10.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफ्नो उन्नतिको लागि दिनहुँ चार्ट राख , सारा दिनमा चालचलन कस्तो रह्यो , चेक गर– यज्ञ प्रति इमान्दार रहेँ ?”

प्रश्न:–
कुन बच्चाहरूप्रति बाबाको धेरै सम्मान हुन्छ? त्यस सम्मानको निसानी के हो?

उत्तर:–
जुन बच्चाहरू बाबासँग सच्चा, यज्ञप्रति इमान्दार छन्, केही पनि लुकाउँदैनन्, ती बच्चाहरूप्रति बाबाको धेरै सम्मान हुन्छ। सम्मान हुनाले लाडप्यार दिएर उठाइरहनुहुन्छ। सेवामा पनि पठाइदिनुहुन्छ। बच्चाहरूमा सत्य सुनाएर श्रीमत लिने अक्कल हुनुपर्छ।

गीत:–
महफिल में जल उठी शमा....

ओम् शान्ति ।
वास्तवमा यो गीत त गलत हुनजान्छ किनकि तिमी शमा (दियो) त होइनौ। आत्मालाई शमा भनिँदैन। भक्तहरूले अनेक नाम राखिदिएका छन्। नजान्नाले भन्ने पनि गर्छन्– नेति नेति, हामीले जान्दैनौं, नास्तिक हौं। फेरि पनि जे नाम आयो त्यो भनिदिन्छन्। ब्रह्म, शमा, ढुङ्गा पत्थरमा पनि परमात्मा भनिदिन्छन् किनकि भक्तिमार्गमा कसैले पनि बाबालाई यथार्थ रीतिले चिन्न सक्दैनन्। बाबा आएर आफ्नो परिचय दिनुपर्छ। शास्त्र आदिमा कुनै पनि बाबाको परिचय छैन त्यसैले उनीहरूलाई नास्तिक भनिन्छ। अहिले बच्चाहरूलाई बाबाले परिचय दिनुभएको छ, तर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु, यसमा एकदम बुद्धिको काम छ। यस समयमा छन् पत्थरबुद्धि। आत्मामा बुद्धि हुन्छ। अङ्गहरूद्वारा थाहा हुन्छ– आत्माको बुद्धि पारस छ कि पत्थर? सारा कुरा आत्मामा आधारित छ। मानिसहरूले भनिदिन्छन् आत्मा नै परमात्मा हो, उहाँ त निर्लेप हुनुहुन्छ, त्यसैले जे मन लाग्यो त्यो गरिराख। मनुष्य भएर पितालाई नै चिनेका छैनन्। बाबा भन्नुहुन्छ– माया रावणले सबैलाई पत्थरबुद्धि बनाइदिएको छ। दिनप्रतिदिन धेरै तमोप्रधान हुँदै जान्छन्। मायाको धेरै जोड छ, सुध्रिँदै सुध्रिँदैनन्। बच्चाहरूलाई सम्झाइन्छ, राती सारा दिनको चार्ट राख– के गरेँ? मैले भोजन देवताहरूले जसरी खाएँ? चालचलन नियम अनुसार चल्यो कि अज्ञानीको जस्तो? दिनहुँ चार्ट राखेनौ भने तिम्रो उन्नति कहिल्यै हुँदैन। धेरैलाई मायाले थप्पड मारिरहन्छ। लेख्छन्, आज मेरो बुद्धियोग फलानोको नाम रूपमा गयो, आज यो पाप कर्म भयो। यस्तो सत्य लेख्ने करोडौंमा कोही मात्रै छन्। बाबा भन्नुहुन्छ– म जो हुँ, जस्तो हुँ, मलाई बिल्कुलै चिनेका छैनन्। आफूलाई आत्मा सम्झेर बाबालाई याद गरे भने बुद्धिमा केही बस्छ। बाबा भन्नुहुन्छ– छन् त राम्रा राम्रा बच्चाहरू छन्, धेरै राम्रो ज्ञान सुनाउँछन्, तर योग अलिकति पनि छैन। पहिचान पूरा छँदैछैन। बुझ्न सक्दैनन्, त्यसैले कसैलाई बुझाउन पनि सक्दैनन्। सारा दुनियाँका मनुष्य मात्रले रचना र रचयितालाई कत्ति पनि जानेका छैनन्, त्यसैले मानौं केही पनि जान्दैनन्। यो पनि ड्रामामा निश्चित छ। फेरि पनि हुन्छ। ५ हजार वर्षपछि फेरि यो समय आउने छ, अनि मले आएर सम्झाउनुपर्छ। राज्यभाग्य लिने कुनै कम कुरा होइन। धेरै मेहनत छ। मायाले राम्ररी आक्रमण