06.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
ब्रह्माबाबा शिवबाबाको रथ ह ुनुहुन्छ , दुवैको सँग सँगै पार्ट चल्छ , यसमा अलिकति
पनि संशय आउनुहुँदैन।”
प्रश्न:–
मनुष्यले
दुःखबाट छुट्नको लागि कुन युक्ति रच्छन्, जसलाई महापाप भनिन्छ?
उत्तर:–
मनुष्य दुःखी
भए भने स्वयंलाई मार्ने (खतम गर्ने) अनेक उपाय रच्छन्। जीवघात गर्ने कुरा सोच्छन्,
सम्झन्छन्– यसबाट हामी दुःखबाट छुट्नेछौँ। तर यस्तो महापाप अरू कुनै छैन। उनीहरू झन्
दुःखमा फस्छन् किनकि यो हो नै अपार दुःखको दुनियाँ।
ओम् शान्ति ।
बाबाले
बच्चाहरूलाई सोध्नुहुन्छ, आत्माहरूलाई परमात्माले सोध्नुहुन्छ– यो त थाहा छ– हामी
परमपिता परमात्माको सामुन्ने बसेका छौँ। उहाँको आफ्नो रथ त छैन। यो त निश्चय छ नि–
यो भृकुटीको बीचमा बाबाको निवास स्थान छ। बाबा स्वयं भन्नुहुन्छ– म यिनको भृकुटीको
बीचमा बस्छु, यिनको शरीर ऋणमा लिन्छु। आत्मा भृकुटीको बीचमा छ र बाबा पनि त्यहीँ
बस्नुहुन्छ। ब्रह्मा हुनुहुन्छ भने शिवबाबा पनि हुनुहुन्छ। ब्रह्मा हुनुहुन्न भने
शिवबाबा कसरी बोल्नुहुन्छ? शिवबाबालाई त सदैव माथि याद गर्दै आयौ। अब तिमी
बच्चाहरूलाई थाहा छ– हामी बाबाको पासमा यहाँ बसेका छौँ। यस्तो होइन शिवबाबा माथि
हुनुहुन्छ, उहाँको प्रतिमा यहाँ पूजा गरिन्छ। यी कुरा धेरै बुझ्नुपर्ने छन्।
तिमीलाई त थाहा छ– बाबा ज्ञानको सागर हुनुहुन्छ। ज्ञान कहाँबाट सुनाउनुहुन्छ? के
माथिबाट सुनाउनुहुन्छ? यहाँ तल आउनुभएको छ। ब्रह्मा तनबाट सुनाउनुहुन्छ। कतिले
भन्छन्– हामीले ब्रह्मालाई मान्दैनौँ। तर शिवबाबाले स्वयं ब्रह्मा तनद्वारा
भन्नुहुन्छ- मलाई याद गर। यो बुझ्नुपर्ने कुरा हो नि। तर माया धेरै जबर्जस्त छ। मुख
एकदम पछाडि फर्काइदिन्छ। अब तिम्रो शिर शिवबाबाले अगाडि फर्काउनुभएको छ। सम्मुख
बसेका छौ फेरि जसले यस्तो सम्झन्छन्– ब्रह्मा त केही होइनन्, उनीहरूको के गति होला!
दुर्गति पाउँछन्। केही पनि ज्ञान छैन। मानिसहरूले पुकार्छन् पनि– ओ गड फादर! फेरि
गड फादरले सुन्नुहुन्छ र? उहाँलाई भन्छन् नि– मुक्तिदाता बाबा आउनुहोस् वा त्यहाँ
बसेर मुक्त गर्नुहुन्छ? कल्प कल्प पुरुषोत्तम सङ्गमयुगमा नै बाबा आउनुहुन्छ, जसमा
आउनुहुन्छ उहाँलाई नै यदि उडाइदिए भने के भनिन्छ! नम्बरवन तमोप्रधान। निश्चय
हुँदाहुँदै पनि मायाले एकदम मुख फर्काइदिन्छ। त्यस मायामा यति बल छ जसले एकदम
कौडीभन्दा पनि तुच्छ बनाइदिन्छ। यस्ता पनि कोही न कोही सेन्टरहरूमा छन् त्यसैले बाबा
भन्नुहुन्छ– सावधान रहनु। उनीहरूले सुनेको कुरा कसैलाई सुनाइरहे पनि उनीहरू
पण्डितजस्ता हुन्छन्। जस्तै बाबाले पण्डितको कहानी बताउनुहुन्छ नि। पण्डितले भने–
राम राम भनेमा नदी पार हुन्छ। यो पनि एउटा कहानी बनाइएको छ। यस समयमा तिमी बाबाको
