03.08.25 Avyakt Bapdada Nepali Murli 28.03.2006 Om Shanti Madhuban
विश्वका आत्माहरूलाई
दु:खबाट छुटाउनका लागि मनसा सेवालाई बढाऊ , सम्पन्न र सम्पूर्ण बन
आज सर्व खजानाका
मालिक बापदादाले आफ्ना चारैतिरका सर्व खजाना सम्पन्न बच्चाहरूलाई देखिरहनुभएको छ।
बापदादाले हरेक बच्चालाई सर्व खजानाको मालिक बनाउनुभएको छ। दिने दाता एउटै
हुनुहुन्छ र सबैलाई एकैनासको सर्व खजाना दिनुभएको छ। कसैलाई कम, कसैलाई ज्यादा
दिनुभएको छैन। किन? बाबा अखुट खजानाको मालिक हुनुहुन्छ। खजाना बेहदको छ, त्यसैले
हरेक बच्चा अखुट खजानाको मालिक हो। बापदादाले सर्व बच्चाहरूलाई बराबर र एकैनासको
खजाना दिनुभएको छ। तर धारण गर्नेहरूमा कोही सर्व खजाना धारण गर्नेहरू छन् र कोही
यथाशक्ति धारण गर्नेहरू छन्। कोही नम्बर वन छन् र कोही नम्बरवार छन्। जसले जति पनि
धारण गरेका छन्, उनीहरूको अनुहारबाट, नयनबाट खजानाको नशा स्पष्ट देखिन्छ। खजानाले
भरपुर आत्मा अनुहारबाट, नयनबाट भरपुर देखिन्छ। जसरी स्थूल खजाना प्राप्त गर्ने
आत्माको चालचलनबाट, अनुहारबाट थाहा हुन्छ, त्यसैगरी यो अविनाशी खजानाको नशा, खुसी
स्पष्ट देखिन्छ। सम्पन्नताको नशाले बेफिक्र बादसाह बनाइदिन्छ। जहाँ ईश्वरीय नशा
हुन्छ, त्यहाँ फिक्र हुन सक्दैन, बेफिक्र बादसाह, बेगमपुरका बादसाह बन्छन्। त्यसैले
तिमीहरू सबै ईश्वरीय सम्पन्नताको खजानावाला बेफिक्र बादसाह हौ नि! बेगमपुरका बादसाह
हौ। कुनै फिक्र छ र? कुनै गम (चिन्ता) छ? के हुन्छ, कस्तो हुन्छ, यसको पनि फिक्र
छैन। तिमी त्रिकालदर्शी स्थितिमा स्थित रहनेहरूले जान्दछौ– जे भइरहेको छ, त्यो सबै
राम्रो, जे हुनेवाला छ, त्यो झन् राम्रो। किन? सर्वशक्तिमान् बाबा साथी हुनुहुन्छ,
साथ रहनुहुन्छ। हरेकलाई नशा छ, यही नशा छ– बापदादा सदैव हाम्रो दिलमा हुनुहुन्छ र
हामी सदैव बाबाको दिलतख्तमा रहन्छौँ। त्यसैले यस्तो नशा छ नि! जो दिलतख्तनसिन छन्,
उनको सङ्कल्प त के, सपनामा पनि दु:खको लहर, अलिकति पनि आउन सक्दैन। किन? सर्व
खजानाले भरपुर छौ, जुन भरपुर चीज हुन्छ, त्यसमा हलचल हुँदैन।
त्यसैले चारैतिरका
बच्चाहरूको सम्पन्नता देखिरहनुभएको थियो, बापदादाले हरेकको जम्माको खाता जाँच
गर्नुभयो। खजाना त अखुट मिलेको छ तर जति खजाना मिलेको छ, त्यो खजानालाई खर्च गरेर
सकियो वा मिलेको खजानालाई कार्यमा लगाएर पनि बढाएका छौ? कति प्रतिशतमा हरेकको खातामा
जम्मा छ? किनकि यो खजाना केवल अब यो समयको लागि होइन, यो खजाना भविष्यमा पनि साथमा
जानेछ। जम्मा भएको नै साथ जान्छ। त्यसैले प्रतिशत देखिरहनुभएको थियो। के देख्नुभयो?
