13.04.25 Avyakt Bapdada Nepali Murli 31.12.2004 Om Shanti Madhuban
“ यस वर्षको आरम्भदेखि
बेहदको वैराग्य वृत्ति इमर्ज गर , यही मुक्तिधामको गेटको चाबी हो”
आज नवयुग रचयिता
बापदादा आफ्ना बच्चाहरूसँग नववर्ष मनाउनका लागि, परमात्म मिलन मनाउनका लागि
बच्चाहरूको स्नेहमा आफ्नो दूरदेशबाट साकार वतनमा मिलन मनाउन आउनुभएको छ। दुनियाँमा
त एक अर्कालाई नववर्षको बधाई दिन्छन्। तर बापदादाले तिमी बच्चाहरूलाई नवयुग र नयाँ
वर्ष, दुवैको बधाई दिइरहनुभएको छ। नयाँ वर्ष त एक दिन मनाउने हो। नवयुग त तिमीहरूले
सङ्गममा सदा मनाइरहन्छौ। तिमीहरू सबै पनि परमात्म प्यारको आकर्षणमा तानिँदै यहाँ
आइपुगेका छौ। तर सबैभन्दा दूरदेशबाट आउने को? डबल विदेशी? उनीहरू त फेरि पनि यस
साकार देशमा नै छन् तर बापदादा दूरदेशी कति टाढाबाट आउनुभएको छ? हिसाब निकाल्न सक्छौ,
कति माइलबाट आउनुभएको छ? त्यसैले दूरदेशी बापदादाले चारैतिरका बच्चाहरूलाई चाहे
सामुन्ने डाइमण्ड हलमा बसेका छौ, चाहे मधुवनमा बसेका छौ, चाहे ज्ञान सरोवरमा बसेका
छौ, ग्यालरीमा बसेका छौ, तिमीहरू सबैसँग जो टाढा बसेर देश विदेशमा बापदादासँग मिलन
मनाइरहेका छौ, बापदादाले देखिरहनुभएको छ सबै कति प्यारले, टाढाबाट हेरिरहेका पनि
छौ, सुनिरहेका पनि छौ। त्यसैले चारैतिरका बच्चाहरूलाई नवयुग र नयाँ वर्षको पदमगुणा
बधाई छ, बधाई छ, बधाई छ! बच्चाहरूलाई त नवयुग नयनको सामुन्ने छ नि! बस्, आज सङ्गममा
छौ, भोलि आफ्नो नवयुगमा राज्य अधिकारी बनेर राज्य गर्नेछौं। यति नजिक अनुभव भइरहेको
छ? आज र भोलिको नै त कुरा हो। हिजो थियो, भोलि फेरि हुनुछ। आफ्नो नवयुगको, गोल्डेन
युगको गोल्डेन ड्रेस सामुन्ने देखिइरहेको छ? कति सुन्दर छ! स्पष्ट देखिइरहेको छ नि!
आज साधारण ड्रेसमा छौ र भोलि नवयुगको सुन्दर ड्रेसमा चम्किरहेको देखिनेछौ। नववर्षमा
त एक दिनका लागि एक अर्कालाई गिफ्ट दिन्छन्। तर नवयुग रचयिता बापदादाले तिमीहरू
सबैलाई गोल्डेन वर्ल्डको सौगात दिनुभएको छ, जुन अनेक जन्म चल्नेछ। विनाशी सौगात
होइन। अविनाशी सौगात बाबाले तिमी बच्चाहरूलाई दिनुभएको छ। याद छ नि! बिर्सेका त छैनौ
नि! सेकेन्डमा आउन जान सक्छौ। भर्खरै सङ्गममा, भर्खरै आफ्नो गोल्डेन दुनियाँमा
पुगिहाल्छौ कि ढिलो हुन्छ? आफ्नो राज्य स्मृतिमा आउँछ नि!
