर्छ। शिक्षकले विद्यार्थीलाई १०० अङ्क दिँदैनन्। केही कम दिन्छन्। उहाँ हुनुहुन्छ सर्वोच्च। हामी हौं देहधारी। त्यसैले बाबाजस्तै शतप्रतिशत कसरी बन्ने? यो बडो गहन कुरा हो। कसैले त सुनेर धारण पनि गर्छन्, खुसी हुन्छन्। कोहीकोहीले भन्छन् बाबाको त एकै प्रकारको वाणी चल्छ, दोहोरिइरहन्छ। अब कोहीकोही नयाँ बच्चाहरू आउँछन् भने मैले पहिलो प्वइन्ट नै भन्नुपर्छ। कुनै नयाँ प्वइन्ट पनि निस्किन्छ अरूलाई सम्झाउनको लागि। बच्चाहरूले फेरि पनि बाबालाई मदत गर्नुपर्छ। पत्रिका निकाल्छन्। कल्प पहिला पनि यस्तो लेखिएको हुनुपर्छ। यदि पत्रिका निकालिन्छ भने त्यसमा धेरै ध्यान दिनुपर्छ। यस्तो कुनै कुरा नहोस् जसलाई पढेर मनुष्य दु:खी हुन्। पत्रिका त तिमीहरूले पढ्छौ। कुनै कच्चा पक्का कुरा भयो भने भनिन्छ अहिलेसम्म सम्पूर्ण बनेका छैनन्। एक्युरेट १६ कला सम्पूर्ण बन्नमा समय त लाग्छ। अहिले त धेरै सेवा गर्नु छ। धेरै प्रजा बनाउनु छ। यो पनि बाबाले सम्झाउनु भएको छ– अनेक प्रकारका अङ्क हुन्छन्। कोही निमित्त छन्, धेरैलाई ज्ञान लिनको लागि प्रबन्ध गरे भने उनलाई फल मिल्छ। अब त पुरानो दुनियाँ नै खतम हुनु छ। यहाँ छ अल्पकालको सुख। बिमारी आदि त सबैलाई हुन्छ। बाबा सबै कुराका अनुभवी हुनुहुन्छ। दुनियाँको कुरा पनि सम्झाउनु हुन्छ। बाबाले भन्नुभएको थियो– समाचारपत्र वा पत्रिकामा अदभूत कुरा लेख जसबाट बुझुन् ब्रह्माकुमारीहरूले यो कुरा बिलकुल ठीक लेखेका छन्। यो लडाइँ हुबहु लागेको थियो। कसरी? यो आएर बुझ्नुहोस्। तिम्रो नाम पनि फैलिन्छ, मानिसहरू सुनेर खुसी पनि हुन्छन्– धेरै महान् कुरा छन्! तर जब कसैको बुद्धिमा बस्छ भने। जसले लेख्छन् उनले फेरि सम्झाउनु पनि पर्छ। सम्झाउन आउँदैन होला त्यसैले लेख्दैनन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते, रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) एक बाबाले जे सुनाउनु हुन्छ र पढाउनु हुन्छ, त्यही सुन्नु र पढ्नु छ। अरू केही पनि पढ्नु सुन्नु आवश्यक छैन। सङ्गको धेरै सम्हाल गर्नु छ। बिहान सबेरै एकान्तमा बसेर विचार सागर मन्थन गर्नु छ।

२) ड्रामाको भावी निश्चित बनेको छ त्यसैले सदा बेफिक्र रहनु छ। कुनै पनि कुरामा संशय ल्याउनु छैन। अरूले जे भने पनि तिमीलाई ड्रामामा अटल रहनु छ।

वरदान:–
अथोरिटी बनेर समयमा सबै शक्तिलाई कार्यमा लगाउने मास्टर सर्वशक्तिमान भव

सर्वशक्तिमान बाबाद्वारा जुन सर्वशक्तिहरू प्राप्त भएका छन् तिनलाई जस्तो परिस्थिति, जस्तो समय र जुन विधिले तिमीले कार्यमा लगाउन चाहन्छौ त्यस्तै रूपबाट यी शक्तिहरू तिम्रा सहयोगी बन्न सक्छन्। यी शक्तिहरूलाई वा प्रभु वरदानलाई जुन रूपमा चाह्यो त्यो रूप धारण गर्न सक्छौ। अहिले भर्खरै शीतलताको रूपमा, अहिले भर्खरै ज्वाला रूपमा। केवल समयमा कार्यमा लगाउने अथोरिटी बन। यी सबै शक्तिहरू त तिमी मास्टर सर्वशक्तिमानका सेवाधारी हुन्।

स्लोगन:–
स्व पुरुषार्थ वा विश्वकल्याणको कार्यमा जहाँ हिम्मत हुन्छ त्यहाँ सफलता हुनु नै छ।