सेवा त सबै बच्चाहरूले यथा योग्य वा यथा शक्ति गरिरहेका छन् तर सेवाको फल जम्मा हुन,
त्यसमा अन्तर हुन्छ। कयौँ बच्चाहरूको जम्माको खाता देख्नुभयो, सेवा धेरै गर्छन् तर
सेवा गरेको फल जम्मा भयो वा भएन, त्यसको निसानी के हुन्छ? सेवा जुनसुकै होस्, चाहे
मनसा, चाहे वाचा, चाहे कर्मणा, तीनैमा १०० प्रतिशत अङ्क हुन्छ। तीनैमा १०० प्रतिशत
छ। सेवा त गरियो तर यदि सेवा गर्ने समयमा वा सेवापछि स्वयं आफ्नो मनमा, आफैसँग
सन्तुष्ट छन् र साथमा जसको सेवा गरियो, जो सेवामा साथी बन्छन् वा जसले सेवा
गर्नेलाई देख्छन्, सुन्छन्, उनीहरू पनि सन्तुष्ट छन् भने सम्झ जम्मा भयो। स्वको
सन्तुष्टता, सर्वको सन्तुष्टता छैन भने जम्माको प्रतिशत कम हुन्छ। यथार्थ सेवाको
विधि पहिला पनि बताइएको छ– तीन कुरा विधिपूर्वक छन् भने जम्मा भएको छ, त्यो सुनाइएको
छ– एक निमित्त भाव, दोस्रो निर्मान भावना, तेस्रो निर्मल स्वभाव, निर्मल वाणी।
भाव-भावना, स्वभाव र बोली। यदि यी तीन कुरामा एक कुरा पनि कम छ, एक छ, दुई छैन, दुई
छन्, एक छैन भने त्यो कमजोरीले जम्माको प्रतिशत घटाइदिन्छ। त्यसैले चारै विषयमा
आफूलाई जाँच गर– के चारै विषयमा मेरो खातामा जम्मा भएको छ? किन? बापदादाले देख्नुभयो–
कयौँको चार कुरा जुन सुनाएँ, भाव, भावना... त्यस प्रमाण कैयौँ बच्चाहरूको सेवा
समाचार धेरै छ तर जम्माको खाता कम छ।
हर खजानालाई जाँच गर–
ज्ञानको खजाना अर्थात् जे जति सङ्कल्प, कर्म गरियो, त्यो नलेजफुल भएर गरियो? साधारण
त भएन? योग अर्थात् सर्व शक्तिको खजानाले भरपुर होस्। त्यसैले जाँच गर– हरेक दिनको
दिनचर्यामा समय अनुसार जुन शक्तिको आवश्यकता छ, त्यही समयमा त्यो शक्ति अडरमा रह्यो?
मास्टर सर्वशक्तिवानको अर्थ नै हो मालिक। यस्तो त होइन– समय बितेपछि शक्तिको विषयमा
सोचिरहन्छौ। यदि समयमा अडर गर्दा शक्ति इमर्ज हुँदैन, एक शक्तिलाई पनि यदि आदेशमा
चलाउन सक्दैनौ भने निर्विघ्न राज्यको अधिकारी कसरी बन्छौ? त्यसैले शक्तिहरूको खजाना
कति जम्मा भएको छ? जसले समयमा कार्यमा लगाउँछन्, त्यो जम्मा हुन्छ। जाँच गर्दै
गइरहेका छौ– मेरो खाता कस्तो छ? किनकि बापदादालाई सबै बच्चाहरूसँग अति प्यार छ,
बापदादा यही चाहनुहुन्छ– सबै बच्चाहरूको जम्माको खाता भरपुर होस्। धारणामा पनि
भरपुर, धारणाको निसानी हो– हरेक कर्म गुण सम्पन्न हुन्छ। जुन समयमा जुन गुणको
आवश्यकता छ, त्यो गुण अनुहार, चालचलनमा प्रत्यक्ष देखियोस्। यदि कुनै पनि गुणको कमी