आजको दिनलाई बिदाईको
दिन भनिन्छ र १२ बजेपछि बधाईको दिन भनिनेछ। बिदाईको दिन, वर्षको बिदाईको साथसाथै
तिमीहरू सबैले वर्षको साथमा अरू कसलाई बिदाई दियौ? जाँच गर्यौ सदाका लागि बिदाई दियौ
वा केही समयका लागि बिदाई दियौ? बापदादाले पहिले पनि भन्नुभएको छ– समयको रफ्तार
तीव्रगतिले गइरहेको छ। सारा वर्षको रिजल्टमा जाँच गर्यौ मेरो पुरुषार्थको रफ्तार
तीव्र रह्यो? वा कहिले कसरी, कहिले कसरी रह्यो? दुनियाँको हालतलाई हेरेर अब आफ्ना
विशेष दुई स्वरूपलाई इमर्ज गर, ती दुई स्वरूप हुन्– एक सर्वप्रति रहमदिल र
कल्याणकारी अनि अर्को हर आत्माप्रति सदा दाताका बच्चा मास्टरदाता। विश्वका आत्माहरू
बिल्कुल शक्तिहीन, दुःखी, अशान्त भएर चिच्याइरहेका छन्। बाबाको अगाडि, तिमी पूज्य
आत्माहरूको अगाडि पुकारिरहेका छन्– केही घडीका लागि भए पनि सुख देऊ, शान्ति देऊ।
खुसी देऊ, हिम्मत देऊ। बाबा त बच्चाहरूको दुःख, हैरानीलाई हेर्न सक्नुहुन्न, सुन्न
सक्नुहुन्न। के तिमीहरू सबै पूज्य आत्माहरूलाई रहम आउँदैन! मागिरहेका छन्– देऊ, देऊ,
देऊ...। त्यसैले दाताका बच्चाले केही अञ्जुली त देऊ। बाबा पनि तिमी बच्चाहरूलाई साथी
बनाएर, मास्टरदाता बनाएर, आफ्नो राइट ह्याण्ड बनाएर यही इसारा दिनुहुन्छ– यति
विश्वका आत्माहरू सबैलाई मुक्ति दिलाउनुछ। मुक्तिधाममा जानुछ। त्यसैले हे दाताका
बच्चाहरू! आफ्नो श्रेष्ठ सङ्कल्पद्वारा, मनसा शक्तिद्वारा, चाहे वाणीद्वारा, चाहे
सम्बन्ध-सम्पर्कद्वारा, चाहे शुभभावना शुभकामनाद्वारा, चाहे भाइब्रेसन
वायुमण्डलद्वारा कुनै पनि युक्तिले मुक्ति दिलाऊ। चिच्याइरहेका छन् मुक्ति देऊ,
बापदादा आफ्ना राइट ह्याण्ड्हरूलाई भन्नुहुन्छ रहम गर।
अहिलेसम्मको हिसाब
निकाल। चाहे मेगा प्रोग्राम गरेका छौ, चाहे कन्फ्रेन्स गरेका छौ, चाहे भारतमा वा
विदेशमा सेन्टरहरू पनि खोलेका छौ तर विश्वका आत्माहरूको टोटल सङ्ख्याको हिसाबले कति
पर्सेन्टमा आत्माहरूलाई मुक्तिको मार्ग बताएका छौ? केवल भारत कल्याणकारी हौ वा
विदेशमा जति पनि ५ खण्ड छन्, जहाँ जहाँ सेवाकेन्द्र खोलेका छौ, त्यहाँका कल्याणकारी
हौ वा विश्व कल्याणकारी हौ? विश्वको कल्याण गर्नका लागि हरेक बच्चाले बाबाको
ह्याण्ड, राइट ह्याण्ड बन्नुछ। कसैलाई पनि केही दिइन्छ भने केले दिइन्छ? हातले
दिइन्छ नि। बापदादाका तिमी ह्याण्ड्स हौ, हात हौ नि। त्यसैले बापदादा राइट