गर्छ, ठुलो युद्ध चल्छ। बक्सिङ्ग हुन्छ नि। जो धेरै सिपालु हुन्छन्, उनीहरूको नै बक्सिँग हुन्छ। फेरि पनि एक अर्कालाई बेहोस पारिदिन्छन् नि। भन्छन्– बाबा मायाको धेरै तुफान आउँछ, यो त हुन्छ। त्यो पनि धेरै कमैले सत्य लेख्छन्। धेरै छन् जसले लुकाउँछन्। मैले बाबालाई कसरी सत्य सुनाउनु छ? यो समझ नै हुँदैन। के श्रीमत लिनु छ? वर्णन गर्न सक्दैनन्। बाबालाई थाहा छ– माया धेरै प्रबल छ। सत्य बताउन एकदम लाज लाग्छ, उनीहरूबाट कर्म यस्तो हुनपुग्छ, जुन बताउन लाज लाग्छ। बाबाले त धेरै सम्मान दिएर उठाउनुहुन्छ। यो धेरै राम्रो छ, यिनलाई अलराउण्ड सेवामा पठाइदिन्छु। पुगिहाल्यो, देहअहङ्कार आयो, मायाको थप्पड खायो, ऊ गिर्यो। बाबाले त उठाउनको लागि पनि महिमा गर्नुहुन्छ। लाडप्यार दिएर उठाउनुहुन्छ। तिमी त धेरै राम्रा छौ। स्थूल सेवामा पनि राम्रा छौ। तर यथार्थ रीतिले बसेर बताउनुहुन्छ– लक्ष्य धेरै उच्च छ। देह र देहका सम्बन्धलाई छोडेर आफूलाई अशरीरी आत्मा सम्झनु– यो पुरुषार्थ गर्नु बुद्धिको काम हो। सबै पुरुषार्थी हुन्। कति ठुलो राज्यभाग्य स्थापना भइरहेको छ। बाबाका सबै बच्चाहरू पनि हुन्, विद्यार्थी पनि हुन् भने अनुयायी पनि हुन्। उहाँ सारा दुनियाँका पिता हुनुहुन्छ। सबैले उहाँ एकलाई बोलाउँछन्। उहाँ आएर बच्चाहरूलाई सम्झाइरहनुहुन्छ। फेरि पनि यति आदर कहाँ गर्छन् र। ठुला बडा व्यक्तिहरू आउँछन्, कति सम्मानले उनीहरूको सम्हाल गर्छन्। कति ठाँट हुन्छ। यस समयमा त छन् सबै पतित। तर आफूलाई कहाँ सम्झन्छन् र। मायाले एकदमै तुच्छबुद्धि बनाइदिएको छ। भनिदिन्छन्, सत्ययुगको अवधि यति लामो छ। बाबा भन्नुहुन्छ– १०० प्रतिशत बेसमझ भएका छन्। मनुष्य भएर के के काम गरिरहन्छन्। ५ हजार वर्षको कुरालाई लाखौं वर्ष भनिदिन्छन्। यो कुरा पनि बाबा आएर सम्झाउनुहुन्छ। ५ हजार वर्ष पहिला यी लक्ष्मी-नारायणको राज्य थियो। दैवीगुण भएका मनुष्य थिए, त्यसैले उनलाई देवता, आसुरी गुण भएकालाई असुर भनिन्छ। असुर र देवतामा रातदिनको फरक छ। कति मारामार झगडा हुन्छ। खुब तयारीहरू भइरहन्छन्। यस यज्ञमा सारा दुनियाँ स्वाहा हुनुछ। यसको लागि सबै तयारी हुनुपर्छ नि। बम बनेपछि बन्यो फेरि कहाँ बन्द हुनसक्छ। केही समयपछि सबैसँग धेरै हुन्छन् किनकि विनाश फटाफट हुनुपर्यो नि। फेरि हस्पिटल आदि कहाँ हुन्छन्। कसैलाई पनि थाहा हुँदैन। सहज कुरा कहाँ हो र। विनाशको साक्षात्कार कुनै पाई पैसाको कुरा होइन। सारा दुनियाँको आगो हेर्न सक्छौ! साक्षात्कार हुने छ– केवल आगो नै आगो बलिरहेको। सारा दुनियाँ खतम हुनुछ। दुनियाँ कति ठुलो छ। आकाश त जल्दैन। यसभित्र जे जति छन्, सबै विनाश हुनुछ। सत्ययुग र कलियुगमा रात दिनको फरक छ। कति मनुष्य छन्, जनावर छन्, कति सामग्री छन्। यो पनि बच्चाहरूको बुद्धिमा मुस्किलले बस्छ। विचार गर– ५ हजार वर्षको कुरा हो। देवी देवताहरूको राज्य थियो नि। कति थोरै मनुष्य थिए। अब कति मनुष्य छन्। अहिले हो कलियुग, यसको अवश्य विनाश हुनुछ।

