07.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सबैभन्दा राम्रो दैवीगुण हो शान्त रहनु , धेरै आवाजमा नआउनु , मीठो बोल्नु। तिमी बच्चाहरू अहिले टकीबाट म ु वी , म ु वीबाट साइलेन्समा जान्छौ , त्यसैले अधिक आवाजमा नआऊ।”

प्रश्न:–
कुन मुख्य धारणाको आधारबाट सबै दैवीगुण स्वत: आउँदै जान्छन्?

उत्तर:–
मुख्य हो पवित्रताको धारणा। देवताहरू पवित्र हुन्छन्, त्यसैले उनीहरूमा दैवी गुण हुन्छ। यस दुनियाँमा कसैमा पनि दैवी गुण हुन सक्दैन। रावण राज्यमा दैवी गुण कहाँबाट आओस्। तिमी रोयल बच्चाहरूले अहिले दैवी गुण धारण गरिरहेका छौ।

गीत:–
भोलेनाथ से निराला.....

ओम् शान्ति ।
अहिले बच्चाहरूले सम्झन्छन्– बिग्रेकोलाई बनाउनेवाला एउटै हुनुहुन्छ। भक्तिमार्गमा अनेकौंको पासमा जान्छन्। कति तीर्थ यात्रा आदि गर्छन्। बिग्रेकोलाई बनाउने, पतितहरूलाई पावन बनाउने त एउटै हुनुहुन्छ, सद्गतिदाता, गाइड, लिबरेटर पनि उहाँ एक हुनुहुन्छ। गायन छ तर अनेक मनुष्य, अनेक धर्म, मठ, पंथ, शास्त्र हुनाले अनेक मार्ग खोजिरहन्छन्। सुख र शान्तिको लागि सतसङ्गहरूमा जान्छन् नि। जो जाँदैनन् उनीहरू मायावी मस्तीमा नै मस्त रहन्छन्। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– अहिले कलियुगको अन्त्य हो। मनुष्यले यो बुझेका छैनन्– सत्ययुग कहिले हुन्छ? अहिले के हो? यो त कुनै बच्चाले पनि बुझ्न सक्छ। नयाँ दुनियाँमा सुख, पुरानो दुनियाँमा अवश्य दु:ख हुन्छ। यस पुरानो दुनियाँमा अनेक मनुष्य छन्, अनेक धर्महरू छन्। तिमीले कसैलाई पनि सम्झाउन सक्छौ। यो हो कलियुग, सत्ययुग बितिसक्यो। त्यहाँ एउटै आदि सनातन देवी-देवता धर्म थियो, अरू कुनै धर्म थिएन। बाबाले धेरै पटक सम्झाउनुभएको छ, फेरि पनि सम्झाउनुहुन्छ, जो आएका छन् उनीहरूलाई नयाँ दुनियाँ र पुरानो दुनियाँको फरक देखाउनुपर्छ। चाहे उनीहरूले जेसुकै भनुन्, कसैले १० हजार वर्ष अवधि भन्छन्, कसैले ३० हजार वर्ष अवधि भन्छन्। अनेक मतहरू छन् नि। अब उनीहरूसँग त छ नै शास्त्रहरूको मत। अनेक शास्त्र, अनेक मत। मनुष्यहरूको मत हो नि। शास्त्र पनि मनुष्यले नै लेख्छन् नि। देवताहरूले कुनै शास्त्र लेख्दैनन्। सत्ययुगमा देवी-देवता धर्म हुन्छ। उनीहरूलाई मनुष्य पनि भन्न सकिँदैन। कोही मित्र-सम्बन्धी आदि भेटिए भने बसेर उनीहरूलाई यो सुनाउनुपर्छ। विचारको कुरा हो। नयाँ दुनियाँमा कति थोरै मनुष्य हुन्छन्। पुरानो दुनियाँमा कति वृद्धि हुन्छ। सत्ययुगमा केवल एक देवता धर्म थियो। मनुष्य पनि थोरै थिए। दैवीगुण हुन्छ नै देवताहरूमा। मनुष्यमा हुँदैन। त्यसैले त मनुष्य गएर देवताहरूको अगाडि नमस्ते गर्छन् नि। देवताहरूको महिमा गाउँछन्। जानेका छन्– उनीहरू स्वर्गवासी हुन्, हामी नर्कवासी, कलियुगवासी हौं। मनुष्यमा दैवीगुण हुनसक्दैन। कसैले भन्यो फलानामा धेरै राम्रो दैवी गुण छ! भन– होइन, दैवीगुण हुन्छ नै देवताहरूमा किनकि उनीहरू पवित्र हुन्छन्। यहाँ पवित्र नहुनाले कसैमा दैवीगुण हुनसक्दैन किनकि आसुरी रावण राज्य हो नि। नयाँ वृक्षमा दैवी गुणवाला देवताहरू रहन्छन् फेरि वृक्ष पुरानो हुन्छ। रावण राज्यमा दैवी गुणवाला हुन सक्दैनन्। सत्ययुगमा आदि सनातन देवी-देवताहरूको प्रवृत्ति मार्ग थियो। प्रवृत्ति मार्गको नै महिमा गाइएको छ। सत्ययुगमा हामी पवित्र देवी-देवता थियौं, संन्यासमार्ग थिएन। कति प्वाइन्ट मिल्छन्। तर सबै प्वाइन्ट कसैको बुद्धिमा रहन सक्दैन। प्वाइन्ट सबै भुल्छन् त्यसैले फेल हुन्छन्। दैवीगुण धारण गर्दैनन्। एउटै दैवीगुण राम्रो छ। धेरै कसैसँग नबोल्नु, मीठो बोल्नु, धेरै कम बोल्नुपर्छ किनकि तिमी बच्चाहरूलाई वाणीबाट इसारा (टकीबाट मुवी), इसाराबाट (मुवीबाट) साइलेन्समा जानुछ। त्यसैले वाणीलाई धेरै कम गर्नुपर्छ। जो धेरै कम, सानो आवाजमा विस्तारै बोल्छन्, अरूले सम्झन्छन्– ऊ उच्च घरानाको हो। मुखबाट सदैव रत्न निस्कियोस्।

