03.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
आउनुभएको छ निर्विकारी दुनियाँ बनाउन , तिम्रो चरित्र सुधार्न , तिमी भाइ भाइ हौ
त्यसैले तिम्रो दृष्टि धेरै शुद्ध हुनुपर्छ।”
प्रश्न:–
तिमी बच्चाहरू
बेफिक्र बादसाह हौ तैपनि एउटा मूल चिन्ता अवश्य हुनुपर्छ– कुनचाहिँ?
उत्तर:–
म पतितबाट
पावन कसरी बनुँ– यो हो मूल चिन्ता। यस्तो नहोस्– बाबाको बनेर फेरि बाबाको अगाडि
सजाय भोग्नुपरोस्। सजायबाट छुट्ने चिन्ता होस्, नत्र त्यस समयमा धेरै लाज लाग्नेछ।
बाँकी तिमी बेपरवाह बादसाह हौ, सबैलाई बाबाको परिचय दिनुछ। कसैले बुझ्यो भने बेहदको
मालिक बन्छ, बुझेन भने उसको तकदिर। तिमीलाई परवाह छैन।
ओम् शान्ति ।
रुहानी बाबा
जसको नाम शिव हो, उहाँ बसेर आफ्ना बच्चाहरूलाई सम्झाउनुहुन्छ। रुहानी बाबा सबैका
एउटै हुनुहुन्छ। पहिला सुरुमा यो कुरा सम्झाउनुछ, त्यसपछि अगाडि बुझ्न सहज हुनेछ।
यदि बाबाको परिचय नै मिलेको छैन भने प्रश्न गरिरहन्छन्। सबैभन्दा पहिला त यो निश्चय
गराउनुछ। सारा दुनियाँलाई यो थाहा छैन– गीताका भगवान को हुनुहुन्छ। उनीहरूले
श्रीकृष्णलाई गीताका भगवान भन्छन्, हामीले भन्छौँ– परमपिता परमात्मा शिव गीताका
भगवान हुनुहुन्छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ। मुख्य हो सर्वशास्त्रमयी शिरोमणि
गीता। भगवानको लागि नै भनिन्छ– हे प्रभु हजुरको गति-मत न्यारा छ! श्रीकृष्णको लागि
यस्तो भनिँदैन। बाबा जो सत्य हुनुहुन्छ, उहाँले अवश्य सत्य नै सुनाउनुहुन्छ। दुनियाँ
पहिला नयाँ सतोप्रधान थियो। अहिले दुनियाँ पुरानो तमोप्रधान छ। दुनियाँलाई परिवर्तन
गर्ने एक बाबा मात्रै हुनुहुन्छ। बाबाले कसरी परिवर्तन गर्नुहुन्छ, त्यो पनि
सम्झाउनुपर्छ। आत्मा सतोप्रधान बनेपछि मात्र सतोप्रधान दुनियाँ पनि स्थापना हुन्छ।
पहिला सुरुमा तिमी बच्चाहरू अन्तर्मुखी हुनुछ । धेरै तर्कवितर्क गर्नुछैन। भित्र पसे
भने धेरै चित्र देखेर सोधिरहन्छन्। पहिला सुरुमा सम्झाउने एउटै कुरा नै हो। धेरै
सोध्ने मार्जिन नरहोस्। भन, पहिला त एउटा कुरामा निश्चय गर्नुहोस् फेरि अगाडि
सम्झाउँछौँ, फेरि तिमीले ८४ जन्मको चक्करमा ल्याउन सक्छौ। बाबा भन्नुहुन्छ– म धेरै
जन्मको अन्त्यमा प्रवेश गर्छु। यिनलाई नै बाबाले भन्नुहुन्छ– तिमीले आफ्नो जन्मलाई
जान्दैनौ। बाबाले हामीलाई प्रजापिता ब्रह्माद्वारा सम्झाउनुहुन्छ। पहिला सुरुमा
अल्फ (बाबा) मा नै सम्झाउनुहुन्छ। अल्फलाई चिने भने फेरि कुनै संशय हुनेछैन। भन–
बाबा सत्य हुनुहुन्छ, उहाँले कहिल्यै पनि असत्य सुनाउनुहुन्न। बेहदका बाबाले नै
राजयोग सिकाउनुहुन्छ। शिवरात्रि मनाइन्छ भने अवश्य शिव यहाँ आउनुभएको होला नि! जसरी
श्रीकृष्णजयन्ती पनि यहाँ मनाइन्छ। भन्नुहुन्छ– मैले ब्रह्माद्वारा स्थापना गर्छु।
