11.05.25 Avyakt Bapdada Nepali Murli 07.03.2005 Om Shanti Madhuban
“ सम्पूर्ण पवित्रताको
व्रत लि नु र मै पनलाई समर्पित गर्नु नै शिवजयन्ती मनाउनु हो”
आज विशेष शिवबाबा
आफ्ना शालिग्राम बच्चाहरूको जन्मदिन मनाउन आउनुभएको छ। तिमी बच्चाहरू बाबाको
जन्मदिन मनाउन आएका छौ र बापदादा बच्चाहरूको जन्मदिन मनाउन आउनुभएको छ किनकि
बाबालाई बच्चाहरूसँग धेरै प्यार छ। बाबा अवतरित हुनासाथ यज्ञ रच्नुहुन्छ र यज्ञमा
ब्राह्मणहरू बिना यज्ञ सम्पन्न हुँदैन त्यसैले यो जन्मदिन अलौकिक छ, न्यारा र प्यारो
छ। यस्तो जन्मदिन जुन बाबा र बच्चाहरूको सँगै हुन्छ, यो सारा कल्पमा न भएको छ, न
कहिल्यै हुन सक्छ। बाबा निराकार हुनुहुन्छ, एकातिर निराकार हुनुहुन्छ अर्कोतिर जन्म
मनाउनुहुन्छ। एक शिवबाबा मात्र हुनुहुन्छ जसको आफ्नो शरीर छैन त्यसैले ब्रह्माबाबाको
तनमा अवतरित हुनुहुन्छ, यो अवतरित हुनुलाई नै जयन्तीको रूपमा मनाइन्छ। त्यसैले
तिमीहरू सबै बाबाको जन्मदिन मनाउन आएका हौ वा आफ्नो मनाउन आएका हौ? बधाई दिन आएका
हौ वा बधाई लिन आएका हौ? बच्चाहरूसँग बाबाको यो साथसाथ रहने प्रतिज्ञा छ। अहिले पनि
सङ्गममा कम्बाइन्ड रूपमा साथै हुनुहुन्छ, अवतरण पनि साथै हुन्छ, परिवर्तन गर्ने
कार्य पनि साथै हुन्छ र घर परमधाममा जाने पनि साथसाथै हुनुहुन्छ। यो हो बाबा र
बच्चाहरूको प्यारको स्वरूप।
शिवजयन्ती भक्तहरूले
पनि मनाउँछन् तर उनीहरूले केवल पुकार्छन्, गीत गाउँछन्। तिमीले पुकार्दैनौ, तिमीले
मनाउनु अर्थात् समान बन्नु। मनाउनु अर्थात् सदा उमङ्ग-उत्साहले उडिरहनु त्यसैले
यसलाई उत्सव भनिन्छ। उत्सवको अर्थ नै हो उत्साहमा रहनु। त्यसैले सदा उत्सव अर्थात्
उत्साहमा रहनेहरू हौ नि! उत्साह सदा छ कि कहिलेकाहीँ छ? हुन त हेर्ने हो भने
ब्राह्मण जीवनको श्वास नै हो– उमङ्ग-उत्साह। जसरी श्वास बिना रहन सकिँदैन, त्यसैगरी
ब्राह्मण आत्माहरू उमङ्ग-उत्साह बिना ब्राह्मण जीवनमा रहन सक्दैनन्। यस्तो अनुभव
गर्छौ नि? हेर विशेष जयन्ती मनाउनको लागि कहाँ कहाँबाट, टाढा टाढाबाट दौडेर आएका
छौ। बापदादालाई आफ्नो जन्मदिनको त्यति खुसी छैन जति बच्चाहरूको जन्मदिनको खुसी छ
त्यसैले बापदादाले एक एक बच्चालाई पदमगुणा खुसीको थाली भरेर बधाई दिइरहनुभएको छ।
बधाई छ, बधाई छ, बधाई छ!