यादले विषय सागरबाट क्षीरसागरमा जान्छौ नि। उनीहरूले भक्तिमार्गमा धेरै कथाहरू
बनाइदिएका छन्। यस्ता कुरा त हुँदैनन्। यो एउटा कहानी बनेको छ। पण्डितले अरूलाई
भन्थे, स्वयं बिल्कुल चट खातामा थिए। स्वयं विकारमा गइरहने र अरूलाई निर्विकारी बन
भन्ने, त्यसको के असर हुन्छ। यस्ता पनि ब्रह्माकुमार-कुमारीहरू छन्– जो स्वयं
निश्चयमा छैनन् तर अरूलाई सुनाइरहन्छन् त्यसैले कहीँ कहीँ सुनाउनेभन्दा पनि सुन्ने
तीक्ष्ण हुन्छन्। जसले धेरैको सेवा गर्छन् उनीहरू अवश्य प्यारा त लाग्छन् नि।
पण्डित झुटा निस्किए भने उनलाई कसले प्यार गर्छ! फेरि प्यार उनीहरूमाथि जान्छ जसले
यथार्थमा याद गर्छन्। राम्रा राम्रा महारथीहरूलाई पनि मायाले निलिदिन्छ। धेरै निलिए।
बाबा पनि सम्झाउनुहुन्छ– अहिले कर्मातीत अवस्था भएको छैन। एकातिर लडाइँ हुन्छ,
अर्कोतिर कर्मातीत अवस्था हुन्छ। पूरा कनेक्सन छ। फेरि लडाइँ पूरा भएपछि ट्रान्सफर
हुनेछन्। पहिला रुद्रमाला बन्छ। यी कुरा अरू कसैले जान्दैनन्। तिमीले बुझेका छौ–
विनाश सामुन्ने उभिएको छ। तर तिमीहरू छौ थोरै सङ्ख्यामा, उनीहरू छन् ठुलो सङ्ख्यामा।
त्यसैले तिमीलाई कसले मान्छ। तिम्रो वृद्धि भएपछि मात्र तिम्रो योगबलले धेरै खिचिएर
आउनेछन्। जति तिमीबाट कट (खिया) निस्कँदै जान्छ त्यति बल भरिँदै जान्छ। यस्तो होइन–
बाबा जानी जाननहार हुनुहुन्छ। यहाँ आएर सबैलाई हेर्नुहुन्छ, सबैको अवस्थालाई
जान्नुहुन्छ। बाबाले बच्चाहरूको अवस्थालाई जान्नुहुन्न र? सबै कुरा थाहा हुन्छ। यसमा
अन्तर्यामीको कुनै कुरा छैन। अहिले त कर्मातीत अवस्था भएको छैन। आसुरी कुराकानी,
चालचलन आदि सबै प्रसिद्ध हुन्छन्। तिमीले त दैवी आचरण बनाउनुछ। देवताहरू सर्वगुण
सम्पन्न हुन्छन् नि। अब तिमी त्यस्तै बन्नुछ। कहाँ ती असुर, कहाँ देवताहरू! तर
मायाले कसैलाई पनि छोड्दैन, लज्जावती झारजस्तो बनाइदिन्छ। एकदम मारिदिन्छ। ५ सिँढी
छन् नि। देह अभिमान आउनासाथ माथिबाट एकदम तल गिर्छन्। गिरेछ भने मर्छ। आजकाल आफूलाई
मार्नको लागि कस्ता कस्ता उपाय रच्छन्। २१ तलाबाट हाम फाल्छन् जसबाट एकदम खतम
हुन्छन्। यस्तो नहोस् फेरि हस्पिटलमा बसिरहनुपर्छ। दुःख भोगिरहनुपर्छ। ५ तलाबाट गिरे
र मरेनन् भने कति दुःख भोगिरहन्छन्। कसैले आफूलाई आगो लगाउँछन्। यदि कसैले
उनीहरूलाई बचायो भने उनीहरूले कति दुःख सहन गर्नुपर्छ। जल्यो भने आत्मा त निस्कन्छ
नि! त्यसैले जीवघात गर्छन्, शरीरलाई खतम गरिदिन्छन्। सम्झन्छन्– शरीर छोड्दा
दुःखबाट छुट्नेछौँ। तर यो पनि महापाप हो, झन् धेरै दुःख भोग्नुपर्छ किनकि यो हो नै
घोर दुःखको दुनियाँ, त्यहाँ हुन्छ अपार सुख। तिमी बच्चाहरूले बुझेका छौ– अब हामी
फर्कन्छौँ, दुःखधामबाट सुखधाममा जान्छौँ अब बाबा जसले सुखधामको मालिक बनाउनुहुन्छ
उहाँलाई याद गर्नुछ। यिनीद्वारा बाबा सम्झाउनुहुन्छ, चित्र पनि छन् नि।
