05.03.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबालाई ज्ञानी आत्मा बच्चाहरू नै प्रिय छन् त्यसैले बाबा समान मास्टर ज्ञान सागर बन।”

प्रश्न:–
कल्याणकारी युगमा बाबाले सबै बच्चाहरूलाई कुन स्मृति दिलाउनुहुन्छ?

उत्तर:–
प्यारा बच्चाहरू! तिमीले आफ्नो घर छोडेको ५ हजार वर्ष भयो। तिमीले ५ हजार वर्षमा ८४ जन्म लियौ, अब यो अन्तिम जन्म हो, वानप्रस्थ अवस्था हो त्यसैले अब घर जाने तयारी गर फेरि सुखधाममा आउँछौ। गृहस्थ व्यवहारमै बसे पनि यो अन्तिम जन्ममा पवित्र बनेर बाबालाई याद गर।

गीत:–
महफिल में जल उठी शमा...

ओम् शान्ति ।
बच्चाहरूले यो बुझेका छौ– भगवान एक हुनुहुन्छ, ईश्वर एक हुनुहुन्छ। सबै आत्माहरूका पिता एक हुनुहुन्छ। उहाँलाई परमपिता परमात्मा भनिन्छ। सृष्टिका रचयिता एक हुनुहुन्छ। अनेक हुनै सक्दैनन्। यो सिद्धान्त अनुसार मानिसले आफूलाई भगवान भन्न सक्दैनन्। अहिले तिमी ईश्वरीय सेवाको निमित्त बनेका छौ। ईश्वरले नयाँ दुनियाँ स्थापना गरिरहनुभएको छ, जसलाई सत्ययुग भनिन्छ, त्यसको लागि तिमी लायक बनिरहेका छौ। सत्ययुगमा कोही पतित हुँदैनन्। अहिले तिमी पावन बनिरहेका छौ। बाबा भन्नुहुन्छ– पतितपावन म हुँ र तिमी बच्चाहरूलाई श्रेष्ठ मत दिन्छु– म निराकार बाबालाई याद गरेमा तिमी पतित तमोप्रधानबाट पावन सतोप्रधान बन्छौ। यादरूपी योग अग्निले तिम्रो पाप नाश हुन्छ। साधु आदिले त भनिदिन्छन्– ईश्वर सर्वव्यापी हुनुहुन्छ। एकातिर भन्छन्– भगवान एक हुनुहुन्छ, फेरि यहाँ त धेरैले आफूलाई भगवान कहलाउँछन्। श्री श्री १०८ जगतगुरु कहलाउँछन्। तर जगतका गुरु त एक बाबा मात्रै हुनुहुन्छ। सारा जगतलाई पावन बनाउने एक परमात्माले सारा दुनियाँलाई दुःखबाट मुक्त गर्नुहुन्छ। उहाँ नै दुःखहर्ता सुखकर्ता हुनुहुन्छ। मानिसहरूलाई यो भन्न सकिँदैन। यो पनि तिमी बच्चाहरूले बुझेका छौ। यो हो नै पतित दुनियाँ। सबै पतित छन्। पावन दुनियाँमा हुन्छन् यथा महाराजा महारानी तथा प्रजा। सत्ययुगमा पूज्य महाराजा महारानी हुन्छन्। फेरि भक्तिमार्गमा पुजारी बन्छन्। सत्ययुगमा जो महाराजा महारानी हुन्छन्, उनीहरूका दुई कला कम भएपछि राजारानी भनिन्छ। यी सबै कुरा विस्तारका हुन्। नत्र एक सेकेन्डमा जीवनमुक्ति। बाबा सम्झाउनुहुन्छ– गृहस्थ व्यवहारमा बसे पनि यो अन्तिम जन्म पवित्र रहनुपर्छ। अहिले वानप्रस्थ अवस्था हो। वानप्रस्थ वा शान्तिधाम एउटै कुरा हो। यहाँ आत्माहरू ब्रह्म तत्त्वमा रहन्छन्, जसलाई ब्रह्माण्ड भनिन्छ। वास्तवमा आत्माहरू कुनै अण्डाजस्ता छैनन्। आत्मा त स्टार हो। बाबाले