13.02.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यहाँ
तिम्रो सबै कुरा गुप्त छ , त्यसैले तिमीले कुनै पनि आडम्बर गर्नु छैन , आफ्नो नयाँ
राजधानीको नसामा रह नुछ ।”
प्रश्न:–
श्रेष्ठ धर्म
र दैवी कर्मको स्थापनाको लागि तिमी बच्चाहरूले कुन मेहनत गर्छौ?
उत्तर:–
तिमीले अहिले
५ विकारहरूलाई छोड्ने मेहनत गर्छौ, किनकि यिनै विकारहरूले सबैलाई भ्रष्ट बनाएका छन्।
तिमीलाई थाहा छ, यस समयमा सबै दैवीधर्म र कर्मबाट भ्रष्ट छन्। बाबाले नै श्रीमत
दिएर श्रेष्ठ धर्म र श्रेष्ठ दैवी कर्मको स्थापना गर्नुहुन्छ। तिमी श्रीमतमा चलेर
बाबाको यादले विकारहरूमाथि विजय पाउँछौ। पढाइले आफूले आफैलाई राजतिलक दिन्छौ।
गीत:–
तुम्हें पाके...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले यो गीत सुन्यौ। रुहानी बच्चाहरूले नै भन्छन्– बाबा। बच्चाहरूलाई
थाहा छ, उहाँ बेहदका बाबाले बेहदको सुख दिनुहुन्छ अर्थात् उहाँ सबैका बाबा
हुनुहुन्छ। उहाँलाई सबै बेहदका बच्चाहरू, आत्माहरूले याद गरिरहन्छन्। कुनै न कुनै
प्रकारले याद गर्छन् तर उनीहरूलाई यो थाहा छैन– हामीलाई कुनै उहाँ परमपिता
परमात्माबाट विश्वको बादसाही मिल्छ। तिमीलाई थाहा छ, हामीलाई बाबाले जुन सत्ययुगी
विश्वको बादसाही दिनुहुन्छ, त्यो अटल, अखण्ड, अडोल छ, त्यो हाम्रो बादसाही २१ जन्म
कायम रहन्छ। सारा विश्वमा हाम्रो राज्य हुन्छ जसलाई कसैले छिन्न सक्दैन, लुट्न
सक्दैन। हाम्रो राज्य अडोल छ किनकि त्यहाँ एउटै धर्म हुन्छ, द्वैत हुँदैन। त्यो हो
अद्वैत राज्य। बच्चाहरूले जहिले पनि गीत सुन्दा आफ्नो राजधानीको नसा हुनुपर्छ। यस्ता
यस्ता गीत घरमा हुनुपर्छ। तिम्रो सबै कुरा गुप्त छ । ठुला ठुला मानिसहरूको धेरै
ठाँट हुन्छ। तिम्रो कुनै ठाँट छैन। तिमीले देख्छौ, बाबाले जसमा प्रवेश गर्नुभएको छ
उनी पनि कति साधारण रीतिले रहन्छन्। यो पनि बच्चाहरूलाई थाहा छ, यहाँ हरेक मानिसले
दुराचारी (अनराइटियस) फोहोरी काम नै गर्छन्, त्यसैले तिनीहरूलाई बेसमझ भनिन्छ।
बुद्धिमा बिल्कुलै ताल्चा लागेको हुन्छ। तिमी कति समझदार थियौ। विश्वको मालिक थियौ।
अहिले मायाले यति बेसमझ बनाइदिएको छ, जसबाट तिमी कुनै कामका छैनौ। बाबाको पासमा
जानका लागि धेरै यज्ञतप आदि गरिरहन्छन् तर मिल्ने केही पनि होइन। यत्तिकै ठक्कर
खाइरहन्छन्। दिनप्रतिदिन अकल्याण नै हुँदै जान्छ। जति जति मानिस तमोप्रधान हुन्छन्,
त्यति त्यति अकल्याण हुनु नै छ। ऋषिमुनि जसको गायन छ उनीहरू पवित्र रहन्थे। नेती