बापदादालाई आजको दिनमा
सच्चा भक्तहरू पनि धेरै याद आइरहेका छन्। उनीहरूले व्रत लिन्छन् एक दिनको र तिमीले
व्रत लिएका छौ सारा जीवनभरि सम्पूर्ण पवित्र बन्ने। उनीहरूले नखाने व्रत लिन्छन्,
तिमीले पनि मनको भोजन व्यर्थ सङ्कल्प, नकारात्मक (निगेटिभ) सङ्कल्प, अपवित्र
सङ्कल्पहरू नगर्ने व्रत लिएका छौ। व्रत पक्का लिएका छौ नि? यी डबल विदेशीहरू अगाडि
अगाडि बसेका छन्। यी कुमारहरूले भन, कुमारहरूले व्रत लिएका छौ, पक्का? कच्चा होइन।
मायाले सुनिरहेको छ। सबैले झन्डा हल्लाइरहेका छन् नि त्यो मायाले हेरिरहेको छ, झन्डा
हल्लाइरहेका छन्। जब पवित्र बन्नु नै छ, यो व्रत लिइन्छ–, तब व्रत लिनु अर्थात्
श्रेष्ठ वृत्ति बनाउनु। त्यसैले जस्तो वृत्ति हुन्छ त्यस्तै दृष्टि, कृति स्वतः नै
बन्छ। त्यसैले यस्तो व्रत लिएका छौ नि? पवित्र शुभ वृत्ति, पवित्र शुभ दृष्टि, एक
अर्कालाई हेर्दा के हेर्छौ? चेहरालाई (फेसलाई) हेर्छौ वा भृकुटीको बीचमा चम्किरहेको
आत्मालाई हेर्छौ? कुनै बच्चाले सोध्यो–जब कुरा गर्नुपर्दा, काम गर्नुपर्दा चेहरालाई
हेरेर नै कुरा गर्नुपर्छ, त्यतिखेर आँखातिर नै नजर जान्छ, तब कहिलेकाहीँ चेहरालाई
हेरेर अलिकति वृत्ति परिवर्तन हुन्छ बापदादा भन्नुहुन्छ– आँखाको साथसाथै भृकुटी पनि
छ भने भृकुटीको बीचमा आत्मालाई हेरेर कुरा गर्न सक्दैनौ! अहिले बापदादाले सामुन्ने
बसेका बच्चाहरूको आँखामा हेरिरहनुभएको छ वा भृकुटीमा हेरिरहनुभएको छ, थाहा हुन्छ?
सँग सँगै नै त छ। त्यसैले चेहरामा हेर तर चेहरामा भृकुटीमा चम्किरहेको सितारा देख।
त्यसैले यो व्रत लेऊ, लिएका छौ तर अझै ध्यान देऊ। आत्मालाई हेरेर कुरा गर्नुछ,
आत्मासँग आत्माले कुरा गरिरहेको छ। आत्माले हेरिरहेको छ। तब वृत्ति सदा नै शुभ
रहनेछ र साथसाथै अर्को फाइदा छ– जस्तो वृत्ति त्यस्तै वायुमण्डल बन्छ। वायुमण्डल
श्रेष्ठ बनाउनाले स्वयंको पुरुषार्थको साथसाथै सेवा पनि हुन्छ। त्यसैले डबल फाइदा छ
नि! आफ्नो यस्तो श्रेष्ठ वृत्ति बनाऊ जसबाट जस्तोसुकै विकारी, पतित पनि तिम्रो
वृत्तिको वायुमण्डलबाट परिवर्तन होस्। यस्तो व्रत सदा स्मृतिमा रहोस्, स्वरूपमा
रहोस्।
आजकाल बापदादाले
बच्चाहरूको चार्ट हेर्नुभयो, आफ्नो वृत्तिबाट वायुमण्डल बनाउनुको सट्टा कहीँकहीँ,
कहिलेकाहीँ अरूको वायुमण्डलको प्रभाव पर्छ। कारण के हुन्छ? बच्चाहरू रुहरिहानमा धेरै