सम्झाउनुभएको छ– जति पनि आत्माहरू छन्, ती सबै यस ड्रामाका कलाकारहरू हुन्। जसरी कलाकारहरूले नाटकमा ड्रेस परिवर्तन गर्छन्, भिन्न भिन्न पार्ट खेल्छन्, यो पनि बेहदको नाटक हो। सुरुदेखि लिएर आत्माहरू यस सृष्टिमा ५ तत्त्वले बनेको शरीरमा प्रवेश गरेर पार्ट खेल्छन्। परमात्मा र ब्रह्मा, विष्णु, शङ्कर सबै कलाकारहरू हुन्। नाटकमा पार्ट खेल्न भिन्न भिन्न प्रकारका ड्रेस मिल्छन्। घरमा आत्माहरू सबै शरीरबिना रहन्छन्। फेरि जब ५ तत्त्वको शरीर तयार हुन्छ, तब त्यसमा प्रवेश गर्छन्। ८४ शरीर मिल्छन् र नाम पनि त्यति नै परिवर्तन हुन्छन्। आत्माको नाम एउटै हो। अब शिवबाबा त हुनुहुन्छ नै पतितपावन। उहाँको आफ्नो शरीर छैन। शरीरको आधार लिनुपर्छ। भन्नुहुन्छ– मेरो नाम शिव नै हो। चाहे पुरानो शरीरमा आउँछु। यिनको आफ्नो शरीरको नाम छ। यिनको व्यक्त नाम छ, फेरि अव्यक्त नाम राखिएको छ। एउटा धर्मको मानिस अर्को धर्ममा गयो भने नाम परिवर्तन गर्छन्। तिमी पनि शूद्र धर्मबाट परिवर्तन भएर ब्राह्मण धर्ममा आएका छौ त्यसैले नाम परिवर्तन हुन्छ। तिमीले लेख्छौ– शिवबाबा मार्फत ब्रह्माद्वारा। शिवबाबा परमपिता परमात्मा हुनुहुन्छ, उहाँको नाम परिवर्तन हुँदैन शिवबाबाले ब्रह्माद्वारा आदि सनातन देवीदेवता धर्मको स्थापना गराइरहनुभएको छ। जुन प्रायः लोप भएको छ, जो पावन पूज्य थिए, उनीहरू नै पतित पुजारी बन्छन्। ८४ जन्म पूरा गरेका छन्। अब फेरि देवीदेवता धर्म स्थापना हुन्छ। गायन गरिएको छ– परमपिता परमात्मा आएर ब्रह्माद्वारा फेरि स्थापना गराउनुहुन्छ भने ब्राह्मण अवश्य चाहिन्छ। ब्रह्मा र ब्राह्मण कहाँबाट आए? शिवबाबा आएर ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ। भन्नुहुन्छ– तिमी हाम्रा हौ। शिवबाबाका बच्चा त हौ नै, फेरि ब्रह्माद्वारा नातिनातिना हुन्छौ। पिता त एक हुनुहुन्छ सारा प्रजाका। यति सबै बच्चाहरू कुमार-कुमारी छन्। उनीहरूलाई शिवबाबाले ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ। मानिसहरूलाई कहाँ थाहा छ र! बाबा आएर आदि सनातन देवीदेवता धर्म स्थापना गर्नुहुन्छ। त्यसैले यस्तो होइन, नयाँ, नयाँ आइरहन्छन्। जसरी देखाउँछन्– प्रलय भयो फेरि सागरमा पातमाथि आए...। अब यी त सबै कथाहरू बनाइएका हुन्। यो विश्वको इतिहास भूगोल दोहोरिइरहन्छ। आत्मा अमर छ। त्यसमा पार्ट पनि अमर छ। पार्ट कहिल्यै खिइँदैन। सत्ययुगमा त्यही लक्ष्मीनारायणको सूर्यवंशी राजधानी चल्दै आउँछ। कहिल्यै परिवर्तन हुँदैन, दुनियाँ नयाँबाट पुरानो, पुरानोबाट नयाँ भइरहन्छ। हरेकलाई अविनाशी पार्ट मिलेको छ।

