20.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सदगुरु आउनुभएको छ तिम्रो तकदिर उच्च बनाउन त्यसैले तिम्रो चाल चलन धेरै धेरै रोयल हुनुपर्छ।”

प्रश्न:–
ड्रामाको कुनचाहिँ योजना बनेको छ त्यसैले कसैलाई दोष दिन सकिँदैन?

उत्तर:–
ड्रामामा यस पुरानो दुनियाको विनाशको योजना बनेको छ, यसमा कसैको दोष छैन। यस समय यसको विनाशको लागि प्रकृतिलाई जोडले रिस उठेको छ। चारैतिर भूकम्प हुन्छ, भवनहरू भत्किन्छन्, बाढी आउँछ, अनिकाल पर्छ त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब यस पुरानो दुनियाबाट तिमीले आफ्नो बुद्धियोग निकालिदेऊ, सदगुरुको श्रीमतमा चल। जीवन छँदै देहको भान छोडेर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्ने पुरुषार्थ गरिराख।

गीत:–
हमें उन राहों पर चलना है...

ओम् शान्ति । कुन मार्गमा हिँड्नुछ? गुरुको मार्गमा हिँड्नुछ। उहाँ कुन गुरु हुनुहुन्छ? उठ्दाबस्दा मानिसहरूको मुखबाट निस्कन्छ– वाह गुरु! गुरु त अनेक छन्। वाह गुरु कसलाई भनिन्छ? कसको महिमा गाइन्छ? सदगुरु एउटै बाबा हुनुहुन्छ। भक्तिमार्गका गुरु धेरै हुन्छन्। कसैले कसैको महिमा गर्छन्, कसैले कसैको महिमा गर्छन्। बच्चाहरूको बुद्धिमा छ– सच्चा सदगुरु उहाँ एक मात्रै हुनुहुन्छ, जसलाई नै वाह वाह गरिन्छ। सच्चा सदगुरु हुनुहुन्छ भने अवश्य झुटा पनि होलान्। सत्य हुन्छ सङ्गममा। भक्तिमार्गमा पनि सत्यको महिमा गाउँछन्। उच्चभन्दा उच्च बाबा नै सच्चा हुनुहुन्छ, उहाँ नै लिबरेटर, गाइड पनि बन्नुहुन्छ। आजकालका गुरुहरू त गङ्गा स्नानमा वा तीर्थहरूमा लैजाने गाइड बन्छन्। उहाँ सदगुरु त यस्तो हुनुहुन्न। जसलाई सबैले याद गर्छन्– हे पतितपावन आउनुहोस्! पतितपावन, सदगुरुलाई नै भनिन्छ। उहाँले नै पावन बनाउन सक्नुहुन्छ। ती गुरुहरूले पावन बनाउन सक्दैनन्। उनीहरूले कुनै यस्तो भन्दैनन्– म एकलाई याद गर। गीता पनि पढ्छन् तर अर्थ बिल्कुलै थाहा हुँदैन। सदगुरु एक हुनुहुन्छ भन्ने बुझेका भए आफूलाई गुरु भन्दैनथे। ड्रामा अनुसार भक्तिमार्गको विभाग नै अलग छ जसमा अनेक गुरु, अनेक भक्त छन्। यहाँ एउटै हुनुहुन्छ। फेरि यी देवीदेवताहरू पहिलो नम्बरमा आउँछन्। अहिले अन्त्यमा छन्। बाबा आएर यिनीहरूलाई सत्ययुगको बादसाही दिनुहुन्छ। त्यसपछि अरू सबै स्वत: फर्केर जानुछ, त्यसैले सर्वको सदगतिदाता एक भनिन्छ। तिमीले जान्दछौ– कल्प कल्प सङ्गममा नै देवीदेवता धर्मको स्थापना हुन्छ। तिमी पुरुषोत्तम बन्छौ। बाँकी अरू कुनै काम गर्दैनौ। गाइन्छ पनि– गति-सदगतिदाता एक हुनुहुन्छ। यो बाबाको नै महिमा हो। गति-सदगति सङ्गममा नै मिल्छ। सत्ययुगमा त हुन्छ एक धर्म। यो पनि समझको कुरा हो नि! तर यो बुद्धि दिने कसले? तिमीले जान्दछौ– बाबाले नै आएर युक्ति बताउनुहुन्छ। श्रीमत कसलाई दिनुहुन्छ? आत्माहरूलाई। उहाँ बाबा पनि हुनुहुन्छ, सदगुरु पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ। ज्ञान सिकाउनुहुन्छ नि! बाँकी सबै गुरुले भक्ति नै सिकाउँछन्। बाबाको ज्ञानले तिम्रो सदगति हुन्छ। फेरि यस पुरानो दुनियाबाट जान्छौ। तिम्रो यो बेहदको संन्यास पनि हो। बाबाले सम्झाउनुभएको छ– अब तिम्रो ८४ जन्मको चक्र पूरा भयो। अब यो दुनिया खतम हुनुछ। जसरी कोही बिरामी सिकिस्त भयो भने भन्छन्– अब यो त जानेवाला हो, त्यसलाई के याद गर्नु। शरीर खतम हुन्छ। बाँकी आत्माले त गएर अर्को शरीर लिन्छ। आशा टुट्छ। बङ्गालमा आशा छैन भन्ने देखे भने प्राण निस्कियोस् भनेर गङ्गामा लगेर डुबाउँछन्। मूर्तिहरूको पनि पूजा गरेर फेरि गएर भन्छन्– डुब, डुब... अहिले तिमीलाई थाहा छ– यो सारा पुरानो दुनिया डुब्नुछ। बाढी आउनेछ, आगो लाग्नेछ, भोकले मानिसहरू मर्नेछन्। यो सबै हालत हुनेछ। भूकम्पमा घर आदि भत्किन्छन्। यस समय प्रकृतिलाई रिस उठ्छ त्यसपछि सबैलाई खतम गरिदिन्छ। सारा दुनियामा यो सबै अवस्था आउनुछ। अनेक प्रकारका मृत्यु हुन्छन्। बमहरूमा पनि विष भरिएको हुन्छ। थोरै गन्ध आएपछि बेहोस हुन्छन्। यो तिमी बच्चाहरूलाई थाहा छ– के के हुनुछ। यी सबै कसले गराउँछ? बाबाले त गराउनुहुन्न। यो ड्रामामा निश्चित छ। कसैमाथि दोष दिँदैनौ। ड्रामाको योजना बनेको छ। पुरानो दुनियाबाट त्यही फेरि नयाँ अवश्य हुन्छ। प्राकृतिक प्रकोपहरू आउँछन्। विनाश हुनु नै छ। यस पुरानो दुनियाबाट बुद्धिको योग हटाइदिनु, यसलाई बेहदको संन्यास भनिन्छ।