मीठा मीठा कुरा गर्छन्, भन्छन्– यसको विशेषता राम्रो लाग्छ, यिनको सहयोग धेरै राम्रो
मिल्छ, तर विशेषता प्रभुको देन हो। ब्राह्मण जीवनमा जति पनि प्राप्ति छ, जे पनि
विशेषता छ, सबै प्रभु प्रसाद हो, प्रभु देन हो। त्यसैले दातालाई बिर्सिएर,
लिनेवालालाई याद गर्ने...! प्रसाद कहिल्यै कसैको व्यक्तिगत (पर्सनल) भनेर गायन
गरिँदैन, प्रभु प्रसाद भनिन्छ। फलानाको प्रसाद भनिँदैन। सहयोग मिल्छ, राम्रो कुरा
हो तर सहयोग दिलाउनेवाला दातालाई त बिर्सनु भएन नि! त्यसैले जन्मदिनको पक्का पक्का
व्रत लिएका छौ? वृत्ति परिवर्तन भएको छ? सम्पन्न पवित्रता, यसमा सच्चा सच्चा व्रत
लिनु वा प्रतिज्ञा गर्नु। जाँच गर– ठुला ठुला विकारको त्याग गर्ने व्रत त लिएका छौ
तर तिनका साना साना बालबच्चाबाट मुक्त छौ? हुन त हेर जीवनमा प्रवृत्तिवालाहरूको
बच्चाभन्दा ज्यादा नातिपनातिसँग प्यार हुन्छ। माताहरूको प्यार हुन्छ नि। त्यसैले
विकारको ठुलो ठुलो रूपलाई त जित्यौ तर सानोसानो सूक्ष्म स्वरूपमा वार त गर्दैनन्?
जस्तै कतिले भन्छन्– आसक्ति छैन तर राम्रो लाग्छ। यो चीज ज्यादा राम्रो लाग्छ तर
आसक्ति छैन। विशेष राम्रो किन लाग्छ? त्यसैले जाँच गर– सानो-सानो रूपमा पनि
अपवित्रताको अंश त रहेको छैन? किनकि अंशबाट कुनै बेला वंश पैदा हुन सक्छ। कुनै पनि
विकार चाहे सानो रूपमा, चाहे ठुलो रूपमा आउने निमित्त एक शब्दको भाव हो, त्यो एक
शब्द हो– “म”। देह अभिमानको (बडी-कन्सियसको) म। यो एक म शब्दबाट अभिमान पनि आउँछ र
अभिमान पूरा भएन भने क्रोध पनि आउँछ किनकि अभिमानको निसानी हो– उसले एक शब्द पनि
आफ्नो अपमान सहन गर्न सक्दैन, त्यसैले क्रोध आउँछ। त्यसैले भक्तहरूले त बलि चढाउँछन्
तर तिमीले आजको दिनमा जे पनि हदको मैपन होस्, त्यसलाई बाबालाई दिएर समर्पित गर। यो
नसोच– गर्नु त छ, बन्नु त छ... यसरी त, त भन्नु छैन। समर्थ छौ र समर्थ बनेर समाप्ति
गर। कुनै नयाँ कुरा होइन, कति कल्प, कति पटक सम्पूर्ण बनेका छौ, याद छ? कुनै नयाँ
कुरा होइन। कल्प कल्प बनेका हौ, बनेको थियो बनिरहेको छ, केवल रिपीट गर्नुछ।
बनेकोलाई बनाउनु छ, त्यसैले भनिन्छ बनिबनाउ ड्रामा। बनेको छ केवल अहिले दोहोर्याउनु
अर्थात् बनाउनुछ। मुस्किल छ कि सहज छ? बापदादाले सम्झनुहुन्छ सङ्गमयुगको वरदान हो–
सहज पुरुषार्थ। यो जन्ममा सहज पुरुषार्थको वरदानबाट २१ जन्म सहज जीवन स्वतः नै