संन्यासी हुन् अथवा कोई पनि होस् उनलाई नयाँ र पुरानो दुनियाँको भिन्नता बताउनुपर्छ। सत्ययुगमा दैवी गुण भएका देवताहरू थिए, त्यो प्रवृत्तिमार्ग थियो। तपाईँ संन्यासीहरूको धर्म नै अलग छ। फेरि पनि यो त बुझ्नुहुन्छ नि– नयाँ सृष्टि सतोप्रधान हुन्छ, अहिले तमोप्रधान छ। आत्मा तमोप्रधान भएपछि शरीर पनि तमोप्रधान मिल्छ। अहिले हो नै पतित दुनियाँ। सबैलाई पतित भनिन्छ। त्यो हो पावन सतोप्रधान दुनियाँ। त्यही नयाँ दुनियाँ अहिले पुरानो भएकोछ। यस समयमा सबै मनुष्य आत्माहरू नास्तिक छन्, त्यसैले नै हङ्गामा छ। बाबालाई नचिन्नाले आपसमा लडिरहन्छन्। रचयिता र रचनाको बारेमा जान्नेलाई आस्तिक भनिन्छ। संन्यास धर्मकाले त नयाँ दुनियाँलाई जान्दै जानेका छैनन्। त्यसैले त्यहाँ आउँदै आउँदैनन्। बाबाले सम्झाउनुभएको छ, अहिले सबै आत्माहरू तमोप्रधान बनेका छन् फेरि सबै आत्माहरूलाई सतोप्रधान कसले बनाउनुहुन्छ? त्यो त बाबाले नै बनाउन सक्नुहुन्छ। सतोप्रधान दुनियाँमा थोरै मनुष्य हुन्छन्। बाँकी सबै मुक्तिधाममा रहन्छन्। ब्रह्मतत्त्व छ, जहाँ हामी आत्माहरू निवास गर्छौं। त्यसलाई भनिन्छ ब्रह्माण्ड। आत्मा त अविनाशी छ। यो अविनाशी नाटक हो, जसमा सबै आत्माहरूको पार्ट छ। नाटक कहिले सुरु भयो? यो कहिल्यै कसैले बताउन सक्दैन। यो अनादि ड्रामा हो नि। बाबा केवल पुरानो दुनियाँलाई नयाँ बनाउन आउनुपर्छ। यस्तो होइन, बाबाले नयाँ सृष्टि रच्नुहुन्छ। जब पतित हुन्छन् तब नै पुकार्छन्, सत्ययुगमा कसैले पुकार्दैनन्। त्यो हो नै पावन दुनियाँ। रावणले पतित बनाउँछ, परमपिता परमात्मा आएर पावन बनाउनुहुन्छ। आधा आधा अवश्य भनिन्छ। ब्रह्माको दिन र ब्रह्माको रात आधा आधा हुन्छ। ज्ञानबाट दिन हुन्छ, त्यहाँ अज्ञान हुँदैन। भक्तिमार्गलाई अँध्यारो मार्ग भनिन्छ। देवताहरू पुनर्जन्म लिँदै लिँदै फेरि अँध्यारोमा आउँछन् त्यसैले यस सिँढीमा देखाइएको छ– मनुष्य कसरी सतो, रजो, तमोमा आउँछन्। अहिले सबैको जीर्ण अवस्था छ। बाबा आउनुहुन्छ ट्रान्सफर गराउन अर्थात् मनुष्यलाई देवता बनाउन। जब देवता थिए तब आसुरी गुणवाला मनुष्य थिएनन्। अब यी आसुरी गुण भएकालाई दैवी गुणवाला कसले बनाउने? अहिले त अनेक धर्म, अनेक मनुष्य छन्। लडाइँ झगडा गरिरहन्छन्। सत्ययुगमा एक धर्म हुन्छ त्यसैले दु:खको कुनै कुरा हुँदैन। शास्त्रहरूमा त धेरै दन्त्य कथाहरू छन् जुन जन्मजन्मान्तर पढ्दै आएका छन्। बाबा भन्नुहुन्छ– यी सबै भक्तिमार्गका शास्त्र हुन्, त्यसबाट मलाई प्राप्त गर्न सक्दैनौ। मैले त स्वयं एकै पटक आएर सबैको सद्गति गर्नुछ। यसै फर्केर कोही जान सक्दैन। धेरै धैर्यले बसेर सम्झाउनुपर्छ, हङ्गामा पनि नहोस्। तिनीहरूलाई आफ्नो अहङ्कार त हुन्छ नि। साधुसन्तहरूसँग अनुयायीहरू पनि हुन्छन्। तुरुन्त भनिदिन्छन् यिनलाई पनि ब्रह्माकुमारीहरूको जादु लागेको छ। जो समझदार मनुष्य हुन्छन्, उनीहरूले भन्छन् यो विचार गर्न योग्य कुरा रहेछ। मेला प्रदर्शनीमा अनेक प्रकारका आउँछन् नि। प्रदर्शनी आदिमा कोही पनि आए भने उनलाई धेरै धैर्यसँग सम्झाउनुपर्छ। जसरी बाबाले धैर्यले सम्झाइरहनुभएको छ। धेरै जोडले बोल्नुहुँदैन। प्रदर्शनीमा त धेरै जम्मा हुन्छन् नि। फेरि भनिदिनुपर्छ– तपाईँ केही समय दिएर एकान्तमा आएर बुझ्नुभयो