ह्याण्ड्हरूसँग सोध्नुहुन्छ– कति पर्सेन्टको कल्याण गरेका छौ? कति पर्सेन्टको
कल्याण गरेका छौ? सुनाऊ, हिसाब निकाल। पाण्डव हिसाब गर्नमा होसियार छौ नि? त्यसैले
बापदादा भन्नुहुन्छ– अब स्वपुरुषार्थ र सेवाका भिन्न भिन्न विधिहरूद्वारा पुरुषार्थ
तीव्र बनाऊ। स्वको स्थितिमा पनि चार कुरा विशेष जाँच गर– यसलाई भनिन्छ तीव्र
पुरुषार्थ।
एउटा कुरा– पहिले यो
जाँच गर, निमित्त भाव छ? कुनै पनि रोयल रूपको मैपन त छैन? मेरोपन त छैन? साधारण
मानिसहरूको म र मेरो पनि साधारण छ, मोटो छ तर ब्राह्मण जीवनको मेरो र मैपन सूक्ष्म
र रोयल छ। त्यसको भाषा के हो थाहा छ? यो त हुन्छ नै, यो त चल्छ नै। यो त हुनु नै छ।
चलिरहेका छौँ, हेरिरहेका छौँ...। एक त निमित्त भाव, हर कुरामा निमित्त छौ। चाहे
सेवामा, चाहे स्थितिमा, चाहे सम्बन्ध-सम्पर्कमा चेहरा र चालचलनमा निमित्त भाव होस्।
अनि उनको दोस्रो विशेषता हुनेछ– निर्मान भावना। निमित्त र निर्मान भावले निर्माण
गर्नु। तीन कुरा सुन्यौ– निमित्त, निर्मान र निर्माण अनि चौथो कुरा हो– निर्वाण। जब
चाहन्छौ निर्वाणधाममा पुगिहाल। निर्वाण स्थितिमा स्थित होऊ किनकि स्वयं निर्वाण
स्थितिमा भयौ भने मात्र अरूलाई निर्वाणधाममा पुर्याउन सक्नेछौ। अहिले सबै मुक्ति
चाहन्छन्, छुटाऊ, छुटाऊ भनेर चिच्याइरहेका छन्। त्यसैले यी चार कुरा राम्रो
पर्सेन्टमा प्राक्टिकल जीवनमा हुनु अर्थात् तीव्र पुरुषार्थ। त्यसपछि बापदादाले
भन्नुहुनेछ वाह! वाह! बच्चा वाह! तिमीहरूले पनि भन्नेछौ वाह! बाबा वाह!, वाह! ड्रामा
वाह!, वाह! पुरुषार्थ वाह! तर थाहा छ अहिले के गर्छौ? थाहा छ? कहिले वाह! भन्छौ
कहिले ह्वाई (किन) भन्छौ। वाह! को सट्टा ह्वाई, अनि ह्वाई भयो भने हाय। त्यसैले
ह्वाई होइन, वाह! तिमीलाई पनि के राम्रो लाग्छ, वाह! राम्रो लाग्छ वा ह्वाई? के
राम्रो लाग्छ? वाह! कहिल्यै ह्वाई गर्दैनौ? गल्तीले आइहाल्छ।
डबल फरेनरहरूले ह्वाई
ह्वाई भन्छौ? कहिलेकाहीँ भनिदिन्छौ? जुन डबल फरेनरहरूले कहिल्यै पनि ह्वाई भन्दैनन्,
उनीहरूले हात उठाऊ। धेरै कम छौ। अच्छा– भारतवासी जसले वाह! वाह! को सट्टा किन-के
भन्छौ, उनीहरूले हात उठाऊ। किन-के भन्छौ? कसले छुट्टी दिएको छ तिमीलाई? संस्कारले?
पुराना संस्कारले तिमीलाई ह्वाई भन्ने छुट्टी दिएका छन्! तर बाबा भन्नुहुन्छ– वाह!
वाह! भन। ह्वाई ह्वाई होइन। त्यसोभए अब नयाँ वर्षमा के भन्नेछौ? वाह! वाह! भन्नेछौ?