अब तिमीले भन्छौ– वाह सदगुरु वाह! जसले हामीलाई यो मार्ग बताउनुभयो। बच्चाहरूलाई पनि सम्झाउनुहुन्छ– यस्तो चालचलन नबनाऊ जसले उहाँको निन्दा हुन्छ। तिमी यहाँ जीवनछँदै मर्छौ। देहलाई छोडेर आफूलाई आत्मा सम्झन्छौ। देहबाट न्यारा आत्मा बनेर बाबालाई याद गर्नुछ। यो कुरा त धेरै राम्रो भन्छन्– वाह सदगुरु वाह! पारलौकिक सदगुरुको नै वाह वाह हुन्छ। लौकिक गुरु त थुप्रै छन्। सदगुरु त एउटै सच्चा सच्चा हुनुहुन्छ, जसको फेरि भक्तिमार्गमा पनि नाम चल्दै आएको छ। सारा सृष्टिका बाबा त एउटै हुनुहुन्छ। नयाँ सृष्टिको स्थापना कसरी हुन्छ, यो पनि कसैलाई थाहा छैन। शास्त्रहरूमा त देखाउँछन्– प्रलय भयो फेरि पिपलको पातमा श्रीकृष्ण आउनुभयो। अहिले तिमीले जानेका छौ– पिपलको पातमा कसरी आउनुहुन्छ। श्रीकृष्णको महिमा गरेर मात्र केही फाइदा हुँदैन। तिमीलाई अब चढ्तीकलामा लैजानको लागि सदगुरु मिल्नुभएको छ। भन्छन् नि– चढ्तीकला तेरे भाने सर्व का भला अर्थात् तिम्रो चढ्तीकलामा सबैको भलाइ छ। त्यसैले रुहानी बाबा बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ। ८४ जन्म पनि आत्माले लिएको छ। हरेक जन्ममा नाम रूप अर्कै हुन्छ। यस्तो भनिँदैन– फलानोले ८४ जन्म लियो। होइन, आत्माले ८४ जन्म लियो। शरीर त परिवर्तन हुँदै जान्छ। तिम्रो बुद्धिमा यी सबै कुरा छन्। सारा ज्ञान बुद्धिमा रहनुपर्छ। जोसुकै आए पनि उनीहरूलाई सम्झाऊ। आदिमा थियो नै देवीदेवताहरूको राज्य, फेरि मध्यमा रावण राज्य भयो। सिँढी ओर्लिरह्यौ। सत्ययुगमा भनिन्छ सतोप्रधान फेरि सतो, रजो, तमोमा ओर्लिन्छौ। चक्र घुमिरहन्छ। कोही कोहीले भन्छन्– बाबालाई के भएको थियो र जसले हामीलाई ८४ को चक्रमा ल्याउनुभयो। तर यो सृष्टि चक्र त अनादि बनेको छ, यसको आदि-मध्य-अन्त्यलाई जान्नुछ। मानिस भएर यदि यो चक्रलाई जानेनन् भने तिनीहरू नास्तिक हुन्। यस चक्रलाई जानेपछि तिमीलाई कति उच्च पद मिल्छ। यो पढाइ कति उच्च छ। ठुलो परीक्षा पास गर्नेको दिलमा खुसी हुन्छ नि– हामीले ठुलोभन्दा ठुलो पद पाउँछौँ। तिमीलाई थाहा छ– यी लक्ष्मी-नारायणले आफ्नो पूर्व जन्ममा सिकेर फेरि मानिसबाट देवता बने।

