14.06.26 Avyakt Bapdada Nepali Murli 24.10.2010 Om Shanti Madhuban
समयको गति अनुसार अब
विशेष स्वभाव-संस्कार परिवर्तन गर्नमा तीव्रता ल्याऊ , मनसाद्वारा आत्माहरूलाई
भिन्न भिन्न किरणहरू देऊ
आज चारैतिरका परमात्म
तख्तनसिन, भृकुटी तख्तनसिन र विश्वका तख्तनसिन बच्चाहरूलाई देखेर बापदादा हर्षित
भइरहनुभएको छ। यो परमात्म दिलतख्त केवल तिमी ब्राह्मणहरूको लागि मात्रै प्राप्त
हुन्छ। भृकुटीको तख्त त सबैसँग छ तर परमात्म तख्त केवल ब्राह्मण आत्माहरूकै भाग्यमा
हुन्छ। यो परमात्म तख्तले विश्वको तख्त दिलाउँछ। त्यसैले तीनै तख्तका अधिकारी आत्मा
तिमी ब्राह्मणहरू नै हौ। यो परमात्म तख्त कति श्रेष्ठ छ अरू कुनै युगमा यो परमात्म
तख्त प्राप्त हुँदैन। यो परमात्म तख्तको गायन पनि गरिन्छ, परमात्म तख्तका अधिकारी
आत्माहरू भक्तिमार्गमा पनि मालाका दानाहरूको रूपमा गायन गरिन्छन् र पुजिन्छन्।
करोडौँमा कोहीको रूपमा गायन गरिन्छन्। बडो भावनाले एक एक दानालाई कति उच्च दृष्टिले
हेरिरहन्छन्। तिमी सबैलाई नसा छ नि! तिमीहरूलाई नसा छ हामी बाहेक अरू कसैले पनि यस
तख्तको अनुभव गर्न सक्दैन? तर तिमी सबै ब्राह्मणहरूको लागि त यो जन्मसिद्ध अधिकार
हो। तिम्रो लागि यो तख्त गलाको हार हो। तिमीहरूलाई यति नसा हुन्छ– म भगवानको
दिलतख्तको अधिकारी हुँ! यो नसा र खुसी सबैको सदा स्मृतिमा रहन्छ? म को हुँ! यसको
निश्चय र नसा रहन्छ?
बापदादा त यस्ता तीन
तख्तका अधिकारी बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ– वाह मेरा श्रेष्ठ अधिकारी
बच्चाहरू वाह! बच्चाहरूले भन्छन्– वाह बाबा वाह! अनि बाबा भन्नुहुन्छ– वाह बच्चाहरू
वाह! स्वयम् बाबाले पनि यस्ता बच्चाहरूको महिमा गाउनुहुन्छ। नसा छ हामी को हौँ? जति
निश्चय हुन्छ त्यति नै नसा हुन्छ। निश्चयको नसा तिम्रो अनुहार र आचरणबाट देखिन्छ।
जसलाई निश्चय छ उसलाई नसा अवश्य हुन्छ। बापदादा पनि अहिले हरेक बच्चाको अनुहार र
आचरणद्वारा आत्माहरूलाई अनुभव गराउन चाहनुहुन्छ। वाणीद्वारा त अनुभव गर्न थालेका छन्,
अब अनुभव गर्ने कार्य सुरु भएको छ। पहिला सुन्थे, सोच्थे अहिले तिमी ब्राह्मण
आत्माहरूको स्थितिको प्रभाव अनुभव गर्न थालेका छन्। त्यसैले आफूलाई चेक गर– म
दिनभरिमा कति समय परमात्म दिलतख्तमा रहन्छु? किनकि यो दिलतख्त विश्वको राज्य
प्राप्त गराउने आधार हो। यस दिलतख्तको आधारबाट जति समय तिमी दिलतख्तको अधिकारी
रहन्छौ त्यति धेरै समय भविष्यमा राजघरानाको अधिकारी बन्छौ। चेक गर्नुछ– ब्राह्मण
बनेदेखि यता म कति समय बाबाको दिलतख्तनसिन बनेँ? तख्तमा त नम्बरवार बस्छन् तर यसको
आधारबाट सदा राज परिवारका, राजघरानाको अधिकारी बन्छन्। कहिल्यै चेक गरेका छौ?
