07.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
ब्रह्मा मुखवंशावली ब्राह्मण हौ , तिमीलाई नै बाबाद्वारा ज्ञानको तेस्रो नेत्र
मिलेको छ , तिमी अहिले ईश्वरीय गोद मा छौ।”
प्रश्न:–
अद्वैत राज्य,
जहाँ अर्को कुनै धर्म हुँदैन, त्यस राज्यको स्थापनाको आधार के हो?
उत्तर:–
योगबल।
बाहुबलबाट कहिल्यै पनि अद्वैत राज्यको स्थापना हुन सक्दैन। हुन त क्रिस्चियनसँग यति
शक्ति छ जसबाट आपसमा मिले भने सारा विश्वमा राज्य गर्न सक्छन्, तर यो नियमले भन्दैन।
विश्वमा एक राज्यको स्थापना गर्ने बाबाको नै काम हो।
गीत:–
छोड़ भी दे
आकाश सिंहासन...
ओम् शान्ति ।
बच्चाहरूलाई
ओम् शान्तिको अर्थ त धेरै पटक सम्झाइएको छ। ओम् अर्थात् म को हुँ? म आत्मा हुँ। यो
शरीर हाम्रो अंगहरू हुन्। म आत्मा परमधामको बासिन्दा हुँ। सबैले पुकार्छन्– हे दूर
देश निवासी! आउनुहोस् किनकि संसारमा अहिले धेरै धर्म ग्लानि भएको छ, दुःख भएको छ।
हजुरले फेरि आएर गीताको उपदेश सुनाउनुहोस्! गीताको लागि नै भन्छन्– शिवबाबा आउनुहोस्
किनकि उहाँ सबैका पिता हुनुहुन्छ। भन्छन् फेरि सबैमाथि मायारूपी रावणको छाया परेको
छ, त्यसैले सबै दुःखी पतित छन्। पुकार्छन्– रूप परिवर्तन गरेर आउनुहोस् अर्थात्
मनुष्यरूपमा आउनुहोस्! त्यसैले मनुष्यरूपमा आउँछु। मेरो आगमन दिव्य र अलौकिक छ। म
गर्भमा आउँदिन, म आउँछु नै साधारण वृद्ध तनमा।
तिमी बच्चाहरूलाई थाहा
छ– म कल्प कल्प आफ्नो निराकारी रूप परिवर्तन गरेर आउँछु। ज्ञानको सागर त परमपिता
परमात्मा नै हुनुहुन्छ। श्रीकृष्णलाई कहिल्यै पनि ज्ञानको सागर भनिँदैन। बाबा
भन्नुहुन्छ– म यस साधारण तनमा आएर तिमीलाई फेरि सहज राजयोग सिकाइरहेको छु। दुनियाँ
पतित बनेपछि मात्र म आउनुपर्छ। कलियुगबाट सत्ययुग बनाउन म आउँछु। ब्रह्मा, विष्णु,
शङ्करका चित्र पनि छन्। ब्रह्माद्वारा स्थापना, शङ्करद्वारा विनाश र फेरि
विष्णुद्वारा पालना। यी लक्ष्मीनारायण, विष्णुका दुई रूप हुन्। यो कुरा तिमी
बच्चाहरूलाई थाहा छ। बाबा फेरि रूप परिवर्तन गरेर आउनुभएको छ। उहाँ हाम्रो परमपिता
पनि हुनुहुन्छ, परम शिक्षक पनि हुनुहुन्छ, परम सदगुरु पनि हुनुहुन्छ र ती
गुरुहरूलाई परम भनिँदैन। उहाँ त पिता, टिचर, गुरु तीनै हुनुहुन्छ। लौकिक पिताले त
बच्चाको पालना गरेर फेरि उनीहरूलाई स्कुलमा पठाइदिन्छन्। कोही विरलै होलान् जो पिता
टिचर पनि होलान्। यो कसैले भन्न सक्दैन। सबै आत्माहरूले उहाँलाई पुकार्छन्, परमपिता
परमात्मा भन्छन् भने उहाँ आत्माका पिता हुनुभयो। यो गीत पनि भक्तिमार्गको हो।
