05.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबा
आउनुभएको छ यो वेश्यालयलाई शिवालय बनाउन। तिम्रो कर्तव्य हो– वेश्याहरूलाई पनि
ईश्वरीय सन्देश दिएर उनीहरूको पनि कल्याण गर्नु।”
प्रश्न:–
कुन बच्चाहरूले
आफ्नो धेरै ठुलो नोक्सान पार्छन्?
उत्तर:–
जसले कुनै पनि
कारणले मुरली (पढाइ) मिस गर्छन्, उनीहरूले आफ्नो धेरै ठुलो नोक्सान पार्छन्। कति
बच्चाहरू त आपसमा रिसाएर क्लासमा नै आउँदैनन्। कुनै न कुनै बहाना बनाएर घरमा नै
सुत्छन्, यसबाट उनीहरूले आफ्नै नोक्सान पार्छन् किनकि बाबाले त दिनहुँ कुनै न कुनै
नयाँ युक्तिहरू बताइरहनुहुन्छ, सुनेनन् भने व्यवहारमा कसरी ल्याउँछन्।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूलाई यो त थाहा छ– अहिले हामीले विश्वको मालिक बन्नको लागि पुरुषार्थ
गरिरहेका छौँ। हुन त मायाले पनि भुलाउँछ। कोही कोहीलाई त सारा दिन भुलाउँछ। कहिल्यै
याद नै गर्दैनन् जुन यादबाट खुसी पनि हुन्छ। हामीलाई भगवानले पढाउनुहुन्छ, यो पनि
बिर्सन्छन्। बिर्सने भएकाले फेरि कुनै सेवा गर्न सक्दैनन्। गए राति बाबाले
सम्झाउनुभयो– अधमभन्दा अधम जो वेश्याहरू छन्, उनीहरूको सेवा गर्नुपर्छ। वेश्याहरूको
लागि तिमीले घोषणा गर– तिमीले बाबाको यो ज्ञान धारण गरेमा स्वर्गकी विश्वकी महारानी
बन्न सक्छ्यौ, धनवान मानिसहरू बन्न सक्दैनन्। जसले जान्दछन्, पढेलेखेका छन्,
उनीहरूले तिनीहरूलाई ज्ञान दिने प्रबन्ध गर्नेछन्, त्यसबाट बिचरीहरू धेरै खुसी
हुन्छन् किनकि तिनीहरू पनि अबला हुन्, तिनीहरूलाई तिमीले सम्झाउन सक्छौ। युक्तिहरू
त बाबाले धेरै नै सम्झाइरहनुहुन्छ। भन– तिमी नै उच्चभन्दा उच्च, नीचभन्दा नीच बनेकी
छौ। तिम्रो नामबाट नै भारतवर्ष वेश्यालय बनेको छ। यो पुरुषार्थ गर्नाले फेरि तिमी
शिवालयमा जान सक्छ्यौ। तिमीहरूले अहिले पैसाको लागि कति गन्दा काम गर्छौ। अब यो छोड।
यसरी सम्झाउनाले तिनीहरू धेरै खुसी हुनेछन्। तिमीलाई कसैले रोक्न सक्दैन। यो त
राम्रो कुरा हो नि। गरिबहरूको आफ्नो भन्ने भगवान मात्रै हुनुहुन्छ। पैसाको कारण धेरै
गन्दा काम गर्छन्। उनीहरूको मानौँ कामधन्दा चल्छ। अहिले बच्चाहरूले भन्छन्– हामीले
युक्तिहरू निकाल्छौँ, सेवा वृद्धि कसरी हुन्छ। कुनै बच्चा कुनै न कुनै कुरामा
रिसाउँछन् पनि। पढाइ पनि छोडिदिन्छन्। यो बुझ्दैनन्– हामीले पढेनौँ भने आफ्नै
नोक्सान पार्छौँ। रिसाएर बस्छन्। फलानीले यो भनिन्, यसो भनिन्, त्यसैले आउँदैनन्।
हप्तामा एक पटक मुस्किलले आउँछन्। बाबाले त मुरलीहरूमा कहिले के राय, कहिले के राय
दिइरहनुहुन्छ। मुरली त सुन्नु पर्छ नि। क्लासमा आएपछि मात्र त सुन्छन् नि। यस्ता
धेरै छन्, कारण-अकारण बहाना बनाएर सुत्छन्। ठीक छ, आज जाँदिन। अरे, बाबाले यस्ता
राम्रा राम्रा प्वाइन्टहरू सुनाउनुहुन्छ। सेवा गर्यौ भने उच्च पद पनि पाउँछौ। यो त
पढाइ हो। बनारस हिन्दु विश्वविद्यालय आदिमा शास्त्र धेरै पढ्छन्। अर्को कुनै धन्दा
