08.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– सदैव यही
खुसीमा रहने गर– हामीले ८४ को चक्र पूरा गर्यौँ , अब जान्छौँ आफ्नो घर , बाँकी केही
दिन को यो कर्मभोग हो।”
प्रश्न:–
विकर्माविजय
बन्ने बच्चाहरूले विकर्महरूबाट बच्नको लागि कुन कुरामा धेरै ध्यान दिनुछ?
उत्तर:–
जुन सबै
विकर्महरूको जड देह अभिमान हो, त्यो देह अभिमानमा कहिल्यै नआउनु, यसको ध्यान
राख्नुछ। यसको लागि बारम्बार देहीअभिमानी बनेर बाबालाई याद गर्नुछ। राम्रो र नराम्रो
कर्मको फल अवश्य मिल्छ, अन्त्यमा विवेकले मन खान्छ। तर यो जन्मका पापहरूको बोझलाई
हल्का बनाउनको लागि बाबालाई सत्य सत्य सुनाउनुछ।
ओम् शान्ति ।
सबैभन्दा ठुलो
लक्ष्य यादको हो। धेरैलाई केवल सुन्ने सोख हुन्छ। ज्ञानलाई बुझ्न त धेरै सहज छ। ८४
को चक्रलाई बुझ्नुछ, स्वदर्शन चक्रधारी बन्नुछ। ज्यादा केही छैन। तिमी बच्चाहरूले
बुझेका छौ– हामी सबै स्वदर्शन चक्रधारी हौँ। स्वदर्शन चक्रले कसैको घाँटी काट्दैनौँ।
जस्तै श्रीकृष्णको लागि देखाइएको छ। तर यी लक्ष्मी-नारायण विष्णुका दुई रूप हुन्।
के उनीहरूसँग स्वदर्शन चक्र छ? फेरि श्रीकृष्णको चक्र किन देखाउँछन्? एउटा पत्रिका
निकाल्छन्, जसमा श्रीकृष्णका यस्ता धेरै चित्र देखाउँछन्। बाबाले त आएर तिमीलाई
राजयोग सिकाउनुहुन्छ, न कि चक्रले असुरहरूको घात गर्नुहुन्छ। असुर उनीहरूलाई भनिन्छ,
जसको आसुरी स्वभाव छ। बाँकी मनुष्य त मनुष्य हुन् नि। यस्तो होइन– स्वदर्शन चक्रले
बसेर सबैलाई मार्छन्। भक्तिमार्गमा बसेर के के चित्र बनाएका छन्! रातदिनको फरक छ।
तिमी बच्चाहरूले यो सृष्टि चक्र र सारा ड्रामालाई जान्नुछ किनकि सबै कलाकार हुन्।
ती हदका कलाकारहरूले त ड्रामालाई जान्दछन्। यो हो बेहदको ड्रामा । यसमा डिटेलमा
बुझ्न सक्दैनन्। त्यो ड्रामा त २ घण्टाको हुन्छ। डिटेलमा पार्ट जान्दछन्। यहाँ त ८४
जन्महरूलाई जान्नुपर्छ। बाबाले सम्झाउनुभएको छ– म ब्रह्माको रथमा प्रवेश गर्छु।
ब्रह्माको पनि ८४ जन्महरूको कथा हुनुपर्छ। मानिसहरूको बुद्धिमा यी कुरा आउन सक्दैनन्।
यो पनि बुझ्दैनन्– ८४ लाख जन्म छन् वा ८४ जन्म छन्? बाबा भन्नुहुन्छ– तिम्रो ८४