नेती भन्थे। अहिले तमोप्रधान बनेका छन् त्यसैले भन्छन्– शिवोहम् तत् त्वम्, परमात्मा
सर्वव्यापी हुनुहुन्छ, तेरोमेरो सबैमा हुनुहुन्छ। उनीहरूले केवल परमात्मा भनिदिन्छन्।
परमपिता कहिल्यै भन्दैनन्। परमपिता भनेपछि उहाँलाई फेरि सर्वव्यापी भन्नु यो त गलत
हुन्छ त्यसैले फेरि ईश्वर वा परमात्मा भनिदिन्छन्। पिता शब्द बुद्धिमा आउँदैन। कसैले
पिता शब्द भने पनि भन्नका लागि मात्र भन्छन् तर बुझ्दैनन्। यदि परमपितालाई चिने भने
बुद्धि एकदम चम्किन्छ। बाबाले स्वर्गको वर्सा दिनुहुन्छ, उहाँ हुनुहुन्छ नै हेभिनली
गड फादर, स्वर्ग स्थापना गर्ने परमपिता परमात्मा। फेरि हामी नर्कमा किन आइपुगेका
छौँ। अब हामीले मुक्ति-जीवनमुक्ति कसरी पाउन सक्छौँ। यो कसैको बुद्धिमा पनि आउँदैन।
आत्मा पतित बनेको छ। आत्मा पहिला सतोप्रधान, समझदार हुन्छ फेरि सतो, रजो, तमोमा
आउँछ, बेसमझ बन्छ। अहिले तिमीलाई समझ भएको छ। बाबाले हामीलाई यो स्मृति दिलाउनुभएको
छ। जुनबेला नयाँ दुनियाँ थियो त्यतिबेला हाम्रै राज्य थियो। एउटै मत, एउटै भाषा,
एउटै धर्म, एउटै महाराजा-महारानीको राज्य थियो, फेरि द्वापरमा वाममार्ग सुरुहुन्छ
फेरि हरेकको कर्ममा आधारित हुन्छ। कर्म अनुसार एक शरीर छोडेर अर्को लिन्छन्। अहिले
बाबा भन्नुहुन्छ– मैले तिमीलाई यस्तो कर्म सिकाउँछु, जसबाट २१ जन्म तिमीले बादसाही
पाउँछौ। चाहे त्यहाँ पनि हदको पिता त मिल्छन् तर त्यहाँ यो ज्ञान हुँदैन– यो राज्य
भाग्यको वर्सा बेहदका बाबाले दिनुभएको हो। फेरि द्वापरबाट रावण राज्य सुरुहुन्छ,
विकारी सम्बन्ध हुन्छ। फेरि कर्म अनुसार जन्म मिल्छ। यहाँ पूज्य राजाहरू पनि थिए भने
पुजारी राजाहरू पनि छन्। सत्ययुग-त्रेतामा सबै पूज्य हुन्छन्। त्यहाँ पूजा वा भक्ति
केही हुँदैन फेरि द्वापरमा भक्तिमार्ग सुरु हुँदा यथा राजारानी तथा प्रजा पुजारी,
भगत बन्छन्। सबैभन्दा ठुला राजा जो सूर्यवंशी पूज्य थिए, उनै पुजारी बन्छन्।
अहिले तिमी जो
निर्विकारी बन्छौ, त्यसको प्रारब्ध २१ जन्मका लागि हुन्छ। फेरि भक्तिमार्ग
सुरुहुन्छ। देवताहरूको मन्दिर बनाएर पूजा गरिरहन्छन्। यो केवल यस खण्डमा नै हुन्छ।
८४ जन्मको कहानी जुन बाबाले सुनाउनुहुन्छ, यो पनि यस खण्डमा रहनेहरूको लागि हो। अरू
धर्मका त आउँछन् नै पछि। त्यसपछि त वृद्धि हुँदाहुँदा धेरैका धेरै हुन्छन्। विविध
भिन्न भिन्न धर्मका अनुहारहरू, हरेक कुरामा भिन्न भिन्न हुन्छन्। रसमरिवाज पनि
भिन्न भिन्न हुन्छ। भक्तिमार्गको लागि सामग्री पनि चाहिन्छ। जसरी बीज सानो हुन्छ,