भएन भने बस् शास्त्र कण्ठ गरेर सतसङ्ग सुरु गरिदिन्छन्। त्यसमा उद्देश्य आदि त केही
छैन। यो पढाइबाट त सबैको बेडा पार हुन्छ। त्यसैले तिमी बच्चाहरूले यस्ता यस्ता अधमको
सेवा गर्नुछ। धनवान मानिसहरूले यहाँ यस्ता यस्ता आउँछन् भन्ने देखे भने उनीहरूको
आउने मन हुँदैन। देह अभिमान हुन्छ नि। उनीहरूलाई लाज लाग्छ। ठीक छ, त्यसो भए
उनीहरूको एउटा अलग स्कुल खोलिदेऊ। त्यो पढाइ त कौडी बराबरको हो, मात्र शरीर
निर्वाहको लागि। यो त २१ जन्मको लागि हो। कति जनाको कल्याण हुन्छ। अक्सर गरेर
माताहरूले पनि सोध्छन्– बाबा, घरमा गीता पाठशाला खोलौँ? उनीहरूलाई ईश्वरीय सेवाको
सोख हुन्छ। पुरुषहरू त यताउता क्लब आदिमा घुमिरहन्छन्। धनवानहरूको लागि त यहाँ नै
स्वर्ग छ। कति फेसन आदि गरिरहन्छन्। तर हेर त देवताहरूको स्वाभाविक सुन्दरता कस्तो
छ! कति फरक छ! यहाँ तिमीलाई सत्य सुनाइन्छ त्यसैले कति थोरै आउँछन्। त्यो पनि गरिब।
त्यतातिर तुरुन्तै गइहाल्छन्। त्यहाँ पनि शृङ्गार आदि गरेर जान्छन्। गुरुहरूले मगनी
पनि गराउँछन्। यहाँ कसैको मगनी गराइयो भने पनि त्यो बचाउनको लागि हो। जसबाट काम
चितामा चढ्नबाट बचुन्। ज्ञान चितामा बसेर पदम भाग्यशाली बनुन्। बच्चीहरूले
आमा-बुबालाई भन्छन्– यो बर्बादीको धन्दा छोडेर स्वर्गमा जाऔँ। तब भन्छन्– के गरौँ,
यी दुनियाँका मानिसहरू हामीसँग रिसाउँछन्– कुलको नाम बदनाम गर्छन्। विवाह नगराउनु
काइदाको विरुद्ध हो। लोकलाज, कुलको मर्यादा छोड्दैनन्। भक्तिमार्गमा गाउँछन्– मेरो
त एक, दोस्रो न कोही। मीराको पनि गीत छ। स्त्रीहरूमा नम्बर वन भक्तिनी मीरा र
पुरुषहरूमा नारद भनी गायन गरिएको छ। नारदको पनि कथा छ नि। तिमीलाई कुनै नयाँ मानिसले
मैले लक्ष्मीलाई वरण गर्न सक्छु भन्यो भने भन– आफूलाई हेर, लायक छौ? पवित्र सर्वगुण
सम्पन्न... छौ? यो त विकारी पतित दुनियाँ हो। बाबा आउनुभएको छ, त्यसबाट निकालेर
पावन बनाउन।
पावन बन्यौ भने मात्र
लक्ष्मीलाई वरण गर्ने लायक बन्न सक्छौ। यहाँ बाबाको पासमा आउँछन्, प्रतिज्ञा गर्छन्,
फेरि घरमा गएर विकारमा गिर्छन्। यस्ता यस्ता समाचार आउँछन्। बाबा भन्नुहुन्छ–जुन
ब्राह्मणीले यस्ता यस्तालाई ल्याउँछन्, उनीहरूमाथि पनि यसको असर पर्छ। इन्द्र सभाको
कथा पनि छ नि। त्यसैले ल्याउनेहरूमाथि पनि दण्ड हुन्छ। बाबाले ब्राह्मणीहरूलाई सदैव
भन्नुहुन्छ– कच्चा कच्चालाई नल्याऊ। तिम्रो अवस्था पनि गिर्छ किनकि बेकाइदाले ल्यायौ।
वास्तवमा ब्राह्मणी बन्नु धेरै सहज छ। १०-१५ दिनमा बन्न सक्छन्। बाबाले कसैलाई पनि
सम्झाउने धेरै सहज युक्ति बताउनुहुन्छ। तिमी भारतवर्षका मानिसहरू आदि सनातन
देवी-देवता धर्मका थियौ, स्वर्गवासी थियौ। अहिले नर्कवासी भएका छौ, फेरि स्वर्गवासी
बन्ने हो भने यो विकारलाई छोड। केवल बाबालाई याद गर, त्यसबाट विकर्म विनाश हुन्छन्।