वा कहिलेकाहीँ ह्वाई भन्ने छुट्टी दिने? ह्वाई राम्रो हुँदैन। जस्तै वाई (पेटको वायु)
हुन्छ नि, त्यो खराब हुन्छ नि। त्यसैले ह्वाई वाई हो, यो नगर। वाह! वाह! कति राम्रो
लाग्छ। हो भन, वाह! वाह! वाह!
अच्छा– दूर देशमा
सुनिरहेका छन्, हेरिरहेका छन्– भारतमा पनि विदेशमा पनि, ती बच्चाहरूसँग पनि सोध्छु–
वाह! वाह! भन्छौ वा ह्वाई, ह्वाई भन्छौ? अहिले बिदाईको दिन हो नि! आज वर्षको बिदाईको
लास्ट डे हो। त्यसैले सबैले सङ्कल्प गर– ह्वाई भन्ने छैनौँ। सोच्ने पनि छैनौँ।
प्रश्नचिन्ह होइन, आश्चर्यको मात्रा होइन, बिन्दु। प्रश्न चिन्ह लेख, कति बाङ्गो
हुन्छ अनि बिन्दु कति सहज छ। बस्, नयनमा बाबा बिन्दुलाई समाहित गर। जसरी नयनमा
हेर्ने बिन्दु समाहित छ नि! त्यसैगरी सदा नयनमा बिन्दु बाबालाई समाहित गर। समाहित
गर्न आउँछ? आउँछ वा फिट हुँदैन? तल माथि हुन्छ? त्यसोभए के गर्नेछौ? विदाई कसलाई
दिनेछौ? ह्वाईलाई? कहिल्यै पनि आश्चर्यको निसानी पनि नआओस्, यो कसरी! यो पनि हुन्छ!
हुनु त हुँदैन, किन हुन्छ! प्रश्नचिन्ह होइन, आश्चर्यको मात्रा पनि होइन। बस्, बाबा
र म। कति बच्चाहरूले भन्छन्– यो त चल्छ नै! बापदादालाई रूहरिहानमा धेरै रमणीय
कुराहरू भन्छन्, सामुन्ने त भन्न सक्दैनन् त्यसैले रूहरिहानमा सबै कुरा भनिदिन्छन्।
जेसुकै पनि चल्छ तर तिमी हिँड्नुछैन, तिमी उड्नुछ त्यसैले हिँड्ने कुरा किन हेर्छौ,
उड अनि उडाऊ। शुभभावना, शुभकामना यति शक्तिशाली छ, जसमा ह्वाई शब्द बीचमा नआओस्,
शुभभावना शुभकामना बाहेक। यति पावरफुल छ जसले कुनै अशुभ भावना वालालाई पनि
शुभभावनामा परिवर्तन गर्न सक्छौ। सेकेन्ड नम्बर– यदि परिवर्तन गर्न सक्दैनौ भने पनि
तिमीहरूको शुभभावना, शुभकामना अविनाशी छ, कहिलेकाहीँवाला होइन, अविनाशी छ त्यसैले
तिमीहरूमाथि अशुभ भावनाको प्रभाव पर्न सक्दैन। प्रश्नमा गइहाल्छौ, यो किन भइरहेको
छ? यो कहिलेसम्म चल्नेछ? कसरी चल्नेछ? यसबाट शुभभावनाको शक्ति कम हुन्छ। नत्र
शुभभावना, शुभकामना– यस सङ्कल्प शक्तिमा धेरै शक्ति छ। हेर, तिमीहरू सबै आयौ
बापदादाको पासमा। पहिलो दिन याद गर, बापदादाले के गर्नुभयो? चाहे पतित आए, चाहे पापी
आए, चाहे साधारण आए, भिन्न भिन्न वृत्तिवाला, भिन्न भिन्न भावनावाला आए, बापदादाले
के गर्नुभयो? शुभभावना राख्नुभयो नि! मेरा हौ, मास्टर सर्वशक्तिवान् हौ,