जन्महरूको कथा सुनाउँछु। ८४ लाख जन्म भए सुनाउन कति वर्ष लाग्छ! तिमीले त सेकेन्डमा
जान्दछौ– यो ८४ जन्महरूको कथा हो। हामीले ८४ को चक्कर कसरी लगायौँ, ८४ लाख भए
सेकेन्डमा कहाँ बुझ्न सक्छौ र! ८४ लाख जन्म छँदै छैनन्। तिमी बच्चाहरूलाई पनि खुसी
हुनुपर्छ। हाम्रो ८४ को चक्र पूरा भयो। अब हामी घर जान्छौँ। बाँकी केही दिनको यो
कर्मभोग हो। विकर्म भस्म भएर कर्मातित अवस्था कसरी हुन्छ, यसको लागि यहाँ युक्ति
बताइएको छ। बाँकी सम्झाउनुहुन्छ– यो जन्ममा जे जति विकर्म गरेका छौ, त्यो लेखेर देऊ,
अनि बोझ हल्का हुन्छ। जन्मजन्मान्तरका विकर्म त कसैले लेख्न सक्दैनन्। विकर्म त
हुँदै आएका छन्। रावण राज्य सुरु भएदेखि नै कर्म विकर्म बन्छन्। सत्ययुगमा कर्म
अकर्म हुन्छन्। भगवानुवाच– मैले तिमीलाई कर्म-अकर्म-विकर्मको गतिलाई सम्झाउँछु।
विकर्माजितको संवत् लक्ष्मी-नारायणबाट सुरु हुन्छ। सिँढीमा बडो क्लियर छ।
शास्त्रहरूमा यी कुनै कुरा छैनन्। सूर्यवंशी, चन्द्रवंशीको रहस्य पनि तिमी
बच्चाहरूले बुझेका छौ– हामी नै थियौँ। विराट रूपको चित्र पनि धेरै बनाउँछन् तर अर्थ
केही पनि जान्दैनन्। बाबा बाहेक अरू कसैले सम्झाउन सक्दैन। यी ब्रह्माभन्दा माथि पनि
कोही हुनुहुन्छ नि, जसले सिकाउनुभयो होला। यदि कुनै गुरुले सिकाएको भए ती गुरुको
केवल एक शिष्य त हुन सक्दैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी पतितबाट पावन,
पावनबाट पतित बन्नु नै छ। यो पनि ड्रामामा निश्चित छ। अनेक पटक यो चक्र पास गरेका
छौ। पास गरि नै रहनेछौ। तिमी अलराउन्ड पार्टधारी हौ। आदिदेखि अन्त्यसम्म अरू कसैको
पार्ट छैन। तिमीलाई नै बाबाले सम्झाउनुहुन्छ। फेरि तिमीले यो पनि बुझ्छौ– अर्को
धर्मका मानिसहरू फलाना फलाना समयमा आउँछन्। तिम्रो त अलराउन्ड पार्ट छ। क्रिश्चियनको
लागि त भन्दैनौ– सत्ययुगमा थिए। उनीहरू त द्वापरको पनि बीचमा आउँछन्। यो नलेज तिमी
बच्चाहरूको नै बुद्धिमा छ। जसलाई पनि सम्झाउन सक्छौ। अरू कसैले सृष्टिको
आदि-मध्य-अन्त्यलाई जान्दैनन्। रचयितालाई नै जान्दैनन् भने रचनालाई कसरी जान्दछन्!