यस पढाइबाट यो राजधानी स्थापना भइरहेको छ। पढाइबाट कति उच्च पद मिल्छ। आश्चर्य हो नि! जुन यति ठुला ठुला मन्दिर बनाउँछन् अथवा जुन ठुला ठुला विद्वान् आदि छन् तिनीहरूलाई सोध– सत्ययुग आदिमा यिनीहरूले कसरी जन्म लिए? तिनीहरूले बताउन सक्दैनन्। तिमीलाई थाहा छ– यो त गीताको नै राजयोग हो। गीता पढ्दै आएका छन् तर त्यसबाट फाइदा केही हुँदैन। अब तिमीलाई बाबा बसेर सुनाउनुहुन्छ। तिमीले भन्छौ– बाबा हामीले हजुरसँग ५ हजार वर्ष पहिला पनि भेटेका थियौँ। किन भेटेका थियौ? स्वर्गको वर्सा लिन। लक्ष्मीनारायण बन्नको लागि। कुनै पनि साना, ठुला, वृद्ध आदि आउँछन्, तिनीहरू सबैले यो अवश्य सिकेर जान्छन्। लक्ष्य उद्देश्य नै यो हो। सत्य नारायणको सच्चा कथा हो नि! यो पनि तिमीले बुझ्छौ, राज्य भाग्य स्थापना भइरहेको छ। जसले राम्रोसँग बुझ्छन् उनीहरूलाई आन्तरिक खुसी हुन्छ। बाबाले सोध्नुहुन्छ– हिम्मत छ नि राज्य भाग्य लिने? भन्छन्– बाबा किन नहुनु, हामीले पढ्छौँ नै नरबाट नारायण बन्न। यतिबेलासम्म हामीले आफूलाई देह सम्झेर बसेका थियौँ अब बाबाले हामीलाई सही मार्ग बताउनुभएको छ। देहीअभिमानी बन्नमा मेहनत लाग्छ। घरी घरी आफ्नो नाम-रूपमा फस्छौ। बाबा भन्नुहुन्छ– यस नाम-रूपबाट न्यारा हुनुछ। तर आत्मा पनि त नाम हो नि! बाबा हुनुहुन्छ सुप्रिम परमपिता। लौकिक पितालाई परमपिता भनिँदैन। परम शब्द एउटै बाबालाई दिइएको छ। वाह गुरु पनि उहाँलाई नै भनिन्छ। तिमीले सिखहरूलाई पनि सम्झाउन सक्छौ। ग्रन्थ साहेबमा त पूरा वर्णन छ। अरू कुनै शास्त्रमा यति वर्णन छैन जति ग्रन्थमा, जप साहेब सुखमनीमा छ। यी महत्त्वपूर्ण शब्द नै दुईटा हुन्। बाबा भन्नुहुन्छ– साहेबलाई याद गरेमा तिमीलाई २१ जन्मको लागि सुख मिल्छ। यसमा आत्तिनुपर्ने त कुरा नै छैन। बाबाले धेरै सहज बनाएर सम्झाउनुहुन्छ। कति हिन्दुहरू धर्म परिवर्तन गरेर सिख बनेका छन्।