दिलतख्तबाट ओर्लंदैनौ नि? आफ्नो हिसाब निकाल्नुछ किनकि यसको आधारबाट तिमी सदा
राजघरानामा आउँछौ। चेक गर्नुछ– तख्तलाई छोडेर कहिल्यै माटोमा त खुट्टा राख्दैनौ! ६३
जन्मको संस्कार अनुसार देहभानरूपी माटोमा खुट्टा राख्यौ। एउटा हो देहभान र अर्को हो
देह अभिमान। देह अभिमानको माटो गहिरो छ तर देहभान यो पनि माटो हो। मानिसहरूले पनि
भन्छन् मानिस मर्दा जलाउँछन् त्यतिबेला यही भन्छन् माटो माटोमा मिल्यो। त्यसैले चेक
गर माटोमा खुट्टा त जाँदैन! देहभानमा आउनु अर्थात् माटोमा खुट्टा राख्नु।
बापदादाले तिमी
श्रेष्ठ आत्माहरूको लागि तीन तख्त दिनुभएको छ किनकि तिमी बच्चाहरू बाबाका प्रिय छौ
नि। सिकिलधे पनि छौ, प्यारा पनि छौ। जुन बच्चा प्यारो हुन्छ उसलाई झुलामा वा काखमा
राख्छन्। माटोमा खुट्टा राख्न दिँदैनन्। त्यसैले जो तीन तख्तका अधिकारी छन्
तिनीहरूको लागि बापदादाले कति भिन्न भिन्न झुला दिनुभएको छ। कहिले शान्तिको झुलामा
झुल, कहिले सुखको झुलामा झुल, कहिले प्रेमको झुलामा झुल। तख्त र झुला यिनमा नै
खुट्टा राख्नुछ। धेरै बच्चाहरूले सोध्छन्– हामी भविष्यमा कहाँ आउनेछौँ? के बन्नेछौँ?
बाबा भन्नुहुन्छ– जुनबेलादेखि बाबाकहाँ आएका हौ त्यतिबेलादेखि अहिले सम्मको चेक गर,
म आएको जति समय भएको छ त्यति नै समय मेरो खुट्टा झुलामा वा तख्तमा रहेको छ? त्यति
नै समय भविष्यमा राजघरानामा रहनेछौ। राजसी प्रजामा पनि आउँदैनौ, राजघरानामा नै आउँछौ।
त्यसैले हरेकले आफूले आफ्नो यो हिसाब निकाल। अरूलाई नहेर्नु, आफ्नो हिसाब निकाल्नु।
हरेकले के चाहन्छौ? राजसी घरानामा, राजघरानामा नै आऊँ। त्यसैले अहिले पनि जति समय
मिल्छ किनकि समाप्ति त अचानक हुनुछ, जहिलेसम्ममा समाप्ति हुन्छ त्यतिबेलासम्म अहिले
पनि चेक गर। जति धेरै समय बाबाको गोदमा, तख्तमा, झुलामा रहन्छौ त्यति समय राजपरिवार,
राजघरानामा आउने भाग्य प्राप्त गर्छौ।
बापदादाले त हरेक
बच्चालाई सारा समय २१ जन्म नै राजघरानामा, चाहे सूर्यवंशी चाहे चन्द्रवंशी दुवै
युगमा राजसी परिवारमा रहने अधिकार दिइरहनुभएको छ। तर अधिकार लिने कुरा यो हरेक
बच्चाको हातमा छ। तिमी बच्चाहरूको ब्रह्माबाबासँग प्यार छ भने ब्रह्माबाबाको पनि
तिमी बच्चाहरूसँग प्यार छ। ब्रह्माबाबा तिमी बच्चाहरूलाई आफूसँग राजसी घरानामा
देख्न चाहनुहुन्छ। तिमीले के सम्झन्छौ– ब्रह्माबाबाको वरपर सदा राजसी घरानामा नै
रहन्छौ वा केही समय मात्र राजसी घरानामा रहन्छौ? फेरि टाढा त जान चाहँदैनौ नि!
बाबाले सुनाउनुभएको छ– यसको आधार हो सङ्गमयुगको पुरुषार्थ। बापदादाको बच्चाहरूसँग
यति प्यार छ जसले गर्दा तिमी सबै बच्चाहरूले भन्छौ– सँगै बस्छौँ, सँगै जान्छौँ...