बाबाले सम्झाउनुभएको छ– जुन ज्ञानका राइटियस कुरा छन्, ती छपाएर एरोप्लेनबाट सबै
ठाउँमा खसाल्नुछ। ती प्वाइन्टहरू अथवा टपिकहरू बसेर लेख्नुपर्छ। बच्चाहरूले भन्छन्–
मेरो काम छैन। बाबा भन्नुहुन्छ– यहाँ त सेवा धेरै छ। यहाँ एकान्तमा बसेर यो काम गर।
जति पनि ठुला ठुला संस्थाहरू छन्, गीता पाठशाला आदि छन्, ती सबैलाई जगाउनुछ। सबैलाई
सन्देश दिनुछ। यो पुरुषोत्तम सङ्गमयुग हो। जो समझदार हुन्छन्, उनीहरूले तुरून्तै
बुझ्छन्, अवश्य सङ्गमयुगमा नै नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश
हुन्छ। सत्ययुगमा पुरुषोत्तम मनुष्य हुन्छन्। यहाँ आसुरी स्वभाव भएका पतित मनुष्य
छन्। यो पनि बाबाले सम्झाउनुभएको छ, जुन कुम्भको मेला आदि लाग्छ, त्यहाँ धेरै
मनुष्य जान्छन् स्नान गर्न। किन स्नान गर्न जान्छन्? पावन हुन चाहन्छन्। त्यसैले जहाँ
जहाँ मनुष्य स्नान गर्न जान्छन्, त्यहाँ गएर सेवा गर्नुपर्छ। मानिसहरूलाई
सम्झाउनुपर्छ, यो पानी कुनै पतित-पावनी होइन। तिमीसँग चित्र पनि छन्। गीता
पाठशालाहरूमा गएर यी पर्चाहरू बाँड्नुपर्छ। बच्चाहरूले सेवा माग्छन्। यो बसेर लेख–
गीताका भगवान परमपिता परमात्मा शिव हुनुहुन्छ, न कि श्रीकृष्ण। फेरि उहाँको जीवनीको
महिमा लेख। शिवबाबाको जीवनी लेख। फेरि आफै उनीहरूले निर्णय गर्छन्। यो प्वाइन्ट पनि
लेख्नुछ– पतित-पावन को हुनुहुन्छ? फेरि शिव र शङ्करको भेद पनि देखाउनुछ। शिव अलग
हुनुहुन्छ, शङ्कर अलग हुन्। यो पनि बाबाले सम्झाउनुभएको छ– कल्प ५ हजार वर्षको हो।
मनुष्यले ८४ जन्म लिन्छन्, न कि ८४ लाख। यी मुख्य मुख्य कुरा छोटकरीमा लेख्नुपर्छ।
जुन कुरा एरोप्लेनबाट पनि खसाल्न सक्छन्, सम्झाउन पनि सक्छन्। यो जस्तै गोला छ, यसमा
क्लियर छ– फलाना फलाना धर्म फलाना फलाना समयमा स्थापना हुन्छन्। त्यहाँ यो गोला पनि
हुनुपर्छ, त्यसैले मुख्य १२ चित्रहरूको क्यालेन्डर पनि छपाउन सक्छौ, जसमा सारा
ज्ञान आओस् र सेवा सहज हुन सकोस्। यी चित्र बिल्कुल जरुरी छन्। कुन कुन चित्र बनाउने,
के के प्वाइन्ट लेख्ने, त्यो बसेर लेख।
तिमीले गुप्तभेषमा यो
पुरानो दुनियाँको परिवर्तन गरिरहेका छौ। अननोन वारियर (अज्ञात योद्धा) हौ। तिमीलाई
कसैले चिन्दैनन्। बाबा पनि गुप्त, नलेज पनि गुप्त। यसको कुनै शास्त्र आदि बन्दैन,
अरू धर्म स्थापकका बाइबल आदि छापिन्छन्, जुन पढ्दै आउँछन्। हरेकका छापिन्छन्। तिम्रो
फेरि भक्तिमार्गमा छापिन्छ। अहिले छाप्नुछैन किनकि अहिले त यी शास्त्र आदि सबै खतम
हुनुछ। अहिले तिमीले बुद्धिमा केवल याद गर्नुछ। बाबासँग पनि बुद्धिमा ज्ञान छ। कुनै
शास्त्र आदि कहाँ पढ्नुहुन्छ र! उहाँ त नलेजफुल हुनुहुन्छ। नलेजफुलको अर्थ फेरि