छ, मानौँ सरलताको गुणको कर्मको समयमा आवश्यकता छ, मधुरताको आवश्यकता छ, चाहे बोलीमा,
चाहे कर्ममा, यदि सरलता, मधुरताको सट्टा अलिकति पनि आवेश वा थकावटको कारण बोली मधुर
छैन, अनुहार मधुर छैन, गम्भीर छ भने गुण सम्पन्न त भनिँदैन नि! जस्तोसुकै परिस्थिति
होस् तर मेरो जुन गुण छ, त्यो मेरो गुण प्रत्यक्ष हुनुपर्छ। अहिले संक्षेपमा
सुनाइरहेको छु।
त्यसैगरी सेवा– सेवामा
सेवाधारीको सबैभन्दा राम्रो निसानी हो– स्वयं पनि सदैव हल्का, लाइट र खुसनुमा (खुसी)
देखियोस्। सेवाको फल हो खुसी। यदि सेवा गर्दा खुसी गायब हुन्छ भने सेवाको खाता जम्मा
हुँदैन। सेवा गरियो, समय लगायो, मेहनत गरियो भने थोरै प्रतिशतमा त्यो जम्मा हुन्छ,
खेर जाँदैन। तर जति प्रतिशतमा जम्मा हुनुपर्छ, त्यति हुँदैन। त्यसैगरी
सम्बन्ध-सम्पर्कको निसानी– आशीर्वादको प्राप्ति होस्। जसको पनि सम्बन्ध-सम्पर्कमा
आयौ, उसको मनबाट तिमी प्रति आशीर्वाद निस्कियोस्– धेरै राम्रो, बाहिरबाट होइन,
दिलबाट निस्कियोस्। दिलबाट आशीर्वाद निस्कियोस् र आशीर्वाद प्राप्त छ भने, आशीर्वाद
मिल्नु– यो धेरै सहज पुरुषार्थको साधन हो। केही छैन भाषण नगर, मानौँ मनसा सेवा पनि
त्यति पावरफुल छैन। कुनै नयाँ नयाँ योजना बनाउन आउँदैन भने पनि कुनै हर्जा छैन।
सबैभन्दा सहज पुरुषार्थको साधन हो– आशीर्वाद लेऊ, आशीर्वाद देऊ। त्यसैगरी बापदादाले
कयौँ बच्चाहरूको मनको सङ्कल्प पढ्नुहुन्छ। कयौँ बच्चाहरू समय अनुसार, परिस्थिति
अनुसार भन्छन्– यदि कसैले खराब काम गर्छ भने उसलाई आशीर्वाद कसरी दिने? उसमाथि त
क्रोध आउँछ नि, आशीर्वाद कसरी दिने! फेरि क्रोधका बालबच्चा पनि त धेरै छन्। तर उसले
खराब काम गर्यो, ऊ खराब हो, तिमीले ठीक बुझ्यौ– यो खराब हो। यो निर्णय त राम्रो
गरियो, बुझ्यौ राम्रो तर एउटा हुन्छ बुझ्नु, अर्को हुन्छ उसको खराब काम, खराब
कुरालाई आफ्नो दिलमा राख्नु। बुझ्नु र दिलमा राख्नु फरक हो। यदि तिमी समझदार छौ भने,
के समझदारले कुनै खराब चीज आफूसँग राख्छ! ऊ खराब हो, तिमीले दिलमा राख्यौ अर्थात्
तिमीले खराब चीज आफूसँग राख्यौ, सम्हाल्यौ। बुझ्नु अलग चीज हो, मनमा राख्नु अलग चीज
हो। समझदार बन्नु त ठीक छ, समझदार बन तर मनमा नराख। यो त यस्तै हो भनेर मनमा राख्यौ।
यस्तो सम्झेर व्यवहारमा आउनु, यो समझदारी होइन। त्यसैले बापदादाले जाँच गर्नुभयो,
अहिले समय त्यत्तिकै नजिक आउनेछैन, तिमीले ल्याउनुछ। कयौँले सोध्छन्– थोरै इसारा त
दिनुहोस् न– १० वर्ष लाग्छ, २० वर्ष लाग्छ, कति समय लाग्छ!