अहिले ब्रह्माबाबा र ब्राह्मण सँगसँगै छौ, अव्यक्त रूपमै भए पनि तर ब्रह्मा बाबासँगै
छौ।
अहिले बापदादाले
देख्नुभयो– बच्चाहरूलाई मायाले अहिलेसम्म पनि छोडेको छैन, उसको पनि बच्चाहरूसँग
प्यार छ। आजकाल दुई रूपमा विशेष मायाले पनि चान्स लिन्छ। दुई रूपमा आउँछ– एक व्यर्थ
सङ्कल्प र अर्को कहीँ कहीँ र कहिलेकाहीँ यो पनि लहर देखिन्छ मैले जे गरेँ वा सोचेँ
म नै ठिक हुँ, म कम छैन। यो लहर फैलिएको छ– म नै ठिक हुँ, तर जो कनेक्सनमा आउँछन्
वा निमित्त बनेका छन् उनीहरूले पनि तिम्रो विचारलाई साथ दिन्छन्? अरूको पनि
प्रमाणीकरण मिल्नुपर्छ। यी व्यर्थ सङ्कल्पले टाइम वेस्ट गर्छन् त्यसैले बापदादा
दिनहुँको मुरली मनन गर्नको लागि, सेवा गर्नको लागि दिनहुँ गृहकार्यको रूपमा
दिनुहुन्छ। मनन गर्छौ वा मनन गर्दागर्दै मगन भयौ भने यो दिनहुँको गृहकार्य मनलाई
व्यस्त राख्ने साधन हो। बापदादाले त्यसैले यो सुन्नु र मनन गर्नु वा मगन हुनु
दिनहुँको लागि गृहकार्य दिनुहुन्छ। जसरी लौकिकमा बच्चाहरूलाई यति धेरै गृहकार्य
दिन्छन् जसले गर्दा उनीहरूको बुद्धि त्यही गृह कार्य गर्नमा व्यस्त रहन्छ। यसरी
दिनहुँको मुरली हेर त्यसमा चारै विषयको गृहकार्य हुन्छ। गृहकार्य मनसाको पनि छ,
वाणीको पनि छ, कर्मको अटेन्सन पनि छ र दिव्यताको इसारा पनि छ। त्यसैले गृहकार्यमा
व्यस्त रह्यौ भने व्यर्थ सङ्कल्प आउने ठाउँ हुँदैन। यस विधिलाई अपनाइरह्यौ भने
व्यर्थ सङ्कल्प स्वतः नै तिमीबाट बिदा हुन्छन् किनकि बापदादाले देख्नुभयो– यादको
यात्रामा सबैको नम्बरवार अटेन्सन छ, वाचा सेवामा पनि अटेन्सन छ। तर अहिले आफ्नो
संस्कार वा अरूको संस्कारलाई परिवर्तन गर्नु, यो स्वभाव-संस्कार जसलाई तिमीले राजसी
रूपमा भन्छौ स्वभाव, मेरो स्वभाव हो, भाव होइन स्वभाव हो, यो धारणाको विषय अहिले पनि
राजसी रूपमा आइरहन्छ। त्यसैले बापदादा आजकाल यही इसारा दिनुहुन्छ– जे जति धारणाहरूमा
कमी छ त्यसलाई अहिले नै विशेष अटेन्सन देऊ।
बापदादाले पहिला पनि
भन्नुभएको छ– अब धारणामा यो मुख्य धारणाको अटेन्सन देऊ, कुनै पनि कुरा भयो भने चेक
गर सेकेन्डमा पूर्णविराम दिन सक्छौ! चाहन्छौ पूर्णविराम तर भइहाल्छ प्रश्नचिह्न?