भने तपाईँलाई रचयिता र रचनाको रहस्य सम्झाउँछौं। रचनाको आदि-मध्य-अन्त्यको ज्ञान रचयिता बाबाले नै सम्झाउनुहुन्छ। बाँकी सबैले त नेती नेती नै भनेर जान्छन्। कुनै पनि मनुष्य जान सक्दैन। ज्ञानबाट सद्गति हुन्छ फेरि ज्ञानको आवश्यकता रहँदैन। यो ज्ञान बाबा सिवाय अरू कसैले सम्झाउन सक्दैन। सम्झाउने कुनै बुज्रुग भयो भने मानिसहरूले सम्झछन् यिनी पनि अनुभवी छन्। अवश्य सतसङ्ग आदि गरेका होलान्। कुनै बच्चाले सम्झायो भने भन्छन् यसले के जानोस्। त्यसैले यस्ताहरूलाई बुज्रुगको असर पर्न सक्छ। बाबा एकैपटक आएर यो ज्ञान सम्झाउनुहुन्छ। तमोप्रधानबाट सतोप्रधान बनाउनुहुन्छ। माताहरूले बसेर उनीहरूलाई सम्झाए भने खुसी हुन्छन्। भन, ज्ञान सागर बाबाले ज्ञानको कलश हामी माताहरूलाई दिनुभएको छ जुन हामीले फेरि अरूलाई दिन्छौं। धेरै नम्रतासँग बोल्दै जानुपर्छ। शिव नै ज्ञानका सागर हुनुहुन्छ जसले हामीलाई ज्ञान सुनाउनुहुन्छ। भन्नुहुन्छ– मैले तिमी माताहरूद्वारा मुक्ति-जीवनमुक्तिको गेट खोल्छु, अरू कसैले खोल्न सक्दैन। हामीले अहिले परमात्मासँग पढिरहेका छौं। हामीलाई कुनै मनुष्यले पढाउँदैन। ज्ञानका सागर एउटै परमपिता परमात्मा हुनुहुन्छ। तिमीहरू सबै भक्तिका सागर हौ। भक्तिका अथोरिटी हौ, न कि ज्ञानका। ज्ञानको अथोरिटी एक म मात्रै हुँ। महिमा पनि एकको गर्छन्। उहाँ नै उच्च भन्दा उच्च हुनुहुन्छ। हामीले उहाँलाई नै मान्छौं। उहाँले हामीलाई ब्रह्मा तनद्वारा पढाउनुहुन्छ त्यसैले ब्रह्माकुमार-कुमारीको गायन छ। यसरी धेरै मीठोसँग सम्झाऊ, चाहे जतिसुकै पढेको होस्। धेरै प्रश्न गर्छन्। पहिला सुरुमा त बाबामा नै निश्चय गराउनुछ। पहिला तपाईँले यो बुझ्नुहोस्– रचयिता बाबा हुनुहुन्छ वा हुनुहुन्न। सबैका रचयिता एउटै शिवबाबा हुनुहुन्छ, उहाँ नै ज्ञानका सागर हुनुहुन्छ। बाबा, टिचर, सद्गुरु हुनुहुन्छ। पहिला त यो निश्चयबुद्धि होस्– रचयिता बाबाले नै रचनाको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। उहाँले नै हामीलाई सम्झाउनुहुन्छ, उहाँले त अवश्य सत्य नै सम्झाउनुहुन्छ। फेरि कुनै प्रश्न उठ्न सक्दैन। बाबा आउनुहुन्छ नै सङ्गममा। केवल यति भन्नुहुन्छ– मलाई याद गर्यौ भने पाप भस्म हुन्छ। हाम्रो काम नै हो पतितलाई पावन बनाउने। अहिले हो तमोप्रधान दुनियाँ। पतित-पावन बाबा विना कसैलाई जीवनमुक्ति मिल्न सक्दैन। सबै गङ्गा स्नान गर्न जान्छन् भने पतित ठहरिए नि। मैले त भन्दिनँ कि गङ्गा स्नान गर। मैले त भन्छु म एकलाई याद गर। म तिमी सबै प्रियतमाहरूको प्रियतम हुँ। सबैले एक प्रियतमलाई याद गर्छन्। रचनाका रचयिता एउटै बाबा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ– देहीअभिमानी बनेर मलाई याद गर्यौ भने यस योग अग्निबाट विकर्म विनाश हुन्छ। यो योग बाबाले अहिले नै सिकाउनुहुन्छ जबकि पुरानो दुनियाँ परिवर्तन भइरहेको छ। विनाश सामुन्ने खडा छ। अहिले हामी देवता बनिरहेका छौं। बाबाले कति सहजै बताउनुहुन्छ। बाबाको सामुन्ने सुने पनि एकरस भएर सुन्दैनन्। बुद्धि अरू अरूतर्फ भागिरहन्छ। भक्तिमा पनि यस्तो हुन्छ। सारा दिन त व्यर्थ जान्छ बाँकी जुन टाइम फिक्स गर्छन्, त्यसमा पनि बुद्धि कहाँ कहाँ जान्छ। सबैको यस्तै हालत हुन्छ होला। माया हो नि!