सत्ययुगमा त माया हुँदैहुँदैन, जसले गर्दा पुकार्नुपर्छ। त्यहाँ त सुख नै सुख हुन्छ।
तिमीलाई थाहा छ यो चक्र ५ हजार वर्षको हुन्छ। आधाकल्प सत्ययुग-त्रेता दिन, आधाकल्प
द्वापर-कलियुग रात। तिमी ब्रह्मा मुखवंशावली ब्राह्मण हौ। ब्रह्माको अथवा तिमी
ब्राह्मणहरूको नै रात र दिन भनिन्छ। दिन र रातको ज्ञान पनि तिमी बच्चाहरूलाई छ।
लक्ष्मीनारायणलाई यो ज्ञान हुँदैन। अहिले तिमी सङ्गममा छौ, तिमीलाई थाहा छ अहिले
भक्तिमार्ग पूरा भएर, दिनको उदय भएको छ। यो ज्ञान अहिले बाबाबाट तिमीलाई मिलेको छ।
कलियुगमा वा सत्ययुगमा यो ज्ञान कसैसँग पनि हुँदैन, त्यसैले भनिन्छ– ब्रह्माको दिन,
ब्रह्माको रात। तिमीले अहिले सूर्यवंशी-चन्द्रवंशी राज्य पाउन पुरुषार्थ गरिरहेका
छौ। फेरि आधाकल्पपछि तिमीले राज्य गुमाउँछौ। यो ज्ञान तिमी ब्राह्मणहरू बाहेक अरू
कसैसँग छैन। तिमीहरू देवता बनेपछि फेरि यो ज्ञान रहँदैन। अहिले हो रात्रि। शिवरात्रि
पनि भनिन्छ। श्रीकृष्णको पनि रात्रि भन्छन् तर त्यसको अर्थ बुझ्दैनन्। शिवको जयन्ती
अर्थात् शिवको अवतरण (रिइन्कारनेसन) हुन्छ। यस्तो बाबाको अवतरण दिवस कम्तीमा पनि एक
महिना मनाउनुपर्छ। जसले सारा सृष्टिलाई पतितबाट पावन बनाउनुहुन्छ, यहाँ त त्यसको
सार्वजनिक बिदा पनि दिँदैनन्। बाबा भन्नुहुन्छ– म सबैको मुक्तिदाता हुँ, गाइड बनेर
सबैलाई लैजान्छु।
अहिले तिमीले राजयोग
सिक्ने पुरुषार्थ गर्छौ। बाबाले तिमीलाई ज्ञानको तेस्रो नेत्र दिइरहनुभएको छ।
आत्माको रूप कस्तो छ– यो पनि कसैलाई थाहा छैन। बाबा भन्नुहुन्छ– तिमी आत्माहरू न
बुढी औँला जस्ता छौ, न अखण्ड ज्योति जस्ता छौ। तिमीहरू त स्टार हौ, बिन्दुजस्ता। म
पनि आत्मा बिन्दु हुँ, तर म पुनर्जन्ममा आउँदिन। मेरो महिमा नै अलग छ, म सुप्रिम,
परम भएको कारण जन्ममरणको चक्रमा आउँदिन। तिमी आत्माहरू शरीरमा आउँछौ। त्यसैले ८४
जन्म लिन्छौ, म यस शरीरमा प्रवेश गर्छु। मैले यो शरीर लोन लिएको छु। बाबा
सम्झाउनुहुन्छ– तिमी पनि आत्मा हौ। तर तिमीले आफूलाई म आत्मा हुँ भन्ने अनुभूति
गर्दैनौ, आत्माले नै बाबालाई याद गर्छ। दुःखमा सधैँ याद गर्छन्, हे भगवान, हे
रहमदिल बाबा रहम, दया गर्नुहोस्! रहम माग्छौ किनकि उहाँ बाबा नै ज्ञानका सागर,
आनन्दका सागर, पवित्रताका सागर हुनुहुन्छ। ज्ञानमा पनि सम्पूर्ण हुनुहुन्छ। ज्ञानको
सागर हुनुहुन्छ। मानिसको यो महिमा गर्न सकिँदैन। सारा दुनियाँलाई सुख दिनु, यो
बाबाको नै काम हो। उहाँ हुनुहुन्छ रचयिता, बाँकी सबै हुन् रचना। रचयिताले रचनाको
रचना गर्नुहुन्छ। पहिला स्त्रीलाई एडप्ट गर्नुहुन्छ, फेरि उनीद्वारा रचना