कति सहज छ! तर बिल्कुलै कसैले पनि बुझ्दैनन्। आफैले बुझ्दैनन् भने अरूलाई के
सम्झाउँछन्! वानप्रस्थ अवस्थामा पनि मोहको तन्तु रहन्छ। आजकाल वानप्रस्थ अवस्थामा
त्यति जाँदैनन्। तमोप्रधान छन् नि। यहीँ फसिरहन्छन्। पहिला वानप्रस्थीहरूका ठुला
ठुला आश्रम थिए। आजकाल त्यति छैनन्। ८०-९० वर्षका हुन्छन्, तैपनि घर छोड्दैनन्।
बुझ्दै बुझ्दैनन्– वाणीबाट पर जानुछ। अब ईश्वरलाई याद गर्नुछ। भगवान को हुनुहुन्छ,
यो सबै जान्दैनन्। सर्वव्यापी भनिदिन्छन् अनि याद कसलाई गर्ने! यो पनि बुझ्दैनन्–
हामी पुजारी हौँ। बाबाले त तिमीलाई पुजारीबाट पूज्य बनाउनुहुन्छ, त्यो पनि २१ जन्मको
लागि। यसको लागि पुरुषार्थ भने गर्नुपर्छ।
बाबाले सम्झाउनुभएको
छ– यो पुरानो दुनियाँ त खतम हुनुछ। अहिले हामी घर जानुछ– बस् यही धुन रहोस्। त्यहाँ
विकारी कुरा हुँदै हुँदैन। बाबा आएर त्यो पवित्र दुनियाँको लागि तयारी गराउनुहुन्छ।
सेवाधारी प्रिय बच्चाहरूलाई त नयनमा राखेर लैजानुहुन्छ। अधमहरूको उद्धार गर्नको लागि
बहादुरी चाहिन्छ, त्यो सरकारमा त ठुला ठुला झुण्ड (हुल) हुन्छन्। पढेलेखेका टिपटप
हुन्छन्। यहाँ त कति गरिब साधारण छन्। यिनीहरूलाई बाबाले बसेर यति माथी उठाउनुहुन्छ।
चालचलन पनि बडो रोयल हुनुपर्छ। भगवानले पढाउनुहुन्छ। त्यो पढाइमा कुनै ठुलो परीक्षा
पास गरे भने कति टिपटप हुन्छन्। यहाँ त बाबा गरिब निवाज हुनुहुन्छ। गरिबले नै केही
न केही पठाइदिन्छन्। एक-दुई रुपैयाँको पनि मनि अर्डर पठाइदिन्छन्। बाबा भन्नुहुन्छ–
तिमी त महान् भाग्यशाली हौ। रिटर्नमा धेरै मिल्छ। यो पनि कुनै नयाँ कुरा होइन।
साक्षी भएर ड्रामालाई हेर्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! राम्रोसँग पढ। यो
ईश्वरीय यज्ञ हो, जे चाहन्छौ त्यो लेऊ। तर यहाँ लियौ भने त्यहाँ कम हुन्छ। स्वर्गमा
त सबै कुरा मिल्नेछ। बाबालाई त सेवामा बडो फुर्तिला बच्चाहरू चाहिन्छन्। सुदेशजस्ता,
मोहिनीजस्ता, जसलाई सेवाको उमङ्ग छ। तिम्रो नाम धेरै प्रसिद्ध हुन्छ। फेरि तिमीलाई
धेरै मान दिन्छन्। बाबाले सबै निर्देशन दिइरहनुहुन्छ। बाबा त भन्नुहुन्छ– यहाँ
बच्चाहरूलाई जति समय मिल्छ, त्यति यादमा बस। परीक्षाका दिनहरू नजिक आए भने एकान्तमा
गएर पढ्छन्। प्राइभेट टिचर पनि राख्छन्। हामीसँग त धेरै टिचर छन्, केवल पढ्ने सोख
चाहिन्छ। बाबाले त धेरै सहजै सम्झाउनुहुन्छ। केवल आफूलाई आत्मा निश्चय गर। यो शरीर
त विनाशी हो। तिमी आत्मा अविनाशी हौ। यो ज्ञान एकैपटक मिल्छ, फेरि सत्ययुगदेखि लिएर
कलियुग अन्त्यसम्म कसैलाई मिल्दै मिल्दैन। तिमीलाई नै मिल्छ। म आत्मा हुँ, यो त
पक्का निश्चय गर। बाबाबाट हामीलाई वर्सा मिल्छ। बाबाको यादबाट नै विकर्म विनाश
हुन्छन्। बस्। यो भित्र रटिरह्यौ भने पनि धेरै कल्याण हुन सक्छ। तर चार्ट राख्दै
राख्दैनन्। लेख्दालेख्दै फेरि थाक्छन्। बाबाले धेरै सहज बनाएर बताउनुहुन्छ। म आत्मा