मानिसहरूले बुझ्छन्– सबैको मनको कुरा जान्नुहुन्छ। भगवानले देख्नुहुन्छ, त्यसैले त
कर्महरूको फल दिनुहुन्छ। बाबा भन्नुहुन्छ– यो कुरा ड्रामामा निश्चित छ। ड्रामामा
जुन विकर्म गर्छन्, उनीहरूलाई त्यस्तै सजाय हुँदैजान्छ। राम्रो वा नराम्रो कर्महरूको
फल मिल्छ। त्यसको त कुनै लिखत छैन। मानिसहरूले बुझ्न सक्छन्– अवश्य कर्महरूको फल
अर्को जन्ममा मिल्छ। फेरि अन्तिम घडीमा विवेकले मन धेरै खान्छ। मैले यी यी पाप गरेँ।
सबै याद आउँछ। जस्तो कर्म, त्यस्तै जन्म मिल्छ। अहिले तिमी विकर्माजित बन्छौ त्यसैले
कुनै पनि यस्तो विकर्म गर्नुहुँदैन। सबैभन्दा ठुलो विकर्म हो देह अभिमानी बन्नु।
बाबाले बारम्बार भन्नुहुन्छ– देहीअभिमानी बनेर बाबालाई याद गर, पवित्र त रहनु नै छ।
सबैभन्दा ठुलो पाप हो काम कटारी चलाउनु। यसैले आदि-मध्य-अन्त्य दु:ख दिन्छ, त्यसैले
संन्यासीहरूले पनि भन्छन्– यो काग विष्टासमान सुख हो। त्यहाँ दु:खको नाम हुँदैन। यहाँ
दु:ख नै दु:ख छ, त्यसैले संन्यासीहरूलाई वैराग्य आउँछ। तर उनीहरू जङ्गलमा जान्छन्।
उनीहरूको हो हदको वैराग्य, तिम्रो हो बेहदको वैराग्य। यो दुनियाँ नै फोहोरी छ। सबैले
भन्छन्– बाबा, आएर हाम्रो दु:ख हरेर सुख दिनुहोस्। बाबा नै दु:खहर्ता सुखकर्ता
हुनुहुन्छ। तिमी बच्चाहरूले नै बुझेका छौ– नयाँ दुनियाँमा यी देवताहरूको राज्य थियो।
त्यहाँ कुनै पनि प्रकारको दु:ख थिएन। कसैले शरीर छोड्यो भने मानिसहरूले भन्छन्–
स्वर्गवासी भयो। तर यो कहाँ बुझ्छन् र– हामी नर्कमा छौँ। हामी मरेपछि स्वर्गमा
जान्छौँ। तर ऊ पनि स्वर्गमा गयो वा यहाँ नर्कमा आयो? केही पनि बुझ्दैनन्। तिमी
बच्चाहरूले ३ पिताको रहस्य पनि सबैलाई सम्झाउन सक्छौ। दुई पिता त सबैले बुझ्छन्–
लौकिक र पारलौकिक र यी अलौकिक प्रजापिता ब्रह्मा फेरि छन् यहाँ सङ्गमयुगमा।
ब्राह्मण पनि चाहिन्छ नि। ती ब्राह्मण कुनै ब्रह्माका मुखवंशावली कहाँ हुन् र!
जान्दछन्– ब्रह्मा थिए, त्यसैले ब्राह्मण देवी-देवताय नम: भन्छन्। यो जान्दैनन्–
कसलाई भन्छन्, कुन ब्राह्मणलाई भन्छन्? तिमी पुरुषोत्तम सङ्गमयुगी ब्राह्मण हौ।
उनीहरू कलियुगी हुन्। यो पुरुषोत्तम सङ्गमयुग हो, यसै युगमा तिमी मनुष्यबाट देवता
बन्छौ। देवी-देवता धर्मको स्थापना भइरहेको छ। त्यसैले त बच्चाहरूले सबै प्वाइन्टहरू
धारण गर्नुछ र फेरि सेवा गर्नुछ। पूजा गर्न वा श्राद्ध खान ब्राह्मणहरू आउँछन्।
उनीहरूसँग पनि तिमीले बातचित गर्न सक्छौ। हामीले तपाईँलाई सच्चा ब्राह्मण बनाउन
सक्छौँ। अब भाद्र महिना आउँदैछ, सबैले पितृहरूलाई खुवाउँछन्। त्यो पनि युक्तिले
