03.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाको
आशीर्वाद लिनुछ भने सर्भिसएबुल सपूत बच्चा बनेर सबैलाई सुख देऊ , कसैलाई पनि दुःख
नदेऊ।”
प्रश्न:–
धर्मराजको
सजायबाट बच्नको लागि कुन ईश्वरीय नियमहरूमा ध्यान दिनुपर्छ?
उत्तर:–
कहिल्यै पनि
ईश्वरको सामुन्ने प्रतिज्ञा गरेर उहाँको अवज्ञा गर्नुहुँदैन। कसैलाई दुःख नदिनु।
रिसाउनु, हैरान पार्नु अर्थात् यस्तो आचरण गर्नु जसले ईश्वरको नाम बदनाम हुन्छ...
यस्तो भयो भने तिनीहरूले धेरै सजाय खानुपर्छ त्यसैले त्यस्तो कुनै कर्म गर्नुहुँदैन।
मायाका जतिसुकै तुफान आए वा रोगले उथलपुथल बनाइदियो भने पनि कुन सही र गलत हो भन्ने
कुरा बुद्धिले परख गरेर गलत कर्मबाट सदा बचिरहनुछ।
गीत:–
कौन आया मेरे
मन के द्वारे...
ओम् शान्ति ।
यो कसले
भन्नुभयो– ओम् शान्ति।
बापदादाले। यो त
बच्चाहरूलाई अवश्य निश्चय होला– हाम्रो पारलौकिक पिता हुनुहुन्छ परमपिता परमात्मा
शिव र यिनी (ब्रह्मा) सबै बच्चाहरूका अलौकिक पिता हुन्, यिनलाई नै प्रजापिता ब्रह्मा
भनिन्छ। यति बच्चाहरू प्रजापिता ब्रह्माका बाहेक अरू कसैका हुन्छन् र! पहिला यति
धेरै बच्चाहरू थिएनन्, बेहदका बाबाले यिनमा प्रवेश गर्नुभयो त्यसपछि यिनी भए दादा।
यी दादाले स्वयम् भन्छन्– तिमीलाई पारलौकिक बाबाको सम्पत्ति मिल्छ। नातिहरू सदा
हजुरबुबाका वारिस हुन्छन्। उनीहरूको बुद्धियोग हजुरबुबामा जान्छ किनकि हजुरबुबाको
सम्पत्तिमा हक लाग्छ। जसरी राजाहरूकहाँ जुन बच्चाहरूले जन्म लिइरहन्छन्, त्यसरी नै
त्यहाँ भन्छन्– राजाको सम्पत्ति पुर्ख्यौली सम्पत्ति हो। पुर्ख्यौली सम्पत्तिमा
उनीहरूको स्वत: हक हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीले बेहदका बाबाबाट ठुलोभन्दा
ठुलो सम्पत्ति स्वर्गको बादसाही लिइरहेका छौँ। हामीलाई ती बाबाले पढाइरहनुभएको छ।
तिमी अब सम्मुख बसेका छौ। सम्मुखको नसा पनि नम्बरवार पुरुषार्थ अनुसार हुन्छ। कसैको
दिलमा त धेरै प्रेम हुन्छ। हामी आएर यिनी साकार माता-पिता (ब्रह्मा) द्वारा
उच्चभन्दा उच्च भगवानका वारिस बन्छौँ। बेहदका बाबा धेरै मीठो हुनुहुन्छ, जसले
हामीलाई राज्य भाग्यको लायक बनाउनुहुन्छ। मायाले बिल्कुलै नालायक बनाइदिएको छ। हिजो
बाबाकहाँ कोही भेट्नको लागि आएका थिए तर उनीहरूले कहाँ केही बुझ्न सक्छन् र! बाबाले
सम्झाउनुभएको छ– यी सबै ब्रह्माकुमार हुन्। तिमी पनि ब्रह्माका वा शिवका बच्चा हौ
नि। भन्न त अवश्य शिवका बच्चाहौँ भने। यो कुरा केवल सुनेर भने, तर दिलमा लागेन।
साँच्चै हामी उहाँका बच्चा हौँ भन्ने तीर लागेन। यिनीहरू पनि उहाँका बच्चा हुन्,
यिनीहरूले वर्सा लिइरहेका छन्। त्यसरी नै हामीकहाँ पनि कति बच्चाहरू छन् जसको