बाबाले बच्चाहरूसँग
प्रश्न गर्नुहुन्छ, बाबासँग त प्रश्न धेरैले गर्छन् नि, त्यसैले आज बाबाले
बच्चाहरूसँग प्रश्न गर्नुहुन्छ– समयलाई नजिक ल्याउने को हो? ड्रामा हो तर निमित्त
को? तिमीहरूको एउटा गीत पनि छ, कसले रोक्नाले रोकिएको छ बिहानी। छ नि गीत? त्यसैले
बिहानी ल्याउने को? विनाशकारीहरू त तड्पिरहेका छन्– विनाश गरौँ, विनाश गरौँ... तर
नव निर्माण गर्नेहरू त्यति तयार छन्? यदि पुरानो खतम भयो, नयाँ निर्माण भएन भने के
हुन्छ? त्यसैले बापदादाले अहिले बाबाको सट्टा टिचरको रूप धारण गर्नुभएको छ। होमवर्क
दिनुभएको छ नि? कसले होमवर्क दिन्छ? टिचरले। अन्त्यमा छ सद्गुरुको पार्ट। त्यसैले
आफैसँग सोध– सम्पन्न र सम्पूर्ण स्टेज कहाँसम्म बनेको छ? के आवाजभन्दा पर वा आवाजमा
आउनु, दुवै समान छन्? जसरी आवाजमा आउन जब चाह्यो सहज छ, त्यसैगरी आवाजभन्दा पर हुन
जब चाह्यो, जसरी चाह्यो, त्यस्तै सहज छ? सेकेन्डमा आवाजमा आउन सकिन्छ, सेकेन्डमा
आवाजभन्दा पर हुन सकिन्छ– यति अभ्यास छ? जसरी शरीरद्वारा जब चाह्यो, जहाँ चाह्यो,
त्यहाँ आउन-जान सकिन्छ नि। त्यसैगरी मन बुद्धिद्वारा जब चाह्यो, जहाँ चाह्यो, त्यहाँ
आउन-जान सकिन्छ? किनकि अन्त्यमा पास मार्क्स उसलाई मिल्छ जो सेकेन्डमा जे चाह्यो,
जसरी चाह्यो, जे आदेश गर्न चाह्यो, त्यसमा सफल हुन्छ। वैज्ञानिकहरूले पनि यही
प्रयत्न गरिरहेका छन्, सहज पनि होस् र कम समयमा पनि होस्। त्यसैले यस्तो स्थिति
बनेको छ? के मिनेटसम्म आएका छौ, सेकेन्डसम्म आएका छौ, कहाँसम्म पुगेका छौ? जसरी
लाइट हाउस, माइट हाउसले सेकेन्डमा अन गर्नासाथ आफ्नो लाइट फैलाउँछन्, त्यसैगरी
तिमीले सेकेन्डमा लाइट हाउस बनेर चारैतिर लाइट फैलाउन सक्छौ? यो स्थूल आँखाले एक
स्थानमा बसेर टाढासम्म देख्न सक्छ नि! फैलाउन सक्छ नि आफ्नो दृष्टि! त्यसैगरी तिमीले
तेस्रो नेत्रद्वारा एक स्थानमा बसेर चारैतिर वरदाता, विधाता बनेर नजरले निहाल गर्न
सक्छौ? आफूलाई सबै कुरामा जाँच गरिरहेका छौ? तेस्रो नेत्र यति क्लिन र क्लियर छ? सबै
कुरामा थोरै पनि कमजोरी छ भने, त्यसको कारण पहिला पनि सुनाइएको छ– यो हदको लगाव “म
र मेरो” हो। जसरी “म” को लागि स्पष्ट गरिएको थियो– होमवर्क पनि दिइएको थियो। दुई
“म” लाई समाप्त गरेर एक “म” राख्नुछ। सबैले यो होमवर्क गर्यौ? जो यो होमवर्कमा सफल
भयौ, उनीहरूले हात उठाऊ। बापदादाले सबैलाई देख्नुभएको छ। हिम्मत राख, नडराऊ, हात
उठाऊ। राम्रो छ, बधाई मिल्छ। धेरै कम छन्। यिनीहरू सबैको हात टिभीमा देखाऊ। धेरै