बाबा भन्नुहुन्छ– भक्तिमार्गमा भक्तले जुन जुन भावनाले भक्ति गर्छन्, त्यस्तै साक्षात्कार गराउँछु। कसैलाई हनुमानको, गणेशको पनि साक्षात्कार गराउँछु। उनीहरूको त्यो शुभभावना पूरा गर्छु। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। मानिसले फेरि बुझ्छन्– भगवान सबैमा हुनुहुन्छ त्यसैले सर्वव्यापी भनिदिन्छन्। भक्तमाला पनि छ, पुरुषमा नारद शिरोमणि गायन गरिन्छ, महिलामा मीरा। भक्तमाला अलग छ, रुद्रमाला अलग छ, ज्ञानको माला अलग छ। भक्तहरूको माला कहिल्यै पुज्दैनन्। रुण्डमाला (वैजयन्ती माला) पुजिन्छ। माथि छ फूल फेरि मेरु... फेरि हुन्छन् बच्चाहरू, जो राजगद्दीमा बस्छन्। वैजयन्तीमाला नै विष्णुको माला हो। भक्तहरूको मालाको केवल गायन हुन्छ। यो रुद्रमाला त सबैले जप्छन्। तिमी भक्त होइनौ, ज्ञानी हौ। बाबा भन्नुहुन्छ– मलाई ज्ञानी आत्मा प्रिय लाग्छन्। बाबा नै ज्ञानको सागर हुनुहुन्छ, तिमी बच्चाहरूलाई ज्ञान दिइरहनुभएको छ। माला पनि तिमीहरूको पुजिन्छ। ८ रत्नको पनि पूजन हुन्छ किनकि ज्ञानी आत्मा हुन् भने उनीहरूको पूजा हुन्छ। औँठी बनाएर लगाउँछन् किनकि यिनीहरूले विश्वलाई स्वर्ग बनाउँछन्। सम्मानसहित पास हुन्छन् त्यसैले उनीहरूको गायन छ। ९ औँ दानाको बीचमा शिवबाबालाई राख्छन्। त्यसलाई भन्छन् नवरत्न। यो हो विस्तारको ज्ञान। बाबाले त केवल भन्नुहुन्छ– बाबा र वर्सालाई याद गरेमा तिम्रा विकर्म विनाश हुनेछन्, फेरि तिमी जानेछौ। पतित आत्माहरू पावन दुनियाँमा जान सक्दैनन्। यहाँ सबै पतित छन्। देवताहरूका शरीर त पवित्र निर्विकारी हुन्छन्। उनीहरू हुन् पूज्य, यथा राजारानी तथा प्रजा पूज्य हुन्छन्। यहाँ सबै छन् पुजारी। त्यहाँ दुःखको कुरा हुँदैन। त्यसलाई भनिन्छ स्वर्ग, सुखधाम। त्यहाँ सुख, शान्ति, सम्पत्ति सबै थियो। अब त केही छैन त्यसैले यसलाई नर्क, त्यसलाई स्वर्ग भनिन्छ। हामी आत्माहरू शान्तिधाम निवासी हौँ। त्यहाँबाट आउँछौँ पार्ट खेल्न। ८४ जन्म पूरा भोग्नुपर्छ। अहिले यो दुःखधाम हो, फेरि हामी जान्छौँ शान्तिधाम, फेरि सुखधाममा आउनेछौँ। बाबाले सुखधामको मालिक बनाउन, मानिसबाट देवता बनाउन पुरुषार्थ गराइरहनुभएको छ। तिम्रो हो यो सङ्गमयुग। बाबा भन्नुहुन्छ– म कल्पको सङ्गमयुगमा आउँछु, युग युगमा होइन। म सङ्गमयुगमा एकैपटक सृष्टि परिवर्तन गर्न आउँछु। सत्ययुग थियो, अहिले कलियुग छ, फेरि सत्ययुग आउनुपर्छ, यो हो कल्याणकारी सङ्गमयुग। सबैको कल्याण हुनुछ, बाबाले सबैलाई रावणको जेलबाट छुटाउनुहुन्छ। उहाँलाई दुःखहर्ता सुखकर्ता भनिन्छ। यहाँ सबै दुःखी छन्। तिमीले पुरुषार्थ गर्छौ सुखधाममा जानको लागि। सुखधाम जाने हो भने पहिला शान्तिधाममा जानुछ। तिमीले पार्ट खेल्दाखेल्दा ५ हजार वर्ष भयो।