रच्नुहुन्छ, फेरि उनीहरूको पालना पनि गर्नुहुन्छ, विनाश गर्नुहुन्न। उहाँ बेहदको
बाबाले आएर स्थापना-पालना-विनाश गराउनुहुन्छ। आदि सनातन देवीदेवता धर्मको पालना
गराउनुहुन्छ। सत्ययुगको आरम्भमा तुरुन्तै राजधानी स्थापन हुन्छ र अरू धर्मका
मानिसहरूले त केवल आआफ्नो धर्म स्थापन गर्छन् फेरि लाखौँ, करोडौँको अन्दाजमा वृद्धि
भएपछि मात्र उनीहरूको राज्य हुन्छ। अहिले तिमीले राजधानी स्थापन गरिरहेका छौ।
योगबलबाट तिमी सारा विश्वको मालिक बन्छौ, बाहुबलबाट कहिल्यै कसैले विश्वमा राज्य
गर्न सक्दैन। बाबाले सम्झाउनुभएको छ– क्रिस्चियनमा यति तागत छ, उनीहरू आपसमा मिले
भने सारा विश्वमा राज्य गर्न सक्छन्। तर बाहुबलबाट विश्वमा राज्य पाउने, यो नियमले
भन्दैन। ड्रामामा यो काइदा छैन, जसबाट बाहुबलवालाहरू विश्वको मालिक बन्छन्।
बाबा सम्झाउनुहुन्छ–
विश्वको बादसाही योगबलद्वारा मबाट नै मिल्न सक्छ। त्यहाँ कुनै विभाजन हुँदैन। धरती,
आकाश सबै तिम्रो हुन्छ। तिमीलाई कसैले पनि छुन सक्दैन। त्यसलाई भनिन्छ अद्वैत राज्य।
यहाँ छन् अनेक राज्य। बाबा सम्झाउनुहुन्छ– ५ हजार वर्षपछि तिमी बच्चाहरूलाई यो
राजयोग सिकाउँछु। श्रीकृष्णको आत्माले अहिले राजयोग सिकिरहेको छ। श्रीकृष्ण पहिलो
नम्बरका राजकुमार थिए। उनी यस समयमा ८४ जन्मको अन्त्यमा आएर ब्रह्मा बनेका छन्।
सृष्टिको चक्र कसरी घुम्छ, यो कुरा बच्चाहरूलाई सम्झाइएको छ। बाबाले फेरि स्वर्गको
स्थापना गरिरहनुभएको छ। अनेक धर्मको विनाश अवश्य हुनेछ। एक धर्मको स्थापना हुन्छ।
भारतवर्ष नै १०० प्रतिशत सम्पन्न, धर्मश्रेष्ठ थियो। देवताहरूका कर्म पनि श्रेष्ठ
थिए। उनीहरूको नै महिमा गायन गरिएको छ– सर्वगुण सम्पन्न... पहिला सुरुमा पवित्र थिए,
अहिले पतित बनेका छन् फेरि बाबाले आएर स्त्रीपुरुष दुवैलाई पवित्र बनाउनुहुन्छ।
रक्षाबन्धनको उत्सव किन यति धेरै मनाउँछन्– यो कसैलाई थाहा छैन। बाबाले नै आएर
प्रतिज्ञा गराउनुभएको थियो– अन्तिम जन्ममा तिमी दुवै पवित्र बन। संन्यासीहरूको त
धर्म नै अलग छ। ज्ञान, भक्ति र वैराग्य– यो तिम्रो लागि हो। तिमीले देखेका हौला–
पादरीहरू हिँड्दा आँखा एकतीर हुन्छ तर कसैलाई हेर्दैनन्। ननहरू (इसाई योगिनी)
हुन्छन् नि। अब उनीहरूले त क्राइस्टलाई याद गर्छन्। भन्छन्– क्राइस्ट परमात्माका
बच्चा थिए। तिम्रो कुनै सेतो कपडा आदिसँग कनेक्सन छैन। तिमी त आत्मा हौ। नन बट वन (तिम्रो
त एक ईश्वर बाहेक अरू केही छैन), उहाँ एकलाई नै याद गर्नुछ। सच्चा नन त तिमीहरू हौ,
तिमीहरूलाई वर्सा उहाँ बाबाबाट मिल्नेछ, उहाँलाई याद गरेमा नै विकर्म विनाश हुन्छन्