बुद्धिमा यो कुरा धेरै कम बस्छ। त्यो खुसी, त्यो रुहानियत देखा पर्दैन। भित्र धेरै
खुसीको पारा चढ्नुपर्छ। त्यो सबै अनुहारमा पनि देखिन्छ। अहिले तिमी सजनीहरूको ज्ञान
शृङ्गार भइरहेको छ। तिमीलाई थाहा छ– हामी साजनका सजनीहरू हौँ। एक खेरूत (गरिब किसान)
की छोरीको कथा छ नि। एक राजाले खेरूतकी छोरीलाई ल्याए तर पनि उसलाई राजकीय सुखमा मजा
आएन अनि त्यो खेरूतकी छोरीलाई फर्काएर गाउँमा छोडेर आए। उसलाई भनिदिए तिमी राजकीय
सुखको लायक छैनौ। यहाँ पनि बाबाले शृङ्गार गर्नुहुन्छ। तिमी भविष्यमा महारानी
बन्नेछौ। श्रीकृष्णको लागि पनि भन्छन्– भगाए, पटरानी बनाउनको लागि तर केही बुझ्दैनन्।
सबै हुन् धर्मभ्रस्ट बुद्धिका। सम्झन्छन्– यत्तिकै दुनियाँ चलिरहन्छ। प्रकृति हो।
धेरै छन् जो देवालय, धर्मशालामा पनि जाँदैनन्। न शास्त्र आदिलाई मान्छन्। सरकारले
पनि धर्मलाई मान्दैन। भारतवर्ष कुन धर्मको थियो, अब कुन धर्मको छ, यो कुरा बिल्कुलै
जान्दैनन्। अहिले तिमी बच्चाहरू हौ दैवीकुलका। जसरी उनीहरू क्रिस्चियनकुलका हुन्
त्यसरी नै तिमी ब्राह्मणकुलका हौ। बाबा भन्नुहुन्छ– पहिला सुरुमा तिमी बच्चाहरूलाई
पतित शूद्रबाट ब्राह्मण बनाउँछु। पावन बन्दाबन्दै फेरि २१ जन्मको लागि तिमी दैवी
सम्प्रदाय बन्नेछौ। दैवी गोदमा जानेछौ। पहिला थियौ आसुरी गोदमा। आसुरी गोदबाट फेरि
तिमी ईश्वरीय गोदमा आएका छौ। एक बाबाका बच्चाहरू भाइबहिनी हुन्। यो एक आश्चर्य हो।
सबैले भन्छन्– हामी ब्राह्मण कुलका हौँ। हामी त श्रीमतमा चल्नुछ, सबैलाई सुख दिनुछ,
बाटो बताउनुछ। दुनियाँमा कोही छैन जसले मुखबाट भन्छ– बेहदका बाबाबाट बेहदको वर्सा
कसरी लिइन्छ। तिमीलाई बेहदका बाबा मिल्नुभएको छ। तिमी नै उहाँका बच्चा बनेका छौ।
बुद्धिबाट जान्दछौ– कल्प पहिला जसले बाबाबाट वर्सा लिएका होलान्, उनीहरूले नै आएर
लिन्छन्। अलिकति पनि बुद्धिमा भयो भने कुनै न कुनै बेला आइपुग्छन्। आउँछन् भने
अवश्य केही न केही लिनको लागि आउँछन्।
तिमीहरूमा पनि
नम्बरवारले जान्दछौ। आज पावन बन्नको लागि आएका छन्, भोलि फेरि पतित बन्छन्। कसैको
नराम्रो सङ्गत भयो भने भुल्छन्, बाबाका बनेर फेरि बाबालाई छोडे भने धेरै पाप आत्मा
बन्छन्। जसरी कसैले कसैको हत्या गरे भने पाप लाग्छ। त्यो पाप पनि थोरै हो। यहाँ जसले
बाबाका बनेर छोडपत्र दिन्छन्, प्रतिज्ञा गरेर फेरि विकारी बन्छन् तिनीहरूलाई धेरै
पाप लाग्छ। अज्ञान कालमा यति लाग्दैन जति ज्ञानमा लाग्छ। अज्ञानकालमा त मानिसहरूमा
रिसाउने कुरा सामान्य हुन्छ। यहाँ तिमी कसैसँग रिसायौ भने सयगुणा दण्ड हुन्छ। अवस्था