ब्रह्माद्वारा स्वर्गको स्थापना। तिमीले भन्छौ– बाबा हामीले अनेक पटक हजुरबाट
स्वर्गको वर्सा लिन आएका छौँ। बाबा पनि सङ्गममा नै आउनुहुन्छ जुनबेला दुनियाँलाई
परिवर्तन गर्नुछ। त्यसैले बाबा भन्नुहुन्छ– म आएको छु तिमी बच्चाहरूलाई दुःखबाट
छुटाएर सुखको पावन दुनियाँमा लैजान। बोलाउँछन् पनि– हे पतितपावन.... ! यो कहाँ
सम्झन्छन् र हामीले महाकाललाई बोलाउँछौँ, हामीलाई यो फोहोरी दुनियाँबाट घर
लैजानुहोस्। अवश्य बाबा आउनुहुन्छ। हामी मरेपछि त शान्ति हुन्छ नि। शान्ति शान्ति
भनिरहन्छन्। शान्ति त हुन्छ परमधाममा। तर यति धेरै मानिस भइरहेसम्म यो दुनियाँमा
शान्ति कसरी हुन्छ! सत्ययुगमा सुखशान्ति थियो। अहिले कलियुगमा अनेक धर्म छन्। ती सबै
समाप्त भएपछि मात्र एक धर्मको स्थापना हुन्छ र त्यसपछि मात्रै सुखशान्ति हुन्छ नि!
हाहाकारपछि नै फेरि जयजयकार हुन्छ। पछि गएर हेर मृत्युको बजार कति तात्छ! विनाश
अवश्य हुनुछ। एक धर्मको स्थापना बाबा आएर गराउनुहुन्छ। राजयोग पनि सिकाउनुहुन्छ।
बाँकी सबै अनेक धर्म समाप्त हुनेछन्। गीतामा केही देखाइएको छैन। ५ पाण्डव र कुकुर
हिमालयमा गले। फेरि रिजल्ट के भयो? प्रलय देखाइदिएका छन्। जलमग्न भएपनि सारा दुनियाँ
जलमग्न हुन सक्दैन। भारतवर्ष त अविनाशी पवित्र खण्ड हो। त्यसमा पनि आबू सबैभन्दा
पवित्र तीर्थ स्थान हो, जहाँ बाबा आएर तिमी बच्चाहरूद्वारा सबैको सदगति गर्नुहुन्छ।
दिलवाला मन्दिरमा कति राम्रो यादगार छ। कति अर्थसहित छ। तर जसले बनाएका छन् उनीहरूले
जान्दैनन्। फेरि पनि राम्रा समझदार त थिए नि। द्वापरमा अवश्य राम्रा समझदार हुन्छन्।
कलियुगमा हुन्छन् तमोप्रधान। द्वापरमा फेरि पनि तमो बुद्धि हुन्छन्। सबै मन्दिरभन्दा
यो उच्च छ, जहाँ तिमी बसेका छौ।
अहिले तिमीले देख्दै
जानेछौ– विनाशमा एकैचोटी धेरैको (होलसेल) मृत्यु हुन्छ। एकैचोटी धेरै महाभारी लडाइँ
हुन्छ। सबै खतम हुनेछन्। बाँकी एक खण्ड रहनेछ। भारतखण्ड धेरै सानो हुनेछ, बाँकी सबै
समाप्त हुनेछन्। स्वर्ग कति सानो हुन्छ। अहिले यो ज्ञान तिम्रो बुद्धिमा छ। कसैलाई
सम्झाउन पनि धेरै समय लाग्छ। यो हो पुरुषोत्तम सङ्गमयुग। यहाँ कति धेरै मानिस छन् र
त्यहाँ कति थोरै मानिस हुन्छन्, यी सबै खतम हुनेछन्। विश्वको इतिहास भूगोल सुरुदेखि
दोहोरिन्छ। अवश्य स्वर्गबाट दोहोरिनेछ। पछाडि त आउँदैनन्। यो ड्रामाको चक्र अनादि
छ, जुन घुमिरहन्छ। यतातिर कलियुग, उतातिर छ सत्ययुग। हामी सङ्गममा छौँ। यो पनि
तिमीले बुझेका छौ। बाबा आउनुहुन्छ, बाबालाई रथ त अवश्य चाहिन्छ नि। त्यसैले बाबा
सम्झाउनुहुन्छ, अब तिमी घर जान्छौ। फेरि यी लक्ष्मीनारायण बन्नुछ, त्यसैले दैवीगुण
पनि धारण गर्नुपर्छ।
यो पनि तिमी
बच्चाहरूलाई सम्झाइन्छ– रावण राज्य र रामराज्य केलाई भनिन्छ। पतितबाट पावन, फेरि