वृक्ष कति ठुलो छ। वृक्षका पात आदि गन्ती गर्न सकिँदैन। त्यसैगरी भक्तिको पनि
विस्तार हुन्छ। धेरैका धेरै शास्त्र बनाउँदै जान्छन्। अब बाबाले बच्चाहरूलाई
भन्नुहुन्छ– यो भक्तिमार्गको सामग्री सबै खतम हुन्छ। अब म बाबालाई याद गर। भक्तिको
प्रभाव पनि धेरै छ नि। कति सुन्दर छ, नाच, तमासा, गायन आदिमा कति खर्च गर्छन्। अहिले
बाबा भन्नुहुन्छ– म बाबालाई र वर्सालाई याद गर। आफ्नो आदि सनातन देवीदेवता धर्मलाई
याद गर। तिमीले जन्मजन्मान्तर अनेक प्रकारको भक्ति गर्दै आयौ। संन्यासीले पनि
आत्माहरूको निवासस्थान, तत्वलाई परमात्मा भन्ने सम्झन्छन्। ब्रह्म वा तत्वलाई नै
याद गर्छन्। वास्तवमा संन्यासी सतोप्रधान हुँदा उनीहरूलाई जङ्गलमा गएर शान्तिमा
रहनुछ। यस्तो होइन– उनीहरूलाई ब्रह्ममा गएर लीन हुनुछ। उनीहरूले सम्झन्छन्– ब्रह्मको
यादमा हुँदा, शरीर छोड्दा ब्रह्ममा लीन हुन्छौँ। बाबा भन्नुहुन्छ– लीन कोही हुन
सक्दैनन्। आत्मा त अविनाशी हो नि, त्यो लीन कसरी हुन सक्छ। भक्तिमार्गमा कति
मरिहत्ते गर्छन्, फेरि भन्छन्– भगवान कुनै न कुनै रूपमा आउनुहुन्छ। अब को सही हुन्?
उनीहरूले भन्छन्– हामी ब्रह्मसँग योग लगाएर ब्रह्ममा लीन हुन्छौँ। गृहस्थ धर्मकाले
भन्छन्– भगवान कुनै न कुनै रूपमा पतितहरूलाई पावन बनाउन आउनुहुन्छ। यस्तो होइन–
माथिबाट प्रेरणाद्वारा नै सिकाउनुहुन्छ। टिचरले घैर बसेर प्रेरणा दिनुहुन्छ र!
प्रेरणा शब्दा हुँदैन। प्रेरणाले कुनै काम हुँदैन। चाहे शङ्करको प्रेरणाद्वारा
विनाश हुन्छ भनिन्छ तर त्यो ड्रामामा पहिल्यै निश्चित छ। उनीहरूले यो मुसल आदि त
बनाउनु नै छ। यो केवल महिमा गायन गरिन्छ। कसैलाई पनि आफ्ना अग्रजहरूको महिमा थाहा
छैन। धर्म स्थापकलाई पनि गुरु भनिदिन्छन् तर उनीहरूले त केवल धर्म स्थापना गर्छन्।
गुरु उहाँलाई भनिन्छ जसले सदगति गर्नुहुन्छ। उनीहरू त धर्म स्थापना गर्न आउँछन्,
उनीहरूको पछाडि उनीहरूको वंशावली आइरहन्छ। सदगति त कसैको गर्दैनन् नै। त्यसैले
उनीहरूलाई गुरु कसरी भन्ने। गुरु त एक मात्रै हुनुहुन्छ जसलाई सर्वका सदगतिदाता
भनिन्छ। भगवान बाबाले नै आएर सबैको सदगति गर्नुहुन्छ। मुक्ति-जीवनमुक्ति दिनुहुन्छ।
उहाँको याद कहिल्यै कसैबाट छुट्न सक्दैन। चाहे पतिसँग जतिसुकै प्रेम होस् फेरि पनि
हे भगवान! हे ईश्वर! अवश्य भन्छन् किनकि उहाँ नै सर्वका सदगतिदाता हुनुहुन्छ। बाबाले
बसेर सम्झाउनुहुन्छ, यो सारा रचना हो। रचयिता बाबा म हुँ। सबैलाई सुख दिने एक मात्रै