अहिले बाबाले आत्माहरूलाई भन्नुहुन्छ– म एकलाई याद गर, यो याद पनि समझसँग गर्नुछ। त्यसै पनि शिव शिव त धेरैले भनिरहन्छन्। साना बच्चाले पनि भनिदिन्छन्, तर बुद्धिमा समझ केही हुँदैन। अनुभवद्वारा भन्दैनन्, उहाँ बिन्दु हुनुहुन्छ। हामी पनि त्यस्तै साना बिन्दु हौं। यसरी समझसँग याद गर्नुछ। पहिला त म आत्मा हुँ– यो पक्का गर, फेरि बाबाको परिचय बुद्धिमा राम्रोसँग धारण गर। अन्तर्मुखी बच्चाहरूले नै हामी आत्मा बिन्दु हौं भनेर राम्रोसँग बुझ्न सक्छन्। हाम्रो आत्मालाई अहिले ज्ञान मिलिरहेको छ– हाम्रो आत्मामा ८४ जन्महरूको पार्ट कसरी भरिएको छ, फेरि कसरी आत्मा सतोप्रधान बन्छ। यी सबै कुरा धेरै अन्तर्मुखी भएर बुझ्नुपर्ने हुन्छ। यसमा नै समय लाग्छ। बच्चाहरूलाई थाहा छ– हाम्रो यो अन्तिम जन्म हो। अब हामी जान्छौं घर। हामी आत्मा हौं, यो बुद्धिमा पक्का हुनुपर्छ। शरीरको भान कम होस् तब बातचितमा सुधार हुन्छ। नत्र चालचलन एकदमै खराब हुन्छ किनकि शरीरबाट अलग त हुँदैनौ। देह अभिमानमा आएर केही न केही भनिदिन्छन्। यज्ञसँग त धेरै इमान्दार हुनुपर्छ। अहिले त धेरै लापर्बाह छन्। खानपिन, वातावरण केही सुध्रिएको छैन। अझै धेरै समय लाग्छ। सेवाधारी बच्चाहरूलाई नै बाबाले याद गर्नुहुन्छ, पद पनि उनैले पाउन सक्छन्। यत्तिकै आफूलाई खुसी पार्नु, त्यो त चना चबाउनु जस्तै हो। यसमा त धेरै अन्तर्मुखता हुनुपर्छ। सम्झाउने पनि युक्ति हुनपर्छ। प्रदर्शनीमा कसैले कहाँ बुझ्न सक्छन् र। केवल भनिदिन्छन्– तपाईँहरूको कुरा ठीक हो। यहाँ पनि नम्बरवार छन्। निश्चय छ– हामी बच्चा बनेका छौं, बाबासँग स्वर्गको वर्सा मिल्छ। यदि हामीले बाबाको पूरा सेवा गरिरहन्छौं भने यही हाम्रो धन्दा हुन्छ। सारा दिन विचार सागर मन्थन भइरहन्छ। यी बाबाले पनि विचार सागर मन्थन गर्छन् होला नि। नत्र यो पद कसरी पाउँछन्। बच्चाहरूलाई दुवैले साथसाथै सम्झाइरहनुहुन्छ। डबल इञ्जिन मिलेका छन् किनकि धेरै उकालो छ नि। पहाडमा चढ्दा गाडीमा डबल इञ्जिन लगाउँछन्। कहिलेकाहीँ चल्दाचल्दै गाडी रोकिन पुग्छ अनि चिप्लिएर तलतिर आउँछ। मेरा बच्चाहरूको अवस्था पनि यस्तै छ। चढ्दाचढ्दै, मेहनत गर्दागर्दै फेरि माथि चढ्न सक्दैनन्। मायाको ग्रहण वा तुफान लाग्छ अनि एकदम तल गिरेर टुक्रा टुक्रा हुन पुग्छन्। अलिकति सेवा गर्यो भने अहङ्कार आउँछ, गिर्न पुग्छन्। सम्झदैनन्, बाबाको साथमा धर्मराज पनि छन्। यदि कसैले यस्तो गर्छन् भने धेरै ठुलो दण्ड पर्छ। यो भन्दा त बाहिर रहेमा धेरै राम्रो हुन्छ। बाबाको बनेर वर्सा लिनु, सहज कुरा होइन। बाबाको बनेर यदि कुनै यस्तो कर्म गरे भने नाम बदनाम गरिदिन्छन्। धेरै चोट लाग्छ। वारिस बन्नु कुनै सहज कुरा कहाँ हो र! प्रजामा पनि कोही यति धनवान बन्छन्, कुरै नसोध। अज्ञान कालमा कोही राम्रा हुन्छन्, कोही कस्ता! नालायक बच्चाहरूलाई त भनिदिन्छन्, मेरो सामुन्ने नबस्। यहाँ त एक दुई बच्चाको कुरा त छैन। यहाँ माया धेरै शक्तिशाली छ। यसमा बच्चाहरू धेरै अन्तर्मुखी हुनुपर्छ, तब तिमीले कसैलाई सम्झाउन सक्छौ। तिमीमाथि बलिहार जाने छन् अनि फेरि धेरै पछुताउने छन्– हामीले बाबालाई गाली गर्दै आयौं। सर्वव्यापी भन्नु वा आफूलाई ईश्वर भन्नु, उनीहरूलाई सजाय कम कहाँ छ र। यत्तिकै कहाँ जान पाउँछन्। उनीहरूको लागि त झनै समस्या छ। जब समय आउने छ, बाबाले यी सबैसँग हिसाब लिनुहुन्छ। कयामतको (विनाशको) समयमा सबैको हिसाबकिताब चुक्ता हुन्छ नि, यसमा बडो विशालबुद्धि चाहिन्छ।