बाबा सम्झाउनुहुन्छ– तिमीले आफ्नो घर छोडेको ५ हजार वर्ष भयो। यसमा तिमीहरूले ८४ जन्म लिएका छौ। अब यो तिम्रो अन्तिम जन्म हो, सबैको वानप्रस्थ अवस्था हो। सबैलाई जानुछ। गायन पनि छ– ज्ञानको सागर वा रुद्र। यो हो शिव ज्ञान यज्ञ। पतितपावन शिव हुनुहुन्छ, परमात्मा पनि शिव हुनुहुन्छ। रुद्र नाम भक्तहरूले राखिदिएका हुन्। उहाँको वास्तविक नाम एउटै शिव हो। शिवबाबाले प्रजापिता ब्रह्माद्वारा स्थापना गराउनुहुन्छ। ब्रह्मा एउटा मात्रै छन्। यिनी तिनै पतित ब्रह्मा फेरि पावन बन्छन् त्यसपछि फरिस्ता बन्छन्। जुन सूक्ष्मवतनमा देखाउँछन्, ती अर्को ब्रह्मा होइनन्। ब्रह्मा एक छन्। यिनी व्यक्त, उनी अव्यक्त। यिनी सम्पूर्ण पावन हुन्छन् र सूक्ष्मवतनमा देखिन्छन्। त्यहाँ हड्डी आदि हुँदैन।