कमले हात उठाएका छन्। अब के गर्ने? सबैलाई आफैमाथि हाँसो पनि आइरहेको छ।
अच्छा– दोस्रो
होमवर्क थियो– क्रोधलाई छोड्नुछ, यो त सहज छ नि! त्यसोभए क्रोधलाई कसले छोड्यौ? यति
दिनसम्म क्रोध गरेनौ? (यसमा धेरैले हात उठाए) यसमा थोरै ज्यादा छन्, जसले क्रोध
गरेनन्, तिमीहरूको वरपर रहनेहरूलाई पनि सोधिनेछ। जसले हात उठाए, उनीहरू उठ। अच्छा,
धेरै छन्। क्रोध गरेनौ? सङ्कल्पमा, मनमा क्रोध आयो? ल, फेरि पनि बधाई छ, यदि मनमा
आयो, मुखबाट गरेनौ भने पनि बधाई छ। धेरै राम्रो।
त्यसैले तिमी आफैले
नतिजाको हिसाबले हेर– के स्थापनाको कार्य, स्वलाई सम्पन्न बनाउन र सर्व आत्माहरूलाई
मुक्तिको वर्सा दिलाउन, यो सम्पन्न भएको छ? स्वयंलाई जीवनमुक्ति स्वरूप बनाउनु र
सर्व आत्माहरूलाई मुक्तिको वर्सा दिलाउनु– यो हो स्थापक आत्माहरूको श्रेष्ठ कर्म।
त्यसैले बापदादा यसकारण सोध्नुहुन्छ कि सर्व बन्धनहरूबाट मुक्त, जीवनमुक्तको स्टेजमा
सङ्गममा नै पुग्नुछ वा सत्ययुगमा पुग्नुछ? सङ्गमयुगमा सम्पन्न हुनुछ वा त्यहाँ पनि
राजयोग गरेर सिक्नुछ? सम्पन्न त यहाँ बन्नुछ नि? सम्पूर्ण पनि यहीँ बन्नुछ।
सङ्गमयुगको समयको पनि सबैभन्दा ठुलो खजाना छ। त्यसैले कसले रोक्नाले रोकिएको छ
बिहानी, बताऊ?
बापदादा के
चाहनुहुन्छ? किनकि बाबाका आशाका दीपक बच्चाहरू नै हुन्। त्यसैले आफ्नो खाता
राम्रोसँग जाँच गर। कयौँ बच्चाहरूलाई त देख्नुभयो, कयौँ बच्चाहरू त मौजीराम छन्,
मौजमा चलिरहेका छन्। जे भयो, सो राम्रो। अहिले त मौज मनाइहालौँ, सत्ययुगमा कसले
देख्छ, कसले जान्दछ। त्यसैले जम्माको खातामा यस्ता मौजीलाल भन, मौजीराम भन, यस्ता
पनि बच्चाहरू देख्नुभयो। मौज गर। अरूलाई पनि भन्छन्– अरे के गर्नुछ, मौज गर। खाऊ,
पिऊ, मौज गर। गर मौज, बाबाले पनि भन्नुहुन्छ– गर मौज। यदि थोरैमा राजी हुनेहरू हौ
भने थोरैमा राजी होऊ। विनाशी साधनहरूको मौज अल्पकालको हुन्छ। सदाकालको मौजलाई छोडेर
यदि अल्पकालको साधनको मौजमा रहन चाहन्छौ भने बापदादाले के भन्नुहुन्छ? इसारा
दिनुहुन्छ, अरू के गर्नुहुन्छ र? कोही हीराको खानीमा गएर दुई हीरा लिएर खुसी हुन्छ
भने उसलाई के भनिन्छ? त्यसैले यस्तो नबन। अतीन्द्रिय सुखको मौजको झुलामा झुल।
अविनाशी प्राप्तिहरूको झुलाको मौजमा झुल। ड्रामामा हेर, मायाको पार्ट पनि विचित्र
छ। यही समयमा यस्ता यस्ता साधन निस्किएका छन्, जुन पहिला छँदै थिएनन्। तर बिना साधन
पनि जसले साधना गरे, सेवा गरे, उनीहरूका उदाहरण पनि अगाडि छन् नि! यी साधन के थिए?