प्राप्त हुनेछ। बापदादा हरेक बच्चालाई मेहनतबाट मुक्त गर्न आउनुभएको छ। ६३ जन्म
मेहनत गरेका छौ, एक जन्म परमात्म प्यार, मोहब्बतले मेहनतबाट मुक्त होऊ। जहाँ
मोहब्बत छ त्यहाँ मेहनत हुँदैन, जहाँ मेहनत छ त्यहाँ मोहब्बत हुँदैन। त्यसैले
बापदादाले सहज पुरुषार्थी भवको वरदान दिइरहनुभएको छ र मुक्त हुने साधन हो– मोहब्बत,
बाबासँग दिलको प्यार। प्यारमा मग्न (लभलीन) र महा यन्त्र हो– मनमनाभवको मन्त्र।
त्यसैले यन्त्रलाई काममा लगाऊ। काममा लगाउन त आउँछ नि! बापदादाले देख्नुभयो
सङ्गमयुगमा परमात्म प्यारद्वारा, बापदादाद्वारा कति शक्तिहरू मिलेका छन्, गुण मिलेका
छन्, ज्ञान मिलेको छ, खुसी मिलेको छ, यी सबै प्रभु देनलाई, खजानाहरूलाई समयमा
कार्यमा लगाऊ।
त्यसैले बापदादा के
चाहनुहुन्छ, सुन्यौ? हरेक बच्चा सहज पुरुषार्थी, सहज पनि, तीव्र पनि। दृढतालाई
प्रयोग गर। बन्नु नै छ, हामी बनेनौ भने को बन्छ। हामी नै थियौँ, हामी नै छौँ र हरेक
कल्प हामी नै हुनेछौँ। स्वयंमा यति दृढ निश्चय धारण गर्नु नै छ। गर्नेछौँ नभन, गर्नु
नै छ। हुनु नै छ। भइ नै सकेको छ। बापदादा देश विदेशका बच्चाहरूलाई देखेर खुसी
हुनुहुन्छ। तर केवल तिमी सामुन्ने सम्मुख हुनेहरूलाई देखिरहनुभएको छैन, चारैतिरका
देश र विदेशका बच्चाहरूलाई देखिरहनुभएको छ। जहाँतहीँबाट जन्मदिनका अधिकांश बधाईहरू
आएका छन्, बधाईका कार्ड पनि मिलेका छन्, इमेल पनि मिलेका छन्, दिलको सङ्कल्प पनि
मिलेको छ। बाबा पनि बच्चाहरूको गीत गाउनुहुन्छ, तिमीहरूले गीत गाउँछौ नि– बाबा आपने
कर दी कमाल, तब बाबा पनि गीत गाउनुहुन्छ मीठे बच्चों ने कर दी कमाल। बापदादा सदा
भन्नुहुन्छ– तिमी त सम्मुख बसेका छौ तर टाढा हुनेहरू पनि बापदादाको दिलमा बसेका छन्।
आज चारैतिर बच्चाहरूको सङ्कल्पमा छ– बधाई छ, बधाई छ, बधाई छ! बापदादाको कानमा आवाज
पुगिरहेको छ र मनमा सङ्कल्प पुगिरहेका छन्। यी निमित्त बधाईका कार्ड हुन्, पत्र हुन्
तर धेरै ठुलो हीराभन्दा पनि ज्यादा मूल्यवान् गिफ्ट हुन्। सबैले सुनिरहेका छन्,
हर्षित भइरहेका छन्। त्यसैले सबैले आफ्नो जन्मदिन मनायौ। चाहे दुई वर्षको होस्, चाहे
एक वर्षको होस्, चाहे एक हप्ताको होस्, तर यज्ञ स्थापनाको जन्मदिन हो। त्यसैले सबै
ब्राह्मण यज्ञ निवासी त छँदैछन्, त्यसैले सबै बच्चाहरूलाई धेरैधेरै दिलको यादप्यार