पूर्णविराम होइन, आधा पूर्णविराम लाग्छ र मात्रा बन्छ। पछि गएर यस्ता परिस्थितिहरू
आउँछन् जसमा तिमीले सेकेन्डमा पूर्णविराम लगाउनुपर्छ। त्यस समयमा प्रश्नचिह्न,
आश्चर्यको चिह्नलाई मिलाउन थाल्यौ भने, त्यति समय मिल्दैन। सेकेन्डमा पूर्णविरामको
आवश्यकता हुन्छ, यसको अभ्यास धेरै समय पहिलादेखिको चाहिन्छ अनि समयमा विजयी बन्न
सक्छौ। त्यसैले हलचलको समयमा संस्कार, स्वभावको पेपर आउँदा, त्यसको लागि अहिलेदेखि
नै त्यस्तो समयमा अभ्यास गरेमा धेरै समयको अभ्यास पछि गएर तिम्रो धेरै सहयोगी बन्छ।
बापदादाले अमृतवेला
चक्कर लगाउँदा हरेकको पुरुषार्थलाई चेक गर्नुहुन्छ, चारै विषयमा पुरुषार्थ तीव्र छ
वा साधारण छ? के देख्नुभयो? समयको गति अनुसार अहिले पुरुषार्थमा सदा तीव्र
पुरुषार्थको आवश्यकता छ। त्यसैले बापदादाले इसारा दिइरहनुभएको छ– समय तीव्रगतिले
समीपताको नजिक आइरहेको छ। त्यस हिसाबले अहिले विशेष स्वभाव र संस्कारको परिवर्तनमा
तीव्रगति हुनुपर्छ।
अहिले बापदादा सबै
बच्चाहरूलाई बाबासमान बनाउन चाहनुहुन्छ। तिम्रो लक्ष्य पनि छ बाबासमान बन्नु नै छ।
यसको लागि सबैभन्दा सहज साधन हो ब्रह्माबाबालाई पछ्याऊ, फलो गर। मिलान (ट्याली) गर,
जे जति कर्म गर्छौ पहिला मिलान गर, ट्याली गर। यो कर्म वा बोली वा सङ्कल्प
ब्रह्माबाबाको हो? भनिन्छ पनि पहिला सोच फेरि गर। बोल्नुभन्दा पहिला तौल फेरि बोल।
सुन्यौ बापदादा अहिले के चाहनुहुन्छ? तिमीले पनि त चाहन्छौ नि, जुनबेला रुहरिहान
गर्छौ नि त्यतिबेला बापदादाले धेरै मीठा मीठा कुराहरू सुन्नुहुन्छ। धेरै राम्रा
उमङ्गका कुराहरू पनि गर्छौ, यो गरेर देखाउँछौँ, यो गर्नु नै छ, यो हुनु नै छ!
सङ्कल्प धेरै उमङ्गका हुन्छन्, तर कर्मसम्म आउँदा केही परिवर्तन हुन्छन्, केही
मात्र हुन्छन्। बाँकी जुन भिन्न भिन्न प्रकारको सेवाको प्लान बनाउँछौ बापदादाले ती
सबै मन पराउनुहुन्छ। कार्यक्रमहरू पनि जहाँतहीँ राम्रोसँग चलिरहेका छन् तर अहिले जति
वाचाद्वारा वा भिन्न भिन्न विधिहरूद्वारा सेवा गरिरहेका छौ, सफलता पनि भएको छ,
बापदादा खुसी पनि हुनुहुन्छ, केवल अहिले मनसाद्वारा अनेक आत्माहरूलाई सुखका किरण,
शान्तिका किरण, खुसीका किरण, प्रेमका किरण उनीहरू समक्ष प्रवाहित गर्नु, यो सेवा पनि
सँगसँगै गर। आफ्नै संस्कार परिवर्तन गर्न वा अरूको संस्कारलाई सहयोग दिन, कतिको धेरै
टाइम यसैमा जान्छ। त्यसैले मनसा सेवाद्वारा आत्माहरूसम्म भिन्न भिन्न किरण फैलाउनुछ,
यसमा अटेन्सन देऊ, यो सेवा पछि गएर धेरै आवश्यकता पर्छ, त्यसमाथि पनि ध्यान दिइराख।
जुन बच्चाहरूले सम्झन्छौ मैले यो सेवा गरिरहेकोछु, तिमीहरूले हात उठाऊ। अच्छा,
गरिरहेका छौ, तिमीहरूलाई बधाई छ र जसले गरिरहेका छैनौ, तिमीहरूले गर्नुपर्छ किनकि
पछि गएर परिस्थितिहरू यस्ता बन्छन् जसमा सुन्ने र सुनाउने, दुवैको भेट हुनै मुस्किल