ती सबै एउटै निराकार बाबाका बच्चाहरू हुन्। तिमीहरू उहाँका बच्चा हौ र फेरि
प्रजापिता ब्रह्माका पनि सन्तान हौ। प्रजापिता ब्रह्माद्वारा स्थापना गर्नुभयो भने
अवश्य ब्राह्मण-ब्राह्मणीहरू होलान्। भाइ-बहिनी भयौ, यसरी पवित्रता हुन्छ। यो हो
गृहस्थ व्यवहारमा रहेर पवित्र रहने विधि। भाइ-बहिनीको कहिल्यै विकारी दृष्टि
हुनुहुँदैन। २१ जन्म दृष्टि सुध्रिन्छ। बाबाले नै बच्चाहरूलाई शिक्षा दिनुहुन्छ नि।
चरित्र सुधार्नुहुन्छ। अहिले नै सारा दुनियाँको चरित्र सुध्रिनुछ। यो पुरानो पतित
दुनियाँमा कुनै चरित्र छैन। सबैमा विकार छन्। यो हो नै पतित विषय दुनियाँ। फेरि
निर्विकारी दुनियाँ कसरी बन्छ? बाबा सिवाय अरू कसैले नयाँ दुनियाँ बनाउन सक्दैन।
अहिले बाबाले पवित्र बनाइरहनुभएको छ। यी सबै गुप्त कुरा हुन्। हामी आत्मा हौँ, आत्मा
परमात्मा बाबासँग मिल्नुछ। सबैले पुरुषार्थ गर्छन् नै भगवानसँग मिल्नको लागि। भगवान
एक निराकार हुनुहुन्छ। लिबरेटर (मुक्तिदाता), गाइड पनि परमात्मालाई नै भनिन्छ। अरू
धर्मकाले कसैलाई लिबरेटर, गाइड भन्दैनन्। परमपिता परमात्माले नै आएर लिबरेट
गर्नुहुन्छ अर्थात् तमोप्रधानबाट सतोप्रधान बनाउनुहुन्छ। गाइड पनि गर्नुहुन्छ,
त्यसैले पहिला सुरुमा यो एउटै कुरा बुद्धिमा बसालिदेऊ। यदि बुझ्दैनन् भने
छोडिदिनुपर्छ। अल्फलाई चिनेनन् भने बेबाट के फाइदा, ठीकै छ जाऊन्। तिमी नअल्झिनु।
तिमी बेपरवाह बादसाह हौ। असुरहरूको विघ्न पर्नु नै छ। यो हो नै रुद्र ज्ञान यज्ञ।
त्यसैले पहिला सुरुमा बाबाको परिचय दिनुछ। बाबा भन्नुहुन्छ– मनमनाभव। जति पुरुषार्थ
गर्छौ, त्यसै अनुसार पद पाउँछौ। आदि सनातन देवीदेवता धर्मको राज्य स्थापना भइरहेको
छ। यी लक्ष्मी-नारायणको राजवंश हुन्छ। अरू धर्मकाले कुनै राजवंश स्थापना गर्दैनन्।
बाबा त आएर सबैलाई मुक्त गर्नुहुन्छ। फेरि आआफ्नो समयमा अरू अरू धर्म स्थापकहरूले
आएर आफ्नो धर्म स्थापना गर्नुछ। वृद्धि हुनुछ। पतित बन्नु नै छ। पतितबाट पावन बनाउने,
यो त बाबाको नै काम हो। उनीहरूले त केवल आएर धर्म स्थापना गर्नेछन्। त्यसमा
प्रशंसाको कुरा नै छैन। महिमा छ नै एउटैको। उनीहरू त कति क्राइस्टको पछाडि लाग्छन्।
उनीहरूलाई पनि सम्झाउनुपर्छ– लिबरेटर गाइड त गड फादर नै हुनुहुन्छ। उहाँको पछाडि
क्रिस्चियन धर्मका आत्माहरू आइरहन्छन्, तल ओर्लिरहन्छन्। दु:खबाट छुटाउने त एउटै
बाबा हुनुहुन्छ। यी सबै प्वइन्टहरू बुद्धिमा राम्रोसँग धारण गर्नुछ। एक ईश्वरलाई नै
दयालु भनिन्छ। एक जना मानिसले पनि कसैमाथि दया गर्दैनन्। दया हुन्छ बेहदको। एक
बाबाले नै सबैमाथि कृपा गर्नुहुन्छ। सत्ययुगमा सबै सुखशान्तिमा रहन्छन्। दु:खको कुरा
नै हुँदैन। बच्चाहरूले एउटा कुरा अल्फमा कसैलाई निश्चय गराउँदैनन्, अरू अरू कुरामा