पनि छ, आशीर्वाद पनि छ, सदा आशीर्वादमा नै पालिइराख, उडिराख, आशीर्वाद दिनु र लिनु
सहज छ नि! सहज छ? जसले सम्झन्छौ सहज छ, उनीहरूले हात उठाऊ। झन्डा हल्लाऊ। त्यसोभए
आशीर्वाद छोड्दैनौ त? सबैभन्दा सहज पुरुषार्थ नै हो– आशीर्वाद दिनु, आशीर्वाद लिनु।
यसमा योग पनि आउँछ, ज्ञान पनि आउँछ, धारणा पनि आउँछ, सेवा पनि आउँछ। चारै विषय (सब्जेक्ट)
आउँछन् आशीर्वाद दिने र लिनेमा।
त्यसोभए डबल विदेशीहरू
आशीर्वाद दिन र लिन सहज छ नि! सहज छ? जो २० वर्ष भएका आएका छौ उनीहरूले हात उठाऊ।
तिम्रो त २० वर्ष भयो तर बापदादाले तिमीहरू सबैलाई पदमगुणा बधाई दिइरहनुभएको छ। कति
देशका आएका छन्? (६९ देशका) बधाई छ। ६९ औँ जन्मदिन मनाउनको लागि ६९ देशबाट आएका छन्।
कति राम्रो छ। आउनमा कष्ट त भएन नि। सहजै आयौ नि! जहाँ मोहब्बत छ त्यहाँ केही मेहनत
हुँदैन। त्यसैले आजको विशेष कुन वरदान याद राख्नेछौ? सहज पुरुषार्थी। सहज कार्य छिटो
छिटो गरिन्छ नै। मेहनतको काम मुस्किल हुन्छ नि। त्यसैले समय लाग्छ। त्यसैले सबै को
हौ? सहज पुरुषार्थी। भन, यो कुरा याद राख्नु। आफ्नो देशमा गएर मेहनतमा नलाग्नु। यदि
कुनै मेहनतको काम आयो भने पनि दिलबाट भन्नु, बाबा, मेरो बाबा, अनि मेहनत खतम हुनेछ।
अच्छा। मनायौ नि! बाबाले पनि मनाउनुभयो, तिमीले पनि मनायौ। अच्छा। अहिले एक
सेकेन्डमा ड्रिल गर्न सक्छौ? गर्न सक्छौ नि! अच्छा। (बापदादाले ड्रिल गराउनुभयो)
चारैतिरका सदा
उमङ्ग-उत्साहमा रहने श्रेष्ठ बच्चाहरूलाई, सदा सहज पुरुषार्थी सङ्गमयुगका सर्व
वरदानी बच्चाहरूलाई, सदा बाबा र म आत्मा, यसै स्मृतिबाट म भन्नेवाला, म आत्मा, सदा
सर्व आत्माहरूलाई आफ्नो वृत्तिबाट वायुमण्डलको सहयोग दिने– यस्ता मास्टर
सर्वशक्तिमान् बच्चाहरूलाई बापदादाको यादप्यार, आशीर्वाद, बधाई एवं नमस्ते। रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
डबल विदेशी बडी
दिदीहरूसँग:–
सबैले मेहनत
राम्रो गरेका छन्। ग्रुप बनाएका छन् नि त, मेहनत राम्रो गरेका छन्। र, यहाँ
वायुमण्डल पनि राम्रो छ, सङ्गठनको शक्ति पनि छ, त्यसैले सबैलाई रिफ्रेसमेन्ट (ताजगी)
राम्रो मिल्छ र तिमी निमित्त बन्छौ। राम्रो छ। टाढा टाढा बस्छन् नि, त्यसैले
सङ्गठनको जुन शक्ति हुन्छ त्यो पनि धेरै राम्रो छ। यति सारा परिवार जम्मा हुन्छ तब
हरेकको विशेषताको प्रभाव त पर्छ। राम्रो योजना बनाएका छन्। बापदादा खुसी हुनुहुन्छ।