हुन्छ त्यसैले दुवै सेवामा अहिलेदेखि जति सकिन्छ त्यति बानी बसाल। मन पनि व्यस्त
रह्यो भने मनमनाभव हुन सहज हुन्छ। मन व्यस्त भएमा संस्कार-स्वभावलाई सहजै परिवर्तन
गर्नमा मदत मिल्छ।
आज खास गरी डबल
विदेशीहरूको मिलनको दिन हो, बापदादालाई खुसी छ– वाह डबल विदेशीहरू वाह! बापदादालाई
खुसी छ– विश्वको कुना कुनामा जुन बाबाका कल्प पहिलाका बच्चाहरू लुकेका छन् र विश्वको
सेवामा डबल विदेशीहरू निमित्त बनेका छन् र बापदादाले सुन्नुभयो– हरेकले आआफ्नो
क्षेत्रमा, गाउँ गाउँ वा सहरहरूमा जो बसेका छन् त्यहाँसम्म पुग्ने प्लान बनाइरहन्छन्,
यसको लागि बधाई छ, बधाई छ। नत्र जुनबेला समाप्ति हुनेछ, परिस्थितिहरू परिवर्तन
हुनेछन् अनि तिमी सबैलाई चाहे भारतवर्ष, चाहे विदेशबाट हाम्रो बाबा आउनुभयो र तर
तपाईंले हामीलाई बताउँदा पनि बताउनुभएन भन्ने धेरै धेरै धेरै गुनासा आउनेछन्।
सन्देश त दियौ तर पनि धेरै गुणा आए, त्यसैले अहिले पनि बाबा आउनुभएको छ भन्ने बताउने
सेवा गरिरहेका छौ र अब यो सन्देश दिन कुनै कुना बाँकी नरहोस् यसको लागि प्रयत्न
गर्नुछ। बाँकी बापदादा डबल विदेशीहरू वा भारतवर्षका दुवै बच्चाहरू जसले चारैतिरबाट
आफ्नो पुरुषार्थ गरिरहेका छन् तिनीहरूलाई देखेर खुसी हुनुहुन्छ, धेरै धेरै खुसी
हुनुहुन्छ। किन? किन खुसी हुनुहुन्छ? अहिले भारतवर्षमा विदेशमा यो प्लान बनाइरहेका
छन्, यो सेवा बापदादालाई राम्रो लागेको छ, कुनै पनि साधनबाट सन्देश पुग्नुपर्छ। यो
विज्ञान वास्तवमा तिमीहरूको लागि समयमा धेरै सहयोगी हुन्छ। साधनहरू दिनप्रतिदिन नयाँ
नयाँ निस्कँदै जान्छन्, त्यसलाई निर्विघ्न बनेर कार्यमा लगाउँदै जाऊ। तिमीहरूले
जहाँसुकै पनि सेवा बढाउने बैठक गर्छौ, बापदादाले त्यो सेवा समाचार सुन्नुहुन्छ र
खुसी हुनुहुन्छ– अहिले बच्चाहरूको बुद्धि साधनहरूलाई सेवामा लगाउनको लागि चारैतिर
गइरहेको छ। यसैले तिमीले जे जति प्लान बनाउँछौ त्यो बापदादाले सुन्नुहुन्छ, चक्कर
लगाउनुहुन्छ नि! तिमीले जहाँसुकै पनि बैठक गर चाहे दिल्लीमा गर, भारतमा गर, कुनै पनि
सहरमा गर, चाहे विदेशमा जहाँसुकै पनि गर, बापदादाले सबै सेवा समाचार सुनिरहनुहुन्छ।
बापदादासँग पनि साधन छ। यसको लागि बापदादाले विदेशका एक एक देशबाट जति पनि आत्माहरू
आएका छन्, हरेकलाई के दिनुहुन्छ? धेरै धेरै प्यार दिइरहनुभएको छ। केवल अब अलिकति
सेवामा तीव्रता ल्याऊ। प्लानलाई व्यावहारिक रूपमा ल्याउँदा नयाँ नयाँ कुराहरू
ल्याइराख। हेर तिम्रो यो यज्ञ आरम्भ हुनुभन्दा केही वर्ष पहिला यी सबै आविष्कार सुरु
भएका हुन्। विज्ञान पनि तिम्रो सेवाको सहयोगी हुन्छ। खुब लाभ उठाऊ, यो विज्ञान
तिम्रै लागि निस्किएको हो। हेर दिनप्रतिदिन कति नयाँ नयाँ कुराहरू अहिलेको अहिल्यै
निस्कइरहेका छन्। यो ड्रामाले तिमीलाई सहयोग दिइरहेको छ। साधनले तिमीलाई सहयोग
दिइरहेका छन्। अच्छा।