त्यसैले बाबाको आदेश छ– म एकलाई याद गर। आत्माको निश्चय नभएको कारण ननहरूले फेरि
क्राइस्टलाई याद गर्छन्। परमात्मा को हुनुहुन्छ– यो जान्दैनन्। यहाँका मानिस जो
पहिला सुरुमा आउँछन्, उनीहरूले नै जान्दैनन्। लक्ष्मीनारायणलाई यो सृष्टिको ज्ञान
कहाँ हुन्छ र! न उनीहरू त्रिकालदर्शी हुन्। त्रिकालदर्शी तिमी ब्राह्मण बन्छौ।
बाबाले तिमीलाई कौडीबाट परिवर्तन गरेर हिराजस्तो बनाउनुहुन्छ। अहिले तिमी ईश्वरीय
गोदमा छौ। तिम्रो यो अन्तिम जन्म धेरै अमूल्य छ। यहाँको र पुरा दुनियाँको तिमीले
रुहानी सेवा गर्छौ। बाँकी उनीहरू त हुन् जिस्मानी समाजसेवीहरू, तिमी हौ रुहानी
सेवाधारी। तिमीलाई सिकाउने परम आत्मा हुनुहुन्छ। हरेक आत्मालाई भन– बाबालाई याद गर।
बाबालाई नै पतितपावन भनिन्छ। तिमीलाई गिर्न ८४ जन्म लाग्छ, फेरि चढ्न एक सेकेन्ड
लाग्छ। यो तिम्रो यस मृत्युलोकको अन्तिम जन्म हो, मृत्युलोक मुर्दावाद, अमरलोक
जिन्दावाद हुनेछ। यसलाई अमर कथा भनिन्छ। अमर बाबाले आएर तिमी अमर आत्माहरूलाई अमर
युगमा लैजानको लागि अमर कथा सुनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– अच्छा अरू कुराहरू
भुल्यौ भने पनि केवल आफूलाई आत्मा निश्चय गरेर म एक बाबालाई याद गर। बुद्धिको योग
मसँग लगायौ भने तिम्रा पाप भस्म हुन्छन् र तिमी पुण्य आत्मा बन्छौ। तिमी मानिसबाट
देवता बन्छौ, यो नयाँ कुरा होइन। ५ हजार वर्षपछि बाबाले आएर तिमीलाई वर्सा
दिनुहुन्छ, रावणले फेरि श्राप दिन्छ– यो हो खेल। भारतवर्षको नै कहानी हो। यी कुरा
बाबाले नै सम्झाउनुहुन्छ, कुनै पनि वेदशास्त्र आदिमा यी कुरा छैनन् त्यसैले परमपिता
परमात्मालाई नै ज्ञानका सागर, शान्तिका सागर, आनन्दका सागर भनिन्छ। बाबाले तिमीलाई
पनि आफूसमान बनाउनुहुन्छ। तिमी पनि पूज्य थियौ फेरि पुजारी बन्छौ, आफै पूज्य, आफै
पुजारी। यो भगवानको लागि भनिएको होइन। तिमीहरूको कुरा हो, तिमीले पहिला केवल एक
शिवको भक्ति गर्थ्यौ। अव्यभिचारी भक्ति गर्थ्यौ फेरि देवताहरूको भक्ति गर्न थाल्यौ,
फेरि तल ओर्लंदै आयौ। अब फेरि तिमी देवीदेवता बनिरहेका छौ, जसले कम पढ्छन् उनीहरू
प्रजामा जान्छन्। जसले राम्रोसँग पढ्छन्-पढाउँछन्, उनीहरूले राज्य भाग्य पाउँछन्।
प्रजा त धेरै बन्छन्। एक महाराजाका लाखौँ करोडौँको अन्दाजमा प्रजा हुन्छन्। तिमीले
पुरुषार्थ गर्छौ नै कल्प पहिला अनुसार। पुरुषार्थबाट थाहा हुन्छ– मालामा को को
आउनेछन्। प्रजामा पनि कोही गरिब, कोही धनवान बन्छन्। भक्तिमार्गमा ईश्वर अर्थ दान