तिमीले मानिसहरूलाई मार्ग बताउनको लागि कति चित्र आदि बनाउँछौ। कति सहजै सम्झाउन सक्छौ। तिमी आत्मा हौ, फेरि भिन्न भिन्न धर्ममा आएका छौ। यो भेराइटी धर्महरूको वृक्ष हो र अरू कसैलाई यो थाहा छैन– क्राइस्ट कसरी आउँछन्। बाबाले सम्झाउनुभएको थियो– नयाँ आत्माको कर्मभोग हुन सक्दैन। क्राइस्टको आत्माले कुनै विकर्म कहाँ गरेको थियो र जसले गर्दा त्यस आत्मालाई सजाय मिल्छ। त्यो आत्मा त सतोप्रधान आउँछ, जसमा आएर प्रवेश गर्छ त्यसलाई क्रस आदिमा चढाउँछन्, क्राइस्टलाई होइन। त्यसले त गएर अर्को जन्म लिएर ठुलो पद पाउँछ। पोपका पनि चित्र छन्।

यस समयमा यो सारा दुनिया बिल्कुलै कौडीतुल्य छ। तिमी पनि त्यस्तै थियौ। अब तिमी हीरातुल्य बनिरहेका छौ। यस्तो होइन– उनीहरूका उत्तराधिकारीले पछि खान्छन्, केही पनि हुँदैन। तिमीले आफ्नो हात भरपुर बनाएर जान्छौ, बाँकी सबै हात खाली जान्छन्। तिमीले भरपुर हुनको लागि नै पढ्छौ। यो पनि जान्दछौ छ– जो कल्प पहिला आएका छन् उनै आउँछन्। अलिकति मात्रै सुने भने पनि आउँछन्। सबैले सँगसँगै त देख्न पनि सक्दैनन्। तिमीले धेरै प्रजा बनाउँछौ, बाबाले सबैलाई कहाँ देख्न सक्नुहुन्छ र! जे जति सुने पनि प्रजा बन्दै जान्छन्। तिमीले गन्ती पनि गर्न सक्दैनौ।