जान्छन् फेरि भन्छन्– यिनलाई सम्झाउँदा घाँटी नै सुक्यो। सबैभन्दा पहिला बाबाको
परिचय दिनुछ। तिमी अरू कुरामा जानु नै छैन। भन, बाबाले त सत्य बोल्नुहुन्छ नि। हामी
बी.के.लाई बाबाले नै सुनाउनुहुन्छ। यी चित्र सबै उहाँले बनाउनुभएको हो, यसमा संशय
ल्याउनुहुँदैन। संशयबुद्धि विनश्यन्ति। पहिला तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई
याद गरेमा विकर्म विनाश हुन्छन्। अरू कुनै उपाय छैन। पतितपावन त एउटै हुनुहुन्छ नि।
बाबा भन्नुहुन्छ– देहका सबै सम्बन्ध छोडेर म एकलाई याद गर। बाबा जसमा प्रवेश
गर्नुहुन्छ, उनी पनि फेरि पुरुषार्थ गरेर सतोप्रधान बन्नुछ। उनी बन्छन् पुरुषार्थले।
फेरि ब्रह्मा र विष्णुको कनेक्सन (सम्बन्ध) पनि बताउनुहुन्छ। बाबाले तिमी
ब्राह्मणहरूलाई राजयोग सिकाउनुहुन्छ, त्यसबाट तिमीहरू विष्णुपुरीको मालिक बन्छौ।
फेरि तिमीले नै ८४ जन्म लिएर अन्त्यमा शूद्र बन्छौ। फेरि बाबा आएर शूद्रबाट
ब्राह्मण बनाउनुहुन्छ। यस्तो अरू कसैले बताउन सक्दैन। सबैभन्दा पहिलो कुरा हो बाबाको
परिचय दिनु। बाबा भन्नुहुन्छ– मलाई नै पतितहरूलाई पावन बनाउन यहाँ आउनुपर्छ। यस्तो
होइन– माथिबाट प्रेरणा दिन्छु। यिनको नै नाम हो भागीरथ। त्यसैले अवश्य यिनमा नै
प्रवेश गर्नुहुन्छ। यो हो पनि धेरै जन्मको अन्त्यको जन्म । फेरि सतोप्रधान बन्छन्।
त्यसको लागि बाबाले युक्ति बताउनुहुन्छ– आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। म नै
सर्वशक्तिमान् हुँ। मलाई याद गरेमा तिमीमा शक्ति आउँछ। तिमी विश्वको मालिक बन्छौ।
यो लक्ष्मी-नारायणको वर्सा यिनीहरूलाई बाबाबाट मिलेको हो। कसरी मिल्यो, त्यो
सम्झाउनुहुन्छ। प्रदर्शनी, सङ्ग्रहालय आदिमा पनि तिमीले भनिदेऊ– पहिला एउटा कुरालाई
बुझ्नुहोस्, फेरि अरू कुरामा जानुछ। यो बुझ्न धेरै जरुरी छ। नत्र तपाईं दु:खबाट
छुट्न सक्नुहुन्न। पहिला निश्चय नगरेसम्म केही बुझ्न सक्नुहुन्न। यो समयमा छ नै
भ्रष्टाचारी दुनियाँ। देवी-देवताहरूको दुनियाँ श्रेष्ठाचारी थियो। यो तरिकाले
सम्झाउनुछ। मानिसहरूको नाडी पनि छाम्नुपर्छ– केही बुझ्छन् कि बिर्सिन्छन्? यदि
त्यस्तै रहेछ भने फेरि छोडिदिनुपर्छ। टाइम वेस्ट गर्नु हुँदैन। चातक, पात्रलाई
जाँच्ने पनि बुद्धि चाहिन्छ। जसले बुझ्छ उसको अनुहार नै फेरिन्छ। पहिला सुरुमा त
खुसीको कुरा दिनुछ। बेहदका बाबाबाट बेहदको वर्सा मिल्छ नि। बाबालाई थाहा छ– यादको
यात्रामा बच्चाहरू धेरै अल्छी छन्। बाबालाई याद गर्नमा मेहनत छ। त्यसमा नै मायाले
धेरै विघ्न पार्छ। यो पनि खेल बनेको छ। बाबा बसेर सम्झाउनुहुन्छ– कसरी यो खेल
बनिबनाउ छ। दुनियाँका मानिसहरूले अलिकति पनि जान्दैनन्।
बाबाको यादमा रहेमा