गर्नुपर्छ, नत्र भन्छन्– ब्रह्माकुमारीहरूको सङ्गमा गएर सबै कुरा छोडिदियो। यस्तो
केही गर्नुहुँदैन, जसमा उनीहरू नाराज होउन्। युक्तिले तिमीले ज्ञान दिन सक्छौ।
अवश्य ब्राह्मणहरू आउँछन्, त्यसैले त ज्ञान दिन्छौ नि। यो महिनामा तिमीले
ब्राह्मणहरूको धेरै सेवा गर्न सक्छौ। तिमी ब्राह्मण त प्रजापिता ब्रह्माका सन्तान
हौ। बताऊ, ब्राह्मण धर्म कसले स्थापना गर्नुभयो? तिमीले उनीहरूको पनि कल्याण गर्न
सक्छौ घरै बसेर। जस्तै अमरनाथको यात्रामा जाँदा उनीहरूले केवल लिखतबाट त्यति
बुझ्दैनन्। त्यहाँ बसेर सम्झाउनुपर्छ। हामीले तपाईँलाई सत्य अमरनाथको कथा सुनाउँछौँ।
अमरनाथ त एकलाई नै भनिन्छ। अमरनाथ अर्थात् जसले अमरपुरी स्थापना गर्नुहुन्छ। त्यो
हो सत्ययुग। यस्तो सेवा गर्नुपर्छ। त्यहाँ पैदल जानुपर्छ। जो राम्रा राम्रा ठुला
ठुला मानिस छन्, उनीहरूलाई गएर सम्झाउनुपर्छ। संन्यासीहरूलाई पनि तिमीले ज्ञान दिन
सक्छौ। तिमी सारा सृष्टिका कल्याणकारी हौ। श्रीमतमा हामीले विश्वको कल्याण गरिरहेका
छौँ– बुद्धिमा यो नशा हुनुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) एकान्त वा फुर्सद मिलेको बेलामा ज्ञानका राम्रा राम्रा प्वाइन्टहरूमाथि विचार
सागर मन्थन गरेर लेख्नुछ। सबैलाई सन्देश पुऱ्याउने वा सबैको कल्याण गर्ने युक्ति
रच्नुछ।
२) विकर्महरूबाट
बच्नको लागि देहीअभिमानी बनेर बाबालाई याद गर्नुछ। अहिले कुनै पनि विकर्म गर्नुछैन,
यो जन्ममा गरेका विकर्म बापदादालाई सत्य सत्य सुनाउनुछ।
वरदान:–
अटल भावीलाई
जानेर पनि श्रेष्ठ कार्यलाई प्रत्यक्ष रूप दिने सदैव समर्थ भव
नयाँ श्रेष्ठ विश्व
बन्ने भावी अटल हुँदाहुँदै पनि समर्थ भवको वरदानी बच्चाहरू केवल कर्म र फलको,
पुरुषार्थ र प्रारब्धको, निमित्त र निर्माणको कर्म फिलोसोफी अनुसार निमित्त बनेर
कार्य गर्छन्। दुनियाँका मानिसहरूको उम्मेद देखिँदैन। तर तिमीले भन्छौ– यो कार्य
अनेक पटक भएको छ, अहिले पनि भइ नै हाल्छ किनकि स्व-परिवर्तनको प्रत्यक्ष प्रमाणको
अगाडि अरू कुनै प्रमाणको आवश्यकता नै छैन। साथसाथै परमात्म कार्य सदैव सफल भइ नै
हाल्छ।
स्लोगन:–
भनाइ कम, गराइ
ज्यादा– यो श्रेष्ठ लक्ष्यले महान् बनाइदिन्छ।
अव्यक्त इशारा –
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
सेवामा वा स्वयंको
चढ्तीकलामा सफलताको मुख्य आधार हो– एक बाबासँग अटुट प्यार। बाबा बाहेक अरू केही
नदेखियोस्। सङ्कल्पमा पनि बाबा, बोलीमा पनि बाबा, कर्ममा पनि बाबाको साथ, यस्तो
लवलीन स्थितिमा रहेर एक शब्द बोल्यौ भने पनि त्यो स्नेहको बोलीले अर्को आत्मालाई पनि
स्नेहमा बाँधिदिन्छ। यस्तो लवलीन आत्माको एक बाबा शब्दले नै जादु मन्त्रको काम गर्छ।