बिल्कुलै गिर्छ किनकि ईश्वरको आज्ञा मान्दैनन्। धर्मराजको आज्ञा मिल्छ– पवित्र
बन्नुछ। तिमीले ईश्वरका बनेर अलिकति पनि उहाँको आज्ञाको अवज्ञा गरेछौ भने सयगुणा
दण्ड चढ्छ। रचयिता त उहाँ एक हुनुहुन्छ। ब्रह्मा-विष्णु-शङ्कर पनि उहाँका रचना हुन्।
धर्मराज पनि रचना हुन्। धर्मराजको रूप पनि बाबाले साक्षात्कार गराउनुहुन्छ। फेरि
त्यस समयमा सिद्ध गरेर बताउनुहुन्छ– हेर तिमीले प्रतिज्ञा गरेका थियौ– हामी रिसाउँदै,
कसैलाई दुःख दिँदैनौँ तैपनि तिमीले यिनलाई दुःख दियौ, हैरान पारिदियौ। अब खाऊ सजाय।
बिना साक्षात्कार सजाय दिनुहुन्न। प्रमाण त चाहिन्छ नि। उनीहरूले पनि जान्दछन्–
अवश्य, मैले बाबालाई छोडेर यो कुकर्म गरेँ। बदनामी गराएमा फेरि धेरैमाथि आपत आउँछ।
कति अबलाहरू बन्धनमा आउँछन्। सारा दण्ड बदनामी गराउनेहरूमाथि पर्छ त्यसैले बाबा
भन्नुहुन्छ– ठुलोभन्दा ठुलो पाप आत्मा देख्नुछ भने यहाँ हेर, धोबीकहाँ धेरै मैला
सडेका कपडाहरू रहेछन् भने जोडले पछार्दा च्यातिन्छन्। त्यस्तै यहाँ पनि सहन गर्न
नसकेर जान्छन्। ईश्वरको गोदमा आएर प्रत्यक्ष रूपमा उहाँको अवज्ञा गरियो भने सजाय
खानुपर्छ। जुन मुख्य ब्राह्मणीले पार्टी लिएर आउँछन्, उनीहरूमाथि धेरै ठुलो
जिम्मेवारी छ। एकले पनि यदि हात छोड्यो, विकारी बन्यो भने उनीहरूको पाप यहाँ लिएर
आउनेमाथि आउँछ। यस्तो कसैलाई पनि इन्द्रसभामा ल्याउनुहुँदैन। नीलम परी, पुखराज परीको
कथा पनि त छ नि। इन्द्रसभामा कसैले लुकाएर ल्यायो अनि इन्द्रसभामा गन्ध आउन थाल्यो।
त्यसैले लिएर आउनेमाथि दण्ड पर्छ। यस्तो केही कथा छ। उनी पत्थर बनिन्। बाबाले
पारसनाथ बनाउनुहुन्छ फेरि अवज्ञा भयो भने पत्थर बन्छन्। राजधानीमा पाउने सौभाग्य
गुमाउँछन्। सम्झ कुनै गरिबले राजाको गोद लियो। नालायक बन्यो र राजाले निकालिदिए भने
के हुन्छ। फेरि कङ्गालको कङ्गाल बन्छ। यहाँ पनि यस्तै हो। फेरि धेरै दुःख महसुस
हुन्छ त्यसैले बाबा भनिदिनुहुन्छ– कहिल्यै पनि कुनै अवज्ञा नगर्नु। बाबा हुनुहुन्छ
साधारण त्यसैले शिवबाबालाई भुलेर साकारमा बुद्धि जान्छ। अब तिमी बच्चाहरूलाई श्रीमत
मिल्छ। जो फोहोर बन्छन्, यस्ता फेरि इन्द्रसभामा बस्न सक्दैनन्। हरेक सेन्टर
इन्द्रप्रस्थ हो, जहाँ ज्ञानको वर्षा भइरहेको हुन्छ। नीलमपरी, पुखराज परी नाम त छ
नि। नीलम, रत्नलाई भनिन्छ। बच्चाहरूका यस्ता नाम राखिन्छ। कोही त धेरै राम्रा रत्न
हुन्छन्, कुनै खोट हुँदैन। जुहारतमा कुनै कुनै धेरै दाग लागेका हुन्छन्। कोही एकदम
शुद्ध हुन्छन्। यहाँका रत्न पनि नम्बरवार छन्। कुनै कुनै रत्न धेरै मूल्यवान् छन्।
धेरै राम्रो सेवा गर्छन्। कसैले त सर्भिसको सट्टा डिससर्भिस गर्छन्। गुलाबको फूल र