गर्छन्। किन ईश्वरसँग केही छैन र? कि त भन्छन्, श्रीकृष्ण अर्पणम्। तर वास्तवमा
हुन्छ ईश्वर अर्पणम्, मानिसले जे जति गर्छन् त्यसको फल अर्को जन्ममा मिल्छ। एक
जन्मको लागि मिल्छ। अब बाबा भन्नुहुन्छ– म आएको छु, तिमीलाई २१ जन्मको वर्सा दिन।
मेरो लागि डाइरेक्ट जेसुकै गरे पनि २१ जन्मको लागि त्यसको प्राप्ति तिमीलाई हुन्छ।
इन्डाइरेक्ट गरे भने एक जन्मको लागि अल्पकालको सुख मिल्छ। बाबा सम्झाउनुहुन्छ– यो
तिम्रो सबै कुरा माटोमा मिल्नेछ, त्यसैले यसलाई सफल गर। तिमीले यो रुहानी हस्पिटल
कम युनिभर्सिटी खोल्दै जाऊ, जहाँबाट सबै सदा स्वस्थ, सदा सम्पन्न बन्छन्, यसबाट धेरै
आम्दानी हुन्छ। योगबाट स्वास्थ्य र चक्रलाई जानेमा सम्पन्नता प्राप्त हुन्छ। त्यसैले
घरघरमा यस्तो युनिभर्सिटी कम हस्पिटल खोल्दै जाऊ। ठुला मानिस रहेछन् भने ठुलै खोलुन्,
जहाँ धेरै आउन सक्छन्। बोर्डमा लेखिदेऊ। जस्तै प्राकृतिक उपचार गर्नेहरूले लेख्छन्।
बाबाले सारा दुनियाँको प्रकृति परिवर्तन गरेर पवित्र बनाइदिनुहुन्छ। यस समयमा सबै
अपवित्र छन्। सारा दुनियाँलाई सदा सम्पन्न, सदा स्वस्थ बनाउने बाबा नै हुनुहुन्छ,
जसले अब तिमी बच्चाहरूलाई पढाइरहनुभएको छ। तिमी हौ मेरा अति प्यारा बच्चाहरू। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो यस अमूल्य जीवनलाई रुहानी सेवामा लगाउनु छ। सारा दुनियाँको सेवा गर्नुछ।
२) आफ्नो सबैथोक सफल
पार्नको लागि डाइरेक्ट ईश्वर अर्थ अर्पण गर्नुछ। रुहानी हस्पिटल कम युनिभर्सिटी
खोल्नुछ।
वरदान:–
एकरस
स्थितिद्वारा अतीन्द्रिय सुखको अनुभूति गर्ने सर्व आकर्षणहरूबाट मुक्त भव
इन्द्रियहरूको आकर्षण
र सम्बन्धहरूको आकर्षणबाट मुक्त बनेपछि अतीन्द्रिय सुखको अनुभूति गर्न सक्छौ। कुनै
पनि कर्मेन्द्रियको वश भएपछि जुन भिन्न भिन्न आकर्षण हुन्छन् त्यसले अतीन्द्रिय सुख
वा हर्ष दिलाउनमा बन्धन पार्छन्। तर बुद्धि सर्व आकर्षणहरूबाट मुक्त भएर एक ठेगानामा
टिकेपछि हलचल समाप्त हुन्छ अनि एकरस अवस्था बनेपछि अतीन्द्रिय सुखको अनुभूति हुन्छ।
स्लोगन:–
आफ्नो बुद्धिको
लाइन सदा क्लियर राख्यौ भने एकअर्काको मनको भावलाई जान्नेछौ।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
कुनै पनि प्रकारको
हलचलमा अचल रहनु, यही श्रेष्ठ ब्राह्मण आत्माहरूको निसानी हो। दुनियाँ हलचलमा भए पनि
तिमी श्रेष्ठ आत्माहरू हलचलमा आउन सक्दैनौ। किन? ड्रामाको हर दृश्यलाई जानेका छौ।
ज्ञानस्वरूप आत्माहरू, पावरफुल आत्माहरू सदा स्वतः नै अचल रहन्छन्। त्यसैले कहिल्यै
वायुमण्डलबाट आत्तिनु छैन, सदा निर्भय हुनु छ।