बाबा हुनुभयो। भाइले, भाइलाई वर्सा दिन सक्दैनन्। वर्सा सदैव बाबाबाट मिल्छ। तिमी
सबै बेहदका बच्चाहरूलाई बेहदको वर्सा दिन्छु त्यसैले नै मलाई याद गर्छन्– हे परमपिता,
क्षमा गर्नुहोस्, दया गर्नुहोस्! बुझ्न केही पनि बुझ्दैनन्। भक्तिमार्गमा अनेक
प्रकारका महिमा गर्छन्, यहाँ पनि ड्रामा अनुसार आफ्नो पार्ट खेलिरहन्छन्। बाबा
भन्नुहुन्छ– म कुनै यिनीहरूको पुकारले आउँन्नँ। यो त ड्रामा बनेको छ। ड्रामामा मेरो
आउने पार्ट पहिल्यै निश्चित छ। अनेक धर्मको विनाश, एक धर्मको स्थापना वा कलियुगको
विनाश, सत्ययुगको स्थापना गर्नुछ। म आफ्नो समयमा आफै आउँछु। यो भक्तिमार्गको पार्ट
पनि ड्रामामा पहिल्यै निश्चित छ। अहिले भक्तिमार्गको पार्ट पूरा भएपछि मात्र आएको
छु। बच्चाहरूले पनि भन्छन्, अहिले हामीलाई थाहा भयो, ५ हजार वर्षपछि फेरि हजुरसँग
मिलेका छौँ। कल्प पहिला पनि बाबा हजुर ब्रह्मा तनमा नै आउनुभएको थियो। यो ज्ञान
तिमीलाई अहिले मिल्छ फेरि कहिल्यै मिल्दैन। यो हो ज्ञान, त्यो हो भक्ति। ज्ञानको हो
प्रारब्ध, चढ्तीकला। सेकेन्डमा जीवनमुक्ति भनिन्छ। भनिन्छ– जनकले सेकेन्डमा
जीवनमुक्ति पाए। के केवल एक जनकले जीवनमुक्ति पाए? जीवनमुक्ति अर्थात् जीवनलाई
मुक्त गर्छन्, यो रावण राज्यबाट।
बाबालाई थाहा छ, सबै
बच्चाहरूको कति दुर्गति भएको छ। उनीहरूको फेरि सदगति हुनुछ। दुर्गतिबाट फेरि उच्च
गति, मुक्ति-जीवनमुक्ति पाउँछन्। पहिला मुक्तिमा गएर फेरि जीवनमुक्तिमा आउनेछन्।
शान्तिबाट फेरि सुखधाममा आउनेछन्। सारा चक्रको यो रहस्य बाबाले सम्झाउनुभएको छ।
तिमीहरूसँगै अरू पनि धर्म आउँदै जान्छन्, मनुष्य सृष्टि वृद्धि हुँदै जान्छ। बाबा
भन्नुहुन्छ– यस समयमा यो मनुष्य सृष्टिको वृक्ष तमोप्रधान जर्जर भएको छ। आदि सनातन
देवीदेवता धर्मको सारा फाउन्डेसन सडेको छ। बाँकी सबै धर्म रहेका छन्। यहाँ एक जनाले
पनि आफूलाई आदि सनातन देवीदेवता धर्मको हुँ भन्ने जान्दैनन्। हुन् देवता धर्मका तर
यस समयमा यो जान्दैनन्– हामी आदि सनातन देवीदेवता धर्मका थियौँ किनकि देवताहरू त
पवित्र थिए। सम्झन्छन्– हामी त पवित्र छैनौँ। हामी अपवित्र पतितले आफूलाई देवता कसरी
कहलाउने? यो हिन्दु कहलाउने रसम पनि ड्रामा प्लान अनुसार चल्छ। जनगणनामा पनि हिन्दु
धर्म लेखिदिन्छन्। गुजराती रहेछन् भने पनि हिन्दु गुजराती भनिदिन्छन्। उनीहरूलाई
सोध त सही– हिन्दु धर्म कहाँबाट आयो? त्यसपछि कसैलाई थाहा छैन केवल भनिदिन्छन्–
हाम्रो धर्म श्रीकृष्णले स्थापना गर्नुभयो। कहिले? द्वापरमा। द्वापरबाट नै यिनीहरूले