आँकको फूलमा पनि कति फरक छ। दुबै फूल शिवलाई चढाउँछन्। अब तिमीले जानिसकेका छौ–
हामीहरू मध्ये को को फूल हौँ। तिनीहरूलाई नै सबैले माग गर्छन्– बाबा हामीलाई राम्रा
राम्रा फूल दिनुहोस्। अब राम्रा राम्रा फूल कहाँबाट ल्याउने। रत्न ज्योत फूल त
सामान्य हुन्छन्। यो बगैँचा हो नि। तिमी ज्ञान गङ्गाहरू पनि हौ। बाबा त सागर हुनुभयो
नि। यिनी (ब्रह्मा) हुन् ब्रह्मपुत्रा ठुलोभन्दा ठुलो नदी। कलकत्तामा ब्रह्मपुत्रा
नदी धेरै ठुलो छ। जहाँ सागर र नदीको धेरै ठुलो मेला लाग्छ। अवश्य ज्ञान सागर बाबा
हुनुहुन्छ। यिनी चैतन्य ज्ञान सागर हुन्। तिमी पनि चैतन्य ज्ञान नदीहरू हौ। उनीहरू
त हुन् पानीका गङ्गाहरू। वास्तवमा नदीहरूका नाम राखिएको छ तर आसुरी सम्प्रदायले यो
पनि भुलेका छन्। हरिद्वारमा गङ्गाको किनारमा चतुर्भुजको चित्र देखाउँछन्। उनलाई पनि
गङ्गा भन्छन् तर मानिसहरूले बुझ्दैनन्– यी चतुर्भुज को हुन्। अवश्य यस समयमा तिमी
स्वदर्शन चक्रधारी बन्छौ। तिमी हौ सच्चा ज्ञान नदीहरू। तिनीहरू हुन् पानीका नदी।
त्यहाँ गएर स्नान गर्छन्। केही पनि बुझ्दैनन्। देवी हुन् भन्ने बुझे, भयो। मानिसका
त कहिल्यै ४-८ हात हुँदैनन्। केही पनि अर्थ बुझ्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ–
बाबाले हामीलाई के बनाउनुहुन्छ। हामी त १०० प्रतिशत बेसमझ थियौँ। बाबाको गोद लिएपछि
हामी स्वर्गका मालिक बन्छौँ। हुन त यहाँ कोही राजा पनि होलान् तर स्वर्गको सुख र
अहिलेको सुखमा रातदिनको फरक छ। तिमीहरूमा कोही यस्ता पनि छन् जसले बाबालाई नै
चिन्दैनन् भने आफूलाई पनि चिन्दैनन्। हेर्नुपर्छ– मैले कति सुगन्ध दिन्छु?
उल्टोसुल्टो त बोल्दिनँ? रिसाउन त रिसाउँदिन? यो बच्चा कस्तो छ, आचरणबाट बाबाले
तुरुन्तै जान्नुहुन्छ। सेवाधारी बच्चाहरू बाबालाई धेरै प्यारा लाग्छन्। सबै त समान
रूपले प्यारा हुन सक्दैनन्। यस्ता सेवाधारी बच्चाहरूको लागि भित्रैबाट स्वतः
आशीर्वाद निस्कन्छ। बाबाको अवज्ञाकारी बच्चा भयो भने बाबाले भन्नुहुन्छ– यस्तो बच्चा
मरेकै भलो। कति नाम बदनाम गर्छन्, यसलाई भनिन्छ तकदिर। कसको तकदिरमा के छ, तुरुन्तै
थाहा हुन्छ।
बाबा सम्झाउनुहुन्छ–
यो सपुत बच्चा हो, त्यो कपुत हो। बापदादालाई चिनेनन्, तकदिरमा वर्सा लिनुछैन भने के
गर्छन्। यस ज्ञानमार्गका नियमहरू धेरै कडा छन्। बाबा पवित्र बन्नुभयो र बच्चाहरू
बनेनन् भने त्यो बच्चा हकदार हुन सक्दैन। बाबाले त्यसलाई बच्चा सम्झनुहुन्न। फेरि
भन्छन्– हामीले त शिवबाबालाई वारिस बनाउँछौँ, त्यसैले बाबाले २१ जन्मको लागि
हामीलाई रिटर्नमा दिनुहुन्छ। यसको मतलब यो होइन– बाबाकहाँ आएर बस्नुछ। होइन, गृहस्थ