तिमीले जसलाई सम्झाउँदा पनि एकरस हुन्छौ। नत्र केही न केही कमीकमजोरी निकालिरहन्छन्।
बाबा भन्नुहुन्छ– तिमीले कुनै धेरै तकलिफ नलेऊ। स्थापना त अवश्य हुनु नै छ। भावीलाई
कसैले पनि टार्न सक्दैन। उल्लासमा रहनुपर्छ। बाबाबाट हामीले बेहदको वर्सा लिइरहेका
छौँ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। बसेर धेरै प्रेमले सम्झाउनुछ। बाबालाई याद
गर्दा प्रेममा आँसु आउनुपर्छ। अरू सबै सम्बन्ध त कलियुगी हुन्। यो हो रुहानी बाबाको
सम्बन्ध। तिम्रो यो आँसु पनि विजयमालाको दाना बन्छ। धेरै कम छन्– जसले यस्तो प्रेमले
बाबालाई याद गर्छन्। कोसिस गरेर जति हुनसक्छ आफूले टाइम निकालेर आफ्नो भविष्यलाई
उच्च बनाउनुपर्छ। प्रदर्शनीमा त्यति धेरै बच्चाहरू हुनुहुँदैन। न त्यति धेरै
चित्रहरूको आवश्यकता छ। नम्बरवन चित्र हो– गीताका भगवान को हुनुहुन्छ? त्यसको छेउमा
लक्ष्मी-नारायणको, सिँढीको चित्र। बस्। बाँकी यति धेरै चित्र कुनै कामका छैनन्। तिमी
बच्चाहरूले जति हुनसक्छ, यादको यात्रालाई बढाउनुछ। मूल चिन्ता राख्नुछ– पतितबाट
पावन कसरी बनौँ! बाबाको बनेर अनि फेरि बाबाको अगाडि गएर सजाय खानु– यो त ठुलो
दुर्गतिको कुरा हो। अहिले यादको यात्रामा रहेनौ भने फेरि बाबाको अगाडि सजाय खाने
समयमा एकदम लाज लाग्नेछ। सजाय खानु नपरोस्, यसमा सबैभन्दा धेरै फिक्र राख्नुछ। तिमी
रूप पनि हौ, बसन्त पनि हौ। बाबा पनि भन्नुहुन्छ– म रूप पनि हुँ, बसन्त पनि हुँ। सानो
बिन्दु हुँ र फेरि ज्ञानको सागर पनि हुँ। तिम्रो आत्मामा सारा ज्ञान भर्छु। ८४
जन्मको सारा रहस्य तिम्रो बुद्धिमा छ। तिमीले ज्ञानको स्वरूप बनेर ज्ञानको वर्षा
गर्छौ। ज्ञानको एक एक रत्न कति अमूल्य छ, यसको मूल्य कसैले गर्न सक्दैन, त्यसैले
बाबा भन्नुहुन्छ– पदमापदम भाग्यशाली। तिम्रो पाउमा पदमको निसानी पनि देखाइन्छ,
यसलाई कसैले बुझ्न सक्दैन। मानिसहरूले पदमपति नाम राख्छन्। सम्झन्छन्– यिनीहरूसँग
धेरै धन छ। पदमपतिको एउटा थर पनि राख्छन्। बाबाले सबै कुरा सम्झाउनुहुन्छ। फेरि
भन्नुहुन्छ– मूल कुरा हो बाबालाई र ८४ को चक्रलाई याद गर्नु। यो ज्ञान तिमीहरूको
लागि नै हो। तिमीहरूले नै ८४ जन्म लिन्छौ। यो पनि बुझ्ने कुरा हो नि। अरू कुनै
संन्यासी आदिलाई स्वदर्शन चक्रधारी पनि भनिँदैन। देवताहरूलाई पनि भनिँदैन।
देवताहरूमा ज्ञान नै हुँदैन। तिमीले भन्छौ– हामीमा सारा ज्ञान छ, यी
लक्ष्मी-नारायणमा ज्ञान हुँदैन। बाबाले त यथार्थ कुरा सम्झाउनुहुन्छ नि।
यो ज्ञान बडो
आश्चर्यजनक छ। तिमी कति गुप्त विद्यार्थी हौ। तिमीले भन्छौ– हामी पाठशालामा जान्छौँ,
भगवानले हामीलाई पढाउनुहुन्छ। लक्ष्य उद्देश्य के हो? हामी यी (लक्ष्मी-नारायण)
बन्छौँ। मानिसहरूले सुनेर आश्चर्य मान्छन्। हामी आफ्नो हेड अफिसमा जान्छौँ। के पढ्छौ?