तिमी बच्चाहरू सेवामा छौ, बाबा पनि सेवामा हुनुहुन्छ। बाबा सेवा बिना रहन सक्नुहुन्न। दिनहुँ बिहानै सेवा गर्न आउनुहुन्छ। सतसङ्ग आदि पनि बिहान गर्छन्। त्यस समयमा सबैलाई फुर्सद हुन्छ। बाबा त भन्नुहुन्छ– तिमी बच्चाहरू घरबाट धेरै सबेरै पनि आउनुहुँदैन र अबेला राति पनि आउनुहुँदैन किनकि दिनप्रतिदिन दुनिया धेरै खराब हुँदै गइरहेको छ त्यसैले गल्ली गल्लीमा केन्द्र यस्तो नजिक हुनुपर्छ, जसबाट घरबाट निस्केर केन्द्रमा आउन सहज होस्। तिम्रो वृद्धि भएपछि राजधानी स्थापना हुन्छ। बाबाले सम्झाउन त धेरै सहजै सम्झाउनुहुन्छ। यो राजधानी राजयोगद्वारा स्थापना गरिरहनुभएको छ। बाँकी यो सारा दुनिया रहने नै छैन। प्रजा त कति धेरै बन्छन्। माला पनि बन्नुछ। मुख्य त जसले धेरैको सेवा गरेर आफूसमान बनाउँछन्, उनै मालाका दाना बन्छन्। मानिसहरूले माला जप्छन् तर अर्थ कहाँ बुझ्छन् र! धेरै गुरुहरूले जप्नको लागि माला दिन्छन् जसले गर्दा बुद्धि यसमा लागिरहोस्। काम महाशत्रु हो, दिनप्रतिदिन धेरै कडा हुँदै जान्छ। तमोप्रधान बन्दै जान्छन्। यो दुनिया धेरै विकारी छ। बाबालाई धेरैले भन्छन्– हामी त धेरै हैरान भएकाछौँ, छिटो सत्ययुगमा लैजानुहोस्। बाबा भन्नुहुन्छ– धैर्यता राख, स्थापना हुनु नै छ– यो खातिरी हो नि। यही खातिरीले तिमीलाई लैजान्छ। बच्चाहरूलाई यो पनि बताइएको छ– तिमी आत्माहरू परमधामबाट आएका हौ फेरि त्यहाँ जानुछ, फेरि आउँछौ पार्ट खेल्न। त्यसैले परमधामलाई याद गर्नुपर्छ। बाबा पनि भन्नुहुन्छ– म एकलाई याद गर त्यस यदबाट विकर्म विनाश हुन्छन्। यही सन्देश सबैलाई दिनुछ र अरू कुनै पैगम्बर मेसेन्जर आदि छैनन्। उनीहरूले त मुक्तिधामबाट तल ल्याउँछन्। फेरि उनीहरू सिँढी तल ओर्लनुछ। पूरा तमोप्रधान बनिसकेपछी फेरि बाबा आएर सबैलाई सतोप्रधान बनाउनुहुन्छ। तिम्रो कारणले सबैलाई फर्केर जानुपर्छ किनकि तिमीलाई नयाँ दुनिया चाहिन्छ नि– यस्तो पनि ड्रामा बनेको छ। बच्चाहरूलाई धेरै नसा हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यस देहको नाम-रूपबाट न्यारा भएर देहीअभिमानी बन्नुछ। यस्तो चाचलन हुनुहुँदैन जसले सदगुरुको निन्दा हुन्छ।

२) मालाको दाना बन्नको लागि धेरैलाई आफूसमान बनाउने सेवा गर्नुछ। आन्तरिक खुसीमा रहनुछ– हामीले राज्य भाग्य लिनको लागि पढिरहेका छौँ। यो पढाइ हो नै नरबाट नारायण बन्ने।

वरदान:–
निरन्तर यादद्वारा अविनाशी कमाइ जम्मा गर्ने सर्व खजानाका अधिकारी भव

निरन्तर यादद्वारा हरेक कदममा कमाइ जम्मा गरिराख त्यसबाट सुख, शान्ति, आनन्द, प्रेम... यी सबै खजानाको अधिकारको अनुभव गरिरहन्छौ। कुनै कष्ट, कष्ट अनुभव हुँदैन। सङ्गममा ब्राह्मणहरूलाई कुनै कष्ट हुन सक्दैन। यदि कुनै कष्ट भयो भने पनि बाबाको याद दिलाउनको लागि हो भन्ने सम्झ, जसरी गुलाबको फूलसँग काँडा त्यसको बचाउको साधन हुन्छ। त्यसरी नै यी तकलिफहरू झन् बाबाको याद दिलाउन निमित्त बन्छन्।

स्लोगन:–
स्नेहरूपको अनुभव त सुनाउँछौ अब शक्तिरूपको अनुभव पनि सुनाऊ।

अव्यक्त इसारा – अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

जसरी साकारमा देख्यौ– अन्तिम कर्मातीत स्टेजको पार्ट केवल ब्लेसिङ दिने रह्यो, ब्यालेन्सको पनि विशेषता र ब्लेसिङको पनि कमाल रह्यो। त्यसरी नै फलो फादर। सहज र शक्तिशाली सेवा यही हो। अब विशेष आत्माहरूको पार्ट हो ब्लेसिङ दिने। चाहे नयनले देऊ, चाहे मस्तकमणिद्वारा।