दिलतख्तनसिन हौ, यो शुभभावना राख्नुभयो नि, शुभकामना राख्नुभयो नि, त्यसैबाट नै त
बाबाको बन्यौ नि। बाबाले के भन्नुभयो– हे पापी किन आएका हौ? शुभभावना राख्नुभयो,
मेरा बच्चा, मास्टर सर्वशक्तिमान् बच्चा, बाबाले तिमीहरू सबैमाथि शुभभावना राख्नुभयो,
शुभकामना राख्नुभयो अनि तिम्रो दिलले के भन्यो? मेरो बाबा। बाबाले के भन्नुभयो? मेरा
बच्चाहरू। यसैगरी यदि शुभभावना, शुभकामना राख्यौ भने के देखिनेछ? मेरो कल्प पहिलेको
मीठो भाइ, मेरी सिकीलधी बहिनी। परिवर्तन भइहाल्नेछ।
त्यसैले यस वर्षमा
केही गरेर देखाउनु छ नि। केवल हात नउठाउनु। हात उठाउन त धेरै सहज छ। मनको हात उठाउनु
किनकि धेरै काम बाँकी रहेको छ। बापदादाले त नजर दिइरहनुहुन्छ, बापदादालाई त विश्वका
आत्माहरूमाथि धेरै दया लाग्छ। अब प्रकृति पनि हैरान भएको छ। प्रकृति आफै हैरान भएको
छ, त्यसैले के गरोस्? आत्माहरूलाई हैरान पारिरहेको छ। बाबालाई बच्चाहरू देखेर दया
लाग्छ। तिमीहरू सबैलाई दया आउँदैन? केवल खबर सुनेर चुप भइहाल्छौ, बस्, यति आत्माहरू
गए। ती आत्माहरू सन्देशबाट त वञ्चित रहे। अब त दाता बन, रहमदिल बन। यो तब हुनेछ,
रहम तब आउनेछ जब यस वर्षको आरम्भदेखि आफूमा बेहदको वैराग्य वृत्ति इमर्ज गर्नेछौ।
बेहदको वैराग्य वृत्ति। यो देहको, देहभानको स्मृति, यो पनि बेहदको वैराग्यको कमी
हो। स साना हदका कुराले स्थितिलाई डगमग गराउँछन्, कारण? बेहदको वैराग्य वृत्ति कम
छ, लगाव छ। वैराग्य छैन लगाव छ। जब बिल्कुल बेहदको वैरागी बन्नेछौ, वृत्तिमा पनि
वैरागी, दृष्टिमा पनि बेहदको वैरागी, सम्बन्ध-सम्पर्कमा, सेवामा सबैमा बेहदको वैरागी...
अनि मात्रै मुक्तिधामको ढोका खुल्नेछ। अहिले त जुन आत्माहरू शरीर छोडेर गइरहेका छन्
तिनले फेरि जन्म लिनेछन्, फेरि दुःखी हुनेछन्। अब मुक्तिधामको गेट खोल्ने निमित्त त
तिमी हौ नि? ब्रह्माबाबाका साथी हौ नि! त्यसैले बेहदको वैराग्य वृत्ति हो गेट खोल्ने
चाबी। अहिले चाबी लागेको छैन, चाबी तयार नै गरेका छैनौ। ब्रह्माबाबाले पनि प्रतीक्षा
गरिरहनुभएको छ, एड्भान्स पार्टी पनि प्रतीक्षा गरिरहेका छन्, प्रकृतिले पनि
प्रतीक्षा गरिरहेको छ, प्रकृति धेरै हैरान भएको छ । मायाले पनि आफ्नो दिन गन्ती
गरिरहेको छ। अब भन, हे मास्टर सर्वशक्तिमान्, भन के गर्नु छ?