व्यवहारमै रहेर सबैलाई सम्हाल्नु पनि छ, तर ट्रस्टी भएर रहनुछ। यस्तो होइन– तिम्रा
बच्चा आदिलाई बाबा बसेर सम्हाल्नुहुन्छ। होइन, यस्ता विचार भएकाहरू भट्किन्छन्। यहाँ
बाबाकहाँ त बिल्कुलै पवित्र हुनुपर्छ। अपवित्र कोही बस्न सक्दैन। नत्र पत्थरबुद्धि
बन्छन्। बाबाले कुनै श्राप दिनुहुन्न। यो त एक नियम हो। बाबा भन्नुहुन्छ– फेरि
होसियार रहनुछ। कर्मेन्द्रियहरूबाट कुनै पाप गर्छ भने यो मरेजस्तै हो। मञ्जिल धेरै
उच्च छ। बाबाको बच्चा बन्यो भने फेरि रोगले सबै उथलपुथल पार्छ। डराउनुहुँदैन।
वैद्यहरूले पनि भन्छन्– फलानो औषधिले तिम्रो रोग बाहिर निस्कन्छ। तिमी नडराउनु। बाबा
पनि स्वयम् भन्नुहुन्छ– तिमी बाबाका बन्यौ भने माया रावणले तिमीलाई धेरै हैरान
पार्छ। खुब तुफानमा ल्याउँछ। अहिले तिमीलाई सही र गलतको बुद्धि मिलेको छ। अरू कसैको
सही गलतको बुद्धि हुँदैन, सबैको छ विनाश काले विपरीत बुद्धि। तिमीहरूमा पनि
नम्बरवार पुरुषार्थ अनुसार प्रीत बुद्धि हुन्छ। प्रीत बुद्धि भएकाहरूले धेरै राम्रो
बाबाको सेवा गर्छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) ईश्वरको बच्चा बनेर अलिकति पनि उहाँको आज्ञाको अवज्ञा गर्नुछैन। यी
कर्मेन्द्रियहरूबाट कुनै पनि कुकर्म गर्नुछैन। उल्टोसुल्टो वचन बोल्नुछैन। सपुत
बनेर बाबाको आशीर्वाद लिनुछ।
२) ट्रस्टी बनेर आफ्नो
गृहस्थ व्यवहारलाई सम्हाल्नुछ। ज्ञानमार्गका जुन नियमहरू छन् तिनमा पूरा पूरा
चल्नुछ। सही र गलतलाई बुझेर मायाबाट होसियार रहनुछ।
वरदान:–
तड्पिरहेका
भिखारी , तिर्खाएका आत्माहरूको तिर्खा मेटाउने सर्व खजानाले सम्पन्न भव
जसरी छालहरूमा
लहराइरहेको वा डुबिरहेको आत्माले एक त्यान्द्रोको सहारा खोज्छ। त्यसरी नै दुःखको एक
लहर आउन देऊ फेरि हेर अनेक सुखशान्तिका भिखारी आत्माहरू तड्पिँदै तिम्रो सामुन्ने
आउनेछन्। यस्ता तिर्खाएका आत्माहरूको तिर्खा मेटाउनको लागि आफूलाई अतीन्द्रिय सुख
वा सर्व शक्तिहरूले, सर्व खजानाहरूले भरपुर बनाऊ। सर्व खजाना यति जम्मा हुन् जसबाट
आफ्नो स्थिति पनि कायम रहन्छ र अन्य आत्माहरूलाई पनि सम्पन्न बनाउन सक्छौ।
स्लोगन:–
कल्याणको भावना
राखेर शिक्षा दियौ भने त्यस्तो शिक्षा दिलमा लाग्नेछ।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
सदा हर्षित रहनु यो
ज्ञानको गुण हो, यसमा केवल रुहानियत थप गर्नुछ। हर्षितपनको संस्कार पनि एक वरदान हो
जसले समयमा धेरै सहयोग दिन्छ। जो स्वयं सदा हर्षित रहन्छन् उनीहरूले जस्तोसुकै मन
भएकालाई पनि हर्षित बनाइदिन्छन्, सरल स्वभाव भएकाहरूले आफ्नो प्रसन्न हर्षित
अनुहारले चिन्तित वायुमण्डललाई पनि हल्का बनाइदिन्छन्।