आफ्नो धर्मलाई भुलेर हिन्दु कहलाउन थालेका हुन् त्यसैले तिनीहरूलाई दैवीधर्मभ्रष्ट
भनिन्छ। त्यहाँ सबैले राम्रो कर्म गर्छन्। यहाँ सबैले फोहोरी कर्म गर्छन् त्यसैले
धर्मभ्रष्ट, कर्मभ्रष्ट भनिन्छ। अब फेरि श्रेष्ठ धर्म, श्रेष्ठ दैवी कर्मको स्थापना
भइरहेको छ त्यसैले भनिन्छ– अब यी ५ विकारहरूलाई छोड्दै जाऊ। यी विकार आधाकल्पदेखि
रहेका छन्। अब एक जन्ममा यिनलाई छोड्नु– यसमा नै मेहनत लाग्छ। मेहनतबिना कहाँ
विश्वको बादसाही मिल्छ र! बाबालाई याद गरेमा नै आफूलाई तिमीले राज्य भाग्यको तिलक
दिन्छौ अर्थात् राज्य भाग्यको अधिकारी बन्छौ। जति राम्रोसँग यादमा रहन्छौ, श्रीमतमा
चल्छौ त्यति तिमी राजाहरूको राजा बन्छौ। पढाउने टिचर त आउनुभएको छ पढाउन। यो पाठशाला
हो नै मनुष्यबाट देवता बन्ने। नरबाट नारायण बनाउने कथा सुनाउनुहुन्छ। यो कथा कति
नामीग्रामी छ। यसलाई अमरकथा, सत्य नारायणको कथा, तीजरीको कथा पनि भनिन्छ। तीनवटैको
अर्थ पनि बाबाले सम्झाउनुहुन्छ। भक्तिमार्गका त धेरै कथाहरू छन्। त्यसैले हेर गीत
कति राम्रो छ। बाबाले हामीलाई सारा विश्वको मालिक बनाउनुहुन्छ, जुन मालिकपन कसैले
लुट्न सक्दैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सदा यो स्मृति राख्नुछ– हामी एक मत, एक राज्य, एक धर्मको स्थापनाको निमित्त हौँ
त्यसैले एक मत भएर रहनुछ।
२) स्वयंलाई राज्य
भाग्यको तिलक दिनको लागि विकारहरूलाई छोड्ने मेहनत गर्नुछ। पढाइमा पूरा ध्यान दिनुछ।
वरदान:–
कर्मातीत
स्टेजमा स्थित भएर चारैतिरका सेवाहरूलाई ह्यान्डल गर्ने सिद्धिस्वरूप भव
पछि गएर चारैतिरका
सेवाहरूको विस्तारलाई ह्यान्डल (व्यवस्थापन) गर्न को लागि भिन्न भिन्न साधन
अपनाउनुपर्छ किनकि त्यस समयमा पत्र व्यवहार वा टेलिग्राम, टेलिफोन आदिले काम
गर्दैनन्। यस्तो समयमा वायरलेस सेट चाहिन्छ। यसको लागि भर्खरै कर्मयोगी, भर्खरै
कर्मातीत स्टेजमा स्थित रहने अभ्यास गर। त्यसपछि चारैतिर सङ्कल्पको सिद्धिद्वारा
सेवामा सहयोगी बन्न सकिन्छ।
स्लोगन:–
परमात्म
प्रेमको पालनाको स्वरूप तिम्रो सहजयोगी जीवन हो।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन।
हरेकले दुई कुरा
विशेष ध्यानमा राख्नुछ– एक सदा संस्कार मिलाउने एकता। अर्को एकअर्कामा विश्वास
राखेर सदा सन्तुष्ट रहनुछ र सबैलाई सन्तुष्ट पार्नुछ। यी दुवै कुराहरू सदा ध्यानमा
रहे भने बाबा जो हुनुहुन्छ जस्तो हुनुहुन्छ, त्यस्तै देखिनुहुन्छ र प्रत्यक्षता
हुन्छ।