यस वर्षमा कुनै नवीनता
त गर्नेछौ नि! नयाँ वर्ष भनिन्छ भने नवीनता त गर्नेछौ नि! अब बेहदको वैराग्यको,
मुक्तिधाम जाने चाबी तयार गर। तिमीहरू सबैलाई पनि त पहिले मुक्तिधाममा जानु छ नि।
ब्रह्माबाबासँग वाचा गरेका छौ– सँगै जानेछौँ, सँगै आउनेछौँ, सँगै राज्य गर्नेछौँ,
सँगै भक्ति गर्नेछौँ...। त्यसोभए अब तयारी गर, यस वर्षमा गर्नेछौ कि अर्को वर्ष
चाहिन्छ? जसले सम्झन्छन् यस वर्षमा, अटेन्सन प्लिज, बारम्बार नविनता गर्नेछौ,
उनीहरूले हात उठाऊ। गर्नेछौ? त्यसो हो भने त एड्भान्स पार्टीले तिमीलाई धेरै बधाई
दिनेछन्। उनीहरू पनि थाकिसकेका छन्। अच्छा– टिचहरूले के भन्छौ? पहिलो लाइनकाले के
भन्छौ? पहिले त पहिलो लाइनका पाण्डव र पहिलो लाइनका शक्तिहरू जसले गर्नेछन्,
उनीहरूले हात उठाऊ। आधा हात होइन, आधा उठाउनेछौ भने बुझिन्छ आधा नविनता गर्नेछौ।
पूरा हात उठाऊ। अच्छा। बधाई छ, बधाई छ। अच्छा– डबल विदेशीहरूले हात उठाऊ। एक अर्कामा
हेर कसले उठाएका छैनन्। अच्छा, यो सिन्धी ग्रुपले पनि हात उठाइरहेको छ, कमाल छ।
तिमीहरूले पनि गर्नेछौ? सिन्धी ग्रुपले गर्नेछौ? तब त डबल बधाई छ। धेरै राम्रो। एक
अर्कालाई साथ दिएर, शुभभावनाको इसारा दिँदै, हातमा हात मिलाउँदै गर्नु नै छ। अच्छा।
(सभामा कसैले आवाज निकाल्यो) सबै बस, नथिङ्ग न्यु।
अहिले भर्खरै एक
सेकेन्डमा बिन्दु बनेर बिन्दु बाबालाई याद गर अनि जति पनि कुनै कुराहरू छन्, त्यसमा
बिन्दु लगाऊ। लगाउन सक्छौ? बस्, एक सेकेन्डमा “म बाबाको, बाबा मेरो।” अच्छा।
अहिले चारैतिरका सर्व
नयाँ युगका मालिक बच्चाहरूलाई, चारैतिरका नयाँ वर्ष मनाउने उमङ्ग-उत्साहवाला
बच्चाहरूलाई सदा उडिरहनु अनि उडाइरहनु, यस्तो उड्तीकलावाला बच्चाहरूलाई, सदा तीव्र
पुरुषार्थद्वारा विजयमालाका दाना बन्ने विजयी रत्नहरूलाई बापदादाको नयाँ वर्ष र नयाँ
युगको आशीर्वादको साथसाथै पदमगुणा थालीहरू भरि भरि बधाई छ, बधाई छ। एक हातले ताली
बजाऊ। अच्छा!
वरदान:–
एकाग्रताको
अभ्यासद्वारा एकरस स्थिति बनाउने सर्वसिद्धि स्वरूप भव
जहाँ एकाग्रता छ त्यहाँ
स्वतः एकरस स्थिति बन्छ। एकाग्रताले सङ्कल्प, बोली र कर्मको व्यर्थपन समाप्त हुन्छ
अनि समर्थपन आइहाल्छ। एकाग्रता अर्थात् एउटै श्रेष्ठ सङ्कल्पमा स्थित रहनु, जुन एक
बीजरूपी सङ्कल्पमा सारा वृक्ष रूपी विस्तार समाहित छ। एकाग्रतालाई बढाऊ तब सर्व
प्रकारको हलचल समाप्त हुनेछ। सबै सङ्कल्प, बोली र कर्म सहज सिद्ध हुनेछन्, यसका लागि
एकान्तवासी बन।
स्लोगन:–
एकपटक भएको
गल्तीलाई बारम्बार सोच्नु अर्थात् दागमाथि दाग लगाउनु हो त्यसैले बितेको कुरालाई
बिन्दु लगाऊ।
सूचना:– भोलि नयाँ
साल वि.सं. २०८२ शुभारम्भ