सबैको खुसबु तिमीले लिन्छौ। उनीहरू खुसी हुन्छन् तिमीलाई आशीर्वाद मिल्छ। राम्रो छ,
यो जुन सबै जम्मा हुन्छौ यो धेरै राम्रो छ, आपसमा लेनदेन पनि हुन्छ र रिफ्रेसमेन्ट
पनि हुन्छ। एक अर्काको जुन राम्रो विशेषता मन पर्छ, त्यसलाई प्रयोग गर्छन्, यसबाट
सङ्गठन राम्रो हुन्छ। यो ठीक छ।
सेन्टरवासी भाइ
बहिनीहरूसँग:–
(सबैले ब्यानर
देखाइरहेका छन्, त्यसमा लेखिएको छ– प्रेम र दयाको ज्योति जगाएर राख्नेछौँ) धेरै
राम्रो सङ्कल्प लिएका छौ। आफूमाथि पनि दया दृष्टि, साथीहरूमाथि पनि दया दृष्टि र
सबैमाथि पनि दया दृष्टि। ईश्वरीय प्रेम चुम्बक हो, त्यसैले तिमीसँग ईश्वरीय प्रेमको
चुम्बक छ। कुनै पनि आत्मालाई ईश्वरीय प्रेमको चुम्बकबाट बाबाको बनाउन सक्छौ।
बापदादाले सेन्टर निवासीहरू, जो तिमीहरू सबैले विश्वमा नाम उच्च बनाएका छौ,
तिमीहरूलाई विशेष दिलको आशीर्वाद दिनुहुन्छ। कुना कुनामा ब्रह्माकुमारीजको नाम त
फैलाएका छौ नि! बापदादालाई यो कुरा धेरै राम्रो लाग्छ– जस्तै डबल विदेशी छौ, त्यस्तै
डबल नोकरी (जब) गर्नेवाला हौ। अधिकांशले लौकिक नोकरी पनि गर्छन् भने अलौकिक नोकरी
पनि गर्छन् र बापदादाले देख्नुहुन्छ, बापदादाको टीभी धेरै ठुलो छ, यस्तो ठुलो टीभी
यहाँ छैन। त्यसैले बापदादाले देख्नुहुन्छ कसरी फटाफट क्लास गर्छन्, नास्ता उभिएरै
गर्छन्, नोकरीमा समयमा पुग्छन्, कमाल गर्छन्। बापदादाले हेर्दाहेर्दै दिलको प्यार
दिइरहनुहुन्छ। धेरै राम्रो, सेवाको निमित्त बनेका छौ र निमित्त बन्ने गिफ्ट बाबाले
सदा विशेष दृष्टि दिइरहनुहुन्छ। धेरै राम्रो लक्ष्य राखेका छौ, राम्रा छौ, राम्रा
रहनेछौ, राम्रा बनाउनेछौ। अच्छा।
वरदान:–
सर्व खजानाको
मितव्ययिताको बजेट बनाउने महीन पुरुषार्थी भव
जसरी लौकिक रीतिमा यदि
इकोनोमी भएको घर छैन भने ठीक रीतिले चल्न सक्दैन। त्यसैगरी यदि निमित्त बनेका
बच्चाहरू इकोनोमी गर्नेवाला छैनन् भने सेन्टर ठीक चल्दैन। त्यो भयो हदको प्रवृत्ति,
यो हो बेहदको प्रवृत्ति। त्यसैले चेक गर्नुपर्छ– सङ्कल्प, बोली र शक्तिहरूमा के के
अतिरिक्त खर्च गरियो? जसले सर्व खजानाको इकोनोमीको बजेट बनाएर त्यसै अनुसार चल्छन्,
उनीहरूलाई नै महीन पुरुषार्थी भनिन्छ। उनीहरूको सङ्कल्प, बोली, कर्म वा ज्ञानका
शक्तिहरू कुनै पनि व्यर्थ जान सक्दैनन्।
स्लोगन:–
स्नेहको
खजानाले मालामाल बनेर सबैलाई स्नेह देऊ र स्नेह लेऊ।