पावनबाट पतित कसरी बन्छन्! यो खेलको रहस्य बाबा बसेर सम्झाउनुहुन्छ। बाबा नलेजफुल,
बीजरूप हुनुहुन्छ नि! चैतन्य हुनुहुन्छ। उहाँले नै आएर सम्झाउनुहुन्छ। बाबाले नै
भन्नुहुन्छ– सारा कल्प वृक्षको रहस्य बुझ्यौ? यसमा के के हुन्छ? तिमीले यसमा कति
पार्ट खेल्यौ? आधाकल्प हुन्छ दैवी स्वराज्य। आधाकल्प हुन्छ आसुरी राज्य। जुन राम्रा
राम्रा बच्चाहरू छन् उनीहरूको बुद्धिमा ज्ञान हुन्छ। बाबाले आफूसमान बनाउनुहुन्छ
नि! टिचरहरूमा पनि नम्बरवार हुन्छन्। कोही त टिचर भएर पनि फेरि बिग्रन्छन्। धेरैलाई
सिकाएर फेरि स्वयं खतम भए। साना साना बच्चाहरूमा भिन्न भिन्न संस्कार भएका हुन्छन्।
कोही त हेर नम्बरवन सैतान, कोही फेरि परिस्तानमा जानलायक। कोही छन् जसले न ज्ञान
ग्रहण गर्छन्, न आफ्नो आचरण सुधार्छन्, सबैलाई दुःख नै दिइरहन्छन्। यो पनि
शास्त्रहरूमा देखाइएको छ- असुर आएर लुकेर बस्थे। असुर बनेर कति तकलिफ दिन्छन्। यो त
सबै भइरहन्छ। उच्चभन्दा उच्च बाबा नै स्वर्गको स्थापना गर्न आउनुपर्छ। माया पनि धेरै
जबर्जस्त छ। दान दिन्छन् फेरि पनि मायाले बुद्धि फिराइदिन्छ। आधालाई अवश्य मायाले
खान्छ, त्यसैले त भन्छन्– मायालाई जित्न धेरै कठिन छ। आधाकल्प मायाले राज्य गर्छ भने
अवश्य त्यति पहलमान हुन्छ नि। मायाबाट हार्नेको के हालत हुन्छ! अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कहिल्यै पनि लज्जावती झारजस्तो बन्नुछैन। दैवीगुण धारण गरेर आफ्नो आचरण
सुधार्नुछ।
२) बाबाको प्यार
पाउनको लागि सेवा गर्नुछ, तर जे अरूलाई सुनाउँछौ त्यो स्वयं धारण गर्नुछ। कर्मातीत
अवस्थामा जाने पूरा पूरा पुरुषार्थ गर्नुछ।
वरदान:–
साकाररूपमा
बापदादालाई सम्मुख अनुभव गर्ने कम्बाइन्ड रूपधारी भव
जसरी शिवशक्ति
कम्बाइन्ड छन्, त्यसैगरी पाण्डवपति र पाण्डव कम्बाइन्ड छन्। जो यस्तो कम्बाइन्ड
रूपमा रहन्छन् उनीहरूको अगाडि बापदादा साकारमा सर्व सम्बन्धले सामुन्ने आउनुहुनेछ।
अब दिनप्रतिदिन झन् अनुभव गर्नेछौ मानौँ बापदादा सामुन्ने आउनुभयो, हात समात्नुभयो,
बुद्धिले होइन आँखाले देख्नेछौ, अनुभव हुन्छ। तर केवल एक बाबा दोस्रो न कोही, यो
पाठ पक्का होस् फेरि त जसरी छायाँ घुम्छ त्यसैगरी बापदादा आँखाबाट हट्न सक्नुहुन्न,
सदा सम्मुखको अनुभूति हुन्छ।
स्लोगन:–
मायाजित,
प्रकृतिजित बन्ने श्रेष्ठ आत्मा नै स्वकल्याणी वा विश्वकल्याणी हो।
अव्यक्त इसारा:– यो
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
तिमी अहिले जीवनमुक्त
बनिसकेपछि मात्र तिम्रो जीवनमुक्त स्थितिको प्रभावले जीवनबन्ध भएका आत्माहरूको
बन्धन समाप्त गर्छ। त्यसैले त्यो दिन कहिले हुन्छ जब सबै जीवनमुक्त हुन्छन्? कुनै
बन्धन हुँदैन। सबै बन्धनहरूमा पहिलो एउटा बन्धन छ– देहभानको बन्धन, त्यसबाट मुक्त
बन। देह छैन भने अरू बन्धन स्वतः नै खतम हुनेछन्।