बाबाले सम्झाउनुभएको थियो– जुन आत्मालाई शरीर मिल्दैन, त्यो भट्किरहन्छ। त्यसलाई भूत भन्छन्। शरीर नमिल्दासम्म भट्किन्छ। कोही राम्रो हुन्छ, कोही नराम्रो हुन्छ। त्यसैले बाबाले हरेक कुराको ज्ञान दिनुहुन्छ। उहाँ ज्ञानको सागर हुनुहुन्छ भने अवश्य सम्झाउनुहुन्छ नि। एक सेकेन्डमा जीवनमुक्ति हुन्छ। अल्फ र बेलाई याद गरेमा सेकेन्डमा जीवनमुक्तिको वर्सा मिल्छ। कति सहज छ। नाम नै हो सहज राजयोग। उनीहरूले सम्झन्छन्– भारतवर्षको योग यो थियो। तर त्यो संन्यासीहरूको हठयोग हो। यो त बिल्कुलै सहज छ। योग अर्थात् याद। उनीहरूको हो हठयोग। यो हो सहजयोग। बाबा भन्नुहुन्छ– मलाई यस प्रकार याद गर। कुनै लकेट आदि लगाउने आवश्यकता छैन। तिमी त बाबाका बच्चा हौ। केवल बाबालाई याद गर। तिमी यहाँ पार्ट खेल्न आएका हौ। अब सबै फर्केर घर जानुछ, फेरि त्यही पार्ट खेल्नुछ। भारतवर्षवासी नै सूर्यवंशी, चन्द्रवंशी, वैश्यवंशी, शूद्रवंशी बन्छन्। यस बीचमा अरू धर्मका मानिस पनि आउँछन्। ८४ जन्म तिमीले लिन्छौ। फेरि तिमी नै नम्बरवनमा जानुछ। फेरि तिमी सत्ययुगमा आउँदा अरू सबै शान्तिधाममा हुन्छन्। अरू धर्मका मानिसहरूको वर्ण हुँदैन। वर्ण भारतवर्षका नै हुन्। तिमी नै सूर्यवंशी चन्द्रवंशी बनेका थियौ। अहिले ब्राह्मण वर्णमा छौ। ब्रह्मावंशी ब्राह्मण बनेका छौ। यी सबै कुरा बाबा बसेर सम्झाउनुहुन्छ। जसको बुद्धिमा धारणा हुन सक्दैन, उनीहरूलाई भन्नुहुन्छ– केवल बाबालाई याद गर। जसरी बाबालाई चिनेपछि बच्चालाई थाहा हुन्छ– हाम्रो सम्पत्ति यो हो। बच्चीलाई त वर्सा मिल्दैन। यहाँ तिमी सबै शिवबाबाका बच्चा हौ, सबैको हक छ। पुरुष अथवा स्त्री सबैको हक छ। सबैलाई सिकाउनुछ– शिवबाबालाई याद गर। जति याद गर्छौ, त्यति विकर्म विनाश हुन्छ, पतितबाट पावन बन्छौ। आत्मामा जुन खाद मिसिएको छ, त्यो कसरी निस्किन्छ? बाबा भन्नुहुन्छ– योगले नै तिम्रो खाद खतम हुन्छ। यो पतित शरीर त यहीँ छोड्नुछ। आत्मा पवित्र बन्छ। सबै लामखुट्टे जसरी जान्छन्। बुद्धिले पनि भन्छ– सत्ययुगमा धेरै कम मानिसहरू हुन्छन्। यो विनाशमा कति मानिस मर्छन्। गएर थोरै बाँकी रहन्छन्। राजाहरू त थोरै हुन्छन्, बाँकी ९ लाख प्रजा सत्ययुगमा हुन्छन्। यसमा गायन गर्छन् पनि नि– ९ लाख तारा, अर्थात् प्रजा। वृक्ष पहिला सानो हुन्छ फेरि वृद्धि हुँदै जान्छ। अहिले त कति आत्माहरू छन्। बाबा आउनुहुन्छ सबैको गाइड बनेर लैजानुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) योग अग्निले विकर्महरूको खादलाई भस्म गरेर पावन बन्नुछ। अहिले वानप्रस्थ अवस्था हो त्यसैले फर्केर घर जानको लागि सम्पूर्ण सतोप्रधान बन्नुछ।

२) यस कल्याणकारी युगमा बाबा समान दुःखहर्ता सुखकर्ता बन्नुछ।

वरदान:–
सदा कम्बाइन्ड स्वरूपको स्मृतिद्वारा मुस्किल कार्यलाई सहज बनाउने डबल लाइट भव

जुन बच्चाहरू निरन्तर यादमा रहन्छन्, उनीहरूले सदा साथको अनुभव गर्छन्। उनीहरूको सामुन्ने कुनै पनि समस्या आयो भने आफूलाई कम्बाइन्ड अनुभव गर्छन्, आत्तिँदैनन्। यो कम्बाइन्ड स्वरूपको स्मृतिले कुनै पनि मुस्किल कार्यलाई सहज बनाइदिन्छ। कहिल्यै कुनै ठुलो कुरा सामुन्ने आयो भने आफ्नो बोझ बाबामाथि राखेर स्वयं डबल लाइट होऊ। त्यसपछि फरिस्ता समान दिनरात खुसीमा मनले डान्स गरिरहनेछौ।

स्लोगन:–
कुनै पनि कारणको निवारण गरेर सन्तुष्ट रहने र अरूलाई सन्तुष्ट पार्ने नै सन्तुष्टमणि हुन्।

अव्यक्त इसारा:– “निश्चयको जगलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त ह ोऊ ।”

हरेक कदम श्रीमत प्रमाण भयो भने सदा निश्चिन्त रहन्छौ र निश्चिन्त छौ भने सदा यथार्थ निर्णय दिनेछौ। निर्णय यथार्थ भयो भने विजयी हुनेछौ। त्रिकालदर्शी आत्मा सदैव निश्चिन्त हुन्छ किनकि उसलाई निश्चय हुन्छ– हाम्रो विजय भइ नै हाल्छ।