मनुष्यबाट देवता, भिखारीबाट राजकुमार बन्ने पढाइ पढिरहेका छौँ। तिम्रो चित्र पनि
फस्टक्लास छ। धन दान पनि सदैव पात्रलाई गरिन्छ। पात्र तिमीलाई कहाँ मिल्छन्? शिवका,
लक्ष्मी-नारायणका, राम-सीताका मन्दिरमा। त्यहाँ गएर तिमीले उनीहरूको सेवा गर। आफ्नो
टाइम वेस्ट नगर। गङ्गा नदीमा गएर पनि तिमीले सम्झाऊ– पतित-पावनी गङ्गा हुन् वा
परमपिता परमात्मा हुनुहुन्छ? सबैको सदगति यो पानीले गर्छ वा बेहदको बाबाले
गर्नुहुन्छ? तिमीले यसमा राम्रोसँग सम्झाउन सक्छौ। विश्वको मालिक बन्ने मार्ग
बताउँछौ। दान गर्छौ, कौडीसमान मानिसलाई हीरासमान विश्वको मालिक बनाउँछौ। भारतवर्ष
विश्वको मालिक थियो नि। तिमी ब्राह्मणहरूको कुल देवताहरूभन्दा पनि उत्तम कुल हो। यी
बाबाले त जान्दछन्– म बाबाको एउटै सिकिलधा बच्चा हुँ। बाबाले मेरो यो शरीर लोनमा
लिनुभएको छ। तिमी सिवाय अरू कसैले पनि यी कुरा बुझ्न सक्दैनन्। बाबा ममाथि सवारी
हुनुभएको छ। मैले बाबालाई काँधमा राखेको छु अर्थात् शरीर दिएको छु– सर्भिस गर्नुहोस्
भनेर। उहाँले त्यसको प्रतिफल फेरि कति धेरै दिनुहुन्छ। जसले मलाई सबैभन्दा उच्च
काँधमा चढाउनुहुन्छ। नम्बरवनमा लैजानुहुन्छ। बाबालाई बच्चाहरू प्यारा लाग्छन्,
त्यसैले त उनीहरूलाई काँधमा चढाउनुहुन्छ नि। आमाले बच्चालाई केवल काखसम्म लिन्छिन्,
पिताले त काँधमा चढाउनुहुन्छ। पाठशालालाई कहिल्यै कल्पना भनिँदैन। स्कुलमा
इतिहास-भूगोल पढे भने के त्यो कल्पना भयो? यो पनि विश्वको इतिहास-भूगोल हो नि। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बसेर धेरै प्रेमले रुहानी बाबालाई याद गर्नुछ। यादमा प्रेमका आँसु आए भने ती आँसु
विजय मालाको दाना बन्छन्। आफ्नो समय भविष्य प्रारब्ध बनाउनमा सफल गर्नुछ।
२) अन्तर्मुखी भएर
सबैलाई बाबाको परिचय दिनुछ, धेरै तर्कवितर्क गर्नुछैन। एउटै फिक्र रहोस्– यस्तो कुनै
कर्तव्य नहोस् जसको सजाय खानुपरोस्।
वरदान:–
म रुहानी
यात्री हुँ– यो स्मृतिद्वारा सदा उपराम , न्यारा र निर्मोही भव
रुहानी यात्री सदा
यादको यात्रामा अगाडि बढिरहन्छन्, यो यात्रा सदैव सुखदायी छ। जो रुहानी यात्रामा
तत्पर रहन्छन्, उनीहरूलाई अर्को कुनै यात्रा गर्ने आवश्यकता छैन। यो यात्रामा सबै
यात्राहरू समाहित छन्। मन वा तनले भट्किन बन्द हुन्छ। त्यसैले सदा यही स्मृति रहोस्–
हामी रुहानी यात्री हौँ, यात्रीको कसैमा पनि मोह हुँदैन। उनीहरूलाई सहजै उपराम,
न्यारा वा निर्मोही बन्ने वरदान मिल्छ।
स्लोगन:–
सदा वाह बाबा,
वाह तकदिर, वाह मीठो परिवार– यही गीत गाइराख।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
जसरी बाबालाई सर्व
स्वरूपहरूद्वारा वा सर्व सम्बन्धहरूद्वारा जान्न आवश्यक छ, त्यसैगरी बाबाद्वारा
स्वयंलाई पनि जान्नु आवश्यक छ। जान्नु अर्थात् मान्नु। म जो हुँ, जस्तो छु, यस्तो
मानेर चल्दा देहमा विदेही, व्यक्तमा हुँदै अव्यक्त, हिँड्दाडुल्दा फरिस्ता वा कर्म
गर्दा कर्मातित स्थिति बन्छ।