सबै सदा खुसी त छौ
नि! सदा खुसी छौ? जो सदा खुसी रहन्छौ तिमीहरूले हात उठाऊ, सदा खुसी। कुनै कुरा भयो
भने पनि खुसी? कुराहरू आउँछन् नि, तैपनि खुसी रहन्छौ? रहन्छौ? पुरै हात उठाऊ।
जस्तोसुकै कुरा आए पनि स्वागत गर्छौ नि! डराउँदैनौ, स्वागत गर्छौ। ती समस्याले
अनुभवी बनाउँछन्। यी विघ्नले अनुभवको अथोरिटीलाई बढाउँछन्। माया आयो, माया आयो, यो
नभन, यो पेपर हो, माया माया भन्दै मायालाई अगाडि बढाउँछौ। पेपर हो। मायालाई त तिमीले
चिनेका छौ, कति वर्षदेखि चिनेका छौ। माया के हो? त्यसैले मायासँग नडराऊ, पेपर
सम्झेर खुसी खुसीले पेपर देऊ र अनुभवको क्लासमा अगाडि बढ। यो क्लास बढाउनुछ, अलमलिनु
छैन के गरूँ, कसरी गरूँ, के किन, यो ब्राह्मणहरूको सोच्ने काम होइन। त्रिकालदर्शी
हौ, के, किन, कसरी, यो उठ्नै सक्दैन। पेपर आयो अनुभवको क्लासमा अगाडि बढ्यौ। खुसी
छौ। अहिले त अनुभवी बनेका छौ र बनिरहन्छौ। अच्छा!
बापदादालाई जसका पनि
जे जति पत्र, फोन, याद प्यार वा सन्देश आएका छन्, ती सबै बच्चाहरूलाई बापदादाले
आफ्ना नयनमा समाहित गर्नुभएको छ, जुन आत्माहरूले याद प्यार वा सेवा समाचार वा मनको
पुरुषार्थका समाचार दिएका छन्, ती सबै बच्चाहरूलाई बापदादाले मनसाद्वारा प्रत्यक्ष
गरेर सुखका, शान्तिका, खुसीका किरणहरू दिइरहनुभएको छ। चाहे कसैले यहाँ पठाएका छैनन्
तर दिलमा सङ्कल्प गरेका भए पनि त्यो सङ्कल्प पनि बाबाकहाँ पुगेको छ।
चारैतिरका हिम्मते
बच्चे मददे बाप, मीठा-प्यारा बच्चाहरूलाई बापदादाले यादप्यार दिइरहनुभएको छ। अनि यस
वर्ष कुनै न कुनै आफ्नै लागि वा सेवाकेन्द्रप्रति वा विश्वका आत्माहरूप्रति कुनै न
कुनै यस्तो प्लान बनाउनुछ जसले गर्दा सेवाको बल र फल सर्व आत्माहरूलाई प्राप्त
हुनेछ। चारैतिरका बच्चाहरूलाई बापदादाको विशेष दिलको यादप्यार स्वीकार होस्। ओम्
शान्ति।
वरदान:–
साधारणताद्वारा
महानतालाई प्रसिद्ध गर्ने सिम्पल र स्याम्पल भव
जसरी कुनै साधारण कुरा
स्वच्छ छ भने अवश्य आफूतिर आकर्षित गर्छ। त्यसैगरी मनसा सङ्कल्पहरूमा, सम्बन्धमा,
व्यवहारमा, रहनसहनमा जो साधारण र स्वच्छ रहन्छन् उनीहरू उदाहरण बनेर स्वतः सबैलाई
आफूतिर आकर्षित गर्छन्। सिम्पल अर्थात् साधारण। साधारणताबाट नै महानता प्रसिद्ध
हुन्छ। जो साधारण अर्थात् सिम्पल छैनन् उनीहरू समस्यारूप बन्छन्।
स्लोगन:–
दिलबाट भन मेरो
बाबा अनि मायाको बेहोसीबाट बन्द आँखाहरू खुल्नेछन्।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
अहिलेको अहिल्यै
आवाजमा, अहिलेको अहिल्यै आवाजभन्दा पर, जति यो अभ्यास सरल र सहज हुन्छ त्यति
सम्पूर्णता समीप देखिन्छ। सम्पूर्ण स्टेजको निसानी हो– उनीहरूको पुरुषार्थ सरल
हुन्छ। यादको यात्रा, सेवा दुवै सहज पुरुषार्थमा आउँछन्। दुवैमा सरल, सहज अनुभव भयो
भने सम्झनुछ सम्पूर्णताको अवस्था प्राप्त हुनेछ।