सतोप्रधान थिएँ, अहिले तमोप्रधान बनेको छु। अब बाबा भन्नुहुन्छ– मलाई याद गर अनि
सतोप्रधान बन्छौ। कति सहज छ, फेरि पनि बिर्सन्छन्। जति समय बस्छौ, त्यति समय आफूलाई
आत्मा सम्झ। म आत्मा बाबाको बच्चा हुँ। बाबालाई याद गरेमा स्वर्गको बादसाही मिल्छ।
बाबालाई याद गरेमा आधाकल्पका पाप भस्म हुन्छन्। कति सहज युक्ति बताउनुहुन्छ! सबै
बच्चाहरूले सुनिरहेका छन्। यी बाबाले स्वयं पनि अभ्यास गर्छन् त्यसैले त सिकाउँछन्
नि। भन्छन् म बाबाको रथ हुँ, बाबाले मलाई खुवाउनुहुन्छ। तिमी बच्चाहरूले पनि यस्तै
सम्झ। शिवबाबालाई याद गरिराख्यौ भने कति फाइदा हुन्छ। तर बिर्सन्छन्। धेरै सहज छ।
कामधन्दामा कुनै ग्राहक छैन भने यादमा बस। म आत्मा हुँ, बाबालाई याद गर्नुछ।
बिमारीमा पनि याद गर्न सक्छौ। बाँधेली हौ र त्यहाँ बसेर तिमीले बाबालाई याद
गरिराख्यौ भने १०-२० वर्षकाले भन्दा पनि उच्च पद पाउन सक्छौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सेवामा धेरै धेरै फुर्तिलो बन्नुछ। जति समय मिल्छ एकान्तमा बसेर बाबालाई याद
गर्नुछ। पढाइको सोख राख्नुछ। पढाइदेखि विचलित हुनुहुँदैन।
२) आफ्नो चालचलन धेरै
धेरै रोयल बनाउनुछ, बस् अब घर जानुछ, पुरानो दुनियाँ खतम हुनुछ, त्यसैले मोहका धागो
तोड्नुछ। वानप्रस्थ (वाणीबाट पर) अवस्थामा रहने अभ्यास गर्नुछ। अधमहरूको पनि उद्धार
गर्ने सेवा गर्नुछ।
वरदान:–
श्रेष्ठ
वृत्तिद्वारा वृत्तिहरूको परिवर्तन गर्ने सदैव सिद्धि स्वरूप भव
सिद्धि स्वरूप बन्नको
लागि वृत्तिद्वारा वृत्तिहरूलाई, सङ्कल्पद्वारा सङ्कल्पहरूलाई परिवर्तन गर्ने कार्य
गर, यसको अनुसन्धान गर। यो सेवामा व्यस्त भएपछि यो सूक्ष्म सेवाले स्वत: कयौँ
कमजोरीहरूबाट पार गराउँछ। अब यसको योजना बनायौ भने जिज्ञासु पनि ज्यादा बढ्नेछन्,
आम्दानी पनि धेरै बढ्नेछ, भवन पनि मिल्नेछन्– सबै सिद्धिहरू सहज हुनेछन्। यसले
सिद्धि स्वरूप बनाइदिन्छ।
स्लोगन:–
समयलाई सफल
गरिराख्यौ भने समयको धोकाबाट बच्नेछौ।
अव्यक्त इशारा –
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
बाबाको बच्चाहरूसँग
यति प्यार छ, जो दिनहुँ प्यारको रेस्पोन्स दिनको लागि यति लामो पत्र लेख्नुहुन्छ।
यादप्यार दिनुहुन्छ र साथी बनेर सदैव साथ निभाउनुहुन्छ, त्यसैले यो प्यारमा आफ्ना
सबै कमजोरीहरूलाई कुर्बान गरिदेऊ। परमात्म प्यारमा यस्तो समाहित भइराख जसबाट कहिल्यै
हदको प्रभावले आफूतिर आकर्षित गर्न सक्दैन। सदैव बेहदका प्राप्तिहरूमा मग्न रहने गर,
जसबाट रुहानियतको सुगन्ध वातावरणमा फैलिन्छ।
विशेष सूचना
:–
बाबाको श्रीमत अनुसार, मुरली केवल बाबाका बच्चाहरूको लागि हो, न कि ती आत्माहरूको
लागि जसले राजयोगको कोर्स पनि गरेका छैनन्। त्यसैले सबै निमित्त टिचरहरू एवं
दाजुभाइ दिदीबहिनीहरूलाई विनम्र निवेदन छ– साकार मुरलीको अडियो वा भिडियोलाई
युट्युब, फेसबुक, इन्स्टाग्राम वा कुनै पनि ह्वाट्सएप ग्रुपमा पोस्ट नगर्नुहोला।