मानिसहरूले त हेर– कस कसलाई शान्ति पुरस्कार दिइरहन्छन्। अब वास्तवमा शान्ति ल्याउने त एक बाबा मात्रै हुनुहुन्छ नि। बच्चाहरूले लेख्नुपर्छ– दुनियाँमा पवित्रता, शान्ति, समृद्धि भगवानको श्रीमतमा स्थापना भइरहेको छ। श्रीमत त प्रसिद्ध छ। श्रीमद् भगवद् गीता शास्त्रलाई कति आदर गर्छन्। कसैले शास्त्र वा मन्दिरलाई केही गर्यो भने कति लडाइँ हुन्छ। अहिले तिमीले जानेका छौ– यो सारा दुनियाँ नै जलेर भस्म हुन्छ। यी मन्दिर-मस्जिद आदिलाई जलाइरहन्छन्। यो सबै हुनुभन्दा पहिला पवित्र हुनुछ। यो चिन्ता भइरहोस्। घरबार पनि सम्हाल्नु छ। यहाँ आउन त धेरै नै आउँछन्। यहाँ बाख्रा जसरी त राख्नु छैन नि किनकि यो त अमूल्य जीवन हो, यसलाई धेरै सम्हालेर राख्नुपर्छ। साना बच्चाहरूलाई लिएर आउन बन्द गरिदिनु पर्ला। यतिका बच्चाहरूलाई कहाँ राखेर सम्हाल गर्ने? बच्चाहरूलाई छुट्टी मिल्यो भने सम्झन्छन्, अन्त कहाँ लिएर जाने, हिँड मधुबन बाबाको पासमा। यो त मानौं धर्मशाला हुनेभयो। फेरि युनिभर्सिटी कसरी भयो! बाबाले जाँच गरिरहनुभएको छ, फेरि कहिले अर्डर गरिदिनुहुन्छ– बच्चाहरूलाई कसैले लिएर नआऊ। यो बन्धन पनि कम हुन्छ। माताहरूप्रति दया लाग्छ। यो पनि बच्चाहरूले बुझेका छन्– शिवबाबा त हुनुहुन्छ गुप्त। यिनको सम्मान पनि कसैलाई कहाँ छ र। सम्झन्छन् मेरो त शिवबाबासँग कनेक्सन छ। यति पनि बुझ्दैनन्, शिवबाबाले यिनीद्वारा सम्झाउनुहुन्छ नि। मायाले नाकबाट पक्डेर उल्टो काम गराइरहन्छ, छोड्दैन। राजधानीमा त सबै चाहिन्छ नि। यो सबै अन्तिममा साक्षात्कार हुनेछ। सजायको पनि साक्षात्कार हुन्छ। बच्चाहरूलाई पहिला पनि यो सबै साक्षात्कार भएकोछ। फेरि पनि कतिले पाप गर्नै छोड्दैनन्। कोही बच्चाहरूले त मानौं गाँठो बाँधेका छन्– म त बन्नु नै थर्ड क्लास छ, त्यसैले पाप गर्न छोड्दै छोड्दैनन्। अझ राम्रोसँग आफ्नै लागि सजाय तयार गरिरहेका छन्। सम्झाउन त पर्छ नि। हामी त थर्ड क्लास नै बन्नुछ, यो गाँठो नबाँध। मलाई यस्तो लक्ष्मी-नारायण बन्नुछ, अब यो गाँठो बाँध। कसैले त राम्रो गाँठो बाँध्छन्, चार्ट लेख्छन्– आज मैले केही त गरिनँ? यस्तो चार्ट पनि धेरैले राख्थे, ती आज छैनन् मायाले धेरै पछार्छ। आधाकल्प मैले सुख दिन्छु भने आधाकल्प फेरि मायाले दु:ख दिन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अन्तर्मुखी बनेर शरीरको भानबाट पर रहने अभ्यास गर्नुछ। खानपिन, चालचलन सुधार्नुछ, केवल आफूलाई खुसी बनाएर लापर्बाही गर्नुछैन।