कुनै कुनै बच्चाहरू बाबाको सामुन्ने बस्दा ध्यानमा जान्छन्, यो पनि टाइम वेस्ट भयो नि। कमाइ त भएन। बाबा त भन्नुहुन्छ– यादमा बस, जसबाट विकर्म विनाश होस्। ध्यानमा जानाले बुद्धिमा बाबाको याद रहँदैन। यी सबै कुरामा धेरै नोक्सान छ। तिमीले त आँखा बन्द पनि गर्नुहुँदैन। यादमा बस्नु छ नि। आँखा खोल्नलाई डराउनुहुँदैन। आँखा खुला होस्। बुद्धिमा प्रियतम नै याद रहोस्। आँखा बन्द गरेर बस्नु, यो काइदा होइन। बाबा भन्नुहुन्छ– यादमा बस। आँखा बन्द गर, यस्तो कहाँ भन्नुहुन्छ र। आँखा बन्द गरेर, निहुरिएर बस्यौ भने बाबाले कसरी देख्नुहुन्छ। आँखा कहिल्यै बन्द गर्नुहुँदैन। आँखा बन्द हुन्छ भने दालमा केही कालो होला, अरू कसैलाई याद गर्छन् होला। बाबाले त भन्नुहुन्छ– अरू कुनै मित्र-सम्बन्धी आदिलाई याद गर्यौ भने तिमी सच्चा प्रियतमा ठहरिएनौ। सच्चा प्रियतमा बन्यौ भने मात्रै उच्च पद पाउँछौ। मेहनत सारा यादमा छ। देह अभिमानमा बाबालाई भुल्छन्, फेरि धक्का खाइरहन्छन् र धेरै मीठो पनि बन्नुछ। वातावरण पनि मीठो होस्, कुनै आवाज नहोस्। जो आउँदा पनि देखुन्– कुरा कति मीठो गर्छन्। धेरै साइलेन्स हुनुपर्छ। कत्ति पनि लडाइँ-झगडा गर्नुहुँदैन। नत्र बाबा, टिचर, गुरु तीनैको निन्दा गराउँछौ। तिनीहरूले फेरि पद पनि धेरै सानो पाउने छन्। बच्चाहरूलाई अब त समझ मिलेको छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई पढाउँछु उच्च पद पाउन। पढेर फेरि अरूलाई पढाउनुछ। स्वयंले पनि बुझ्न सक्छौ, हामीले कसैलाई पनि सुनाउँदैनौ भने के पद पाउँछौं! प्रजा बनाएनौ भने के बन्छौ! योग छैन, ज्ञान छैन भने फेरि अवश्य पढेकाहरूको भारी बोक्नुपर्नेछ। आफूलाई हेर्नुपर्छ यस समयमा फेल भयो, सानो पद पायो भने कल्पकल्पान्तर सानो पद हुन्छ। बाबाको काम हो सम्झाउने, मान्दैनन् भने आफ्नै पद भ्रष्ट गर्नेछन्। कसरी कसलाई सम्झाउनुपर्छ, त्यो पनि बाबाले सम्झाइरहनुहुन्छ। जति कम र विस्तारै बोल्छौ त्यत्ति राम्रो। बाबाले सेवा गर्नेहरूको महिमा पनि गर्नुहुन्छ नि। धेरै राम्रो सेवा गरे भने बाबाको दिलमा चढ्छन्। सेवाले नै त दिलमा चढ्छौ नि। यादको यात्रा पनि अवश्य हुनुपर्छ, अनि मात्रै सतोप्रधान बन्छौ। धेरै सजाय खायौ भने पद सानो हुन्छ। पाप भस्म भएन भने सजाय धेरै खानुपर्छ, पद पनि सानो हुन जान्छ। त्यसलाई घाटा भनिन्छ। यो पनि व्यापार हो नि। घाटामा जानुहुँदैन। दैवीगुण धारण गर। महान बन्नुपर्छ। बाबाले उन्नतिको लागि थरी थरीका कुरा सुनाउनुहुन्छ, अहिले जे गर्छौ त्यो पाउँछौ। तिमी परिस्तानी बन्नुछ, गुण पनि त्यस्तै धारण गर्नुछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जोसँग पनि धेरै नम्रतासँग बिस्तारै कुराकानी गर्नुछ। बोलीचाली धेरै मीठो होस्। साइलेन्सको वातावरण होस्। कुनै पनि आवाज नहोस् तब सेवाको सफलता हुन्छ।

२) सच्चा सच्चा प्रियतमा बनेर एक प्रियतमलाई याद गर्नुछ। यादमा कहिल्यै आँखा बन्द गरेर निहुरिएर बस्नु छैन। देहीअभिमानी भएर रहनुछ।

वरदान:–
सबै खजानहरूलाई स्वप्रति र अरूप्रति युज गर्ने अखण्ड महादानी भव

जसरी बाबाको भण्डारा सदा चलिरहन्छ, दिनहुँ दिनुहुन्छ, त्यसैगरी तिम्रो पनि अखण्ड लङ्गर चलिरहोस् किनकि तिमीहरूसँग ज्ञानको, शक्तिहरूको, खुसीको भरपुर भण्डारा छ। यसलाई साथमा राख्न वा युज गर्नमा कुनै पनि खतरा छैन। यो भण्डारा खुला भइरह्यो भने चोर आउनेछैन। बन्द राख्यौ भने चोर आइहाल्छन्। त्यसैले सदा आफूले पाएका खजानहरूलाई हेर र स्वप्रति अनि अरूप्रति युज गर, तब अखण्ड महादानी बन्नेछौ।

स्लोगन:–
सुनेको कुरालाई मनन गर, मनन गर्नाले शक्तिशाली बन्छौ।