तर सेवा कति भयो? क्वालिटी त निस्किए नि! आदि रत्न त तयार भए नि! यो साधनहरूको
आकर्षण हो। साधनहरूलाई प्रयोग गर्नु गलत भनिँदैन तर साधनालाई भुलेर साधनमा लाग्नु,
यसलाई बापदादाले गलत भन्नुहुन्छ। साधन जीवनको उड्ती कलाको साधन होइन, आधार होइन।
साधना आधार हो। यदि साधनाको सट्टा साधनहरूलाई आधार बनायौ भने नतिजा के हुन्छ? साधन
विनाशी छन्, नतिजा के हुन्छ? साधना अविनाशी छ, त्यसको नतिजा के हुन्छ? अच्छा!
चारैतिरका बच्चाहरूको
पुरुषार्थ र प्यारका समाचारपत्र बापदादालाई मिलेका छन्, बापदादाले बच्चाहरूको
उमङ्ग-उत्साह देखेर– यो गर्नेछौँ, यो गर्नेछौँ... यो समाचार सुनेर खुसी हुनुहुन्छ।
अहिले केवल जुन हिम्मत राखेका छौ, उमङ्ग-उत्साह राखेका छौ, यसलाई बारम्बार अटेन्सन
दिएर यथार्थमा ल्याउनुछ। यही सबै बच्चाहरूप्रति बापदादाको दिलको आशीर्वाद हो र सबै
चारैतिरका सङ्कल्प, बोली र कर्ममा, सम्बन्ध-सम्पर्कमा सम्पन्न बन्ने श्रेष्ठ
आत्माहरूलाई, सदा स्वदर्शन गर्ने, स्वदर्शन चक्रधारी बच्चाहरूलाई, सदा दृढ
सङ्कल्पद्वारा मायाजित बनेर बाबाको अगाडि स्वयंलाई प्रत्यक्ष गर्ने र विश्वको अगाडि
बाबालाई प्रत्यक्ष गर्ने सर्भिसएबल, नलेजफुल, सक्सेसफुल बच्चाहरूलाई बापदादाको
यादप्यार एवं दिलबाट पदम पदमगुणा आशीर्वाद छ, नमस्ते छ। नमस्ते। रुहानी बच्चाहरूको
रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
सच्चा सफा
दिलको आधारले नम्बर वन लिने दिलाराम प्रिय भव
दिलाराम बाबालाई सच्चा
दिल भएका बच्चाहरू नै मन पर्छ। दुनियाँको दिमाग नभए पनि सच्चा सफा दिल छ भने नम्बर
वन लिन्छन् किनकि दिमाग त बाबाले यति ठुलो दिनुहुन्छ, जसबाट रचयितालाई जान्नाले
रचनाको आदि, मध्य, अन्त्यको नलेजलाई जान्दछौ। त्यसैले सच्चा सफा दिलको आधारले नै
नम्बर बन्छ, सेवाको आधारले होइन। सच्चा दिलको सेवाको प्रभाव दिलसम्म पुग्छ। दिमाग
भएकाले नाम कमाउँछन् र दिल भएकाले आशीर्वाद कमाउँछन्।
स्लोगन:–
सबैप्रति
शुभचिन्तन र शुभकामना राख्नु नै सच्चा परोपकार हो।
अव्यक्त इसारा –
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
जुन बच्चाहरू परमात्म
प्यारमा सदैव लवलीन, परमात्मा प्यारमा हराएका हुन्छन्, उनीहरूको झलक र फलक,
अनुभूतिको किरण यति शक्तिशाली हुन्छ, जसबाट कुनै पनि समस्या नजिक आउनु त परै जाओस्
आँखा उठाएर पनि हेर्न सक्दैन। उनीहरूलाई कहिल्यै पनि कुनै पनि प्रकारको मेहनत हुन
सक्दैन।