२) उकालो धेरै लामो छ, त्यसैले धेरै धेरै सावधान भएर चल्नुछ। कुनै पनि कर्म सम्हाल गरेर गर्नुछ। अहङ्कारमा आउनु छैन। उल्टो कर्म गरेर सजाय तयार गर्नुछैन। गाँठो बाँध्नुछ, मलाई यी लक्ष्मी-नारायण जस्तो बन्नु नै छ।

वरदान:–
रूहानियतको श्रेष्ठ स्थितिद्वारा वातावरणलाई रुहानी बनाउने सहज पुरुषार्थी भव

रूहानियतको स्थितिद्वारा आफ्नो सेवाकेन्द्रको यस्तो रुहानी वातावरण बनाऊ, जसबाट स्वयंको र आउने आत्माहरूको सहज उन्नति हुन सकोस् किनकि जो पनि बाहिरको वातावरणबाट थाकेर आउँछन् उनीहरूलाई एक्स्ट्रा सहयोगको आवश्यकता हुन्छ, त्यसैले उनीहरूलाई रुहानी वायुमण्डलको सहयोग देऊ। सहज पुरुषार्थी बन र बनाऊ। हरेक आउने आत्माले अनुभव गरोस्– यो स्थान सहजै उन्नति प्राप्त गर्ने ठाउँ हो।

स्लोगन:–
वरदानी बनेर शुभभावना र शुभकामनाको वरदान दिँदै जाऊ।